साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

फूल

Chovar Blues Mobile Size

“दाइ दाइ” आवाजले टक्क अडिन्छ ऊ । चारैतिर नजर दौडाउँछ । सुनसान सडक छ। फ्याट्टफुट्ट गुडिरहेका गाडीहरु छन् तर कोही देखिँदैनन्। भ्रम परेको होला भनेर ऊ फेरि अगाडि बढ्छ। फेरि आवाज आउँछ, “दाइ दाइ।”

अर्जुन थापा

“दाइ, यता तल क्या ! कस्तो नदेख्नुभएको मलाई ?” माइतीघरको मण्डलमा लस्करै फुलिरहेको फूलहरुमध्ये कुनैबाट आवाज आइरहेको छ।
“तिमी पो ! यस्तो सुनसानमा कसले बोलायो भनेर अचम्म परेको त,” फूल तिर हेर्दै ऊ ।
“मुखमा मास्क लगाएर हिँड्दा त चिनेँ टाढैबाट तपाईंलाई मैले । तपाईं भने !” खिसिक्क हाँस्दै फूल ।
“सबैलाई चिन्न छाडिसकेको छु म अचेल मैले । अब त आफैँलाई चिन्न छाड्ने पो कि भन्ने डर लागिरहन्छ,” फूल नजिकै गएर भन्छ ऊ ।
“यस्तो लकडाउनको बेला पनि किन डुल्न निस्केको त ? कि लकडाउन छ भन्ने नै बिर्सनु भयो ?” जिस्काउँदै फूल ।
“भोलि केही होला जस्तो छ, मण्डलामा नै आइराख्नु भनेको भएर आएको त, सुनसान पो छ त!” चारैतिर आँखा डुलाउँदै ।
“तीन चार दिन अगाडिसम्म त केही चहलपहल नै थियो । हिजोदेखि सबै बन्द छ । कुरा मिल्यो रे भन्ने सुनेको हो मैले पनि,” बाक्लिदै गएको केटोको सेतो दाह्रीलाई हेर्दै भन्छे फूल ।
“यो कोरोनाको कारण व्यापार चौपट भयो नि मेरो ! दिनमा एउटा न एउटा पार्टीको सभा जुलुस भै रहन्थ्यो र मेरो व्यापार पनि फस्टाएको थियो । बिस्तारै सम्पर्क बढ्दै थियो,” खल्तीमा रहेको आधा खिल्ली चुरोट सल्काउँदै ।
“त्यही त नि ! यो लकडाउन भयो भन्ने खबर सुन्नेबित्तिकै तपाईंको अनुहार झट्ट आएको थियो दिमागमा मेरो । विगत केही वर्षदेखि लगातार यही मण्डलामा आएर पार्टी पिच्छेको झण्डा बोक्दै कराउनु भएको थियो। कति पटक त पुलिसले गाडीमा हालेर लगेको पनि देखेकी छु तपाईंलाई । र, तपाईंको लवाइखवाईमा आएको परिवर्तन पनि राम्ररी देखिरहेकी थिएँ,” चुरोटको धुँवाबाट आफूलाई जोगाउँदै फूल ।
“दिनमा तीन चार घण्टा यही मण्डलामा आएर उनीहरुले सिकाएको कुराहरुलाई क्यामेरामा बोकेका पत्रकारका अगाडि चिच्याई-चिच्याई करायो बस् । पैसा पनि राम्रै पाउने र खाना पनि । बिस्तारै कमिसन लिएर भाडामा मान्छेहरु पनि राखेको थिएँ । जति मान्छे चाहियो भन्ने माग हुन्थ्यो, त्यति व्यवस्था गरिदिन्थेँ। यही हिसाबले व्यापार बढेमा अर्को वर्षसम्ममा काठमाडौंमा नै थोरै भए पनि जग्गा लिने विचारमा थिएँ ।” मण्डलाको छेउमा खम्बामा झुण्डिरहेको च्यात्तिएर लखतरान परेको नेपालको झण्डालाई हेर्दै भन्छ ऊ।
“देशमा भएका हरेक पार्टीका मान्छेहरुसँग सम्पर्क छ होइन र ? किन सहयोगको लागि भन्नु हुन्न त तपाईं ?” उपाय बताउँदै फूल ।
“गतिविधि ठप्प छ । तिमी भन्दा खत्तम अवस्थामा छौँ हामी त झन् भनेर भन्छन् जुन पार्टीवालालाई भने पनि । रोगले भन्दा पनि भाकले मार्ने भयो त अब,” मुखभित्र खैनी हाल्दै ।
बीच सडकमा ४–५ वटा गाईहरु आरामले बसिरहेका छन् । त्यत्तिकैमा परबाट एउटा मत्तको साँढे आएर एउटा गाईमाथि चढ्न थाल्छ। अलिपर रहेका ट्राफिकहरु गोरु गाईमाथि चढेको खुब चाख दिएर हेर्न थाल्छन् ।
