“ओइ ! ऐले कति बजो ?”

एक सुरले छिटो–छिटो सडकमा हिँडिरहेको कमलनाथले झसङ्ग भई प्रश्न आएतिर अनुहार फर्कायो । दुई जना बर्दीधारी प्रहरी रहेछन् । दुइटैले बन्दुक भिरेका । सडक सुनसान । कमलनाथ हल्का डरायो अनि घडी हेरेर भन्यो–

“एघार !”

“यति राति के खान कता हिँडेको ?” प्रश्न तेर्सियो ।

“मेरो घर विराटनगर । विराटनगरबाट बेलुकाको फ्लाइटमा काठमाडौं आएँ र रातो पुलमा साथीको डेरामा खाना खाएर सुविधाको लागि यतै गौशालाको होटलमा बसूँ भनेर हिँड्दै आएको । किन र ?”

“यति राति सडकमा हिँड्ने अनि उल्टै प्रश्न ?” एउटा बर्दीधारी कड्कियो ।

“किन मैले के बिगार गरेको छु र ? यो सडक जनताको होइन ? आफ्नो अनुशासनमा रहेर हिँड्न पाइँदैन ?”

मङ्सिरको महिना । काठमाडौंलाई जाडोले अँठ्याइसकेको छ ।

अग्लो–अग्लो ज्यान । दाहिने हातमा कालो झोला । टाउकामा उनी टोपी । अल्लोको कोट । कटराइजको पयन्ट । दुवै प्रहरीले उसलाई तलदेखि माथिसम्म हेरे ।

“ए केटा ! यल्ले ठूलो कुरो गरो । सडक यसकी आमाको पेवा हो र ? राति–राति सडकमा हिँडेर शान्ति भङ्ग गर्ने ? यल्लाई समात् र लु गाडीमा हाल् !” हवल्दारको आदेश आयो ।

उनीहरूले भ्यानमा हालेर एकै छिनमा गौशालास्थित प्रहरी वृत्तको थुनुवा कक्षमा पुर्याए ।

टङ्क भट्टराई

त्यहाँ थुनुवा कोठा तीनवटा थिए । दुइटामा पुरुष र एउटामा महिला बस्ने । महिला कक्ष निकै सानो थियो, त्यस्तै आठ–दश जना अट्ने । पुरुष बस्ने दुइटा कोठामध्ये एउटा निकै सानो र अर्को केही ठूलो । दुइटा कोठाको एउटै शौचालय त्यो पनि कम्मरदेखि मुनिको भाग मात्र छलिने अर्ध खुला । त्यस्तै मुस्किलले बीस जना अटाउने ठूलो भनिने कोठामा थुनुवाहरू बढी भएको बेला चालीस–पचास जनासम्म पनि खाँदेर राख्दो रहेछ । दश जना जति अटाउने त्यो सानो कोठामा कहिलेकाहीँ भेडा–बाख्राझैं खाँदेर बाइस–पच्चीस जनासम्म राख्दो रहेछ । महिला कक्षको पनि हाल उही ।

पचास–पचपन्न वर्ष पुरानो जीर्ण भवन । गौशालाको थुनुवा कक्ष भनेपछि राजधानीमा अहिलेसम्मकै पीडादायक ठाउँ । बाहिरबाट चाबी लगाउने फलामको ढोका । कोठामा जालीवाला एउटा अत्यन्तै सानो झ्याल । अँध्यारा कोठा, प्रकाश त कतैबाट छिर्दै नछिर्ने । कोठा अत्यन्त फोहोर । भित्ताहुँदो जताततै उडुसको रगत पोतिएको । गर्मीको बेला उडुस र उपियाँले टोकेर हैरान । एक झप्को पनि सुत्न नसकिने ।

शौचालयको त कुरै नगरौँ हेर्दै बान्ता आउलाजस्तो । इनारको पहेंलो गन्हाउने पानी । मल–मूत्र त्यागका अतिरिक्त मुख धुने, नुहाउने र भात खाको थाल पखाल्ने पनि त्यहीँ । धेरै मान्छे हुँदा त पालोको लागि घण्टौं कुर्नुपर्ने ।

कति बाध्यताले जाकिएका । कति अपराध कर्मले भरिएका । धेरैमा हीनताबोध र आत्मग्लानिको भाव । कति त कुनै अपराध कर्मै नगरी परिबन्धले त्यसै राज्यको कोप भाजनमा परेका । उनीहरूमा चाहिँ राज्यप्रति नै वितृष्णा र आक्रोशको भाव झल्किन्थ्यो भने कति त एकपछि अर्का अपराधहरू गर्दै अथवा उही किसिमका कुकर्महरू दोहोर्याउँदै पटके रूपमा आउने गरेका । र पनि उनीहरूमा कुनै किसिमको क्षोभ र पश्चतापको भाव झल्किँदैनथ्यो ।

