साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

क्लासिक कथा : नैकापे सर्किनी

रातभरि सपनामा पनि ऊ बालुवा झिकेको देख्छे । यसरी नैकापे सर्किनी इन्च इन्च गर्दै सिद्धिदै छे । उसको हाड, मासु, रगत राजधानीको कुनै निर्माणाधीन भवनमा जम्मा हुँदै छ । बिना कुनै मूल्य, बिना कुनै कागज पत्र ।

Chovar Blues Mobile Size

यो तीन महिनाभरिमा मैले अध्ययन गरेको जीवनमा -कति नीरस, कति पट्यारलाग्दो ? ऊ त्यो त्यही नैकापे सर्किनीको जीवन मरुभूमिको दुष्कर यात्रा जस्तो जीवन, अझ त्योभन्दा कठिन । मरुभूमिमा त कमभन्दा कम कतै ओएसिस’ हुन्छ भन्ने आशा हुन्छ, यहाँ त्यो पनि छैन । नैकापे सर्किनीको निम्ति जीवन खालि बाँच्दै जानु, बाँच्दै जानु जबसम्म मर्दैन । यो बाँच्दै जानुभित्र उसका केही दैनिक क्रियाकलापहरू रुटिनबद्ध छन्‌ । बिहान अँध्यारैमा उठ्नु, दुःखको मानु पकाउनु र आफूमाथि आश्रित अपाङ्ग लोग्नेलाई खुवाउनु त्यसपछि विष्णुमतीको बगरमा बालुवा झिक्न जानु, साँझ आउनु, पकाउनु, लोग्नेलाई खुवाउनु अनि सुत्नु मुर्दा जस्तै ।

यस अवधिभरि ऊ कसैसँग बोल्दिन सिवाय त्यो बालुवा अर्डर गर्ने साहुसँग उही पनि चार शब्द त्यसपछि संवाद सिद्धिन्छ । ऊ भित्र मान्छेको भाषा एक किसिमले मरिसकेको छ, जति ज्युँदो छ त्यसको कुनै अर्थ छैन । भाषा मात्र होइन ऊ भित्र मान्छेप्रति हुने सहानुभूति र मान्छेबाट आउने त्यसको प्रतिदान दुवै मरिसकेको छ । उसको लाग्नेले उसलाई शारीरिक रूपमा माया पनि गर्न सक्दैन र घुणा पनि गर्न सक्दैन, त्यसैले ऊ सर्किनीलाई भाषाले पिट्छ, आँखाको अभिव्यक्तिले बलात्कार गर्छ र शब्दले लात हान्छ । एउटा अति विवश मान्छे हो सार्की तर आफ्नो विवशताप्रति ऊ एकरत्ती सचेत छैन । त्यसैले सर्किनी घृणा गर्छे उसलाई । सार्की निर्दयी छ सर्किनीप्रति, यसैबाट सर्किनीले अन्दाज लगाएकी छ कि उसको लोग्ने आफ्नो विवशताप्रति सचेत छैन । हुँदा-हुँदै यौनको चाहना पनि सर्किनीसँग छैन । सायद ऊ भित्र मर्ने प्रवृत्तिहरूमा यो प्रवृत्ति अन्तिम हो । एक वर्षभित्रै ऊ अत्धवैँसे भैहाली । र आज अधवैँसे हुनुपर्नेमा ऊ बूढी भैसकेकी छे ।

पारिजात

मङ्सिर, पुस, माघ भनेको शीत तुषारो र ठिहीको मिहना हो । यितखेर सिरक मुख देखाउन घामले पनि गाह्राे मान्छ । ऊ बिहानी धेरै लामो त सुतिदिन्छ उही पनि ति भुवाको कोट लगाउँछ, तर नैकापे सर्किनी ऊ, त्यही लुगा लगाएर आउँछे, जो उसले जेठ महिनामा लगाएकी थिई । नैकापे सर्किनीलाई घामको अस्तित्वप्रति शङका लाग्छ आजभोलि । उसको समय अन्धकार हो । फेरि ऊ अँध्यारोदेखि नै घुँडासम्म पानीमा डुबेर बालुवा निकाल्दै थुपार्दै गरिरहेकी हुन्छे र आफै पनि बालुवा जस्तै निर्जीव र चिसो भइसकेकी हुन्छे । त्यसैले जाडोको खुराकको हृयाङओभर पचाई फरको कोट लाएर बाह्र बजेतिर ढल्कँदै आउने घामले उसलाई कतैबाट छुँदैन । उसको चिस्याइले चुनौती दिन्छ, घाम भाग्छ हारेर ।