“मेरो एकएक गरेर पत्रकारझैं सबै सोध्यौ तिमीले अनि तिम्रो चैँ के छ नि खबर?” अब उसले सोध्न थाल्छ फूललाई ।
“नरिसाउनु होला दाइ, हामी अहिले यति खुशी छौँ कि के भन्नु !” अनुहारमा चहक ल्याउँदै फूलले भनी, ”नदेखेको र नसुनेको भइरहेको छ । बिहान हुन पाएको छैन गाडीहरुका बैराग लाग्ने टाईं र टुईंका आवाज । थोत्रा गाडीहरुबाट निस्केको कालो मुस्लोहरु । जसले गर्दा मेरा सन्तानहरु फक्रिनुपूर्व नै ओइलाइसकेका हुन्थे । दिन छिप्पिन पाएको छैन, च्याउसरि उम्रेका राजनीतिक दलहरुका जुलुसले हामी हैरान भइसकेका थियौं । हामीमाथि निर्वाध रुपमा हिडिँदिन्थे । खैनी गुट्खा खाएर हामीमाथि नै पिच्च थुकिदिन्थे । कुस्ती खेल्ने मैदानजस्तो भएको थियो यो ठाउँ । ऊ त्यो सयपत्री फूल तपाईंले कुल्चिदा ढलेको, अझैसम्म उठ्न सकेकी छैन,” रिसाउँदै भन्छ फूल ।
बिस्तारै मण्डलाभित्र आँखा दौडाउन थाल्छ उसले । वरिपरि फुलिरहेका सुन्दर फूलहरु एकआपसमा जिस्कँदै मस्किदै खेलिरहेका । भँमराहरुले निर्वाध रुपमा छानी छानी फूलका रस पिइरहेका देख्छ । सफा र शान्त भएर बसिरहेको मण्डल देख्दा एक्कासि आत्मग्लानि भएर आउँछ उसलाई । जुरूक्क उठ्छ, बिस्तारै पाइला सार्दै एक एक गरेर सुन्दर फूलहरुलाई मुसार्न थाल्छ । प्रदर्शनको क्रममा यहाँ आएर उफ्रेको, कोपिला लाग्दै गरेको फूलहरुलाई उखेलेको, आफूले भाडामा ल्याएका मान्छेहरुलाई तोडफोड गर्न लगाएको आदि हरेक कुराहरु सम्झन थाल्छ ऊ । एक फन्को लगाई सकेपछि फेरि अघिकै फूल नजिकै गएर बस्छ ऊ ।
“सानै भए पनि सुन्दर देश हाम्रो । संसार भरिमा सुन्दर मन भएका हामी । तर कथित व्यक्तिका पछाडि लागेर आज हामी कहाँबाट कहाँ पुग्यौँ! अघि तपाईंको कुरा सुनिरहें मैले तर जुन व्यापारको कुरा गर्नुभयो त्यो व्यापारबाट केही दिनका लागि तपाईंको अनुहारमा खुशी ल्याउला तर त्यही खुशीले भित्रभित्रै तपाईंलाई खोक्रो बनाउने थियो । हामीले मात्र आजको र आफ्नो सोच्नाले यो हविगत भयो । देशमा धेरै पार्टीहरुको जन्म भए तर ती पार्टीहरुले देशको नभएर मात्र आफ्नो दुनो सोझ्याउने काम गरे । हेर्नुस् त ! संसारभर महामारीको अवस्था छ । तर पनि यसबाट ठूलो शिक्षा लिन सक्नुपर्छ हामीले । संसारका शक्ति राष्ट्रहरुले पनि हात उठाएको अवस्था छ । भनेपछि ठूलाठूला हातहतियार, मिसाइल तथा पैसाले के नै गर्न सक्दो रहेछ र ! रोग लागिसकेपछि पैसाले केही गर्न सक्दो रहेनछ भन्ने अहिलेको अवस्था भन्दा राम्रो उदाहरण अरु के होला र? मृत्युपश्चात् चार जनाले आँशु खसाल्ने बाटो राखेमा मात्र उसले जन्म लिएको सार्थक हुन्छ जस्तो लाग्छ । समयमा हुँदैमा आफूलाई सुधार गर्न सकेन भने…।”
फूलको कुरा केहीबेर सुनिसकेपछि ऊ बिस्तारै उठ्छ त्यहाँबाट। अघि यहाँ आउँदा जुन भारी मन लिएर आएको थियो, फर्कंदा हलुङ्गो बनाएर फर्कंदै छ । अनुहारमा छुट्टै चमक देखिएको छ उसको । मण्डलको बीचमा उभिएर, सकेको लामो श्वास लिएर ऊ बिस्तारै अगाडि बढ्छ ।

धुम्बाराही, काठमाडौँ

प्रतिक्रिया
Loading...