काल: ३४० ईशापूर्व
स्थान: श्रावस्ती, कोशल

हिमालहरूले काखमा राखेको सुन्दर राष्ट्र कोशलको राजधानी श्रावस्तीका महापौर सारंगरव देव गुप्त श्वेत शाटिका, काषाय उत्तरीय र शिरमा कौशेय उष्णीष पहिरिएर व्यग्र भई आफ्नो प्रासादको बार्दलीमा टहल्दै नगरद्वारतर्फ हेर्दैछन्। विवाह पञ्चमीको रात्रीको दोस्रो दण्ड सकिनै आँटेको छ। नगर प्रवेशका चार द्वारमध्ये दक्षिणपूर्वी द्वारमाथि अब केही पलामै, दोश्रो दण्डको घण्ट ध्वनि सँगसँगै उज्ज्वल करदीप प्रज्ज्वलीत हुनपर्नेछ। युग युगान्तरको दीर्घ योजनानुरूप आज बल्ल यो घडी आउन आँटेको छ। अक्ष्क्षुण, सार्वभौम र अखण्ड राष्ट्र कोशलको जय हर्ने मगध साम्राज्यको शतवर्षीय स्वप्न अब यथार्थ र मूर्त हुन गइरहेको छ भन्ने कुरा सोच्दा मात्र पनि सारंगरव देव गुप्तको मन आह्लादित भएर आएको छ। रात्रीको प्रथम दण्डदेखि नै कोशलमा रहेका सहस्र मागध आआफ्नो स्थानबाट, सतही पेशा र कर्म विपरीत, पूर्वयोजना अनुरूप एकैपटक कोशलमा घात गरिसकेको हुनुपर्छ भनेर मनमनै गुन्दै मगधबारे सोच्न थाले । मगध राष्ट्रको सिमा बिस्तारको गति, सत्तालोलुप मगधसम्राट बिम्बसारले अझ तीव्रतर पारेका थिए। मगध, महासाम्राज्य उद्दत भएको थियो ।

कुनै बेलाका इष्ट अवन्ती, काम्बोज, कलिङ्ग, बङ्ग, अङ्ग, चम्पा, माहिष्मती, भृगुकुच्छ, बिदिशा जस्ता छिमेकीराष्ट्रहरू मगध साम्राज्यले निलिसकेको थियो। प्राकृतिक सम्पदायुक्त, उर्वर भूमिले यथेष्ट र उत्तरका माङ्गोल र हुणहरूका सदाकालीक आक्रमणलाई निस्तेज पार्न सक्ने कोशलका उच्च, विकट र अजेय पर्वत अनि धवल हिमशृङ्खलाहरूको र तिनका गर्भबाट निस्कई बग्ने सहस्र नदीहरूद्वारा सिञ्चित उर्वर पृथ्वी तथा यथेष्ट सम्पदायुक्त अरण्यको लोभ मगधले सदा सर्वथा गर्यो । वर्तमान कोशल पुस्ताका पूर्वजहरूले प्राणका आहुतिले विगतका प्रत्येक सामरिक आक्रमणहरूलाई विफल पारेका थिए। कर्मले भन्दा जन्मैले वीर र निर्भय, कोशलका प्रत्येक पुस्ताका प्राणभन्दा राष्ट्र सर्वोपरी रह्यो। बिम्बसारका पूर्वजहरूले साम दाम दण्ड र भेदका अनेकौँ यत्न र विधि प्रयोग गरेका थिए । त्यस्ता यत्न मगध राज्यसत्ता र बहुल मागधले निरन्तर राखी आए । सिधा र सोझा प्रकृतिप्रेमी कोशलहरूले आफ्नो राष्ट्रमा भित्रिने प्रत्येक मागधलाई स्वागत गरिरहेका थिए। मागधहरू अनेकानेक सिपहरूले दिक्षित थिए। स्पष्ट अनि चरम वर्ण र वर्ग विभाजित तर अखण्डित कोशल लिच्छवि समाजमा मागध आर्यहरू कर्मकार, काष्ठकर्मी, लौहकर्मी, चर्मकर्मी, रत्न माल्यकार, वस्त्र वणिक्, दास वणिक् आदि बनेर प्रवेश गरिरहे। मगधका समृद्ध पाठशाला, विद्यापीठ र विख्यात गुरूकुलका स्नातकहरू, कोशलसमाज र कोशलका शिक्षालयहरूमा शिक्षण गर्न थाले ।

