साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

क्लासिक कथा : अन्तर्विरोध

बिहान ब्यूँझने कुनै कार्यक्रम नहुनु, आङ तन्काउनु तर बेडमा टी नआउनु, मारेर राखेको आधा चुरोटको ठुटो सल्काउनु, एकपल्ट खोक्नु यो अवस्थाको विरूद्ध नालिस गर्न कहाँ जानुपर्छ थाहा नहुनु, झ्याल खोलेर पल्लो घरको गाह्रो हेर्नु तर आकाश होइन....

Chovar Blues Mobile Size

वर्तमान ढाक्रेगिरीभित्र छ जसको परिणति कहीँ सडकहरू नापेर छोडिदिनु, दुईचार ढोकाअघि अनायास हाजिर भइदिनु तर कपाल नकन्याउनु (एउटा क्षुद्र आदर्शको सुरक्षाको नाउँमा), दैनिक अखबारहरू एकपल्ट सरसर्ती हेर्नु जसमा कि ल्याकत नपुग्नु, कि ल्याकत धेरै भइदिनु, त्यसपछि एउटा असन्तुलित व्यक्तिलाई आफ्नो साथमा पालेर क्षुब्ध भइदिनु, कुण्ठित भइदिनु, भोक लाग्नु र मर्यादा धानेको एउटा सिरिखुरी जुत्ता फाटिदिनु, साथमा फाउन्टेनपेन नहुनु र साथीहरू बीच चुरोटको आशामा केही समय भइदिनु, थाहा छैन म स्थितिहरू बनाइरहेछु अथवा स्थितिहरू मलाई बनाइरहेछन्‌ ।

कमजोर स्थितिको मौका छोपेर एकाएक (कहिलेकाहीँ) एउटा स्वास्नी मान्छेको आवश्यकता जन्मिदिनु अनि स्वास्ती मान्छेलाई केवल उत्तेजना दिएर छोडिदिएपछि सेक्सको झण्डै-झण्डै समाधान भइसक्छ भन्ने आफ्नो पुरानो यसो भनौँ पहिलो धारणा अवास्तविक भइदिनु, चमेना घरकी गोरी ठिटीले आफूप्रति चाख नराखिदिनु, पछिबाट तुरुन्तै यथार्थ ज्ञात भइदिनु अर्थात्‌ मसँग मेरो चियाको तृष्णा मात्र थियो र चमेनावाल्नीसँग पैसा गन्ने हतारो मात्र, एउटा नक्कली तिरस्कार भोगेर केही क्षण आफैमा घोचिइनु यस्ता अनुभूतिहरूले केही भरथेक दिँदैनन्‌ जीवनलाई; एउटा सिङ्गो पीडा दिन अथवा प्रत्येक दस मिनेटपछि आफ्नो गरीब जीवनको आभास भइरहनु र राति खल्तीभरिभरि अनास्था बोकेर घर फर्किनु र ओछ्यानमा थकाई सार्न पल्टँदा सम्झिइन्छ । आफू त मात्र एउटा जर्जर बूढो सामाजिक मूल्य बाँकी रहिएको छ । शङ्का लाग्छ आफ्नो, मान्छे हुनुमा ।

पारिजात

जीवनको घरी कठिन मोडहरूलाई “एउटा समाधन दिएर हिँड्थेँ जस्तो सेक्स र स्वास्तीमान्छे । वास्तवमा अहिले थाहा हुन्छ, संयोगवश म धेरैपल्ट पलायन भइसकेको छु, हुन सक्छ वञ्चित भइसकेको छु । एकपल्ट अर्थहीन सोचेको थिएँ, एक रात म अल्लारे निद्रा सुतिदिन्छु बिहान उठ्दा नगरभरि आफूलाई एकाएक प्रतिष्ठित र लोकप्रिय भइरहेको पाउँछु । त्यसबेला स्थितिसँग मेरो सबैभन्दा यथार्थ साइनो के हुन सक्छ ? त्यसको केही दिनपछि नै यो सोचाइको सहज समाधान मैलै पाइसकेको थिएँ अर्थात्‌ एक रात फेरि  सोचेँ नगरभरि एक महामारी फैलियोस्‌ र आफूले चिनेकाहरू आफूले माया गरेकाहरू, आफूलाई माया गर्नेहरू मुख बाउँदै बीभत्स मृत्यु मर्दै गरेका हुन्‌ र म एउटा सुरक्षित बाँचिरहेको … त्यसबेला फेरि पनि स्थितिसँग मेरो ठाडो सम्बन्ध के हुन सम्छ ! त्यसपछि अचानक समाधान भए जस्तो लाग्यो । अब धेरै भइसक्यो यस्तो कुरा सोचिँदैन, सायद त्यो अन्तिम समाधान भए जस्तो लाग्यो। अब चमेनावाल्ती गोरी ठिटी सोचाइमा ठाडो किसिमसँग आइदिन्छे र बुभ्छु, जसलाई उत्तेजना मात्र दिएर पुग्दैन । चाहन्छु, यो मेरो आवरण मात्र भइदेओस्‌ र हो पनि यही ।

