लुप्पे मुडमा आउँछ र मलाई भन्छ — मिगो ! तु नेसेसितो उना सिन्योरिता आमिगा । सी ? (साथी ! तिमीलाई एउटा सुन्दरी गर्ल फ्रेन्ड चाहिएको छ । हो कि होइन ?)

ड्युटी सकेर मध्य रातमा कोठामा आएको छु । सधैँ यस्तै भन्छ लुप्पे । म यति खेर सुस्ताएको छु । मझैँ मेरो झन्डै एन्टिक भइसकेको कार पनि सुस्ताएको छ । गाडीबाट ल्युब आयल तप्प तप्प झर्दै छ । लुप्पेलाई भनेर टालटुल पारेको छु । यो लुप्पे सस्तो मेकानिक हो । उसलाई एक बट्टा चुरोछ र १२ बोटलको प्याक बियर दिएपछि गाडी बनाइदिन्छ । जाँदाजाँदै मलाई भन्छ — होला मिगो ! तु तेङ्गो मुचो त्रवाखो । मुचो दिनेरो । पोर्के नो नोयबो कार ? पोर्के नो सिन्योरिता ? (नमस्ते साथी ! तिमी यति धेरै काम गर्छौ । धेरै पेसा कमाउँछौ । किन नयाँ कार नकिनेको ? खोइ तिमीसँग सुन्दरी ?)

म उसलाई भन्छु — चाहिएकौ छ भनेर के गर्नु ? नेपालमा मेरी श्रीमती छिन् । छोराछोरी छन् । आमाबाबु हुनुहुन्छ । खर्चपानी पठाउनु पर्छ । यो पराइ मुलुकमा खर्च गरेर के गर्नु ? फिर्नु त फेरि आफ्नै देशमा छ नि ।

केही दिनपछि लुप्पेले काकाकी छोरी लिलीलाई लिएर आयो र मलाई परिचय गराउँदै भन्यो — यो साथी नेपालबाट आएको हो स्याम । यी मेरी कजन हुन् लिली । र, ऊ चिनियाँ हो, मेरो बहिनीको नयाँ ब्वायफ्रेन्ड । कस्तो ह्यान्डसम छ हगि ?

त्यसको केही दिनपछि दिउँसो स्विमिङ कस्ट्युममा चाङसँगै आएकी लिलीको दृश्यले मेरो काममद उत्कर्षमा पुगेको छ ।

लुप्पेलाई सम्झेको छु । ऊ भन्ने गर्छ — एक पल्टको हो यो जुनी । यो जीवन । रमाउन जान्नु पर्छ । कजनलाई मिलाइदिएको पनि आँट गर्न सकेनौ त ।

खेमराज पोखरेल

सोच्न थालेँ । उफ ! जिन्दगीसँग न म रमाएँ । न श्रीमतीलाई रमाउन दिएँ । न अरू नै रमाएको देखिसहेँ । तर यो लुप्पे र उसकी बहिनी र त्यो भाग्यमानी चाङ । उनीहरूको जीवन देखेर आहारिस लाग्यो । मेरो पनि दिमागमा आउन थाल्यो — एउटा जुनी हो यार !

सिरानेलाई तिघ्राका बिचमा कसिलो तरिकाले च्यापेँ । नरम भुवाको तिब्र स्पर्शले झन् कामाग्नि जब्बर हुन थाल्यो ।

संयोगले त्यसै बेला नेपालबाट श्रमतीको फोन आयो — भो न, जति गरे पनि केही हुन्न । जिन्दगीको भ्यागुताको धार्नी कहिल्यै पूरा हुँदैन । आउनु अब । रोटोपीठो जे हुन्छ खाऔँला । सँगै बाँचौँला । सँगै नाचौँला । काँचा छन् हाम्रा जिन्दगीहरू । काँचो छालाले मोरेको छ जिन्दगी । अजम्बरी त होइन नि हाम्रो चोला ?’