राजन कार्की

दशकौं पश्चात् तिनका पुस्ता कोशलका सुरक्षा निकाय तथा राज कार्यलयहरूमा कोशल सरह नियुक्त हुन र प्रवेश गर्न थाले। मागधहरू उल्लेखनीय सङ्ख्यामा कोशल जानपदका प्रभावशाली पदहरूमा नियत हुन पुगे। कुथेर, शुल्ली, लिग्वल, माप्चोकजस्ता राज्य सञ्चालनका प्रमुख निकायहरूमा प्रभावशाली पदहरू ओगट्न भ्याए। शनै: शनै: कोशलको सत्ता, राज्य संचालन, अर्थ, बाणिज्य कोशलमा आइरहेबसेका मागधहरू र मगध साम्राज्यका कुटिल कुटनीतिज्ञहरूका सङ्केतमा चलायमान हुने अधिकारीहरूमा निर्भर हुन थाल्यो। कोशलका ती मागधहरू कोशलजन समान ठानिए तर भूतकालमा कोशलले चखाएको कुनै पनि पराजय कुनै मागधले कहिल्यै बिर्सिएका थिएनन् । प्रत्येक मागध पुस्ताले आफ्नो नवपुस्तालाई मगधको ध्येय, लक्ष्य र केवल मगधको श्रीवृद्धिको पाठ निर्विकल्प हस्तान्तरण गरिरहे । कोशल राजधानी श्रावस्तीका महापौर सारंगरव देव आफूलाई पितामह तथा पिताले सदैव आफूहरू सर्वप्रथम मागध रहेको, आफ्नो प्रत्येक कर्मको साध्य मगधको श्री प्रचुर पार्न हुनपर्ने र कुटनीतिमा विजय स्पृश्य नहोइञ्जेल विजय नठहरिने भन्ने गरेको स्मरण गर्दै बरण्डामा टहलिरहे। त्यसै बखत दक्षिणपूर्वी गोपुरमाथि अग्नि देखियो र तूर्यको ध्वनि सुनियो ।

नगरमा उपस्थित चर, गुप्तचर र छद्मभेषमा रहेका मागधहरूका लागि यो सङ्केत थियो। श्रावस्ती भन्दा पहिलेको कोशल राजधानी अयोध्या र दोश्रो ठूलो नगर साकेत नियन्त्रण गरिसकिएको समाचार, उनको गुप्तचरद्वारा पार्श्वदले त्यतिबेलै ल्यायो। त्यो अग्नि देखि र तूर्यको ध्वनि सुनि अतिशय मागधहरू आआफ्ना स्थानबाट निस्किए । विवाह पञ्चमीको उत्सवमा रमाइरहेका कोशलका ब्राह्मण, श्रोत्रीय, वैश्य र शुद्रहरू अकस्मात आइपरेको विपदालाई धेरै बेर रोकेर राख्न असमर्थ रहे । असहाय, स्त्री, बालक र बृद्धहरूको क्रन्दनले श्रावस्ती नगर कोलाहलमय बन्यो। समर्थ, बलिष्ठ, सुरा तरुण तरुणीहरू जोजो प्रतिकारको धर्म निर्वाह गर्न उद्दत रहे तिनले दुर्भिक्ष मृत्युवरण गरे। समयचक्रले पहिलोपटक कोशलमा रक्तिम मिर्मिरे देख्यो । पथ, वीथि, पट्टाङ्गनीहरूमा कोशलहरूको शिरोच्छेदन गरी झुण्ड्याइएको थियो। रुण्डहरू यत्रतत्र भूशायी थिए। कोशलाधिपति विदुडभको राजप्रासाद र प्रत्येक लिच्छवि सार्थवाहमा आगो लगाइएको थियो। मागध सेना सर्वत्र थिए । प्रत्येक कोशलका घरघरमा तिनीहरू मगध ध्वजा राख्तै बाँचेका निरीह कोशललाई अझ आक्रान्त पारिरहे । वीर राष्ट्रलाई कातरले छलले जित्यो । यसरी मगधले आफ्ना अरू छिमेकी राष्ट्रझैँ अन्ततोगोत्वा कोशललाई पनि निल्यो। विस्तारित मगध साम्राज्यको कोशलखण्डका लागि, सारङ्गरव देव गुप्त नव महाअमात्य नियत गरिए । मगध साम्राज्यको सिमा विस्तार त्यतिमै रोकिएन। मगधले सम्राट बिम्बसार पश्चात् उनको उत्तराधिकारी र तिनका समेत उत्तराधिकारीद्वारा आफ्नो सिमा फैलाउन पाइरह्यो । समयको त्यो कालखण्डमा, जम्बुद्विपमा मगध साम्राज्य समान विशाल, शक्तिशाली र वैभवशाली राष्ट्र अर्को रहेन तर, विजय गरिएका अधिनस्थ राष्ट्रहरूका प्रजाका हृदयमा मगध कहिल्यै अटाउन समर्थ भएन।

