
एक दिन तृप्ती रुँदै स्कुलबाट घर आई । कोपले स्कुलब्याग ओसरा नै भासिने गरी पछारी । खलाँतीले सास फेरेझैँ छाती तलमाथि पार्दै खुट्टा बजार्दै आँगन वरिपरि एक चक्कर मारी । वरपर हेरी निर्जलालाई तर उसले कतै देखिन उनलाई । ओसरामाथि चढी । परालको पिरुकामा टुसुक्क बसी र घुँडामा शिर अड्याई घुँक्कघुँक्क गरी रुनसम्म रोई ।
पोख्न त उसलाई कोपको विषै पोख्नु थियो आफ्नी आमासँग । ओकल्नु त उसलाई कोपको आगो नै ओकल्नु थियो आफ्नी आमासँग । तर आमा मेलोमा गएकी थिइन् । मेलोमा नगई चुल्हो बल्दैन थियो निर्जलाको । ऊ आफैँ आगो भएर बली । आफैँ निभी र खरानीभित्रको भुङ्ग्रो भई तातिइरही ।
++++++
बेलुका निर्जला घर आइन् । झमक्कै साँझ परिसकेको थियो । तर घर अँध्यारो नै देखेपछि उनी आफू पनि अँध्यारो भइन् । भान्साकोठामा छिरिन् र कुपी बालिन् । त्यसपछि उनले आँगनको किलामा बाँधिएका बाख्रा र खसीलाई भन्साकोठामा सारिन् । पुनश्च सुत्ने कोठामा छिरेर कुपी बालिन् ।
छोरी सुतिरहेकी थिई । उनी छोरीसँगै ढेस्सिदै बसिन् । दायाँ हातले छोरीको गाला सुम्सुमाइँन् र भनिन्, “छोरी, के तँलाई सन्चो भ’न ?”
निर्जलाको हातको तातो स्पर्शले तृप्ती ब्युँझी । सिरानी छाडेर आमाको काखमा शिर राखेर डाको छोडी रुन थाली ।

राजबाबु श्रेष्ठ “सागर”
त्यतिखेरसम्म तृप्ती आगोबाट सेलाएर कोइला भैसकेकी थिई । आमालाई आफ्ना कोपहरू पोखिन । केवल आफ्ना गुनासो पोखी आफैँ बग्ने गरी ।
“आमा । म हरुवाकी छोरी अरे । तिमी हरुवासँग पोइल आकी अरे । साँच्चै हो, आमा ?” तृप्तीले रुँदै भनी ।
निर्जला स्तब्ध भइन् । अचानक उनको मुटुमा तीर रोपियो । उनले शिर निहुराइन् । वर्षौँदेखि थुनी राखेकी आँसुको बाँध आखिरी ह्वात्तै फुटी छाड्यो उनको आँखाबाट । निर्जलाले यही कुरा आफ्नी छोरीसँग वर्षौँदेखि लुकाउँदै आएकी थिइन् । तर आज निर्जलाको झुट्को बादल फाटी छाड्यो ।
“भन न आमा । तिमी किन बोल्दिनौँ ?” झक्झकाउँदै सोधी तृप्तीले ।
निर्जलाले शिर उठाइन् । मजेत्रोले आँसु पुछिन् । छोरीलाई अँगालोमा कस्दै भनिन्, “तेरो प्रश्नको उत्तर दिऊँ कि तँलाई प्रश्न गरूँ छोरी ?”
“नाइँ, पैला मेरो जबाफ देऊ ?”
“हो । तँ हरुवाकै छोरी होस् ।”
“अनि, म कमिनी अरे ? तिम्ले किन ढाट्यौ आमा मलाई ? घिमिरेकी छोरी हौ भनेर ।” तृप्तीले रुँदै भनी ।
“हो, तँ घिमिरेकी नै छोरी होस् । कमिनी त म हुँ म । बाहुन्की स्वास्नी भर नि कमिनी नै रहेँ ।”
“होइन, म कामीकी छोरी अरे । तिमी ढाट्दैछ्यौ मलाई ?”
“तलाइँ म सप्पैसप्पै भन्छु, छोरी । पैला तँ यो भन् । तँलाई कस्ले यो सोध्न बाध्य गरायो ?” छोरीतिर आँखा ओछ्याउँदै भनिन् निर्जलाले ।
“त्यै क्या त्यै, उपाद्धिनी बजैले । राहुलले मलाई नि माया गर्छ । म नि उसलाई माया गर्छु ।”
यो ‘माया गर्छु’ भन्ने शब्द सुन्दा निर्जला एकपल्ट नराम्ररी झस्किन् । यही मायाले गर्दा निर्जलाको यस्तो कन्तबिजोग भएको थियो ।
“स्कुलबाट घराँ फर्कदा राहुलले मलाई आँप खान घर जाम् भन्यो । अनि हामीसगैँ बसेर आँप खाका देखेर बजैले मलाई नि कुटिन् र उसलाई नि कुटिन् । मलाई नानाभाँती भनिन् ।” डाम् बसेको गाला मुसार्दै रुँदै सुनाई तृप्तीले ।
निर्जलाले छोरीलाई छातीमा कसिन् । कडुवा तेल तताइन् । “मर्न नसकेकी बुढी । आफूले छोरीको गालामा झिङ्गासम्म बस्न दे’की थिइनँ । तेस्को हातमा कीरा परिहालोस् ।” डाम् बसेको गालामा तेल लगाउँदै धारे हात गर्दै सरापिन् निर्जलाले ।
“अनि अरु केके भनिन् बजैले ?”
