साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कर्किनी आमा

आमा चकमन्न हुनुभयो । आमालाई हेर्दै मनमनै सोचेँ, घरमा ठुला ठुला ज्ञानगुनका पुस्तक हुनु तर हजुरबा-हजुरआमा नहुनु; अँह, यो फिटिक्कै सुहाउँदैन । बुढापाका त प्रत्येक पुस्तकका पर्यायवाची नै हुन् ।

Chovar Blues Mobile Size

कर्किनी आमाका केश फुलेर हातिवरको पाटझैँ भएछन् । मरिचझैँ चाउरिएको छाला अब चाउरिन बाँकी कतै थिएन । कानमा झुन्डाएका माडवारीले कानको लोती नै चुँडिने गरी तानिरहेका थिए । नाडीको मासु पनि बुढेसकाले जम्मै निलेछ क्यारे, वन तरुलका लहराजस्ता नसाहरु बाहिर बाहिरै टल्किएका देखिन्थे । धमिलो सेतो भुइँमा कलेजी रङ्गका बाक्लै धर्साहरु तेर्सिएका एउटा मैलो गुम्छा टाउकामा दुई फेर गुथेको थियो । घर चकमन्न छ । घरमुनिको कटहरको रुखलाई पनि बुढेसकालले छोएको थियो । त्यसका आधिसरो बाहुहरु खङ्ग्रङ्ग सुकिसकेका देखिन्थे । घरको बलेँसीमुनिको खरले छाएको कटेरोमा पिङको लठारोझैँ खाइलाग्दो दाम्लोमा टुमरिएको एउटा हाङ्सिङ्गे बलियो भैँसी थलामा ड्याम बसेर सेतो फिँज निकाल्दै उग्राइरहेको थियो । टाट्नामा गोडा चारेक खसी बोकाहरु डोरीमा झुन्डाएको गायाका पातहरु निखार्दै थिए । त्यही टाट्नामा बाख्रापाठाले घाँस खाएर निखारेका घसेटाहरु ढुकुरले चारो टिपेँझैँ दुब्ला पातला हातहरुले एकपछि अर्को डाला टपाटप टिपिरहेकी थिइन् कर्किनी आमा ।

मेरा पदचापले होला खसीहरु तर्सेर भाराकभुरुक्क गरे । आमा घसेटा टिप्नु हुँदैछ ? मैले टाट्नाका खसी छेउ गएर बोलाएँ । आमा केही नबोली चुपचाप उभिनु मात्र भयो । दर्शन आमा ! मैले आमाका पौरखी हत्केलाहरुमा मेरो निधार लगेर टाँसेँ । भाग्यमानी हुनु बाबु, मैले राम्रोसँग चिनिन बा ? मेरो मुखमा हेर्दै कर्किनी आमाले गुम्छाको फेरले दुबै आँखाका चेपचेपमा बसेका कचेरा पुछ्नु भो ।

‘ए, म दारिमबोट ठुलाकान्छाको छोरो क्या आमा, चिन्नु भएन र ?’ मैले जवाफ फर्काएँ ।

‘ए… निर्मलाको छोरो पो होस् ? जेठो कि कान्छो चाँई ?’ आमाले ममिको नाम पुकार्नु भो ।

‘म ठुलो चाहिँ हुँ आमा ।’

sagarmani mobile size

‘ए नि त , यत्रा बराँठ बराँठ भयौ बाबु अनि कसरी चिन्नु त ? हिजो जस्तो लाग्छ इत्रा भाल्टाङ्भुल्टुङ्ग काखामा खेलाको ।’

रबिन खड्का

कर्किनी आमाले चिन्दिन भनेको सुन्दा मलाई नरमाइलो लाग्यो । आजभन्दा २४ वर्ष अघि जतिबेला म जन्मेको थिएँ त्यसबेला देखिनै मेरा दुःख र खुसीहरु देख्ने, मेरो भोकाएको पेट देख्ने, मेरो भोटो फाटेको देख्ने, मेरा नाङ्गा पैतालाहरु देख्ने, मेरो घाँटीको मयल देख्ने ती चलाख आँखाले आज मेरो यत्रो लाठे ज्यान नचिन्ने भएछन् । यो समय आखिर किन यस्ता प्यारा मान्छेहरुलाई आँखा नदेख्ने बनाइदिन्छ ? राम्रोसँग कान नसुन्ने बनाइदिन्छ ? त्यस्तो चुकजस्तो सलबलाउँदो कपाललाई पनि किन होला हात्तिवरको पाटजस्तै बनाइदिन्छ ?