काल: २०४० ईस्वी संवत्
स्थान: आधुनिक कोशल, आधुनिक मगध

न कुनै महामारी न तै प्रलयले त्यति जीव भ्रष्ट पार्नसके, जति समस्त सभ्यताहरूका युद्धहरूले सखाप पारे। युद्धमा सदैव विजयी र चिरञ्जीवी युद्द स्वयं नै रह्यो। युद्धरतहरू पृथ्वीमा विलय र लुप्त भए । बाँचे, केवल इतिहासका रगताम्मे पानाहरूमा। जित्नेहरूले नै बाँचुञ्जेल आफ्ना गाथाहरू लेखाए। पराजितहरू हारिसकेर पनि विजयीहरूका गाथा चम्काउन सहायक र निमित्त बने। कपटको त्यो रक्तसिञ्चित् वृजिन रात्रीपश्चात् नदीहरूमा कोटीकोटी बाढी आए। नदीहरूले सहस्र धार फेरे। सभ्यताहरू सम्मिलित भए। खण्डित भए। मगध फैलियो, खुम्चियो। गाँसियो, टुक्रियो । प्राचीन मगध अब आधुनिक मगध भयो। कोशल पनि उहि रहेन। समयले छल जानेन र मगधलाई फेरिदिए जस्तो कोशललाई पनि उस्तै व्यवहार गर्‍यो। मगधको मुष्टीबाट, समयको कुनै कालमा कोशल उम्कियो। कर्मठ कोशलहरूले पुन: आफूलाई बनाए। जाइ कटक गरेनन्, आइ कटक बाँकी राखेनन्। मगध कपट र विश्वासघातमा कहलिएर अझ कुख्यात भयो। कोशलजनहरू कर्मठ र वीरमा दरिए र झनै प्रख्यात बने। । कोशल पनि अब आधुनिक भयो। आठ-नौ दशक अघि आधुनिक मगधले इतिहासका पृष्ठहरू पल्टाएर हेर्यो अनि विगत र वर्तमान दाँज्यो। लोभ, ईर्ष्या र दम्भको पूरानो र प्राचीनतम चश्मा उसले फुकाल्न भने बिर्स्यो। उसले देख्यो, हुण-माङ्गोलहरूको भय आजपर्यन्त टरेको रहेनछ । आधुनिक कोशलको प्राकृतिक सम्पदाको ओज अझ देदीप्यमान भइगएको रहेछ। आधुनिक कोशललाई आफूमा विलय गर्ने लोभ नगरी बस्न सकेन।

श्यामसुन्दर देव गुप्ताका पिताजी आधुनिक मगधबाट व्यापारीका रूपमा आधुनिक कोशलमा अर्थात् ‘परदेश’ आउँदा श्यामसुन्दर देव गुप्ता चौध वर्षको थियो । पिताजीले कठोर परिश्रम गरेर व्यापार टिकाउने मात्र हैन फस्टाउने र फैलाउने काम पनि गरे। त्यस कार्यमा पिताजीका, काका-मामा, फुपू-सानिमाका छोराहरू, मित्रहरू, पिताजीका बहिनीज्वाँइहरू सहभागी, सहयात्री र साझेदार बने । श्याम सुन्दरले आफ्ना वरिपरि नातेदार, इष्ट र शुभचिन्तकहरू पाइरहँदा ऊ आफूलाई परदेशमा रहेको भान कहिल्यै भएन । उसका पिताजी उसलाई व्यापारका सबै दाउपेच, पञ्जाछक्का अनि कच्चापक्का सिकाएर बिते। पूस्ताहरूमा निर्विध्न र कुशलतापूर्वक हस्तान्तरण गरिने कथित ‘मागध’ धरोहरको कौशलले, श्यामसुन्दर देव गुप्तले आफ्नो सुपुत्र भुवनसुन्दर देवलाई सानैदेखि दिक्षित गर्यो। आधुनिक कोशलमा आफूहरू धन र ऐश्वर्यमात्र आर्जन गर्न वद्ध छौँ भनेर बारम्बार सम्झाइ रह्यो। उसको मेधावी र कुशाग्र पुत्र बुवाका कुरा सुन्थ्यो र गुन्थ्यो।