“बैँस रोक्न नसकेर हरुवासँग पोइल भागेकी तेरी आमा अरे । मलाई त उम्रिदै तीन पात अरे । छातीमा कागतीजत्रो हुन पा’छैन केटा खेलाउनु पर्ने अरे । जस्तो बोट उस्तै फल अरे । अब छोरीले नि मेरो छोरो बिगार्ने भई अरे ।” हिक्कहिक्क गर्दै सनाई तृप्तीले ।
निर्जलाले झट्टै माइती गाउँकी कुटुनी बिपासालाई सम्झिन् । बिपासा विवाह गरेर त्यो गाउँमा आएकी एक वर्ष हुँदै थियो । बिपासा आएदेखि त्यो गाउँमा निकै कलह बढ्न थालेका थिए । त्यही बिपासाले गर्दा नै आफ्नो कन्तबिजोग भएको सम्झिन् र मनमनै भनिन्, “यो कुटुनीले याँ नि मलाई गरी खान नदिने भई ।”
उनले आफ्नो पतिलाई सम्झिन् र रुनसम्म रोइन् ।
“नरोऊ आमा, नरोऊ । तिमी यसरी रुँदा मलाई नि रुन मन लागेर आउँच ।” तृप्तीले निर्जलालाई अँगाल्दै भनी ।
“बरु भन न आमा, म खासमा कस्की छोरी हुँ ?”
“भन्छु छोरी, भन्छु । म थाकेर आ’की छु । तँ नि भोकाकी छेस् । भात पकाउँछु । भात खा’र सुत्नेबेलाँ सप्पैसप्पै भन्छू तँलाई ।” छोरीको अँगालोबाट छुट्टिदै भनिन् निर्जलाले ।
निर्जलाले भात पकाइन् । छोरीलाई भात ख्वाइन् । आफू पनि खाइन् ।
++++++
जुनेली रात थियो । खैरमारामा माटाका फुसको दुई कोठा भएका झुपडी घर निर्जलाकी पति आफैँले बनाएका थिए । ठाउँठाउँमा भित्ताहरू चर्किएका थिए । फुसको छानो न हो मुसाले काटेर ठाउँठाउँमा आँखीझ्याल बनाएका थिए । त्यही आँखीझ्यालबाट जूनले चियाउँदै तृप्तीसँगै निर्जलाकी कथा सुनिरहेको थियो ।
“तेरो बाबाको घर पैला छघरे टोलमा थियो । जँघा खोलाको छेउमा दस कठ्ठा बलौटे खेत रै’छ । त्यो खेत नि बाढीले काटेर लगेपछि भूमिहीन बने । साउनको माहिना थियो रे, बाआमा नि २०५० सालाँ कर्मैयामेलामा पाप पखाल्न भनेर बाग्मती न्वाउन जाँदा बाग्मतीले पापसँगै उनेरूलाई नि निलेछन् । त्यै बेलाँ उनका बाआमा मात्रै होइन, हजारौँका सङ्ख्यामा गाईवस्तुसँगै थुप्रै मान्छे नि निलेछन् ।”
“के खोलाको नि मुख हुन्च र आमा निल्नलाई ?” तृप्तीले भनी ।
“बगायो भनेकी क्या छोरी ।” निर्जलाले अर्थ्याइन् ।
“तेसपछि तेरो बाबा भूमिहीन मात्रै होइन, टुहुरो बने । बेसहारा बने । यो खबर मैले नि सुनेकी थेँ । मेरो माइती गाउँदेखि तीन गाउँ पूर्व पर्थ्यो तेरो बाबाको गाउँ । रजखोर एउटै हाइस्कुलमा हामी पढ्थ्यौँ । उनी कक्षा सातमा पढ्थे र म चारमा पढ्थेँ । तर हाम्रा उमेर भने बराबरी नै थिए । म अलि उमेर ढलेरै पढ्न सुरु गरेकी रै’छु । म पढाइमा ध्यान दिदिनँ थेँ । सात कक्षाको आखिरी जाँचपछि उनले पढाइ छाडे ।
एक दिन म स्कुलबाट घर फर्किँदै गर्दा उनी चौतारामा स्कुलतिर फर्की टोलाइरहेका देखेँ । उनका ओँठहरू नि कलेटी परेका देखेँ । मलाई लाग्यो, उनी अझै पढ्न चाहन्छन् ।
उनी भन्थे, “म धेरै पढेर एक दिन यै स्कुलमा मास्टर जागिर खान्छु ।” यति भनेर निर्जला उल्टो कोल्टे मारी डाको छोडी रुन थालिन् ।
एकछिन् सुनसान भयो । झ्याउँकिरीहरू कराइरहेका आवाज सुनिन्थे । कुकुरहरू पनि भुकेका सुनिन्थे । गाउँ सुनसान भयो । रातको एघार बजिसकेको थियो ।
“आमा, बाबाको साह्रै माया लाग्च, हो ?” तृप्तीले निर्जलालाई अँगाल्दै भनी ।
“लाग्छ नि, बाबा थे र त तँ भइस् । तँ छेस् र त मैले बाँच्न सिकेकी छु । बाबा साह्रै जाति थे ।” यति भनेर छोरीतिर फेरि कोल्टे फर्किन् ।
“अनि नि, आमा ?”
