एकाबिहानै छतमा बसेर कराउँदै गरेको कागलाई सुबोलसुबोल भन्दै हातले भगाउँदै छिन् कान्छी मुखिनी । काग कराउँदा कुनै अशुभ हुने कुरामा विश्वस्त उनी मनमा कुरा खेलाउँदै खेलाउँदै छतको कसिङ्गर उठाइसक्छिन् । अघि धपाएको काग फेरि फर्केर पहिलेकै छतको डिलमा बसेर झन् चर्काे स्वरमा कराउन थालेपछि बूढीको पारो तात्छ, टाढैबाट हान्छिन् झटारो । काग आकाशतिर बतासिन्छ । उसो त घरको काम गर्ने करै त हैन बूढीलाई । तैपनि यसै बस्न सकसक लाग्छ । तीन तले घरको तल–माथि गरिरहेकी हुन्छिन् । उनको सबैभन्दा ठूलो जिम्मेवारी र चिन्ताको विषय त दश वर्षदेखि पक्षघातले शरीरको देब्रे पाटो नचलेर थलिएको आफ्नो बूढाको हेरचाह र स्याहार सुसार नै हो । काग कराएको विषयलाई निकै गम्भीर रूपमा लिएर फत्फताउँदै तल झर्दै गरेकी कान्छी मुखिनीसँग दश वर्ष लाग्दै गरेको नातिको जम्काभेट भयो भर्याङ्मा ।
“हैन मुमा के भो ? मुसाले टोक्यो कि क्या हो बूढीमाउलाई, एकाबिहानै फत्फताउँदै हुनुहुन्छ त, सिरक ओडेर नसुतेर त्यत्तिकै ।”, जिस्किरहन्छन् नाति–ज्यामा । मुसाले त तेरै दाँत खाको छ नि ! म बूढीलाई के गर्छ र मुसाले ? भन्दै नातिलाई मायाले सुमसुम्याउँदै तल झरिन् ।
तल कोठाबाट रोगले थलिएका उनका पतिपरमेश्वर सूर्यमानको लरबरिएको आवाज सुनियो ।
‘ए ! को छ माथि ? राजेकी आमा ! तातो पानी लेन एक गिलास ।’
उनी किचनमा छिर्न नपाउँदै बुहारीले गिलासमा राखिसकेको पानी लिएर बूढाको कोठातिर लाग्छिन् कान्छी मुखिनी । रोगी र अशक्त भए पनि बूढाको परिवारमा रवाफ र डाँको भने कहिले सानो भएको हैन । आफ्नो जमानामा शान र रवाफ निकै जमाएका सूर्यमानको तुलना त्यो परिवारका अन्य सदस्यसँग गर्न सकिने किसिमको पनि थिएन । भलै उनी दश वर्षदेखि दीर्घरोगले थलिएकै किन नहुन् ।
परार साल पनि निकै चापेको हो बूढालाई । अस्पतालमा कुर्न बसेका उनी र उनको छोराले सोह्रै आना आस मारेपछि भेट्न चाहने आफन्तहरुलाई पनि खबरखाबर गरेका थिए उनका सन्तानले । विदेशमा भाका अरू छोराबुहारी पनि हतारमा आएकै हुन् । तर दैवको लीला आस मारिसकेका बूढालाई पनि कुन ओखतीले छोयो, बिस्तारै तङ्ग्रिदै पो गए । पहिलोभन्दा नि निकै तेजिलो मुहार अनि लरबराउने बोली पनि प्रष्ट हुँदै गएपछि बूढालाई तत्कालै केही नहुनेमा कान्छी मुखिनीसहित सबै परिवारका सदस्य ढुक्क देखिन्थे । तर मधुमेह र उच्च रक्तचापको बिमारी कुन बेला के हुन्छ भन्नै नसकिने । बूढाको अवस्था बिग्रँदै गएको सङ्केत तथा अनुमान मुखिनीले गरिसकेकी थिइन् शायद । त्यसैले बिहानै काग कराएकोप्रति सशङ्कित हुँदै भित्रभित्रै पिरोलिइरहेकी थिइन् ।
