१.

गुरु गरिमानाथका दाँजो नेपालमा न दाढी फुलेका, न आँखा चिमचिमाउने, न चश्मा लाउने कुनै पण्डित हुन कसे । उनी एकसे एक आचार्यलाई अचार सम्झन्थे, परमाचार्यलाई चटनी । शास्त्रीलाई ठिटा भन्थे, पोय्टाचार्यसम्मलाई पण्डित । उनलाई दरबारले दश बार बोलाउँदा पीनासले कपाल दुख्यो । उनी रातको चार बजे उठेर नुहाएर पोथी हेरिरहन्थे । बाटामा हिँड्दावर्दा पनि छापाको किताप आँखाअगाडि राखेर हिँड्थे । कति जनाले उनी नर्कटमाथि उभिएको देखेका थिए । भाग्यको कुरा थियो कि बग्गी, मोटर त्यत्तिको बढेका थिइनन् ।

तर ज्यादा विद्या आउनेलाई कसोकसो सन्तानपात नहुने या त थोरै हुने हुँदो रहेछ क्यारे ! शायद जीवनशक्ति अक्षरसँगको लडाइँमा ज्यादा खर्चिन गएर हो कि ? स्त्रीको निमित्त प्रकृतिले दिएको पुरुषशक्ति भालेले बदमासी गरेर साहित्य, कलामा खर्च गरिदिन्छ र जति ज्यादा विद्वत्ता र सभ्यता बढेको देखिन्छ यति प्रकृतिको प्रजा उत्पादक नैसर्गिक कार्यमा बाधा परेजस्तो देखिन्छ, कारण विद्वत्तालाई सिफारिश दिनुसट्टा हामी त्रस्त भएर मनुष्यजाति खियाउने मानिसक घिसौट ता होइन शंका र अज्ञानको पाण्डित्यहीन नजरले सर्वज्ञका मुखमा हेर्छौँ ।

अच्छा, जे होस् गुरु गरिमानाथले घाटमा पच्चीस पण्डितलाई आखिर सासले, ‘‘ए केटाकेटी हो ! तिमीहरु के जान्दछौ जल र प्रसादको तत्त्व ?’’ भनेर सबैलाई छक्क पारेर, ‘‘लौ हेर, अब पाँचै मिनेट हेर है ?’’ भनी आँखा चिम्लेर घुरुरुरु स्वर्ग जाँदा एउटै जुँगाको झूस भर्खर लागेका पालुवा पतला अणिमानाथ उपाध्यायसिवाय सन्तानको नाममा कोही उनका भएनन् ।

२.

पं. अणिमानाथले बाबुको विद्वत्ताको प्रशंसासिवाय दुनियाँमा केही आफ्नो पाएनन् । न जग्गा जोरिदिएको थियो, न पैसा । बानेश्वरमा एउटा झिँगटीको छानोसम्म उठाइदिएका थिए ।

‘‘बाबुको विद्वत्ताको परम्परा बिगार्न हुँदैन है ?’’ भन्ने सब परिचित शास्त्र धुरन्धरहरुले र बाटामा भेटिने चश्मादार पण्डितहरुले पनि एक तारै चाखदार सल्लाह दिँदा उनले बिहा गर्दिनँ भनेर खूब सेता पहेँला कागजका धुलौटे बारीमा भरदिन, भररात बयल जोताइ सुरु गरे ।

पाण्डित्यभन्दा ज्यादा समझ भएकी गुरु गरिमानाथकी पत्नीले छोरालाई भनिन्, ‘‘नानी ! बाबुले पढेर त्यत्रो विद्वान् कहलाएर के भयो र तँ यसरी पढ्छस् ? नानी ! बिहा गर् ! म बूढी भइसकेँ ! म कति दिन रहुँला र ?’’

आमाको ज्यादै जोड पर्नाले आचार्यको तृतीया खण्ड पुग्दा पं. अणिमानाथले बिहा गरे ।

७ वर्ष आचार्यको कोर्स पढ्दा आधा सिँढी उक्लेकोले र ज्यादै शिशुपाल शरीर थाकेर आएको हुनाले, तारन्तार असफलताहरुद्वारा थाकेकी प्रकृति अलिकति जंगली धुनबाट मसांग्रिएर दुनियाँको प्रकृत भागतरफ भाँचिएको हाँगाझैँ झुकी उनलाई ढीलो समझ भयो कि विद्वता भनेको चीज असाधारण श्रेणीमा पुर्याउन उस्तैले मात्र सक्ता रहेछन् ।

हामी समर्थन गरेर भन्दछौँ कि आफू भेट्ने, स्वार्थका गजूर शिरफोर हरामज्यादाहरु नै संसारका महामहोपाध्याय बन्न सकेर तिनीहरु सबै प्रकृतिविरोधी हुनाले एक किसिमको ऐन, अनौठापन, पौरुष जिंग्रियाएको वक्रता, सत्यमारक जिद्दी, गेरुदार मिजाज, गाँजादार एकहोरोपनको शिकायतका बिमार थिए ।

तर प्रकृतिको बुद्धिमानीले जीवनको कचौरामा आखिरी थिग्रनीले अति इच्छाबाट मनुष्यलाई बचाएझैँ अणिमानाथलाई दरिद्रताको होश र थकाइले बचाएर जोडीदार रमाइलो हँसिलो संसारको प्रलोभनले आफूतिर आखिर तानिन् ।

उनले पाठशाला वृत्ति लिएर पढ्न छोडे र प्रकृतिले विद्यालाई रन्डी बनाउने बदलालाई स्वीकार गरेर त्यसउपर बिहा गरे ।

३.