‘खोई त आमा घरमा त अरु कोही पनि देख्दिन त ?’

‘भापो देख्थिस् त, भात खाई सकेर मामा हाटढुङ्गेतिर गयो । बुहारी पानी लिन साउनेको पँधेरातिर गई होली, नातिनी गोठालो गोइरछे । म चाहिँ बाख्राले घाँस खाका झिक्राझिक्री फाल्नु परो भनेर, अस्तिदेखि भनेको सुनेको नसुनै गरे सबैले’ — हातका झिक्रा बलेँसीमा राख्दै भन्नु भो आमाले ।

‘ए.. अनि यो बुढेकालमा पनि अझै काम गर्न सक्दै हुनुहुन्छ आमा ?’

‘काम त के र बावु, सके पो गर्नु, दिनभरि सुत्न पनि जिउनै थिलथिलो हुन्छ । सुत्तासुत्ता आजभोलि त झन खाटै बिझाउँछ, कति सुत्नु भनेर अहिले त गको चारवटा पनि टिपिन होला । थाकेको होलास् कति उभिन्छस् — हिँड जाउँ खाटै तिर बस्नुपर्छ ।’

कर्किनी आमा अघि लाग्नु भो, म पछिपछि, ठामठाम चकटी आकारका ढुङ्गा बिछ्याइएको आगन छिचोलेर हामी दलानमा पुग्यौँ । खाटमाथि ओछ्याएको परालको सुकुलमाथि थ्याच्च बसेँ । आमा दलानको माथिल्लो भित्तामा अडेस लागेको सानो चेडाको खटियामा गएर बस्नु भो ।

‘अनि आज कता बाट बाटो बिराइस् ?’

‘आमालाई भेट्नकै लागि भनेर आको नि आज ।’

‘खोइ नानि चटक्कै माया मारि हालेउ— तल गए देखि त मुखै देखाउन छाडेउ । यहाँको घर पनि त्यसै धमिराले खार मक्कायो । फर्केर कोही आएनौ ।’ कर्किनी आमाको अनुहार निरास देखियो । आजभन्दा अगाडि भेटघाट गर्न नपुगेकोमा मलाई थुप्रै पछुतो महसुस भयो ।

बिचरा आमाले त्यति गुनासो गर्नु पनि स्वाभाविकै थियो । किनकि आधा उहाँले नै हुर्काउनु भएको थियो, म र मेरो दिदीलाई जतिबेला हाम्रो परिवार एक्लो थियो । हामी चिचिलै थियौँ । दिदी र मलाई गोठालो गरेर दिनभरि घरमा बस्ने कोही पनि हुँदैनथे । ममिबाबा दिदी जन्मेकै साल छुट्टभिन्न हुनु भको रे मूलघरबाट । पहाडको पाखाबारी हेर्दा आँखाले भ्याउन्जेल थियो । तर उब्जनी भने खासै हुन्थेन । मौसमले दया राखेको बेला त, आफ्ना बारीमा फलेको ढिँडो, च्याँख्ला र बटिया गरेको चामल मिसाउँदा त जसोतसो वर्षदिन धान्थ्यो तर सम्याले ठग्दा त नबेसाई धरै पाइन्नथ्यो । त्यसेको रिनपान तिर्न पनि बुवा वर्षेनी २—३ महिना कोइला काट्न मेघालयतिरै रहनु हुन्थ्यो । अनि घरमा ममि एक्ली मान्छे । हलमा गोरु पनि पालेकै थिए , टाट्नामा दुईचार ओटा खसका पनि झुन्डाकै हुन्थे । अनि किलामा एउटा भैँसी कहिले पनि टुट्तैनथ्यो । कसरी भ्याउनु र हामीलाई रुँगेर बस्न, घरिको घाँस घरिको दाउरा भन्यो घरिको पानी ! अनि लगेर कर्किनी आमाको भरमा छोडिदिनुहुन्थ्यो । मलाई अझै पनि सम्झना आलै छ । कर्किनी हजुरआमाले दिदी र मलाई आफ्नै नातिनातिना माया र स्याहार सुसार दिएर हुर्काउनु भयो । हाम्रो आधिसरो गुहुमुत उहाँले पचाउनु भएको थियो ।
आमाका कुराले मलाई एकछिन निशब्द बनाए । र म केही पनि बोलिनँ ।

