
‘तिमीले आमा भनिमाग्ने अधिकार पनि गुमायौ .. बुझ्यौ ! ..मो यो घरमा पाइला टेक्दिनँ आबो। दसैंमा पनि आउँदिन ।.. छ्या …के लाजमर्दो।..हिँड् प्रतीक , बस्नु पर्दैन आबो याँ..!’
आमासितको ठुलै बहसपछि रीता ठुलो छोरोलाई ठेल्दै निस्की घरबाट। सानो भिर्ने ब्याग काँधमा झुन्ड्याएकी थिई उसले। अलिकति रोएकोजस्तो अनुहार थियो ऊसित। स्वरमा असहजता पनि थियो।
घरको अलिक तल्तिर घर बनाएर बसेको धिरेनले आमालाई अघि नै तथानाम भनेर गइसकेको थियो । उसकी स्वास्नीले अझ उस्काएको थिई उसलाई । बगानले दिएको घरमा जोहो गरेर लगाएको एउटा खिर्कीको ऐना झारामझुरुम पारेपछि उसको रिस मत्थर भएको थियो । रिस मत्थर भए पनि ऐनाको रिस भने धिरेनमाथि पोखिएको थियो । रगतपच्छे हात लिएर ऊ घरतिर झर्यो ।
फुटेको ऐना त्यतिकै भुइँभरि छरिएका छन्।

रमेश थापा
‘आमाले त हाम्रो मुखमा गुहु लगाइदियो । कसरी अनुहार देखाएर हिँड्नु गाउँ घरमा !’, काम गर्न हिँडेकी पूजालाई भाउजूचाहिँले फोनमै बोलीबिस्तार लगाई । सिङ्गापुरमै सुकसुक रोई पूजा ।
‘कहिल्यै घर आउँदिन मो आबो !’ रोएकै स्वरमा बोली पूजा।
ससुराली गाँउमा बस्नु थालेको अम्बरले धेरै केही भनेन।
‘छोड्दे गतिछाडाहरू !’ फोन राख्नुअघि धिरेनलाई भन्यो उसले।
निन्दा, उपहास र हाँसोको माहोल गाउँमा पनि त्यतिकै छ।
*** **** ***
रक्सीले लिभर सिरोसिस भएर भक्तमान बगानको कामबाट रिटायर हुनु लाग्दालाग्दै जिन्दगीबाट नै रिटायर्ड भयो।
धनसरा रोई। खूब रोई। बगानमा पडाउ स्लिप लेख्दा लगाउने चस्मा खेलाएर रोई। लुगाफाटा मुसार्दै रोई । आधारातमा ब्युँझेर ओछ्यानको खाली ठाउँमा हात घुमाएर रोई। बिहानै नुन चिया खाने एल्युमोनियमको मग देख्दा रोई। भात खाने झर्के थाल देखेर भात खाँदाखाँदै रोई। रक्सी बोक्ने झोला देख्दा रोई। मासुमङ्स ल्याउँदा झन् बेस्सरी रोई। चाँडबाडमा कतिदिनसम्म धुरुधुरु रोई।
दिनहरू क्रमशः बित्दै गयो।
समयले धनसराको घाउमा खाटा टाल्दै थियो। ठुलो छोरा लाखापाखा गर्दागर्दै स्थायी जस्तै ससुराली स्याहारेर बस्ने भयो ।ठुली छोरी बुढो नखसी कुटुम्ब लागिसकेकी थिई। सानो चाहिँ छोरो पनि बिहे गरेपछि अलग बस्ने भयो। बाक्लो दालको मोहले त्यसलाई पनि छोडेन। बाबुको पैसा काममा लगायो त्यसले। सडकै मिच्लाजस्तो गरेर पक्की घर ठडायो।
सानीचाँहि छोरी पनि सानै उमेरमा पोइला गई। नौ क्लासमा मात्र पढ्दै थिई त्यो त्यस बेला।तर सालभर नबित्दै ज्वाइँ छोडेर माइता बस्नु थाली । एक्ली आमाको साथी भई। तर त्यो पनि धेरैदिन टिकेन। आमाको ईपिएफ लोन खोल्नु लगाएर भए पनि विदेश उडी ।
बाह्र छोरो तेह्र नाति बुढाको धोक्रो काँधैमाथि भयो। धनसरा एक्ली भई। नितान्त एक्ली। ठुली चाहिँ छोरीले ठुलो चाहिँ छोरो बोज्यूको साथी राखिदिएकी थिई। तर केटाहरु एकछिन घरमा बसे पो के र! काम सघाउनु त परको कुरा। खानुको साथी मात्र थियो नाति।
घरको हरथोक आफै भ्याउनु पर्थ्यो धनसरालाई। बगानको एक हाजिरी खानु पुग्नै पर्यो। सौदा पातमा जानै पर्यो। बाख्रालाई घाँसपात , बारीझारी, बडारकुडार, पकाइतुल्याइ,मरौपरौ, बिहेबटुल सबैतिर आफै अघि नसरी धर थिएन बुढियालाई।
कोही कोही बेला चटारोमा पर्थ्यी बिचरी।
छोराबुहारी महिनाको सुरूतिर मात्र ढिम्किन्थे। पेन्सनको टेन्सन तिनीहरूलाई धेर थियो। माँझमहिनामा देखा परे बुझ्नुपर्थ्यो पैसा चाहियो तिनीहरूलाई।
