मेरो हातभरि पढाइका प्रमाणपत्रहरु छन् अनि मेरो बुबाको हातभरि परिश्रमी पसिना अनि टिल्लिएका ठेलाहरु छन् । बुबा भन्नुहुन्छ, “पर पाखादेखि एक भारी भुइँघाँस काटेर गोठका गोरुलाई हालिदे छोरा” ।

“म पढेको मान्छे लाज हुन्छ नि” बुबाको कुरालाई टेरपुच्छर लगाउँदिन । रातभरि गर्लफ्रेण्ड नमुनासँग फेसबुक अनि च्याटिङमा व्यस्त म, बिहान आमाले, “तातो दुध र भुजा खान उठ् छोरा” भनेर बोलाउँदा नि उठ्दिनँ ।

तर नमूनाले पठाएको “Hi Dear ! Good morning.” भन्ने एउटा मेसेजले मलाई उठाउँछ । हतार–हतार हातमुख धोएर बुबाले किनिदिएको पल्सर २२० हुईँक्याउँदै सधैं ट्युसन जान्छु, किनकि नमूनासँग भेट हुन्छ ।

ज्ञानेन्द्र रसाइली (कतार)

सुन्दर बिहानीको चिसो बताससँगै उडिरहेका उनका केशराशीलाई स्पर्श गर्दै गोपाल दाइको क्यान्टिनमा तातो चियाखाजासहित प्रेमिल वार्ता गर्नुको मज्जा नै बेग्लै छ, ट्युसन त एउटा बहाना मात्र हो । ट्युसनपछि ८० को रफ्तारसँगै सिधै घरमा आमाले पकाएको खाना खाएर थालमा हात चुठेर दिउँसोको कलेज पुग्दा पहिलो घण्टी सुरु हुनै लागेको छ । यसरी नै बित्दै थियो मेरो दैनिकी ।

दिनभरि काम गरेर मेरो बुबा केही कमाएर फर्किनुहुन्थ्यो भने म चाहिँ प्यारी नमुनाका इच्छाहरु पूरा गर्नका लागि टन्न खर्च गरेर फर्किन्थेँ । बेलुकीको खानापछि बुबा–आमा व्यवहारिक गफ गर्नुहुन्थ्यो र मलाई पनि छेउमा बस कुरा गर्नु छ भन्नुहुन्थ्यो तर म भने नमुनाको मेसेजको पर्खाइमा सिधै कोठातिर छिर्थेँ । मेरी ठुलीदिदीले कुरा कोट्याउन खोज्थी तर मैले चुप गराउन १०० रुपैयाँ घुस दिएको थिएँ । यसपाली खेतमा कुन जातको धान रोप्ने ? कति हल गोरु ? कति जना खेताला ? बारीको मकै कस्ता भए ? हल गोरु र खेताला सबै पर्मपातमै गर्नुपर्छ जस्ता धेरै कुराहरु हुन्थे । बुबाले आमालाई भन्नुहुन्थ्यो, “अब त छोरो ठुलो भइसक्यो पढाइसँगसँगै व्यवहारका कुराहरु सिके हुने, हामी पनि बुढाबुढी भइयो ।”

“खै त्यसलाई ध्यानै छैन, पढेका मान्छेले खेतीपातीका कुरा कहाँ सुन्छन् र ! पछि धेरै पढेर जागिर खाला नि” आमाको जवाफ आउँथ्यो । त्यसपछि पुनः व्यवहारिक गफगाफमा व्यस्त हुनुहुन्थ्यो । तर गफगाफको बिच–बिचमा मेरो कुरा आइहाल्थ्यो । “यसले पनि सिके हुने, गरे हुने, पछि के होला, पढेका मान्छेहरु धेरै छन्, जागिर पाउन गाह्रो छ” जस्ता कुराहरु आइरहन्थे । तर म भने नमुनासँग भिडियोकलमा व्यस्त । मेरै ढिपीमा वाईफाई जडान गरिएको थियो । नमूनासँगको निकटता पनि यति झ्याङ्गिएछ कि हामीले विवाह अगाडि नै बुबाआमा बन्ने वातावरण सिर्जना गरिसकेछौँ ।

“हाम्रो निकटताको परिणाम अनि मायाको निशानी मेरो पेटमा हुर्कँदैछ” नमुनाको यो कुराले म छाँगादेखि खसेझैं भएको थिएँ । अबको विकल्प भनेको विवाह नै हो भन्ने निर्णयमा पुगियो । विवाहको क्षणमा पारिवारिक केही उतारचढावहरु भए र नहोस् पनि कसरी, बिना कुनै सरसल्लाह घरमा नमुनालाई भित्र्याउँदा । व्यवहारिक अपरिपक्वतामा नै विवाहजस्तो ठुलो निर्णय लिएपछि समयानुकूल भएन । परिवारको संख्या बढ्यो, खर्च पनि बढ्यो तर आम्दानी बढेन । आम्दानी सँग–सँगै मेरो पढाइ पनि बढेन र अन्तमा निर्णय लिनुपर्यो । कमाउनका लागि घर छोड्ने । बुबाआमाले धेरै सम्झाउनु भयो, हिम्मत दिनुभयो अनि नमुनाले धेरै विलाप गरिन् तर मनलाई कठोर बनाउन बाध्य भएँ म ।

जब घर छोडियो तब बुबाले भनेका सबै कुराहरू झल्झली सम्झना आउन थाले । हिजोआज सोचाइ आउँछ – बुबाले बुझाउन खोज्दा मैले किन बुझ्न सकिनँ ? पढेको मान्छेले पनि त बुझ्न हुन्थ्यो होला नि ? आजकल घरमा बुबाआमालाई फोन गर्दा म सधैं व्यवहारिक कुराहरु गर्छु । अनि बुबाआमा भन्नुहुन्छ,“अब बुझ्ने भइछस् छोरा दुःख पाउँदैनस्। आइज आफ्नै गाउँमा । यहाँका गाउँबेसी, भिरपाखा अनि बुढा भएका हामी बुबाआमाले तेरो बाटो हेरिरहेका छौँ ।”