‘पखेटा लागेपछि सबै जनाले छोडेर गोइ हालेउ नानी , वल्लाघर पल्लाघर हाहा होहो कति रमाइलो हुन्थ्यो । यी अहिले तिमर्ले पनि छोडेउ, तल्ला घर्का पनि धेर जति बेसीतिरै बस्छन् । आजभोलि त सुन्ने लाग्छ यो गााउँ पनि ।’ आमाले बोल्दैबोल्दै आफ्नो चौबन्दीको सानो खल्तीबाट एउटा बिँडी निकाल्नु भयो ।

‘अँ, हो आमा’ भन्दा ज्यादा मेले फर्काउने जवाफ नै केही भेटिरहेको थिइनँ । ‘आउन, भेट्न त मन हुन्छ नि आमा के गर्नु समय नै मिल्दैन ।’

‘मनै त हो नानी सबैकुरा— चितार हिँडे मुग्लान त पुगिन्छ, त्यहाँ र के दुर र ? झन् अहिले त गाडीको सुबिस्ता छ । पैताला ख्याउनु पर्दैन । पैसा चाहिँ हुनु पर्यो जुन ठाम भन्यो तेई ठाम ओराल्दिहाल्छ ।’ आमा घरिघरि बोल्दाबोल्दै एकछिन एकछिन रोकिनु हुन्छ । अहिले पनि रोकिनु भयो । म चुपचाप आमाको मुख ताकेर बसिँरहेँ ।

‘बरु तिमर्की आमा हुँदा आइरहन्थी । के गर्नु हुँदैछ दिदी भन्दै बेलाबेला मुख देखाइरहन्थी । अरु सबैले छुच्ची छे निर्मली भन्थे । खोई मान्छेहरु के सुनेर के बुझेर तेस्तो भन्थे नानी भगवान जानुन् ? ओल्लाघर पल्लाघर भएर के एउटै घरका परिवारजस्तो भएर तेत्तिका वर्ष बिते , मलाई चाइँ एक वचन नराम्रो केही भनिन, कहिल्यै अमित्ते वचन बोलिन । दिनभरि आफ्नो आफ्नो काममा ब्यास्त भए पनि यैँ हाम्रा घरमा भेलाजम्मा भएर आधा रातसम्म सुखदुःखका बात माथ्र्यौँ । मनमा कुनै कुरा गुम्स्याएर नराख्ने, आफूलाई चित्त नबुझेका कुरा जति फलाफलि भन्ने, अरु आईमाई जस्ति थिन तेरी आमा, मनाँ जे लाग्यो तै भन्दै पनि नहिँड्ने । तेतिकी हिम्मतिली र आँटिली यो गाउँभरि नै थेनन् जस्तो लाग्थ्यो । सारै राम्री मान्छे थि नानी उमेर्मै हरि हाल्यो दैवले । सबैभन्दा तिमर्को कर्मै खोटो नानी । यो लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमा आमाको साथ पाएनौ ।’

