..१..

आर्ट स्कुलका प्रोफेसर मनमोहन बाबु घरमा मित्रहरूसँग मनोरन्जन गर्दै थिए। त्यही समय योगेश बाबुले कोठामा प्रवेश गरे।

योगेश बाबु चर्चित चित्रकार थिए। उनले केही समय अगाडि नै स्कुल छोडेका थिए। उनलाई देखेर कोठामा भएका एक जना केटाले भन्यो – ‘योगेश बाबु ! नरेन्द्र के भन्ने गर्छ, सुन्नु भएको छ ?’

योगेश बाबु पहिले आरामदायक कुर्सीमा बस्छन् अनि लामो सास फेरेपछि भन्छन् – ‘के भन्छ ?’

‘नरेन्द्र भन्छ, बङ्गप्रान्तमा अहिले ऊभन्दा राम्रो चित्रकार अरू कोही छैन रे।’

‘ठिक छ, आजभोलिको ठिटो हो नि त । हामीजस्ता चित्रकारले त फगत अहिलेसम्म घास उखेल्दै मात्र आएका हौँ।’, निमोटिएर योगेश बाबुले भने ।

कुरा गर्ने केटाले भन्छ – ‘यति मात्र होइन, नरेन्द्रले तपाईंलाई सम्मानको दृष्टिले पनि हेर्दैन।’

योगेश बाबुले उपेक्षित भावसँग भने – ‘किन ! मैले केही अपराध गरे ?’

‘ऊ भन्छ, तपाईं आदर्शलाई ध्यान नदिई चित्र बनाउनु हुन्छ रे ।’

‘फेरि, म कुन दृष्टिकोणले  चित्र बनाउछु त ?’

‘रुपियाँका लागि रे ?’

कथाकारः रवीन्द्रनाथ ठाकुर

योगेश बाबुले एउटा आँखा बन्द गरेर भने – ‘सबै व्यर्थ कुरा ।’ आवेशतापूर्वक कानछेउमा अव्यवस्थित भएका केश मिलाएर धेरै बेर मौन बसिरहे। चीनका जुन चैँ सुप्रसिद्ध चत्रकार थिए उनका पनि केश धेरै लामा थिए। त्यही कारणले योगेश बाबुले आफ्नो स्वभाव-विरुद्ध शिरको केश लामो राखेका थिए। लामो केशले उनलाई पटक्कै सुहाउँदैनथ्यो किनभने एकचोटि बचपनमा उनलाई चर्मरोग-खटिरोले थला पारेको थियो। उनको प्राण त बच्यो तर अनुहार भने कुरुप भइदियो। ऊ एक त श्याम-वर्ण, दोस्रो अनुहारमा चर्मरोगको दाग। उनको अनुहारलाई हेर्दा यही लाग्थ्यो कि कसैले बन्दुकमा छर्रा भरेर पट्काइदिएको हो।

कोठामा जुन केटा बसेका थिए, योगेश बाबु क्रोधित भएको देखेर उनीकै अगाडि मुख थुनेर हाँस्न लागे।

अनायसै योगेश बाबुले हाँसेको देखे, क्रोधित स्वरमा भन्छन्- ‘तिमीहरू किन हाँस्दैछौँ ?’

एक जना केटाले चिप्लो घस्दै झट्टै भन्यो – ‘होइन हजुर ! तपाईं क्रोधित हुनु अनि हामी हाँस्नु, यो सम्भव हुनै सक्दैन।’

‘ऊहँ ! मैले बुझिहालेँ। अब धेरै चातुर्य देखाउने आवश्यकता छैन। के तिमीहरू यो भन्न चाहँदै छौँ कि अहिलेसम्म सबै दात बाँधेर रुँदै थियौँ? म यति पनि मुर्ख छैन ।’ यति भनेर उनले आँखा बन्द गरे।

केटाले प्रयत्न गरेर हाँसो रोके अनि भने – ‘कुरा त सत्य हो, हामी हाँस्दै थियौँ तर रुनु चैँ किन ? हामी त नरेन्द्रको पागलनपनाको विचार गरेर हाँस्दै थियौँ । ह्वाँ हेर्नुहोस, नरेन्द्र आउँदैछ।’

मास्टर साहेबको साथमा नरेन्द्र कोठामा आयो।

योगेश बाबुले एकचोटि नरेन्द्रलाई टेढो नजरले हेरेर मनमोहन बाबुलाई भने- ‘हजुर ! नरेन्द्र मेरो विषयमा के भन्दै थियो अरे ?’

मनमोहन बाबुलाई थाहा थियो यी दुईजना एकअर्काकामा ईर्ष्या गर्छन्। दुई पाषाण जब परस्पर टकराउँछन् भने अग्नि त उत्पन्न भइहाल्छ। अतःएव कुरालाई सम्हाल्दै मुसुक्क हाँसेर भन्छन्-‘ योगेश बाबु, नरेन्द्र के भन्छ रे?’

