साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

जितिया कथा : जितवाहन

एकाबिहानै मस्वासी बुढी आफ्नो छाप्रोमा आइन् । देखिन्, आफूद्वारा छरिएका खरानीमा खराउका डामहरु । जसबाट भगवान आएको प्रमाणित भयो, यसै प्रयोजनको लागि उनले खरानी छर्किएकी थिइन् । भगवान आएका तर आफू छाप्रोमा नरहेकोले ती बुढी मनमनै दुखी भइन् ।

Chovar Blues Mobile Size

 

‘लो री पवनहरीह काथा सुने बैठह, यापन दुधपुत लेले । (ल है व्रतालुहरु आफ्ना लालाबाला समेत कथा सुन्न बस)’— धनुबाण तेर्साउँदै, फलाक्दै तीन पटकसम्म जग्गेको फन्का लगाउछन् गाउँका सम्हनीया (कटुवाल) बाले अनि जग्गे बिचमा उभिएको पिपलको हाँगामा धनु–बाण सिउरिन्छन् । धेरै सामग्रीले सजिएको हुन्छ जग्गे— पीपलको हाँगालाई जग्गेको बिचमा गाडेर पीपलको रुखको परिकल्पना गरिन्छ । बाँसका चोइलाबाट बनाइएको चराको गुडझैँ देखिने वस्तु पिपलको हाँगामा झुण्डाइएको हुन्छ । सोही गुडमा चिलको परिकल्पना गरी बनाइएको माटाको डल्लो पनि राखिएको हुन्छ । स्याल्निको प्रतिक माटोको डल्लोलाई चाहिँ त्यहीँ पिपल फेदमुनि राखिएको हुन्छ । सबै व्रतालुहरु सोही जग्गे वरिपरि कथा सुन्नभनी डमाडम बस्छन् । केहीछिनमै जिम्दारबा आएर आमुन्ने सामुन्ने हुने गरी बस्छन् । अनि सुरु हुन्छ तिनका मुखारबिन्दबाट जितियाको कथा– एकादेशमा उचरिङवा दानोले गाउँ बसाउँदै थिए । आफ्नो घर बनाउँनका लागि घरसाङ्हा ल्याउन ऊ वनतिर जाँदै थियो । वन पुग्दानपुग्दै वरै एक खोला आउँछ । सोही खोलामा मुसरिया दानो नुहाइरहेको हुन्छ । उचरिङवा दानोलाई खोला तर्ने मेसो गरेको मुसरिया दानोले देख्छ र बोलाउँदै भन्छ, ‘कल्की से उचरिङवा दानो कहाँ जाँदैछौ ?’ खोला तर्दै गरेको उचरिङवा दानो टक्क रोकियो र भन्यो, ‘कल्की से मुसरिया दानो मोई वन जाँदै छु, घरसाङ्हा ल्याउनको खातिर ।’

— ‘मोरलागि दतियोन ल्याइदेऊ है ।’

— ‘यापनो घरको खातिर खाम्हा, बेलसी, खर, पाट ल्याउँदैमा धरमर हुन्छ, त कसरी तेरो लागि दतियोन ल्याउँ म ?’

— ‘ल्याएनस् भने यतिकुरा बुझ् । तेरो घरसाङ्हा काटेर दतियोन बनाउछु म ।’ उसको कुरा बेवास्ता गर्दै उचरिङवा दानो खोलो तर्यो । वन पुगेर आफ्नो घर बनाउन चाहिनेजति सामग्री बोकेर फर्कियो । खोला किनारमा मुसरिया दानो कुरेर बसेको थियो । नभन्दै दतियोन ल्याएको हुँदैन उचरिङवा दानोले । दुबैबिच भनाभन सुरूभयो । आक्रोशित हुँदै दुवै पैठेजोरी खेले । धडाधड कुस्ती, मुक्केबाजी पनि सुरुभयो । दुबै खुब लघरिए ।