आज दश वर्ष भयो विद्यार्थीको जुत्ता फुकाल्न लगाएको पाउमा आदरको सन्चोलाग्दो शिर राख्ने गरेको, पाणिनीका सूत्रका ज्यादै छोटकरी उदेश्यसंहारक अर्थहीनतालाई बुझएको, बिहा गरेको पनि, तर अफसोस ! पण्डितज्जीलाई सन्तान भएन ।

उनले सावित्री सत्यवान् हेरे, हरिश्चन्द्र हेरे, रामायण पल्टाए, अश्वपतिको होम आजकलको कलिमा हुन सक्ने थिएन, न त दशरथको पुत्रेष्टि । न आजकल वरुण आउन् । पुत्रदा एकादशीमा पानी पिउँदैनथे ।

पण्डित्नी बज्यैले गणेशलाई लड्डू चढाइन् । तर सूँडले टिप्तै खाँदै गरे धूर्तले । उहुँ ! एक सपनासम्म दिएनन् । कविराजको औषधि गरिन्, मुख बारिन्, तीन वर्ष मगको दाल र घीउमा तारेको आलु मात्रै खाइन् । पैसाको मात्रै खति । डाक्टरले माछाको तेल कपालसम्म हरक आउने गरी दुई वर्ष खुवाए । ज्योतिषी बाजेले दश बाजी होम गराए । तर बाँझोपनको शनिश्चरले पुच्छरले टेरेन ।

हुन पनि स्वास्नीमान्छेलाई बाँझोपनाको राहुझैँ केहीले पनि पिर्दैन । उनका संसारमा ग्रहण लगाउने नै त्यही हुन्छ । स्त्रीको जीवन नै, जीवनको आत्मसमर्थन नै पृथिवीलाई जीवन दिनुमा छ । माता हुने सामर्थ्य मात्रै स्त्रीको पुरुषउपर प्रभुत्व रहन्छ । उन्यौजस्तो नराम्रो बिरुवा स्वास्नीमान्छेलाई केही लाग्दैन र संसारले मरुलाई सधैँ निन्दा गर्दछ । बाँझा भए पृथ्वीलाई देवताले पनि राख्ने थिएनन् । मातृत्वको आदर संसारलाई जीवन प्रदान गर्नुमा निर्भर छ । प्रकृतिले पहिले मातृत्वको सामर्थ्यलाई बैँसको सिँगार दिएर पुरुषउपर विजय प्राप्त गराएपछि, खोटो मोहर बनाइदिनु मृत्युभन्दा स्त्री आत्मालाई विदारक दु:ख हुन जान्छ । बाँझी हुन्छु भन्ने शंका उठेपछि, स्त्रीले स्वर्ग पृथ्वी जोडेर कलंक मिटाउन खोज्छे । उसलाई छाती खोक्रो भएझैँ लाग्छ, काख खाली, जीवन अँध्यारो ! मेरा मात्र प्रतिभा रहन्न भन्ने उसको आत्माले देख्दछ । केही लाड सुसार गर्ने चीज, आँखाको तारा, मुस्काउँदो सानो कृष्ण, अलि चकचके, उल्लू, माखनचोरजस्तो केही फूलथुँगोजस्तो, सग्लो जिउँदो भार जो छातीमा लिप्टिन्छ, अरु सारालाई छाडेर आफूतिर टाँस्सिन खोज्दछ, मुखमा हेरेर मुसुक्क हाँसिदिन्छ, केही चीज जसलाई काखमा राखिदिँदा पुरुष रद्द पर्छ र आफ्नो संसारविजयले मुजूरकल्ली लाउँछ, केही खँदिलो अधिकार जो अरुले खोस्न सक्तैन, आफ्नो जीवनको एउटा सुनौलो प्रतिभा, एउटा तोते देवता जो पृथ्वीको भाषा सिक्न आउँछ, यस्तो केही जिउँदो चीज, एउटा आफ्नो सर्वस्वबाट गरिएको सिर्जन, जसको आनन्द मृत्युनिकट प्रसवदेदनालाई जितेर मृत्युलाई पनि जित्न खोज्छ, यस्तो चीज स्त्रीजातिको एक अनोखी अनमोल धन हुन्छ । यो नहुनाले जीवन थाँनिन्छ, बाँझिन्छ, रुन्छ, चुँडिन्छ । घाटमा सम्म मुटु बिझेर कुनाकुनामा बगेर आउँछ ।

शिउली बज्यै दिनदिनै गाईको पूजा गर्थिन् । उनलाई गाईभन्दा बाच्छोको पूजा गर्न मन लाग्थ्यो । ‘‘बाँ ! बाँ !’’ गर्दा ‘‘आमा, आमा !’’ भनेजस्तो केही मिठास आफ्नो सामीप्य लिन खोजेझैँ उनलाई आनन्द लाग्थ्यो । उनी त्यसको अँगालो मारेर कसैले नदेखी गाला जोर्थिन् ।

‘‘कोइली छानी नानी ! कु छु कु छु’’ गरेर लाडिँदै कन्याउँदै मनको तिर्सना थोरै मात्रामा मेट्थिन् । त्यसको दूधमुखे आमा हेर्ने आमा खोज्ने ठूल्ठूला आँखा उनलाई विघ्नै राम्रो लाग्थ्यो ।

तर कोठामा आएर अँध्यारो मुख लाएर आकाश र पृथ्वी भेट गर्ने किनारतिर टोह्लाएर नजर लाउँथिन् । उनलाई लाग्थ्यो कि पृथ्वी मात्रै फल्न फुल्न सक्तिहोइनन्, आकाशको भर चाहिँदो हो । अनि त्यतिका त्यहाँका देवताहरुमध्ये एउटा मात्रै झरेर आइदिए नि कस्तो हुन्थ्यो ?