कर्किनी आमा बोल्दाबोल्दै भक्कानिनु भो । एकैछिनमा उहाँका गहबाट बरर… आँसुका दाना गालाभरि चुहिए । मलाई पनि कस्तो नमिठो लाग्यो । वर्षा मास गैराबारी खोलाका चप्लेटी रसाएझैं मेरा आँखाका चेपचेप रसाए ।

‘एउटा बाघले खार नसक्ने ज्यान थ्यो । कहिले नमर्लि जस्ति पो थि त, भरै भन्दा सप्पैलाई उहि पो अघि बाटो लागी ।’

कर्किनी आमाले एकपटक लामो सास फेर्नुभो अनि टाउकाको गुम्छा निकालेर आँसु पुछ्नु भो ।

‘दैवको खटन हो नानी, छैठौँको दिन निधार्मा भावीले जे लेख्देको छ—तेस्तै खेप्तै जानु पर्ने रछ । वालो बाँच्ने र बुढो मर्ने नहुँदो रछ यो शृष्टिमा ‘ चिउँडामा हात राखेर फेरि पनि आमाले लामो सास तान्नु भयो । म भने एकोहोरो लागेर उहाँकै कुरा सुनिरहेको मात्र थिएँ ।

‘अझै दुईचार वर्ष जति कालको खैँजोले नलग्देको भए, तिर्मको राम्रोसँग लेखाई पढाई गर्दिन्थी । ब्यादान गर्दिन्थी । जे भा पनि तिमर्कै भलो हुन्थ्यो नि । यो केटाकेटी उमेराँ टुहुरो हुनरपरो तिमर्ले ! के गर्छौ बाबै तिमर्को कर्मै फुटेको । यो पढ्ने गुन्ने उमेराँ काम खोज्दै पर्देस लखेटिनु परेको छ । रोर करार नहुँदो रछ जस्तो परे पनि खेप्नै पर्छ ।’ आमाको बोली फेरि भारी हुँदै गयो । म भने मौनतामा आमाका बिलौना सुनिरहेँ ।

‘माथ्लाघर भान्जीले पनि छोडेर गइन । तेरी आमाले पनि छोडेर गोई । बडहरे सम्धिनीले पनि छोडेर जानु भो । पल्ला घर ज्वाँईले पनि छोडे । माथि लेखबाट म झरे भन्दा दुईचार साल पछि जन्मेका पनि कति मरे कति ! म बूढीलाई चाइँ काल आएन नानी । आफ्ना आफन्त मरेकाको शोक खेप्ताखेप्तै कावु नै भैसक्यो ।’

‘त्रिपन्न हाते सारी मैला भो गौरी घाटमा कति धौँ ।

हाँसु भने बौलाही भन्छन् रौँ भने कति रौँ . भने जस्तो भको छ ।’

‘आफूले भने जस्तो सजिलो नहुँदो बावै— यी काल मलाई चाहिएको छ नि लग्दैन । मैले बाँचेर के चाइँ नाप्छु अब ? यो नाथे काल पनि लानु पर्नेलाई चाइँ लाँदैन गतिला गतिलालाई छानिहिन्छ ।’

‘त्यस्तो पनि भन्नु हुन्छ आमा—अझै धेरै वर्ष बाँच्नु पर्छ नि !’

‘आ….. बावै , केही नबोली बसुँ भन्छु त नि । आँखै अगाडि बिते बिग्रको देखिन्छ, देखेपछि अराईसिकाई गर्न मन लाग्छ । अनि गर्न सक्नेलाई रिस उठ्छ । काम गर्न नसक्नेले त चुप….लागेर बसिरहनु नि, भन्छन् । अनि आज भोलि त म बोल्न पनि छोडेको छु है नानी । बिते पनि बिग्रे पनि अब सबै उनीहरुकै हो । गर्लान् नि एक थोक ।’

‘गरिहाल्नुहुन्छ नि आमा नबुझ्ने बालखा भए पो अह्राई रहनु परो त ।’

‘अँ नानी आजभोलि त तेस्तै लाग्न थालेको छ । जति करकर गरे पनि आखिर मर्दा च्यानमा हाल्दिँदैनन् नि ।’

आमाले अघिदेखि हातमा लिरहनुभएको बिँडी–चिम्टाले आगाको कैलो समातेझैँ दाहिने हातका दुई ओटा औँलाले च्याप्प चेप्नु भयो र कम्मरमा बाँधेको मैलो पटुकीको पत्रपत्र खोस्रिन थाल्नु भयो ।

मैले सोधेँ, ‘आमा के खोज्नु भको तेसरी ?’

