Chovar Blues Mobile Size

आज दशैंको नवमी । टुँडिखेल डाँडाको छेलोलाई नाघेर घामले बेतपानी गाउँमा भखरै आफ्नो कलिलो अनुहार देखाउँदै थियो । गाउँका केटाकेटीहरु भेला भएर स्कूल डाँडामा खेल्ने तरखर गर्दै थिए । फुर्सदिला केही युवाहरु स्कुल डाँडामुनिको भलिबल ग्राउण्डमा भलिबल लिएर आआफ्नो समूह बनाएर बाजी खेल्न पुगिसकेका थिए । सहर र विदेशबाट वर्ष दिनको चाड मनाउन बल्ल बल्ल आइपुगेका तरुन तन्नेरीहरु गाउँका आफन्तहरुलाई भेट्न घरघरबाट निस्कने तरखरमा थिए ।

गोलेघरे बबुको छोरी फ्लेतेर भखरै ब्युँझेर निद्राले राम्ररी छोडिनसकेको आँखालाई मिच्दै आँगनमा निस्कन दलानमा खुट्टा पुर्याउँदै थिइन् । स्कुल डाँडासम्म पुगेर खेल्न नसकेका केटाकेटीहरु भेला भएर हजुरआमालाई घेर्न थालेपछि हजुरआमाले रातीको घट्ना सुनाउन थालिन् ।

‘आज राती आँपपानी पाखातिर रुखहरु ढलेको आवाजले तेर्से खोल्सी नै थर्काएझैं सुनेकोले म निद्राबाट झसँग ब्युँझिएँ । कान थापेर सुनेकी त साँच्चै गुडुङडुङ ड्याम्मा गरेर रुख ढलेकै आवाज सुनेँ ।’ हजुरआमाले नानीहरुलाई सुनाउनु भो, ‘भूतले राती राती यसरी रुख काटेको आवाज दियो भने घर गाउँको मान्छे मर्छ रे भन्छन् । खोई कुन्नी अब यो गाउँको कुन चाहिँ मर्ने हो । मर्ने समयको त कोही पनि छैन । बिमार उमार पनि छैन । काल गतिको कुरा कल्ले भन्न सक्छ र !’

यकिना अगाध

फ्लेतेरको हजुरआमाले यत्ति भनिसकेपछि आँसु टुपुलुक्क खसालिन् ।

‘बुढी भएकी मान्छे यो गाउँको मै एउटी हो क्यार ! खाओस् भूतले मलाई नै । मेरी छोरा, छोरी, बुहारी, नानीहरु कसैलाई केही पनि नहोस् ।’

फ्लेतेरको आमा र काकीले कामीस्योङको खेतबाट डालेघाँसको भारी ल्याएर घरसँगै जोडेर बनाएको गाईगोठमा बिसायो । त्यतिबेला घडीले बिहानको आठ बजेको सुई घुमाइरहेको थियो ।

‘यो हजुरआमाको केही काम छैन अनि नानीहरुलाई नचाहिने नचाहिने कुराहरु सिकाइरहनु हुन्छ ।’ हजुरआमाको कुरा सुनिसकेकी काकीले भारी बिसाउँदा अररिएको मुन्टो अररो पार्दै जिस्क्याइन्, ‘आज रातभरि भूतले रुख काटे छ र पो त, ऊ हेर हेर आँपपानी पाखा नाङ्गै देखिएको ।’

काकीको कुरा सुनेर फ्लेतेर हाँस्दै खेल्नको लागि स्कुल डाँडातिर दौडिइन् । जान नसकेका नानीहरु कोही कोही चाहिँ हजुरआमाको ढाडमा चढेर हट् घोडा खेल्न थाले, कोही चाहिँ दुध खानको लागि भखरै घाँस लिएर आइपुगेकी आमाको फरियामा झुण्डिन पुग्यो ।

‘हाँउ हाँउ हाँउ…’ डाँगे भोटे कुकुर सासै नफेरि बुरुक बुरुक उफ्रेर एकोहोरो भुक्न थाल्यो । कुकुरको एकोहोरो आवाजले हजुरआमाको कान टुँइया गरेर सुन्नै छाडेकाले सराप्न थालिन्, ‘कहिले पुर्लुक्क जालास् है यो बाघको गाँस । रातभरि भूतले रुख काटेर तर्साउने बेलामा चाहिँ भुक्नु छैन, अहिले चाहिँ बित्थामा… ।’ सरापी नसक्दै हजुरआमाको हातको लाठी डाँगे भोटे कुकुरको ढाडमा ठ्याङ्ग बज्यो । तर पनि कुकुर चाहिँ मान्छे नै खालाझैं एकोहोरिएर भुकिरह्यो ।