‘नरेन्द्र भन्छ अरे कि, म रुपियाँको दृष्टिकोणले चित्र बनाउँछु। के मेरो कुनै आदर्श छैन?’

मनमोहन बाबुले सोधे- ‘हो नरेन्द्र?’

नरेन्द्र अहिलेसम्म मौन उभिएको थियो, अगाडि आएर भन्यो- ‘हो, म भन्ने गर्छु। अनि यही मेरो सम्मति हो।’

योगेश बाबुले मुख फुलाएर भने- ‘ठुलो सम्मति दिनेहरू आए। स्यानो मुख, ठुलो कुरो। हिजोको ठिटो अनि कुरा भने ठुला-ठुला।’

अनुवादकः हर्कबहादुर लामगादे ‘रोहित’ (मणिपुर)

मनमोहन बाबुले भने- ‘छोड्दिनुहोस् योगेश बाबु, नरेन्द्र अहिले केटाकेटी नै छ, अनि कुरो पनि साधारण छ। यसमा वाद-विवादको के आवश्यकता छ र?’

योगेश बाबु त्यहीँ आवेशमा बोले- ‘केटाकेटी? नरेन्द्र केटाकेटी हो र? जसको ओठमा यति लामा-लामा जुँगा छन् त्यो कसरी केटाकेटी हुन सक्छ? अगर यो बच्चा हो भने, बुढा चैँ कस्ता हुन्छन् फेरि ? मनमोहन बाबु ! तपाईं के भन्नुहुन्छ?’

एकजना विद्यार्थीले भन्यो- ‘हजुर ! भर्खरै तपाईंले नरेन्द्रलाई ठिटो केटा भन्नुभएको होइन ?’

योगेश बाबु रिसले रातो न पिरो भएर भने- ‘कहिले भनेको थिएँ ?’

‘अहिले भर्खरै त भन्नुभएको थियो।’

‘झुट ! बिल्कुल झुट ! जसको यति लामा-लामा जुँगा छन् त्यसलाई म ठिटो भन्छु, असम्भव कुरा । के तिमीहरू भन्न खोज्दै छौँ कि म एक्दमै मुर्ख हुँ ?’

सबै केटाले एउटै स्वरमा भने- ‘होइन हजुर ! यस्तो कुरा हामी भुलेर पनि जिब्रोमा ल्याउन सक्दैनौँ।’

मनमोहन बाबुले प्रयत्न गरेर हाँसो रोके अनि भने – ‘चुप लाग तिमीहरू। कुरा नबिगार ।’

योगेश बाबुले भने – ‘अँ, नरेन्द्र ! तँ भन्दै थिस् कि बङ्ग-प्रान्तमा तँलाई टक्कर दिने अरू चित्रकार छैनन् अरे ?’

नरेन्द्रले भन्यो- ‘तपाईंलाई कसरी थाहा भयो ?’

‘तेरा साथीले भनेका।’

‘मैले त्यसो भनेको होइन, तर अवश्य भन्न चाहन्छु कि मेरोजसरी मुटुको रगत पिएर चैँ कसैले चित्र बनाउँदैन्न ।’

‘यसको प्रमाण?’

नरेन्द्रले आवेशमय स्वरमा भन्यो- ‘प्रमाणको के आवश्यकता छ र ? मेरो यही विचार हो।’

‘तेरो विचार असत्य हो।’

नरेन्द्र थोरै बोल्ने प्रवृत्तिको थियो । उसले केही उत्तर दिँदैन।

मनमोहन बाबुले यो अप्रिय कुराकानीलाई बन्द गर्ने निहुँमा भने- ‘नरेन्द्र यसचोटि प्रदर्शनीका लागि तँ चित्र बनाउँछस् नि है ?’

नरेन्द्रले भन्यो- ‘विचार त गरेको छु।’

‘हेर्छु यसपाली तैँले कस्तो चित्र बनाउने रहेछस्।’

नरेन्द्रले श्रद्धापूर्वक मनमोहन बाबुको खुट्टा छोएर भन्यो- ‘तपाईं जस्तो गुरु भएपछि मैले चिन्ता गर्ने आवश्यकता छैन । हेर्नु होला, चित्र सर्वोत्तम हुनेछ।’

योगेश बाबुले भने- ‘रामभन्दा पहिले नै रामायण । पहिले चित्र बना अनि भन्नु।’

नरेन्द्रले मुख बिगारेर योगेश बाबुतिर हेर्यो। भन्न त केही भनेन तर उसको मौनभाव र उपेक्षित कुराले योगेश बाबुको हृदय अवश्य दुख्यो।
मनमोहन बाबुले भने- ‘योगेश बाबु, तपाईं जे भन्नु तर पनि नरेन्द्रलाई आत्मिक शक्तिप्रति ठुलो विश्वास छ। म दृढ निश्चयसँग भन्छु, भविष्यमा गएर नरेन्द्र ठुलो चित्रकार हुनेछ।’

