यसरी अचानक म घर पुग्दा बुबा, आमा र स्वास्नी अचम्म मान्नेछन्‌ भन्ने मलाई थाहा थियो “र साँच्ची नै त्यस्तै भयो । एकाएक म त्यसरी घर आउनेछ भन्ने न बुबाले सोचेका थिए, न आमाले न स्वास्नीले ।

“हामीले त सोचेका थियौं अब तै फकिन्नस्‌, हामीलाई बिर्सिसकिस्‌ भनेर“ आमाले भनिन्‌ । उत्तरमा म चुप लागें बरु बुबाले भने, “घर पो त ! त्यसै बिर्सन सक्छ? एक दिन रिस उठ्छ, दुई दिन रिस उठ्छ, मैले त भनेकै थिएँ नि रिस मत्थर भएपछि आउँछ भनेर ।” मैले स्वास्नीको अनुहार हेरें, ढोकाको छेउमा एकदम चुपचाप मलाई हेरिरहेकी छिन्‌ आँखाभरि धेरै प्रश्नहरू छन्‌ भन्न सकिरहेकी छैनन्‌ । मलाई लाग्यो- छ महिनासम्म बिनाखबर म बेपत्ता भइदिँदा तिनले मनमा उठेका थुप्रै ज्वालामुखीहरू मनमनै दबाएर राखेकी होलिन्‌ । यतिखेर बुबाआमाको अगाडि उठेका धेरै प्रश्न छन्‌, तिनलाई भन्न सक्ने स्थितिमा छैन ।

आमाले भनिन्‌, “तेरो बुबाको बानी नै यस्तो छ, म कत्ति भन्छु बढेको छोरालाई गाली नगर्नुस्‌ भनेर…जे होस्‌, तँ आइस्‌, तँ नहुँदा यो घर नै शून्य लाग्थ्यो ।”

“मैले के नै भनेको थिएँ र ? म पनि त अब बूढो भइसकेँ घर लथालिङ्ग छ। यसले समाल्नुपर्यो । यत्ति पनि भन्न नहुने मैले ? यत्ति भन्ने अधिकार पनि छैन ? … ल भैगो मैले भूल गरे…।” बुबाको वाक्य पूरा हुन नपाउँदै आमाले भनिन्‌, “भैगो नि भैगो । जे भयो भयो… छोरा आउन पाएको छैन फेरि गन्थन सुरु ।”

अशेष मल्ल

“ठीक छ नि त, अबदेखि म केही बोल्दिनँ । तिमीहरू जे-जे मन लाग्छ गर हेर् छोरा ! हामीलाई त दिनानुदिन बुढेसकालले छुँदैछ । मैले जेजति गरे तेरै लागि गरे, केही सम्पति जोडे । पछि छोरानातिले दुःख नपाउँन्‌ भनेर परिश्रम गरें । अलिकति कमाएँ । तैंने मन लगाएर घर थामिस्‌ भने तेरै लागि हो…।“

“ल… ल हातमुख धो, आउन पाएको छैन गन्थन सुर, अरू गन्थन भरेभोलि गरै पनि हुन्छ । …दुलही ! खाजा बनाउ । कहाँदेखि हिंडेर आएको भोक पनि लागिसक्यो होला ।“

मैले आमाको अनुहार हेरें त्यो वृद्ध अनुहारमा खुसीका लहरहरू त छँदैछन्‌ त्यो भन्दा बढी मैले के देखे भने आमालाई श्अब पूर्ण विश्वास भइसकेको छ अब म घरबाट फेरि कतै जान्नँ, बेपत्ता हुँदिनँ, यहीँ उनीहरूसँगै बस्छु भन्ने ।

“तँ छ-छ महिनासम्म बेपत्ता भइस्‌ न चिठी न कुनै खबर । तेरी आमा दुई-तीन महिनासम्म त बहुलाही जस्तै भई ।” मलाई बुबासँग सोध्न मन लाग्यो,
“आमा त बहुलाही जस्ती भई अनि मेरी स्वास्नी नि !“  मलाई थाहा छ, मेरी स्वास्नीको पीडालाई यिनीहरू बुझ्न सक्तैनन्‌ । हुन सक्छ मेरो छ महिनाको
अनुपस्थितिमा बुहारीमाथि कति अत्याचारका पाइला चाले हुन्‌ !

“गाउँलेहरू सोधेका सोध्यै छन्‌ कस-कसलाई जबाफ दिने ? अब तँ आइस्‌ आफैँ जबाफ दे। कहाँ थिइस्‌, कसरी यो छ महिना बिताइस्‌, सबै विवरण
तँ आफै दे ।”

बुबाको भनाइप्रति मैले कुनै उत्तर दिनु आवश्यक ठानिनँ । बुबा भन्दै  थिए, “ते गएपछि आधा रोपनी जग्गा किर्ने, जग्गा अब्बलको छ । नहरको राम्रो व्यवस्था छ । तलको खेतमा पनि अर्को वर्षदेखि नहर आउने कुरा छ नहर आएपछि त्यो सुनको टुक्रा हुनेछ । मैले सोचेको छु, पोखरी खनेर माछा पालन गरूँ । तँ नहुँदा मन मरेर गइसकेको थियो । तँ आइस्‌ अब आफै सोच्‌ ।”

बुबा बोलिरहेका थिए, म सुनिरहेको थिएँ । साँझ ढल्कँदै गयो ।

कति छिटै बाहिर हल्ला फैलिसकैछ । छिमेकीहरू आए, प्रश्न सोध्न थालेँ । कतिको प्रश्नको उत्तर दिएँ, कतिको उत्तरमा मौन रहेँ । प्रायः सबैले सोधे, “छ महिनासम्म कहाँ थियौ ?”

