सायद मनको रङ्ग नै हो, जो मुहारमा झल्कन्छ | नत्र त मान्छेको शरीर स्वस्थ हुँदाहुँदै पनि अनुहार किन मलीन देखिन्छ ?  एक उदासिनता, परास्त भाव किन प्रतिबिम्वित हुन्छ ? यसलाई यसरी पनि भन्न सकिन्छ कि हाम्रो शरीरको चालक भनेको मन हो । या शरीर शरीर मनद्वारा नियन्त्रित हुन्छ।

के मनचाहिँ स्वतन्त्र हुन्छ ? या मन पनि कतैबाट नियन्त्रित या उत्तेजित हुन्छ ? यदि नियन्त्रित नहुँदो हो त हामीले भावावेशमा उत्तेजित भएर कति आत्मघाती र निर्मम निर्णयहरू लिनुपर्ने अनुभव संगाल्नु पर्ने पक्कै थिएन । या उत्तेजनाको कारण अरू केही हो ? के कोही आफ्नो मनको अन्तिम सिमासम्म आफैँ पुग्न सक्ला ?

सम्झन्छु, बुद्दका वाणिहरू | के होला त्यो तत्व जो मनको पनि मालिक हो, र त्यो असिम प्रेम र करुणाको सागर पनि हो ?

यस्तै चिन्तनमा डुबिरहेको थिएँ, प्रमिला आइपुगिन् ।

प्रमिला अर्थात् मेरी प्रेमिका, मेरी श्रीमती | उनी सधैँझैं प्रेमपूर्ण रूपमा झर्कियझैं गरी मेरो उदासिनताबाट दिक्क भएझैं निधार खुम्चाउछिन् | उनको ललाटमा मुजा परेको प्रस्ट देखिन्छ | नासिकाले केही गन्हायको जस्तो महशुस गर्छन्- “ सधैँ टोलायर बसेको मात्र देख्छु | हैन ! भ’कोचैं के छ हँ तपाइँलाई ? न केही कुरा सेयर गर्नुहुन्छ, के भ’को तपाईंलाई ? श्रीमान-श्रीमती भन्नूमात्र ! सँगै बसेको भन्या छ, एक्लै एक्लै बसेको जस्तो । म पनि छु भन्ने पनि बिर्सनुहुन्छ ? उफ् !”

केही प्रतिक्रिया खोजेझैं एकैछिन छेउमै उभिन्छिन् | यद्यपि उनीले मबाट नजर हटाएर आफ्नो हातका औंलाको पालिस कोट्याएझैं गर्छिन् । म भने मुर्तिवत छु, केही उत्तर नपाएपछि उनी भान्सा पसिन् ।

यस्तै छु, केही प्रतिक्रिया दिइहाल्दिनं, दिएछु भने पनि हजिर-जवाफी,  उल्टो पाल्टो पारेर । केही कुरामा गम्भीर नभए जस्तो, महत्व नदिए जस्तो । सायद मेरो व्यवहर नै यस्तै होला ! जोसँगै बस्ने मान्छेलाई दिक्क बनाउँदो हो ! के भनूँ ? भनेर पनि कसले बुझिदिन्छ, जीवनको सुरुवातदेखि नै चिडिया घरको पिन्जडामा थुनेर राखिएको पखेटा हुँदाहुँदै पनि उड्न नसक्ने एक खगको व्यथा !

अनि खै के भएको छ, अचेल एक पागलपन सवार भएझैं उल्टा-उल्टा छन् मनोभावहरू पनि । कि कसैले चोट पुर्याइदिए पनि हुने, ठेस लागेर लड्न पाए पनि हुने, ता कि एक सचेतनता जागिराख्न पाओस् ।

दु:खले छोइरहोस्, हृदय तरल भइरहोस्, आँखा आँसुले भिजिरहून, लागिरहन्छ । त्यसैले त यताउता चहारी रहन्छु, व्यथाहरू कोट्याइरहन्छु । म मृत्युको पुजारी पो हुँ कि ! सायद त्यसैकारण जीवनको परमार्थको खोजी हुँ, उपासक पनि हुँ |

मैले देखेको मनको श्रीङ्गारका आधारभुत कुराहरू भनेको चोट, घाउहरू नै हुन् | जसले सुखको नशामा डुबेर भिडमा हराउन दिदैनन्, एक अद्भूत जागरणसाथ यात्राबाट विचलित हुन दिदैनन्, र झकझोरी राख्छन् । प्रिय लेखक खलिल जिब्रानले आफ्नो पुस्तक, “द प्रोफेट“ मा भनेका छन्, “दु:खको गहिराइ नै सुखको आधार हो ।”

हो, मलाइ पनि यस्तै लाग्न थालेको छ ।

चोटहरूबाट भाग्नु भनेको आनन्द र खुसीबाट पनि भाग्नु हो । दु:ख र सुख भनेका त जीवनउद्दानका दुई अलग ऋतुहरू हुन, बसन्त र शिशिरजस्तै ।

सोचौँ त ! यदि शिशिरको उजाड वातावरण नहुँदो हो त बसन्तमा नव्य-नव्य पालुवाहरू पवनका झोकाहरूसँगको दिव्य नृत्यको अनुपम सुन्दरता कहाँ दृष्टिगोचर हुन्थ्यो र ?

चोटहरूले अवश्य नै पीडा दिन्छन, यद्यपि रसदार एकदमै कोमल, मीठो पीडाजस्तो, मातृस्नेहले लतपत शिशुले आमाको कोखमा चोट मारेझैँ ।

यत्तिकैमा प्रमिला खान बोलाउछिन्, “लौ, अझै यहीँ हुनुहुन्छ ? एक घण्टा भइसक्यो | मैले खाना पनि बनाइसकें । कि सोच्न थालेपछि खानु पनि पर्दैन ?”

“सधैँ पिन्जडाभित्रै कति खानु, म चाबी खोज्दै थिएँ के !“, मैले भनेँ |

“उह् ! अब सरको दर्शन सुरु भो, जति दर्शन छाटे पनि पेट त भर्नु पर्ला नि ?“ उनले भनिन् |

मैले व्यङ्ग्यात्मक मुस्कान दिँदै भनेँ, “म मनको भोको छु प्रिय, प्यासी-प्यासी छु | कहिलेकाहीँ मनको भोजन पनि पकाउन मिल्दैन ?“

“धेरै हावा कुरा नगर्नु ! झन् आज एउटा फिल्म हेर्ने भनेको मैले, कहिल्यै मान्नुहुन्न है ?“

“हो, मैले पनि त्यही भनेको के ! पिन्जडा तोडेर खुल्ला आकासमा स्वतन्त्र विचरण गरूँ, पहाडका चुचुरा हिमालका शिखरहरूको दर्शन गरूँ !”, यति भन्दै मैले उनीलाई अङ्गालोमा बाँधेर ललाट चुमेँ, अनि हामी दुवै भान्सा पस्यौँ…