निर्जलाले कथा पुनश्चः सुरु गरिन् ।
“राजन, किन याँ चौतारामा बसिरा ?” मैले सोधेँ ।
“तेतिकै ।” उनले छोटो उत्तर दिए ।
तेरो बाबाको नाम राजन घिमिरे थ्यो । उनी पुरेत बाहुनका छोरा थे । मलाई लाग्यो, उनको त्यो छोटो उत्तराँ कति धेरै लामा कथाहरू लुकेका छन् ।
“भात खायौ ?”
तर उनले कुनै उत्तर दिएनन् ।
मैले फेरि सोधेँ, “भात खायौ ?”
उनले केवल दुई ढिका आँसु झार्दै मतिर पुलुक्क हेरे । म भुतुक्क भएर दुख्नुसम्म दुखेँ ।
“हिँड मेरो घराँ ।” मैले उनको पाखुरा समाउँदै भनेँ ।
उनी जुरुक्क उठे । म उनको अगि लागेँ उनी मेरो पछिपछि । सायद, उनलाई लाग्यो होला, “कक्षा नमिले नि मन मिल्ने साथी फूलमाया नै हुन् । जात नमिले नि मन मिल्ने जात फूलमाया नै हुन् । फूलमायालाई धेरै कुराहरू भन्नू थियो तर कसरी भन्नू ।”
घरमा लगेर भात पस्केँ । आफूले थोरै खाएँ तर उनलाई धेरै खान दिएँ । मलाई लाग्यो, उनले बिहानैदेखि केही खाएका छैनन् । एकछिनपछि करेसा बारीबाट आमा हातभरि साग ले’र आउनुभो ।
उनले ‘नमस्ते’ गरे । आमाले नि ‘नमस्ते’ फर्काउनुभो ।”
++++++
“झमक्कै साँझ पर्यो । बाले हाटबाट खसीको मासु ल्याउनु भारै’छ । मेरो हातमा थमाउनुभो । मैले लगेर आमालाई थमाइदिएँ । आमाले साग र मासुभात बनाउनुभो । हामी सबैले सँगै बसेर खायौँ ।
“बाबू ! भाग्यले तिम्लाई ठगिहाल्यो । बालकमै टुहुरो भैहाल्यौ । अब के गर्छौ त ?” बाले खाँदाखाँदै उनलाई सोध्नुभो ।
उनले खान लागेको गाँस नि मुठीको मुठी राखी एकछिनपछि भने, “म हरुवा बस्छु ।”
म उनको कुरा सुनेर पानीपानी भएँ । आँखाभन्दा बढी मेरो मन रोयो । भित्रभित्रै एकदमै माया लागेर आयो । उनलाई छातीमै टाँसुजस्तो भो ।
“ऐ’ले तिमी सानै छौ । मेरा खेतीपातीहरू थुप्रै छन् । पछि ठुलो भ’पछि ट्याक्टर चलाउन सिक्नू । तिमी मेरो घरका मुखिया हुनेछौ । पर्दैन कइँ हरुवा बस्नू तिम्ले । मेरै खेतीपाती समाल्नू ।” बाले यति भनेर बाहिर कुल्ला गर्न निस्कनुभो ।
त्यसपछि बाआमा आफ्नो कोठाँ सुत्न जानुभो । दिदी र दाइ नि सुत्न गए । मैले पाहुना सुत्ने तल कोठाँ उनलाई सुत्न भनेर आफू नि सुत्न चोटा उक्लेँ ।”
++++++
“बा कामी भए नि त्यो गाउँभरिमा धनी थिए । रसाइली बाजे भनेपछि सप्पैले चिन्थे । बाको अगि सप्पै दबेर बस्थे । जातले भन्दा नि धनले दबाका थे सप्पैलाई । उनले हाम्रो घराँ काम गर्न थालेका नि आठ वर्ष बितिसकेका थे । उनी बीस वर्षको लोभलाग्दो तरुनो भए । म नि बीस वर्षकी लोभलाग्दी तरुनी भएँ ।
उनले विवशताका कारण पढाइ छाडी बाहुन भर नि कामीका घर नोकर बस्नु परेका थे । तर मलाई उनको जस्तो कुनै विवशता थेन । तर मैले जानीजानी आफ्नो खुट्टामा बन्चरोले हानेँ । पढ्नै मन लागेन । पढ्दै पढिनँ । जसोतसो सातसम्म पास गरेँ । त्यसपछि आमालाई नै सघाउन थालेँ ।
बिस्तारै घराँ मेरो बिहेको कुरा चल्न थाल्यो । केटाहरू आउँथे फर्केर जान्थे । म राम्री भए नि नपढेकी कारण कुनै केटाहरूले मलाई मन पराउँदैन थे । म भित्रभित्रै धेरै दुःखी हुन्थेँ । यस्तो लाग्थ्यो मलाई, मेरो बिहे नै हुँदैन अब ।