उपाय सकेसम्म छोडिनन् । साधुकहाँ गाँजा पनि पुर्याइन् । उल्टा पनि खाइन् । धामीले कुखुरी खाए, देवीले रगत तर उनलाई आशा फुलेर मुखमा मुजा पर्ने सम्भावना थियो । साह्रै दु:खी भएर एक दिन वसुन्धरासित कुरा गर्दा उसले सिंगी सुँडेनीको कुरा सुनाई ।

नेपाली स्त्रीसमाजमा जगत्विख्यात् सिंगीदेखि मान्छे डराउँथे त्यत्तिकै जति सरहनी गर्दथे । डाक्टर्नी जति काली भए पनि बोक्सी हुँदैनन् । बिगार हाल्न सक्तैनन् । तर सुँडेनी जतिकै सेती भए पनि भने जति पाइन भने के गर्छे, के गर्दिन ! मोहनी लाउने ठिटी उहीँ पुग्छे, सौता पर्न आँटेकालाई उसैले औषधि दिन्थी, सुत्केरीको घाटा घाटामा उसले छाएपछि, जस्तै धर्म कामको ढुंगो भए पनि सफलसँग बालक जन्मिन्थ्यो । बिहा नगरेका, विधवासम्म पनि उसकहाँ पुग्थे । ऊ बालकलाई निकाल्न पनि उत्तिकै सक्तथी जत्तिको दबाउन । उसको एउटा कलेरिजको ‘प्राचीन जहाजी’ को जस्तो जादु टलक थियो, गहना तान्न सक्ने, ढुकुटी खोल्न सक्ने, चोक्रेगाई पनि दुहुन सक्ने ।

सुँडेनी सिंगीले पण्डिज्जीका मैह्नावारी पाठशाला नपठाईनपठाई लिन लागी ।

‘‘ए आज अलिकति दही छैन ?’’

‘‘पैसा सिद्धियो । एक फुक्का दाम छैन । ऋण अझ तिर्न सकेको छैन ।’’

पण्डितज्जी पैसा ल्याउँथे । बुझाउँथे । ‘‘औषधिसौषधि के के गर्छे लौ हेरुँ नाइँ !’’ भनेर चूप लाग्थे ।

आखिर सिंगी सुँडेनी सफल भई । पहिला महीना नछुने नहुँदा शिउली बज्यैलाई घनघोरको ओसानी लाग्यो, केही नरुच्ने मासु र फलफूलसिवाय । माइतीबाट फलफूल, काँचा मासुका थाल दिनदिनै आउन थाले । पण्डित्नी बज्यैले सुँडेनीलाई दिइन् । अनि फरिया, कोट, अनि कसौँडी । चारैतिरबाट उधारो गरेर उसैलाई सुम्पिन् । छ महिना पुग्दा माइतीमा दिदीहरुसँग ‘‘मलाई त पेटमा के के चलेजस्तो लाग्छ दी’ भनेर हाँस्थिन् । घिउ र माछाको तेल ज्यादा खाइछन् । अनि पेट बिग्रेर आयो । कपाल दुख्न थाल्यो । पण्डिज्जीले ‘‘माछाको तेल छाडेर ‘चन्दनादि’ तेल खा’’ भनेर नक्सालबाट एक सिसी किनी ल्याइदिए ।

त्यसपछि साउन महिनामा शिउली बज्यैले बाजी सुँडेनीलाई सरापिन्, छोराछोरी नभए पनि हुँदो हो जस्तो एकै वाली लाग्यो ।

अनि आमा भइन् ।

४.

बँदेलका दाह्राको माला लगाएको, जन्त्र झुन्ड्याएको, पाउजेब दार, ठूलाठूला आँखा भएको, चिपचिल्ल तालुखाल्टे, त्यसै चेष्टो, पुष्ट मुसुक्क मोहनी लगाएर हाँस्ने, दूधालु जिस्क्याउँदा नरम ओठ उठाएर ‘‘हिगिल् ! हिगिल्’’ गरेर हाँसिदिने । किताब पढ्दा मुख टटोलेर हेरिरहने । आँखालाई नै मान्छे भनेझैँ आँखाले बोलाउन खोज्यो, खुसी हुँदा पाउजेब ठन्ठनाएर तल्लो पेटमाथि सन्चो लाग्ने गरेर बजार्ने, रातदिन खोज्ने छोरालाई देखेका पण्डिज्जी रद्द परेर तमाखु खाँदा र खटियामाथि आँखा दिँदा कति बाजी सुरुवाल सल्सलाउँदो तातो रसले भिजे पनि छोरा चन्दशीतल हो भन्ने बिर्सन नसकी काखैमा लिने गर्दथे !

