त्यो दिन धेरै समयको अन्तरालपछि उनलाई हेर्न र उनको खबर थाहा पाउन उनको गाउँ गएँ । अनायासै आज वर्षौँपछि उनको घर जान मन लाग्यो । मनमा अनेकौँ उत्सुकता बोकेर पुलकित हुँदै माने गाउँ पुगेँ । त्यहाँ पुग्दा दुःखलाग्दो दृश्य देखेँ र अलमलमा परेँ । सोचेँ, के भएछ, कुनै प्रकृति प्रकोप पो हो कि ? के दुर्घटना भएछ यस्तो ?

मनमनै प्रश्न गर्दैछु, आफैँसँग सोध्ने हिम्मत पनि छैन । त्यहाँको दृश्य एकदम कोलाहलपूर्ण थियो । सबै सुँक्कसुँक्क रोइरहेका थिए । साहस बटुलेर उनका बारेमा सोधेँ, ‘राजुको घर यही हैन कहाँ छन् राजु ?’

एक जनाले उँधोतिर औँलाले इसारा गर्दै देखाए । घरको पछाडिपट्टि, अलि तल खोलाको किनारमा आगोको ज्वाला एकतमास दन्किरहेको थियो । कौतुहलता जाग्यो । के हो त्यो ज्वाला र मलाई किन देखाएको ? म एकोहोरो हेरिरहेँ ।

केही वाक्य आएको थिएन ममा, एकहोरो हेरेँ मात्र । अब विश्वास भइसकेको थियो कि त्यो आगोको लप्काभित्र को जलिरहेको छ ? असमञ्जस्यतामा परेँ । त्यही एउटा जाजल्वयमान अनुहार, हँसिलो र फर्साइलो मान्छे जसले मलाई जहिल्यै नानी भन्थ्यो.. माया गर्दथ्यो र त्यही मायाले यहाँ आएकी थिएँ । उसैको लास जलिरहेको थियो । मन थाम्न सकिनँ । नारी हृदय त्यसैमाथि मेरो प्रेमिल हृदय । माया गरेको मान्छे जलिरहँदा मन थामिन सकेन ।
म जति रोए पनि जति चिच्याएर कराएर पनि ऊ उठेर ‘हजुर सानी’ भन्नेवाला थिएन । ‘तँ कहीँ नभएकी छुच्ची’ पनि भन्ने थिएन ।

राधा पाण्डे

सानो छँदासँगै पञ्चमी मेला, लाखे नाच, माघे मेला जान्थ्यौँ । माथि मानेडाँडा छेउको चौरमा गाईवस्तु र बाख्रा छोड़ेर उनका गीत, गजल र मुक्तक सुन्दै रमाउँथ्यौँ ।

‘राजु मलाई त्यो ऐँसेलू टिपिदिनु न के…’ घुर्की लाउँथेँ । उनी खुरुक्क आदेश मान्दथे । खुसी लाग्दथ्यो । उनी ऐँसेलू टिप्दै गर्दा उनको हात काँडाले घोच्ला भनेर डराइरहेकी हुन्थेँ ।

तर साह्रै होसियारी अपनाउँथे । दिलको मात्र कच्चा… साहस र अक्कल त थियो नै कठै! आज तिनै राजुलाई भेट गर्न आएकी उनी नै संसार छोडेर बिदा भइसकेका छन् ।

मेरो विवाह अलि सानैमा भयो । हुन त उनी पनि कति न ठूला थिए र विवाह गर्दा । हाम्रो विवाहपछि पनि भेट भइरहन्थ्यो । मेरो माइती गाउँ र उनको घर नजिकै थियो । हामीलाई सानामा छिमेकीले पनि जिस्क्याउँथे ‘सानी र राजुको विवाह गरिदिनुपर्छ’ भनेर । म लाजले भुतुक्क हुन्थेँ । गाला रातो हुन्थ्यो ।

उनी विवाहपछि छोरा नभएकामा खिन्नता व्यक्त गर्दथे । ‘एउटा सन्तान के सन्तान, एउटा आँखो के आँखो नानी’ भन्थे । समयान्तरमा छोरा पनि भएछ । निकै खुसी थिए छोरा जन्मिएकोमा । भन्थे, छोराछोरी दुवैको बाउ भएँ ।
उनको वैवाहिक जीवन कस्तो थियो, कहिल्यै दुखेसो गरेनन् । मैले पनि कहिल्यै सोध्ने चेष्टा गरिनँ ।

आफ्नो गरिबीसँग उनको ठूलो गुनासो थियो । भन्थे, सोचे जस्तो नहुने रहेछ नानी जीवन । अरुलाई खुसी बनाउनमै आफू रित्तो हुइने रहेछ । आफू रित्तो हुँदा पनि कोही भरिएनन् । प्रयत्न गरिरहेको छु सबैलाई खुसी र सुखी राख्ने ।

त्यसैले धन कमाउने र धनी बन्ने लालसा बोकेर विदेशिएका उनी विदेशबाट फर्केको सुनेकी थिएँ । उनैलाई भेट्न उनको गाउँ गएकी थिएँ । तर सास हैन उनको लास आएको रहेछ।

सानो छोरा रहेछ । छोरी अलि ठूली । तिनीहरू पनि रोइरहेका थिए । किन रोएका भन्न पनि सकिनँ । भनौँ पनि कसरी ? उता श्रीमती बेहोस थिइन् । घरीघरी बर्बराउथिन् । खै के भन्थिन् कुन्नि, बुझिँदैन थ्यो ।

मैले एउटा बाल्यकालको साथी गुमाएँ । छोराछोरी टुहुरो भए श्रीमतीको संसार सकिएको छ उनीमाथि । अटव्यको पहाड खसेको छ । आमाबाको काख रित्तिएको छ । गाउँले एउटा नौजवान गुमाएको छ । देशले योद्धा गुमाएको छ । लोभले लाभ लाभले विलाप भनेको यहीँ रहेछ । सम्झेँ, उनले सधैँ मलाई जिस्क्याउँदै भन्ने गर्थे, “तैँले अरू त के गर्न सक्छेस् र मलाई ? तँभन्दा पहिला म मरेँ भने एक थुँगा फूल चढाउनु मेरो लाशमाथि ।”
आखिर जित उनकै भयो । चितामाथि एक थुँगा फूल चढाएँ ।