मध्यराततिर केही आवाज रुद्रमानले सुनेको त थियो । ढोकाको गजबार खुलेको आवाज पनि सुनेकै हो तर यसरी अप्रत्याशित यस्तो घटना घट्ला भन्न उसलाई के थाहा ? यस्तो घटना अर्थात्‌ उसकी स्वास्नी हरिमाया पोइल गएकी घटना | विश्वास नहुँदानहुँदै पनि पत्याउनुपर्ने भएको छ उसले | लाज र चिन्ताले ऊ कोठाबाट निस्कन सकैको छैन्‌ । उसलाई राम्ररी थाहा छ- बाहिर बस्तीमा उसैको विषयमा चर्चा चलिरहेको हुनुपर्छ । दस वर्षकी ठूली छोरीले कुरो बुझिसकेकी छ आमा अब आउँदिन भनेर र बुझिसकेकी छ आमा कहाँ गएकी भन्ने, सायद यसैले बाबुलाई केही सोधेकी छैन तर तीन-चार वर्षकी सानी छोरीले भने बारम्बार सोधेर हैरान पारेकी छ, “आमा खोइ दिदी… आमा खोइ बुबा ?” न बाबुको केही उत्तर उसले पाएकी छ न दिदीको ।

अशेष मल्ल

रुद्रमान घरी एउटा कोठाबाट अर्को कोठामा जान्छ र घरी कोठामा ढोका लगाएर खाटमा पल्टिन्छ, सिरक ओढेर आँखा चिम्लन्छ । थुप्रै-थुप्रै कुराहरू उसको मनमा लगातार आइरहेका छन्‌ । एउटा मूल प्रश्न प्रबल भएर उ आफैलाई सोध्छ- आखिर किन गई पोइल ? रिसले मुरमुरिएर भित्तामा हातले हिर्काउँछ र मनमनै भन्छ- “ए फुँडी किन गइस्‌ पोइल ?’ उसलाई लाग्छ- यो यौनअसन्तुष्टिले अवश्य पनि होइन, आर्थिक कमजोरीले हो । ठेकेदार धनी छ, पैसा थुप्रै छ, त्यही पैसा हेरेर गई । ऊ मनमनै भन्छ- देख्लिस्‌ फुँडी ! एक वर्ष चुसेर त्यस ठेकेदारले तँलाई फालेन भने त के ।’ उसले अहिले बुझ्यो- ठेकेदार रातदिन किन यहाँ आइरहन्थ्यो ! किन छोरीहरूलाई लुगा र जुत्ताहरू बारम्बार ल्याइरहन्थ्यो ! उसलाई त लाग्थ्यो- ठेकेदार साह्रै भलादमी छ, गरिबको हेरविचार गर्छ । रूद्रमान जस्तो गरिब मजदुरलाई मद्दत गरेर ठेकेदारहरू दयालु हुँदा रहेछन्‌ भन्ने लाग्थ्यो उसलाई । ठेकेदारको अनुहार ऊ झलझलती सम्झिरहेछ निरीह जस्तो, मायालाग्दो जस्तो, यति सोझो कि ऊ जस्तो सोझो कोही हुँदैन ।

“भाउजू !”

ठेकेदार घरभित्र पस्दा यसरी पस्थ्यो ।

“खोइ रुद्रमान दाइ ?”

रुद्रमान ‘नमस्ते’ भन्थ्यो । ठेकेदार गोजीबाट नोट निकालेर कुखुरा किन्न पठाउँथ्यो, रक्सी किन्न पठाउँथ्यो । रुद्रमानलाई अहिले लाग्यो- ऊ कुखुरा खोज्न जाँदाको समय हरिमायासँग बोलेर बिताउँदौ रहेछ । लाग्यो- किन ठेकेदार आफू रक्सी कम पिएर उसलाई मात्र बढी पिउन कर गर्थ्यो । रक्सी र कुखुराको मासु दिनदिनै खान पाएर दङ्ग परेको रूद्रमानले अहिले अर्थ बुझ्यो । उसले अर्थ बुझ्यो रक्सी धेरै पिएर ऊ मातिपछि ठेकेदार पनि किन मातेको बहाना गर्दो रहेछ । बिहान उठ्दा सुतिरहेको ठेकेदारलाई ‘नमस्ते’ गर्न पुगेको सम्झँदा रूद्रमानलाई रिस निकै रिस उठेर आयो । मुर्मुरिएर भित्ता फोरे पनि केही हुन नसकेर रूद्रमान चुप लाग्यो।

“बा ! भात नखाने ?” स्द्रमान छोरीलाई यसरी हेर्छ, मानौं छोरीलाई उसले देखेकै छैन । अर्थ नबुझेर छोरी फेरि भन्छे, “बा ! भात नखाने ?”

“तिमीहरू खाओ म खान्न ।” ऊ भन्छ।

“म पनि खान्न ।”

“किन ?”

“तपाईंले किन नि ?”

“के सोध्छेस्‌ छोरी ! तँलाई थाहै छ, तेरी आमाले मेरो नाक काटेर गई । तँ र तेरी बहिनीलाई टुहुरीँ बनाएर गई तर के ठानेकी छ त्यसले, त्यो सुखले बस्न पाउँछे ? त्यो मर्छे, मर्छे पीरले । के के न पाएँ-भनेर हामफालेर गाछे, देख्छे ।”

“भात चिसो भइसक्यो ।”

“किन पस्किस्‌ त नसोधी ?”

“अलिकति खानुस्‌ न बा !”

