शिवरात्रिको दिन थियो । म भर्खरको जेन्टुल्म्यान ग्रेजुएटको चस्मादार रुपमा छडीहस्त प्रकृतिपाठक बनेर रमाइलो भण्डारखालको वसन्ती हावाखोरमा टल्कँदो ब्यारेट घमण्डले चमचमाउँदै थिएँ । एक यात्रु बङ्गाली पशुपति जान लागेको रहेछ ।

“नेप्पाल ! सुन्दर आछेना ?” चस्मादार बङ्गालीले एक अधबैँसे स्त्रीलाई सम्बोधन गर्यो ।

“सुन्दर प्रकृति र स्वरुप ! किन्तु मानुस कि रकम आमि जानिना । काटामाण्डु अति भीषण सस्त्रो ना !”

यतिकैमा मलाई देखेर बङ्गाली बाबुले सम्झे, कमसेकम यो एक शिक्षित भद्रपुरुष या विद्यार्थी हो । उनले अङ्ग्रेजीमा एक सम्बोधन छाँटे, मैले भर्खर पटनाबाट हिलव्हेट्लक साहेबहरुको अङ्ग्रेजी तालीम पाएको आफ्नो सगर्व खुबी देखाएर युरोपियन टोन थोरै रवाफी भक्भक्साथ नकालेँ । महिलावर्ग प्रशन्नतापूर्वक मेरो रवाफ र टोनको सिफारिस काल चमकदार जेहेनका लेन्सजस्ता बङ्गाली मीनआँखाले गर्न लाग्यो, जो बङ्गली धुवाँसे चेहेराको सर्वप्रधान सौन्दर्य रहन्छ । बङ्गस्त्रीहरुलाई प्रेम गर्दा बङ्गयुवकहरु कपाल र आँखाले प्रेम गर्दछन् भन्दछन् ।

“आपन कि इगल्याण्ड रिटर्नड् !”

“ना मोशाय ! आमि गौराङ्ग साहेब विद्वद् गणेश छात्र पटना कलेजेर ।”

महिलाहरु बङ्गली बोलेको सुनेर दङ्गदास भए । एक दिदीले आर्कीको मुख ताकेर मुस्कुराइन् । बङ्गाली बाबु प्रशन्नतासाथ वार्तालाप गर्न लागे ।

“आपनि कि ? आर्येर सुन्दोर चोहरा । आपनार पूर्वपुरुष बङ्गादेशवासी छिलेन् कि ?”

“ना मोशाय ! आमि कान्यकुब्ज ब्राह्मण, उपाध्यायवर्ग ।”

“ब्राह्मण ? कान्यकुब्ज ? आपन नेपाली, गोर्खाली ना ?”

“आमी नेपाली आर भारती ब्राह्मण, मोशाय । दु श वर्ष थे के आमादेर वास नेपाले, एखाने ।”

बङ्गालिनीहरु चकित भए , उनीहरुले सम्झेका थिए कि म शायद राजपुत्र, बाबुसाहेब अथवा कोही कुबेरी खानदानको एक सदस्य थिएँ । तर भारतीय ब्राह्मण, नेपाली पोशाक ? यो सजातीयता उनलाई एक प्रशन्नताको चकित भयो– नेपाली पनि यस्ता हुँदा रहेछन् । उनीहरुले यात्रारम्भमा नेपाललाई एक अनकण्टार हिउँचुलीमय पहाडैपहाड कल्पना गरेका थिए– जहाँ बाघ, भालु, ढेडु, अर्ना, गैँडा, हुन्छन् … र काठमाण्डु (याने शिरकाटा लामा खुकुरी) भिरेका शिकारीहरु भीषण स्वरुप….।

“रिस उठाउन हुन्न है पहाडीयाको, एक चोटमा यमपुरी पुर्याइदिन्छ बाबै” भन्दै कुरा गर्दै उनीहरु आएका थिए । नेपाली या गोर्खाली नाममा ज्यादाजसो परिचित थिए । मङ्गोलियन औल्याहा चेहेरा भएका कलकत्तीय दरबानहरुसँग । नेपाली यस्तो चेहेराको, शिक्षित, शिष्ट, नम्र, सफा, रवाफदार देखिनु उनलाई एक बडो खुसीलाग्दो आश्चर्य भयो ।

“बङ्गालीर सङ्ख्या कि, मोशाय, आपनार देशे ?”