आधुनिक मगधको राजकीय सत्ताले पुन: एकपटक उही प्राचीनतम विधि र नीति अवलम्बन गर्ने अठोट गर्यो । साम, दाम, दण्ड र भेदका सबै युक्ति र जुक्तिले उसका नागरिकहरू आधुनिक कोशल प्रवेश गर्न थाले । श्यामसुन्दर देव गुप्ताजस्ता लाखौँ मागधहरू कोशलमा आई जीविकोपार्जन गर्न थाले । सागर तटले बञ्चित, भूपेरिवेष्ठित स्वतन्त्र आधुनिक कोशलराष्ट्र समयको यो कालखण्डमा पुनः एकपटक फेरि आधुनिक मगधद्वारा आक्रान्त हुनथाल्यो। कोशलको बजार व्यवस्था, बाणिज्य, अर्थ शनै: शनै: आधुनिक मगध र कोशलमा आई बसेका मागधमा निर्भर हुन थाल्यो। माग र आपूर्तिका अधिकांश अश्त्रहरू आधुनिक मगध नियन्त्रित हुनपुग्यो।

साम, दाम र दण्डका अधिसक्य नियोजित उपायहरूको सफल प्रयोग पश्चात् आधुनिक मगधको राज्य सत्ताले भेदको प्रचण्ड अभ्यास सुरु गर्यो; कोशलस्थित दशकौंदेखि र पुस्तौंदेखि रहेबसेका मागधहरूको साथले सके आधुनिक कोशललाई अन्ततोगोत्वा आफूमा बिलय, नसके तत्काललाई विभाजनद्वारा क्षत् गर्ने योजनानुरूप ती मागधहरूलाई अनेक प्रलोभनले उचाल्यो। आपूर्तिका मार्गहरू अवरुद्ध गरिए। खाद्यान्न, औषधिदेखि इन्धन आदि जम्मैको हाहाकार हुनपुग्यो। आधुनिक मागध राज्यसत्ताको कुत्सित चाललाई कोशलका मागधहरूले यथेष्ट प्रोत्साहन र साथ दिए । कोशल एकपटक पुन: आहत भयो । कोशलजनमा राष्ट्रियताको स्पष्ट सङ्कट देखियो । मगधले खोजेको र चाहेको यस्तै थियो ।

युग परिवर्तन पश्चात् शिक्षा-दीक्षा, सञ्चार र प्रविधिले मानव चेतनामा ज्यामितीय फड्को मारेको रहेछ। आधुनिक मगध आफ्नो योजनाका प्यादाहरू प्रायस: ती मागधहरू रोजिचुनीअघि बढ्दै थियो, जो मगधप्रति उत्तरदायी र अनुगत थिए। तर राष्ट्रियता भेषभुसा, भाषा, संस्कृति, जाती, वर्णभन्दा सर्वोपरि रहेको तथ्य ती भुवनसुन्दर देव गुप्ताजस्ता नवोदित र सुशिक्षित नवपुस्ता र सन्ततिले बुझेका थिए जो कोशलमै जन्मिए, हुर्किए। तिनले मगधलाई हैन कोशललाई आफ्नो मातृभूमि देखे। तिनको रक्तमा कोशलका धराका धाराहरू बहेका थिए। तिनको हृदयमा मगधको धुलकणसम्म थिएन बरू अचल पर्वतझैँ कोशल थियो। ती जम्मै युवाहरू हुल बाँधिएर बाटा र सडकहरूमा निस्किए। सामाजिक सञ्जालका सहायताले अन्तरराष्ट्रिय समर्थन बटुले, दबाब र चाप थपे।

कोशलको जय युगयुगानतर पश्चात् पुन: हर्ने मगधको दु:स्वप्न कोशलको नव पल्लवित पुस्ताले पूर्ण हुन दिएनन् । नवयुगको नवचेतनाको विजय, चेतना स्वयंले गर्दा सम्भव भयो। अखण्डित आधुनिक कोशल अखण्डित नै रह्यो।