म भने अमेरिका छिर्दाका घटना सम्झिरहेको छु । बिहे भएको दुई वर्ष पनि बितेको थिएन, एउटा नेतालाई बिनारसिदको मोटो चन्दा दिएर उनकै भ्रमण टोलीको सदस्यका रूपमा अमेरिका छिरेको हुँ म । श्रीमतीलाई सुदूरभविष्यको सम्पन्नता नामको ललीपपको प्रलोभन दिन्छु । उनले चित्त बुझाए पनि वा नबुझाए पनि उनीसँग अर्को विकल्प छैन । चाहेर न म नेपाल पुग्न सक्छु, न मेरी श्रीमती अमेरिका आउन सक्छिन् । यही पीडामा म हरेक रात सिरानेलाई श्रीमती सम्झन्छु र खुट्टा बोकाउँछु । चित्त बुझाउँछु — लिली त अमेरिकी स्वतन्त्रताकी एउटी मिथक हो ।

निकै गाह्रो गरी सुतेको थिएँ । श्रीमती आइन् । रुँदै थिइन् । अँगालो हालेर सुम्सुम्याउन खोजेको त उनी रति देवीमा रूपान्तरित भइन् । रति देवीको रूप विछट्ट सुन्दर थियो । अङ्ग्रेजी साहित्यकी क्लियोपेत्राभन्दा सुन्दरी थिइन् । आफ्नो सिल्की, लामो र कालो कपाल फिँजाएकी थिइन् । शरीर लचकदार सम्मोहन गर्ने खालको थियो । हँसाइले ‘मै हुँ’ भन्ने तपस्वी पनि ठहरै हुने याने कि मोहमा पर्ने खालको थियो । त्वचा सङ्गमरमर जस्तै टल्केको थियो । आँखा मृगनयनी थिए । अनुहार धेरै वटा मूर्तिकारले मूर्तिकलाको शास्त्रका आधारमा बनाएको सर्वोत्कृष्ट सिङ्गल पिस जस्तो थियो । मांसपेसी कसिलो र सुकोमल देखिन्थ्यो । अधरबाट अमृत चुहिएला जस्तो थियो । चोलाबाट निस्कन खोज्ने वक्षस्थलका आकारीय परागले लोग्नेमान्छेका मनमस्तिस्कलाई त्यतैतिर एकाग्र गराएका थिए । बाहु कसिला, सुकोमल र चट्ट मिलेका थिए । यहाँसम्म कि उनको गाउनले छोप्न नभ्याएका पिँडुलाले समेत सौर्य फ्याकिरहेका थिए । फरिया र चोलाको बीचमा देखिएको श्वेत नाभी नै सम्मोहनका लागि पर्याप्त थियो । समग्र रूप यति विलासमय आकर्षक थियो कि जादुटुनाकी प्रतिमूर्ति जस्तै लाग्दथिन् ।

म रतिदेवीको सौन्दर्यपान गर्दै थिएँ । यत्तिकैमा आकाशबाट रतिदेवीको लोग्ने कामदेव क्षतविक्षत शरीरसहित भूइँमा फ्यात्त खसे । शरीर तथा छातिबाट ह्वालह्वाली रगत बगिरहेको थियो । कामदेवलाई आँगनमा लमतन्न सुताइयो । उनी अन्तिम श्वास फेर्दै थिए । कामदेवको त्यो विद्रुप रूप देखेर रति देवीले सोधिन् — हे परम वीर ! कसले यस्तो हाल बनायो तिम्रो ?

कामदेवले भने — त्यो छुसी विष्णुले छल गरेर तिम्रो सतित्व नष्ट गरिदियो । तिम्रो सतित्वमा अडिएको मेरो प्राणमाथि महादेव भन्ने पिचासले बाण प्रहार गरेर मेरो यो हाल बनायो ।

रति देवी विलौना गर्न थालिन् — हे छुसी विष्णु ! हे कायर विष्णु !! तैँले मेरै पतिको अनुहार धारण गरेर मेरो सतित्व हरण गरिस् । छल गरिस् । तेरो भलो नहोस् । तेरा अनुयायीको भलो नहोस् ।

