साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कान्छी बुहारी

सासूले दुई हात जोडेर बुहारीलाई भनिन्, “मलाई माफ गर ! दाहिने र देब्रे दुवै खुट्टा उतिकै रहेछन् । मैले तिमीलाई भित्र्याएको दिनदेखि कहिल्यै राम्रो गरिनँ, छोराछोरी उतिकै रहेछन् ।”

Chovar Blues Mobile Size
पवित्रा सुवेदी

नेपालको पूर्वी भागको ग्रामीण क्षेत्रमा एउटा भालुढुङ्गा भन्ने ठाउँ थियो । त्यहाँ खासै बाक्लो बस्ती पनि थिएन । भालु ढुङ्गामा पहिलेदेखि नै बस्ने एक जना हजुरबुवा खडानन्द भन्ने हुनुहुन्थ्यो । हजुरबुबाका सात भाइ छोरा र पाँच बहिनी छोरी थिए । खडानन्दकी अर्धाङ्गिनी भने अलि दुष्ट स्वाभावकी थिइन् । खडानन्दका छ भाइ छोरा र तीन बहिनी छोरीकको विवाह भइसकेको थियो भने कान्छो छोरो हरिलालको भने विवाह भएको थिएन । ग्रामीण परिवेश खेतीपाती र पशुपालन नगरी जीविकोपार्जको असहज थियो । खडानन्दका विवाहित छोराहरु छुट्टिएर बसेका थिए । घरमा बस्तु बाख्रा तथा खेती ठुलो थियो । दुई अविवाहित छोरीहरु भए तापनि गोठ तथा मेलापातको काममा खासै चासो देखाउँदैनन् थिए । खडानन्दकी श्रीमती पनि काममा खासै मन लगाउँदिन थिइन् । गोठ तथा मेलापातको काममा बा र कान्छो छोराको खटाइ अलि बढी नै थियो । एक दिन अचानक खडानन्दका घरमा उनका मामाका छोरा पाहुना आए । भाञ्जा दाजुको दुख देखेर उनको मनमा पर्न सम्मको पिर पर्‍यो । उनले दाजुको दुख देखेर कान्छाको बिहे गर्न सुझाए साथै एउटी सुकन्या आफ्नो सम्पर्कमा रहेको र कान्छोको विवाह उनीसँग गरिदिने समेत प्रस्ताव राखे ।

खडानन्दलाई यो प्रस्ताव सही लाग्यो, हिरिलाल समेत यो कुरामा सहमत भयो । दुई दिनपछि तिनै सुकन्याको हात माग्न जाने निर्णय भयो । केटीको घर मामाको घरदेखि नजिकै रहेछ, मामाको छोराको घरमा गएर बस्ने र त्यहाँबाट सुकन्याको घरमा जाने निर्णय भई यो कुरा पल्ला घरे काकालाई पनि सुनाइयो । दुई दिनपछिको कुरा हो हरिलाल बिहान तीन बजे नै उठेर पधेँरा गई स्नान गरेर पानी लिई घर आयो । पल्ला घरे काकालई बोलायो खाजा खाइ र झिसमिस उज्यालो हुन लागेपछि काका र हरिलाल मामाको घरतर्फ लागे । बिहानको मौसम चिसो थियो बस्दै बस्दै मध्यान्न बाह्र बजे मात्र मामाको घरमा पुगे । खानपिन गफगाफ भए साँझ पर्न लागेपछि मामाका गाउँका एकजना बुद्धिजीवि दाजु, मामाका छारा, पल्लाघरे काका, हरिलाल कन्याको घरतर्फ लागे । केटीका बुबालाई बाटैमा भेटियो गफ गर्दै घरसम्म पुगे । सुकन्या भने घरधन्दा तथा चुलोचौकोको काममा व्यस्त देखिन्थिन् । भान्समा व्यस्त भएकी उनको कपडा अलि फोहोर भए तापनि अनुहारको सुन्दरतामा कुनै कमी थिएन । सधैँ पाहुना आउँदा मुस्कुराइरहने उनी आज पाहुना देख्दा थोरै मनमा चिसो पसेको थियो । ग्रामीण क्षेत्रमा हुर्किएकि लाछाले बाटेको लामो नागबेली जस्तो कपाल , स्याउ जस्ता गाला, मधुर मुस्कानसहितको मोहित बोली, किचनको कामले अनुहारमा मोसो दलिएको भए तापनि यसले उनको सुन्दरतामा कुनै पनि असर पारेको थिएन । उनले बाहिरका कुरा सुनेर आजका पाहुनाहरु मेरो हात माग्न आएका हुन भनेर उनले सहजै अड्कल लगाइन् । पाहुनालाई अम्खोरामा पानी ल्याएर दिइन् । पाहुना लगायत सबै जनालाई खाना खुवाइन्, केटीकी आमाले हरिलाललालाईन कुनै राजकुमार भन्दा कम देखिनन् भने हरिलाले समेत ती सुकन्या सोचेभन्दा कयौँगुणा राम्री पायो । गाउँका बुद्धिजीवि दाजुले आमालाई सोध्नुभयो, “आमा तपाईंको के छ विचार ? कस्तो लाग्यो त ?”