त्यैबिचमा बाआमा अमेरिका जानुभो छ महिनाको लागि । दिदी र दाइले अमेरिकामा नै डाक्टर पढाइ पूरा गरे । उतै बिहे गरे र अमेरिकाको नै नागरिक बनेका थिए ।
आफू परियो अनपढ् । पढ्नमा मन नलाउँदा दुःख पाउनुसम्म पाएँ । सबैका हेलाको पात्र बनेँ ।” निर्जला बोल्दाबोल्दै रोइन् ।
एकछिनपछि पुनश्चः कथा सुरु गरिन्, “धारापँधेराँ निस्कँदा नि सबैले मेरो मजाक उडाउँथे । “निर्जला बुढी कन्या नै बस्ने भइन्” भनेर सबैले कुरा काट्नुकाट्थे । म लाजले भुतुक्क हुन्थेँ ।
एक दिन खुट्टा चिप्लेर माथि भर्याङ्बाट तल खसेर लडेँ । उठ्ने कोसिस गरेँ तर उठ्नै सकिनँ । नलीखुट्टो भाँचिएछ क्यार देब्रे खुट्टा टेक्नै सकिनँ ।
उनी दौडेर आए । मलाई दुई हातमा उठाएर बेन्चमा राखे । उनले देब्रे खुट्टोको नलीखुट्टो हल्लाए । दुखेर म भुतुक्कै भएँ ।
“फूलमाया तिम्रो देब्रो नलीखुट्टो भाँचिएछ ।” उनले आत्तिदै भने ।
साइकल लिएर बजार पुगी उनले एम्बुलेन्स डाके । तेरो बाबाले मलाई अस्पताल लेर गए । नलीखुट्टोमा स्टील रड हालेर प्लास्टर गरियो ।
“तीन महिनापछि रड झिक्न अस्पताल आउनू” भनेर डाक्टरले भन्यो ।
तीन महिना काट्न मलाई तीन सय वर्षजस्तो लाग्यो । उठाउन बसाउन सबै तेरो बाबाले नै गर्थे । । भात पकाउन र घर आँगन गर्न पल्लो घरकी साइँली आएर गरिदिन्थी । बाँकी सप्पै मेरो सेवादेखि ले’र घरखेती तेरै बाबाले हेर्न भ्याउँथे । दिसापिसाब गरेको कोपरा फाल्नदेखि लेर पखाल्नेसम्म तेरै बाबाले नै गर्थे । म लाजले भुतुक्कै हुन्थेँ तर नि विवश थेँ ।
तीन महिनाको सेवामा तेरो बाबाले मेरो देख्नुहुने चिज नि देखे नदेख्नुहुने चिज नि देखे । अन्जानमा मेरो छातीमा धेरै पटक तेरो बाबाको हात पर्थ्यो । उनको हात पर्दा मलाई सन्चो लाग्थ्यो । आफूले बिहे नगरे नि आफ्नै लोग्नेजस्तै लाग्थे उनी । तर उनले मसँग कहिल्यै गलत गरेनन् । कहिल्यै त्यो नजरले हेरेनन् मलाई । उनको र मेरो नाता केवल नोकर र कान्छी साहूनीबिच नै सिमित रहे ।
घरीघरी लाग्थ्यो मलाई, बिहेपछि पतिले देख्नुपर्ने अङ्ग यिनैले देखेका छन् । बिहेपछि मेरो छातीमा पर्नुपर्ने पतिको हात यिनैका परेका छन् । मेरो शरीरमा पहिलो स्पर्श यिनैले गरेका छन् । मेरो शरीरको भोगको भाग्य नि यिनैलाई हुनुपर्छ ।
तीन महिना पुगेपछि प्लास्टर काटेर स्टील रड निकालियो । अनि बल्ल पो पिँजडाबाट सुगा फुकेझैँ म हलुकी भएँ । मेरो ज्यानमा पखेटा लाग्यो । म हिँड्न डुल्न सक्ने भएँ । अमेरिकाबाट बाआमा नि फर्किनुभो ।
सोचेकी थेँ, बाआमा फर्केपछि धेरै माया पाउँछु होला । तर झन् मेरो भाग्य नै फुट्यो बाआमा आएपछि ।” यति भनेर निर्जलाले छोरी अँगालेर डाको छोडी रुनसम्म रोइन् ।
++++++
रातको बाह्र बजिसकेको थियो । जून पनि छानोमाथि टुक्रुक्क बसेर निर्जलासँगै रुँदै थियो । झ्याउँकिरी बाहेक केहीका आवाज सुनिन्थिएनन् । तर निर्जला भने छोरीलाई आफ्नै अतीतका पानाहरू पल्टाउँदैमा व्यस्त थिइन् ।