अन्ततः उचरिङवा दानोले मुसरीया दानोलाई मार गिरायो र मुसरिया दानोको छाला काढ्यो । छाला काढेर जमिन निर्माणको लागि भुइँमा बिछ्यायो । फलस्वरुप उसको गाउँको क्षेत्रफल विस्तार भयो र सहरमा परिणत पनि । त्यही सहरमा राजाको पदमा हरदत कुँवर दरिए । हरदत कुँवरका छोरा शिवदत कुँवरको बिहे हुने प्रसङ्गबाट कथाले मूलरुप लियो । राजाले आफ्ना नजिकका सबै प्रजालाई मदिरा बनाउनका लागि चामलका कनिका पठाएका हुन्छन् तर आफ्नै नजिक आँगन जोडिएकी छिमेकी मस्वासी बुढीलाई फँचका अर्थात् कनिका पठाउन भुलेका हुन्छन् । भोली जस्तो विवाह, आज मात्रै ती बुढीलाई फँचका पठाइन्छ । सो फँचका, सुकाईवरी पकाए पश्चात् मात्र मदिरा बनाउनका लागि योग्य हुन्छ । तर दुर्भाग्य, मस्वासी बुढीले फँचका सुकाउने बेलामै झरी पर्न सुरु गर्यो । त्यतिञ्जेलसम्ममा गाँउका सबैले दरबारमा मदिरा पठाइसकेका हुन्छन् । झरीले गर्दा मस्वासी बुढीबाट मदिरा बन्न असम्भव देखियो । मस्वासीलाई जसरी हुन्छ मदिरा बनाउनु थियो । फँचका सुकाउनकै लागि मात्रै भए पनि उनको आँगनमा घाम चाहिएको थियो । उनमा छिटपिटाहट बढ्यो । भगवान् पुकार गर्न थालीन् । भगवानबाट सजिलै उनको पुकार पुरा नहुने देखेर सूर्य भगवानसँग सेज भाकल गर्न बाध्य भइन् । सूर्य भगवानबाट बुढीको अनुनयको कदर भई मस्वासी बुढीकै आँगनमा मात्रै घाम लाग्यो । अनि मात्र फँचका सुकाउन सफल भइन् । जसै असम्भव सम्भवमा परिणत भयो । फलस्वरुप दरबारमा मदिरा पठाएर खुसी भइन् । तर आफूले सूर्य भगवानलाई सेज भाकल गरेकोमा भित्रभित्रै डराइरहेकी थिइन् । भाकल गरे अनुरुप आफू सुत्ने ठाउँ, घरआँगन लिपपोत गरी चोख्याउनुपर्ने भयो । किनकि स्वयं भगवान त्यहाँ प्रकट भई उनीसँग एकरात बिताउनेछन् । त्यसैको बन्दोवस्तको लागि आफू सुत्ने खटियामा दरी बिछ्याइन् सो माथि सुर्ती, तमाखु, पान, बिडी, सुपारी आदि राखिन् । भगवान आउने बाटोमा खरानी छर्किन् । डरले आफू छिमेकीका घरमा बास बस्न गइन् । यता भगवान मध्यरातमा मस्वासी बुढीको आँगनमा प्रकट भए । छाप्रोभित्र प्रवेश गरे । तर मस्वासी बुढीलाई देखेनन् । त्यसपछि खटियामाथि राखिएको पान, सुपारी, बिडी, तमाखु, खाईवरी भगवान बाहिरिए । सोचे– ‘मस्वासी बुढी भएको भए मनोकांक्षा पुरा हुनेगरी केही बरदान दिने थिएँ तर ठीकै छ केही न केही त दिएरै जानुपर्छ ।’ त्यसपछि तिनै बुढीको छाप्रो पिछाडतिर गए, मुत्र विसर्जन गरे अनि अलप भए ।

sagarmani mobile size
मनोज थारु ‘अज्ञात’