आमाले भन्नुभयो, “खै नानी अहिले नै बहे गर्ने उमेर पनि भएको छैन भर्खर सोह्र वर्षकी मात्र हुँदैछे ।“ बाहिरी रुपमा आमाले त्यो भने तापनि आमालाई भित्रभित्रै केटो खुब मनपरको थियो । खडानन्दका मामाका छोराले र पल्लाघरे काकाले खडानन्दको नाममा रहेको जग्गा जमिन सम्पति भएको भन्दा पनि बढाएर सुनाए, गाउँका बुद्धिजीवि दाजुले पनि केटीका बुबालाई एकान्तमा लगेर भनेर, “ बुबा हेर्नुहोस् केटो पढेलेखेको पनि छ, जग्गा जमिन पनि धेरै छ, छोरी एकदिन दिनै पर्छ यतिको कुटुम्ब आउँदा छोरी दिनुहोस्, केही समस्या हुँदैन । बुबाले सोच्नुभयो गाउँका यतिका बुद्धिजीविले भनेको वचन कसरी काट्नु, बुबाले आँखाभरि आँसु पार्दै हुन्छ भन्नुभयो । यसै बेला सुकन्याले खाना खान बोलाइन् । उनका घरमा जे थियो त्यही परिकारले सबैलाई सन्तुष्ट बनाइन्, खाना खुवाइन् र उनी धन्दामा व्यस्त भइन् ।