“आमा । आमा । अनि बाजेबजै आएसी के भो त ?” तृप्तीले आमाको गाला मुसार्दै भनी ।
“के हुनु नि । जे सोचेकी थिइनँ त्यै भो ।” पुनश्चः रोइन् । एकछिन् रोइरहिन् । एकछिनपछि मन थामिन् र कथा सुरु गरिन् ।
“कुटुनी बिपासा म बिरामी हुँदा चियोचर्चा गर्न आइबस्थी । तेरो बाबाले मलाई उठाएका बसाएका धेरै चोटी तिनले देखेकी थिई । त्यै राँडीले तेरो बाबासँग सुतेकी बसेकी हुँदैनहुँदो कुरा लाउनुसम्म लाइछे । भोलि पल्ट बिहान घाम त उदाए तर मेरो भाग्य भने सँधैका लागि अस्ताए ।
ब्यानैब्यान आँगनाँ चिनेका नचिनेका मान्छेहरू जम्मा भए । मेरो सातोपुत्लो नै उड्यो । मेरो शरीर तातो भएर आयो । घरको पूर्वबाट दुई जनाले तेरो बाबालाई मुन्ट्याउँदै ल्या’र बाको खुट्टानेर टाउको जोतिदिए । म डरले भुइँमा थुचुक्कै बसेँ ।
“साले कुकुर भात खाने भनेको त गु खाने कुकुर रै’छस् तँ गु खाने । जुन थालमा खाइस् त्यै थालमा हगिस् हैन ।” बाले उनलाई लात्तले हिर्काउँदै भन्नुभो, “टुहुरो पालेको भनेको त दुध ख्वाएर साँप पो पालेछु साँप ।” बाले उनलाई फेरि अर्को लात्ती बजार्नुभो ।
मैले बीस वर्षको उमेरमा पहिलोचोटी बाहुनको छोरोले कामीको लात्ती खाँदै गरेको देखेँ हेर् छोरी ।” ओँठ कमाउदै यति भनेर निर्जला पुनश्चः डाको छोडी रुन थालिन् ।
तृप्तीले पनि आमालाई च्याप्पै अँगाली । ऊ पनि आमासँगसँगै रोई ।
मैले हेर्नै सकिनँ छोरी तेरो बाबालाई कुटेको । म दगुर्दै गएर तेरो बाबालाई अँगाले ।” निर्जलाले मजेत्रोले आँसु पुछ्दै भनिन् ।
“अनि नि, आमा ?”
“मलाई नि कुट्नसम्म कुटे । आमाले मेरो कपाल भुत्ल्याउँदै भन्नुभो, “तँलाई घर सम्हाल्नु पो भनेर गकी थेँ, नाठो खेलाउनू भनेकी त थे’न नि ।”
मैले रुँदै कति हात जोडेँ । उनको कुनै दोष छैन भनेर कति भनेँ । उनको र मेरोबिच कुनै त्यस्तो सम्बन्ध छैनन् कति भनेँ । तर मेरो कुरा कसैले सुनेनन् ।
कामी समाजको पञ्चायत बसियो । मलाई तेरो बाबाको स्वास्नी घोषित गरियो । तेरो बाबालाई मेरो लोग्ने घोषित गरियो । तेरो बाबाको हातबाट मेरो सिउँदोमा सिन्दूर हाल्न लगाइयो । तेरो बाबालाई घिमिरे बाहुनबाट झारेर कामी राजन घिमिरे बनाइयो ।
तेतिबेलाँ कामी समाजमा कुनै जातले बिहे गरे कामी हुनुपर्थ्यो । मेरो माइती गाउँमा कामीहरूका नै हालीमुहाली चल्थे ।” यति भनेर निर्जलाले आफूलाई रोक्न सकिनन् र डाको छोडी रोइन् ।
“अनि नि, आमा ?”
“के हुनु नि, बाले एक बिघा खेत गरी खा भनेर दिनुभो । घरदेखि माथि दुई कठ्ठामा बनेको सानो चारकोठे गोठ थ्यो । त्यै गोठमा बस्न लगाइयो । बसियो । रात काटियो ।
त्यै रात मैले आफ्नो सम्पूर्ण शरीर र यौवन उनैलाई समर्पित गरेँ । भगवान्लाई हृदयदेखि नै धन्यवाद चढाएँ । त्यै रात बसेकी होस् छोरी तँ मेरो गर्भमा ।” छोरीलाई अँगाल्दै रोइन् निर्जला ।
“अनि नि, आमा ?”