म भने कामदेवलाई एकाग्र भएर हेरिरहेको थिएँ । चौडा छाती थियो उसको । मुहारमा दिव्य चमक थियो । बर्सौँ जिम गरेर बनाइएको जस्तो सुडौल शरीर थियो । उच्च ललाट थियो । लाग्दथ्यो उसको काम पुरूष अझै ललकार गरिरहेको थियो । ऊ दिव्य पुरष लाग्दथ्यो । उसको समग्र शरीरबाट यौनाग्नि प्रकट भइरहेको थियो ।

यस्तो विद्रुप अवस्थामा एकाएक कामदेव बोलेका थिए — हे रति देवी ! तिमीलाई थाहा छ कि म मृत्युवरण गर्दैछु । मृत्यु पनि जन्म जस्तै एउटा शाश्वत सत्य हो । आऊ, मरणभन्दा पहिले अन्तिमपल्ट यही लोकमा तिमीसँग एउटा ऐतिहासिक सम्भोग गर्न चाहन्छु म । तिमीसँगको सम्भोगभन्दा सुन्दर र आनन्ददायी क्षण मेरा लागि अरु केही छैन यो संसारमा । तिमीसँगको यौनानन्दका लागि म यो सांसारिक लोकमा हजारपल्ट जन्मन र मर्न तयार छु । तिमी जति किमती वस्तु कुनै छैन यो त्रिलोकमा ।

रति देवीले रूँदै जवाफ दिँदै थिइन् — हे कामदेव ! हे कामुकताका राजा कामदेव ! मेरा पति कामदेव ! जिन्दगीभरि तिमीसँग गरिएको सम्भोगले मेरो रूपको निर्माण भएको हो । परम यौनानन्दले मेरो सौर्यको निर्माण भएको हो । तिमी नभइदिएको भए यो रतिरूपको के काम ? त्यो त गुम्सिएर पीडामा रूपान्तरण हुन्थ्यो । तिमी मेरो जीवनको अनमोल रत्न हौ । तर अहिले म तिमीसँग सम्भोग गर्न सक्तिनँ । मेरो सतित्वलाई त्यो छली विष्णुले तिम्रो शरीरलाई जस्तै क्षतविक्षत बनाइदिएको छ । मलाई माफ गर मेरो देवता । क्षतविक्षत अपवित्र योनि लिएर म तिमीसँग सम्भोग गर्न सक्तिनँ ।

श्रीमती र रति देवीलाई छुट्याउन खोजेँ । श्रीमती त मेरो त्यही थोत्रो गाडीका छेउमा उभिएर मलाई नै भन्दै थिइन् — यही ल्युब आयल छाद्ने गाडी लिएर जिन्दगी कटाउने तपाईँको चोक्रे सोचले नै हामी दुवैको जीवन बेकार भयो । कुरा बुझ्नु भयो ?

श्रीमतीसँग नजिक पुगेँ र सुम्सुम्याउन खोजेँ । अलप भइन् र रति देवीमा समाहित भइन् । उता कामदेव मेरै श्रीमतीलाई अगाडि राखेर भन्दै थिए — हे सुन्दरी रति देवी ! यो संसारमा योनि कहिल्यै अपवित्र हुन सक्दैन । योनि भन्नु देवत्व हो । संसारको नियमीतताको कारण मात्र होइन, यौनानन्दको सर्वस्रोत हो । छलले भङ्ग गरेको हुनाले तिम्रो सतित्व नष्ट हुन सक्दैन । हुँदैन । आँखाका खारे रागले तिम्रो सतित्वलाई केही खालो सार्न सक्दैन ।

शरीर मेरी श्रीमतीको र स्वर रति देवीको सुनियो — हे वीर पुरूष ! त्यो विष्णुले झुक्याएर मेरो सतित्वहरण गरेको छ । वलात्कार गरेको छ । म त्यो ‘म त्यो वलात्कारको पीडा खप्न नसकेर द्रवित भएकी छु । बिटुलिएकी छु । तिम्रो मृत्युको कारण पनि त्यही मेरो बिटुल्याइ हो । म तिमीबाट अलग हुन सक्दिनँ । म पनि सति गएर तिमीसँग अर्को जुनीमा सँगै हुन चाहन्छु । अहिले पवित्रताको लागि तिम्रै चितामा अग्निसमाधि लिन चाहन्छु ।