अरुसँग पनि कुरा गर्थे, ‘‘छ महिनाको बालक कति चंख, कति चंख ! गरेको कुरा जम्मै बुझ्ने लौ ! चेष्टैमा स्पष्ट थाहा हुन्छ !’’ उनको मनमा त्यति राम्रो प्रतिभाशाली जीव संसारमा आएको थिएन ।

अब प्रकृतिले अँध्यारो विद्वत्तालाई आँखा उघारेर संसार देखाइन् । विद्या, ज्ञान, मुक्ति यी प्राकृति भन्दथिन्, ‘‘केवल यथार्थ विरोधी नास्तिकता हुन् ।’’

५.

एकदिन शिउली बज्यैले मुकुन्दलाई पैतालामा कालो टीका लगाएर माइतमा ज्ञानेश्वर पुगेर फर्कँदा बाटोमा घनघोरसँग हुरी वर्षा भएर धोबीखोलादेखि चुटिएर आइन् । छाता एउटै थियो । मुकुलाई बोकेकी थिई वसुन्धराले तर हुरी घनघोरको आउँदा छाताको डाँठ कुनै दोस्रो धर्मका छायावादी कविले दश दिशाको डन्डीमा रहस्यले अन्धकारले चँदुवा ओढाएर लेखिएकी कविताझैँ समालोचनाको तूफानले कमजोर भएर छाला कक्रिएर बिकम्बा बनेको करंझैँ देखियो । मुकुलाई खास्टाको पछ्यौराले छोपिदिएको तर मूसो चुटिएझैँ चुटिँदै तीन जना बत्तीसपुतलीको पसलमा एकैछिन् ओत लिएर पानी मसांग्रिएपछि थुर्थुराउँदै घर पुगे ।

मुकुन्दलाई त्यस रात तेल घसिदिए, सेकाए तर जरो आइसकेको रहेछ । भोलिपल्ट दूध चुस्न छोड्यो । भुंग्रो भयो ।

डाक्टर आए । कविराज आए । डाक्टर औषधि ख्यासख्यास लेखिदियो र भन्यो, ‘‘केही हुन्न ! सर्दीको जरो हो !’’

शिउली बज्यैले डाक्टरलाई मनमनै सरापिन्, ‘‘मोरो ! धोक्रे कहीँ ? कोइरालाका पातमा फिस्टोले छेरेझैँ लेख्यो, केही तताउन है ?’’ उनले सोधेकी थिइन्, ‘‘अंगद गुनको बिगार हो कि, केही लागेको हो कि ?’’ डाक्टर, ‘‘हा ! हा ! हा !’’ कि लाग्दो ! कि लाग्दो ! हुरी लाग्यो, हुरी ! हा ! हा ! हा !’’ भनेर यस्तो बिरामी छोराको अगाडि कालो मूसे मुखका से..ता दाँत देखाएर ओडारजस्तो मुख बाएर हात्तीभुँडी जोरसँग हल्लाएर सेता डबल पाकेट मारेर गएको थियो । उनको चित्तै बुझेन ।

कविराज आएर बाक्लो ओठ पर्लक्क पल्टाएर ‘‘बाँच्दैन यो !’’ भनेझैँ कसैले भनेको केही नसुनी नारी जाँचेको थियो । ‘‘शीतसव खुवाउनू’’ भनेर टिम्मुरिएर जाँदा उनले सोधेकी थिइन्, ‘‘कस्तो छ र, के बिरामी हो ? कसो हुने हो !’’ जवाफ मिल्यो, ‘‘वैद्य के परमेश्वर हो र देख्नेबित्तिकै बुझ्छ ? भोलिपर्सि हेरुँ अनि पो थाहा हुन्छ !’’

ए ओठ लेप्य्राहा ! रोग बुझ्नै नसक्नेले कसरी औषधि जान्यो, नाथेले ? अनि वैद्य आयो । धेरैबेर घोरिएर भन्यो, ‘‘बिरामी ज्यादा कडा छ ! अलि मुश्किलै छ तंग्रिन ! तैपनि यो औषधि खुवाई हेर्नूस् ! कसो हुन्छ !’’

शिउली बज्यैले भनिन् मनमनै, ‘‘तै मरिगएस् घाटमा !’’ मनमनै सरापिन्, ‘‘तंग्रिन मुश्किल भए तँ मोरालाई बोलाएको के काम भयो ?’’

मुकु थियो इन्तु न चिन्तु !

६.

पण्डितज्जीले त्यस दिन पाठशालामा मेघदूतको श्लोक पढाउन लागेका रघुवंशको श्लोकको अर्थ लाएछन् । छात्रहरु जिल्ल परेर गुरु अणिमानाथको मुखमा हेरे । उनले अझ बुझेनन् । भन्दै गए ! पछि झल्याँस्स भए । झस्केको देखेर एक छात्रले सोध्यो, ‘‘आज गुरुलाई आराम छैन कि ! कपाल दुख्यो क्यारे ?’’

‘‘अँ’’ पण्डितज्जी अन्कनाए, ‘‘मलाई होइन उसलाई ।’’ यति भनेर टोह्लाउँदा आँखाले एउटा पुड्के छात्रलाई देखाए ।

‘‘गुरुको घरमा कोही बिरामी छ ?’’ चतुरो पुड्के छात्रले साध्यो ।

पण्डितज्जीले भने, ‘‘अँ !’’ र जुरुक्क उठे ।

‘‘आज म घर जान्छु है ?’’

यति भनेर सुरुसुरु हिँडे ।

७.