अरू दिन बुढिया एक्लै खट्थी । बुढो हड्डी रगड्थी।कोही बेला केही नगरी आरामसित बसौँ लाग्थ्यो। छोरीहरू पनि त्यसै भन्थे। आरामसित खानु पुग्थ्यो पनि पैसाले। बुढाको पेन्सन पस्थ्यो। भएन आफ्नै पनि लेबर तलब आउँथ्यो। तर दुखियालाई सुख कहाँ र ! बारीमा इलामे फुलेको देख्नु सक्थेन धनसरा।बारीभरि भएका घाँसका रुखहरूले गर्दा पनि दुई तीनवटा बाख्रा नझुन्ड्याई भएन। तुलफुल लगाउनै पर्यो। खनजोत गर्नै पर्यो।
उमेर भइञ्जेल सबैथोक झेल्दै थिई धनसरा ।तर तीनकोरी पार गरेपछि साँच्चै गाह्रो हुनुथाल्यो उसलाई।
***
गाउँभरि आगो फैलियो अचानक।
बुढेसकालमा धनसरा बोजूले बिहे गरी । सबैले निन्दा गरे। उपहास गरे। हाँसो उडाए । अल्लरेहरूले गीतै बनाए –
सिस्नु हैन, मरँगे हैन काग भलायो
बुढेसकालको जवानीले हुरी चलायो ।
छोरा, छोरी, बुहारी र आफन्तहरू सबै बिरानो भए ।
बुढियाले लोकनिन्दा चुपचाप सही । भन्नेको मुख थुन्ने कसले! अन्त्यमा बोल्नेकै मुख थाक्यो।
दिनहरू बिते। थुप्रै दिनहरू बिते। पुनः दिनहरू सामान्य भएर फर्किए।
‘स्वास्नीमान्छे भएर बाँच्नु गाह्रो छ हाम्रो समाजमा । विधुवा भएर बाँच्नु झन् कठिन र दुष्कर । सराप पाउन जत्तिकै साह्रो । बुढेसकालमा मैले बिहे सुखले गरे कि दुःखले गरेँ; मलाई मात्र थाहा छ ।’
एकदिन एउटै उमेरकी माइली छनालाई धनसरा भन्दै थिई – ‘एक फप्लेटो दाउरा चिर्ने मान्छे छैन। एक चपरी माटो पल्टाउनु गोहार माग्नु पर्छ । दुःख सुख गरेर सिमी त रोप्यो नि थाङरा कसले लगाइदिने ! मस्याम भुइँमै फुल्छ।दुःख गरेर साग रोप्यो कुखुराले ढुटो बनाइदिन्छ । बारबेर पार्नु पाए पो । को’इ बेला दुख् बिमार हुँदा धामी बोलाउनु जाने मान्छे धरी हुँदैन । यस्तो सबै हेरेर बिहे गर्नु कर लाग्यो छना मलाई ।’
यसपछि लामो नि:श्वास छोडी धनसराले।
दुवै घरमा बनाएको अलिअलि पिउँदै पनि थिए। स्टिलको प्लेटमा तेलले भिजेको मुलाका चानाहरू टोकिन्थ्यो कहिलेकाहीँ।
‘ठिकै गर्यौ जेठी तिमीले। आफ्नो दुःख आफूलाई मत्रै थाहा हुन्छ।’ माइली छनाले धनसराको पीडामा एकाकार हुँदै भनी -‘ लोग्नेमान्छेहरूलाई स्वास्नी मरेको मैनादिन नबिती तातो चिसो हेर्ने चाहिन्छ। आइमे कान्छो बुढासित गए दुनियाभर को कुरा हुन्छ। गीत गाउँछ। हाम्रो समाजको यस्तो नजर कैले बद्लिने ! औरतको दुःख चै दुःख हैन !’
सहानुभूति दर्साउँदा दर्साउँदै आक्रोश नै पोखी माइली छनाले।
‘हो नि छना ! मैले कति कति लाञ्छना सहेको छुँ ।’, अँध्यारो हुनलागेको कोठाको सुइस ट्याक्क थिचेर धनसरा बोली- ‘आफ्नो छोरा बुहारी छ नि ! उनारू पनि त आफ्नै कामधन्दामा व्यस्त हुन्छ । सधैं के दुःख दिइरहनु ! दुनियाँले जेसुकै भनोस् मैले त बिहा गरे । ऊ पनि एक्लो मान्छे म पनि एक्ली । पहाडबाट आ’को । ठाउँ ठहर नभएको बिचारा बुढेसकालमा कहाँ जाओस् ! मेरो घर छँदैछ । उसलाई मेरो सहारा मलाई उसको भरथेग । ढुङ्गालाई माटोको भर माटोलाई ढुङ्गाको ।’
यति भनेर धनसराले अन्तिम घुट्को लिई । यतिन्जेल बोकेको मनको भारी बिसाउनु पाउँदा उसलाई निकै ढुक्क लागेको थियो।
पारि गाँउ बिजुली जलेर झलमल्ल भइसकेको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२३ कार्तिक २०८२, आईतवार 








