“डाउटर’साप नमस्ते !”

म आफ्नो कार्यकक्षमा नित्य कर्ममा व्यस्त थिएँ । कसैले मलाई पुकारेजस्तो लाग्यो । पछाडि फर्किएँ । मैलो जाँघे र आसकोटको पहिरनमा ओठमा सुर्ती च्यापेर एकजना बुढा बा मेरो पछाडि हात जोडेर उभिनुभएको रहेछ । मैले नमस्कार फर्काएँ । बुढा बाले मेरो नजिकै आएर भन्नुभयो, “डाउटर’साप मलाई ज्वरो आ’को छ । सिटामोल दिनुस् न !”

बुढाबाले स्वास्थ्यजस्तो संवेदनशील कुरामा खेलाची गरेको देख्दा मलाई अचम्म लाग्यो । चेकजाँच गर्नु छैन, कति सजिलै औषधि मागेको होला ? आफैँ बिरामी आफैँ डाक्टर ! अझ औषधि आफैं रिकमेण्ड गर्ने । मनमनै सोचेँ । मैले उहाँलाई चेक जाँच गरिसकेपछि मात्र औषधि दिएँ ।
बुढाबा अलि डराएजस्तो भावमा बोल्नुभयो, “डाउटर साप बुढीलाई ज्वरो आउने खोकी लाउने भाको छ । औषधि दिनुस् न । ऊ आम्न सउदिन त्यही भएर ।”

“कस्तो कुरा गर्नु भाको हजुरले । चेकै नगरी कसरी औषधि दिने हो र ? आजलाई जानुस् । भोलि चेक गरेर मात्र औषधि चलाउँला ।”

बुढा बा त्यहाँबाट जानुभयो । तर मलाई उहाँको श्रीमतीको अवस्थाले सताइरह्यो । स्वास्थ्य चौकीको ड्युटी सकेपछि कोठामा नपसी म सरासर तिनै बिरामीको घरतर्फ लागेँ । घर पुग्ने बाटो निकै अप्ठेरो थियो । हेर्दा लाग्थ्यो त्यो घरमा मानिस बस्न छाडेको धेरै समय भइसक्यो । वरिपरि डरलाग्दो झाडी । मलाई सर्प भनेपछि सातो जान्थ्यो । तल धारोबाट दश मिनेटको बाटो उक्लिनुपर्ने रहेछ । सास दबाएरै भए पनि डराइ डराइ उक्लिएँ । घरमा पुग्दा सास फुलेर त्यहीँ ढलुँलाजस्तो भयो । पिढीँमा लम्पट परेर सुतेकी बुढी आमालाई वरिपरि कुखुराले घेलिरहेका थिए । आँगन असारमा रोपाइँ गर्न ठीक्क पारिराखेको खेतजस्तो देखिन्थ्यो । पिढीँ कुखुराले खोसलेर खाल्टा र खुल्टी बनाएको थियो । माखा मौरीझैं घुमिरहेका थिए । म आमाको नजिकै गएर पिँढीको छेवैमा टुसुक्क बसेँ । बुढी आमा मस्त निदाउनु भएको रहेछ । मलाई देखेर पल्लो घरको छिमेकी दिदी आउनुभयो । मैले बुढी आमाको बारेमा उहाँसँगै सोधेँ । बुढी आमैलाई साँझ परेपछि निकै ज्वरो आउने र खकारमा रगत पनि देखिने समस्या रहेछ । सबै चेकजाँच सकिसकेपछि रिपोटमा क्षयरोग देखियो । ती बुढा बालाई बोलाएर औषधि पठाइदिएँ ।

हप्ता दिन बित्यो । शनिबारको दिन थियो । नुवाइधुवाइ सकेर कोठामा बसिराखेको थिएँ । एक्कासी मलाई बुढी आमाको याद आयो । कस्तो भयो होला बुढी आमालाई ? मनमा हुटहुटी जाग्यो । दिउसोपख टहलिँदै तिनै बुढी आमाको घरतर्फ लागेँ । त्यो दिन बुढा बा पनि घरमै हुनु हुँदो रहेछ । बुढी आमालाई चेक गरेँ । व्यथा ज्युँका त्युँ थियो । बीसको उन्नाइस पनि भएको थिएन । मलाई शंका लाग्यो । पक्कै पनि बुढा बाले औषधि समयमा खुवाउनु भएन । मैले बुढा बालाई समयमै औषधि खुवाउन र डोज पूरा गर्न अनुरोध गरेँ । बुढा बाको पनि आफ्नै पीडा रहेछ । उहाँ सुनाउँदै हुनुहुन्थ्यो, “के गर्ने डाउटर बाबु दिउसाँ घर बस्न पाइँदैन । ज्याला मजदुरी नगरी हात मुख जोर्ने अरु उपाय छैन ।”

भोलिपल्ट म आफैं घरमा गएर बुढी आमालाई औषधि खुवाउन थालेँ । बुढा बालाई घरमा कहिलेकाहीँ मुस्किलले भेट्न पाइन्थ्यो । भेट्दा उहाँ भन्नुहुन्थो, “बाबु सास फेर्ने फुर्सद छैन । गोठभरी डियाँ छन् । बिहानभरि यिनैको सुसार गर्यो । दिउसो मेलापात ।” मैले उहाँलाई गाईवस्तु अलि कम गरे हुँदैन बुवा भन्थेँ । प्रत्युत्तरमा उहाँले भन्नुहुन्थ्यो, “खेतबारी धेरै छ । सबैमा बाली लगाउनुपर्छ । मल पनि त चाहियो नि बाबु !”