“मेरी दिदीले अमेरिकामा आफैँसँग पढ्ने डा. बाहुनसँगै बिहे गरेकी थिइन् । तर बाले उनलाई कामी बनाएनन् । बाहुनको बाहुनै रहन दिए भेनालाई ।
मेरो दिदी कमिनीबाट बाहुनी बनिन् । दाइले भने आफ्नै जातको बिहे गरेका थिए । तर म भने बाहुनको स्वास्नी भ’र नि कमिनीको कमिनी नै रहेँ ।” रुँदै सुनाइन् निर्जलाले ।
यो समाजले, उहिलेका बुढापाकाले आफ्ना स्वार्थका लागि बनाएका नियम र रीतिरिवाजलाई धर्म मान्दै आएका छन् । मान्छेलाई जातजातमा बाँडेर अपमान गर्दै आएका छन् छोरी । कुन ठुलो जात कुन सानो जात याँ कसैका मानसम्मान रै’नछन् छोरी ।
जो होचो उसैको मुखमा घोचो । तेरो बाबा जातमा त ठुलै थे नि । तर भ’र के गर्नु र ? ठुलो माछाले सानो माछालाई निलेजस्तै मेरो बाको अहम्, धन र प्रतिष्ठाको घाँटीले तेरो बाबालाई सुलुक्कै निली छाडे । तेरो बाबालाई बाहुन भ’र नि कामी बनाएरै छाडे बाले ।
सोच्दो हुन् बाले, “मैले खुब ठुलो काम गरेँ” भनेर । यदि तेरो बाबा यो गाउँका धनीमानी र पढेलेखेका भए अथवा उनैसँग म पोइल ग’की भए, बा खुसी हुन्थे होलान् र मनमनै भन्थे होलान्, “ठिक गरी मेरी छोरीले भन्दै स्यावासी दिन्थे होलान् । कमिनी भर बाहुनी बनिन् । समाज बिस्तारै परिवर्तन गर्नुपर्छ” भन्थे होलान् ।
तर तेरो बाबा धनी थेन । धनहीन टुहुरो थे । तेसमा नि घरका हरुवा भ’पछि बाको नाकै काटिने भो । आफ्नो नाक जोगाउन खातिर बाले तेरो बाबाको नाक काट्नुभो । उनको जिन्दगीसँग खेल्नुभो । मेरो जिन्दगीसँग खेल्नुभो ।” बोल्दाबोल्दै घाँटी अवरुद्ध भएर आयो निर्जलाको र एकछिन् रोक्किइन् ।
“रात धेरै छिपियो छोरी । ब्यानै सबेरै मेलाँ जानुछ । सुत् छोरी ।” मजेत्रोले आँसु पुछ्दै भनिन् निर्जलाले ।
“नाइँ । कथा सुन्छु क्या । अनि नि, आमा ?”
“भोलि ब्यानै झिसमिसेमै हामी माइतीगाउँ छाडी हिँड्यौँ । किन हो किन त्याँ बस्न हाम्रा मनै मानेनन् । विशेष गरी मेरो मन मानेन । काँ जाने ? कता जाने ? क्यैका टुङ्गा थेन । तर नि हाम्लाई हिँड्नुथ्यो । हिँड्यौ । माइती गाउँ छाड्नुथ्यो । छाड्यौँ ।
बाले देका गोठ बालाई नै छाडिदियौँ । बाले देका खेत बालाई नै छाडिदियौँ । न्वारानमा बाहुनले राखेका मेरो फूलमाया नाम बालाई नै जिम्मा लाइदे’र आफ्नो नाम आफैँले निर्जला राखेँ । बाआमा, जन्मथलो त्याँका भिरपाखा सप्पैसप्पैसँग नाता तोडी आयौँ । हिँड्दाहिँड्दै रात पर्यो । परबाट एक दुईओटा घराँ बत्ती बलेका देख्यौँ । त्यै बत्ती बलेतिर आँखा ओछ्याउँदै पाइला अगि बढायौँ ।
नजिक पुगेपछि एउटा बस्ती देख्यौँ । हामी त्यै बस्तीतिर लम्क्यौँ । काँ जाने ? के गर्ने ? कस्काँ जाने ? क्यै था थेन । हाम्ले कसैलाई चिनेका नि थेनौँ । अलिबेर हिँडेपछि एउटा खाली फुसको घर देखियो । हामी त्यै घरतिर मोडियौँ । त्यैँ बास बस्यौँ । त्यैँ रात काट्यौँ ।”
++++++
“भोलि ब्यान भ’पछि बल्ल था भो । त्यो घर ऐलानी जग्गामा बनेको घर रै’छ । घराँ बस्ने बुढाबुढी द्वन्द्वकालमा छोरो मारिएको खबरको पीरले तड्पिएरै मरेछन् । हाम्ले त्यै घरलाई आफ्नो कर्म घर बनायौँ । तेरो बाबाले त्यो घर सबै भत्काएर जङ्गलबाट नयाँ काठ ल्याई राम्रो बनाए । टुटेश्वर मन्दिरको महादेवलाई भाकल गरी कार्तिक महिनाभरि पानीसम्म पनि नपिई आफू निर्जला हुनुको नामलाई सार्थक बनाएँ ।” निर्जलाले आँसु पुछ्दै भनिन् ।
“खुकुरी काँ । खुकुरी काँ ।” बिहानी भएको प्रहर जनायो भालेले ।
“सुत् छोरी । भाले नि बास्यो ।” छोरीलाई थुम्थुमाउँदै भनिन् निर्जलाले ।
