अक्सर यस्तो हुने गर्छ, बाटोमा कुनै मान्छै भेटिनु, अलिकति मुस्कुराउनु, हात उठाएर ‘हेलो’ भन्नु र खासमा त्यस मान्छेलाई चिनेको भने नहुनु ।

“हेलो !” हात उठाएर बाटोमा एकाएक उसले मलाई हरेका थियो र मैले पनि त्यसको प्रत्युत्तरमा प्रलिकति मुस्कुराएर हात उठाएको थिए ।

“कताबाट ?” मैले यसो नभन्नुपर्दथ्यो सायद । थाहा छैन किन भनें  र जबाफमा उसले लस्बेतान गफ दियो । त्यतिबेर मैले आफ्नो हतार उसलाई भनेर पन्छिन पर्ने हो, तर त्यसो नगरेर नजिकको रेस्टुराँमा चिया पिउन गयौं । त्यस बेलासम्म मैले उसलाई ठम्टाउन सकिरहेको थिइनँ । मनमनै  को होला भन्न थालिरहेको थिएँ । घरीघरी कतै भेटेजस्तो लाग्ने र घरीघरी पहिले कहिल्यै नभेटेजस्तो लाग्न थालेको सम्भवत: उसले बुझिरहेको थिएन । खासमा मैले पनि त्यो स्थिति आउन नदिन अनुहारमा भरसक कृत्रीमता ल्याइरहेको थिएँ ।

“छाड्नै मानेन त्यसपछि… होइन भने पनि झोकमा .. ।” उसको  कुरा बीचबाट सुरु भएर बीचमै हराएझै भैरहेथ्यो । त्यसो सायद नहुनुपर्ने  र सायद मैले मनमनै उसको परिचयको लागि गम्न परेर त्यसो भएको अर्थात्‌  त्यस्तो सुनेको हुनुपर्दछ । म मनमनै सोच्न लागिरहेको थिएँ । मनमा एकफेरा  मैले चिनेजानेको सकभर सबैको अनुहार सम्झें, ऊ कुनैमा पनि फिट भएन ।

“तपाईं  त दुब्लाउचनुभएछ नि !” उसले भन्यो । एकाएक मेरो सोचाइ  भाँचियो ।

“खै जिन्दगीमा मोटाउनु भनेको त्यत्तिकै होला ।”

“चुरोट पिउने ?” उसले गोजीबाट चुरोट निकाल्यो ।

“अहँ !”

अनि उसले चुरोट सल्काएर धूवाँ बेफिक्रीसँग उडायो । एकाएक मलाई  ठूलो कुरा पत्ता लगाएजस्तो लाग्यो अर्थात्‌ म उसलाई ठम्याउन समर्थ भएँ । उसको दाहिने गालाका बीचमा सानो खत देख्दा त्यसरी सम्झेको हुनुपर्छ । यतिकाबेरसस्म उसलाई चिन्न नसकेकोमा मनमनै मलाई जति अप्ठ्यारो लागिरहेथ्यो, चिनिसकेपछि अझ बढी थकथक लाग्न थालेको थियो । त्यतिखेरसम्म उससँग यसरी कुरा गरिरहेको थिएँ मानौं  ऊ मेरो नजिकको मित्न हो र ऊ म समानको मान्छे । तर अब त्यस्तो भएन । यतिन्जेल उससँग मित्रको व्यवहारले मैले कुरा गरेकोमा कताकता काउकुती लाग्न थालेको थियो । खासमा  ऊ दस  महिनाअघि भैरहवा सरूवा भएर गएको मेरो  कार्यालयको मुखिया भन्ने ठम्याएपछि मलाई निकैबेर काउकुती लागिरह्यो । आफूलाई अफिसर हुनुको घमन्डले हुन सक्छ मलाई त्यससँग त्यसरी नजिकिएर कुरा गरेकोमा अप्ठ्यारो अनुभव भएको होस्‌ । मैले उसलाई एक पटक सम्पूर्णतामा हेरेँ । नाक, गाला ,आँखा  कार्यालयको मुखिया । सायद त्यतिखेर मैले उसलाई  “भैरहवाबाट कहिले आयौ ? ” सोध्नुपर्ने थियो, ठीकै भयो, मैले त्यसो सोधिनँ । बरू तत्काल  उसको काँधबाट हात निकालेर म केही गम्भीर भएँ । भर्खरै एउटा साथीले गर्ने व्यवहारको रूपमा उससँग गफिदै थिएँ र अब बिलकुल एउटा हाकिमको  व्यक्तित्वमा म गम्भीर-गस्भीर हुन लागे ।

“अरू के छ ?” मैले अलि कठोर स्वरमा अर्थात्‌ भनौं हाकिम शैलीमा भनेछु ।

“ठीकै छ ।”

फेरि गम्भीर भएँ म । उसले चुरोट निकाल्यो र ओठमा च्याप्यो ।  सलाई यसरी मुखियासँग गफ्नु श्रप्ठ्यारो लागिरहेको थियो ।

“आफ्नो त जिन्दगी बर्बाद छ यार !”