घर आउँदा बूढा बाजे फुक्न लागेका रहेछन् । पानी छ्वार्रछ्वार्र पारेर दूबोको मन्टाले हान्दा मुकु बराबर झस्किएको थियो । मुकुले अलिकति आँखा हेर्यो र पण्तिज्जीको मुखतिर हेरेर पिल्पिदाउँदो ओठ फर्कायो, रोयो !

बूढा बाजेले भने, ‘‘हामी त्यसै औषधि गर्छौं र हेर्नूस् ? आधा घडी फुकेको छैन, बालखले आँखा उघारिसक्यो ?’’

शिउली बज्यैले भनिन्, ‘‘कहाँ ? पटक्क आँखा हेर्दै हेरेको थिएन दिनभरि !’’

तर पं. अणिमानाथका छातीमा पृथिवीको सिर्जन र जीवनको अनन्त करुणाताका लहरी आँसुका नदिखिने छालझैँ उठ्थे, छचल्किन्थे, उछलिन्थे ! उनी शंका र त्रासको भँवरीमा हुरीको रुखझैँ जरादेखि हल्लिन लागेका थिए । रुन खोज्थिन् प्रकृति ‘‘मेरो रंगमञ्चमा यत्तिकै बिजोग र दु:खका दृश्य बराबर भरिईभरिई आउँछन् । मेरो छातीमा यत्ति एउटा दर्द छ ! मेरो एउटै यो कलंक !’’ पण्डितज्जी आकाशका हुरीजस्ता तरंग बादललाई खण्ड खण्ड पारेर चिर्दै उच्च प्रदेशी बिलौना हुनहुनमा बर्बराउन लागेकी कल्पनाजस्तै भए ।

आशामा जति उज्यालो छ, निराशामा उति अँध्यारो हुन्छ । प्राप्तिको आनन्दभन्दा समाप्तिको आशंका सालनालले बेरिएर रहेको दुनियाँमा, भाग्यका वरदानभन्दा भयंकर केही छैनन् ।

‘‘त्यो टुसो, त्यो मुनो’’ पण्डितज्जी सोच्तै गए, ‘‘विशाल अँधेरीले हुरी खाएर पिल्पिलाइरहेको, मानूँ डाँठतिर हेर्छ, वृन्त झिनो छ, सिद्धिएको छैन । तीन कोटी नबोल्ने दु:खमा भुग्रिएर छटपटाउन खोज्दो माछो तलाउजस्तो आँखा भएको माउलाई सिवाय आधार नदेखेर छटपटाउन पनि नसकी आखिरी आधारको खोजमा ओठ पुटपुटाएर मेरो आँखा हेर्दा ! मानो उसले यिनै आँखालाई मान्छे सम्झेको छ ! यो जंगली हुरीमा परेको बच्चो मर्नदेखि बिजुलीले तर्सेझैँ तर्सिन्छ । यो डढेलोको शावक, के के आउँदा होलान् यसका मनमा ? शरीर भस्भसाउँदै आगामा दुइटा लामा आँखा पानीपानी बनेर ‘‘आम्मा ! म जलेँ’’ भन्दो शावकझैँ गरेर हेर्न । भाषाको तोते पालुवासम्म टिप्न नसक्ने लालपातीको सानो मुन्द्रे पातझैँ मुटु भएको चरचराउँदो छाती उर्लन खोजेको दारीमुने ओठले बोल्न खोज्दछ, ‘‘कठै ! बाबा !’’

पण्डितज्जीका आँखा टल्पलाए । नाकको टुप्पा रातो भयो । ओठ सहानुभूतिले फर्फराउन खोजे, ‘‘कठै ! बाबा ! तिमीलाई के भएको छ नि ! म हेर्दिनँ नि बाबा ! यो बिजोग ! मलाई तिमी भन्न सक्तैनौ । म बुझ्न सक्तिनँ नि बाबा तिम्रो दर्द ! बाबा ! मसँग प्रकृतिको नश्वर कुसुम जीवन जलाउने निर्दयी ज्वालाको रगत चाट्ने जिभ्रोको अत्याचारको डाह निभाउने, शीतल गराउने मलम छैन ! म के गरुँ तिमीलाई !’’ यहाँ ‘रुँ’’ अक्षर काँपेर दुई बाजी दोहोरिएर ‘रुँ रुँ’ जस्तो हुन गयो । ‘‘म के गरुँ विधाता ! मेरो आँखा फुलको थुँगाका चन्दशीतल मुस्कानले लोभिएर त्यसैको खङ्ग्रंग वैलाइको सम मात्रको ज्वालाले जल्न पट्टल खुलेका थिए । ‘हाय ! संसार हा ! विधाता मैले किन बिहा गरेँ ! किन यस जीवलाई यसरी पिल्पिलाउन बोलाएँ ! किन यो ओठ पुट्पुटाएर पालुवाझैँ फुटेर आए नि बाबा ! यो संसारको अँधेर हुरीमा ! म हेर्दिनँ ! प्रकृति माता ! म हेर्दिनँ !’ पण्डितजी कराउँदै उठे ।

बूढा बाजेले आँखाका कुना देखाएर, ‘‘हेर्नोस् ! ऊ त्यो कुनासम्म पग्लिएर आयो, हकि त ?’’ भन्न लागेका थिए । यो शब्द सुनेर ‘‘के गर्नुभएको ? के गर्नुभएको ? विद्वान्ले यसरी मन छोड्न हुन्छ ? केही हुँदैन ! बुझ्नुभो ? म भएँ बुझाउने !’’ भनेर बूढा बाजेले सम्झाएर आफ्नो कुम ठोके ।

पण्डितजी आफ्ना कोठातिर गए । बराबर वसुन्धरालाई सोध्थे, ‘‘कस्तो छ हँ बाबुलाई ?’’