कामदेव बोले — रति देवी ! हे सुन्दरी, तिमी प्रेमकी देवी हौ । तिमीलाई देखेपछि कामुकताबाट ग्रसित नहुने कुनै पुरूष नै हुन्न । तिम्रो सौन्दर्यबाट निस्कने रतिरागले नै यो संसार यौनानन्दमय भएको छ । तिमी संसारका मान्छेको यौनानन्दकी देवी हौ । तिमीलाई युगौँयुगसम्म यौनकी देवी भनेर पूजा गरिन्छ । तिमीभित्र दन्किरहने रतिज्वालाले म वशीभूत भएको छु । यो आवेगलाई खप्न सक्तिनँ ।

रति बोलिन् — हे कामुकताका राजा ! मलाई थाहा छ प्रिय । तिमीजस्तो वलशाली र सौर्य पुरूषले नै मेरो रतिज्वालालाई समन गर्न सक्छ । ममा असीम रतिराग समाहित भएको छ । रतिप्रेम जत्तिको सुन्दर केही छैन संसारमा । तर म आज ती सबै मेरा रागहरू आगोका लप्कामा डढाइदिन्छु । र तिमीसँग अर्को जन्ममा महारति भएर जन्म लिन्छु । तिमी महाकामदेव भएर जन्मने छौ । त्यो बेला महारतिमा लिन हौँला हामी । तर अहिले म अग्निशुद्धिमा लाग्छु । अग्निसमाधिमा लीन हुन्छु ।

कामदेव बोले — यति बेला रतिकर्म मेरो लागि सौखको विषयमात्र होइन, अन्तिम बेलाको कामेच्छा हो सुन्दरी । तिमीसँगको रतिक्रिडाको कल्पना मात्रले पनि ममा असीम उत्तेजना आइरहेको छ । मृत्युवरण गर्न लाग्दा पनि म यौनानन्दमा अकल्पित आनन्द प्राप्त गरिरहेको छु । तिमीलाई थाहै छ हे सुन्दरी ! म तिमीसँगको सम्भोगबिना मृत्यु वरण गर्न सक्दिनँ ।

रति बोलिन् — हे सौर्य पुरूष ! मेरा ती सबै रतिसौर्य तिमीबिना अधुरा र अपूर्ण हुन्छन् । तिमी अमूल्य हौ कामदेव । तिमीबिना म के पो गर्न सक्छु र ? तर आजको दिन पवित्रता प्राप्त गर्नु मेरो कर्मप्रधान ध्येय हो । तिमी बाँच्ने भएको भए यो अपवित्रताबाट मुक्ति पाउने अनेक तरिका पनि थिए । जलशुद्धि, स्थलशुद्धि र वायुशुद्धि पनि गर्न सकिन्थ्यो । तर तिम्रो यो पापी संसारबाट बहिर्गमन हुने भएपछि मेरा लागि अग्निसमाधि नै अपवित्रताबाट मुक्ति पाउने मार्ग हो । त्यस कारण आज म तिमीसँग रतिक्रिडा गर्न सक्दिनँ । मलाई माफ गर मेरा प्रिय सौर्य पुरूष ।

कामदेवले भने — ठीकै छ सुन्दरी । तिम्रो इच्छा नै मेरो जीवनको लक्ष्य थियो । भइरहने छ । मैले भनेँ नि, तिम्रो प्राञ्जल योनिसँग समागम नगरी म मृत्यु वरण गर्न सक्दिनँ ।

रति देवी बोलिन् — त्यसो भए हामी दुवैले अग्निसमाधि लिऔँ । हाम्रा यी शरीरलाई यही लोकमा बिसर्जन गरौँ । त्यसपछि हामी अग्निसमाधिपश्चात विशुद्ध पवित्र हुन्छौँ । अनि यिनै मान्छेले थाहा पाउने गरी आत्माआत्माको समागम गरौँ । सम्भोग गरौँ । त्यसो भएमा मान्छे हाम्रो समागम देख्न र हेर्न जुनीजुनी लालयित होइरहन्छन् ।