“नाइँ, क्या आमा, नाइँ । मलाई तिम्रो कथा सुन्नू छ । अनि, बाबा खोइ त ?” तृप्तीले जिद्दी कसी ।
निर्जलाले सालको पातले बेरिएको बिँडी सिरानी तलबाट निकालिन् । बलिरहेको कुपीमा झोसिन् । एक सर्को लामो सास गरी तानिन् र एक मुस्लो धुवाँ छानोतिर फर्की छोडिन् र आँखाभरि आँसु पार्दै भनिन्, “तँ मेरो गर्भमा बसेको छ महिना हुँदै थियो । यैँ सुतेको ठाउँबाट तेरो बाबा राति अचानक हराए । काँ गए । काँ गए । एक सातासम्म कति खोजेँ मैले तेरो बाबालाई । तर कइँ नि पत्तो लागेन ।
एक महिनापछि गाउँका एकजना बुढाले आएर भने, “चुरेडाँडाको कटुसको रुखमा झुन्डेर मरेका तिम्रै बुडा हुनुपर्छ । कुहिएर सबै मासु झरेर कङ्काल भएका रै’छन् । पुलिसले नि था पाएन छन् । बेलाँबेलाँ तेरो बाबा कसला गरिबस्थे र भन्थे, “निर्जला, मेरो कारणले तिम्ले साह्रै दुःख पायौ ।” यति भनेर निर्जलाले छोरी अँगालेर रोइन् ।
तृप्ती आमा रोएकी हेर्याहेर्यै भई । ऊ पनि रुँदै आमालाई अँगाली ।
एकछिन् वातावरण शून्य भयो । तृप्तिले भने अब प्रश्न गर्न छाडी ।
“हेर् छोरी । यो सन्साराँ कोइ कसैका नहुँदा रै’छन् । याँसम्म कि आफ्नै बाआमा नि नहुँदा रै’छन् । मेरा भएनन् । आफ्ना मानमर्यादा, इज्जत, सान र सौकतको लागि बाले मलाई नै बलि चढाए । मेरो सिन्दूर उजाडे । देशको धर्मले मान्दै आएका ठुलो बाहुन जातलाई लात्तीले कुटी कामी बनाए । याँ जसको शक्ति उसैको भक्ति । धन नभएपछि ठुलो जात नि साना हुँदा रै’छन् । रात निकै छिपियो । सुत् छोरी ।” निर्जलाले छोरीलाई च्यापिन् र निद्रालाई पनि खुकुनी च्यापिन् ।
++++++
बिहान भयो । घाम माथि डाँडामा उक्लियो । तर आमाछोरी अझै उठेकी थिएनन् । भान्साकोठाभित्रबाट बाख्रा र खसी म्या…म्या…गरेर कराइरहेका थिए । सायद, निर्जलालाई मेलो जानु थिएनन् आज । तर गाउँका मान्छेहरू भने सबै मेलोपातो गइसकेका थिए ।
बिहानको आठ बजेपछि निर्जला उठिन् । उनले धेरै वर्षअगिको आफैँसँग पढ्ने साथी अचानक भेट हुँदा “तँ आइज न मात्रै काठमाण्डू । म सकेकी मदत गर्छु तँलाई ।” भनेकी झल्झली सम्झिन् । तिनले कागजमा लेखेर दिएकी मोबाइल नम्बर आफूले सम्हालेर राखेकी सम्झिन् । उनले बैंकमा म्यानेजरको जागिर खाएकी थिइन् र काठमाडौँमा नै विवाह गरेकी थिइन् ।
निर्जलाले नित्य कर्म सकिन् । तृप्तीलाई पनि उठाइन् । उसले पनि नित्य कर्म सकी ।
निर्जला गाउँतिर लागिन् । एकछिनपछि एउटा बुढा साथमा लिएर आइन् र भान्साकोठाको कुनाको किलामा बाँधिएका बाख्रा र खसी देखाइन् ।
बुढाले बाख्रा र खसीलाई पन्ध्र सय दाम दिए । निर्जलाले पन्ध्र सय दाम हातमा समाइन् । बुढाले दुईटा हातले दाम्लो समाएर खसी र बाख्रा डोर्याए । निर्जलाले तुरुक्क दुई ढिका आँसु झारिन् । उनको सम्पत्ति भनेका त्यही एउटा बाख्रा र खसी थिए ।
निर्जलाले सबै पोकोपन्तरो कसिन् । छोरीलाई किताब झोलामा राख्न भनिन् । आफूले पनि कपडा फेरिन् । छोरीलाई पनि कपडा फेराइन् । अब निर्जलाले मासुको मुटुलाई मनले कसेर ढुङ्गाको मुटु बनाएकी थिइन् । सानोतिनो भूकम्पले निर्जलाको मुटु हल्लिदैन थियो अब ।
“हिँड् छोरी, काठमाण्डू । तैँले धेरै पढ्नुपर्छ । ठुली आमाजस्ती तैँले डाक्टर बन्नुपर्छ ।” यति भन्दै निर्जलाले बाह्र वर्षे छोरीको हात च्याप्प समाइन् र काठमाडौँको बस चढ्न भनी महेन्द्र राजमार्गतिर पोकोपन्तरो बोकी ओरालो झरिन् । ओरालो झर्दैगर्दा निर्जलाले एकपल्ट आफू बसेको घरलाई फर्केर हेरिन् । तुरुक्क दुई ढिका आँसु झारिन् । पतिलाई सम्झिन् । अनि कुटुनी बिपासालाई पनि सम्झिन् । एकपल्ट पश्चिमतिर फर्किन् र अविरल ओरालो झरिन् ।