कुरा सुरु हुन थाल्यो, पल्ला घरे काकाले केटीलाई सोध्नुभयो, “ नानी के छ विचार तिम्रो ?” उनी केही नबोलेपछि बुबा आमाले विवाह गरिदिने निर्णय गर्नुभयो । सबै जना बिहेको दिन पक्का भएपछि खुसी भए । रात पनि निकै छिपिसकेको थियो । सबै जना आआफ्नो विस्तारातर्फ लागे । बिहान भालेक डाकसँगै हरिलाल, उसका काका, मावली दाजु र बुद्धिजीवि सबै जना आआफ्नो घरतर्फ लागे । खडानन्दलाई भने कुरा के भयो हाल भनेर मनमा कौतुहलता भएको थियो । यसरी नै आधा दिन बित्न लाग्दा हरिलाल र पल्ला घरे काका खुसी हुँदै आइपुगेको देखेर खडानन्दले आँगनको डिलमा आइनपुग्दै पल्ला घरे काकालाई कुरा के भयो भनी सोधे । पल्ला घरे काकाले पनि खुसी हुँदै यो घरमा पनि यो घरमा पनि अब छिट्टै दुलहीको आगमन हुने भयो भनेर सुनाए । खडानन्द पनि असाध्यै खुसी भए । यसरी नै विवाहको तयारीको कुराकानी हुन थाल्यो । बिहेको लागि निम्तो बाँड्ने कुराकानी हुन थाल्यो । बिहेको लागि निम्तो बाँड्ने कुरा भयो । खडानन्दका सबै छोराहरु आ॒आफ्नो क्षेत्रमा खटिए । दिनहरु बित्दै गए, सबै कपडा खानेकुरा मरमसला सबै ठिक पारे । घरमा भएका दुई वटा खसी काट्ने निर्णय भयो । उता केटीको घरमा पनि बिहेका लागि सबै कुरा तयार भइसक्यो अब बिहेको लागि दुई दिन मात्र बाँकी थियो । केटीलाई त जहाँसम्म पिर पर्छ नै । अर्काको घरमा जानुपर्ने कस्तो हुन्छ के हुन्छ । केटीको आमालाई पनि भित्रबाट नै गाँठो परेर आएको थीयो । घरमा सबृ जना पाहुना पनि आउनु भएको छ । हरिलालको बिहेको अघिल्लो दिन भयो, भोली बिहानै हरिलाल बेहुलो हुने र अरु गाउँलेहरु जन्ति जाने तयारीमा छन् । सबै जना पाहुनाहरु भेला भएका छन् । सबै जना बेहुलो अन्माएर नौमति बाजासहित रमाउँदै जन्ति जाँदै छन् ।

बेहुलीको घरमा पनि सबै जना आआफ्नो काममा व्यस्त छन् । कोही खाना पकाउँदै त कोही बेहुली श्रृङ्गार गर्दै छन् । यतिकैमा बिहानको १०।३० भएको थियो । बेहुलीको घरमा पनि सबै किसिमको तयारी भएसकेको थियो । त्यही बेला जन्तीहरु पनि नौमति बाजा सहित बिहे घरमा पुगे । गाउँलेहरु सबै जन्ति पर्सिन हतारिएका थिए । सबै मिलेर जन्ति पर्सिए । जग्गेमा कर्मकाण्ड सुरु भयो, गाउँलेहरु र जन्तिहरु नौमति बाजाको धुनमा नाच्न थाले । बिहेको भतेरमा पनि मिष्ठान्न भोजन गर्नेहरुको घुईँचो लाग्न थाल्यो । बिहेमा आउने जाने मानिसको पनि भिड उतिकै देखिन्थ्यो । उता कर्मकाण्ड पनि सकिन लागेको थियो । नाच्नेहरु पनि धुमधामसँग धुलो उडाएर नाचिरहेका थिए । बेहुली अन्माइयो जन्तीहरु त रमाउँदै थिए बेहुलीलाई भने कलिलो उमेरमा माइत छोड्नुपर्दा नरमाइलो लागेको थियो । जे भए पनि एकदिन अर्काको घरमा जानै पर्छ भनी चित्त बुझाउँदै आइन् । यता हरिलालको घरमा पनि सबै जना रत्यौली खेल्दै रमाउँदै थिए कतिबेला जन्ति आइपुग्छ भन्दै बाटो हेरिरहेका थिए । राती भइसकेको थियो, नौमति बाजासहित हल्ला गर्दै जन्ती खडानन्दको घरमा आइपुग्यो । सबै जना भेला भएर बेहुली भित्र्याउन लागे । खडानन्दकी श्रीमती भने बेहुलीलाई शिरदेखि पाउसम्म हेर्न थालिन् । यति भएपछि बेहुली भित्र्याउनका लागि मुल ढोकामा दियो र अन्य बत्तीहरु बालियो ।