नरेन्द्र विस्तारै बाहिर गयो।

एउटा विद्यार्थीले भन्यो- ‘प्रोफेसर साहब, नरेन्द्रलाई केही हदसम्म विक्षिप्तमा भएको बुझिन्छ।’

मनमोहन बाबुले भने- ‘हो, मलाई पनि त्यसतै लाग्छ। जो मान्छेले आफ्नो भाव मजाले प्रकट गर्नमा सफल हुन्छ त्यसलाई सर्व-साधरणले उसलाई विक्षिप्त भएको ठान्छन्। नरेन्द्रमा एक प्रकारको विशेष आकर्षण अनि मोहकता उत्पन्न गर्ने असाधारण योग्यता छ। तँलाई थाहा छ, एकचोटि नरेन्द्रले के गरेको थियो? मैले देखेको थिएँ, उसको देब्रे हातको औँलामा रगतको भल आउँदै हुन्छ अनि नरेन्द्र केही कष्ट नमानी चित्र बनाइरहन्छ। म त हेरेर छक्क परेँ। मैले सोध्दा उत्तर दियो कि औँलो काटेर हेर्दै थिए रगतको वास्तविक रङ कस्तो हुँदछ। अजीब मान्छे छ। तिमीहरू यसलाई विक्षिप्तता भन्न सक्छौँ तर यही विक्षिप्तताको कारणले गर्दा नै एकदिन नरेन्द्र अमर कलाकार कहलिनेछ।’

..२..

नरेन्द्र सोच्दै-सोच्दै घरतिर लाग्यो। बाटोमा निकै भिड थियो। बाटोभरि गाडीको आवागमनले हुँदा पनि उसको ध्यान त्यतातिर गएन। आखिर उसलाई के चिन्ता थियो त ? सम्भवतः उसलाई पनि चिन्ताको कारण पत्तो थिएन।

ऊ थोरै समयमा ठुलो चित्रकार भएको थियो। अल्प समयमा ऊ यति सुप्रसिद्ध भयो कि उसका ईर्ष्यालु मित्रहरूलाई उससको प्रसिद्धि नराम्रो लाग्न थाल्यो। यीनै ईर्ष्यालु मित्रहरू मध्य योगेश बाबु पनि थियो। नरेन्द्रमा एक विशेष योग्यता एवम् उसको तूलिकामा एक प्रकारको असाधारण शक्ति थियो। योगेश बाबु उसको योग्यतालाई मनैमन बुझ्दथे तर सार्वजनिक रूपमा मान्नलाई तयार थिएनन्।

यति थोरै समयमा उसले प्रसिद्धि पाउनुको एक विशेष कारण थियो। त्यो यो थियो- नरेन्द्र जब पनि चित्र बनाउँदथियो आफ्नो सम्पर्ण योग्यता खर्च गर्थ्यो। उसको दृष्टि चित्रमा मात्रै रहन्थ्यो, पैसातिर भुलेर पनि ध्यान जाँदैनथ्यो। उसको एउटै महत्वाकाङ्क्षा रहन्थ्यो कि चित्र अति सुन्दर बनियोस्। त्यसमा आफ्नो विशेष विलक्षणता होस् चाहे मूल्य थोरै पाऊँ या अधिक। नरेन्द्र चित्रमा आफ्नो विचार र भावनाको सूक्ष्म रूप-रेखाहरू निहाल्थ्यो। जब ऊ चित्र बनाउन सुरू गर्थ्यो, चारैतिर फैलिएको असीम प्रकृति एवम् त्यसमा विराजमान सबै सूक्ष्म रूप-रेखाहरू आफ्नो हृदय पटलमा समाहित गर्थ्यो। ऊ त्यस बखत पागलसरी देखिन्थ्यो अनि आफ्नो प्राण पनि सम्भवतः दिन सङ्कोच नगरी ध्यानमग्न भएर चित्र कोर्थ्यो। वास्तवमा यही कारणले गर्दा उसले यो सम्मान प्राप्त गरेको थियो। उसको स्वभाव सरल एवम् सहज थियो। ऊ जुन कुरा पनि उसको स्वभावअनुरूप सहजताले भन्थ्यो, अरूले उसलाई अभिमानी र घमण्डी ठान्थे। उसको अगाडि कोही पनि मुख खोल्दैनथिए तर पछाडि उसको कुरा पखाल्न भने कोही पछि सर्दैन थिए। सबैले नरेन्द्रलाई सङ्ज्ञाहीन मान्थे। नरेन्द्र कसैले उसको कुरा काटेको चाख लागेर सुन्दैनथ्यो। कसैले सोधिहाले भने पनि भिन्नै जवाफ दिन्थ्यो। जति बेला पनि उसलाई हेर्दा यस्तो लाग्थ्यो मानौँ भर्खरै सपना हेर्दै थियो अनि कैसैले अनायसै उठाइदिएको हो।

