घुर्मैलो दिन थियो तर गृष्म ऋतुको काल थिएन त्यो । शरद ऋतु, त्यसै पनि चाडवाडको समय । रेगिस्तान होस् या लाहुर, नजिकको देश भारत होस् या राजधानी काठमाडौँ, एक किसिमले गाउँघर फर्किनेहरुको लर्को थियो । कोहीकोही भने यताको निकट रमाइलोलाई केही वर्षका लागि थाँती राखेर जब्बरजस्त गुन्टा कस्न बाध्य थिए । कलिला लालाबाल, वृद्ध आमाबुबा, आफ्नी प्रियतमा जहानसँग हात हल्लाइरहेका दृश्य एकदम कष्टसाध्य थिए- ती बिदाइको संघारका । त्यसो त, धेरैजसो युवा जमात विद्यार्थीको ट्याग भिरेर क्षणभर अनुहार तमोमय बनाए पनि भित्र खुसीका मुना उमार्दै अष्ट्रेलिया, अमेरिका, क्यानडा जान हतारमा थिए । यो सङ्ख्या उँचो भएर जाँदो थियो जब कोभिड नामक महामारी मानव जगतबाट सुस्तरी ह्रास हुँदै जान थाल्यो ।
सिलसिला जारी नै रह्यो । रेगिस्तानको यात्रामा निस्कने पौरखिला जमातहरु राजधानी वा केन्द्रका रोजगार मध्यस्थता संस्थामा धाउन थाले । समय सधैँ एकनासको कहाँ हुँदो रहेछ र ? यो अच्चम छ कि समयको सुइले कसलाई कतिखेर कतातिर धकेल्ने हो थाहा नहुँदो रहेछ । कृष्णको जीवनमा पनि एकाएक यस्तै अवस्था आइलाग्यो । र, ती शारदीय कालमा पनि गृष्म कालसैपरी बादलका धब्बा तारन्तार नाच्न थाले उसको हृदयको आकाशमा । कुनै कुनै रातभर मेघ मात्र गर्जियो भने कुनै कुनै रातभर घनघोर वर्षा भयो । यसको सामना उसले मुटु गाठो पारेर गर्नै पर्यो । हृदयको छानोलाई टाल्नै पर्थ्यो । मन मुटुलाई दह्रो बनाउनै पर्यो ।
गत साल मात्रै त थियो उसले एउटा चारकोठे घर बनाएको । त्यही घरबाट त उसको दशा सुरु भयो नि । अन्त्यमा, उसले घरको पर्खाल लागाउनका लागि मोटो रकम ऋण लिन पुगेको थियो । त्यही साल अकास्मात विवाह पनि गर्यो । त्यहाँ पनि ऋणै थपियो । विवाह गरेपश्चात् श्रीमतीको इच्छाबमोजिम लत्ताकपडा, श्रृङ्गार सामान तथा घरको सरसजावट र रंगरोगनदेखि वास्तुपूजा पनि गर्नुपर्यो । यसका लागि साथीभाइबाट उसले सरसापट लियो । घर कामको चटारोले उसले कतै जागिरमा निस्कन पनि पाएन । त्यसपछि, दश महिनाअघि मात्र नयाँ सन्तानले यस धर्तीमा जन्म लिन पुग्यो । तब फेरि, सुत्केरी उतार्न उसले उत्तरपट्टिको छिमेकीबाट ऋण लिन बाध्य हुनुपर्यो । फेरि चाडवाड आयो यसपाला । जसोतसो जोहो गर्नैपर्यो । दक्षिण छिमेकीबाट ऋण लियो ।
ऋणमाथि ऋणले थिचिएको उसले चाडवाडलगतै मुक्तिका टाकुराहरु छिचोल्न तमामि गर्यो । जुक्ति सोचिनसक्दै फेरि श्रीमतीले अर्को रहर पोखिन्- ‘यत्रो घर त बनाइयो अब घर वरिपरि गजबको पर्खाल लगाउन पाए त, एक त घर सुरक्षित हुन्थ्यो, अर्कोतिर छिमेकीसँग अनावस्यक रुपमा बोलिरहने टन्टा हुँदैन्थ्यो । सुटुक्क आ-आफ्नो मेलोमेसोमा लागिन्थ्यो नि ।’
