“मिराजीले मान्दै मान्नु भएन ।” जितेनले भर्याङ उक्लँदै गर्दा भन्यो ।

“किन मान्नु भएन ?” मैले जितेनको अनुहारमा हेर्दै सोधेँ ।

“किन र कसोको कुरा पछि गरौंला, अहिले चाई खाना खाउँ ।” जितेनले भान्सातिर इशारा गर्दै भन्यो ।

खाना खाएर बैठक कोठातिर ओर्लदै गर्दा जितेनले कुरा झिक्यो, “मलाई त मिराजीको कुरा एकदम ठीक लाग्यो ।”

“त्यस्तो लाजमर्दो कुरा पनि तपाईंलाई ठीक लाग्यो ?” मैले थोरै रिस मिसाएर भने ।

“गल्ती दुई चार कारण भए भन्दैमा यस्तो कदम चाल्न भएन नि ।” जितेनले मेरो रिस सान्त पार्ने हिसाबले भन्यो ।

“गल्ती भयो भन्दैमा समाजको अगाडि शिर झुकाएर बस्ने कुरा पनि त आएन ।” मैले आँखा टेबलमा भएको डिभोर्स पेपरतिर फाल्दै भनेँ ।

“तपाईंको कुरा पनि एक प्रकार ठीक हो । अर्को प्रकार बेठीक, त्यसैले यो कदम नउठाएको जाती ।” जितेनको कुरा सुनेर मेरो पारो तात्यो । नखाऊँ भने दिनभरिको शिकार खाऊँ भने कान्छा बाउको अनुहार, भनेझैं भयो मलाई ।

बिग्रिएको मेरो अनुहार हेर्दै जितेन बोल्यो, “तपाईं एक पल्ट मिराजीलाई भेट्नुहोस् ।”

“मिराजी कहाँ बस्नुहुन्छ ?”

“हस्पिटल चोक ।” उसले मिराजीको कार्ड दिँदै भन्यो ।

विक्रम पौडेल

मैले काड समाएर भनेँ, “हुन्छ म एकपल्ट मिराजीसँग कुरा गर्छु ।”

यति भनेर म बिदा भएँ ।

रातीदेखि नै झरी परिरहेको थियो । झरीले बाटो हिलो अनि चिप्लो भएको थियो । मैले नेपालको विकासको तीब्रता हेरेर फिस्स हाँसेा । मेरो अगाडि अटोवाला आएर सोध्यो, “कहाँ जाने ?” मैले सडकमा परेका खाल्डा हेर्दै भने, “हस्पिटल चोक ।”

“बस्नुहोस् ।” उसले सिट पुछ्दै भन्यो ।

“कती हो ?” मैले उसको अनुहार हेर्दै सोधेँ ।

”तिस रूपयाँ ।”

”म सिटमा बसेँ ।” उसले खाल्डा छल्दै अनि खाल्डाको हिलो पानी सडकका किनारातिर फाल्दै कुदायो । हस्पिटल चोक पुगेपछि मैले तिस रूपयाँ दिँदै ऊबाट बिदा भए ।

सिमसिम पानी परिरहेको थियो । म सोध्दै खोज्दै मिराजीको डेरामा पुगे । म पुग्दा मिराजी पत्रिका पढ्दै थिइन । मैले मिराजीतिर हेर्दै नमस्कार गरे । उनले पनि मेरो अनुहारमा हेरेर नमस्कार फर्काइन् । मिराजीले मलाई अगाडि पट्टीको सोफामा बस्न आग्रह गरिन् । म उनको अगाडि सोफामा थ्याच्च बस्तै कुराको प्रसङ्ग उक्काए, “भाइ बुहारीको विषयलाई लिएर आएको ?”

