“हजुर नमस्कार… एकपल्ट हजुरसँग भेट्ने काम थियो…।”

“काम ?”

“अस्ति बुबाले हजुरलाई भन्नु भा थ्यो रे ।”

“को बुबा ? कसको छोरा हौ तिमी ?”

“रामनाथको हजुर !”

“को रामनाथ ?”

“हरनामपुरको रामनाथ हजुर !”

अशेष मल्ल

“हरनामपुरको ? … अहँ, मलाई याद भएन । याद पनि कसरी हुने ! दिनमा पच्चीसौं मानिसहरू आउँछन्‌ न नाम याद हुन्छ न…”

“हामी त हजुरको गाउँका छिमेकी हौं नि हजुर… बधुनाथको नाति त हुँ । बधुनाथ… के त हजुर !”

“ए [ अँ… अँ… बधुनाथको नाति हौ तिमी ? कहाँ छ बधुनाथ अचेल ?”

“उहाँ स्वर्गे हुनुभा’ त सात बर्षे भइसक्यो हजुर ! ”

“सात वर्ष भइसक्यो ? अनि तिम्रो बुबाको नाम केरे ?”

“रमनाथ हजुर !”

“रामनाथ ! … देखेँ भने चिन्छु होला ।”

“अस्ति गाउँबाट घिउ पनि ल्याइदिनुभा’थ्यो नि, कस्तो बिर्सनुभा’ हजुरले ।”

“ए… अँ … अँ… बुझेँ बुझेँ रामनाथ ! … अनि के भो त रामनाथले तिम्रो बारेमा त केही बताएन ..।”

“भनेँ भन्नुहुन्थ्यो हजुर !”

“के कुरा ?”

“एउटा सानोतिनो नोकरीमा लाग्न पाए हुन्थ्यो भनेको । ”

“नोकरी !…. कसलाई, तिमीलाई ? ”

“हजुर ! ”

“कति पढेका छौ ?”

“एस्‌. एल्‌. सी: पास छ्‌ हजुर… । ”

“जागिर खाने बेला भएको छैन तिम्रो ।”

“बेला नभएर के गर्नु हजुर…।”

“तिम्रो बाबु के गर्छन्‌ नि ?”

“के गर्ने .., जे भेटिन्छ त्यही…कहिले भारी बोक्ने कहिले…।”

“यसो गर न, मलाई अहिले एकदम हतार छ, कुनै दिन फेरि आऊ न है । ”

“हवस् हजुर ! ”

“नसस्कार…हजुर… हजुरले कुनै दिन भेट्नु भन्नुभाथ्यो…।”

“को हौ तिमी ? .. मैले पहिले पनि तिमीलाई भेटेको थिएँ र ?”

“अस्ति आएको थिएँ नि हजुर !”

“कहाँ ? यहीँ घरमा कि अफिसमा ? ”

“यही हजुर …। ”

“के काम थियो ?”

“बुबाले पनि भन्नुभा’थ्यो नि हजुर !”

“को बुबा ?”

“रामनाथ हजुर… ! ”

“रामनाथ…?”

“कस्तो नचिच्नुभा’ हजुर…बधुनाथका छोरा रामनाथ के त…म… अस्ति पनि हजुरकोमा आएको थिएँ नि ।”

“के काम छ भनिहाल । मलाई फुर्सद छैन । ”

“त्यही हजुर !”

“के त्यही ?”

“जागिर मिलाइदिन्छु भन्नुभाथ्यो रे…। ”

“कसलाई ? तिमीलाई ? कति पढेका छौ ?”

“एस्‌ एल्‌. सी. हजुर ! ”

“अहिले त कुनै पद खाली छैन…खाली भएपछि राखिदिउँला है ?”

“कहिलेसम्म हुन्छ होला हजुर ?”

“त्यो त कसरी भनूँ ….बेलाबेलामा भेट्दै गर न ।”

“हजुत्ले नियुक्ति दिएपछि त भइहाल्छ नि हजुर !”

“ल.. ल.. जाऊ सोमबारतिर मलाई एकपल्ट भेट…।”

“हवस्‌ हजुर !”

“नमस्कार, हजुर !”

“नमस्कार !”

“आज त हजुरले बोलाउनुभा’थ्यो ! ”

“बोलाएको थिएँ ? कोहौ तिमी ?”

“म रामनाथको छोरा हजुर…।”

“को रामनाथ ?”

“बधुनाथको छोरा हजुर…हजुरले आज…।”

“म आज एकदम व्यस्त छु ..बाहिर निस्कन लागेको अँ…के… काम छ ?”

“हजुरले जागिर मिलाइदिन्छु भन्नुभा’थ्यो हजुर !”

“जागिर ? कति पढेका छौ ?”

“एस्‌. एल्‌. सी. हजुर !”

एस्‌. एल्‌. सी. लाई हुने पद नै छैन मेरो अफिसमा …तै पनि एकपल्ट अँ… बुधबारतिर मलाई भेट न…।”

“हवस्‌ हजुर !”

“नमस्कार हजुर…, आज हजुरले बोलाउनुभा’थ्यो ।”

“को हौ तिमी ?”

“बधुनाथको नाति…रामनाथको छोरा हजुर….!”

“को बधुनाथ ? …को रामनाथ ?”

“अस्ति आएको थिएँ नि हजुर…! ”

“के काम छ ?”

” हजुरले जागिर मिलाइदिन्छु भन्नुभा’थ्यो ।”

“जागिर रे ? तिमीलाई ?”

“हजुर ।”

“कति पढेका छौ ?”

“एस्. एल्‌. सी. हजुर ।”

“अहिलै तिम्रो जागिर खाने बेलै भएको छैन, यो त पढ्ने बेला हो…। जागिर खायौ भने न पढ्न सक्छौ न पछि ठूलो पदमा बढुवा हुन सक्छौ…अहिले जागिरै खान्छौ भने पनि मुखिया, बहीदार, त्योभन्दा अर्को भेट्दैनौ… जागिरै खाएपछि मुखिया, बहीदारमा के खान्छौ ! त्यही पनि अस्थायी । फेरि हेर, जागिर भनेको खाने चीज पनि होइन । तिमीहरू जस्तो होनहार युवकहरूले नपढेर जागिर खान थाल्यौ भने कसरी भविष्य बन्छ …बुझ्यो !”

“बुझेँ हजुर ! तैपनि हजुर स सानोतिननो जागिर -पाए बिहान-बेलुका क्याम्पस पढ्न पाउँथे ।”

“पहिले पढाई सक…लौ मै मिलाइदिउँला..,राम्रो जागिर । कमसे कम बी. ए. पास गर्नुपर्छ अनि खाने हो जागिर…बुझ्यौ त ?”

“हजुर ।”

“ल जाऊ..,मलाई मिटिङमा जान अबेला भइसक्यो…भेट्दै गर है ।”

“हुवस्‌ हजुर !”