‘‘उस्तै छ’’ भन्थी । अनि फेरि पण्डितजी झोक्राउँथे र तरंगिन्थे ।

८.

त्यस रात झन् दूधै चुसेन । घ्यारघ्यार बढ्यो । मुकुलाई हेर्थिन् । शिउली बज्यै भुटिन्थिन् । दश भाकल गर्थिन् । बूढा बाजे पनि ‘उहुँ’ ।

उनले मुन्टो हल्लाइन् । भोलिपल्ट सबेरै सेते गुभाजूलाई डाक्न पठाइन् ।

सेतो पछ्यौराको चप्रास भिरेको, बायाँ पण्डित गाँठो पटुकाको निकै तल झरेको, कोविटाको आजानु लम्बे दौरा र सुरुवाल लगाएको, डम्बरकुमारीको टोपी, अग्लो रातोपीरो, कुरा र कुराको फुल पार्न अति सिपालु, स्त्रीको मनोविज्ञानमा बज्राचार्य, हृदय सेतो गुभाजू आएर खूप टटेलोलेर जाँच्यो । जिभ्रो हेर्यो, पेट देखाउन लाग्यो, मुटु विचार गर्यो, कलेजोपट्टि हेर्न दायाँ कोल्टे पारेर करंगमुनि नीलो बत्तीको उज्यालामा हेर्यो, परेला पल्टायो, आँगमा चक्कु दलेर लेउ झिकेर बत्तीमा हाली हेर्यो । झर्झरायो ।

‘‘उ: बज्यै हर्नोस् ! देख्नुभएन कि ! लागेको पक्का रहेछ कि ? हामी त्यसै बाल्दैन ! आँखाअगाडि देखाइदिन्छ ।’’

शिउली बज्यैलाई घनघोर विश्वास पर्यो । पाँच दिन फुक्न लगाइन् । अजिमालाई दिनको एउटा कुखुरा, एउटा फुल, एउटा बोके अजिमाको आमालाई सात दिनमा र दिनको दुई रुपियाँ पूजा गर्न दिइन्थ्यो । बज्यैले आखिर उसको आधार रहने निश्चय गरिन् र कुनै डाक्टर, वैद्य धामी नलगाउने किरिया हालेकी थिइन् ।

छौटौँ दिनमा हुन्हुनाउँदो अथाह कष्ट भएको मदौरु कहिले कहिले पण्डितजी हेर्न जाँदा ‘उँ ! उँ !’’ गरेर कन्दै कष्टकर निराशतिर ढल्किन लागेका पोटिला ठूला आँखा पिलिक्कपिलिक्क बीचबीचमा उचाल्दै बोल्न खोजेझैँ गरी पण्डितजीलाई रुलाउँदै फर्काउने र दिनभरि तमाखु नलीमा हरहमेशा ओठ जोतेर धूवाँका माला मूर्छा पार्न खोजेझैँ मगजमा त्रिविधतापका निसास्सयाउँदा रुन्चे तरंगहरु उमड्दै गएर आखिरी अवस्थाको प्राण, आज अलि निकै उज्यालो चेहरा लिएर एकछिन् ठूलठूला आँखाले बाबुआमाको मुखमा हेर्न थालेको थियो ।

पण्डितजी एकैछिन् आज बसेर हेरे । तैपनि उनको मनमा आशा थिएन । उनले परमेश्वरलाई मनमनै पढाइसकेका थिए ।

‘‘कसको औषधि गरिरहेकी छौ हँ ?’’

‘‘सते गुभाजू ! अजिमा लागेको रे !’’ पण्डितजीलाई आजिमामा विश्वास थिएन ।

‘‘गुभाजू ?’’ उनले भने, ‘‘आजकल कविराजको औषधि गरेकी छैनौ ?’’

‘‘कविराजको पनि खुवाएकै छ ।’’

‘‘डाक्टरले भनेको सेतो लेप छातीमा लाइदिन छोड्यौ ?’’

‘‘त्यो लाइदिएको त झन् खराब भयो ।’

‘‘गूभाजू मात्र लाएर हुन्छ ?’’ पण्डितजी अनेक ढंगले धमिलिएको हृदयकाशको सानो नीलो चिराबाट सह्मालिएर बोलिरहेको थिए ।

‘‘किन हुन्न त ?’’ शिउली बज्यै फूर्तिलो घमण्डले टड्कारिन्, ‘‘हेनुस् न जरो गइसक्यो । यी निधार कति चिसो छ !’’

