एकाबिहानै तीनपटक ढोका ढकढक गर्दा पनि केही आवाज नआएपछि म ढोका खोलेर कोठाभित्र पसेँ । ईसाबेल विना कपडा नै बच्चाजस्तै मस्त निदाइरहेकी थिई । करिब ६ फिट २ इन्च अग्ली ऊ झट्ट हेर्दा पौराणिक ग्रिक देवीको जस्तै यौनको महत्त्वलाई बुझेर अत्यन्त मेहनतका साथ कुँदिएको सुन्दरयौनक्रिडाको मूर्तिजस्तै देखिन्थि । उसले आँखा खोल्नासाथ मलाई देखी र चाल्नोझैं प्वाल परेको एउटा ओड्ने तानेर जिउ ढाक्न खोज्दै थिई । शरीर ढाके पनि प्वालहरुबाट उसलाई भगवानले नै सबैभन्दा सुन्दरतम बस्तुहरू संकलन गरेर सृष्टि गरेको हो र तपस्यामा बसिरहेका ऋषि नै भए पनि रुप देखेर मोहित हुने खाल्को उसको सुन्दरता देखिन्थ्यो ।

गर्मी होस् वा जाडो दुबै मौसममा ईसाबेल विना कपडा नै सुत्ने गर्छे । यसरी सुत्दा एक त दैनिक कपडा धुनु् पर्ने झन्झट नहुने अर्को शरीरमा हावा राम्ररी पास हुने , शरीरमा रक्तसञ्चार पनि राम्रो हुने , आत्मविश्वाश बढ्ने अनि आफूप्रति र आफ्नै शरीरप्रति पनि अलिकति प्रेम बढ्ने बताउँछे। कोठामा मलाई देख्नासाथ मीठोमुस्कान दिँदै ग्रीटिंग्स् गरी र हतपत पर्समा भएको जम्मै पैसा देखाउँदै गएको महिना मसँग सापटी लिएको पैसाको आधा रकम झिकेर फिर्ता लिन भनी । मैले छक्क परेको जस्तो अभिनय गरेर कड्केको स्वरमा भने, ‘होइन तिमीसँग हिजो साँझसम्म त एक पैसा पनि थिएन त । गाँजा तान्न नपाएर छट्पटिएकी तिमीले मलाई पनि धेरै नराम्रो व्यवहार गर्न भ्याएकी थियौ । अकस्मात् कहाँबाट आयो यो पैसा ?”

उसले मलाई बेलिबिस्तार लगाउँदै भनी, ‘ म धेरै दिन अस्पताल बसेर अस्ति राति मात्रै घर फर्किएँ । थकाइले सुतिहालेँ । प्राय: सबै लोग्ने मानिसहरू निक्कै रूखिएका र बोर भइसकेका रहेछन्। हिजो राति केही मानिसहरूसँग भेटघाट भयो। पालैपालो गर्दै जाँदा अलिकति पैसा जम्मा भएछ । पहिला तिमीसँग लिएको सापटी तिरिहालौं भनेर तिमीलाई कुरेर बसेकी थिएँ । तिमीसँग बोल्न पनि मलाई कस्तो सरम लागिसकेको थियो।’ यसो भनिरहँदा उसलाई कुनै गर्व थिएन।

मैले पनि यहीँ हो मौका भनेर, ‘म एउटा प्रश्न सोध्न सक्छु ?’ भनेर अनुमति लिइहालेँ । ईशाबेलले पछाडि टाउको कन्याउँदै, मुख अमिलो पार्दै मुण्टो हल्लाएर सहमति जनाई । किनकि मैले उसको नितान्त व्यक्तिगत जीवनको प्रश्न गर्छु भनेर उसलाई थाहा थियो । ‘तिम्रो शरीर रोगले यस्तो जीर्ण भैसकेको छ कि शरीरमा कुनै ठाउॅ छैन कि नघोचिएको होस् । तिमी यतिका मान्छेहरुलाई खुसी चाहिँ कसरी पार्छेउ ?‘ मैले यति सोध्न नपाउँदै उसले जवाफ दिन थाली।