एकाबिहानै मस्वासी बुढी आफ्नो छाप्रोमा आइन् । देखिन्, आफूद्वारा छरिएका खरानीमा खराउका डामहरु । जसबाट भगवान आएको प्रमाणित भयो, यसै प्रयोजनको लागि उनले खरानी छर्किएकी थिइन् । भगवान आएका तर आफू छाप्रोमा नरहेकोले ती बुढी मनमनै दुखी भइन् । पछुतो मान्दै, बिहानको खाना बनाउने तयारीमा जुटिन् । तर तिहुन पाइनन् । छिमेकमा तिहुनको लागि भनसुन गरिन् । कही कसैले पत्याएनन् । के उखमुखी भयो कुन्नी ! उनी छाप्रो पछाडि गइन् । देखिन् लहलहाउँदै गरेका हरिया लट्टेका साग । अकस्मात् ती साग देखेर बुढी छक्क परिन् । टिपिन् अनि केलाईवरी पकाएर भातसँगै खाइन् ।”

“दिन बित्दै गयो । मस्वासी बुढीको पेट बढ्न थाले । गाँउलेहरुले सुँइघुँई गर्न थाले । बुढी बिचलित हुन थालिन् । माथिबाट भगवानले सबै हेरिरहेका थिए । कुनै अनिष्ट कदम पो उठाउने हो कि भनी भगवानलाई पनि सुर्ता भयो । भगवान बुढीको सपनामा आए– ‘छाप्रो पछाडि उम्रेको साग नै तिम्रो लागि बरदान थियो । तिम्रो पेटको सन्तान त्यसैको उपज हो । त्यसलाई सम्हालेर राख, तिम्रो लागि एकदिन गाछीझैं साथी र हाथीको लाठी बन्ने छ ।’ सपनामा बुढी भरमाइन् । भगवानको बोलीलाई उनीले आकाशवाणीझैँ महसुस गरिन् । बुढी बिलखबन्द हुँदै बिउझिइन् र भगवानले भरमाएको सपनी पूरा गर्नतर्फ उन्मुख भइन् । फलस्वरुप एउटा बालकको आमा बनिन् । जुन बालक समयको रफ्तारभन्दा चाडो बढ्दै गयो । बालक अत्यन्तै चमत्कारी, तेजश्वी, प्रतापी र वीर भएको खुलासा हुँदै गयो ।”

“एकदिन गोठालो जाँदा गोठालाहरु धनुवाण हान्ने होडवाजी गर् दैथिए । आ–आफ्ना धनुबाट एउटा चिन्हमा बाणहरु बर्षाउदै गरेका देखिए । तर कसैले पनि त्यो चिन्हमा बाण प्रहार गर्न सकिरहेका थिएनन् । जुन परैबाट मस्वासी बुढीका छोराले देखिरहेका थिए । ती बालकले बाण प्रहार गर्दै गरेका केटाहरु नजिक गई भने, ‘मर्केफेनी एक मौका दे न रे । मोईपनि प्रयास गरी हेर्छु ।’

“यति सुनेपछि सबैले हासेर खिल्ली उडाउँदै भने, ‘हामी त सके छैन । तोँई कुन मर्दको बेटा होस् रे ! हाम्रोसँग मुकाबिला गर्न खोज्ने ?’

‘कथिक मर्दको बेटा रे ! ए, इय त बिना बापक नणेठ (फ्याकिएको) बेटा पो त ! तोँई (तँ) जाबो नाथे छुसी, पउलाले (बिना बाउको सन्तानले) के सक्छस् रे ! अलि उता जा ।”, भन्दै अर्कोले घच्यायो ।

अरू गोठाला केटाहरू अट्टाहाँस हाँस्न थाले ।

‘दे न दे रे एकचोटी हेरो । इयो कपुतले धनुबाण सही निसानामा हान्न सक्छ कि सक्दैन ! हाम्पनि हेरो न रे ।’– भन्दै त्यो हुलको एउटा नाइके केटोले नाकको पोर्रा फुलाउँदै आफ्नो धनुबाण थमाइदियो ।