कमलनाथ संयोगले त्यो सानो कोठामा चाहिँ पर्यो । नत्र, प्रत्येक आउने नयाँ मान्छेहरूलाई अर्को ठूलो कोठामा चाहिँ राखिने रहेछ । त्यहाँ गँजेडी, ट्यापेहरूले नयाँ आउनेहरूलाई पैसा माग्ने र नदिए प्रहरीको आँखा छली फोहोरी शब्द बोलेर कुट्ने पिट्ने, ट्वाइलेट सफा गर्न लगाउने लगायतका अनेकौं सास्ती दिने रहेछन् । ठूलो कोठामा दश–पन्ध्र दिन बिताएका र कम्तीमा केही सुध्रिएजस्तो देखिनेहरूलाई छानेर क्रमैसँग सानोमा राख्ने गरिँदो रहेछ ।

“आज एक्कासी यो के भवितव्य आइलाग्यो ? भोलि प्रज्ञा भवन, कमलादीमा संस्कृति तथा नागरिक उड्डयन मन्त्रीको प्रमुख आतिथ्यमा हुने ‘नेपालमा सङ्घीयता र लोकतान्त्रिक गणतन्त्र’ विषयक विचार गोष्ठीमा संस्कृति सम्बन्धी एक कार्यपत्र प्रस्तुत गर्नुपर्ने । तयारी गर्न अझै केही बाँकी थियो । साथीकोमा खाना खाइवरी केही बात मारी आफ्नो काममा अवरोध हुन्छ भनेर नजिकैको होटलतिर बास बस्न हिँडेको । यो के आपत्मा फसियो ? न कुनै केही अपराध गरेको । न राज्यलाई कुनै हानि नोक्सानी पुर्याएको । सुरक्षाकर्मीहरूले रात–बिरात नागरिकहरूलाई उल्टै साथ सहयोग गर्नुपर्नेमा एक्कासी खोरमा ल्याएर जाकिदिए ।” कमलनाथको मनमा अनेक कुरा खेले । टाउको भारी भएर आयो । जीउ सल्र्याक–सुर्लुक भयो । यो राज्य व्यवस्थाप्रति नै एक किसिमको वितृष्णा पलाएर आयो । राज्यको कोष खाएर जनताको सुरक्षा गर्न बसेका ठेकेदारहरूप्रति मनमा घृणा र आक्रोश भरिएर आयो । तर, के गर्ने परिस्थिति आफ्नो वशमा छैन । शक्तिको अगाडि निरीह बन्नु परेको छ ।

ऊ बसेको कोठामा अरू पन्द्र जना थिए । चिनजान त हुने कुरै भएन । कसलाई के सोधूँ ? मनका कुरा कसलाई भनूँ ? सबैलाई आ–आफ्नै तनाव । आफ्नै समस्या ठूलो । कोही मान्छे निदाएका । कोही ननिदाई बसेका । राम्ररी खुट्टा पसार्ने ठाउँ पनि छैन । जाडो छ । ओढ्ने केही छैन । कालो म्याटमाथि मैलो तन्ना । त्यसमाथि धुलैधुलो । कोठाका केही जना एकोहोरो ऊतिर हेरिरहेका । तर, केही सोध्न भने नसकेका । छेउको एक जनालाई दया पलाएछ क्यारे भन्यो, “तान्नुस् यो ओढ्ने र ढल्किनोस् !” उसले आफ्नो सिरानेको भाग पनि अलिकति छोडिदियो ।

कमलनाथलाई केही राहत भएजस्तो लाग्यो । त्यो अँध्यारो काल कोठरीमा पनि आफ्नो दुःख बुझ्ने कोही छन् जस्तो लाग्यो । एकछिन पछि त्यही मान्छेले सोध्यो–

“तपाईं कसरी यहाँ पर्नुभो ? घर कहाँ हो ?”

“मेरो घर विराटनगर । नाम कमलनाथ अधिकारी ।” आफ्नो यति परिचय दिई आफू कुनै कारणबिनै पक्राउ परेको बारे सम्पूर्ण कुरा बताइदियो उसले ।

“यो देश यस्तै हो बुझ्नु भो ! यहाँ कानून र प्रक्रियाले काम गर्दैन । काम गर्छ त केवल शासक र उसका भरौटेहरूको स्वार्थ र सन्कीपनले मात्र । म पनि तपाईंजस्तै कुनै गल्तीबिनै त्यसै फन्दामा परेको हूँ ।”

“तपाईं कसरी पर्नुभो त ?” सोध्यो कमलनाथले ।

“म खुसीलाल । घर वीरगञ्ज । मेरो कुरा सुन्नुभो भने त तपाईं छक्क पर्नुहुन्छ ।” उसले आफ्नो कथा भन्न सुरु गर्यो–