चुरोट सल्काउँदै भन्यो उसले । यस शब्दले एक पटक, म झस्किएँ र तत्कालै मलाई लाग्यो, ऊ  मैले सम्झेको मुखिया होइन । मुखिया भएको भए म अफिसरलाई यार नभन्नुपर्ने र बरु बोल्दा सायद सङकोच पनि मान्नुपर्ने । मलाई लाग्यो- ऊ कुनै अरू नै मान्छे हुनुपर्छ । मुखियासँग मिल्ने कुनै अर्को मानिस पनि त हुन नसक्ने केही छैन ।

“के भो तपाईंलाई ?”

“केही होइन्‌ ।”

यतिखेर मैले उसको अनुहारलाई राम्ररी नियालेर पढेँ । अहँ, त्यो मेरो कल्पनाको मुखिया होइन । न आँखा मिल्छ … न ओठ मिल्छ … ।  मलाई अब कता -कता सङ्कोच लाग्न थालिरहेको महसुस हुन लाग्यो । भर्खरै मैले उसप्रति गरेको एउटा हामी व्यवहारले मलाई पुनः थकथकी लाग्यो । तर उसले बुझ्न सकिरहेको थिएन । मैले आफूलाई कृत्रिमतममा ढाल्न कोसिस गरेँ ।

“तपाईँ त धेरै चुरोट पिउनुहुँदो रहेछ नि !” मैले कोमल र  मीठासताको स्वरमा भने । सायद मलाई अघि भर्खरै उससँग गरेको हाकिमी  व्यवहारले प्रायश्चित्त गर्न मन लागिरहेको हुन सक्छ ।

ऊ चुरोट पिउँदै धूवाँ उडाउन थाल्यो ।

भखरै उसलाई मुखिया ठानेर डोमिनेटेड शैलीमा कुरा गरेको उसले केही  ठानेको हुनुपर्छ भन्ने बोधले म आफैँभित्र पानी-पानी भइरहेको थिएँ र जतिसक्दो  अब मित्रताको शैलीमा उससँग कुरा गर्नु थियो ।

“यति धेरै चुरोट नखानोस्‌ यार !” मैले उसको चुरोट हेर्दै भने ।

“चुरोट त मेरो जिन्दगी हो ।”

उसको कुरा सुनेर मलाई अलि नाटकीयता लागे पनि प्रत्युत्तरमा मौन हुनुपरेको थियो । यतिन्जेल बरु मैले पुनः उसलाई ठम्याउन कोसिस गरिरहेको थिएँ । हरि, श्याम, मनोहर, विष्णु, नवराज, प्रमोद ! अहँ, ऊ यिनीहरूमध्ये कोही होइन । यति हुँदाहुँदै पनि ऊ कुनै मित्र हुनुपर्छ भन्ने सायद मैले सोचिसकेको  थिएँ । तैपनि उसले हाँस्दा गालामा देखा पर्ने खतले कताकता अफिसको मुखिया नै हुनुपर्छ भन्ने लाग्नु र तत्काल मुखिया होइन कुनै परिचित मित्र नै होला भन्ने लाग्नुको द्वन्द्वमा म घरीघरी झस्किरहेको उसले बुझ्न सकेको छैन भन्ने विश्वासमा थिएँ । तर त्यसो भएन ।

“तपाईंलाई के भइरहेछ, अचम्म मानेर हेर्नु हुँदैछ नि ! ” उसले यसो भनेपछि पुनः एक पटक झस्किएछु ।

“अहँ ! अँ, होइन होइन..,म ठीक छु नि !”

‘तपाईंलाई केही त भएको छैन ?”

“ठीकै छु, किन  र ?”

त्यसपछि उसले अर्को चुरोट सल्कायो । अब मलाई ऊ मुखिया नै हो भन्ने  विश्वासले जित्यो । आँखा र विशेष गरेर गालाको खत, त्यसभन्दा पर उसको दाँत एउटा अलि नमिलेको हुलिया मुखियाकै हो । ऊ बेफिक्रीसँग चुरोटको धूवाँ उडाउँदै थियो । मैले मनमनै ऊ मुखिया नै हुनुपर्छ भन्ने निश्चित गरे । त्यतिन्जेल पुनः मित्रताको शैलीमा मैले उससँग गरेका व्यवहारले फेरि एकपटक अप्ठ्यारो लाग्यो र एकाएक फेरि हाकिमी शैलीमा केही गम्भीर भएर  उसलाई हेरेँ । त्यतिबेला मलाई लागिरहेको थियो, म रेस्टुराँमा होइन, मेरो अफिसको टेबुलमा छु र ऊ फाइल लिएरै भेरा अघिल्तिर उभिरहेको छ ।