“खान्नँ के खान्नँ । याँ घाँटीबाटै छिर्दैन के खानु ! त्यो बजिया ठेकेदारको रक्सी र मासु अड्केजस्तो भएको छ घाँटीमा ।”

छोरी जान्छे। रूद्रमानलाई एकाएक छोरीको माया उर्लेर आउँछ । सानी छोरी छेउमा निदाएकी छ, उसलाई हेर्छ । काटीकुटी आमाको अनुहार छ । ऊ मनमनै भन्छ-फुँडी, के बिजोग पारिर गइस्‌ नि ! अहिले एकाएक ऊ झस्कन्छ अरू अरू मजदुर केटीहरूलाई- पार्वतीलाई, राममायालाई, काइँलीलाई, रेशम मैया आदि-आदि केटीहरूलाई । उसलाई लाग्छ यीमध्ये कसैलाई अहिले भगाएर ल्याऊँ र छोरीहरूलाई भनूँ ‘यै हो तिमीहरूकी आमा ।’ भन्नेबित्तिकै को आउली र ! ल्याएर सिन्दूर किनिदिने पैसा पनि छैन ऊसँग । ठेकेदार थियो र पो त उसलाई यसको कुनै फिक्री थिएन, चुला बलेकै थियो, छोरीहरू खुसी नै थिए र रूद्रमान स्वयं पनि सुखी थियो ।

“छोरी ! सुन्‌ त…।” छोरी आउँछे, ऊ सोध्छ, “चामल थियो ? कहाँबाट ल्याएर भात पकाइस्‌ ?”

“चामल एक बोरा बाँकी छ चुलामा ।”

“एक बोरा !”

“अनि अरू।”

“हेर्नुस्‌ न के के छ… ।”

रूद्रमान जर्याकजुरूक उठ्छ र चुलामा जान्छ, हेर्छ । बोराभरि चामल छ । झन्डै-झन्डै महिना दिनलाई पुग्ने अरूअरू कुराहरू छन्‌- तेल छ, नुन छ, घिउ छ, सब चीज छ, मानौं सम्पन्न घरमा पनि योभन्दा अरू थप केही हुँदैन । रूद्रमानलाई यी सब हुनुको, अर्थ बुझ्न केहीबेर लाग्दैन । उसलाई त तत्काल लाग्छ यी सब कुरालाई बाहिर मिल्काऊँ र चुला रित्तो पारूँ । ठीक त्यसरी रित्तो चुला होस्‌ जस्तो कि ऊ जस्तो मजदुरको घरमा हुनुपर्ने चुला । मनमनै “फुँडी ! ठकेदारसँग सुतेर हामीलाई दया देखाइस्‌ !’

“बा ! अलिकति खानुस्‌ न पस्किदिऊँ ?”

“त्यै फुँडीलाई ख्वा…।”

छोरी अर्थ बुझेर वा नबुझेर टोलाउँछे र बाबुको क्रुर अनुहार हेर्छे । रूद्रमानलाई लाग्छ- छोरीलाई यसरी हप्काउन नहुने थियो ।

“छोरी ! खान मन छ भने तँ खा, मन लाग्दैन, भने नखा…तेरी बहिनी उठेपछि त्यसलाई ख्वा ।” रूद्रमान अर्को कोठामा जान्छ हुर्रिएर । स्वास्नीको सारी र पेटीकोट भुइँमा छ, एकैचोटि लात्ताले हिर्काएर अलि पर पुर्याउँछ र त्यसमाथि थुक्छ अनि भित्तामा मुडकीले हिर्काउँछ- दुई-चार पटक । झ्याल बन्द छ, खोलेर बिस्तारै बाहिर हेर्न मन लाग्छ । ऊ सोच्छ- बाहिर आँगनभरि थुप्रै मानिसहरू होलान्‌, हाँसिरहेका, जिस्क्याइरहेका र थपडी बजाइरहेका । बिस्तारै झ्याल खोलेर बाहिर हेर्छ, बाहिर कोही छैन, घाँटी तन्काएर हेर्छ र पनि कोही छैन । पर बाटोमा केही मानिसहरू हिँडिरहेका छन्‌, उसको घरतिर कसैले हेरेका छैनन्‌ । अलि परको सडकमा मजदुरहरू काममा व्यस्त छन्‌ । तन्केर हेर्छ, ठेकेदार छैन । उसका मानिसहरु छन्‌ । झ्याल बन्द गर्छ र मनमनै भन्छ-के गर्ने, काम गर्न जाने ? के भन्लान्‌ अरूले ? .. त्यो बजियाको काम कसरी गर्नु ? थचक्क बस्छ ।

छोरी कोठाभित्न पस्छे, “बा ! काइँला काका आउनुभाछ ।”

छातीको ढकढक एकाएक बढेर गएको ऊ टड्कारै थाहा पाउँछ ।

“भित्रै पठाइदिऊँ ?”

“पठाइदे ।” छोरी जान्छे । रूद्रमान ढोकामा, खाटमुनि वा कतै लुक्न बस्छ, त्यतिन्जेल काइँला कोठामा पसिसकेको छ । केही बोल्दैनन्‌, दुबै एकअर्कालाई हेरिरहन्छन्‌, हेरिरहन्छन्‌ मात्रै ।

“काममा जाने होइन ?” काइँला भन्छ ।

“हो ।“ रुद्रमान भन्छ, त्यति मात्रै । बस अनि रूद्रमान थचक्क भुइँमा बस्छ, काइँलालाई हेर्दै नहेरी, मानौं कोठामा ऊ बाहेक अरू कोही छैन । उसलाई थाहा छ यति बेला उसलाई बेसरी रिङटा लागेको छ र कोठा फनफनती घुमाएझै भएको छ । ऊ एकोहोरो घुमेको कोठालाई हेरिरहन्छ ।