“म सिराहाको एउटा सामान्य किसान हूँ । मेरो घर नजिकै एउटा सरकारी प्राइमरी स्कूल छ । म त्यसको सञ्चालक पनि थिएँ केही वर्षअगाडि । गएको महिना घरमा बुहारी सुत्केरी भई र उसको लागि ज्वानो किन्न साइकल लिएर बजार गएको थिएँ । ज्वानो किनेर साइकल बाटो छेउमा राखी एउटा होटलमा बसेर चिया खाइरहेको बेला त्यही स्कूलका हेड सर र व्यवस्थापन समितिका अध्यक्ष पनि आउनुभो । उहाँहरू अलिपर्तिर कुनामा बस्नुभो । चिया मगाउनुभो । त्यहाँ अर्को एकजना मैले नचिनेको व्यक्ति पनि थियो । त्यो व्यक्तिले झोलाबाट निकालेर हेडसरलाई एक मुठो पैसा दियो । हेडसरले त्यो पैसा टेबुलमुनि सुटुक्क गनेर गोजीमा हाल्नुभो । मैले नदेखेजस्तो गरेँ । त्यहीँ नजिकैको टेबलबाट एक जनाले मोबाइल चलाइरहेको थियो । मैले चिया खाइसकेर पैसा तिरेँ । अनि हतार छ जानुपरो भनी उहाँहरूसँग हात मिलाई सामान लिई बाटो लाग्न खोज्दा त्यहाँ चार–पाँच जना अरू मान्छेहरू छिरेर मलाई सहित घेराबन्दीमा पारे । एक्कासी यो के भयो ? म छक्क परेँ । उम्किन खोजेँ । तर, उनीहरूले दिएनन् । हेडसर र अध्यक्षतिर देखाएर तपाईं उहाँहरूलाई चिन्नुहुन्छ? तपाईँ को हो ? भनी उनीहरूले मलाई सोधे । मैले ‘चिन्छु’ भनेँ र आफ्नो परिचय दिएँ । त्यै बीचमा हेडसरले भन्नुभो, ‘उहाँ पनि हाम्रो स्कूलको पहिलाको सञ्चालक हो ।’ अनि त ती अपरिचित व्यक्तिहरूले मलाई झनै जान दिएनन् ।

त्यसपछि त्यहाँ अर्को घटना सुरु भयो । उनीहरूले हेडसरलाई त्यो पैसा निकाल्नुस् भने । हेडसरले पैसा निकाले । उनीहरूले त्यो पैसासँग आफूले टिपेको नम्बर भिडाए । मुचुल्का बनाए । म लगायत सबैलाई सही छाप गर्न लगाए । अब म पनि फसेछु भन्ने लाग्यो । मैले आफू घरमा बुहारी सुत्केरी भएकाले ज्वानो किन्न आएको र यहाँ चिया खान पसेको यथार्थ अवस्था बताएँ । म यसमा सम्बन्धित छैन भनेर उनीहरूसँग अनेक अनुनय विनय गरेँ । मेरो जीउमा एउटा सर्ट, लुङ्गी र खुट्टामा एक जोर पुराना चप्पल सिवाय अरू केही थिएन । तर, उनीहरूले मलाई समेत छोडेनन् । त्यो एक किलो ज्वानो र साइकल त्यहीं छोड्न लगाएर मलाई पनि उनीहरूसँगै गाडीमा हाले र यहाँ ल्याई पुर्याए । मलाई बल्ल थाहा भो, आफूलाई मास्टर नियुक्तिको लागि कबुल गरे वापत त्यो मान्छेले हेडसरलाई पचास हजार रूपैंया दिएको रहेछ । उसैको उजुरीबाट सरकारी मान्छेहरू तयारी अवस्थामा त्यहाँ आएका रहेछन् ।

यहाँ आएपछि कति रात त निद्रा लागेन । खान त झन् रुच्दै रुचेन । अहिले प्रेसरको औषधि खाँदै छु । बयान उहिल्यै सिद्धिसक्यो । एक महिना नाघिसक्दा पनि अझै छोडेको छैन । अब मुद्दा चलाएर मात्र छोड्छ अरे । गल्ती गर्नेलाई त ठीकै होला । अर्को सोझो सिधा मान्छेलाई फसाएर अनाहकमा राज्यले यो के गरेको हो ? अब गाउँमा गएर कसरी मुख देखाऊँ ? दुनियालाई के भनेर जवाफ दिऊँ ? आफ्नै अभागी खप्परलाई धिकारेर चित्त बुझाइरहेछु ।”