योनि पूजाका लागि सरदम तयार भयो । कामदेवले योनिको विधिपूर्वक पूजा गरे । रतिदेवीले कामदेवको लिङ्ग पुजन गरिन् । कामदेव चितामा बसे ।
चितामा बसेकै बेला कामदेवले रति देवीलाई भने — ठीक छ संसारकी सर्वसुन्दरी मेरी प्रिया रतिदेवी । आज म तिमीलाई वरदान दिन्छु । तिमीमा रहेको रतिरहस्य रहस्यमै रहोस् ।

यो बेला कामदेवको लासलाई अँगालेर रति संसारप्रति रौद्र्र रूप देखाइरहेकी थिइन् । मेरी श्रीमती रति देवीकै छेउमा दिदीबहिनी झैँ बसेकी थिइन् । मान्छे भने बराम लागेर रतिदेवीको त्यो रौर्द्र रूपलाई हेरिरहेका थिए । वातावरण एकदम डरलाग्दो थियो । आकाशमा मेघ गर्जिरहेको थियो । त्यसले अशुभ दर्शाइरहेको थियो । रति देवीले हातमा श्रीखण्डको काठमा घिउ लेपन गरिएको अग्निज्वाला लिएर चितामा झोस्न लागेकी थिइन् ।

मैले हतारहतार रति देवीलाई सोधेँ — हे देवी ! म मान्छेको प्रतिनिधि हुँ । हे सर्वसुन्दरी ! अग्निसमाधि लिनुभन्दा पहिले मलाई रतिरहस्यका बारेमा केही बताइदिनु होस् । म युगयुगसम्म ती रतिरहस्यका बारेमा मत्र्यमण्डलका मान्छेहरूलाई शिक्षा दिने कर्म गर्नेछु ।

सो अग्नि प्रदान कर्मलाई एक छिन रोकेर रतिले विस्फारित नेत्रले मलाई हेरिन् र भनिन् — हे मान्छेका प्रतिनिधि मान्छे ! तिमीलाई थाहा छ नै होला कि यो संसारको सृष्टि देवीले गरेका हुन् । देवीको गर्भाशय हो । विर्य त गौण हो । रति भन्नुको तात्पर्य सन्तान उत्पादन मात्र होइन । रतिप्रेम भनेको यौनानन्द हो । तपस्वीले समाधि प्राप्त गरेझैँ आनन्द हो । त्योभन्दा ठूलो आनन्द संसारमा केही छैन । यो संसारमा देवीको महत्त्वका बारेमा हिन्दुशास्त्रले बताएका छन् । दिमागको स्रोत सरस्वती देवी हुन् । हृदयमा आउने माया ममता, सन्तानप्रति समपर्णकी देवी पार्वती हुन् । पेटकी देवी याने कि सम्पतीकी देवी लक्ष्मी हुन् । यौन याने रतिकी देवी म हुँ । यी सबैको तादात्म्यबाट दुर्गादेवीले शक्ति प्राप्त गर्छिन् । र मनुष्यलाई प्रदान गर्छिन् ।

मैले बिन्ती बिसाएँ — रतिरहस्यमा के के पर्छन् महादेवी ?

रति बोलिन् — रतिरहस्यमा रतिप्रेम, रतिशिल्प, रतियुद्ध, रतिआनन्द, रतिसूत्र, रतिआसन, रतिअपराध, रतिआवेग, रतिसमन सबै कुरा पर्छन् । कालनान्तरसम्म तिमीले मन्दिरका टुँडालमा मेरो र कामदेवको रतिक्रिडाका मूर्तिहरू देख्ने छौ । ती रतिक्रिडाका मूर्तिहरूको दर्शनले मान्छेमा असल भाग्य तथा जिन्दगीको सुखमय अवस्था देख्ने छन् । मेरो र कामदेवको रतिक्रियायुक्त मूर्ति हेरेर स्खलित हुनेछन् । रतिको कल्पना गर्नेछन् । यौनानन्दका लागि आतुर हुनेछन् ।

अनि मैले सोधेँ — हे रति देवी ! मेरा मनमा संशय छ । रति भन्नु र मैथुन भन्नुमा के फरक छ देवी ?