उसले विवाह गर्यो। एउटा घोर्ले छोरो भयो। श्रीमती अति सुन्दर थिई। नरेन्द्रलाई गृहस्थ जीवनमा केही आकर्षण थिएन तर पनि उसको हृदयमा अथाह प्रेम थियो। ऊ जति बेला यही धुनमा रहन्थ्यो कि चित्रकलामा कसरी अमर प्रसिद्धि प्राप्त गरूँ। यही मुख्य कारण थियो कि उसलाई सबैले पागल भन्थे। कुनै पनि हलुङ्गो वस्तुलाई बलजप्ती पानीमा डुबाउन गर्यो भने त्यो वस्तु तरिरहन्छ। ठिक यस्तै दशा उनीहरूको हुन्छ जो आफ्नो धुनका पक्का हुन्छन्। उनीहरू सांसारिक दुःख-सुखमा कुनै प्रकारले पनि डुब्न चाहँदैनन्। उनीहरूको हृदय प्रत्येक पल कार्यपूर्तिका लागि क्रियान्वित भइरहन्छ।
नरेन्द्र सोच्दै-सोच्दै आफ्नो घरको अगाडि उभियो। उसले देख्यो- दैलोमाका छेउमा उसको चार वर्षको छोरो मुखमा हात राखरे चिन्तामग्न उभिएको छ। बुबालाई देखिसक्दा नानी कुद्दै आयो अनि दुइटै हातले आफ्नो बुबालाई समातेर भन्यो- ‘बुबा हजुर!’

‘भन छोरा।’

छोराले बुबालाई तान्दै भन्यो- ‘बुबा हेर्नु न, मैले एउटा भ्यागुदालाई हिर्क्याइदिएको थिएँ। लङ्गडो भएको छ।’

नरेन्द्रले छोरोलाई बोकेर भने- ‘त, म गर्नु छोरा? त पनि छुच्चो भइस् है!’

नानीले भन्यो- ‘भ्यागुतो अब घर जान सक्दैन-लङ्गडो भएको छ। कसरी जान्छ होला बुबा? उसलाई बोकेर उसको घर पुर्याइदिनु न।’

नरेन्द्रले छोरोलाई बोकी हाँस्दै हाँस्दै घरभित्र पसे।

..३..

एक दिन नरेन्द्रलाई ध्यान आयो कि योचोटि जसरी भए पनि चित्र प्रदर्शनीमा एउटा राम्रो चित्र चित्रित गरेर पठानु पर्ने छ। उसको कोठाभित्र धेरै चित्रहरू टाँगिएका थिए। कुनै    प्राकृतिक दृश्य, कतै मनुष्य-शरीरको रूप-रेखा, कतै स्वर्णसरी तोरी-खेतको हरियाली, जङ्गलको मनमोहक दृश्य अनि कतै वृक्षहरूको छायाबाट हुँदै तेर्सो परेका बाटा नदीतिर गएर टङ्गिएका, आकाशलाई छुदै गरेका डाँडा-काँडा, कैयौँ यात्रु छायादार वृक्षमा आराम गर्दै गरेको दृश्य, यस्तै अनेकाअनेक चित्रहरूमा परिदृश्य थिए। अर्कातिर कैयन् चराहरूको चित्र पनि थिए। सबैको मनोभाव उनीहरूका अनुहारबाट प्रकट हुँदै थिए। कुनै क्रोधित थिए, कुनै चिन्तित अवस्थामा थिए भने कुनै प्रसन्नचित मुद्रामा।

कोठाको उत्तरीय भागको झ्यालको समीप एउटा अपूर्ण चित्र टाँगिएको थियो। त्यसमा एउटी सुन्दर युवती खुजुर-रुखको समुहको छायामा नील-वर्ण-जलमा अचल बिजुली समान मौन उभिएकी थिई। युवतीको ओठ र अनुहारमा हृदयको पीडा रेखाङ्कित गरेको थियो। यस्तो लाग्दैथ्यो मानौँ चित्रकार केही भन्न चाहन्छ तर उसको शरीरमा पूर्ण रूपेण यौवन प्रस्फुटित नभएको भान लाग्थ्यो।