श्रीमतीको यो कुरा एकदम जायज पनि लाग्यो कृष्णलाई । उसले सोच्यो, ‘ऋण दिएपछि जो पनि अलिकति माथि नै रहन्छ । हेपाहा, हेयता र हेला प्रवृतिको सास्ती बिहान उज्यालो भएदेखि किन खप्नु ? अब परदेश लाग्नुपूर्वै अग्लो पर्खाल ठडाउनु पर्ला । यसो गर्दा श्रीमतीलाई पनि छिमेकीको कटाक्ष दृष्टिको सास्ती बेहोर्नु नपर्ने ।’ तर, अब कोसँग मागोस् त उसले ऋण ? उसले फेरि सोच्यो, ‘साथीभाइसँग पनि कति माग्नु, भरअभर छिमेकी नै हुन् गर्ने त ।’
यसरी छिमेकबाट पुन: ऋण लिएर उसले घर वरपर गजबकै अग्लो पर्खाल लगायो । अग्लो पर्खाल देखेर छिमेकीहरु अच्चममा परे । आखिर ऋण गरीगरी उसले त्यति विशाल पर्खाल किन ठड्यायो त ! उसको घर वरपर पर्खाल यसरी ठडियो कि जसबाट छिमेकीसँगको सम्बन्ध आँधिहूरीले रुखका पात उडाएजसरी उडाएर लगेको देखियो । त्यो दिनसम्म छिमेकका घरहरुमा कसैले पर्खाल लगाएका थिएनन् तर उसले लगायो । कृष्णको परिवारले चैँ एकाएक पर्खाल लगाएको देखेर छिमेकी बिरसिंह राउतले चियापसलमा अचानक कटाक्षपूर्वक बोल्न सुरु गरिहाले, ‘ऋण गरीगरी यो कृष्णेले किन त्यति विशाल पर्खाल ठडाउनु पर्ने ? यो पनि व्यवहार गर्न त सिपालु रैनछ गाँठे । बरु, ऋण तिर्ने जुक्ति निकाल्नु नि । अब ऋणले चुर्लुम्म भाको बेला कसले पत्याउने, यो तन्नम भगतेलाई ?’ यद्यपि, कोही पनि बोलेनन् त्यहाँ । राजनीति, कृषि विषयमा कुराहरु एकाएक मोडिए ।
हप्ता, महिना हुँदै ठ्याक्कै वर्ष बित्यो । भाकाहरु आउन थाले रकम तिर्ने । कृष्णको सुनसान फोन एकपछि अर्को रुपमा बज्न थालेर अति व्यस्त हुन थाल्यो । कसैको फोन उठाउँदैनथ्यो त कसैलाई ऊ यसरी टार्थ्यो, ‘अब परदेश गएर तिरौँला नि । अहिले त छँदै छैन हजुर ।’ यसरी बढो चिन्तित भएर दिनहरु काट्न थाल्यो उसले- रेगिस्तान भिजाको पर्खाइमा ।
छिमेकीहरु उसले त्यति ठूलो पर्खाल लगाएकोमा आँखा सन्काएर हेर्न थालिसकेका थिए । छिमेकीहरु मात्र होइन, गाउँमा एक किसिमले कुरा गर्ने मियो बन्दै गयो पर्खाल । छिमेकका अलिकति ठूलाबडा कहलिनेहरु उसको घरको पर्खाल देखेर ओठ लेब्राउन थाले । लाग्थ्यो- गाउँमा कृष्णको परिवारले ठूलै अपराध गरिरहेछ नयाँ घरमा अग्लो पर्खाल लगाएर । यो कुराको सुइको कृष्णले भित्रभित्रै बुझिसकेको थियो कि उसले पर्खाल लगाउदा छिमकीहरु रिसाएका छन् । यसको एकमात्र कारण