“मैले तपाईंहरूको कुरा सुनेँ । अब मेरो सुन्नुस् । म त झन् आफ्नै श्रीमतीबाट जबर्जस्ती करणीको उजुरीमा परेर यहाँ जाकिएँ ।” अलि पर्तिर सुतेको भोगीराज बिस्तारै उठ्यो र आफ्नो कहानी भन्न थाल्यो–

“पहिला म घर जग्गा खरिदबिक्रीको काम गर्थें । घरायसी अवस्था राम्रै थियो । छोरा–छोरी दुई जना छन् । छोरी दश वर्षकी, छोरो आठ वर्षको भो । पछिल्लो समय यसैमा फसेँ । अवस्था नाजुक हुँदै गयो । श्रीमतीसँग पनि खटपट चल्न थाल्यो । एक दिन दुई–तीन जना पुलिसहरू घरमा आए र मलाई समात्न खोजे । मैले अचम्ममा परेर सोधेँ– ‘किन ?’ ‘हामी त्यसै आएका होइनौँ । तपाईंलाई श्रीमतीबाट जबर्जस्ती करणीको उजुरी परेको छ । लु हिँड्नोस् हामीसँग ।’ उनीहरूको जवाफ थियो । म छाँगाबाट खसेजस्तो भएँ । अनुहारमा चिटचिट पसिना आयो । तुरुन्त उनीहरूले मलाई समातेर गाडीमा हाले । अलि पर पुगेपछि मैले घरतिर हेरेँ । श्रीमतीजी झ्यालबाट हेरिरहेकी थिइन् ।”

“म पनि तपाईंहरूको कुरा सुनिरहेको छु । म श्रीकान्त भट्टराई हूँ । अब मेरो कुरा सुन्नोस् ।”

भित्तातिर सुतिरहेको श्रीकान्त उठ्यो र आफ्नो कथा सुरु गर्यो–

“म दुबईमा थिएँ । एउटा कम्पनीको सुपरभाइजर भएर काम गरिरहेको । मासिक तलब त्यस्तै यहाँको डेढ लाखभन्दा बढी थियो । धेरै वर्ष डेराको बासपछि पोहोर साल काठमाडौंमा एउटा घर पनि बनाइसकेको थिएँ । दुई जना छोरा–छोरी स्कूल पढ्दै छन् । सुरुमा त श्रीमतीको व्यवहार राम्रै थियो । म पनि वर्ष–वर्ष दिन जसो घर आइरहेकै थिएँ । पछि कताबाट मति भ्रष्ट भएछ ऊ त अलि पर्तिरको एउटा छिमेकीसँग सल्किछ । उसले छोराछोरीलाई पनि हेरविचार गर्न छोडेको र केटाकेटी स्कूल पठाइसकेपछि कहिले त्यो मान्छेलाई घरैमा बोलाउने त कहिले उहीसँग विभिन्न ठाउँमा मोजमस्तीमा हिँड्ने गरेको कुरा मैले मेरै आफन्तबाट थाहा पाएँ । पहिला त्यसरी छिटो–छिटो पैसा पठाउनू नभन्ने मान्छे पछिल्लो समय अनेक बहाना गरी पैसा मात्र पठाउनू भन्न थाली । बेलुका कहिलेकाहीँ भिडियो कल गरेर ऊसँग कुरा गरेपछि केटाकेटीसँग बोल्न खोज्दा कहिले निदाइसके भन्ने त कहिले स्कूलको होमवर्क छ अहिले डिस्टर्व हुन्छ भोलिपर्सी बोल्नुहोला भन्ने । म उसको त्यो चालादेखि थप सशङ्कित हुन थालेँ । त्यसपछि मैले उही आफन्तसँग सल्लाह गरी केटाकेटी समेतलाई थाहा नदिई सुटुक्क काठमाडौं आउने तयारी गरेँ । नभन्दै एक दिन म घर आएँ । अघिल्लो दिन बेलुका एयरपोर्ट आइपुगे पनि त्यो रात त्यतै नजिकैको होटलमा बसेँ । भोलिपल्ट दिउँसोको समय पारेर घर आएँ । कम्पाउण्डको ढोका भित्रबाट बन्द थियो ।