‘एक त मेरा किड्नीले जुन दिनदेखि काम गर्न छोडे त्यही दिनदेखि नै म मरिसकेकी छु । मेरो क्वालीटीलाईफ पनि त छैन। वाकर केनको सहायताले हिँड्छु । अर्को कुरा लोग्ने मानिसहरु मासु र मासुका डल्ला मन पराउँछन् , चाहे मृत होस् वा जीवित , उनीहरु आफू मर्ने अघिल्लो दिनसम्म पनि मासुसँग खेल्न र चल्न मन पराउँछन् । यस्तै जीर्ण भए पनि मेरो शरीरसँग खेल्न र गिजोल्न चाहनेहरू धेरै नै छन् । थोरै मान्छेले मलाई मन पनि पराउँछन् । तिमीलाई थाहै छ म गाँजालगायत ड्रग्स र ड्रिंक बिना बाँच्न सक्दिनँ भनेर । कम्तिमा पनि दिनमा चार पटक तान्नैपर्छ। यसका लागि एकदिनको कम्तिमा ३५ डलर चाहिन्छ । गाँजा तानेपछि भोक लाग्छ। अनि सस्तो खाना किन्न कम्तिमा १० डलर गर्दा कति भयो ? तिमी आफै हिसाब गर। “
यति भनेर पनि उसको कुरो टुङ्गिएन।

“ गत महिना मेरो शरीर र मुड दुबै फ्रेश भएन । म कसैलाई भेट्न गइन । मेरो झण्डै ११ सय डलर पैसा ऋण लागेको रहेछ। सबैले पैसा फिर्ता माग्न थाले । तिमीलाई थाहा छ मेरो सोसियल सेक्यूरिटी डिसएब्लिटीको पैसा सबै कोठा भाडामा जान्छ भनेर। मसँग एक पैसा छैन । अनि मैले सबैलाई चित्त त बुझाएरै पठाउनु पर्‍यो । चित्त नबुझाए फेरि मलाई कसले सापटी दिन्छ र ?”

अरु कुरा त्यस्तै हो, ईसाबेल , कोरोना भाइरसलाई त तिमीले पटक पटक जित्न सफल भयौ तर ईम्यूनोडेफिसेन्सी भाइरसबाट चाहिँ बच्नु है । मैले कुरा टुङ्ग्याएर हिँड्न खोजेपछि ऊ मज्जैले हाँसी र भनी, “ मेरो एकजना सानै देखिको साथी जीवनभर एकजनासँगै बिहे गरेर बस्यो तर एड्स रोगले गत वर्ष मर्यो।”

ईशाबेलसँग चार वर्ष अगाडि मेरो भेट भएको थियो । कडा र आक्रामक स्वभावले उसलाई कसैले पनि मन पराउँदैनन् । खै किन हो कुन्नी कसैले डिल गर्न नसकेका सबैभन्दा कठिन मान्छेहरूसँग डिल गर्न मलाई रमाइलो लाग्छ । पर्सनालिटी डिसअर्डर, मुड डिसअर्डर, बाइपोलर डिसअर्डर र अस्थीर मानसिक अवस्था भएका मानिसहरुसँग पनि म आफ्नो राम्रो र दिगो सम्बन्ध विकसित भैरहेको देख्छु र केही नयाँ कुरा सिकिरहेकोजस्तो मलाई लाग्छ । मान्छे जति कडा हुन्छ भित्र एकदमै नरम स्वभाबको हुन्छ र जति बाहिर सरल स्वभाबका देखिन्छन् भित्र एकदमै जटिल हुन्छन् भन्ने मेरो निजी बुझाइ हो। ईसाबेलाका शब्दवाणहरुले मलाई पनि धेरैपटक नघोचेको भने होइनन्।

उसले कसैलाई पनि राम्रो व्यवहार नगरेको र नियम कानुन पालना नगरेको भनेर ऊ बसिरहेको बिल्डिङ छोडेरअन्तै जान भनी वार्निङ लेटर पनि थमाइयो । ऊ जहिल्यै पनि अर्को ठाउँ सर्नलाई कोठा खोजिरहेकी हुन्थी र उसको ज्यादै रुखो स्वभाबले गर्दा कसैले पनि उसलाई बस्न दिन तयार नै हुँदैनन् ।