यसरी धेरै-धेरै बोधहरूबाट सर्किनी निर्लिप्त हुँदै गइरहेकी छे। यस्तीलाई तपस्विनी पनि भन्न सकिन्छ कि ? भैगो विशिष्ट शब्द तपस्यालाई हिलोमा नउतारौँ अथवा सर्किनी तपस्या शब्दभन्दा माथि पनि हुनसक्छे । धर्मको नाउँमा मन्दिर धाउने एकजना महानुभावले एक दिन उसलाई प्रश्न गरेको थियो, “अलिक घाम छिप्पिएर त आउनू, यो बगरको बालुवा कहाँ भाग्छ र ?” उसले कुनै प्रतिकिया जनाइन, माने उसको जीवन यस्तो यातनागृहमा कैद छ, जहाँ अब उसले मान्छेको भाषा बुभ्न छोडिसकेकी छ । नेपाली महिलाहरूको आँखाको मुस्कान चोर्न आउने एकजना टुरिष्टले उसको पनि फोटो खिच्यो एक दिन, उसको नीरस अभिव्यक्तिको फोटो । यो पनि उसले थाहा पाइन । एकैचोटि एउटा सेतो- अग्लो, खैरो कपाल भएको मान्छे उसको अघि उभिन आइपुग्दा पो ऊ झसङ्ग भई ।

sagarmani mobile size

“वान्ट मनी ?” यसो भन्दै टुरिष्टले पाँच रुपियाँको नोट तिर बढायो । उसको एकरस जीवनको अनौठो मुख फेराइ थियो यो घटना….तर त्यो अनुभूति अति छोटो भयो, त्यसलाई कुनै अनुभूति नभने हुन्छ। त्यो पाँच रुपियाँको नोट पोल्टोभित्र तह लाउँदा उसले आफ्नो अपाङ्ग लोग्नेलाई झल्याँस्स सम्झी, यो फाल्तु पैसा उकहाँ भएको एकदम थाहा पाइनु हुँदैन, उ निकै सचेत रहन पर्नेछ आफ्नो पैसा नभएकै अभिनयप्रति, नत्र उसको लोग्नेले रक्सी खानको निम्ति याचना गर्नलाई एउटा शब्दकोश खर्च गर्नुपर्नेछ । सर्किनीलाई शब्दको ओइरोदेखि घृणा छ ।

यो तीन महिनाभित्र देशले निकै ठूला ठूला राष्ट्रिय पर्वहरू मनाइसकेको छ। यही पुलमाथिबाट संबिधान दिवसको जुलुस बगेको थियो । धिमेबाजा, ब्याण्डबाजा, नारा, झाँकी तर नैकापे सर्किनीले केही देखिन, केही सुनिन पनि । ऊ एकनासे बालुवा निकालीरही । विकासको नारा र झाँकीसँग उसलाई कुनै पनि मतलब छैन । अस्तित्वमा भएका बस्तुहरूसँग उसको तात्पर्यको कडी क्रमशः टुक्रिँदै छ भने नभएकाहरूसँग… के असम्भव ! बोक्रे धाक त अर्काको पसिना खानेले मात्र लगाउन सक्छ, सर्किनीले सक्दिन ।

साँझ चार बजे ऊ बालुवाको धापबाट निस्कन्छे, फलाम जस्तै चिसो र कठोर भएर । त्यो थुपारिएको बालुवाको खात ठीक उसको जीवनको प्रतीक हो रसहीन र रुखो। चार शब्दमा ऊ हरियो लसुन र मकैको पीठो किन्छे र यन्त्रचालित जस्तो पाटीमा पर्कन्छे। छोटो दिन झमक्क रात पर्छ पाँच बजे । सर्किनी आएर खाना पकाइसकेको अन्दाज गरेपछि सार्की फर्कन्छ पाटीमा । घस्रन सक्ने ठाउँसम्म ऊ जान्छ, दिनभरि तास खेल्छ राती यसरी मस्तिष्कभरि हार, झगडा र हीनताभासको धुवाँ बोकेर फर्कने गर्छ ।

धन्धा सिद्धिएपछि चिसै लुगामा सर्किनी एकातिर गुँडुल्किन्छे । निर्धम्क सुत्छे ऊ आजभोलि । डर नाउँ गरेको बोध पनि त हुँदैन उसलाई त्यो पनि पचिसकेछ क्यारे । केही दिनअघि उसको गरिब स्वास्नी मान्छे हुनुको नियतिको फाइदा उठाएर त्यतैकी एकजना ठगी खाने भिखारी उसलाई लुट्न त्यहाँ पसेको थियो । सर्किनीले थाहा पाई, यो उसको अस्मिताको प्रश्न थियो । यहाँ भाषा र शब्दसँग होइन एउटा बलिष्ट र सिङगो लोग्ने मान्छेको शरीरसँग जुध्नपर्ने हुन्छ। यो अर्कै किसिमको वास्तविकता हो । उसले छेवैमा राखेको थाले कुटो च्याप्प समाती र बजारेर आक्रमणकारीतिर हानी । छल्दा-छल्दै पनि छल्न सकेन भिखारीले । ठिहिर्याइरहेको हातमा लागेको प्रहार सहन नसकेर रन्थनिँदै ऊ भाग्यो त्यसपछि फर्केर आएन ।

रातभरि सपनामा पनि ऊ बालुवा झिकेको देख्छे । यसरी नैकापे सर्किनी इन्च इन्च गर्दै सिद्धिदै छे । उसको हाड, मासु, रगत राजधानीको कुनै निर्माणाधीन भवनमा जम्मा हुँदै छ । बिना कुनै मूल्य, बिना कुनै कागज पत्र ।

प्रतिक्रिया
Loading...