घण्टी बजाएँ । घण्टी निकैबेर बजेपछि ऊ आई र कम्पाउण्डको ढोका उघारी । अर्कै मान्छे होला, उसलाई बाहिरैबाट बिदा गर्छु भनेर आकी थिई होला । तर, अचानक मलाई देखेपछि त तीन छक परी । ‘ए हजुर पो… अचानक कसरी…!’ अनुहारमा छटपटीको भाव थियो । ऊ अरू बोल्न सकिन । त्यसपछि ‘पख्नू है हजुर !’ भनेर ऊ हतार–हतार घरभित्र पसी । तर म कत्ति पनि नपर्खी झोला बाहिरै राखेर ऊ सँगसँगै घरभित्र छिरेँ । ऊ हतारमा आत्तिएजस्तो देखिन्थी । म सरासर माथ्लो तलाको बेडरुममा छिर्न खोजेँ । भित्रबाट चुकुल लगाएको रहेछ । बेस्सरी ढोकामा हानेँ । बल्ल कसैले ढोका खोल्यो । हेर्दा मैले चिनेको अलिपर्तिरको एउटा छिमेकी रहेछ । मैले रिस थाम्न नसकी एक्कासी उसलाई हात छोडेँ । मरणासन्न गरेर पिटेँ । एउटा दाँत पनि भाँच्चिएछ । त्यसपछि श्रीमतीलाई पनि त्यसैगरी कुटेँ । छिमेकीहरू तत्काल बोलाऊँ कि भन्ठानेको थिएँ तर, श्रीमतीलाई कुटेको बेला त्यो त अघि नै भागिसकेछ । त्यो टोलभरिकै नामुद फटाहा थियो । एक छिनपछि केही शङ्का लागेर दराज खोली कागजपत्रहरू पनि हेरेँ । सर्वप्रथम धनीपूर्जा खोजेँ । भेटिनँ । उसलाई सोध्छु बोल्दिनँ । ‘मार्दिऊँ कि भन्छेस्’ भनेपछि बल्ल बैंकमा छ भनी । बैंकमा गएर बुझ्दा घर राखेर पचास लाख निकालेको देखियो । घर उसकै नाममा थियो के भयो र ! केरकार गर्दा पछि थाहा भयो, व्यापार गर्ने बहानामा त्यो रकम उसको त्यही नाठोले कुम्ल्याएको रहेछ । अरू पठाको पैसा पनि मोजमस्तीमै झ्वाम् !

जिन्दगी मरेतुल्य भयो । त्यसको भोलिपल्ट कसको बहकाउमा लागेर त्यो फटाहाले मलाई कुटपिटमा उजुरी हालेछ । प्रहरीले वास्तविकता बुझ्न चाहेन । मेरो सर्वनाश त भयो भयो, उल्टै यो हिरासतको हावा खाइरहेछु आज । थाहा छैन अब के हुने हो ।”

“म पनि नेपाल सरकारको सानो तहको जागिरे हुँ । यहाँ बस्ने अरू साथीहरूले त सुनिसक्नु भएको छ । अब अधिकारी सर पनि सुन्नुस् । जति सुनायो, उति आफूलाई हलुको ।” पर्तिरबाट धनीरामले आफ्नो कहानी सुरु गर्न थाल्यो–

“म गाउँको मान्छे । सानो तहबाट सरकारी जागिर सुरु गरेको । पिउनबाट पछि खरदार भएँ । अब पेन्सन हुन दुई वर्ष जति बाँकी छ । धेरै वर्ष भो डेरा लिएर काठमाडौं बसेको । दुःख गरेर केटाकेटीहरूले यतै पढे । तलबले बाँच्न धौ–धौ । श्रीमती त्यही डेराको घरमा किरानासहित तरकारी पसल गर्थिन् । म राति तीन बजे उठेर कालीमाटी तरकारी लिन जान्थेँ । पसल राम्रै चल्थ्यो । पछि छोराले पनि प्राइभेट जागिर सुरु गर्यो । कीर्तिपुर मच्छेगाउँको एउटा कुनामा केही वर्ष अगाडि एउटा चारानाको घडेरी किनेको थिएँ । पोहोर सालमात्रै तीन तलाको एउटा घर बनाएँ । दुई तला भाडामा दिएर एक तलामा आफू बसियो । अब सुखका दिन सुरु भए कि जस्तो लागेको थियो । त्यही घरले अहिले यहाँसम्म ल्यायो ।

हाम्रो समाज कस्तो हो ? यो समाजले हामीलाई कता डोर्याउँदै छ ?