मलाई थाहा थियो यसको जजाफ दिनुको कुनै औचित्य छैन । मँले सम्झेँ छ महिनाअछि बुबा र मेरो बीचमा घमासान वाक्युद्ध भएको थियो । धेरै वर्ष सम्म सहेर मैले त्यस दिन मुख फोरेको थिएँ। मेरी स्वास्नीप्रतिको बुबाआमाको व्यवहारको खुलेर विरोध गरेको थिएँ । त्यसै बेला मैले चाहेको थिएँ स्वास्नीलाई लिएर यो घरबाट कहीँ जाऔँ र दुवै यो कचकचबाट मुक्त होऔ । सायद त्यतिबेला मेरो आँट पुगेन । मलाई बुबासँग अंश मागेर छुट्टिनु मन लागेन । एक्लै निस्केर बेपता भएँ । मैले त्यसै दिन निर्णय गरेको थिएँ- कुनै गतिलो काम पाएपछि स्वास्नीलाई लिन आउनेछु । छ महिना बितिसकेछ ।

मैले खाटमा पल्टिएर सोचे- म छ महिनापछि एकाएक  घर आएँ, बुबा आमाको खुसीको सीमा छैन । उनीहरूलाई लागेको छ हब म यहीँ बस्नेछु, स्वास्नीलाई लिन मात्रै भ्राएको भन्ने थाहा पाएपछि उनीहरूको के अवस्था हुनेछ,मलाई थाहा छैन । स्वास्नी कोठाभित्र आइन्‌ मैले तिनको गम्भीर तर खुसीले भरिएको आँखा हेरेर भनेँ, “राधा ! यो छ महिना तिमीले कसरी काट्यौ ?” जवाफमा मसँगै बसेर तिनले मलाई हेरिन्‌, हेरिरहिन्‌ । केही बोलिनन्‌, मलाई थाहा थियो यसको उत्तर तिनको मौनताले नै दिइरहेको छ ।

“तपाईं गएदेखि आमाले एक छाक पनि राम्ररी खानुभएको छैन ।“

“अनि बुबा ?”

“बुबा त सधै भन्ने गर्नुहुन्थ्यो, मैले त्यसरी गाली गर्नु हुँदैनथ्यो ।“

“अनि तिमी ?”

“आब पनि त्यसरी जानुहुन्छ भने मलाई मारेर जानुस्‌ ।”

“मलाई थाहा छ तिमीले यस्तै जबाफ दिन्छ्यौ भनेर । म छ महिना हराएर यहाँ आएँ, तर यहाँ बस्ने गरेर आएको होइन राधा ! म तिमीलाई लिन आएको । पस पटक मेरो साथमा तिमी पनि हुनेछौ ।” मेरो कुरा सुनेर तिनी एकाएक अवाक् भइन्‌ । सायद त्यस किसिमको कुराको अपेक्षा गरेकी थिइनन्‌ । मैले भनें, “मैले सहरमा काम पाएको छु । अब उतै बस्ने योजना बनाएको छु ।”

“अनि बुबाआमा !”

“यो घर उनीहरुकै त हो ।”

“बूढाबूढी भइसक्नुभएको बुबाआमालाई छाडेर जाने किन सोच्नुहुन्छ ? यहाँ हामीलाई के कमी छ ?“

“तिमी आफ्ना लागि सोच, अरूको लागि होइन ।”

“कसलाई अरू भन्दै हुनुहुन्छ, बुबाआमालाई ? जाने कुरा नगर्नुस्‌ । तपाई यसरी आउनुहुँदा उहाँहरू कति खसी हुनुहुन्छ, जाने कल्पना पनि नगर्नुस्‌ । हामीले उहाँहरूलाई छाडेर गर्यौ भने उहाँहरू…” मेले तिनलाई हेरें तिनको आँखामा आँसु सलबलाउन थालेको छ। मैले केही सोच्न सकिनँ। मलाई त लागेको थियो, मेरो प्रस्ताव खुसी-खुसीले स्वीकार्नेछिन्‌ र भोलि या पर्सिनै हामी घर छाडेर जानेछौं ।

मैले भनें, “म जे भन्दैछु तिम्रै लागि भन्दैछु । तिमीले यो घरमा भोग्नुपरेको पीडा तिमी जतिसुकै लुकाऊ, मबाट लुक्न सक्तैनौ, सबै थाहा छ मलाई ।”

हामीले रातभरि कुरा गर्यौं । मैले घर छाडेर जाने कुरा गरें । तिनले यहीँ बस्ने जिद्दी गरिन्‌ । कुरा टुङ्गिएन । मलाई तिनको भावुकता मन परेन । म दृढ थिएँ तिनलाई लिएर सहर जानेछु । निर्क्योलमा मैले भने, “तिमी जेसुकै भन, हामी एक-दुई दिनमा सहर जानेछौं, आमाबुबालाई छाडेर, यो घरलाई छाडेर, यो गाउँलाई छाडेर, केवल तिमी र म।”

बिहान भयो । उठेर बाहिर गएँ, आमा ढोकानेर उभिएको थिइन्‌ । मलाई हेरिन्‌ । मैले आमाको आँखा एकटकले हेरेँ, मलाई एकाएक लाग्यो योभन्दा विशाल अर्को केही हुनै सक्तैन । किन किन म त्यसै-त्यसै पग्लिँदै गएँ । एकाएक आमालाई भनेँ, “आमा ! म अब तपाईंलाई छोडेर कहीँ जान्नँ ।”