जब मस्वासी बुढीको बेटाबाट बाण प्रहार भयो । त्यहाँका सबै गोठालाहरु चकित भए । निसाना ठिक ठाउँमा लागेको थियो । त्यसपछि त झन् के खोज्छस् कानो, आखो भैहाल्यो ! सबै गोठालाहरु ऊमाथि नै खनिए ।

‘ए पउला, (कपुत) ! तोर इयो हिम्मत ! तोँरसे इयो कसरी सम्भव भयो हँ रे ?’

त्यस्तैमा नाइके केटोले उसको कठालो समात्दै भन्यो– ‘हाम्ले गर्न नसकेको काम तोँई (तँ) कसरी गर्न सकिस् रे ? तोँई कुने होस् ? तोर कथी पहिचान छ रे ? कुन लडभङ्गाको हवस होस् ? लो कह् ! तोँइलाई था छैन भने जा तोर महतारीलाई (महतारी=आमा) सोध् । तोर बाप को हो ?”

साच्चै कटुसत्य ! को हुन् मेरा बा ? अहिलेसम्म खै मैले देखेको ! बाको मायाँ कस्तो हुन्छ ? खै मैले भोगेको ? मेरो पहिचान के हो ? गम्भीर सोचमा डुब्दै त्यो बालक आफू आफै धनुबाणरुपी प्रश्न बन्यो । घरमा पुगेपछि गोठालामा भएका बृतान्त रुँदै आमालाई सुनायो । गोठालाहरुका सबै प्रश्नका बाणहरु मस्वासी बुढीका छातीमा बर्सिए । आखिर ती बुढीका मुटु छियाछिया भइगए । भरमार पिडाका सिस्काबाट सत्य तथ्य छरपष्टिन थाले– ‘तोर बाप उनै हुन् जो आगोभैँ भएर उठ्छन् र उसै गरी डुब्छन् ।’ आकाश तर्फ देखाउदै– ‘उह् उनै हुन् तोर बाप । सूर्य भगवान् ।”

बालक हैरान हुँदै बोले– ‘मोई भेट्न चाहन्छु । मोर सबे प्रश्नका जबाफ उनैसे सुन्न चाहन्छु ।’ हठ गरे बालकले । मस्वासी बुढीले छोरालाई जति सम्झाए पनि धर पाइनन् । आखिर पठाउन बाध्य भइन् ।
बिहान सबेरै, बाटाछेउमा उम्रेका साग र कनिकाबाट बनेका खाजाको पोको बोकी मस्वासी बुढीका छोरा घरबाट बाहिरिए । लामोबाटो पार गर्दैगर्दा ती बालक, बालक रहेनन् केटोमा परिणत भए अनि केटोबाट वयस्क युवकमा पनि । यसै बिच बाटामा ती युवक, अनेक समस्यामा पिल्सिएका नर नारी, जीव–जन्तु, वनस्पति आदिसँग जम्काभेट हुँदै, तिनीहरुका बिलौना सुन्दै बिभिन्न सन्देश बोकेर आफ्ना पिता सूर्य भगवानसँग भेट गर्न सफल भए । दर्शन गर्दै सूर्य भगवानका दाहिने जाँघमा बसे । स्वयं आफ्नो नाम र पहिचान मागे । बाटामा भेटिएका बिभिन्न समस्याका निराकरण र तिनका लागि उपयोगी सन्देशहरु माग गरे । सूर्य भगवानले आफ्ना छोरा ती युवकको नामकरण गर्दै जगत उपयोगी सन्देश दिए अनि बिदा गरे । पिताबाट आफ्नो नाम र पहिचान प्राप्त भएपछि ती युवक फुर्कदै घरतर्फको बाटो समाते । फर्कदै गर्दा बाटामा भेटिएका सबै नर नारी, जीव–जन्तु, वनस्पतीका समस्याका समाधान बताउँदै र आफ्ना पिता सूर्य भगवानका सन्देश सुनाउँदै– ‘आफ्नो नाम जितवाहन रहेको र जितिया पर्वको दिनमा यही नामबाट आस्था अनि विश्वास पूर्वक व्रत बसेमा व्रतालुहरुका मनोकांक्षा पूरा हुने बताए । र खुसीखुसी घरमा फर्के ।’