जागिर खाएर यत्रो वर्ष डेरामा बस्दा मलाई केही गर्न नसक्ने नामर्द भन्यो यही समाजले । अरूले यसो गरे, उसो गरे, यति कमाए, यस्तो घर बनाए, यस्तो गाडी किने, छोराछोरीलाई यस्तो ठाउँमा पढाए भनेर बसिखान दिएन । पछि सञ्चयकोषबाट ऋण लिई बल्लतल्ल एउटा घर बनाएँ । त्यसपछि यही समाजले मलाई देखिसहेन । एउटा खरदारको यत्रो घर कसरी हुन्छ ? हामीलाई थाहा छैन ? खरदारको तलबले घर बन्छ ? भनेर अनेक थरी कुरा काट्न थाल्यो । त्यसो त म पनि आफूलाई दूधले नुहाएको कर्मचारी हुँ भन्दिनँ । यसो कतै मौका मिल्दा घर व्यवहार सम्झेर बाध्यतावश कतै लोभिएँ होला । साना–तिना गल्ती कमजोरी गरेँ होला । तर, जानेर कुनै ठूलो गल्ती गरिनँ । हुन त एउटा सानो कर्मचारीको त्यस्तो के नै हात हुन्छ र ! आजसम्म कुनै कमाउने अड्डामा बसिनँ । अर्काको सम्पत्तिमा मोज गर्ने कुबिचार मलाई कहिल्यै आएन । बरु, अरू दुःख गरेँ । रातदिन नभनी श्रीमतीले दुःख गरिन् । मेरो परिवारको श्रम र त्यसबाट आर्जित पसिना समाजले हेरेन । ऋण कति छ ? समाजले देखेन । सबैका आँखामा आज त्यही घर बिझायो । नभन्दै कुनचाहिँ छुस्याहाले अकुत सम्पत्तिमा उजुरी हालेछ । चाहेको भए सरकारले यहाँ ल्याउनु अगाडि गोप्य रूपमा छानबीन गर्न सक्थ्यो । मेरो पृष्ठभूमि बुझ्न सक्थ्यो । तर, एउटा निरीह व्यक्तिलाई सरकारले किन मद्दत गर्थ्यो र ! उम्किने त ठूला मात्र हुन् । जाली र सेटिङ गर्न जान्ने टाठाबाठा मात्र हुन् । जालमा पर्ने त उही साना । त्यही उजुरीका भरमा सत्य तथ्य नबुझी एक्कासी मलाई यो काल कोठरीमा ल्याएर जाकिदियो । कहिल्यै नलागेको कलङ्कको टीका लगाइदियो ।”

“तपाईंहरूका कुरा सुन्दा फस्ने म मात्र त होइन रहेछु । अरू पनि हुँदा रहेछन् भन्ने लाग्यो । एउटा दुःखीको कुरा अर्को दुःखीले नै सुन्ने हो । मेरो कहानी पनि तपाईंहरूकै जस्तो छ ।” बीचबाट फेरि अर्को एकजनाले आफ्नो कहानी सुरु गर्यो–

“मेरो घर रसुवा जिल्ला हो । नाम श्याम तामाङ । मलाई सबैले माइलो तामाङ भन्छन् । गरिब भएकोले सानैदेखि भारी बोकेर परिवार धान्दै आएको छु । तर, अहिले गाडीको सुविधाले हाम्रो गरिखाने पेशा पनि धरापमा परेको छ । त्यसैले पछिल्लो समय केरुङ नाकामा व्यापारीहरूको सामान ओसार–पसार गर्दै आएको छु । मेरो आफ्नै एउटा भाडाको गाडी पनि छ । तर, यही दसैंको बेला ठूलो दशा लागो । केरुङ नाकाबाट एउटा मान्छेले एउटा कपडाको बेडिङ छ, तिमीले गाडीमा हालेर काठमाडौं एयरपोर्ट छेउसम्म पुर्याइदेऊ । अत्यन्त जरुरी छ । गाडीलाई लाग्ने पैसा बाहेक तिमीलाई पचास हजार पनि छुट्टै दिन्छु भनेर सामान जिम्मा लाउन एक जना सम्पर्क व्यक्तिको नाम र नम्बर दियो । छिटो पुर्याउने काम होला, पैसा पनि राम्रै आयो भनेर अरू कुरा केही विचार नगरी मैले हुन्छ भनें र बेडिङ्ग गाडीमा हाली बाटो लागेँ । जब गल्छी हुँदै थानकोट भएर यहाँ गौशालानिर आइपुगेपछि प्रहरीले गाडी रोक्यो । गाडीसहित मलाई पनि नियन्त्रणमा लिएर हिरासतमा राख्यो । मलाई के थाहा ? बेडिङ्गभित्र लुकाएर ल्याएको पाँच केजी सुन पो रहेछ । पछि कसको सुराकीले थाहा भएर पक्रने काम भयो । म दुई महिनादेखि हिरासतमा बसिरहेको छु । त्यो सम्पर्क गर्ने भनेको व्यक्तिलाई पनि अर्कै ठाउँ थुनेर राखेको छ । हेर्नुस् न खाइ न पाइ कस्तो नराम्रोसँग फसियो । तस्कर गर्ने को हो ? करोडौँ, अरबौं कमाउने ऊ तर, अन्जानमा उसको पाप बोकिदिएर फस्ने चाहिँ हामी गरिब ! अब के गर्ने ? यो सास्ती कैलेसम्म खेप्नुपर्ने हो ? दसैं बित्यो । तिहार पनि बित्यो यहीँ । उता स्वास्नी छोराछोरी रोएर बसेका छन् ।”