‘हैन यो लाइटरको ठाँडो पनि कता परेछ । तँ आउनुभन्दा एक्छिन अघि एउटा बिँडिसल्कार यैँ घुसारे जस्तो लाग्छ । खै भेट्तिन।’

आमाले पटुकी खोतलखातल पार्दा पनि लाइटर फेला पर्दैन । म सामुन्ननेमा बसेर हेरिरहेको थिएँ ।

‘हैन अघि घसेटा टिप्दा टाट्नातिरै झरेछ कि क्या हो । आमाका आँखा खसी बान्ने ठाउँतिर तेर्सिए ।

‘म गएर हेर्दिउँ त आमा ?’

‘भो पर्दैन छाड्दे नानी अगेनामा अगुल्टो होला अहिले तेतै गएर सल्काउँछु ।’ आमाले त्यति भनेपछि म पनि चट्पटाइँन ।

‘भोक लाग्यो होला तँलाई के खान्छस् त ?’ आमाले मेरो मुखपट्टि फर्केर सोध्नु भयो ।

‘खासै लागेको छैन आमा । एक्छिनमा खाउँला नि ।’ मलाई अझै पनि आमाका कुराकानी सुन्ने रहर पुगेकै थिएन ।

‘सुठुनी उसिने होलान् खान्छस् त ? धेरै त छैन अलिअलि होला । मामाले पनि आज खोलातिर तेई खाजा लिएर गयो ।’

आमाले सुठुनी नाम लिन साथ पनि मेरो ध्यान पुराना दिनतिर पुगे । किटको कराइमा खारेको ठुली भैँसीको बाक्लो दुधसँग सुठुनी खाँदा खुबै माल हुन्थ्यो । तर अहिले त त्यो सब फगत कल्पना मात्र थियो । आफ्नो घरमा अहिले न सुठुनी न भैँसी नै थियो ।

‘भित्रै आइज है ।’

आमा मलाई बोलाउँदै सङ्घार काट्नु भयो । पुरानो घरको ढोका होचो थियो । त्यो पनि समयकै कारण थियो । पहिला म सानो थिएँ । ढोका ठुलो थियो । छन त अहिले पनि ढोका उत्रै थियो तर म हुर्किसकेको थिएँ ।

‘दैलानोमा टाउको ठोक्काउलास् है अलि निहुरिएर पस् नि । होसले है ।’

आमाले सावधानी गराउनुभयो ।

‘हस् आमा ।’ म दैलोबाट लुरुक्क भित्र छिरेँ । भित्र पस्न साथ विगतका पानाहरु एकएक गरेर पल्टिन थाले । ममि बेलामा लिन नआउँदा भुसुक्कै निदाउने अगेना पारिपट्टिको ओछ्यान, बेलौरी गाईको दुध जमाउने सानो चिटिक परेको ठेकी, भुटेको मकै थालमा अलग्गै राख्ने ध्वाँसिघरे रयाक, मिठो चोखो खानेकुरा बनाइतुल्याई थपक्क राख्ने भर्सेली, खोपामा घिउ राख्ने हर्पे पनि जिउँदै रहेछ ।

‘के हेरिस् तेसरी चारैतिर ? ‘

म त झसङ् पो भएँ ।

‘उ त्यो काठे पिरा तानेर बस् है ।’ आमाले अन्दाजी ३ माने भड्डुभाँडाबाट स्टिलको थालमा सुठुनी खन्याउनु भयो । काठे पिरा तानेर मुल खाँबोको छेवैमा ओछ्याएर बसेँ ।