ओखती खानुअघि अलिकति खाना खुवाउनु पर्ने नियमित कर्मतिर लाग्दै थिए सासुबुहारी दुवै । सधैँ हकारेर खाना माग्ने बूढा आज अलि निस्तेज र शिथिलजस्तै देखिन्थे । रोटी र सागपट्टि यसो आँखा फ्याँके पनि खान इच्छा गरेजस्तो देखिएन । खाटमा बसिरहेका बूढा नजिकै पुगेर उनको शिर आफ्नो छातीमा अडेस लगाएर रोटी र सागको सानो टुक्रा मुखमा राखिदिइन् कान्छी मुखिनीले । सारै सकसले निले बूढाले तर अर्काे गाँस नखाने सङ्केत गरे । सधैँझैँ बूढालाई औषधि खान दिइवरी आफू पनि खाना खाने तरखरमा लागिन् । नजिकै अर्काे छोराको घरमा बस्ने गरेकी ठूलीमुखिनी पनि आइपुगिन् । बूढालाई अलि च्यापेदेखि तीनै जना जोइपोइ अधिकांश समय सँगै रहने गर्थे । दिदी आइपुग्नेबित्तिकै आँखा र हातको इसाराले बूढाको अवस्था खस्किएको सङ्केत गरिन् कान्छी मुखिनीले । दुवै जोइहरुको मुहारमा भय र चिन्ताको बादल मडारिएको प्रष्टै देखिन्थ्यो ।
हुन त नाताले सौतासौती बुझिएपनि झण्डै पचास वर्षसँगै सङ्घर्ष गरेका ती दिदीबहिनीले त्यो नातालाई धेरै अघि नै दरौंदीमा सेलाइसकेका थिए । उनीहरुले जमिन्दार ससुराको निकै ठूलो परिवारमा सँगै बेहोरेको बुहार्तन र सङ्घर्षबाटै ठूली मुखिनी र कान्छी मुखिनीको दर्जा पाएका हुन् । बूढाले सरकारी जागिर नखाएको भए पनि काजी सन्तानमा माइला काजीका श्रीमतीहरु भएकाले उनीहरुलाई दौतरीहरु सबैले यसरी नै बोलाउने गरे ।
एकै साथ खुइय सुस्केरा हाले दुवै मुखिनीले । बूढाको दाँया र बाँया बसेर एकएक वटा हात मुसार्न थाले । भर्खरै दारी काटेर तेल लगाईवरी सुकोमल देखिएका बूढाको मोहनी रूप हेरिरहे । शायद बूढाले पनि आज जति प्रणयभाव जीवनमा कहिले नै देखाएनन् होला यी बूढीहरुप्रति एकै साथ । बूढालाई निकै नै पीडा भएको आभाष भैरहेको थियो । चार दिन अघि अस्पताल लगेर ल्याएको उनलाई डाक्टरले साता दिनपछि आउन सल्लाह दिएको थियो । आपूmसँगै बस्ने छोरा पनि त्यही योजनामा घर बाहिरिेएको थियो दुई दिनलाई । हुन त घरमा सक्षम नाति, बुहारी साथै थिए । तैपनि दश वर्षदेखिको यो नियमित प्रक्रियामा अस्पताल लगिहाल्ने अवस्था नै आँकलन पनि गरेका थिएनन् । बूढा आफैले पनि छोरा आएपछि मात्रै उसकै गाडीमा जाने ढिपी गरिरहे । ठूली मुखिनीले खाना खाइसकेको इशारा गरेपछि कान्छी मुखिनी खाना खान किचनतिर लागिन् । खाना पटक्कै मन लागेन उनलाई । एकछिन् छतमा घाममा पल्टिन भनेर भ¥याङ उक्लदै थिइन, तल किचनमै छोडिएको उनको मोबाइल फोनको घण्टी बज्न थाल्यो ।