“अब मेरो कुरा…,” बीचबाट एउटा युवक उठेर आफ्ना कुरा भन्न थाल्यो–

“म श्रम कार्यालयको लाइन व्यवस्थापन गर्ने ड्युटीमा थिएँ । पोहोर मात्र प्रहरी सेवामा छिरेको म अनुभवमा आलोकाँचो नै थिएँ । दिनको तीन बजेतिर एउटा व्यक्ति मेरो छेउमा आएर भन्यो, ‘एक जना मान्छे आजै बेलुका ६ बजे विदेश उड्नु छ, अगाडि लाइनमा राखिदिनु पर्यो या भित्र भनिदिएर काम गरिदिनु पर्यो । पैसा राम्रै आउँछ ।’ मैले यस्तो फटाहा काम मबाट हुँदैन भनेर उसलाई हप्काएर पठाइदिएँ । त्यसको केही समयपछि अर्को एक जना नचिनेको मान्छे आएर मेरो गोजीमा हात हालेर अचानक गायब भयो । मैले गोजी छामेँ । पैसाजस्तो लागेर निकालें पाँच सय रहेछ । यताउति हेर्छु कसले किन हाल्दियो केही थाहा छैन । म अप्ठ्यारोमा परेँ । के गरुँ, कसो गरुँ भनेर सोचिरहेको बेला चार–पाँच जना मान्छेहरू आएर मलाई घेरे र भने, ‘त्यो अघिको पैसा निकाल् । तँ सरकारी तलब खाएर घुस खाने ?’ मैले त्यो पैसा निकालेर दिएँ र भनेँ, ‘मैले केही अपराध गरेको छैन । यो पैसा कसले किन हाल्दियो थाहा पनि छैन ।’ मैले यति भनेपछि ‘बढ्ता बोल्छस्’ भनेर केही थान कागजमा सही छाप गराएर गाडीमा हाली यहाँ ल्याइपुर्याए । पछि थाहा पाएँ उनीहरू जनताको भेषमा त्यहाँ पुगेका म जस्तै विभिन्न दर्जाका प्रहरी पो रहेछन् । यसरी मैले पनि अनाहकमा तपाईंहरू जस्तै सास्ती खेपिरहेछु । हामी निरीह र निरपराध व्यक्तिलाई राज्यले जबर्जस्त फसाएर यो के गर्न खोजेको हो ? कस्तो शासन ल्याएको हो ? मैले बुझ्न सकेको छैन ।”

यसरी त्यो सानो कोठरीमा एक अर्काबीच आ–आफ्ना पीडा–व्यथाहरू सुन्ने सुनाउने क्रम चलिरहेको थियो । त्यही बीचमा प्रहरीले एक जना केटीलाई घिसार्दै भित्र ल्यायो । केटी डाँको छोडेर रोइरहेकी थिई । सबैका ध्यान त्यता गए । ‘मलाई मार.. मार.. तिमीहरू हामी जस्तालाई कुट्ने त हौ नि, ठूलालाई सक्ने हैनौ !’ भन्दै प्रहरीलाई गालीसमेत गरिरहेकी थिई । ऊ हल्का रक्सीले मातेजस्तो पनि थिई । ऊ जति कराउँछे प्रहरीले उति नै पाइपले हानिरहेको थियो । पहिला एक जना महिला प्रहरीले उसलाई हिर्काउँदै थिई । पछि त ए वेश्या ! ए जँड्याई ! अझ कराउँछेस् ! भन्दै पुरुष प्रहरीले पनि हान्न थाले ।

केटी त्यस्तै अठार–बीस वर्षकी थिई होली ।

“प्लिज मलाई छोडिदेऊ । म जान्छु । कोठामा भाइ एक्लै छ । उसले केही खाको छैन । मःमः लेइदिएकी छु, चिसो भइसको होला । बाउ रक्सी खाएर हामी सानो हुँदै मरे । पछि एउटा भाइ र मलाई बिजोक पारेर आमा पनि पोइला हिँडिन् । मैले त्यै भाइलाई पढाउन यो सहरमा अनेकथरि गरिरहेकी छु । आफैंलाई बेचिरहेकी छु । तिमीहरूले मलाई वेश्या मात्र देख्छौ । मेरो बाध्यता बुझ्दैनौ….।”

ऊ ठूलो–ठूलो स्वरमा यस्तै कुराहरू भन्दै रोइरहेकी थिई ।

त्यही बीचमा पल्लो कोठामा मार–मुङ्री चल्न थाल्यो । पुराना केटाहरूले नयाँ आउनेलाई पैसा मागेछन् । उसले छैन भनेपछि ब्लङ्केट ओढाएर बेस्मारी कुटेछन् । कसले हो मुखमा हान्दा अगाडिका दुइटा दाँतै झरेका । एउटाले झरेको दाँत टिपेर हतार–हतार ट्वाइलेटमा लगेर हालिदिएछ । ड्युटीमा बसेको प्रहरी भित्र छिरेर सोध्दा ब्लङ्केट बाहिरबाट क–कसले लात्ती–लात्तीले ठोके, कसले मुखमा हान्यो थाहै छैन ।