‘लु खा, एसपालिका सुठुनी जति सबै कानखोरे छन् । माटोमा गाडेदेखि एकचोटि भन्दा पानीको मुख देख्न पाएन धन्न के फलोस् पनि ! तीँ माथि मुसाको बाहानले रखभाँड लाइरछ । फेरि बेलैमा खन्न पनि भ्याइएन यस्पाली । आफ्नो कमाइ भनेर हुन्न बेलैमा उकेर्न सकिएन भने मुसा, दुम्सी र बाँदरको कालपरि हाल्छ ।’

कर्किनी आमाले भनेझैँ कुनै पनि सुठुनी बुढी औँलाभन्दा ठुला थिएनन् ।

‘अचार लाइदिउँ चोबेर खान्छस् त ?’

‘छ भने ल्याउनु आमा ।’

हत्तपत्त नबिग्रने फर्सिका बिँया, भटमास, फिलुङ्गे आदि भुटेर चुक समेत हाली ढिकीमा कुटेर तयार पारिएको धुलो अचार गाउँघरतिरको त राष्ट्रिय अचार नै हो भन्दा फरक पर्दैनथ्यो । आमाले निलो बिर्को भएको सेतो प्लास्टिकको बट्टाबाट एकमुठी धुलो अचार निकालेर थालको छेउमा छ्वास्स् हाल्दिनु भयो ।

मैले सुठुनीका बोक्रा तास्दै भने– ‘साना भए पनि मिठै रछन् आमा सुठुनी त ।’

‘खोई कस्ता छन् आफूले एउटा खिजो मुखमा हालेको हैन ।’

‘किन र आमा ? ‘

मैले खाँदै गरेको गाँसै रोकेर सोधेँ ।

‘हन निल्य पो खानु ? घाँटीभन्दा उँधो छिर्दैन बावु । खाने भनेको रुच्दै रछ । बुढेसकालले छोएपछि त जिब्रोले मागे पेटले नसहँदो रछ । कहिलेकाहीँ मुखबाट ठेल्यो तानी किलकिलेबाट छिरे त मर्नु ।’

म अझै पनि राम्ररी सम्झन्छु । कर्किनी आमाले पिँडालुको दालसँग तिन भकाना ढिँडो खानु भको, चिउरीको पातमा हालेका गोडा दुई चारेक कोदाका रोटी एकै घानमा सिध्याउनु हुन्थ्यो । तर अब त नाथे सुठुनी निलिन छोडेछ । कस्तो निर्दयी होला यो समय पनि ? एकचोटि त मलाई यो समयसँग पनि आक्रोस पोख्न मन लाग्यो ।

‘कहिले आइस् अरे काठ्मन्डुबाट ?’

‘हिजो बेलुका मात्रै आइपुगेको आमा ।’

‘अनि बुबा भाइ बुइनीलाई सन्चै रछ त ? उनरु पनि निस्कन छोडिहाले । आफू झर्न पनि आफ्ना गोडाले भर पाउन छोडिहाले । ती नातिनातीना फर्केर आउँदैनन् । केही भनी बिजाए जस्तो त लाग्दैन । आफूलाई र मनभरि पेटभरि माया लाग्छ–लागेर मात्र के गर्नु ?’

“गोठमा बस्ने गोठाले दाजू खै मलाई कुराउनि

जतिलाई देख्यो उतिलाई माया कति पुराउनि” भने जस्तो ! लाग्छ नि माया लाग्दैन आफूले आधी जुठो खार हुर्काका पो त ती त ।

आमाका कुरा सुनेर मलाई बेलाबेला पश्चतापको सियोले च्वास्स घोचिरहन्थ्यो । ममिले सधै भन्ने गर्नु हुन्थ्यो मान्छेले दुईवटा काम कहिले नगर्नू–पहिलो अर्कालाई हानि हुने काम र दोस्रो आफूलाई पछुतो हुने काम । मैले सोचेँ ममिले भनेको कुरा कहिल्यै अनुसरण गरिनछु ।

‘सबैभन्दा अहिलेका केटाकेटीलाई यो मोबाएलको ठाँडोले बिगारेको नानी ! आफ्ना आफन्त, नरनातासँग त के भेटघाट गर्थे र आफ्नै घर्कासँग त बात मार्ने फुर्सद छैन अहिलेका केटाकेटीलाई । चौबिसै घण्टा त्यो चैटो कुचुकुचु घोचेको छ घोचेको छ । के हेर्छंन् तेसरी ?’