“त्यही राजेको फोन होला नि । विचरालाई अफिसको टेन्सन जति भए नि घरको चिन्ताले छोड्दैन् । कहिले शान्ति भएन मेरो छोरालाई ।” नातिनीले बावाको फोन भन्दै हातमा दिइन् । “बुबालाई कस्तो छ त आमा ?” छोराले पक्कै सोधे । यसका लागि के जवाफ दिने उनी तयार थिइनन् । दोहोरो मायाले गाँजेको थियो उनलाई शायद । बूढाको वास्तविक अवस्था र मनले हरेस खाएको कुरा बताउँदा छोरालाई तनाव भएर कामै छोडेर आउला भन्ने पीर । अर्काेतिर छोरालाई बोलाएर छिटो अस्पताल पु¥याउन पाए बूढाको पीडा पो कम हुन्थ्यो कि भन्ने आस कै बीचमा बोलिन् ‘अँ बाबु ! अलि निरास हुनुभएको जस्तो देख्छु । बोल्न मन गर्नुभएको छैन ।’ उताबाट छोराले के भने कुन्नि कान्छी मुिखनीले भनिन्– पीर नलेऊ बाबु, तिमी भोलि आएपछि नै एकपटक अस्पताल लैजानु पर्ला र हामीले जाम भने नि मान्नु हँुदैन । तिमीसँगै जाने भनेर अड्डी कस्नुभएको छ । तिमी चिन्ता नलिइकन आफ्नो काम गरेर आऊ न यता हामी सबै छौँ नि ।
साँच्चै कान्छी मुखिनीको मनमा आज बितेका कुराहरु एकाएक सम्झना आइरहेको छ । सूर्यमानसँगको पहिलो भेटदेखि अघि भर्खर औखती दिँदा बूढाले मायाले हात समातेसम्मको स्मृति । त्यो बेलाको समाजमा देखादेख हुनु, मनपराउनु नै अपराध हुने जस्तो बेला । सानै उमेरमा जोडी बाँधिने बेला । नजानिदो रूपमै सूर्यमानसँगको हेलमेलको आधारमा आफन्तहरुबाट उनीहरुको बिहेको कुरा चलाइयो । सूर्यमानको नजिकै रहेको कान्छी मुखिनीको माइतीले खै त्यो कुरालाई त्यति महत्व दिएन त्यतिखेर । काजी सन्तान त्यही पनि जमिन्दारका माइला छोरा सूर्यमानको बिहे रोकिने कुरा पनि भएन । आफ्नो खानदान सुहाउँदो कन्या खोजेर बिहे गरे गाउँबाट अलिक परकै गाउँमा । तर त्यो विवाह बन्धनले पनि कान्छी मुखिनी र सूर्यमानको आत्मीय सम्बन्धलाई कतै रोक्न सकेन । अन्ततः बिहे गरेकै दुई वर्ष नबित्दै परिवारले रीतिरिवाज पु¥याएरै दुवैको बिहे गरिदिएपछि झण्डै पचास वर्ष बिताएका यी तीन जना जोइपोइ आज यो मोडमा आइपुगेको वास्तविकतामा रुमल्लिरहेकी छिन् कान्छी मुखिनी ।
सत्र वर्ष नपुग्दै मायाजालमै जेलिएर सौतामाथिको पारिवारिक जीवन स्वीकार गरेकी कान्छी मुखिनीको वयस्क जीवन सुखी र लोभलाग्दो कहिल्यै भएन । ठूलो परिवारमा कान्छी स्वास्नी भएर सङघर्ष गर्नुको पीडा उनी बाहेक कमैले भोगेका होलान् । कडा पारिवारिक अनुशासन, सासु र लोग्ने समेतका कडा मिजासको बीच एकप्रकारको आत्मिक प्रेम स्वीकार गरेकी कान्छी मुखिनीले जिन्दगीका निकै कठोर दिनहरु बिताएकी थिइन् । आपूmले सर्वस्व मानेर पुजेको तिनै पतिका हातबाट मराणासन्न हुने गरी कयौं पटक पिटिएर अस्पताल भर्ना भएका दृष्टान्त उनका आँखैमा थिए ।