यी सबै चित्रहरूमा चित्रकारको आशा र निराशा मिश्रित भएको देखिन्थ्यो तर आज नरेन्द्रलाई यी चित्रहरूका रूप-रेखा एवम् रङ्गले उसलाई आफूप्रति आकर्षित गरेन। उसको हृदयमा बारम्बार यही कुरा उम्लिन लाग्यो- यतिका दिन उसले केटाकेटीको खेल मात्र खेलिरहेछ। मात्र कागजको टुक्रामा रङ्ग पोतेँ। उसले यतिका दिन जति पनि कागजमा रङ् लगाएको थियो, त्यसले उसलाई रत्तिभर पनि आफ्नो हृदयलाई आकर्षित गर्न सफल भएनन्। कारण, उसको अपेक्षा पहिल्यैको भन्दा उच्चो थियो। उच्च मात्र होइन अपितु यति उच्चतम कि चील समान आकाशमा उडान भर्न चाहन्थ्यो। अगर वर्षा ऋतुको मनमोहक दिनमा कुनै शक्तिले उसलाई रोक्न सक्छ? ऊ त्यस बखत आवेशमा आउँदै उत्सकुतापूर्वक उडान भरेर चारै दिशामा विचरण गर्छ। एकचोटि पनि पछि फर्केर हेर्दैन।

आफ्नो पहिलो अवस्थामा कुनै प्रकाले पनि नरेन्द्र सन्तुष्ट थिएन। उसको हृदयमा यस्तै भावनाहरू उर्लेर आउन लागे।

उसले निश्चय गर्यो- अब उसले यस्तो चित्र बनाउने छ जसले उसलाई अमर बनाइदिनेछ। ऊ यो वास्तविकतालाई सबैको हृदयमा बसाइदिन चाहन्थ्यो ताकि यो सिद्ध होस्, उसको अनुभूति बचपनको अनुभूति हैन।

टेबलमा टाउको राखेर नरेन्द्र विचारमग्न हुन लाग्यो। के बनाउने? कुन विषयमा बनाउने? हृदयमा आघात पर्दा मात्रै साधारण प्रभाव पर्छ। भावनाका धेरै पूर्ण एवम् अपूर्ण चित्र आँखाको अगाडि आएर सिनिमाको चित्र समान गए तर कुनै दृश्यले पनि उसको ध्यानाकर्षण गरेनन्। सोच्दै-सोच्दै संध्याको अँध्यारामा शङ्खको मधुर ध्वनिले आनन्दित गीत सुनायो। यही आनन्दित स्वरमा एक्कासि नरेन्द्र जुरुक्क उठ्यो। यस पश्चात त्यही कोठाको अँध्यारोमा ऊ चिन्तामग्न मुद्रामा पागलसरी यता उता गर्न लाग्यो। सबै व्यर्थ! धेरै प्रयत्न गर्दा पनि केही उपयुक्त विचार आएन।

रात गइसकेको थियो। अमावस्याको अँध्यारोमा आकाश परलोकको समान धमिलो प्रतीत लाग्थ्यो। नरेन्द्र विचारमग्न भएर पागलसरी आकाशतिर ताकिरह्यो।

बाहिरबाट भान्सेले दैलो खट्खटाउँदै भन्यो- ‘साहेबजी!’

तरङ्ग तर्सेर नरेन्द्रले सोधे- ‘को हो?’

‘साहेबजी! भान्सा तयार भयो, आउनुहोस्।’

झर्किँदै नरेन्द्रले तितो स्वरमा भन्यो- ‘मलाई तङ्ग नगर । जाँ, म अहिले खाँदिनँ।’

‘थोरै खानून।’

‘म भन्दैछु, खाँदिनँ।’

भान्से निराश-मन लिएर फेर्कियो अनि नरेन्द्र पुनः विचार-सागरमा डुब्न लागे। जसलाई ख्याति प्राप्त गर्ने चस्का लागेको हुन्छ उसलाई आनन्द कहाँ र ?

..४.. 

एक हप्ता बित्यो। यो हप्ता नरेन्द्रले घरदेखि बाहिर पाइला राखेन। घरमा बसेर सोचिरह्यो- कुनै न कुनै मन्त्रले त साधनाकी देवीले आफ्नो कला देखाउन्छिन्।

योभन्दा पहिले उसलाई चित्रका लागि विचार-प्राप्तिमा समय नै लाग्दैनथ्यो तर यसपाली न फेद न टुप्पो, केही विचार आएन। जति-जति दिन बित्तै जाँदैथ्यो त्यति-त्यति ऊ निराशाको सागरमा डुब्थ्यो। कत्तिचोअि त उसले झर्किएर आफ्नै सिरको कपाल भुत्ल्याउँथ्यो। आफैँलाई गाली दिन्थ्यो। घोप्टो परेर नानीको जस्तो रोयो-करायो तर सबै व्यर्थ।

प्रातःकाल नरेन्द्र मौन बसेको थियो। मनमोहन बाबुको द्वारपाल आएर एउटा पत्र दियो। उसले पत्र खोलेर हेर्यो।  प्रोफेसर साबहले लेखेका थिए-

‘प्रिय नरेन्द्र, प्रदर्शनी हुन अब धेरै दिन शेष छैन। एक हप्तासम्म चित्र आएन भने ठिक हुने छैन। मलाई लेख्नु कि तेरो प्रगति कहाँसम्म भएको छ ?’