‘ओइ काले चुप लाग ।’ कुकुरलाई चिरपरिचित एकजना लोग्नेमान्छेले ठूलो स्वरमा हकारेको सुनेर हजुरआमा आवाज आएतिर फर्किइन् । सतासि बाजेको झिल्के पाराङ, गाङथानघरे सोनाम बबु, मोजेघारीको वाइबा बुढो बाक्पा (तामाङ जाति मर्दा लामाले लाउने एकप्रकारको मुखुण्डो लाएर नाच्ने मान्छे) बनेर स्याँस्याँ र स्युँस्युँ गर्दै हजुरआमाको आडैमा बङ्लङ बुङलुङ लड्न आइपुग्यो । आँपघारी पाखामा सिकार खेल्न गएका उनीहरुको अनुहार र जीउभरि भखरै जङ्गलमा लागेको डडेलोको अंगारको कालो र खरानीको सेतो खैरो रङ्ग लागेकोले फागु खेलेको मान्छेझैं पनि देखिन्थ्यो । त्योमाथि तिनीहरु बाघले खेदाएको बाख्राझैं नराम्ररी धक्दै झस्केको देखिन्थे । जीउको लुगा काँडाले खोस्रिएर झुत्रिएको थियो । अनुहार, हात खुट्टाबाट रगतको थोपा थोपा चुहिरहेको थियो । कतै कतै सुकेर टाटा बसिसकेको थियो । अघि पहिला उनीहरुको अनुहार देखेर तर्सेकी गोलेघरे हजुरआमा अहिले भने मरीमरी हाँसिन् । घरमूली आमै हाँसेको देखेर कुकुर पनि रमाइलो मानेर पुच्छर हल्लाउँदै उनीहरुको वरिपरि कुँइकुँइ गर्दै घुम्न थाल्यो । ‘आज राती आँपपानी पाखामा भूतले रुख काटेको सुनेकी थिएँ, तिमीहरु पो बाक्पा बने छौ ।’

‘बेला न कुबेला बजि मयको मेला भनेझैं यो बुढी ठूलीआमा….!’ झिल्के पाराङ बौलाहाझैं चिच्यायो, ‘बबु दाजु खोइ ? बबु दाजु खोइ ?’

गोलेघरे हजुरआमालाई यो गाउँको सबैले ठूलीआमा भनेर सम्बोधन गर्ने गर्दछन् ।

‘पल्लो घरको पोच्चोर बबुकोमा छ… ।’ ठूलीआमाले आफ्नो कुरा नटुङ्ग्याउँदै उनीहरु त्यत्तातिर कुदे ।

केटाकेटीहरुलाई परतिर हुत्याइ राखेर आज किन बहुलायो यो झिल्केहरु भन्दै गोलेघरे हजुरआमा पनि त्यतैतिर कुदिन् ।

‘लौ दाजु त केम (जाँड) पो खाँदै हुनुहुँदो रहेछ… ।’

‘दशैंमा पनि नखाए कहिले खाने त भाइ हो…. ।’ गोले बबु दाजुले ठट्टा गर्न खोज्यो ।

‘पुक्लुक्क मर्न नसकेकाहरुले आँपपानीको ग्लान च्याङबालाई आज राती मारे छ नि !’ गोले बबु दाजुको ठट्टालाई वास्तै नगरी सोनाम बबुले एकै सासमा आफ्नो कुरा बिसायो । उनको कुरा सुनेर गोले बबुको घाँटीबाट निलिसकेको जाँड हुलुक्क फर्केर आयो ।

‘कस्ले मार्यो होला त विचरालाई ।’ गोलेघरे हजुरआमा चुकचुक गर्न थालिन् । जाँड बाँड्नलाई ठिक्क परेकी गाङथानघरे बुहारी समाचार सुनेर लाटीझैं जडवत् उभिरहिन् ।