“अङ्गुलीगराय, काटमाण्डु नगरे प्रधानतया निवास करे ।” मैले बोलेँ ।

“कि रकम ?”

मैले बताएँ, बङ्गीयवर्गको काठमाण्डुमा ठुलो कदर थियो । उनीहरु सुटेट–बुटेड रवाफदार मास्टर, प्रोफेसर ज्यादातर थिए । कोही–कोही नेपाली पोशाक पनि पहिरन्थे, जस्तै नेपालविख्यात डाक्टर जसको एक आँखा काँचको थियो र कमसेकम १०,२० लाख उपार्जन, अझ एक जना प्रधानाध्यापक जसले त नेपाली राजनीति, शिक्षा, व्यापार तीनै चीजको झण्डै–झण्डै ठेक्का लिएका थिए र अदाक्ष धनी हुन गएका थिए ।

“याकेन अनुग्रह” मैले फुलजडी थपिदिएँ, “आरनेपाली सुन्दरी ताँहार प्रियतमा हइयाछिलेन ।”

बङ्गालीहरु दङ्गदास भए । उनीहरुसँग भेटघाट गर्ने इच्छा प्रकट गरे । मैले बताएँ । बङ्गीयवर्गको (तर अलिकति बिहारी, पन्जाबीको समेत शायद) एक खिचडी खाना सुन्दर तलाउ रानीपोखरीको उत्तर किनारमा जमेको थियो । जसको सर्वसम्मतिद्वारा जम्बल भएको हुनाले ‘जमाल’ भन्ने नामकरण भएको थियो । मैले उनीहरुलाई वहाँ लागिदिने कबुल गरेँ । तब हामीहरु वार्तालाप गर्दै भण्डारखालबाट पशुपतितरफ साथ–साथ अगाडि बढ्यौँ ।