‘खै के गर्नु आमाभन्दा लाग्दैन । ‘

‘भन्दा त के लाग्थ्यो र बरु उल्टै मुखमुखै लाग्छन् ।’

‘सुठुनी त मज्जाले खाइस् त अरु पनि खान्छस् ?’

आमाले भाँडोभित्र हात गाड्दै भन्नुभयो । पैलापैला त माटयाका हण्डीमा उसिनेका कम्ति रसिला हुँदैनथे । अहिले हण्डी ल्याउनै छोडिहाले ।

‘भो आमा म अघाएँ न थप्नु है ।’

‘खान खा, छ त अझै ।’

आमाले फेरि थालमा सुठुनी खन्याइदिनुभयो । ‘ए साँचि ठेकामा मही थियो होला नि , पिँउदै सुठुनी टोक्थिस् होला । अघि दिउँला भन्थे भुसुक्कै बिर्सेछु । म राणीका चेत पनि के सारो अल्मल्येका ?’

आमा जुरुक्क उठेर ठेकाभाँडा भएतिर पुग्नुभयो । मैलो सनपाटको बोराले छोपिएका लहरै तिनओटा ठेका रहेछन् । आमाले माइलो ठेकाबाट अप्ठ्यारो गरी सार्न खोज्न भयो ।

‘छोड्नु आमा म आफै सारेर खान्छु ।’

आमाले दाहिने हातमा समाउनु भएको निलो फुच्चे जग मागेर आफैले सारेँ । सार्दा हरर… वास्ना आयो । आहा ! घर गाउँको मोही बास्नै कति मिठो ।

खाजा खाइसकेर नाती आमा दलानमा निस्केर पुनः खाटमा बस्यौँ । आमा अनि हजुरबा त बिमारी हुनुहुन्छ भन्ने कुरा सुनेँ त मैले त ?

‘खै नानी तेसै भन्छन् । मेरा कानाँ पनि अघि ब्यान मात्र परेथे यी कुरा ।’

एकैछिनमा आमाको अनुहारमा चिन्ताको रोगन पोतियो । मलाई थाहा थियो उहाँहरु बिगत ३० वर्षदेखि सँगै बस्नु हुन्थेन । कान्छा मामाको बिहे भएपछि कान्छा छोरा बुहारीलाई लिएर आमा धुसेनी झर्नु भको रे । हजुर्बा भने ठुलो मामासँग लेखतिरै बस्नुहुन्थ्यो ।

‘अनि आमा फाल्टाफाल्टै बस्नु भको यतिका वर्ष भयो ? हजुर्बाको माया लाग्दैन हजुरलाई ?’

मैले अलि गम्भीर भएर सोधेँ ।

आमा केही समय मौन रहनु भयो । अनि मुखबाट लामो सास फालेर भन्नु भयो ।

‘पानी पर्यो बगायो गेगरु

लाग्छ माया लागेर के गरुँ ”

‘लाग्छ नि आफ्नो बुढाको माया कस्लाई लाग्दैन ? कस्ले पुर्याइदिने र मलाई ? टाढा बाटो । तिँ माथि उकालो,आँफु पाइला सार्न सक्दिन बावै ! घर्कालाई सुनाउँ भने उनर्कै कहिले फुर्सद हुँदैन ।’

‘खोई तेरो मामा जान्छु त भन्दैथ्यो । कहिले जान्छ को नि ? बुबा सारै छन् भन्ने फोन आइरथ्यो लेखबाट भनेर मलाई उसैले सुनाको । यतिबेला आमाको अनुहार पहाडको थाप्लामा बादल लागेझैँ भएको थियो ।

‘अनि तँलाई कसले सुनायो नि यो कुरा ?’ आमाले शिर उँचो पारेर सोध्नुभयो ।

अघि निस्कँदा बूढी आहालनेर खत्री बडाउसँग जम्काभेट भाथ्यो । उसैले पो सुनाका त ।

‘ए…..खेतमा पानी पटाउन झरेका होलान् माईला ?’