भनेको ऋण नै हो । यदि ऊ सम्पन्न भएको भए कसैले पनि यति साह्रो कटाक्ष गर्दैन थिए कि । यो समाजमा ऋण गरीगरी पर्खाल ठड्याउनु ठूलो अभिशाप भएछ । तर, उसले श्रीमतीको चाहनालाई जोड्न चाहेन यहाँ । बिरसिंह र धर्माकान्तहरु किन ऊदेखि बम्किए भन्ने कुराको हेक्का उसले परोक्षरुपमा पाइसकेको थियो । र, ऊ यिनै जीवनका उतारचढाव र आगामी यात्राका बारेमा एक विहान पारिलो घाम ताप्दै अमिलो अनुहार बनाएर कुर्सिमा बसेर निरत भएको थियो ।
श्रीमतीले रहर गर्नु – मैले ऋण लिएर पर्खाल लगाउनु – छिमेकीले कटाक्ष गर्नु – थाप्लोमा ऋणमाथि ऋण थपिनु – चाडवाडले झनै थिच्नु – अझै श्रीमतीका रहर पूरा गर्न नसक्नु – अनि, परदेश लाग्नु – छ्या ! उसले पर्खालतिर फर्केर पिच्च थुक्यो ।
यतिकैमा चाडवाड आयो । चाडवाडमा श्रीमतीका खातिर केही कपडा किनिदिए पनि उसले एक सुतो पनि किन्ने रहर गरेन । सट्टामा नयाँ सन्तानका लागि किनिदियो । उनीहरुलाई नै खुसी बनायो र आफू प्रशन्न भयो । यसप्रकार, चाडवाड पनि सकियो तर यता ऊ झनझन चिन्ताले घेरेर चिन्तित तुल्लिरहन थाल्यो । यसरी नै एक दुई/चार महिना बिते ।
एक बिहान चर्को घाम लाग्ने संकेत कलिलो घामले देखायो । धर्तीका सारा जलचर, थलचर प्राणी, वनस्पति आदिलाई तप्त गराउने अभिप्राय बोकेझैँ गरेर पूर्वी क्षितिजमा त्यो बिहान रातो डल्लोले चमत्कारै देखायो । ऊ बाहिर आफ्नै व्यवहारिक समस्यामा सदाझैँ निरत भएको थियो । उति नै बेला उनकी श्रीमती नजिक आएर फेरि भनिन्, ‘घरमा त रंगरोगन गरियो, तर पर्खालमा नगरेकाले कस्तो खल्लो खल्लो पो देखियो भनेको सुनियो बाहिरतिर ।’ उनी अलिकति अक्कमकिएर पुन: थप्छिन्, ‘मैले पनि.., पर्खालमा सुहाउँदो रंग लेपन गर्न पाए चाडवाडमा नयाँ घर टल्किने थियो कि भनेको नि… ।’
कृष्णबिना प्रतिकृया उठेर त्यहि पर्खालतिर लागे । त्यो बिहान घामको रापताप क्षणक्षणमा बढेर जाँदो थियो । उसले पर्खालभित्रका चिजबस्तु मात्र देख्यो जुन उसले गोचर गर्न सक्थ्यो । उसले अघिल्लो हप्ताजस्तै छिमेकीका कुनै पनि कृयाकलापलाई देखेन । एकाएक सबै छेकिदियो अग्लो पर्खालले । जति गोचर गर्छ फगत भित्रका कृयाकलाप । पर्खालसमिप फुलेका कलिकाहरुलाई स्पर्श गर्छ । डाठ र पातहरुलाई सुम्सुमाउछ । गोडमेल गर्दै पानी हाल्छ । नयाँ कलमी अर्कोतिर उतार्छ । यतिकैमा फेरि उनकी श्रीमती त्यहीँ आइपुग्छिन् र भन्छिन्, ‘पर्खाल लगाएपछि त उतापट्टिको केही नदेखिने पो रहेछ त; मान्छे आएको, गएको, आँखा सन्काएको, कटाक्ष गरेको, हगी ?’