पण्डितजीले नभएको क्लेशको ढिलो हातले सहानुभौतिक प्रेरणाले छामे ।

‘‘ए ! निकै चिसो छ !’’ उनी झस्के ! खुट्टा छामे शीत ! कन्न कम भएको थियो । आँखा झन् ठूला भएका थिए । बराबर सास अड्किएर आएझैँ मुकु अझ

‘‘बाबा ! आमा !’’ भन्न र बोलाउन खाजेका दुई आधारतिरै उक्लन हात फैलाउन खोज्थ्यो ।

बज्यैले छामिन्, ‘‘लौन नि बाबै ! मेरो बाबा ! मेरो मुकु ! घुँडासम्म शीत चढिसकेछ नि बाबा ! कहाँ जान्छौ नि मलाई छोडेर !’’ भन्दै हृदयविदारक डाँको छोडेर विलाप्न लागिन् ।

त्यो सुनेर काहिँली मैयाँ छिमेकबाट दगुर्दै आइन् । सेते गुभाजू ढोकाबाट भित्र पस्न लागेको थियो ।

‘‘लौन नि बाबा ! मेरो मुकुलाई बचाइदेऊ न नि !’’ शिउली बज्यै काहिँली मैयाँको अँगालो हालेर चिच्याउन लागिन् ।

‘‘रोएर के गर्ने अब ? खै खै ! के भएको ? जरो आएको थियो ?’’ उनले सोधिन् । समर्थक उत्तर पाएर बिरामीलाई छामिन् ।

‘‘लौन निमुनियाको ब्रोंकाइटिस् भएछ ! खै ! आगो ? पानी ! खै ! बोक्ने बोलाउनुपर्यो !’’

सेते गुभाजूले छाम्यो, ‘‘हड्बडाउनु पर्दैन हजूर । पर्खिबक्स्योस् । केही पनि चाहिन्न । यो यस्तै हो लागछोड ।’’

काहिँली मैयाँ महाकाली जंगेझैँ जंगिन्, ‘‘छाड् नाथे ! स्वास्नीको नारी छाम्न जा ! तँ जान्छस् ! मर्न आँटिसक्यो बिरामी ! ए वसुन्धरा, ए काली बज्यै ! आगो ल्याऊ । पानी ल्याऊ ! रक्सी ल्याउ रक्सी ! लौ हेर ! लौ हेर बिजोग ! त्यसै मर्छन् बिरामी !’’ अनि ‘मुकु’ भनेर बिरामीतिर फर्किन्, ‘‘तँलाई मार्न लागे बाबा ! त्यसै ! अभागी रहिछौ नि बाबा ! कठै चुच्चु चुच्चु !’’

गुभाजूले हाँसेर भन्यो, ‘‘किन तर्सिनुभएको, आम्मै ! केही हुन्न । लागछोड हुन्छ । शीत पनि ताल्ला भित्रबाट आएको ?’’

शिउली बज्यै तर्सिएर काहिँली मैयाँसँग हात जोरिन् । काँधमा हात राखेर कानमा विन्ति गरिन्, ‘‘जान्ने मान्छेलाई त्यस्तो भन्न हुन्न, मेरो विन्ति ! बिगारिदियो भने खुत्रुक्क हुन्छ हजूर ! विन्ति विन्ति, कोटी विन्ति छ ।’’

काहिँली मैयाँले बज्यैलाई थुकिन्, ‘‘थुक्क ! ज्यानमारा !’’

शिउली बज्यैको आत्माले काहिँली मैयाँलाई सराप्यो ! ‘‘किन आइलागी हरे ! यो डाकिनी !’’

गुभाजूले फुक्न थाल्यो, काहिँली मैयाँले कचौरा खोसेर मिल्काइदिइन्, ‘‘जा नाथे ! कुकुरको पुच्छरलाई फुक् ! सोझो हुन्छ ! जा !’’

‘‘खै पानी ? खै आगो ? रक्सी ?’’

पण्डितजी जिल्ल परेर टोह्लाइरहे । छाती भुक्भुक्किन खाज्थ्यो । अनि दबाउँथे । माथितिर भुँवरी छोप्ने लाटो पानी बनेका थिए ।

‘‘के छाँटका पण्डितजी ! यी ! के छाँटका ! मार्न लागी अजिमाले छोरालाई ! पानी तताउन लाउनूस् पण्डितजी ! डाक्टर बोलाउन पठाउनूस् !’’
आगो मात्र बोकेर वसुन्धरा आई ! काहिँली मैयाँ मकल लिएर सेक्न थालिन् ।

‘‘लौ है शिउली बज्यै ! बिरामी मर्छ त्यसरी सेकेर ! बिग्रिएला है ! म जान्छु !’’ गुभाजू उठ्यो ।

शिउली बज्यै गुभाजूको पयर परिन् । मकल खोसेर झ्यालबाट हुत्याइदिइन् । पण्डितजी बहुलाजस्तो बनेर टोह्लाइरहे ।

‘‘थुक्क हत्यारी !’’ काहिँली मैयाँले फेरि थुकिन् ।

‘‘मेरो छोरो मार्दिन लागी नि बाबा !’’ भनेर शिउलीले डाँको छोडिन् ।

काहिँली मैयाँले घृणाको दृष्टिले मुख हेरेर नबच्ने देखेर मुकुलाई एक चुम्बन दिएर निस्किन् ।

९.

पण्डितजी डाक्टर बोलाउन गए । बाटामा हात हल्लाउँदै अनेक इशारा गर्दै, थाप्लो ठोक्तै, बर्बराउँदै गएको देखेर बानेश्वरमा पसलेले भने, ‘‘यी पण्डित पनि बहुलाउन आँटेछन् ।’’

डाक्टरलाई भने, ‘‘मर्म अन्धा ! म कहाँ जाऊँ ?’’

डाक्टरले सोध्यो, ‘‘के भयो ?’’

पण्डितजीले भने, ‘‘चिसो !’’

‘‘कि जोर आएको छ ?’’

‘‘छैन !’’