रति देवी बोलिन् — रति भन्नु आनन्द हो । त्यो आनन्दभित्र सबै रहस्य पर्छन् । तर मैथुन भन्नु रतिक्रीडामात्र हो । स्खलित हुने कर्ममात्र हो । मैथुन रतिक्रियाको एउटा सानो अंश मात्र हो ।

मैले तुरून्त सोधेँ — हे त्रिलोककै सर्वसुन्दरी ! रति भन्नु र सन्तान उत्पादन भन्नु एकै हो कि बेगल हो ?

रति बोलिन् — रतिरहस्यमा यौनानन्द प्राप्त हुन्छ । रतिलक्ष्य भन्नु रतिक्रिया हो । रतिभोग भन्नु यौनानन्द हो । तिमी मान्छे रतिज्ञ याने रतिप्रेमको शिल्पीय कलाले परिपूर्ण भयौ भने कामसूत्र, कामासन, तथा कामानन्दको प्रतीक बन्न सक्छौ । त्यसैले सन्तान उत्पादन रतिरहस्यको देखिने एउटा सानो परिणाम मात्र हो । म त यौनानन्दकी देवी हुँ ।

मैले पनि बुज्रुक भएर सोधेँ — हे देवी ! म झन् दुबिधामा परेको छु । रतिक्रिया नभई कसरी सन्तान उत्पादन हुन सक्छ र देवी ?

रतिले भनिन् — हे मुर्ख मान्छे ! मेरो आराधना त केवल यौनानन्दका लागि हो । एउटा कुराको दृष्टान्त लेऊ । के तिम्रो मत्र्यमण्डलमा सबै सम्भोगहरू सन्तान उत्पादनका लागि मात्र गरिन्छन् र ? हेर्दै जाऊ, तिम्रो संसारमा रतिक्रिया नभई पनि सन्तान उत्पादन हुनसक्छ मनुष्य । विर्य बैँकबाट विर्य खरिद गरेर पनि सन्तान प्राप्त हुनसक्छ । तर त्यसले यौनानन्द त दिँदैन नि ।

मैले सोधेँ — अनि हे रति ! पौराणिक शास्त्रमा रतिक्रीडाकै कारणले आमाको जन्म भएको कुरा लेखिएको छ । आमाको महत्त्व भन्नु रतिक्रीडाकै प्रतिफल होइन र महादेवी ?

रतिले भनिन् — हे मनुष्य ! तिमीले ठीक भन्यौ । यो संसारमा आफ्ना सन्तानलाई सबैभन्दा बढी माया गर्ने याने कि आफूलाई भन्दा बढी माया गर्ने आमा हुन् । मातृत्व हो । त्यसरी माया गर्ने आमाले आफ्नो सन्तानको अनुहार हेरेर आफ्नै रतिक्रीडा सम्झिन्छन् । आफ्नै रतिक्रीडाका पराक्रमी उद्दमबाट जन्मेको सन्तान हुनाले यो संसारमा ममत्वकी खानी भएकी हुन् आमा । सन्तान भन्नु रतिक्रीडाको गर्व हो । त्यस कारण हरेक आमा आफ्ना सन्तानप्रति गर्व गर्छिन् र असीम माया गर्छिन् । त्यो सन्तानले पाल्छ कि पाल्दैन, त्यो रूपमा, सौर्यमा, कर्ममा, शिलमा, पराक्रममा कमजोर भए पनि आमाको नजरमा सन्तान सर्वप्रिय हुनु आफ्नै रतिक्रीडाको गर्व हो ।

अब मसँग केही प्रश्न बाँकी थिएनन् । तर रति देवीको क्रोधाग्नी जब्बर तरिकाले बलिरहेको थियो । त्यो ज्वालामा त्रिलोक नै जलेर ध्वस्त भइरहेको थियो ।