म दैनिक घरमै गएर औषधि खुवाउन थालेँ । भान्सामा पस्थेँ । खानेकुरा केही पनि देख्दिनथेँ । मैले एकदिन बुढा बालाई भेटेर भनें , “बुवा आमालाई सकेसम्म पोषिलो खानेकुरा खुवाउनु है । हजुरले ल्याउने गरेको पसलबाट उधारो ल्याउनुस् । बरु मपछि तिरिदिन्छु ।” मेरो यो कुरा सुनेर बुढा बाले गहभरि आँसु पारेर भन्नुभयो, “बाबु अहिलेसम्म लाग्या थ्यो मैले पूर्व जन्ममा कति ठूलो पाप गरेको रहेछु ? त्यसको फल अहिले भोग्दैछु । तर होइन रहेछ । कहीँ न कहीँ त मैले पक्कै पनि धर्म गरेको हुनुपर्छ । त्यही भएर भगवानले मलाई अहिले साक्षात् दर्शन दिनुभयो ।”

“कस्लाई भगवान भन्नुभयो बुवा ? मलाई ?” मैले प्रतिप्रश्न गरेँ ।

“त्यस्तो होइन नि बुवा यो त मेरो आफ्नो सामान्य कर्तव्यभित्र पर्छ । एउटा स्वास्थ्यकर्मीको नाताले मैले यतिसम्म पनि गर्न सकिनँ भने मलाई आफ्नै पेशाले धिकार्छ ।”

“बाबु मलाई मात्रै होइन हजुरले सबै गाउँलेलाई ऋणी बनाउनुभएको छ । रात बिरात जतिबेला जहाँ भने पनि बिरामीको सेवामा हाजिर हुने हजुरको सत्गुणको तारिफ नगरी को बस्न सक्छ र ?” बुढा बा थप्दै हुनुहुन्थ्यो ।

मैले बुवासँग हाँस्दै भनें, “बुवा म चाहन्छु कि सकेसम्म गाउँमा कोही बिरामी नपरुन् । परे पनि मेरो क्षमताले भ्याउनेभन्दा चर्को व्यथा कसैलाई नलागोस् । मलाई त्यो बेला दुःख लाग्छ । जब गाउँलेहरु यहाँ उपचार नपाएर सहर झर्छन् । उपचारको नाममा आफ्नो जायजेथा जति सबै सहरको हस्पिटलको नाममा नामसारी गरेर आउँछन् । मैले भनेर मात्र पनि त भएन । के गर्ने गाउँ हो दक्ष स्वास्थ्यकर्मीको कमी, स्वास्थ्य सामाग्री र प्रयोगशालाको अभाव भएपछि हामीले सोचे र सम्झेजस्तो कहाँ हुन्छ र ? तैपनि मैले आफ्नो क्षमताले भ्याएसम्मको जोडबल लगाएकै छु । जे गरेको छु मैले आफ्नो आत्म सन्तुष्टिको लागि गरेको छु ।”

दिनहरु बित्दै गए बिस्तारै आमाको स्वास्थ्यमा सुधार आउन थाल्यो । बुढी आमा बिस्ताराबाट उठ्न थाल्नुभयो । एकदिन बुढी आमा मलाई भेट्नै भनेर स्वास्थ्य चौकी आउनुभयो ।

“बाबु म त हजुरलाई धन्यवाद दिन आ’को ।” उहाँले बाँधी राखेको पटुकीको फेर निकाल्दै भन्नुभयो । बुढी आमाले पटुकीको गाँठो सकी नसकी खोल्नुभयो । एउटा माला निकालेर मेरो हातमा थमाउँदै भन्नुभयो, “बाबु मैले हजुरको गुन त कहिले तिर्न सकुँला र ? मसँग भएको दिन लायक भनेकै यही बुटीको माला हो । साथमा यो भयो भने केहीले नि छल्न पाउँदैन । जे भए नि बाबु यसलाई मायाको चिनो सम्झेर लिइदिनु है ।”

आमाको अनुरोधलाई मैले नकार्न सकिनँ । म निकै भावुक भएछु क्यार ! कतिबेला आँखाको डिलबाट आँसु खस्यो पत्तै पाइनँ । टेबुलमा आँसुको ढिका खसेपछि पो झसङ्ग भएँ । म भक्कानिएँ । प्रष्ट वक्य फुट्न नसकेको मलिनो आवाजमा ती बुढी आमासँग मैले भनें, “आमा मलाई अरु केही चाहिँदैन । मात्र हजुरको आशीर्वाद भए पुग्छ ।”

बुढी आमाले पछ्यौरीको सप्कोले आँसु पुछ्दै भन्नुभयो, “बाबु जुग जुग जिउनुस् । रोगव्याधीले कहिले नछोओस् । मनले चिताएको पुगोस् । …”
नभन्दै सरकारले कर्मचारी समायोजन गर्यो । बुढी आमाको आशिर्वाद लागेछ क्यारे । मैले निवेदन दिएअनुसार घर नजिकैको हेल्थ पोष्टमा मेरो सरुवा भयो ।