कमलनाथले त्यो रातभरि त्यहाँका सम्पूर्ण दृश्यहरू नियाल्यो । कति त मनभरि पीडा, व्यथा बोकेर आफ्नै राम कहानी सुनाउनेहरूबाट र कति त आफैले त्यहाँको सम्पूर्ण परिदृश्यहरू नियालेर त्यहाँभित्रका धेरै कुराहरू थाहा पायो ।

महिला कक्षमा भएकाहरू मध्ये कोही पशुपति क्षेत्रमा लुकीचोरी गाँजा बेच्ने, कोही त्यस्तै केटाहरूलाई निश्चित कमिशन लिएर केटी मिलाइदिने लगायत विभिन्न अपराध कार्यमा संलग्न महिलाहरू थिए ।

पुरुषहरू बस्ने त्यो ठूलो कोठामा भने ठगी, बलात्कार, चोरी, सामाजिक दुर्व्यवहार, कुटपिट, लागू औषध व्यापार तथा दुर्व्यसनी, चेक बाउन्स लगायतका अपराधमा संलग्न व्यक्तिहरू थिए । कोही त पटक–पटक एउटै काण्डमा दोहोरिनेहरू थिए भने कोही परिबन्धमा परेर जाकिएका थिए । त्यहाँ कतिसम्म हुन्थ्यो भने बाहिरपट्टि बिहान बेलुका भेट्न आउने घर परिवारका मान्छेहरूलाई साह्रै कडाइ गरेको देखिन्थ्यो । तर, यति हुँदा पनि रातिहुँदो कोही ट्वाइलेटमा गएर गाँजा तानिरहेको र कोही शरीरका विभिन्न अङ्गमा सुइ घोपिरहेको समेत देखिन्थ्यो । खैनी त सामान्य कुरो जो जतिखेर पनि मुखमा च्यापिरहेका । सुरक्षाकर्मीहरूको त्यति कडाइका बाबजुद त्यहाँभित्र लागू औषध कसरी आपूर्ति हुन्थ्यो ? भन्न नसके पनि बुझ्न गाह्रो छैन । किनभने सेटिङ भन्ने कुरो नेपालमा तलदेखि माथिसम्म जताततै व्याप्त छ ।

कमलनाथलाई त्यस रातभर निद्रा परेन । बिहान हुन लाग्यो ।

छेवैमा पशुपतिनाथ । बिहान घण्टी बजिरहेको । शङ्खको आवाज आइरहेको । नजिकै बाग्मती गङ्गा बगिरहेकी।

“के पशुपतिमा सबै मान्छेहरू श्रद्धाभक्तिले मात्र आउँछन् ? होइन, कतिपय मान्छेहरू त धर्मको नाममा मनभरि लोभपाप बोकेर अनेकथरि धन्दा गर्न आएका हुँदा रहेछन् । त्यहाँभित्र थरिथरिका काला कर्तुत र दुष्कर्महरू मौलाइरहेका हुँदा रहेछन् ।”

भगवान् शङ्करको त्यो पवित्र पुण्य धामभित्रै सुरक्षा निकायका ती अध्याँरा कोठामा बस्ने सबै पात्रहरूको अनुहार उसले नियाल्न भ्यायो । भित्र पीडा भरिए पनि कतिको अनुहारमा निष्पाप र निरपराधको उज्यालो झिल्को भेट्यो त कतिका अनुहारमा पाप र अधर्मका काला छायाँहरू मडारिरहेको देख्यो ।

“अझ धर्म, सेवा, राजनीति, उद्योग, व्यापार र विकासको नाममा देश खाएर खोक्रो पार्ने ठूला–ठूला धमिराहरू कता छन् त ? तिनीहरू हिजोदेखि नै कसको संरक्षणमा छन् ? सुरक्षाका ठेकदारहरू यो सब थाहा पाएर पनि किन थाहा नपाए जस्तो गर्छन् ? किन यी सानातिनाहरूलाई मात्र पक्रेर तर्साउन र थर्काउन तल्लीन छन् ?”

ऊभित्र यस्तै अनेकथरि तर्कनाहरू उठिरहे । अनिद्राले टाउको निकै भारी भइरहेको बेला पशुपतिमा फेरि ठूलो घण्ट बज्यो । त्यो सानो जाली झ्यालबाट अलिकति घामको कलिलो किरण छिर्यो । अब भने ऊ पनि बिस्तारोसँग उठेर शौचालयको लाइनमा लामबद्ध भयो ।