‘‘कत्रो मान्छे ? छोरो ?’’

पण्डितजीले दुइटा हात फैलाएर विश्व देखाए !

डाक्टरले सम्झ्यो कि मर्न आँट्यो होला । चिन्ताले बहुलाजस्तो छ !

‘‘को ?’’

‘‘मुकु !’’

‘‘छोरी ?’’

‘‘छोरा !’’

‘‘कि छिसो आएको छो ?’’

पण्डितजीले घुँडा देखाए । हातले कुहिनासम्म देखाए । अनि टोह्लाइरहे ।

‘‘कत्रो मान्छे ? यत्रो ?’’

पण्डितजीले टाउको हल्लाए ।

१०.

डाक्टर जाँदा समूचा शरीर शीतांग भएको रहेछ । गुभाजू फुक्तै झार्दै गर्दोरहेछ ।

डाक्टरले भन्यो, कि फुक्छ कि ? बेमार मर्छ तिमी पुक्छ ? ल जाऊ ? फुक्नु पर्दैन ! पण्डितजी ! यो छोरो बाँच्दैन । मरिसक्यो ! शालिग्रामजल खुवाउनु ! ताला ठिक्क पार्नु ! बाँच्दैन मार्यो । बज्यै छाती सडिएको छ । तलाईँ मार्यो आफ्नो बालक ! फुकेर बाँच्दैन ?’’

‘‘मेरो बाबा ! लौन नि मेरो बाबा ! बचाइदेऊ नि बाबा !’’ फेरि गुभाजूको अजिमा आश्वासनले लागू शीत जाला भन्ने आशाले चूप लागेकी बज्यै छाती चिरेर कोकोहलो हाल्न थालिन् ।

पण्डितजीले मुकुको नजिक आएर कपाल सुघेँ !

डाक्टरले पुलुक्क मुखमा हेर्यो !

त्यसै बेला काहिँली मैयाँ तताउने बोतल, रक्सी, औषधि लिएर आइपुगिन् !

‘‘यो डंकिनी आमा ! यस अलाच्छनीले छोरो पालेर खाई !’’

शिउली बज्यै लडी र बुडी गर्न लागिन् ।

डाक्टरले भन्यो, ‘‘तोताउनुस् ! यो तोताउनुस् ! गोभाजूलाई नेकाल्नोस् ! अन्धो आमालाई छोकाएर ज्यान लियो !’’

गुभाजू डाक्टरमा अज्ञान, पण्डितका अविश्वास र अंग्रेजीको नास्तिकताउपर अफसोस मानेर घर फक्र्यो !

तर गुभाजू हिँड्नसाथ मुकुलाई हिक्का लाग्यो !

पण्डितजीले त्यो हिक्का देखेर ‘‘जय परमेश्वर ! जय परमेश्वर ! जय परमेश्वर !’’ भनेर रुँदै, कराउँदै उठेर छोरालाई बोकेर तलतिर हिँडेँ ! अरु पछि लागे ।

बज्यै डाँको छोड्दै मूर्छा परिन् ।

पण्डितजीले सूर्यतिर हिक्कालाग्दो बालकलाई फर्काएर भने, ‘‘लौ परमेश्वर ! लौ भगवान् ! लौ प्रकृति माता ! तिमीले किन दियौ ? तिमीले किन दियौ ? तिमीले किन लियौ ? बाबा ! ईश्वर ! बाबा ! ईश्वर ! बाबा ! ईश्वर !’’

क्रमसँग चढ्दो क्रन्दनसाथ उनले चोकका इँटामाथि बालकलाई सूर्यपट्टि फर्काएर राखिदिए । आखिरी एक हिक्का लाग्यो !

पण्डितजी रन्थनिएर पछारिए !

‘‘मेरो मुकु ! निसास्सियौ नि बाबा ! ढुंगाले बिझाएन तिमीलाई ?’’ उठेर फेरि पछारिए !

हिजो आज पण्डितजी छँटाएर उही गुभाजूले औषधि गर्न लागेको छ रे !

११.

म्लेच्छता दुनियाँ चढेको जँच्यो । कति आमाको दिल रुलाउन ! उहाँ लागू छ । खुवाउँछ झोल ! कसरी गयो अजिमा ?

उसलाई दिलमा अठोट थियो कि फुक्न पाएको भए बालक बाँच्ने थियो । उसले कति आमाको छातीलाई शीतल गराइदिएको थियो । कस्ता बच्चा पनि बाँचेका थिए । जो लागछोड मात्रै त थियो नि ! अब गडबड गरेर देउतालाई जिस्काउन लागेपछि कहाँबाट बाँच्छ ? सडकमा उसले तरक्क आँखाबाट आँसु काढ्यो । त्यसैबेला अर्को ठाउँबाट उसलाई बोलाउन आएको रहेछ । त्यो मान्छेले आँसु देखेको उसले भन्यो, ‘‘सर्दी लागिरहेछ’’, र रुमाल झिकेर आँखा पुछ्यो ।

‘‘म आज आउन्नँ कतै !’’ उसले विरक्तिसँग भन्यो । तर मान्छेले ‘उपकार हुन्छ’ भनेर कर लगायो ।

त्यो ‘उपकार’ शब्दले दिल फेरि पग्लिएर ‘हामी अरु के काम गर्न सक्छौँ त दुनियाँमा ? यत्ति हो गर्ने’ भन्ने सोचेर हिँड्यो !