‘खै होला आमा–सोधिन मैले त ।’

आमा चकमन्न हुनुभयो । आमालाई हेर्दै मनमनै सोचेँ, घरमा ठुला ठुला ज्ञानगुनका पुस्तक हुनु तर हजुरबा-हजुरआमा नहुनु; अँह, यो फिटिक्कै सुहाउँदैन । बुढापाका त प्रत्येक पुस्तकका पर्यायवाची नै हुन् । आजसम्म कुनै शिलालेखमा नलेखिएको मात्र हो । तर प्रत्येक वृद्ध मानिसहरुसँग छुट्टाछुट्टै इतिहास लुकेको हुन्छ ।

नाति आमाका बात नसकिँदै ह्वार बाख्राको बथान थालमा भुटेर राखेका मकैझैँ आँगनभरि छरिए बाख्रापाठा ।

‘बाख्रा तिर्खाएर आए । भित्र पिठो पानी एक डेक्ची छ त, म ल्याउन सक्दिन ।’

‘म लेइदिन्छु आमा’ – म सरासर भित्र पसेर डेक्चीको पानी जुरुक्क उचालेँ । तर यसैलाई पनि समयले कर्किनी आमालाई गरुम बनाइ दियो । धेरै वर्ष पनि बितेका छैनन्–कर्किनी आमाले पुछारको बारीबाट माच जत्रो घाँसको भारी एक बिसौना पनि नबिसाई वस्तु गोठमा लगेर गल्र्याम्म पछार्नुहुन्थ्यो । त्यतिबेला मलाई कर्किनी आमाभन्दा बहादुर यो संसारमै कोही छैन जस्तो लाग्थ्यो । मैले पानीको डेक्ची लगेर सबैको बीचमा राखिदिएँ । सबैले जुधीजुधी खाए ।

दिन ढल्दै थियो । रात उदाउँदै थियो । घाम पश्चिम पहाडको टुप्पोमा पुगिसकेको थियो । गल्लीतिर गोठालाहरुले वस्तुभाउ लाला सिउसिउ गरेको आवाज घुर्मैलो बनेर मेरा कानसम्म आएर ठोकिन्थे । म भोलि फजिरै आफ्नो कर्मथलो फर्किन्दै थिएँ । त्यसका लागि विदा मागेर निस्कन थियो तर आमा अघिदेखि चुपचाप हुनुहुन्थ्यो ।

‘आमा अब म बाटो लाग्नु पर्यो ।’ मैले आमाका गोडा छोएर बिदा मागेँ ।

आमाले आखामुनिका भित्ताहरु पुछपाछ पार्दै भन्नुभयो, ‘तेस्तो के छ र हतार ? आज एतै बस्ता हुन्न र बावै ?’

‘आफ्नै घर हो आमा बस्दा त किन नहुनु र फेरि भोलि बिहानै उतै फर्कनु पर्नेछ ।’

‘लौ भोलि नै पो ! म त बस्छ पो भन्दैथेँ त ।’

‘हैन आमा अब फेरि चाँडै फर्किहाल्छु नि ।’

‘नापिस् पोइली पनि तेसै भन्थिस् ,यत्रा वर्षमा बल्ल मुख देखाइस् । अब त म मरेपछि होला ?’

‘अब पैलाजस्तो गर्दिन आमा ।’

‘के था र ? अब के गर्नू त जान्छस् नै, जा ।’

‘आफ्नो जिन्दगानी राम्रो बनाउनु, अर्थोक त के भन्नु र । माया चाइँ नमारेस् है बा !’

‘हवस् आमा ।’

 

प्रतिक्रिया
Loading...