“कसको बारेमा ?” आँखाको चस्मा फुकालेर टेबलमा राख्दै मिराजी बोलिन् ।

“मेरो फुपुको छोरा रमन र गीताको डिभोर्सको विषयमा कुरा गर्न आएको ।”

“ए…ए… मैले जितेनलाई सबै कुरा भनेकी थिएँ त ।” मिराजीले मेरो अनुहार गाढा नियाल्दै भनिन् ।

“हजुरको हातमा छ सबै कुरा, हजुरले फैसला गरिदिए पुग्छ ।”मैले विनम्र अनुरोध गरेँ । मिराजीले जितेनलाई झैं मलाई पनि हुन्न मेलमिलाप गर्नुपर्छ भनिन् । मैले सकिन्न भनेँ । मिराजीले थपिन्, “बच्चा नभएको भए म तपाईंको कुरामा सहमत जनाउने थिएँ । तर म बच्चाको भविष्य सम्झिएर यो कदम उठाउन सक्दिनँ ।” मिराजीले खुई काड्दै भनिन् ।

“बच्चाको भविष्य त हामीले पनि सोचेका छौँ ।”

“अहँ तपाईंहरुले केही सोच्नु भएको छैन ?” मिराजीले मेरो कुरामा विश्वास मानिनन् । बरु एक छिन्को मौनता पछि भनिन्, “म त भोगेर आएकी हुँ महेशजी, कर नगर्नुस्, अचनाको पिर अचनालाई मात्र थाहा हुन्छ । खुकुरीलाई होइन ।”

मिराजीको कुराले मेरो मनमा खुल्दुली जगायो अनि सोध्न पुगे, “के म तपाईंको बारेमा जान्न सक्छु ?” मिराजी ले मुन्टो हल्लाएर अनुमति प्रदान गरिन् ।
लगातार मेरा प्रस्न मिराजीतिर तेर्सिए ।

“तपाईंको जीवनमा त्यस्तो के घटना घटेको थियो ?”

“म अनाथ हो, महेशजी ।”

“म थप केही बुझ्न सक्छु ?”

अवस्य बुझ्न सक्नुहुन्छ भन्छिन् भन ठानेको तर मसँग उल्टै रिसाइन्, “तपाईंलाई अर्काको व्यक्तिगत कुरामा केको चासो ?”

मिराजीको कुरा सुनेर मेरो अनुहारको चमक उड्यो । आफैंले सोधेको प्रश्नप्रति आफैंलाई पछुतो लाग्यो । यति हुँदा हुँदै पनि आफ्नो जिद्दीपन अघि सारिहाल्यो ।

“मलाई हजुरको कुराले खुल्दुली जगायो ?”

“के तपाईं पत्रकार हो ?”

“होइन ।”

”उसोभए लेखक हो ?”

“लेखक पनि होइन ।”

“पत्रकार पनि होइन लेखक पनि होइन उसो भए तपाईँ हो चाई को ?” मलाई कहिले नचिनेको झैं बेवार गरिन् ।

म नाजवाफ मुस्कुराए एक फेरि नमिठो हाँसो हाँसेँ । बरु मिराजीले गरेको कुराको गाँठो फुकाउन मन लाग्यो सोधे, “हजुरले पत्रकारले सोध्ने प्रश्न भनेको त बुझे तर लेखकले सोध्ने प्रश्न भनेको बुझिन् नि ?”

“हततेरी महेशजी तपाईं पनि तपाईं यतिसम्म मुर्ख हुनुहुन्छ मैले कहिल्यै सोचेकी थिइन् । पत्रकार तत्काल भएका घटना लेख्छन् । तर लेखकले त कुराको चुरोमा पुगेर लेख्छन् । वर्षौं पुरानो घटना खोतलेर ताजा र नयाँ बनाइदिन्छन् । मलाई मूर्ख बनाएर जाने बुझेका कुरा पोखिन् ।

म मिराजीको कुरा सम्झिएर सोचमग्न भएँ । यही भएको हो भन्ने मेसो पाउन सकिन । मलाई मिराजी अनाथ हुनुको कारण पत्ता लगाउनु थियो । म मिराजीसँग बिदा भएर तत्काल म जितेको घरतिर हानिए । म जितेनको घरमा पुग्दा जितेन टीभीमा फुटबल हेर्दै थियो । म पुग्नसाथ भोल्युम सानो बनाएर बस्न अनुरोध गर्यो । म जितेनको नजिकै गएर बसेँ । जितेनले भन्यो, “मैले भनेकै थिएँ ! मिराजी मान्नु हुँदैन भनेर ।”

जितेनले मेरो फुङ्ग उडेको अनुहार हेरेर यही लक काटेछ ।

“कुरा त्यस्तो होइन, र मान्नु पनि भएन ।” मेरो कुरा बुझेनछ क्यार ऊ अल्मलियो ।

मैले कुराको चुरो उक्काउने हिसाबले सोधेँ, “मिराजीको जीवनमा के भएको थियो ?”

