ऊ अवसरको खोजीमा थियो । उसलाई जसरी नि शिखरमा पुग्नु थियो । उसले एउटा आशालाग्दो चाकरीको भर्‍याङ देख्यो । निहुरिएर दण्डवत् गर्दै भन्यो – “प्रभु मलाई अवसरको ढोका खोलिदिनुस् ।”

किशन पाैडेल

“तथास्तु ! चढ् माथि ।” उसलाई आशीर्वाद प्राप्त भो ।

विवेकमा लगाम लगाएर एक खुट्किलो माथि उक्लियो ।

उसले माथि फर्केर हेर्‍यो त्यहाँ गुलियो अङ्गुरको झुप्पा देख्यो र लालचको लामो हात फैलाउँदै भन्यो – “प्रभु मलाई त्यहाँ पुग्नु छ !”

“समाऊ हात ! ” कृपा दृष्टि भो ।

चाप्लुसीको डोरी समायो र चढ्यो माथि ।

त्यहाँबाट उसले जिन्दगीको रङ्गिन सपना देख्न थाल्यो अझै माथि उड्ने लालसाले महत्त्वाकाङ्क्षाको पखेटा फिँजाउँदै भन्यो – “स्वामी मलाई शिखरमा नै पुर्‍याइदिनुस् !”

“अवश्य ! ” मिठो आश्वासन प्राप्त भो ।

निष्ठालाई कुल्चिँदै ऊ शिखरमा पुग्यो । त्यहाँ ऊ जस्तै अवसरवादीहरू नैतिकताको सौदा बाजी गर्दै रहेछन् ।

उसले सोध्यो- “मालिक म के गरूँ !”

“देऊ बलिदान !”

उसले आफ्नो नैतिकताको बलिदान दियो र सुनौलो अवसरको झ्यालबाट फुत्त भित्र पस्यो । इमानको ढोकामा चुकुल लगायो ।

शिखरको विलासी महलभित्र सुस्ताउँदै ऐनामा अनुहार हेर्‍यो ।

ऊसँग स्वाभिमानको शिर थिएन ।