उनी त्रिलोककै मान्छेलाई सरापिरहेकी थिइन् —

रति भन्ने विषय सधैँ रहस्य भएर बसोस् । संसारले यो प्राप्त गर्न धेरै ज्ञान हासिल गर्नु परोस् । धेरै मूल्य चुकाउनु परोस् । ठूलाठूला युद्ध होऊन् । रतिविचारलाई उदात्त बनाउन नसकून् मान्छेले । सन्तान उत्पादनलाई मात्र रतिसुख ठानून् । मान्छे सधै रतिभोकले तडपिरहोस् । रतिका बारेमा मान्छेले खुलेर कुरा गर्न पनि नपाऊन् । रतिअपराधले मान्छे ग्रसित होऊन् । रतिरस प्राप्त गर्नका लागि मान्छेले मान्छे मारून् । तिमी मान्छेहरूको यौनाग्नि कहिल्यै समन नहोस् । त्यही यौनाग्नीमा तिमीहरूले युगयुग तडपिएर बाँच्नु परोस् । मान्छेका लागि रतिरस दुर्लभ होस् । सधै अतृप्त भएर रतिपीडामा बाँचून् मान्छेका सन्तान ।

यसपछि रति देवी चितामा चढ्न तयार थिइन् । मैले श्रीमतीलाई एउटा आँखा झिम्क्याएर आफूतिर बोलाएँ । उनले केही मतलब गरिनन् । मैले श्रीमतीले सुन्ने गरी चर्को स्वरमा भनेँ — आऊ प्रिय ! म यहाँ छु । म तिमीबिना तप्ततप्त स्खलित भइरहेको छु । समागम गरौँ ।

मेरी श्रीमतीले भनिन् — म मेरै रतिरागका कारणले कल्पना तथा सपनामै भए पनि हजारौँपल्ट अन्य वलिष्ठ पुरूषहरूसँग बिटुलिएकी छु । तिनै पुरूषसँगको स्वर्णिम सहवासको कल्पना गर्दै स्खलित भएकी छु । मेरा वरिपरिका हट्टाकट्टा पुरूषको आकर्षक यौन आशक्तिले म रति देवीजस्तै क्षतविक्षत भएकी छु । यो तिमीबिनाको तडप जीवनको के काम ? म पनि रति देवीसँगै अग्निसमाधि लिन चाहन्छु ।

म श्रीमतीलाई हातैले समाएर तान्दै छु । तर रति देवी र मेरी श्रीमती एकाकार भए । अनि म झन् आत्तिएँ । चितामा लडिरहेको कामदेवको लासलाई हेर्छु त त्यो लास मेरो अनुहारमा रूपान्तरण भइसकेको रहेछ ।

मेरो लासले श्रीमतीलाई भन्दै थियो — किन म लास भएँ हँ प्रिया ?, किन तिमी अग्निसमाधि लिन चाहन्छौ ? त्यसो नगर प्रिया । यो संसार सुन्दर छ ।
चिता बलिरहेको छ । त्यहाँ श्रीखण्ड दाउराहरू छैनन् । घृतांश पनि छैन । विश्वबजारको पेट्रोल बल्दै छ । विदेशी पैसाको मुठाका मुठाले चिताग्नि दन्किरहेको छ ।

म लास भएको चितामा जल्न खोज्दै मेरै श्रीमतीले भनिन् — मैले तपाईँलाई भयो अब, म थेग्न सक्दिनँ । आउनू । आइहाल्नू । हाम्रो जिन्दगी काँचो छालाले मोरिएको छ । यस्तो जिन्दगीको के भर ? भनेकी थिएँ नि । ऊ बेला पत्याउनु भएन । अब समय भड्किएको छ । बैँस र समय दुवै फिर्ता हुँदैनन् । अब ‘हगिसक्यो दैलो देख्यो’ को के काम ?

यसपछि उनले त्यही चितामा हाम फालिन् । म जल्दै थिएँ । उनी जल्दै थिइन् । हाम्रा आत्मा भने रतिक्रीडामा व्यस्त थिए ।

ऐँठन भएको रहेछ ।