एकदिन मेरो अलिकति फुर्सद पनि थियो र वास्तबमै ईसाबेल के चाहन्छे त ? किन यतिबिध्न रुखो स्वभाब अरुलाई देखाउँछे भनेर मलाई बुझ्न मन लाग्यो। पहिला उसलाई ‘तिमी कति राम्री, अग्ली, लुगाले कति सुहाएको, तिमी हेर्दा त फिल्म स्टारजस्ती लाग्ने, तर व्यवहार किन रूखो देखाएकी ? के तिमी सबैलाई तनाब दिँदा खुसी मान्छेउ हो ? तिमीसँय धेरै रहस्यहरु लुकेका छन्, कसैलाई भन्यौ भने तिम्रो मन हल्का पनि त हुन्छ । यदि मसँग विश्वाश छ भने भन, आखिर तिमी जिन्दगीमा के चाहन्छेउ ? म तिम्रो खराब बानीलाई सहयोग गर्न त सक्दिन तर तिमीलाई सुन्ने र बुझ्ने धैर्यता भने मसँग प्रशस्त छ।’ यस्तै आम महिला जसरीcompliment पाएर मख्ख पर्छन् त्यस्तै तरिकाले कुरा गरेँ।

ऊ बिस्तारै मप्रति नरम हुँदै गई। उसका कुरा सुन्दै जाँदा विगत अत्यास लाग्दो रहेछ । मलाई नढाँटी सबै कुरा क्रमशः खोल्दै गई । मैले सबै कुरा सुनिसकेपछि मलाई भ्लादिमिर नाबोकोवको मनोविश्लेषणात्मक उपन्यास‘लोलिता’ को याद पनि आयो ।

वास्तवमा उसका ठूला माग केही पनि थिएनन् । स-सना कुराहरू थिए र बढीभन्दा बढी ध्यानाकर्षण र माया खोजिरहन्थी। त्यो अलिअलि गर्दै म आफैंले पूरा गरिदिन थालेँ । ऊ बिस्तारै शान्त बन्दै गई। उसलाई घरबाट निकाल्ने निर्णय पनि पेन्डिङमा राखियो ।

उसले बिस्तारै मलाई आफ्नै बहिनीजस्तो माया गर्न थाली । मलाई ब्रेकफास्ट लन्च खाएको नखाएको सोध्थी । मलाई एसियन इन्डियन भनेर हेप्नेलाई मुखभरिको जवाफ दिन्थी । कसैले कड्के नजरले हेर्‍यो भने मेरै लागि झगडा गर्न जान्थी। तर उसको तिखो बोली र कडा स्वभावले मैले चाहिँ कहिल्यै माया गर्न सकिनँ । तर पनि मेरो अथाह आदर र सम्मान भने छ ऊसँग।

ऊ अफ्रिकन मुलकी अमेरिकन हो । राम्रो परिवारिक पृष्ठभूमिमा जन्मे हुर्केकी ऊ एकपटक भनेको कुरा कहिल्यै बिर्सन्न र ऊ अङ्ग्रेजी शब्द उच्चारण एकदमै राम्रोसँग गर्छे। हाई स्कुलमा पढ्दा पढ्दै साथीहरुको सँगतले कुलतमा फस्न थाली । कलेज नगइकनै पढाइ छोडी । कुलतले उसलाई शरीर बेच्न बाध्य बनायो । टिनएजमा हजुरआमा, आमा र बुवासँग बस्थी । केटा साथीहरुसँग आफ्नो कलकलाउँदो शरीर ड्रग्ससँग साट्न थाली । अलि धनी र पैसावाल केटाहरुले शरीर दिएपछि एक खिल्ली गाँजा दिन्थे । कहिलेकाहीँ त शरीर सुम्पिसकेर पनि एक खिल्ली पनि दिँदैनथे । नदिए खोसेरै भए पनि एक दुई सर्को तानेर चित्त बुझाउँथी ।

यसरी धेरै केटाहरुसँग सम्पर्क गर्ने क्रममा नै ऊ पत्तै नपाइकन गर्भवती भई र सानै उमेरमा छोरीकी आमा पनि बनी । छोरीको बाउ को हो भनेर उसले कहिल्यै खोजी पनि गरिन । उसको एक छोरी र दुई नातिनातिनी छन् । उनीहरुसँग दिनमा एकपटक फोनमा कुरा गर्छे ।