शिवरात्रि एक विचित्रको समय हुन्छ नेपालमा । वसन्तको भर्खर पालुवाउँदो सुन्दर नेपालमा तुषारो अक्सर रमरमाउँदो हुस्हुहीन सफा । बिहान भएका दिवसहरु रमणीय हुन जान्छन् । आलुबखडा सारा रुख सेताम्मे भएर शिरदेखि पयरसम्म हाँस्न थाल्न्छन्, आरुको रछाउँदो हाँगा वसन्तको स्पर्शले खिलखिलाउन थाल्दछ, भण्डारखाल हरियो घना बन्दै, कुसुमित तथा सुगन्धदार चेहरा स्वभाव धारण गर्दछ, सुतेकी प्रकृति उत्तर कोल्टे फर्किन्छिन् र मलयलहरले हाँगाहरुलाई इसारा गर्दै जान्छ । यसै त प्रकृतिको नित्य हरियो नेपाली नन्दन त्यसउपर कुसुमाकरको रमणीय प्रभावले फुल्दो, मुजुराउँदो पुनजाग्रत् नेपाल मच्चा तवरले शङ्करको तुषारतपस्याको वार्षिक अन्तपछि पार्वतीको कुमारीछटाको कदर गर्न आँखा खोलेको यसतरफका प्रेमपिपासु लहडी भोलाको भावनुसरी कुसुमभुमी बन्न जान्छ । मदनको ध्वंसउपर खेद लागेर प्रायश्चित्तका भावले करुणयुक्त शङ्करजीका आँखा रुद्रताबाट कोमलतातरफ विकास पाउँदछन् र वनकाली, गुह्येश्वरी वनमा पातहरुद्वारा मधुर सुगन्ध वितरण गर्दी पार्वती प्रकृति बाग्मतीको चाँदी लहर कलकले बालु बिछयौनाउपर मुस्कुराएर हिल्न थाल्छिन् । यस्ता सुन्दर समय र स्थान विचार गरेर प्राचीन ऋषिमुनिहरुले निमार्ण गरेका समाज विवेकले तथा मनोविज्ञानले पूर्ण शिवपुराणका प्रबल प्रभावले प्रेरित भएका भक्तगण यात्रीहरु–हिन्दुस्तानको चिच्याटलाग्दो समतलको पर्वतहीन चेहेरा छोडेर एक स्वर्गिक वासनाका इङ्गितमा उत्तरदेशीय विषम शिवभूमिको विहार गर्न पशुपति गुह्येश्वरीको दर्शन गर्न इच्छुक बन्दै नेपालतर्फ ओइरो लाग्दछन् । यही समयमा अलग्गी विदेशी हाँक नेपाल–भारतका भाइबहिनीहरुलाई खुला हातले अपनाउँदछन् र शिवरात्रिको पर्वतकम्पी गडगडाध्यायी बडाइँसाथ वसन्तागमनको तोपी सलामी पशुपति बाबालाई चढाउँदछ । अनेक प्रान्तका भारती यात्रीहरु– जोगी, नागरिक, गाउँले नेपालमा पारसनाथ नामका एक कल्पवृक्षरुप, जीताजागा, परमेश्वरको दर्शन चाहन्छन् र अनेक संघ, दल, सिद्धान्तका भस्मधार, नग्न, अर्धनग्न, लट्टधारी, साधु, योगी, तपस्वी, ठगसमेतको एक विशाल नग्न–सेना नेपालभिमुख हिमाली मार्चमा मोबिलिजेसन लिन्छ । शिवरात्रि एक विशाल रङ्गीचङ्गी, भाषा, जाति, व्यक्तिको मजाको मिस्कट हुन्छ र नेपाली जनतालाई बडो चाखलाग्दो, भावुक विभिन्नताको मनोरञ्जनको याम हुन्छ । धनी जाग्दछन् सडककिनारामा ‘पशुपतिनाथकी जय’– का तुमुल नाराहरु लाग्दछन्, बेपारीहरु विदेशी लटमुखालाई या गाँठवाललाई ठग्न जमजमाउँछन्, ड्राइभर खुसी हुन्छ, मोटर भुआँकिन्छन्, घरपट्टीहरु जम्छन्, साधुभक्त फुर्किछन्, गुरुज्युहरु डराउँछन्, राजा महाराजाहरु चाख लिन्छन्, शास्त्री, आचार्य वादविवादका निमित्त झुण्ड लाग्दछन्, टोकरीभरि साँप र न्याउरीको तमाशा लाग्छ, चुट्कीहरु चुट्किला चुट्की मार्दछन् र नेपाल एक विचित्र अनुहार लिएर शिवरात्रिको स्वागत गर्दै जम्न थाल्दछन् ।

ख.

त्यो बङ्गालीपरिवार देउपाटनमा एक डेरा लिएर बसेको थियो । म बराबर त्यहाँ जान लागेँ । तीनौटी सुवासिनी मान्छे दुइटा बङ्गाली बाबु, एक लड्की त्यहाँ थिए ।