++++++
शनिबारको दिन थियो । निर्जलाले काठमाडौँ बसपार्कमा आएर साथीलाई फोन गरिन् । साथी निर्जलालाई लिन बसपार्कमा आइन् । दुवैजनाले एकर्कामा अङ्कमाल गरे । साथीले तृप्तीको गालामा मायाको हातले मुसारिन् । तृप्ती पनि खुसी भई । ल्याएर एक हप्ता आफ्नै घरमा राखिन् । चिनेका जानेकामा सोधी घर साफा गर्ने र कपडा धुने काम दिलाइदिइन् ।
निर्जलाले पन्ध्रओटा घरका काम समातिन् । हजारका दरले महिनाको पन्ध्र हजार आउँथ्यो । आम्दानी आउन थालेपछि उनले बानेश्वरमा महिनाको एक हजार जाने एउटा कोठा भाडामा लिइन् । छोरीलाई राम्रो बोर्डिङ्ग स्कुलमा पढाइन् ।
बिहानैबिहान डोकोमा साग पनि बेचिन् । घरका सबै काम सकी दिउँसोदिउँसो चोकमा ठेलामा हरियो मकै पनि पोलेर बेच्न थालिन् । उनको आम्दानी निकै बढ्न थाल्यो ।
पैसा जम्मा हुँदै गएपछि निर्जलाले मकै बेच्न छाडी एउटा पानीपुरीको ठेला लगाउने मनमनै विचार गरिन् । उनलाई थाहा भयो मकैमा भन्दा पानीपुरीमा बढी आम्दानी हुँदोरहेछ भन्ने । त्यसपछि उनले असी हजारमा एउटा सिसावाला पानीपुरीको सोकेस् गाडा बनाउन अर्डर गरिन् ।
केही दिनमा गाडा पनि तयारी भयो । उनले घरको काम अझै छाडेकी थिइनन् । पानीपुरी बेच्न थालेपछि नभ्याइने भएर उनले घरका काम गर्न छाडिन् । त्यसपछि बिहानभरि पानीपुरी, चट्पट्टे र चाट्का सामानहरू तयार पार्थिन् । अनि दिउँसो एक बजेदेखि बानेश्वर बिआइसीसी भवनको पश्चिमतिरको चोकमा गाडा लगाउँथिन् ।
गाडाको नाम ‘निर्जला पानीपुरी’ राखिन् । पानीपुरीमा दिनदिनै मान्छेका भिड लाग्न थाले । तृप्तीले पनि स्कुल सकेर आमालाई सघाउन थाली । तृप्ती पढ्नमा सानैदेखि दिमागी थी । गाउँ छाडेर आएदेखि तृप्तीको पढाइ राम्रो देखेर स्कुलले स्कलरसिप दियो ।
हँदाहुँदै ‘निर्जला पानीपुरी’ बजारमा निकै नै प्रसिद्ध हुँदै गयो । उनको पानीपुरी गाडाअगि विभिन्न युटबरहरूका अन्तर्वार्ताको लागि लाइन् लाग्न थाले ।
++++++
दस वर्षपछि छोरी तृप्ती डाक्टर बनी । आफैँसँग पढ्ने डाक्टर साथी बाहुनसँग विवाह पनि गरी । पानीपुरी बेच्ने निर्जलाकी छोरी ‘तृप्ती घिमिरे’ एम. डि. कार्डियोलजिस्ट डाक्टर बनी भनेर दुवै आमा र छोरी टिभी र पत्रपत्रिकाहरूमा छ्याप्छ्याप्ती देश र अन्तराष्ट्रिय मुख्य समाचार समेत बने ।
यही समाचार निर्जलाकी बुढाबुढी भैसकेका बाआमाले पनि टिभीमा हेरिरहेका थिए । थोरैजसो खुसी र धेरैजसो लाज घोप्ट्याउँदै बुढाबुढी एकर्कामा मुखामुख गरे ।
“हजुरको धनको अहम्ले हाम्ले आफ्नै छोरी गुमायौँ ।” आमाचाहिँले यति भनेर पतिलाई अँगाली रुन थालिन् । पतिले भने शिर निहुराए । रिमोट्ले टिभी बन्द गरे ।
तृप्ती पहिले पनि बाहुनकै छोरी थिई । दुःख गरी पढी र बाआमाको लाज राखी । आमाको निर्जला नामपछि ‘निर्जला घिमिरे’ थपी । निर्जला अब पहिलेकी जस्ती कमिनी रहिनन् । उनी अब एम्. डी. डाक्टर कार्डियोलजिस्ट तृप्ती घिमिरेकी आमा बनिन् ।
डाक्टर बनेकी पाँच वर्षपछि एक दिन तृप्तिले निर्जलालाई जन्म दिनको उपहारमा घरै किनेर घरको चाबी उपहार दी ।
“सपना देख्नु निदाएर होइन, ब्युँझेर सपना देख्नुपर्दो रै’छ । ब्युँझेर देखेको सपना अक्सर साकार हुँदो रै’छ ।” निर्जलाले छोरीलाई आशीर्वाद दिँदै भनिन् ।
उठेर निधार चुमिन् र दुई ढिका खुसीको आँसु खसालिन् । तृप्तीलाई गम्रङ्ग अँगालिन् र भनिन्, “छोरी, मेरो सपना तँ होस् । मैले तँमा सपना देखेकी थेँ । आज मेरो त्यो सपना पूरा भो ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