sagarmani mobile size

खडानन्दकी श्रीमती चाहिँ यो बेहुलीले कुन चाहिँ खुट्टो अगाडि लगाएर भित्र पस्छे भनेर हेर्दै थिइन् । बेहुलीलाई केही थाहा थिएन उनले देब्रे खुट्टो अगाडि लगाएर ढोकाभित्र पसिन् खडानन्दकी श्रीमती हेरी रहेकी थिइन् , उनलाई रिस उठे तापनि समाजको अगाडि केही नभनी रिसले मुर्मुरिँदै बसिन् ।यसरी नै सबै काम सकेर सबै जना खानपिनतर्फ लागे। रात पनि निकै छिपिसकेको थियो ।खडानन्दकी श्रीमती रिसले आगो भएकी थिइन् । सबै गाउँलेहरु आआफ्नो घरतर्फ लागे । खडानन्दको घरमा पनि सबै जना आआफ्नो बिस्तारा तर्फ लागे । बिहान उज्यालो भयो खडानन्दका सबै बुहारीहरु मिलेत घर लिपपोत गर्न थाले । सबै गाउँका मानिसहरु भेला भएपछि प्रिति भोजको तयारीमा लागे । बिहे घरमा बाजा बजिरहेको थियो, नाच्नेहरु नाचिरहेका थिए, आउने जाने मानिसहरु दुलाहा दुलहीलाई आशीर्वाद दिइरहेका थिए । भोजनालयमा पनि खाने मानिसहरुको घुईँचो थियो । बिहे सकिँदा पनि खडान्दकी श्रीमतिलाई भने रिस मरेको थिएन । सबै जना गाउँले, घरपरिवार, दाजुभाइ, दिदिबहिनी हरिलालको बिहेमा खुसी थिए तर खडानन्दकी श्रीमतीलाई भने मनमनै लागिरहेकोछ कस्ति अलछिना बुहारी फेला परिछे । यो बुहारीभन्दा त बरु अरु नै बुहारी लच्छीनका छन् । अरु सबै जना नयाँ दुलहीसँग खुसी छन तर सासू आमा भने रिसले अनुहार रातो पारेर बसेकी छन् ।

हरिलालको बिहे सकियो सबैजना मिलेर बिहेको धन्दा तथा थान्को गर्न तर्फ लागे नयाँ दुलहीले समेत सघाइन । यसरी नै भालुढुङ्गाका सम्पूर्ण मानिसहरु खडानन्दकी बुहारीसँग खुसी भए तर नयाँ दुलही र सासूको भने दोहोरो कुराकानी भएको थिएन । दिनहरु बित्दै गए हरिलाल र उनकी श्रीमती माइत ससुराली पुगेर आए तर पनि सासूले बुहारीलाई एक आँखाले पनि हेर्न सकेकी थिइनन् । सासूले आफ्ना छोरीहरुलाई यो कुरा सुनाइन् । यो कुरा खडानन्दलाई पनि सुनाइयो । यो कुरा थाहा भएपछि दुलही सबैकी आँखाको तारो भइन् । नन्द आमाजू पनि दुलहीसँग झर्कन रिसाउन थाले । राम्रो वचनले एक पटक पनि बोलाएनन् । हरिलाल आफ्नै काममा व्यस्त हुन्थ्यो, दुलहीको त्यति ख्याल गर्न भ्याउँदैन्थ्यो । बिहे भएको एक महिना बित्यो दुलहीले केही गर्दा पनि घर परिवारलाई खुसी बनाउन सकिनन् । उनी बिहानभरि घाँस काट्थिन् , दिनभरि दाउरा खोज्थिन् । मेलापात पनि उत्तिकै भ्याउँथिन् । उनको जाँगर देखेर गाउँलेहरु पनि सबै छक्क पर्थे तर उनी थाकेर घरमा आउँदा खेरी घरमा खाना हुँदैन थियो ।