चियाबिस्कुट, मिजाज, वार्तालाप गर्दागर्दै बङ्गाली बाबुले लगेका सौगातहरु जाँच्न लागे । जिम्बु एक पोको थियो । यो हरियो सुकेको झार, मैले बुझाएँ, एक तिब्बती बुटी हो जो हिमालयका उचाइमा मात्र उम्रन्छ र शिवजीको काखीको गन्धले युक्त छ । यसका अनेक प्रमुख गुणमध्ये, दाल, विशेष मासको लयालु दालमा, यसलाई डाडुमा असल पहाडी घिउ कड्कडाएर घुप्लुक्क छोडिदियो भने, जसलाई झाइँ–झाइँ आवाज भएकाले ‘झान्नु’ भन्दछन्, दालमा एक शिवपुरीको यस्तो अलौकिक सुगन्धी मिठास प्रादुभार्व हुन्थ्यो जसले छोराले खाने दालको महिमामय मज्जा निक्लन्थ्यो । उनीहरुले यसको अनुभव गर्ने–प्रतिज्ञा गरे । मैले थपिदएँ कि, यो बुटीका प्रयोगले पानी लाग्ने, रुघा, रुघे–यस्ता किसिमका सानातिना शिकायत या रोग दुर्दुहाई हुन्थे र यसको मोल मद्रामा प्रतिपौण्ड पाँच सय हुँदो हो वा त्यतिमा पाइँदो होइन । दोस्रो सौगात थियो ठोट्ने– यो लामो, बाक्लो तने हुक्कानलीजस्तो कल्सेँदो हरियो बुटी नेपालको मात्र सहाहरीय उब्जनी थियो । शङ्करजीले गाँजा पिउने हुक्का बनाउँदा पार्वतीले यस्ता प्राकृतिक नलीको आविष्कार गरेकी थिइन् । यसमा नपत्याए हेरेदेखि मालुम हुन्थ्यो कि प्रशस्त फनी भरिएको थियो । मात लाग्छ कि भनेर फणीन बाबु तर्सेर मैले बुझाएँ कि यसमा मात थिएन कि बाजीमात समेत । यसलाई आलु, केराउ इत्यादि राम्ररी बनाए पदार्थसँग एक तबरको अमिल्स्याहा निक्लन्थ्यो जो सारा सरकारलाई मात गर्न सक्थ्यो । मैले बताएँ, कसरी एक मद्रासी साधु मेरो घरमा गद्गद् बनेका थिए यसका झोलले र ‘रसो वैस ’ भनेर भात सुप्रक्याउँदै एक बार पिर्काबाट झण्डै–झण्डै उफ्रेका थिए । अझ यसैको अचार बनायो भने त जिभ्राले अरु सपना देख्नै सक्तैनथ्यो । उनीहरुले यसलाई नेपाली रसनली भन्ने नाम राखेर सहर्ष स्वीकार गरे ।

मैले खेद प्रकट गरेँ कि आजकल फर्सीको मुन्टो सुवर्णपुष्पको याम थिएन– जो बङ्गाली टोलाको ठुलो शौक हुन्थ्यो । तेस्रो सौगात थियो, पनौतीका माछा । नेपालको मत्स्याभावउपर फणीन बाबुले खेद प्रकट गरे र नेपालको बौद्धिक विकासको स्तर बङ्गालीस्तरबाट अलिकति निम्न हुनाको कारण यसैलाई बताए । म सहमत भएँ र टिप्पणी गरेँ, हाम्रा कमलपोखरीहरु, कोसीहरु, इन्द्रावतीहरुलाई सरकारी मत्स्य–भण्डार बनाउनुको आवश्यकताउपर जसले जरुत नेपाली मस्तिष्क कमसे कम मद्रासीस्तरसम्म विकास, दशै वर्षभित्र हुने थियो यद्यपि बङ्गस्तरको उचाइमा नपुगोस् । यो तेस्रो सौगात पनि उनले सहर्ष स्वीकार गरे ।

अनि आए शालिग्रामहरु । मैले लम्बेचौडे धार्मिक व्याख्यान– साथ एक–एकका महिमा गाएँ र सुनेका झिल्का र नसाहरु देखाएँ टिप्पणी पनि गरेँ कि आजकल वैज्ञानिक तथा नास्तिक व्यापारी दृष्टिकोणले गर्दा– सुवर्णस्नायु शालिग्रामहरु भारतका बिजुलीकलमा खलबत्ताका शिकार भएर धर्म धुलीपिटि हुन लागिरहेछन् । बङ्गपरिवारले यस विषयउपर गम्भीर धार्मिक खेद प्रकट गरे ।

तब आयो कस्तुरी विनाको पालो । सिङ्गै दुइटा विना चढाएर मैले गफ लडाएँ– यो अति शुद्ध कस्तुरी, कलकत्तामा माधव–भवनमा केवल नक्कली धुलो न थियो, और के ? यो त अस्ति मात्र मेरा परममित्र राण साहेबले शिकार खेलेर मलाई चढाएको भेट थियो । कस्तुरी मृग सानो हुन्थ्यो हिमालका जङ्गली किनारमा, वसन्तमा वनै गम्किन्थ्यो, श्रीखण्डले मलयर्वत के गम्कला ? अनि भाले–पोथी प्रेमको सुगन्धी अरख वनमा छोड्दा बेचरा गुणी गुणको निमित्त शिकार हुन्थ्यो । यो कस्तुरी प्रतितोला सय रुपियाँ पर्दथ्यो । मेरो उदारताउपर गद्गद् भएर धन्यवाद बर्साउँदै बङ्गवर्गले जाँच्यो, छाम्यो र सुँघेर दीर्घकाल यसउपर प्रशन्न वार्तालाप गर्यो ।