धनसम्पत्तिको कमी नहुँदा नहुँदै पनि सामाजिक कुुसंस्कार र निकै मानसिक यातनाको बीचमा बितेको उनको जीवनको झण्डै आधा खण्ड निकै कहालिलाग्दो रह्यो । उनका लागि मात्र हैन उनलाई चिन्ने सबै आफन्तजनको लागि पनि असह्य हुने त्यो दारुण समय । सौताप्रति रिसराग र घृणाको अवसर कान्छी मुखिनीले पाइनन् । समयले उनलाई राम्रै पाठ सिकायो । सूर्यमानप्रतिको दिव्य मोहका कारण जो नारीमाथि उनी सौता बनेर गइन् शायद जीवनरक्षाको लागि उनी नै शक्ति बनिन् । बोली र व्यवहारमा कठोर देखिए पनि जीवनमरणको हरेक क्षणमा, समयले ठूली मुखिनी नै उनको सहाराको रूपमा ल्यायो । त्यसैले ठूली मुखिनीप्रति उनको गुनासो गर्ने ठाँउ कतै नभएको महसुस गरिन् यति हुँदाहुदै पनि कर्मको फल भने झै उनले बिताएका पछिल्लो आधा जुनी उनको पक्षमा आएकोमा केही सन्तोष माने झै गरिन् । उनले परिवारबाट कुनै श्रीसम्पति र देखिने किसिमको मायाभाव नपाए लोग्नेसँगको वास्तविक मायाको उपहार दुई वर्षका अन्तरमा तीनवटा छोराहरु जन्माएर तीनलाई हुर्काउने र असल बनाउनमा नै मूल ध्यान केन्द्रित गरिन् । छोराछोरीको भविष्यका सपनाका अघि उनले जुनसुकै दुःखलाई पनि सानो सम्झेर झेल्ने गरिन् । आज तिनै छोराहरुको माया र बलमा कान्छी मुखिनी स्वाभिमानले बाँचेको ठानिरहेकी छिन् । उमेरमा अर्काको लोग्ने खोसेर गल्ती पो गरेँ कि भन्ने पश्चाताप पनि अब रहेन । विगत दश वर्षदेखि अशक्त लोग्नेको सहारा बनेर आफ्नै सन्तानको काखमा जीवन गुजार्न पाएपछि पहिलाको सारा दुःख भुलेर सन्तोषको सास फेरिन् । उनले मनमनै आपूm आफ्नो बूढाबाट भौतिक रूपमा टाढिन लागेको कल्पना पनि गरिन् । उनका मनमा एक किसिमको पीडा छचल्कियो ।
आँखाभरि आँसु भरिए । तर तत्कालै उनको अर्काे मायालु मनले उनलाई सम्झायो– हैन बूढाले यो दश वर्ष निकै कष्ट काटे । धन्न मैले स्याहारसुसार गर्न पाएँ । यदि यिनलाई रोग लाग्नुभन्दा पहिले मलाई केही भएको भए त झन बढी दुःख र कष्ट खेप्न पथ्र्याे होला । बरु मेरै काखमा शान्तिले गइदिए मैले पनि सन्तोषको सास फेर्न पाउँथे । सन्तानले पनि सकेको गरेकै हुन् बूढालाई । विदेश घुमाउनेदेखि उनका हरइच्छा पूरा गरिदिएकै छ्न । सबै सन्तानको राम्रो देखेर बूढा गइहाले पनि मैले मन दरिलो बनाउनु पर्छ भन्ने सोच्दै तन्द्रामा झकाउन पुगेकी कान्छी मुखिनी छततिरबाट आएको बुहारीको आवाजले झस्किन् ।