योगेश बाबलुले चित्र चित्रित गर्दिए। मैले देखेको छु, चित्र सुन्दर छ तर तसँग मैले अझ सुन्दर चित्रको आशा राखेको छु। तँ भन्दा अरू मलाई प्रिय छैनन्। आशीवार्द दिन्छु, आशा छ तँ आफ्नो गुरूको लाज राख्नेछस्।

यसको ध्यान राख्नु। यो प्रदर्शनीमा तेरो चित्र उत्कृष्ट रह्यो भने तेरो ख्यातिमा कुनै प्रकारको बाधा आउने छैन। तेरो परिश्रम सफल होस्, यही मेरो कामना छ।

  • मनमोहन’

पत्र पढेर नरेन्द्र अझ व्याकुल बन्यो। मात्र एक हप्ता शेष रेहेको छ। उसले अझैँ पनि चित्र बनाउने विषय मस्तिष्कमा बटुलेको छैन। व्यर्थ छ! अब के होला ?

उसलाई आफ्नो आत्मबलमा धेरै विश्वास थियो तर यो पल त्यो विश्वास पनि जान लाग्यो। यही तुच्छ शक्तिमा अहिलेसम्म ऊ दश मान्छेको सिर उठाएर हिँड्दै थियो। उसले सोचेको थियो, अमर कलाकार हुनेछु परन्तु कस्तो दुर्भाग्य! आफ्नो अयोग्यताले नरेन्द्रका आँखामा आँसु आए।

..५..

रोगीको रात जसरी आँखाबाट नक्लिन्छ, ठिक त्यसी नै नरेन्द्रको त्यो रात कट्यो। नरेन्द्रलाई यसको अलिकति पनि भनक लागेन। ऊ धेरै दिनदेखि चित्रशालामै सुत्तै थियो। नरेन्द्रको अनुहारमा जागरण बसेको चिन्ह देखिन्थ्यो। उसकी श्रीमती कुद्दै कुद्दै आई अनि शीघ्रतासँग नरेन्द्रको हात समातेर भनी- ‘आज छोरोलाई के भएको छ, आएर हेर्नु त?’

नरेन्द्रले सोध्यो- ‘के भयो?’

उसकी श्रीमती लीला हाँफिन्दै बोली- ‘सायद हैजा! यसरी नउभिराख्नु, छोरो अचेत लडेको छ।’

नरेन्द्र बेइच्छा मन लिएर शयन-कक्षमा प्रविष्ट गर्यो।

नानी बिस्तरामा लडिरहेको थियो। खाटको चारैतिर त्यो भयानक रोगको चिन्ह दृष्टिकोचर भएको थियो। नानीलाई यसै हेर्दा भान लाग्थ्यो कि नानी जीवित नै छैन। रातो रङ केही पलमा पहेँलिएको जस्तो। मात्र केही वस्तु उसको वक्षमा ढुकढुक गर्दै थियो। यही क्रियाले जीवनको केही चिन्ह रहेको बुझिन्थ्यो।

नरेन्द्र सिरहानीमा मुन्टो निहुराएर उभियो।

लीलाले भनी- ‘यसरी नउभिनु। जानू, डाक्टरलाई लिएर आउनु।’

आमाको आवाज सुनेर नानीले आँखा मोल्यो। भक्कानिएर बोलो- ‘आमा! ए आमा!!’

‘मेरो बाबु! मेरो मुटु, के भनेको?’ भन्दै लीलाले आफ्नो छोरोई काखमा लिएर चेपिन्। आमाको छातीमा टाउको राखेर नानी फेरि चकमन्न भयो।

नरेन्द्रका नेत्र सजल भए। ऊ नानीलाई हेरिरहे।

लीलाले क्षुब्द स्वरमा भनिन्- ‘अझै पनि डाक्टरलाई बोलाउन जानु भएको छैन?’

नरेन्द्रले दबिएको आवाजमा भने-‘ ए!…डाक्टर?’

श्रीमान्को अस्वाभाविक स्वर सुनेर चकित हुँदै भनिन्- ‘के रे?’

‘केही होइन।’

‘जानू, डाक्टर लिएर आउनु।’

‘अब जान्छु।’

नरेन्द्र घरदेखि बाहिर निस्के।

घरको द्वार बन्द गर्दिए। लीलाले आश्चर्यचकित भएर सुनिन्- उसको श्रीमान्ले बाहिरी दैलाको साङ्लो लगाइदिए। उनी सोचिरहिन्-‘अब, श्रीमानले यो के गरेका होलान्?’

..६..