यस्तो तवरसँग उनीहरुसँग मेरो घनिष्ठ मित्रता बढ्दै गयो । एक दिन मैले नेपाली काठमाडौं पनि उपहार चढाउने कबुल गरेँ । उनीहरु हलुका तरवरले त्रस्त प्रशन्नतासाथ कुरा गर्दै रहे ।

ग.

पुलिसहरु मधिसे खोज्दै धपाउँदै गर्न लागेका थिए । सब ज्यादा समय चाहने मध्यदेशीयवर्गहरु सुब्बासाहेब, सुबेदारसाहेब, सरदारसाहेब, करसाहेब र ठुला–बडातर्फबाट पर्वाङ्गी लिने उद्योगमा थिए ।

मैले आसाङ लामालाई बोकाएर विशेष तवरले बनाएका राम्रा झलमल गर्ने खुकुरीहरु आधा दर्जन जति ती बङ्गालीकहाँ लगेँ ।

शिष्टाचार, मरमिजाज अनि चिया, बिस्कुट । फणीन बाबुको परिवारमा अहिलेसम्म म एक सदस्यजस्तो बनिसकेका थिएँ । मलाई महिलाहरुसमेत भाइबाबु भन्न लागिसकेका थिए ।

यस्तो घनिष्टताको वायुमण्डला कुराकानी सुरु हुँदै थियो, बस्, मैले आफ्ना हतियारहरु उठाएर मग्न प्रदर्शन लागेँ ।
मेचमा बसेका अधबैँसे कलकत्तीय एम. ए. फणीन बाबुको शान्त चेहेरा राख्ने प्रशस्त प्रयत्न आभ्यन्तरिक क्रियामै दबिएर लाली रोकिरह्यो । तर बङ्गमहिलाहरु एकदम तर्सेजस्ता देखिन्थे । त्यस क्षणदेखि जब मैले पहिलो खुकुरी उठाएथेँ ।

दोस्रो तेस्रोउपर व्याख्यान छाँटेर जब म चौथो अस्त्र उठाएर नेपाली रवाफदार घमण्डसहित व्याख्यान छाँट्न लागेँ तब मलाई थोरै नेपाली–गोर्खाली जोश चढेर आयो । मैले फुर्तिसाथ त्यो असाधारण लामो खुकुरी छापबाट उचालेर हावामा सेतो बिजुलीजस्तो घुमाएँ र हामी, गोर्खालीले यसरी अङ्ग्रेजसेनालाई नालापानीमा छप्काएका थियौँ भनेर नाटक गरेँ । फणीन बाबुको मनोवैज्ञानिक विश्लेषण गर्दैमा बुझिरहेथेँ कि उनलाई यस आसन अस्त्रको भीषणधार एक महान् विदेशीय आक्रमणका स्वरुपमा खडा भएझैँ सुखशान्ति रक्षा गर्नको घनघोर प्रयत्न बढाइरहेको थियो । बस्,मलाई मनमा झ्वास्स के आयो कि एकबार वीर जातीय झट्काले उनको बङ्गीय आत्मालाई तर्साइदिऊँ ।

मैले यस प्रसङ्गमा अघि भन्नै बिर्सें कि फणीन बाबुले नेपालको रमणीयता र नेपाली जातिको सजातीयता स्वीकार गर्दै मलाई चरसमय नेपालमा वास गर्ने इच्छा प्रकट गरेर पर्वाङ्गी मगाउन लगाएका थिए । मैले सरदारसाहेबको बिहानबेलुका चाकरी गरीगरी श्री ३ महाराजका हजुरमा राम्ररी विन्ती पारीकन विङ्गी ल्याएको थिएँ । त्यसको कागत मेरो खल्तीमा थियो ।