यसरी नै वचन खाँदै पिडा सहँदै उनका दिनहरु बित्दै गए । एकदिनको कुरा हो, दुलही बिहान उठ्दाखेरि नै अस्वस्थ्यजस्तो भयो तर उनको कसैले पनि ख्याल गरेनन् । दुई चार दिनपछि थाहा भयो उनी त दुई जिउकी रहेछन् । हरिलाल सोझो आफ्ना दिदी बहिनी र आमालाई केही भन्न सकेन । दुलहीको पनि उमेर सानो छ घरमा शान्ति पनि कहिल्यै हुँदैन भनेर हरिलाललाई साह्रै पिर लाग्थ्यो । दुलही घाँस काटर आउँदा बुहारीले कति घाँस ल्याइन् भनेर हेर्ने गर्थिन् , उनकी सासू । बिचरी दुलही दुई जिउकी थिइन् कसरी धेरै घाँस ल्याउन सक्थिन् र आमाजू नन्द पनि उनलाई नै डकेर काममा लगाउँथे ।

एक दिनको कुरा हो दुलहीलाई अलि असहज भएको थियो । औँसीको दिन रहेछ बुहारीको पेट पनि सात महिनाको भएको थयो बिहान उठेर घर लिप्नुपर्ने रहेछ दुलहीलाई औँसीको दिन भनेर थाहा भएन । उनले आठ बजे सम्म पनि घर लिपेको नदेखेर सासू, आमाजू र नन्दले गाली गरे सासूले भनिन, “ए चोथाले, आठ बजेसम्म पसारिएर यतिञ्जेल घर नलिपि बस्छेस्, तँलाई माइतमा आमाले केही सिकाएको छैन अलछिनि, भित्र्याउँदा पनि अलछिना लगाइस्, यस्ता शब्दले गाली गरिन् । हरिलाल पनि घरमा थिएन । दुलहीले नरम स्वरमा भनिन्,” थाहा भएन आमा मलाई, अब लिप्छु बिहान पनि पेट दुखेर उठ्न सकिनँ ।” दुलहीको यो कुरा भुइँमा खस्न नपाउँदै सासूले भनिन्, “ए तँ बिरामी भएकी होस्, थकाई मार्न पो सुतेकी रझ। कहीँ नभएकी ढाडमा घाम लागिन्जेल सुत्छेस् ।” सासूले यसो भनेपछि आँखाभरि आँसु बनाउँदै सुलही घर लिप्न थालिन् ।

दुलहीले तिनै वचनहरु सम्झँदै घर लिपिन् । नन्द, आमाजू, सासू दुलहीको बारेमा भए नभएका कुराहरु खडानन्दलाई सुनाउँथे । हरिलाल घरमा नभएका बेला सासू, ससुरा, नन्द, आमाजू भएर कराउँथे । अरु बुहारीको मात्र राम्रो कुरा गर्थे । अचानक एकदिन दुलहीलाई अधिक पीडा भएपछि मर्ने निर्णय गरिन् । घाँस काट्न जाँदा झुण्डिएर मर्ने भनेर सोचिन्, उनी जङ्गलमा गइन्, गाउँस काटिन् र धेरै कुरा सोचिन्, ती दुई सासू र सुसुराको पिरले म यसरी हिम्मत हारेर मर्दिनँ, म मरे भने मेरो पेटमा भएको बच्चाको पनि पाप लाग्छ । उनी यति सम्झेपछि घाँसको भारी लिएर घरमा आइन । घरमा आउँदा हरिलाल खाना खाएर बस्तुको गोठतिर गइसकेको थियो । यसरी नै उनका दिनहरु बित्दै गए । माइत जाने एकदिन पनि फुर्सद हुँदैन थियो । उनी सासू ससुरालाई पनि भन्न सक्दिन थिइन् । बच्चा हन्मिने समय पनि हुन लागेको थियो । उनी पहिले जति काम गर्न सक्न छाडेकी थिइन् । घरमा दिनहुँ सासूको वचन सुन्नुपर्थ्यो । खडानन्दलाई पनि बुहारीसँग साह्रै रिस उठ्थ्यो । श्रीमतीले भनेका कुराहरु सबै सही लाग्थ्यो । दुलहीलाई राती एक बजे सुत्केरी बिराम लाग्यो, उनले हरिलाललाई भनिन् । हरिलालले आमा बहिनी दिदीलाई बोलायो र सबै जना भेला भइसकेपछि बच्चा जन्मियो । सासू आमाले छोरा हो कि छोरी हो भनेर हेरिन, दुलहीलाई भने कलिलो उमेर भएर कठिन परिरहेको थियो । सासू भने दुलहीले छोरी पाइन भनेर रिसले मुर्मुरिरहेकी थिइन् ।