‘मरिण छापबाट आएको सशस्त्रले रे भन्छन्… ।’ वाइबा बुढोले अझैंसम्म डरले कामिरहेको आवाजमा आफूले सुनेको कुरा सबैको सामु राख्यो ।

एक हप्ताअघि सिर्थौलीको मगर केटोलाई सखौरी खोलामा ल्याएर मारेको थियो । ‘राम्रै भएछ । त्यो पाजी माओवादी बनेर साँढेझैं डुक्रेर हिँडिरहेको थियो ।’ किलोशेरा टु अप्रेसन चलाएर सशस्त्रले त्यतिखेर त्यो माओवादी केटोलाई मार्दा यहाँको गाउँलेहरुको मनमा मुसा मारे जत्तिको पनि पीडा परेको थिएन । धेरै दिनसम्म त्यही खोल्सीमा लास सडेर बस्दा पनि यहाँको कुनै पनि गाउँले हेर्नसम्म नि गएन । तर आज ग्लान च्याङबा मारिएपछि यहाँको गाउँलेहरु नराम्ररी झस्किका मात्र छैनन् कि एकाएक तर्सिएका छन् । ग्लान च्याङबा भखरै उमेरदार हुँदै थियो । गरिब परिवारका मेहनती ती केटोको जीवनले साहुको भारी बिसाउन नपाउँदै खाऊँखाऊँ लाउँलाउँको समयमै यो धर्तीबाट विश्राम लिनु पर्यो । यो गाउँका मान्छेहरुको खेतबारी जोत्ने, धानमकै लाउने, कोदो रोप्ने, भारी बोक्ने काममा सबैभन्दा कामयवी मान्छे उनै थियो । अरुलाई कबोले जत्तिको ज्याला दिंदा पनि चित्तबुझ्दो काम हुँदैनथ्यो । उनले भने एकछाक भातमा पनि खुसी भएर दिनभरिको मेला भरिदिन्थ्यो । जाँगरिलो पनि कत्ति बिघ्न ! यो गाउँमा यस्तो जाँगर हुने युवा नै पो को छ र ?

केटाकेटी र आईमाईहरुले मरेको मान्छे हेर्न हुँदैन रे भन्ने गर्थिन् गोलेघरे हजुरआमा । आफ्नो आफन्त बित्दा छेकवार गर्दागर्दै जबरजस्त हेर्न खोज्ने केटाकेटी र आईमाईहरुलाई तिनले भन्ने गर्थिन्, ‘अटेरी नहोऊ है, मरेको मान्छेको हंस सर्दा थाहा पाउलाऊ । हंस सर्यो भने बहुलाउँछन् रे । बहुलाएर मरेको मान्छे सँगसँगै कुद्यो भने अहिले कस्ले के नै पो गर्न सक्छ र ? भन्नुस् त– गान्बा, ताम्बा, लामा लासोम ।’ हंस सर्छ रे भनेका कारण यो गाउँका केटाकेटी र आईमाईहरुले आजसम्म लास हेर्ने आँट गरेका छैनन् । आज भने तिनै हजुरआमाले हिँड्न सक्नै सबै केटाकेटी, तन्नेरी, आईमाईहरुलाई भेला गरेर लोग्नेमान्छेहरुको हुलसँगै हुल बाँधेर आँपपानी पाखाको जंगलमा ग्लान च्याङबाको लास देखाउन ल्याएकी छिन् ।

‘आहो ! साँच्चै पो रहेछ ।’ हजुरआमाले ग्लान च्याङबाको लास देख्ने बित्तिकै औंलो तेस्र्याएर देखाइन्, ‘आज राति मैले भूतले खोल्सै थर्काएर रुख काटेको सुनेकी त असत्तिहरुले बन्दुक पो पड्काएका रहेछन् ।’ हेर्नलाई आइपुगेकाहरु माहुरी बथानझैं हुनुनु गरेर हुनहुनाउँन थाल्यो ।

‘आम्मोई नि ! मरेको मान्छेलाई पनि हात बाँधेर छाडेछन्, मोराहरुले ।’

‘नमार्नुस् हजुर ! म निर्दोष छु भनेर कत्ति विन्ति बिसायो होला बिचराले । हेर न है अझै पनि हात नमस्ते गरिरहेकै छ ।’

‘मारे पनि आँखा त सद्दे छोड्नु पर्ने हो नि । ढुङ्गाले हानेर कुच्याएर मरेछन् ।’