बस्, एक झट्कासाथ मैले बुझाएँ कि एक मानिस ता के एक बाघसम्म उसले दुई टुक्रा पार्दथ्यो जस्तो यसरी (नाटकीय भावसँग) महाराज जङ्गबहादुरले काटेका थिए ।

यस फुर्तिदार झट्काले एक भयङ्कर स्वरुप धारणा गरेछ । मैले जुँघा पालेको बेला पर्यो, छाँटेको थिइनँ । जुँघा ढ्वाँगे राजपुत ढङ्गका थिए । चेहेरा उग्र नाटकीय भएछ तथा खुकुरी ज्यादै हावा र ताजा । मैले झटकार्दा शस्त्र एकदम नजिकबाट आएको देखेर फणीन बाबुको सातो सात कोस भागेछ । उनले पूरा निश्चय गरेछन् कि अब यो वीर जातीय नवयुवकले उनको दुब्लो–पातलो अध्ययन–क्षीण गर्धन जरुर राखेन । उनी कान्तिपुर, पशुपति, देवपत्तनबाट एक झिमिकमा पुगेछन्, बङ्गाल, कलकत्ता, हरिसन रोड १० नं. को बाडी । उनको पाञ्चभौतिक देहसँग एक सुत्रको सम्बन्ध राखेर प्राणपखेरु उड्दा कालो नीलो चेहेरा लिएर–आँखा पल्टाएर उनी चक्कर आएर मेचबाट च्वाट्टै जमिनमा गिरे । आसाङ करायो । म झस्केँ ।

खुकुरी टेबलमा राखेर म फणीन बाबुउपर झुकेर परीक्षा गर्न लागेँ । कोठामा कोलाहल सुनिन्थ्यो– “आरे दादा, आरे दादा !”

फर्केर पानी एक गिलास पिलाउन खोज्छु, कोही छैन । आसाङलाई अह्राएँ । सडकमा रोएको, कराएको आवाज । मधिसे, नेपाली घर चारैतर्फबाट घेर्न लागे । पुलीस आइपुग्यो । त्यसपछि केही फणीन परिवारका सदस्य ।
“अमार दादर हत्या करियाछेन सेइ नेपाली बाबु ।”

म एकछिन् जिल्ल परेँ । नवागन्तुक अर्को बङ्गवर्गमय एक मुशण्ड मल्ल बङ्गयुवक बाघका आँखा लगाएर मलाई हेर्यो मारुँलाझैँ, अनि खुकुरीलाई ।

“कि ? कि ?”

“होत्या करियाछेन सेइ, देखुन, सेइ काटामाण्डु ।”

शण्ड बङ्गीयले दाह्रा किटेर एक मुक्का उठाएको थियो । हान्ने थियो तर रक्तको छिटाले हीन काटामाण्डु देखेर अलि हच्क्यो । म पानी ठोक्दै थिएँ । मेरो मुटुसमेत काँप्न थाल्यो बङ्गे मर्यो भने, बिताएन ? त्यो पनि खेलाँचीमा ! बिनासित्तिको अड्डा, अदालत, सायद काराबास । यस साल कलकत्ता विश्वविद्यालयमा, अर्थशास्त्रमा एम्. ए. पढ्ने र पास गर्ने सुनौलो आशा भङ्ग हुन लागेको थियो ।

फणीन मोशाय त्यहाँ एक गुँडुल्को परेका थिए । अरु सब किसिमले मृतक थिए । सास चल्दैनथ्यो । नाँडी बन्द मुखमा गजगज फीँज । आँखा पल्टाएका ।

मैले बिउँताउन केही सीप नलागेर ‘पशुपतिनाथ ! पशुपतिनाथ !’ जप्न लागेँ, बस्, तब, नाकपोहोरा पानीको ठोकाइसाथ अलिकति फुरेर आयो । मलाई बल्ल आशा आयो तब यताउति गरेर पानीको घुट्को पिलाएर मैले आखिर बिउँताइछोडेँ । उनले आँखा खोले । मैले बोकेर बिछौनामा राखिदिएँ ।

परिवारमा आनन्दको सीमा रहेन । तिनीहरु भिजेका आँखा लिएर बिछौनावरिपरि झुम्मिए ।

एक जना लड्काले भन्यो, “नेपाली बाबु ज्यादु करियाछेन, होत्या ना आपनि भीषण तान्त्रिक !”