“आखिरीमा मस्वासी बुढीका छोरालाई उनको आफ्नै आँट, साहास र दृढ अठोटले पराक्रमी, तेजश्वी अनि विजयी बनायो । तिनै तेजश्वी युवकका पराक्रमको गाँथा र सूर्य भगवानले पठाएको सन्देश बमोजिम सबै राज्यवासी जनमानसले जितिया पर्व मनाउँदैछन् हालसम् मपनि । जितवाहनको नाममा सम्पूर्ण नारीहरु जितिया पर्वको व्रत बस्दैछन् जसरी तिमीहरु व्रत बसेका छौ । यो परम्परा सदियौँदेखि चल्दै आएको हो । त्यसैले आफ्नो रितीरिवाज, संस्कृति जोगाउँदै जानुपर्छ, संस्कार छोड्नु हुदैन ।”— कहेपछि वरपर कथा सुन्न बसेका सबैतिर हेरे जिम्दारबाले । सबैले मासको दालरुपी अक्षेता जग्गेतिर छर्कन्छन् । जिम्दारबाले लोटाबाट पानी पिउँदै पुनः कथालाई अगाडि बढाउँछन् ।

+

यही जीतवाहनको नाममा राजा हरदत कुँवरका राज्यमा रहेका सम्पूर्ण नारीहरुले झैँ नजिकैको जङ्गलछेउमा बस्ने पोथी चिल र स्याल्नीले पनि जितिया व्रत बसेका हुन्छन् । यी दुबैले जङ्गल छेउकै खोला नजिकै दुधाशङ्ख पीपलको हाँगा र फेदमा आफ्ना बासास्थान बनाएका हुन्छन् । सबै नारीले झैँ ती दुबैले पनि उपासको अघिल्लो दिन नुहाइधुवाई गरी चोखो खाना खाएका हुन्छन् ।

उपासको दिन, एकाबिहानै हरदत कुँवरको चोला बदलियो । गाउँ शोकमग्न बन्यो । तैपनि गाउँका नारीहरु उपसमा थिए । चिलो र स्याल्नीले पनि केही नखाई आस्था पूर्वक उपासे । दिनभरि दुबैले लुकेर गाउँगाउँ चहार्दै जितिया पर्वको झम्टा, बदहागीतको रमाइलोमा समय व्यतित गरे । साँझ परेपछि बदहा र जितियाका गीत गुनगुन गर्दै दिदीबहिनी आ–आफ्ना बासास्थानमा फर्के ।

उता त्यही नजिकै खोलामा हरदत कुँवरको शव जलिरहेको थियो । स्याल्नीको ओडारमा लासको मगमग आइरहेको थियो । व्रत बसेकी स्याल्नी अब भोकाउन थालिन् ।

— “अरी चिलोदिदी रात कस्के काटके री ? बरु भुखवा बिस्रावके, बदहा गाओ न ! (ए चिल दिदी रात कसरी काट्ने खै ? बरु भोक बिर्साउन बदहा गीत गाऔँ न !)”