सात वर्ष अगाडि उसका दुबै किड्नी फेल भएर काम गर्न छोडेपछि अस्पताल भर्ना भई । अस्पतालबाट फर्कने ठाउॅ थिएन र सोझै सरकारी सेल्टरमा पुगी । सेल्टरबाट एजेण्टले राम्रो ठाउँमा लगिदिन्छु भनेर यहाँ आइपुगेकी रहिछ।

समय बित्दै जाँदा एक ठाउँबाट अर्को ठाउॅमा बसाइ सर्दै गई । ऊ दिउँसो स्टोरमा काम गर्थी तर सरकारलाई ट्याक्स बुझाएर बँचेको पैसाले कोठाभाडा तिर्नै ठिक्क हुने। अनि ड्रग्स किन्ने पैसा जुटाउन अरु कुनै उपाय देखिन । ऊ दिउँसो स्टोरमा काम गर्थी र प्राय: राति बारमा जाने र त्यहींबाट कोही ग्राहक भेटिए पट्याएर सहमतिमा गन्तव्य निर्धारण गरेर उसैसँग जाने गर्थी । तर, किड्नी डायलिसिस गर्न थालेपछि भने राति बार जान गाह्रो भएको बताउँछे।

आफू बसेको ठाउँमा सबै ऊजस्तै केही न केही शारीरिक समस्या भएर घरबार बिहिन भई जीवन घिसारिरहेका मानिसहरू छन् । उसको आगमनले धेरै लोग्ने मानिसहरुमा खुसी पनि छाएको छ । कमसेकम ईसाबेलको खराब बानीलाई केही पैसा दिएर सपोर्ट गर्दा एकछिन भए पनि उसको शरीरसँग खेलेर, छोएर मनोरञ्जन लिन पाइन्छ भन्ने सबैलाई थाहा छ ।

मलाई एक जनाले भनेका थिए, ‘यदि कसैको महँगो खालको कुलत छ भने उसको वरिपरिका मानिसले नै त्यो लतलाई सहयोग र समर्थन गरिरहेका हुन्छन् । नत्र पैसा कहाँबाट आउँछ ? Give and take रिलेशन सिप हो।’

हप्तामा तीन दिन डायलिसिस गर्नु अनि ड्रग्सका लागि रकम जुटाउनु उसको रूटिन हो । दिनमा ४०/४५ डलर जुटाउनु निक्कै ठूलो चुनौतीको कुरा पनि हो । उसका केही स्थायी ग्राहक पनि थिए । तर बिरामी भएरअस्पताल गइरहने हुनाले ती भरपर्दा थिएनन् । उसलाई सधैं नयाँ ग्राहक खोजेर रकम जुटाउनु अर्को चुनौती छ।

गत वर्ष मैले उनलाई खराब लत सबै छोडेर जिन्दगीलाई एकपट राम्रोसँग नियाल्न कन्भिन्स गरेँ । ‘ईसाबेल ड्र्ग्स र सेक्सलाई एकपटक आफूबाट टाढा राखेर हेर त ! कति सुन्दर छ यो संसार । तिम्रो अझै पनि जीवन कति सुन्दर छ । तिमी पचास वर्षकी मात्रै भयौ । किन तिमी यी हेर्दै घिनलाग्दा मानिसलाई आफ्नो जीर्ण र रोगी शरीर लुछ्न दिन्छ्यौ ? तिमीलाई दुख्दैन। के तिमी उनीहरूलाई किस गर्न अंकमाल गर्न सक्छ्यौ ?’ मैले सोधेँ।

‘म अलिकति नशा तानेर मात्रै ती मानिसहरुको संसर्गमा जान्छु । उनीहरूलाई घाँटीमाथि नछोउ अरू जे जे गर्ने हो गर भन्छु र शरीर सुम्पन्छु । उनीहरु मासु गिजोल्दै गर्छन् म अर्को खिल्ली गाँजाको लागि तिर्नुपर्ने पैसाको बारेमा मात्रै सोचिरहन्छु,’ उसले यस्तै मार्मिक कुराहरू रूँदै भनी। मेरो आग्रहलाई मानेर २० दिनसम्म सबै लत छोडेर बसेकी पनि थिई । तर उसले फेरि सुरुवात गरी।