कहाँ, आफूलाई त जीवनको यो अकर्मण्यबोधले खाइरहन्छ । सेक्स जीवनको पहिलो उपलब्धि हो र ? असम्भव । त्यसपछि यस्ता तर्कहरूबाट पनि पलायन भइदिन मन लाग्छ । थाहा छैन, वञ्चित पनि हुन्छु वा हुन्नँ । अहिले यथार्थ त जुत्ता फेर्नु छ । जुत्ता एकदमै बेकामे भएपछि के म घरबाट निस्कुँला ! खै कुन्नि है यसै भन्न गाह्रो छ, त्यसै त म आफू एउटा बूढो र थोत्रो मूल्य भइसकियो । मर्यादाको नाउँमा त म एउटा झुत्रो डसनालाई धेरै सस्तो बुट्टे तन्नाले छोपिदिएको छु … म त सायद खोक्रो अझ भनौं दुई पैसे मर्यादामा बाँचरहेको छु । यो खोक्राइले मलाई कस्तो नपुङ्सक बनाएर छोडिदिएको छ- हो, त्यो म थाहा पाउँछु तर चाहन्छु त्यो पनि केवल आवरण मात्र भइदेओस्‌ यदि सम्भव हुन सक्छ भने । आफूमा मर्यादा मरिसकेको दिन त एकपल्ट सम्पूर्ण नाङ्गो भएर मूल सडक वारपार हिँडिदिन सक्नुपर्छ, मान्छेहरू सोच्छन्‌ यो त एउटा अति शुद्र प्रदर्शन हो (अश्लीलसम्म पनि होइन) तर यस प्रदर्शनले मलाई नपुङ्सक हुनदेखि बचाउँछ, कम हो ? अर्कोपटक त म मर्यादाहीन जीवनको नाउँमा एउटा यस्तो स्याबोटेज मच्चाइदिन्छु सारा नगर भ्याउने गरी । त्यसबेला मेरो भयानक परिणतिलाई समाजले मूल्याङ्कन गर्न सक्छ ? छोडिदिउँ यस्ता रौँ ठाडो हुने कुराहरू । म एउटा निरीह अति निरीह सामाजिक मूल्य, जसको अनुपात त एउटा भोट खसाल्तु पनि होइन ।

sagarmani mobile size

बिहान ब्यूँझने कुनै कार्यक्रम नहुनु, आङ तन्काउनु तर बेडमा टी नआउनु, मारेर राखेको आधा चुरोटको ठुटो सल्काउनु, एकपल्ट खोक्नु यो अवस्थाको विरूद्ध नालिस गर्न कहाँ जानुपर्छ थाहा नहुनु, झ्याल खोलेर पल्लो घरको गाह्रो हेर्नु तर आकाश होइन…. अँ आकाश होइन, के कसैमा पनि यो बेला एउटा महत्वकाङ्क्षाको मृत्यु हुँदैन ? यसबेला त्यो चमेनावाल्नी भेटेँ भने टिपेर झ्यालबाट तल मिल्काइदिन्छु । संसारमा कुनै पनि स्वास्नीमान्छे नबाँचोस्‌’ फरक के हुन्छ र ?

अब फेरि हिँडिदिन पर्छ तिरुद्देश्यः धानिँदैन अहिलेसम्म त केही सभ्यता र केही शिष्टताहरूलाई । हो त हगि हामी त शिष्ट भाषा पो बोल्छौं, हामी त सभ्य पो छौं । हामी त धेरैअघि सभ्य भएका थियौँ, हामीसँग प्रागैतिहासिक युगका गुफा, कन्दरा र भित्ती चित्रहरू सबुत छन्‌ । हामीसित सुनका अक्षरले लेखिएका पाण्डुलिपिहरूको नमुना छन्‌ । अब त्यो सत्यतालाई चुनौती, ती सुनका किताबहरूलाई चुनौती तर यो पनि कहीँ आवरण मात्र नभइदेओस्‌ । केही क्षणमा नै यो  चुनौतीको भाव भरिदिन सक्छ स्वतः के यसको निमित्त म मात्र जिम्मेदार छु ? अब जीवनसँग केही यस्ता अडभङ्गे प्रश्नहरू बाँकी छन्‌, जुन प्रश्नको प्रत्युत्तर नदिन सक्नमा म लगायत कोही पनि जिम्मेवार छैन । अनि हाँसो उठ्छ बेला कुबेला ।  एक्लै हाँस्नु अनाधिकार नहुनु साथै वाञ्छनीय पनि नहुनु, हाँस्नलाई एउटा एकान्त खोजेर पुग्नु र त्यहाँ पुगिसकेपछि हाँस्ने आवेग मरिसक्नु, बहाना स्वरूप खल्ती छाम्नु, चियाको निम्ति दस पैसा बाँकी नरहनु, सार्वजनिक पार्कको खाली चौतारीमा थकान मेट्नु, त्यसपछि एकाएक आफैलाई आफ्नो माया नलाग्न थाल्छ । यो अत्तिम प्रवृत्तिको विकल्प केही पनि हुँदैन केवल आफू सबैतिर एक किसिमले असमर्थ ।

प्रतिक्रिया
Loading...