उसकै मुन्तिर धर्तीमाथि फूल फुलेकै हुन्छ धराका सारा खुसीलाई समेटेझैँ गरेर । यता माथितिर उसको अनुहार भने निराश र नि:शब्द देखिन्छ । अनुहारमा कुनै कान्ती झल्किँदैन । ऊ दौर्बल्य भएर सुस्तरी भन्छ, ‘यति अग्लो पर्खाल लगाएपछि छिमेकीहरु रिसाउन थालेका छन् बुढी । छिमेकीहरुलाई देखिने गरी पर्खाल लगाउनु पर्ने रैछ । अब पर्खाल भत्काउन पनि सकिँदैन । के गर्ने होला ? रेगिस्थानको भिजा लागे त… पर्खाल भत्काउनु नपर्ने थियो नि । भन्ने बित्तिकै लाग्दैन ।’
ती दम्पती गेट खोलेर बाहिर निस्कन्छन् र छिमेकतिर हेर्छन् । सबै घरको सिकुवामा बसेर एक घरबाट अर्को घरमा कुराकानी गरिरहेका, एकदम रमाइलो वातावरणमा दिन काटिरहेका, सरसहयोग भरपुर पाइरहेका । यस्तो एकदम प्रफुल्लित भाव देखेर उनकी श्रीमती एकछिन् त छक्क पर्छिन् । उनीहरुलाई त्यहाँ उभिएर हेरिरहन शरम लाग्छ । श्रीमती पर्खालभित्रै छिर्छिन् । त्यसपछि, श्रीमान् पनि भित्र पस्छन् ।
यतिकैमा अर्को महिना चैत्रमा कृष्णले यात्रा तय गर्ने निधो भयो । कृष्णको विदाइ एकान्तशून्यमा भयो । ऊ ठूलो सपना बोकेर परदेश लाग्ने भयो । यता श्रीमती चैँ एक्लै भएर वा पटाइ लागेर कहिले माइत त, कहिले साथीसङ्गीहरुकोमा गएर बिताउन थाली । सधैँ अरुको घरमा पनि कतिन्जेल जान सकिन्छ र ? उनलाई आफ्नै निकेतनमा बस्नुपर्छ भन्ने चेत् बिस्तारै पलाउन थाल्यो ।
कहिलेकाहीँ आँगनमा जान्थिन् । पर्खालभित्रका चिजबस्तु देख्थिन् तर बाहिर कहाँ कहाँ के के हुँदैछ ? भन्ने कौतुकता उनीभित्र बेजोड पलाउँथ्यो । तर, उनी पर्खाल नाघेर जान पनि सक्दिन थिइन् । गेट खोलेर नियाल्न पनि अब त उनलाई असजिलो लाग्थ्यो । यसप्रकार, निकै छटपटी हुन्थ्यो बाहिर हेर्न नपाउँदा, एकदम उकुसमुकुसिएजस्तो, निस्सासिएजस्तो । उनलाई थाहा थियो त्यो मनोहरता पहिले पहिलेका । मनहारी थिए कुनैकुनै । अजिमाको अर्चना, माथिबाट बहने चिसो बतास, केटाकेटीको खेलबखान, छिमेकमा आपसमा कुराकानी र सरसहयोग । एक किसिमको गाउँले खल्याङमल्याङ निकै मौलिक लाग्थे ती । तर, अग्लो पर्खाल लगाएपछि त….! बन्देज बनेर सारा निस्तेज भएजस्तो भयो । एकदम शून्य, खाली । आफू संसारको एक्लो प्राणी भएर समय यापन गरेजस्तो । कस्तो कस्तो !
