उहिल्यै नै अरे –

एउटा गाउँमा एउटा परिवार बस्दथे। गौ पालन उनीहरूको मुख्य पेसा थियो। परिवारमा आमा-बाबु र सुनपरी, मोनपरी र जूनपरी नाम गरेका तीनजना छोरीहरू थिए| तीनै बहिनी छोरीहरूमा असाध्य मेलमिलाप रहेको देखेर आमा-बाबुले कसैको पनि बिहे गरिदिएनन्‌।

आमा-बाबुको मृत्युपछि दिदी-बहिनी मिलेर गाई पालन गर्न थाले । जेठी दिदी सुनपरी दूध, दही, खोवा, घिउ, छुर्पी बनाएर बजारमा बेच्ने काम गर्थी माहिली बहिनी गाईलाई घाँस काट्ने, दानापानी दिने, भकारो सोहोर्ने र सोत्तर ओछ्याउने काममा जुट्थी ।

कान्छी बहिनी दिदीहरूलाई भान्छा बनाएर खुवाउने काममा व्यस्त रहन्थी। उनीहरूको गुजाराको माध्यम गाई थियो। धेरै गाईहरूमध्ये गोबु नाम गरेको एउटा कामधेनु गाई थियो। दिदी बहिनीहरूले सल्लाह गरेर अन्य सबै गाईहरू बेचे। केवल गोबु मात्र राखे ।

एक दिन गोबु घाँस चर्न गएको फर्केर आएन । गाई हरायो ।

घरमा खल्बली मच्चियो। केही खाजा चमेना लिएर सुनपरी गाईको खुरको चिन्ह पहिल्याउँदै एउटा घाँटीसम्म पुगी, तर गाई फेला परेन |

लामो बाटो, थकित भएर केही क्षण विश्राम गर्न ऊ एउटा थुम्कोमा बसेर सुस्ताउन थाली |

यतिकैमा एउटा सेतो पंक्षी आयो |

पंक्षीले भन्यो- “सुन त सुनपरी ! यदि तिमीले मलाई जौँको पिठोको रोटी दियौ भने म तिमीलाई खुसीको खबर सुनाउँछु |”

“यदि तिमीले मलाई मासुका केही टुक्रा दियौ भने म तिमीलाई झन्‌ मन पर्ने सुखद सम्वाद सुनाउँला |”

“यदि तिमीले मसँग बिहे गर्यौ भने म जीवनभर नै सुसमाचार सुनाउँला |”

सुनपरीलाई झनक्क रिस उठ्यो। उसले मनमनमा सोची- “कस्तो लबस्तरो पंक्षी रहेछ ! बिहे ? त्यो पनि चरासँग? कस्तो उदेक लाग्दो कुरा ?”

सुनपरीले एउटा दर्सिन ढुङ्गा उठाएर चरालाई हानेर त्यहाँबाट धपाइदिई !

दिनभरि गाई खोजेर हैरान बनेकी सुनपरी लाचार भएर घर फर्की

दोस्रो दिन माहिली बहिनी त्यसरी नै गोबुको खोजमा हिँडी। ऊ धेरै टाडो पुगिसकेकी थिई | क्लान्त, हैरान खतरान परेर एउटा चौरमा विश्राम गर्न पल्टी | भएको त्यही चराले माहिली बहिनी मोनपरीसँग पनि त्यही प्रश्न गर्यो ।

गोबु हराएको पीडा र थकानले चुर भएकी मोनपरीले एउटा काठको टुक्रा चरा भएतिर हानी। चरा त्यहाँबाट उडेर गयो।

तेस्रो दिन कान्छी बहिनी जुनपरी गोबु खोज्न घरबाट निस्की। हिँड्ने बेलामा उसले दुईजना दिदीहरूलाई भनी-“म गोबु लिएरै मात्रै फर्किन्छु। जबसम्म गोबुको पत्तो लाग्दैन तबसम्म म फर्किन्न।”

जुनपरी पनि गाई खोज्दै त्यही घाँटीमा आइपुगी |

केही समय विश्राम गरेपछि आफ्नो पोकाबाट रोटी, खोवा र मासुका टुक्रा पस्केर के खान मात्र लागेकी थिई अचानक हु्र्र उडेर एउटा श्वेतपंक्षी आयो। पंक्षी बढो सुन्दर थियो, मान्छेजस्तो बोल्न सक्थ्यो। जुनपरीलाई त्यो पंक्षी असाध्य मन पर्यो।

जुनपरीलाई पनि त्यस पंक्षीले भन्यो- “सुन त जुनपरी ! तिमीले मलाई जौँको रोटी दियौ भने तिमीलाई म राम्रो खबर सुनाउँछु। मलाई खेवा दिन्छ्यौ भने म तिमीलाई मन पर्ने सम्वाद सुनाउँछु । तिमीले मसँग बिहे गर्यौ भने म तिमीलाई जीवनभरि नै सुसमाचार मात्र सुनाउँछु के तिमीलाई मन्जुर छ ?”

गाई खोज्ने काम भुतुक्क बिर्सेर जुनपरी चरासितै सम्बन्ध जोड्ने रहरमा घर फर्केर गइन।

जुनपरीले पंक्षीको माग पूरा गरिदिने वचन दिई । पंक्षीले भन्यो, “मेरो पछि पछि आऊ । म तिमीलाई सहायता गर्छु । अब म जे भन्छु त्यही गर | तिमी गुफाभित्र प्रवेश गर र हेर |”

जुनपरी पंक्षीको पछिपछि लागी |

हिलो प्रवेशद्वार रातो र अर्को भित्री प्रवेशद्वार सुनौलो द्वार पार गरेपछि एउटा विशाल शङ्खको द्वार थियो । त्यसलाई पनि पार गरेपछि अर्को मणिमाणिक्यजडित द्वार थियो । त्यसलाई खोलेर भित्र पस्दा एउटा अत्यन्त सुन्दर शयनकक्ष थियो | शयनकक्ष पनि रत्नजडित थियो। जुनपरीले शयनकक्ष स्पर्श गरी | त्यो एउटा सुन्दर सिंहासनमा परिणत भयो। श्वेतपंक्षी त्यही सिंहासनमा बस्यो ।

पंक्षीले भन्यो- “जुनपरी ! तिम्रो गोबुलाई राक्षसनीले पहिल्यै खाइसकी। अब मरिसकेको गाई खोजेर किन दुःख गर्छ्यौ ? नपाइने कुरा खोजेर व्यर्थमा दिन फालेर के लाभ !”

“तिमी यही बस। यहीँकी स्वामिनी बन।”

जुनपरीले सोची- “श्वेतपंक्षी बढो आकर्षक छ, चालचलन पनि मनुष्यको जस्तो छ, किन उसको प्रस्ताव स्वीकार नगरौँ ?”

जुनपरीले श्वेतपोशाकधारी पंक्षीसँग बिहे गर्ने अठोट गरी। जुनपरी र श्वेतपोशाकधारी पक्षीले बिहे गरेर सुखपूर्वक जीवन बिताउन थाले |

(प्रस्तुत लोककथा पुष्पा शर्माको स्थानीय लाेककथा सङ्ग्रह ‘गोलसिमल’बाट साभार गरिएको हो ।)