‘ड्रग्स र सेक्स बिनाका बीस दिन अति सुन्दर थिए । तर म अब साधु संन्यासी नै बने पनि मेरो पहिचान एकखिल्ली गाँजामा बिक्ने भनेर नै बनिसकेको रहेछ । कामुक पहिरन लगाएर र मेकअप गरेर सहरको चोकमा ग्राहक कुरेर पनि म कहिल्यै बसेकी छैन तर पनि मलाई मानिसले नराम्रो तरिकाले हेरिसकेका रहेछन्,’ उसले भनी।

जे होस् मलाई ईशाबेल औधी राम्री र इमान्दार लाग्छे । ऊ पनि जन्मँदा अरु महिलाजस्तै कुमारी नै थिई । ऊ कुनै पनि पुरुषसँग प्रेमको नाटक गरेर यौन सम्पर्क गर्ने चतुर खेलाडी पनि हैन र उसलाई कसैलाई आनन्द लिनु दिनु पनि केही छैन । हुन पनि मैले अमेरिकामा देखेका राम्रा भनिने मानिसहरुका प्रेमिकाभन्दा ऊ हजारौंगुणा इमान्दार थिई। अनि आफ्नै श्रीमानको साधन र स्रोतलाई प्रयोग गरेर विवाहेत्तर सम्बन्ध गर्ने स्वास्नीमानिसहरु भन्दा निक्कै इमान्दार थिई । कहिल्यै नढाँट्ने र प्रष्ट स्वभावकी थिई। उसले गाँजाका लागि कसैसँग लिएको सापटी पैसा सकेसम्म समय अगाडि नै तिर्थी । भगवानको पूर्ण विश्वास गर्थी। कसैको कुभलो चिताउँदिनथी। दिनहुँ नुहाइधुवाइ गरेर सफा लुगा लगाउने र मगमग आउने लोसन लगाउँथी । तर उसलाई आफ्नो शरीर कसलाई सुम्पने र कसलाई नसुम्पने भन्ने विकल्प भने थिएन । गाँजा तान्न अलिकति पैसा जोहो भैसकेपछि ऊ घर फर्किइहाल्थी।

कहिलेकाहीँ मानिसहरुले दया मायाले यसै दुई/चार डलर हातमा थमाइदिन्थे । त्यो बेलामा उसको खुसीको सीमा हुँदैन थियो । तर अर्काको मेहनतको कमाइ लिन हुन्न भनेर ऊ पछि पैसा भएको बेलामा पुरै फर्काइदिन्थी। तर ऊ एउटा साँचो प्रेमको खोजीमा थिई ।

उसको ३० वर्ष अगाडि एक स्पैनिस मुलको मानिससँग प्रेम बसेको कहानी बारम्बार सुनाइरहन्थी । तर, दुईवर्षमा नै त्यो सम्बन्ध टुंगियो । त्यो समय उसले गाँजाको लत पनि छोडेकी थिई । उसको प्रेमीसँग अहिले पनि क्रिस्मस र थेंग्सगिभिंगमा उपहार साटासाट हुन्छ । ऊ साँच्चिकै फेरि पनि प्रेममा पर्न र चुर्लुम्म डुब्न चाहन्छे । समुद्रको नजिकै आफ्नो एउटा सुन्दर अपार्मेण्ट होस् र सोफामा प्रेमीसँग अँगालोमा बाँधिएर प्रेमीको ढुकढुकी सुन्दै समुद्रको छाल हेर्न चाहन्छे। उसकै बलिष्ठ पाखुरामा सुतेर मस्तसँग निदाउन चाहन्छे र बिहानै उठेर आफ्ना सपना बिपना र अनुभव सबै सुनाउन चाहन्छे र बीच बीचमा चुम्मन गर्न चाहन्छे जसको ओठ स्वादिलो होस् ताकि एक खिल्लि गाँजा साट्नेहरुसँग चुम्मन गर्दाजस्तो श्वाश रोकेर मुख बन्द गर्न नपरोस् । अनि मेरो पनि माया गर्ने एउटा मानिस छ भनेर उसले चिनेका मानिसहरु जसले नराम्रो नजरले हेर्छन् र एकखिल्लि गाँजाका लागि उसको शरीर निमोठ्नेहरुलाई खुलेआम भन्न चाहन्छे ।