हरिलाल, नन्द, आमाजू भएर दुलहीको लागि तातो खानेकुरा बनाए, खुवाउँदा सासूले एक आँखाले पनि देखिनन् । सबै गाउँले पनि हरिलालकी छोरी जन्मिएपछी खुसी भए । सासू भने रिसले आगो भएकी छन् । पहिले भन्दा नन्द, आमाजू र सासूले बुहारीलाई अझ हेप्ने समय समयमा खाना खान नदिने गर्न थाले छोरी जन्माउने सन्तान भनी दुलहीलाई अझ तिरस्कार गर्न थाले । यसरी नै दुलही रुँदै दिनरात काटिरहेकी थिइन् । दुलहीको माइतबाट दुलहीलाई हेर्ने भनेर दुलहीका बहिनी र दाजु आए, सासू भने रिसाएर ती बहिनी र दाजुलाई फर्केर पनि हेरिनन्, एक वचन पनि बोलाइनन् यसरी नै दिनहरु बित्दै गए, दुलही पनि बाइस दिनकी सुत्केरी भइन् र घरको कामतर्फ लागिन् । सासूले भने वचन लगाउन छोडिनन्, दुलहीले नानीलाई त्यति समय दिन पाइनन् । घरको घाँस दाउरा खेती पातीले गर्दा, दुलही नानीलाई कोक्रोमा सुताएर खेत बारीमा काम गर्न जान्थिन् । नानी बिउँझेर रुँदा पनि कसैले कोक्रो हल्लाउँदैनन् पनि थिए । बिचरी छोरी र दुलहीका दिनहरु यसरी नै बित्दै गए ।

सानी छोरी पनि छ महिनाकी भइन् । यति समयसम्म पनि दुलहीले नन्द, आमाजू र सासूको माया पाएकी छैनन् । अचानक एकदिन सासू बिरामी भएर ओछ्यानबाट उठेर निस्किन नसकिरहिछन् । दुलहीले सासूको हात समातेर डोर्‍याउँदै बाहिर ल्याइन्, चिया, खाजा खाना बनाएर खुवाइन्, उपचारको लागि वैद्य बोलाउन हरिलाललाई पठाइन्, वैद्य आएर सासूलाई केही औषधि दिए र वैद्यले भने अब म केही औषधि थपिदिन्छु । अब यो कुरा सुनेपछि सासू ,“अब मलाई कसले हेर्छ ।” भन्दै रुन थालिन् । दुलहीले भनिन्, “आमा म छु त हजुरलाई स्याहार चाकर गर्ने किन रुनुहुन्छ अब तपाईँलाई स्याहार चाकर गर्न अरु बुहारी आउँदैनन् । म छोरी जन्माउने बुहारीले नै तपाईँको स्याहार चाकर गर्छु, छोरा जन्माउने बुहारी त कुरा मात्र ओसार पसार गर्ने हुन् । बुहारीले यो कुरा भनेपछि सासूले दुई हात जोडेर बुहारीलाई भनिन्, “मलाई माफ गर ! दाहिने र देब्रे दुवै खुट्टा उतिकै रहेछन् । मैले तिमीलाई भित्र्याएको दिनदेखि कहिल्यै राम्रो गरिनँ, छोराछोरी उतिकै रहेछन् ।” दुलहीले दिएको तातो खाना सासूले आँखाभरि आँसु बनाउँदै खान थालिन् ।

प्रतिक्रिया
Loading...