एक रात उनलाई पतिको यादले बेस्सरी अठ्यायो । अघिल्लो दिन उसलाई ऋण लिएको ठाउँबाट फोन आएको थियो । त्यही फोनको कारणले उनी भरदिन चिन्तित थिइन् । दिनभरि पतिलाई सम्झेर भावविह्वल बनिन् । फलस्वरुप, रातभर जाग्राम बस्न बाध्य पनि भइन् । मध्यरातसम्म पनि आँखा जोर गर्न सकिनन् । उनको वर्षीको सन्तान पनि नमीठो क्रन्दनपूर्ण भावमा रोयो, चिच्यायो । कुनै आसन नमिलेर हो या अन्य कुनै कारण उनले पत्तो पाउनै सकिनन् ।
चैत्रशुक्लको रात चन्द्रमा आकाशमा झिलमिलाएको रात थियो त्यो । लाग्थ्यो कि सारा ब्रम्हाण्ड उज्यालोले ढाकेको थियो तर उनी भने अध्यारी थिइन् । बढो चिन्तित हुँदै र पति सम्झिदै उनी बाहिर निस्किन् र घरको एउटा पर्खाल छिचोलिन् । त्यसपछि, उनी पतिले बनाएको फूलबारीतिर लागिन् । उनलाई बल्ल हेक्का भयो कि पर्खाल भित्रका चिज वा वस्तु उनको हृदयभित्र खेलिरहेका आवेग संवेगसंग मिल्दा रहेछन् जुन उनी पलापला अनुभव गरिरहेकी छिन् । साक्षात्कार भइरहेकी छिन् । तर, पर्खाल बाहिरका वस्तुहरु ? कुन्नी उनलाई थाहा छैन । ती त उनलाई अचिनारु थिए । तीबाट उनको सम्बन्धको डोरो छिनिसकेको थियो ।
जब उनलाई भित्री कुराको हेक्क भयो तब बाहिरी कुराले घच्चघच्यायो । लाग्यो कि आफ्ना प्राणपति यही पर्खाल बाहिर परेका छन् । तत्काल भेट्न र छुन नसकिने, न त मध्यरातमा चिच्याउँदा सुन्ने । उनलाई मध्यरातमा मनको भडास पोख्न त्यही पर्खालले रोकेजस्तो भयो । आवेगमा आएर पर्खाल डाङडुङ भत्काइदिऊ जस्तो पनि लाग्यो । बन्देज तोडिदिऊजस्तो लाग्यो । तर, मध्यराति उनलाई त्यो गरिहाल्ने साहस जुटेन । तर, कुनै दिन जुट्ला कि ? कसले भन्न सक्छ र ?
उनलाई दिन प्रतिदिन बल्ल ज्ञात हुँदै गयो, जीवनमा पर्खाल लगाएपछि धेरै कुराबाट आफू वञ्चित हुनुपर्दो रहेछ । घरको पर्खाल लगाउँदा जीवनका खुसीहरुमा पनि पर्खाल लाग्दा रहेछन् । सम्बन्धहरुमा धमिरा लाग्ने रहेछन् । आफ्नाहरु टाढिँने रहेछन् । जीवन एकलासको हुँदो रहेछ । सायद उनी मिल्ने भए पर्खाल भत्काएर भए पनि पहिलेका ती खुसी फर्काउँथिन् होला तर समय हर्किसकेको थियो । मध्यरातमा उता मातृवात्सल्यविहीन भएर छोरो रुँदै थियो, ग्वाँ-ग्वाँ । त्यसपछि, उनी घरको पर्खालभित्र पसिन् र निदाउने चेष्टा गरिन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।