नरेन्द्र चित्रशालामा प्रविष्ट भएर एउटा कुर्सीमा बसे। दुइटै हातले मुख छोपेर सोच्न लागे। उसलाई हेर्दा लाग्थ्यो कि ऊ कुनै तीव्र आत्किक पीडाबाट पीडित छन्। चारैतिर गहिरो शुन्यताले राज्य स्थापित भएको हो। भित्तामा टाँगेको घडी मात्रै कहिल्ये नथाक्ने गतिमा टिक्टिक् गर्दै थियो अनि नरेन्द्रको छातीमा भएको हृदयले मानौँ उत्तर दिँदै छ-धक्धक्! सम्भवतः भयानक सङ्कल्पसँग परिचित भएर घडी र हृदय परस्पर कानाफुसी गर्दै छन्। अनायसै नरेन्द्र जुरुक्क उठे। सङ्ज्ञाहीन अवस्थामा भन्न लागे- ‘के गरूँ? यस्तो आदर्श समय फेरि कहिल्यै आउने छैन, तर ऊ त मेरो सन्तान हो।’

ऊ भन्दै-भन्दै रोकिए। मौन भएर सोच्न लागे। अचानक घरभित्रबाट सनन गर्दै गरेको वाण समान ‘हाय!’ शब्दको हृदयवेधक आवाज उनको कानमा पुग्यो।

‘मेरो छोरा! तँ कहाँ गइस्?’

जसरी प्रतय०चा चुटिन्दा धनुष सीधा हुन्छ, चिन्ता एवम् व्याकुलताले नरेन्द्र पनि त्यसी नै सीधा भएर उभिए। उनको अनुहारमा रातो चिन्ह पनि थिएन, कान लगाएर आउँदै गरेको आवाज सुने। उनले बुझे, छोरो सकियो।

मनैमन भने- ‘भगवान्! तँ साक्षी छस्, मेरो केही अपराध छैन।’

पश्चात्, ऊ टाउकाको कपाल मुट्ठीमा लिएर सोच्न लागे। जसरी केही क्षण अगाडि मुनष्य निन्द्रबाट उठ्ता झस्किन्छ त्यसरी नै उसले टेबलबाट कागज, तूलिका र रङ लिएर कोठाबाट बाहिर निस्कियो।

शयनकक्षको अगाडि भएको झ्यालमा अप्ठ्यारो मान्दै नरेन्द्र उभियो। केही सुनिन्दै छ? छैन, सबै चकमन्न छ। त्यो झ्यालबाट कोठाको आन्तरिक भाग सबै देखिन्थ्यो।  चियाएर थथर््ार काप्दै उसले हेरेको, शरीरका सबै अङ्गहरूमा काडा जाक्किए। विस्तारा लथालिङ्ग भएको थियो।  लीला पुत्रबाट रित्तिएको काख लिएर तड्पिन्दै रुँदै थिई। यसको अतिरिक्त लीला भुइँमा सुतेर आफ्ना दुइ हातले छातीमा टासेर नानीको मृत ओठलाई चुमिरहेकी थिई। उसका केश छरिएका थिए, आँसुले भरिएको नेत्र लिई आमा विलाप गर्दै थिई।

नरेन्द्रका दुइटै आँखालाई कसैले झीर रोपिदिएको समान ऊ तड्पियो। उसले ओठलाई टोकेर कठिनपूर्वक स्वयम्लाई सम्हाले अनि कागजमा पहिलो रेखा ताने। उसको अगाडि कोठाको भयानक दृश्य उपस्थित थियो। सम्भवतः संसारका कुनै पनि चित्रकारले यस्तो दृश्य हेर्दै तूलिका उठेकाएका थिएनन् होला।

हेर्दा नरेन्द्रमा कुनै पनि गति देखिँदैन्थ्यो तर उसको हृदयमा कति वेदना थियो? उसलाई कसले बुझ्दथियो होला, ऊ त बुआ थियो मृत-नानीको।
नरेन्द्र चाँडै-चाँडै चित्र बनाउन लाग्यो। जीवनभर उसले कहिल्यै पनि चित्र बनाउन यति हतार गरेको थिएन। लाग्छ उसका औँलालाई कुनै अज्ञात शक्तिले अपूर्व शक्ति प्रदान गरेको थियो। रूप-रेखा बनाउँदै गर्दा सुनो- ‘छोरा, ए छोरा! कुरा त गर, मलाई एकचोटि त हेर्न मेरो छोरा।’

नरेन्द्रले अस्फुट स्वरमा भन्यो- ‘उफ ! हे राम !! यो त असहनीय हो ।’ अनि उसको हातबाट तूलिका भुइँमा खस्यो । तर फेरि ऊ तूलिका उठाएर चित्र बनाउन लाग्यो । लीलाको क्रन्दन-रुदन आवाज उसको कानमा पुगेर हृदयलाई छेड्थ्यो अनि रक्तगति मन्द गरिदिन्थ्यो अनि फेरि उसका ओठ स्थिर भएर तूलिकोको गतिलाई रोकिदिन्थे।