“किन मिराजीले केही भन्नुभयो ?”

“भन्नुभयो ।”

“के भन्नुभयो ?”

“अनाथ ।” यति भनेर फेरि थपे “मिराजी जीवनमा के घटेको थियो ! अनाथ हुने गरी ।” जितेनले मेरो कुरा ध्यान पूर्वक सुन्यो अनि यसरी सुनायो मिराजीको कथा ।

मिराजी दश वर्षकी हुँदा मिराजीका बुबा आमाले दोस्रो बिहे गरेका थिए । आमाले भएको सम्पति लिएर ड्राइभरसँग भागेकी थिइन् । बुबाले गाउँकी भाउजु पर्ने लिएर भारत पसेका थिए । त्यसपछिको समय मिराजीका लागि निकै कठिन भएर उभियो । मिराजीमाथि काका काकी र आफन्तले नोकरलाई जस्तो व्यवहार गरे । दुई छाक खान मिराजीले आफन्तको अनुहार उग्रने गरी काम गर्नु पर्थ्यो । माया पाउने उमेरमा मिराजीका जगल्टा उखेलिए, मिराजी माथि कुटाई र गाली बर्सिए यो सब सुनाएर साध्य छैन । अनेक तरहका अन्याय सहन नसकेर मिराजी सहर पसिन् । जुठा भाँडा र मैला लुगा धोएर अक्षर चिनिन् । स्कूल पढ्न थालिन् । जब जवान भइन् तब स्कुले पढाइ पूरा गरिन् । राम्रो पढाइ भएकाले नराम्रो कामको शिकार बन्नु परेन । सानोतिनो जागिर गर्दै आफ्नो पढाइ पूरा गरिन् अनि आज न्यायाधीशजस्तो पदमा पुगिन् ।

जितेनले थाहा भएसम्मका सबै कुरा भन्यो । जब मिराजीले भोगेका दुःख सुने तब पो मलाई प्रदीपको याद आयो । मैले मेरो सन्तानलाई जति माया प्रदीपलाई दिन सक्दिनँ भन्ने आभास भयो । मैले दिएको माया त छिनभरका लागि दिने माया थियो । बल्ल थाहा पाए मिराजीले बच्चाको बारेमा केही सोच्नु भएको छैन भनेको कुरा । मलाई आफ्नै कदमप्रति घिन लागेर आयो । आफ्नो सन्तानको बारेमा आफ्ना बुबा आमाले बाहेक राम्रो अरू कसैले सोच्दैनन् ।

बाटो रमनले पनि बिराएकै हो । बाटो गीताले पनि बिराएकै हो । दुवैको बीचमा दूरी बढेकै हो । घटना मिराजीका बुबा आमासँग मिल्न खोजेकै हो । सायद अलग अलग बस्नु परेकाले यो परिस्थिति निम्तिएको हुनुपर्छ । आखिर यो मामिलामा दोष राज्यको पनि छ । जसले देशमा रोजगारी सिर्जना गर्न सकेको छैन । दोष रमन र गीताको पनि छ । उनीहरू भविष्यलाई बिर्सिएर वर्तमानमा हराएका थिए । जसका कारण प्रदीप बाबु आमाको मायाबाट वञ्चित हुन खोज्दै थियो ।

भोलिपल्ट मिराजीले रमन र गीतालाई सँगै राखेर भनिन्, “बच्चाको लागि भए पनि डिभोर्स नगर । गर्ने नै भए आफैंले रोपेको बिरुवा आफैं उखेलेर फाल । होइन भने उराठ मरूभूमिमा कलिलो बिरुवालाई एक्लै अलपत्र नपार । त्यो कलिलो बालकले मर्दै-बाँच्दै गर्न नपरोस् ।”

रमन र गीताले एक अर्काको मुख हेरेर प्रदीपको भविष्य सम्झिए । आफ्नो बाल्यकाल र बुबा आमाको मिठो माया सम्झिए । आफ्ना गल्तीहरु सम्झिए । अन्ततः डिभोर्स नगर्ने निर्णयमा पुगे ।