– “बुबालाई अलि गाह्रो भएजस्तो छ मुमा, हजुरलाई पनि खोजे जस्तो छ । छोरालाई फोन गर्न पर्छ कि जस्तो छ, बुहारीले केही आत्तिए झै गरेर भनिन् । ”
बाथको रोगले टेक्न गाह्रो हुने गोडा बल्लतल्ल उठाउँदै कान्छी मुखिनी बोलिन्– ‘खै बुहारी मैले बुबाको राम्रो हुने लक्षण देखेको छैन । अस्पताल त हामीले लगे पनि भयो नि छोरालाई किन दुःख दिनु र ? भोलि त उतै अस्पताल आइहाल्छ नि ।’
हल्ला खल्ला गर्न थाले सबैजना बूढालाई अस्पताल लानको लागि । अरू बेला बूढा अस्पताल जान भनेपछि आफै एकदम टाठो हुन्थे तर यसपटक त्यति जोड गरेको देखिएन । छोरा आएपछि छोराकै गाडीमा जाने ढिपी गरिरहे पनि बूढाको खस्कँदो अवस्थाले अरू मान्ने अवस्था भएन । बूढाले दश वर्षसम्म बिताएको कोठा, आफूले सामान राख्ने गरेको दराज र उनलाई प्रिय लाग्ने बार्दली निकै बेरसम्म हेरे । आफूलाई माया गर्ने दुइटी बूढीहरु, लामो समयसम्म साथीजस्तै घरमै रहेर खुवाउने जिस्किने बुहारी र त्यँहा भएका नातिहरुलाई पालैसँग हेरिरहे । बोल्न गाह्रो भएर बूढालाई पीडाले निकै सताएको देखिन्थ्यो ।
सजिलोका लागि एम्बुलेन्स बोलाए नातिहरुले । आधा घण्टा पनि नबित्तै अस्पताल पु¥याए दुइटी बूढीले बीचमा राखेर । ठट्यौला स्वभावको बूढा बाटोमा पनि केही गफ गर्दै गए । दश वर्षमा कयौ पटक अस्पतालको सघन कक्षबाट फिर्ता भएर आएका बूढालाई यसपाली पनि ठीक भैहाल्छ नि भन्ने विश्वासमै थिए बिरामी र अरू पनि । व्हीलचेयरबाट आइसीयू कक्षमा लग्दा पनि हँसिलो अनुहारले बाई गर्दै पसेको सूर्यमानको अवस्था सुधार भएन । अस्पतालका डाक्टरले अवस्था गम्भीर भएको संकेत गर्दै सघन कक्षबाट जानकारी मात्र दिन थाले । छोरालाई खबर भैसकेको थियो । आत्तिदैं अस्पताल आइपुगेको छोरा आईसियू कक्ष पुग्दा बूढा अर्धचेत अवस्थामा अक्सिजनको माससहित धमिलो आँखाले हेर्दैै थिए । डाक्टरले एउटा इन्जेक्सन दिएको र त्यसले काम गरेन भने बचाउन नसकिने घोषणा गरिसकेको थियो । औषधीको असर देखिने समय करिब समाप्त हुन लागेको बखत छोराले बाबुको हात समात्यो । छोरालाई एकाहोरो हेर्दाहेर्दै बूढाले प्राण त्याग गरे ।
अस्पताल बाहिर बसेका सबै आफन्तमा कुतुहलता थियो । रुँदै आइसियूको कक्षबाट बाहिरिएको छोरालाई देख्नुबित्तिकै कान्छी मुखिनीको मन पनि भक्कानियो तर उनलाई बूढाले छोडेर गएपनि पीडाबाट पाएको मुक्तिले एकक्षण शान्त बनायो । भित्रभित्रै भक्कानिए पनि छोराहरुलाई औधी माया गर्ने कान्छी मुखिनी आफै छोराबुहारीलाई सम्झाउन अघि सरिरहेकी थिइन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।