— “बन्तई शीरीनीया बहिनी गाओ न तौ ! (भैहाल्छ नि ! गाऔँ न स्याल्नी बहिनी ।)”

“जब स्वामी जइबे पुरुबे रे बनिजिया
हरे ओतहिसे यानी रे दिहे टिकुली रे सनेसवा ।।
जाहुँ जुग जियबो रि धनि पलटी घर रे आई
हरि ओतहि से यानि रे देबो टिकुलि रे सनेसवा ।।
जाहुँ स्वामी जईबे रे पछिए रे बनिजिया
हरे ओतहुसे यानि रे दिहे कजरा सनेसवा ।।
जाहुँ जुग जियबो रे धनि पलटी घर आई
हरि ओतहिसे यानि रे देबो कजरा रे सनेसवा ।।
जब स्वामी जइबो रे उतरे बनिजिया
हरे ओतहिसे यानि रे दिहे चुरिया रे सनेसवा ।।
जाहुँ जुग जियबो रि धनि पलटी घर रि आई
हरि ओतहि से यानि रे देबो चुरिया सनेसवा ।।
जब स्वामी जइबे दखिने बनिजिया
हरे ओतहिसे यानि रे दिहे सिनुर रे सनेसवा ।।
जाहुँ जुग जियबो रि धनि पलटी घर रि आई
हरि ओतहि से यानि रे देबो सिनुर रे सनेसवा ।।”

दुबै दिदीबहिनी रातमा एक–आपसमा आ–आफ्नै स्थानबाट जितियाको बदहा गीत गाउँदै रात गुजारेर बसिरहेका थिए । घरिघरि गप्पीसप्पी पनि मार्दै थिए । मध्यरात भयो । रात छिप्पी सकेकोले जल्दा जल्दैको लास छोडेर गाउँलेहरू गाउँ फर्केका थिए । यता स्याल्नी भोकले चुरचुर भएकी हुन्छे । रुखमाथि गुँडमा बसेकी चिलो दिदी जागेकै छिन् कि निदाइसकिन् भनेर जाँच्न स्याल्नीले ‘अरी चिलो दिदी ! चिलो दिदी री !!’ भनी पुकारिन् । गुँडकी चिलो जागेकै भए पनि नसुनेझैँ गरिन् । उसलाई आफ्नी बहिनी स्याल्नीको चर्तिकला हेर्नु थियो । चिलो नबोलेपछि स्याल्नीलाई दिदी निदाइसकेको आभाष भयो । र, सुटुक्क ओडारबाट बाहिरिइन् । खोलामा झम्लङ्ङ फाल हानिन् । जिउ भिजाइन् । अनि जल्दै गरेको लासमाथि जिउ झट्कारिन् । बारम्बार त्यसो गरिगरिकन चिताको आगो निभाइन् । अनि लासलाई ओडारमा ल्याई पेटभरि खाइन् । अघाएर डकारिन् । माथि चिलोले सबै थाहा पाइरहेकी हुन्छिन् ।

+

केही कालपश्चात् दुबै दिदीबहिनीको चोला बदलियो । राजाका पोखरीमा ती दुबै फुल भई उम्रे । चिलो रातो गुलाव भई फक्रिइन् भने स्याल्नी सेतो कर्चीको फूल । एकदिन राजा र मन्त्री पोखरीमा स्नान गर्दैगर्दा ती फूललाई देखे । राजाले रातो गुलावलाई र मन्त्रीले सेतो कर्ची फूललाई आ–आफ्ना कोठामा सजाए ।