‘आँखा मात्र हो र ! ऊ आन्द्रभुँडी नि फुत्त बाहिर निकालिदिएछन् ।’

उहिले पञ्चायत सदस्य बनेको हुनाले बल बुढालाई यहाँका मान्छेहरु ‘सतासी बाजे’ भनेर सम्बोधन गर्ने गर्दछन् । सतासी बुढा पञ्चायतको अन्त्य भएर बहुदलीय व्यवस्थाको पुर्नस्थापनापछि कांग्रेस बन्यो । यहाँका सबै गाउँलेहरु एक ढिक्का उनैको पछि लाग्यो । पञ्चायती व्यवस्था हुँदा होस् या बहुदलीय व्यवस्था आएपछि गाउँ र गाउँलेको हीतबाहेक असर हुने काम उनले कहिल्यै गरेनन् । उनी मूल लामा पुरोहित पनि थिए । यसकारण सतासी बाजे कांग्रेस बन्दा यहाँको गाउँ नै कांग्रेस बनेको थियो । उमेरले चौरासी काटिसकेको ती बाजे पनि सकी नसकी लौरो टेक्दै यहाँ आइपुग्यो ।

‘राम्रै भए छ ।’ एक हप्ताअघि सखौरी खोलामा मगर केटोलाई मार्दा सतासी बाजे र बेतपानीका गाउँलेहरुले भनेका थिए, ‘त्यो पाजी माओवादी बनेर साँढेझैं डुक्रेर हिँडिरहेको थियो ।’ उनीहरुलाई माओवादी मारेकोमा कुनै पछुतो थिएन र त लास हेर्नसम्म नि गएन । तर आज भने सतासी बाजे, गोलेघरे हजुरआमासँगसँगै गाउँको पातपतिङ्गरसमेत यहाँ सोहोरिएर आइपुग्यो ।

‘थुक्क ! असत्ति पापीहरु । महारोगले लैजाओस् यी पुलिसहरुलाई त ।’ सतासी बाजेले आफ्नो टाउकोलाई दुई हातले समातेर आँसु बगाउँदै पुलिसले ढुङ्गाले कुच्याउँदा जोगिएको ग्लान च्याङबाको एउटा आँखामा आफ्नो आँखा एकसुरले जुधाउँदै काम्न थाल्यो ।

‘असत्ति पुलिस…. असत्ति सरकार… ।’ काम्दा काम्दै सतासी बाजेले ठूलो स्वरमा कराउन थाल्यो ।

‘मुर्दावाद !’ बुढाको दाहिने मानिने गोले बबु पनि थरथर काँप्दै ठूलो स्वरमा करायो ।

‘माओवाद ।’ भीडबाट एक्कासी कल्पनै नगरेको वाक्य सुनियो ।

‘जिन्दाबाद !’ कांग्रेसबाहेक अरू कुनै पनि पार्टीलाई राम्रो पार्टी नमान्ने गाउँलेहरू सबैको एकै स्वर भयो । गोलेघरे हजुरआमाले भनेझैँ मरेको मान्छेको हंस सर्छ भन्ने कुरा साँच्चै सावित भयो ।

आज दशैंको दशमी । पूजाआजा गरेर ठूलाबडाबाट टीका ग्रहण गरी आशीर्वाद लिएर भोज खानु पर्ने दिन थियो । भोज भतेरको त कुरा नै छाडौं गाउँका गाउँलेहरु पानी पनि नखाएर निराहर बस्यो । निधारमा दहीमा चोपलेको कोम्हेन्दो (टोलोलाको फूल)को सेतो टीका लगाएनन् । ग्लान च्याङबाको हंस सरेर बहुलाए छन् क्यार, उनको रगतको रातो टीका पो निधार भरिभरि लाउन थाले । राजधानी र सदरमुकामको सञ्चारमाध्यमहरुमा समाचारले सनीसनी मच्चायो, ‘टीकाको बड्याईको लागि तयार पारेको बन्दुक काँधमा बोकेर बेतपानीको बहुलाएका गाउँलेहरु आफ्नो सिकार सिकार गर्नको लागि निस्किए रे ।

===

शब्दको अर्थः

गान्बाः गाउँमूली ।

ताम्बाः इतिहासकार ।

लामा लासोमः गुरु गुरुवर ।