मलाई बल्ल सन्तोषको सास आयो । पुतलीहरु जिल्ल परे । मैले कुरा बताइदिएँ ।

“ए हँ, बाजे ! गोर्खाली खुकुरीले सातो पो लिनुभारै छ त ए !”

“हँ कस्तो कातर जात हकि ! हे, हे, हे, हे, हे, तर्सिएछ बा !”

आच्चैले सातोपुत्लो निक्लेछ बा ! हे, हे, हे, हे, ! विनासित्तिको स्याल नाथे नाइ । हे, हे, हे, हे,” – हुद्दा हाँस्न थाल्यो पेट मिचिमिचि ‘हे, हे, हे, हे, ! हे ! बङ्गली बाबु भुसे ! बाघ आएका है खुकुरीका दाह्रा भएका मालुम हएका है ना ? हंसले साँस छोडेका है ना ह, ह, ह, ह, !”

त्यसपछि मैले क्षमा–प्राथना गरेँ– भुल गरेछु, नर्भस रोग रहेछ ।

फणीन बाबु एकछिन टोह्लाएर शिष्टचार देखाउन लागे केही भएको थिएन । उनलाई बराबर फीट हुन्थ्यो । मैले मन्जुर गरेँ र फेरि फणीन– परिवारलाई आश्वासन र सन्तोष दिन खोजेँ ।

अधबैँसे महिलाले भनिन्, “काठमाण्डु निये जान, आमाके वागवे ना !”

मैले कति सम्झाएँ पनि उनीहरुले लिन चाहेनन् र तुरुन्त बङ्गाल प्रस्थान गर्ने प्रस्ताव पास गरे ।

मैले खुब सम्झाएँ र बुझाएँ केही सीप लागेन । पर्वाङ्गी देखाएँ । तर उनीहरु त्यही दिन प्रस्थान गर्ने भए । तब उनको सहानुभूति कमान गर्न नसकेर म हार खाई थानकोटसम्म पुर्याउन गएँ । उनीहरुले भने, “आमरा काठमाण्डुते पार्वोना । जे खाने काठमाण्डु आछे, सेखाने आमादेर प्राणपाखी थाक्ते इ पारे ना ।”

यसरी हामीले बिदाइ लियौँ । मलाई खुकुरी नचाएको विशाल खेद लाग्यो । यस पुण्यभुमिमा श्रीपारसनाथ बाबाका आश्रयमा आएर चिरसमय रहन चाहने जान्नु बङ्गवर्गलाई मैले मूर्ख उत्तेजनाको क्षणमा कसरी भालु तर्साएझैँ तर्साएर पठाइदिएको थिएँ ! मेरो अक्षम्य अपराध ! तिनीहरु कमसेकम नेपालमा बसेर नेपाली भ्रातृत्वमा मिलेर र आफ्नो बङ्गदेशीय आत्माको स्वर्णभण्डार खोल्दै नेपालीको सहवासमा अन्तर्जातीय सुझबुझ बढाउने सजीव यन्त्रसम्म त हुने थिए । मेरो कस्तो शनिश्चर बसेको हात ! कत्रो दुर्भाग्य !

यसपछि म कलकत्ता गएँ एम. ए. पढ्न । अचानक मेरो किरायाको घर रोडमा नै ११ नम्बरमा पर्न गएछ । एक दिन विश्वविद्यालय जान खोज्दा फणीन बाबुसँग जम्काभेट भयो । मैले बङ्गालीमा बोलेँ, “क्या मन ! फणीन मोशाय ! भाल तो !”

फणीन बाबुले मेरो मुख हेरे । मलाई स्पष्टतया चिने हुन् तर उनले नचिनेझैँ उत्तर दिएनन् ।

म रातो मुख लाएर फुटपाथमा उभ्भिएँ एकैछिन । मैले सोचेँ हाय गोर्खाली खुकुरी ! हाय काठमाण्डु ! तँ कति भीषण रहिछस् !