जब राजा र मन्त्री राती निदाउँथे । ती दुई दिदीबहिनीले सुन्दर कन्यारुप धारणगरी आ–आफ्ना राजा, मन्त्रीका सेवामा जुट्थे । एक रात दुवै राजा र मन्त्रीले सुटुक्क चाल पाए । फूलबाट सुन्दर बाला धारण गरी राजा र मन्त्रीको सेवामा जुटेपश्चात् सधैंझैँ दरबारको सरसफाई, चुलोचौको गर्दैगर्दा राजा र मन्त्रीले आ–आफ्ना फूललाई बल्दै गरेको पानसमा झोसेर नष्ट गरे । ती बालाहरु पुनः फूलमा परिणत हुन सकेनन् र दुबैजना राजा र मन्त्रीका अर्धाङ्गीनि भई बसे । चिलो “रानी” बनिन् भने स्याल्नी “मन्त्राणी” । दिन बित्दै गयो । रानीका सातजना राजकुमार जन्मे सकुसल र हृष्टपुष्ट भई हुर्के तर मन्त्राणीका सन्तान जन्मदै मर्दै गरे । रानीका सात राजकुमार सकुसल तर आफ्ना सातैवटै नरहेकाले मन्त्राणीलाई सही नसक्नुभयो । आफ्नी दिदी रानीसँग निहु खोज्न थालिन् । ‘होई न होई तोँइले नै मोर (मेरो) सन्तान खाकी होस् । तँ बोक्सिनी होस् ।’ भनी आरोप लगाउन थालिन् । रानीले बहिनीलाई धेरै सम्झाई बुझई गरिन् । तर पनि रानीलाई दोषी करार गरिरहिन् । मन्त्राणीलाई जति सम्झाए पनि नमानेपछि आफ्ना राजकुमारहरु सुम्पिन तयार भइन् । तैपनि मन्त्राणीले निहु खोजी रहिन् । रानीले आफूहरुका पूर्व जन्ममा भएका घटनाहरु सुझाउन खोजिन् । विगत खोतल्दै बुझाउन खोजिन् । तै बुझिनन् । आखिर केही उपाय लागेन । रानीले गाउँका सबै गाउँलेलाई भेला गराइन् । जमिन खन्नका लागि फरुवा र दुईजना रुख चढ्न सक्ने माहिरको व्यवस्था गरिन् । राजपरिवार र सम्पूर्ण मास जङ्गलतिर उर्ले । खोला तरेपछि जङ्गल सुरु हुँदा हुँदैको दुधाशङ्ख पीपलको फेदमा पुगे । जहाँ ती दुबैका बासास्थान हुने गर्थ्यो, पूर्व जन्ममा । सोही पिपलमाथि दुईजना रुखहरलाई चढ्न अह्राइन् जहाँ चिलोको गुँड हुने गर्थ्यो । र, दुईजनालाई पिपलको फेद खन्न लगाइन् जहाँ स्याल्नीको ओडार हुने गर्थ्यो । दुबै काम एकसाथ भयो । पिपल माथिबाट चिलको गुँड सकुसल झारियो । त्यहाँ मासका दाल हरियाँ भई मौलाएका थिए भने ओडार खन्दा हड्डी नै हड्डी मात्र भेटिए । रानीले आफ्नी बहिनी मन्त्राणीलाई त्यो सबै औल्याउँदै उसले पूर्व जन्ममा गरेको करतुतलाई चित्रपटमा देखाएझैँ गरी छर्लङ्ग परिन् । मन्त्राणीलाई, आफू रीतिरीवाज र धर्मपालना गरी बिधिवत व्रत नबस्नाले यो हविगत भएको हो भन्ने प्रष्ट भयो । जसले तिनलाई घोर आत्मग्लानि बनायो । जुन उनले सहन गर्न सकिनन्, मन्त्राणीको छाती फाटेर देहावसन भयो ।

अन्त्यमा, जिम्दारबाले सबै वर्तालुलाई कुकर्म गरेमा कुभलो हुने र असल कर्म गरेमा भलो हुने सन्देश दिन्छन् र समापन गर्दै कहन्छन्— ‘सुनलहराके सोनक माला, हुकलहराके हुक्काक माला, कहलहराके काठक माला, बोल भैया राम राम ।’ सम्हनिया बा (कटुवाल बा) उठेर पिपलको हाँगामा सिउरिएको धनुबाण झिक्छन् । अनि धनुमा बाणको ताँदो हालेर चारैतिर तेर्साउँदै जग्गेलाई तीन फन्को घुम्दै फलाक्छन् — ‘लोरी पवनहरीह यापन यापन दुधपुत लेले उठह । (ल व्रतालुहरू आ–आफ्ना लालाबाला सहित उठ, कथा समापन भयो ।’

प्रतिक्रिया
Loading...