उसको नाम एन्थोनी थियो । तर सबैले उसलाई टोनी भनेर बोलाउथे । गतवर्ष टोनी अधिक रक्सीसेवनको कारण मरेछ । मरेछ पनि कसरी भने, श्रीमतीसँग रातभरि कुटाकुट गरेर म तेरो घरै आउन्न भनेर आफ्नो थोत्रो भक्सवैगन लिएर हुइकिँदै बाहिर निस्केको फेरि फर्केर आउँदा पनि आएन । गएछ अर्को काउन्टीको एउटा गुजरातीको मोटलमा बास बस्न राती बेस्सरी धोकेछ, भोलिपल्ट बिहान कोठा बाह्रबजेसम्म पनि नखुलेपछि गुजरातीले प्रहरीलाई बोलाएर ढोका खोल्दा त टोनी मरिसकेको रहेछ ।

हतार हतार नजिकको अस्पताल लिएर गए । परिक्षण गरियो तर डाक्टरले आई एम सरी भन्दै बाहिर निस्किएर टोनीको इहलीला समाप्त भएको जानकारी दिए ।

सुशील नेपाल

टोनीको बाबुको ब्रिक्सन काउन्टीमा हार्डवेयरको होलसेल पसल थियो, टोनीकी श्रीमती त्यही काउन्टीको नर्सरीमा काम गर्थी । गाडी र लाईसेंन्सले टोनीको परिचय खुलाएपछि परिवारलाई मृत शरीर बुझाएर प्रहरी फर्केपछि त्यो सानो काउन्टीमा टोनीको बारे धेरै नै हल्लीखल्ली भयो । कसैले भने कालगतिले मऱ्यो , कसैले भनें टोनीको जड्याहा स्वभाव या उसको बाबुको व्यवसायी इबीले पनि हुनसक्ने धेरैले शङ्का गरे । यता, ईजावेल टोनीकी तेश्री पत्नी बनेर पनि त्यसै आएकी भनें थिइन । ब्रिक्सन काउन्टीमा रिटर्डसन एण्ड सन हार्डवेयर पसलका धनी रिटर्डसनको टोनी एक्लो छोरा भएरै होला पैसाको कमी नहुने पक्का भएपछि ईजावेलले टोनीलाई फसाएकी थिई । यो कुरा कउन्टीमा सबैलाई थाहा थियो ।

काउन्टी भन्नाले लगभग १२ हजारको जनसंख्याको बासिन्दा भनेर बुझिन्छ । एकअर्काको नामथर र यावत आनीबानीको जानकारी एकअर्कालाई हुन्छ । बुढा रिचर्डसनको हार्डवेयरको पसल त्यहाँका सबैका लागि आवश्यक सामान पाइने सानदार पसल थियो र रिपव्लिकन पार्टीको दबदबा र डरले ब्रिक्सन काउन्टीमा रिचरडसन एण्ड सनको एकछत्र बोलबाला थियो ।

ब्रिकसनको स्कूल स्ट्रीट र फाउन्टेन स्ट्रीटको कुनाको एउटा तिनतुने स्थानमा ग्रेवियलको एउटा सानो तर असाध्यै चल्तीको ओयासिस भन्ने पव थियो । साँझ त्यहाँ गज्जवको रौनक हुने गर्थ्यो । ज्याज र कन्ट्री म्यूजिकले गुन्जनले पूरा परिसर र छेउछाउ पनि संगीतमय हुन्थ्यो ।

टोनीलाई खोज्न कतै जानुपर्दैनथ्यो । उसको बासै त्यही हुने गर्थ्यो । ईजावेल पनि साँझ त्यहा रमाइलो गर्न आउँथी र कन्ट्री म्युजिकको मादक लयमा झमझम नाच्दै उफ्रदै गाउँथी ‘ आई एम मिसिङ यू’………..

टोनी मरेको बेला ईजावेल रोएको पनि धेरैले स्वाङ गरेको भनेर कुरा काटे । रिचर्डसन बुढा पनि बेस्सरी रोयो ।
परिवारमा उसको त्यही छोरा मात्र बचेको रहेछ । श्रीमती त रिचर्डसनको पार्टनर मोरिससँग सल्केकी रहिछ, टोनी सानै छँदा रिचर्डलाई जिम्मा लगाएर मोरिससँग गइछ ।

टोनी मरेपछि रिचर्डसन विरक्त भयो । ईजावेल पनि विक्षिप्तझैं भई । तर ईजावेललाई सबैले नाटक गरेको भनेर गिल्ला गर्न थाले ।

यता ओयसिस पवमा साँझ परेपछि मान्छेले टोनीलाई सम्झन थाले । कठै बिचारा कसैलाई केही नगरी कुनामा एक्लै बसेर क्या मज्जाले रक्सी घोर्थ्यो हगी भनेर बिचरा बिचरा भन्न थाले ।

ओयसिसको मालिक ग्रेवियल पनि कम छट्टु थिएन । उसले यो दु:खमा पनि अवसर खोज्न थाल्यो । कन्ट्री म्युजिसियनहरूले पनि ‘दिस सङ इज डेडिकेटेट् टु वन एण्ड ओनली टोनी’ भनेर गाउन थाले ।

एकदिन ग्रेवियलले रिचर्डसनसँग प्रस्ताव राख्यो र भन्यो, ‘ हेर्नुस् हाम्रो काउन्टी टोनी विना कस्तो सुनसान लाग्छ’ हामी सबै मिलेर टोनीको एउटा सालिक बनाएर यो फाउन्टेन स्क्वायरमा राख्ने विचार गरेका छौँ ।

प्रस्तावलाई रिचर्डसनले अस्वीकार गर्ने कुरै थिएन । काउन्टीभरि मानिसहरू के जड्याहांको पनि सालिक बनाउन लाग्या होला भनेर गाईंगुईं गर्न थाले ।

तर ब्रिक्सन काउन्टीमा रिचर्डसनको राजनैतिक कद निकै ठूलो भएकोले कसैको दाल गलेन ।

फेब्रुअरी ४ तारिख गुड फ्राइडेको दिन टोनीको सालिक अनावरण गरियो ।

सबैले फूलमाला चढाए । कसैले करले त कसैले मनले चढाए । ग्रेवियल मनमनै खुसी थियो । रिचर्डसनले तिसहजार डलर दिएको थियो सालिक बनाउन, तर १० हजारमै मूर्ति बने पनि हिसाव बुझाउनु नपर्ने त्यो रकमबाट पनि ग्रेवियलले मुनाफा नै गऱ्यो ।

यसरी एउटा जँड्याहाको सालिक बन्यो !