यसरी पल-पल बित्न लाग्यो। मुख्य द्वारबाट नौकरहरू आउनलाई कराउन लागेका थिए तर यस पल नरेन्द्र मानौँ विश्व र विश्वव्यापी कोलाहलबाट बाहिरिएको थियो।

उसले केही पनि सुन्न सकेन। यो समय ऊ एकचोटि कोठाभित्र हेर्थ्यो अनि एकचोटि चित्रमा, बस रङमा तूलिका डुबाउथ्यो अनि कागजमा तूलिका चलाइदिन्थ्यो।

ऊ पिता थियो तर कोठाभित्र श्रीमतीको छातीमा टासिएको मृतपुत्रको याद पनि विस्तारै भुल्दै थियो।

अनायसै लीलाले उसलाई देखी। कुदेर झ्यालको समीप आएर दुखित स्वरमा भनी- ‘डाक्टर लिएर आउनु भयो?’ एकचोटि आएर हेर्नु न मेरो छोरो जीवित छ या छैन?’….यो के हो? हजुर चित्र बनाउनु हुँदैछ?’

झस्किएर नरेन्द्रले लीलातिर हेरे। ऊ लर्बराउँदै लड्न लागी।

बाहिरबाट बारम्बार दैलो ढक्ढक्याउँदा अनि कराउँदा दैलो खोलिएन। भान्से र नौकर दुवै जना डराए। दुवै आफ्नो काम सकेर प्रायः संध्याको समय घर गइसक्थे अनि भोलि प्रातः आउथे। प्रतिदिन लीला-नरेन्द्र दुवैमा कसै-न-कसैले दैलो खोलिदिन्थे तर आज कराउँदै दैलो ढक्ढक्याउँदा पनि द्वार खोलिएनन्। लीलाको क्रन्दन-ध्वनि उनीहरूको कानसम्म आइरहेको थियो।

दुवैले टोलका केही व्यक्तिलाई बोलाए। अन्तमा सल्लाह गरेर द्वार तोडिदिए।

सबै आश्चर्य-चकित भएर घभित्र पसे। सिढी लगाई चढेर हेर्दा उनीहरूले देखे कि नरेन्द्र भित्तामा अडेस लागेर, दुइटै हात तिघ्रामा राखेर टाउको निहुराएर बसेको छ।

सबैको पदचापको आवाजले नरेन्द्र झसङ्ग भइ आफ्नो मुख उठायो। उसका नेत्र रगतसरी राता थिए। केही क्षणमा ऊ ठहका लगाउँदै हाँस्न लाग्यो

अनि अगाडि राखेको चित्रमा औँल्याउँदै भन्यो- ‘डाक्टर! डाक्टर!! म अमर भएँ।’

..७..

दिनहरू बितेर गए। प्रदर्शनी आरम्भ भयो।

प्रदर्शनीमा हेर्न अनेकौँ वस्तु थिए तर दर्शक एउटै चित्रमा आकर्षित भएका थिए। चित्र सानो थियो अनि अपुरो पनि । नाम थियो – ‘अन्तिम प्रेम’ ।

चित्रमा चित्रित गरिएको थियो – एउटी आमा, आफ्नो हृदयको टुक्रा जो अहिले मृत भएको छ, उसलाई छातीमा लगाएर बारम्बार चुमिरहेकी छे । शोक एवम् चिन्तामा डुबेकी आमाको मुख, आँखा अनि शरीरमा चित्रकारको तूलिकाले एउटा यस्तो सूक्ष्म अनि वीभत्स चित्र चित्रित गरेको थियो जसलाई कुनैले पनि हेर्दा आँखाबाट आँसु निस्किन्थे। चित्रको रेखामा पनि यसरी सूक्ष्मताले दुःख भर्न सकिन्छ भन्ने कुरा यो भन्दा पहिले कसैमा ध्यान आएको थिएन।

यस दर्शक-समूहमा कैयन् चित्रकार थिए। त्यस मध्य एकजनाले भन्यो- ‘हेर्नु योगेश बाबु, तपाईं यो चित्रमा के भन्नु हुन्छ?’

योगेश बाबु यस बखत मौन धारण गरेर चित्रतिर दृष्टिपात गर्दै थिए, अनायसै प्रश्न सुनेर एउटा आँखा बन्द गरेर भने- ‘यदि मलाई पहिल्यै ज्ञात हुन्थ्यो भने नरेन्द्रलाई आफ्नो गुरू बनाउने थिएँ’।

दर्शक समूहले धन्यवाद, साधुवाद अनि वाह ! वाह ! को थुप्रो लगाइदिए परन्तु उनीहरूलाई ज्ञात थिएन त्यो सज्जन पुरूषको मूल्य के हो जसले यो चित्र चित्रित गरेको छ। कसरी उसले स्वयम्लाई धुलोमा मिलाएर रगतले चित्र रङ्गाएको थियो। उसको यो दशा कसैलाई पनि ज्ञात भएन।