धेरै दिनदेखि त्रिशुली नदी बिरक्तिएको छ । कहिले भेल वारि त कहिले भेल पारि पुग्नेगरी उर्लिएको छ । गड्गडाएर ठुला ढुङ्गा पल्टाउँदै आफूलाई वीर ठानेको छ । नदीमाथिको तुइन छुन लागेको छ तर नदी अझै शान्त हुन सकेको छैन । के हुन लागेको होला आज ? सरिताको मन पनि उथलपुथल भएको छ । उनको मुटु एक्कासी धड्किन्छ अनि एकछिनमा शून्यमा झर्छ । अलि शान्त हुन खाज्दै उही दैनिकी दोहोरिन्छ, उनको गिट्टी कुट्ने काम ।
दैनिक हातमुख जोड्नका लागि सबैले केही न केही त गर्नैपर्छ, उनी मनमनै सोच्दै थिइन् । उनलाई आज अलि जिन्दगीको परिभाषा खोज्न मन लागेको छ । कोही जिन्दगी दुई दिने हो भन्छन्, कोही भगवानले दिएको सुन्दर उपहार हो, हाँसेर बिताउन पर्छ भन्छन् । कोही के परिभाषा लगाउँछन् त कोही के ? जीवनको परिभाषा सबैको आआफ्नो भोगाइ अनुसार हुँदो रहेछ । कोही फूलसँग तुलना गर्छन् त कोही उपहारसँग तर उनी जिन्दगी एउटा सम्झौता हो भनी अनपढ मनले परिभाषा लगाउँछिन् । उनी छिः मलाई पनि के के सोच्न मन लाग्छ भनी नदीको सुसाइ, गल्ड्याङ्गुल्डुङ्को आवाजसँगै मनका तरेलीलाई बगाउँदै ढुङ्गा कुटेर गिट्टी बनाउन व्यस्त हुन्छिन् । यत्तिकैमा छोरो सिर्जन हस्याङ्फस्याङ गर्दै आमा भएको ठाउँमा आइपुग्छ र भन्छ, ‘आमा ! हेर्नु त गिट्टी लिने साहु आइसके ।’ हो र ? अलिकति पनि भएको छैन के पठाउने होला त, सरिताले भनिन् । सरिता तिमीले त थोरै गिट्टी कुटेकी रहिछौ, तिमीले पुर्याउन नसक्ने भए म अबदेखि अन्तैबाट उठाउँछु, साहुले बम्किँदै भन्यो । उनले हत्तपत्त हात जोड्दै भनिन्, ‘त्यसो नभन्नुहोस्, म भोलिदेखि धेरै ठिक पार्छु ।’
छोरालाई बोलाउँदै भनिन्, ‘सिर्जन यता आऊ त, तिमीले उचाल्न सक्ने जति ढुङ्गा यता ल्याइदेऊ है ।’ छोरोले धार्नीको टाउको हल्लाउँदै हुन्छ भन्ने सङ्केत गर्यो ।
सरिताको जवानीमा नै गाला चाउरिएको छ । पतेराले चुसेको फूलझैँ निरस भएकी छिन् । गिट्टी बोक्न आउने गाडी चालकहरू जिस्क्याउँदै भन्छन्, हेर यो सरिता त लाऊँ लाऊँ खाऊँ खाऊँको उमेरमा पनि यति उदास भएर बसेकी छिन् । यसो हाम्रो मन राखिदिए त हुन्थ्यो नि, हिँड् हामीमध्ये कोसँग जान्छ्र्यौ ? कति एक्लो जीवन बिताउँछ्यौ ? उनी रिसाएर भन्छिन्, ‘घरभरि जम्माजाल हुनेलाई अलिकति पनि लाज लाग्दैन ।’ चालकहरू गलल्ल हाँसेर भन्थे, ‘छ न त छ नि तर तिमीजस्ती छैन् र पो तिमीलाई हिँड भनेको नि ।’
एकल महिला, त्यसमा पनि भर्खर बाइस वर्षकी । मनमनै सोच्छिन्, ‘सुकेर झर्न लागेको फूलमा त रस बाँकी छ कि भनेर चुस्न जाने भमरोले जवान फूललाई त कसरी छोड्न सक्छ र ? यी भमरा यस्तै हुन्, यिनका कुरा सुन्न हुँदैन ।’ सरितालाई खोलाको किनारमा बस्न पनि कहाँ सुखले दिन्छन् र पापीहरूले । उनलाई आफ्नो अस्मिता जोगाउनै मुस्किल परेको छ ।
उनी आफ्नो छोरोतिर हेरेर मनमनै भन्छिन्, ‘यसलाई पढाउन पाए कस्तो हुन्थ्यो ? कति टाठोबाठो छ, भनेको कुरा पछिसम्म सम्झन्छ । मलाई असाध्यै माया गर्छ, के गर्नु पुर्पुरोमा ग्रहण लागेपछि ।’ उनलाई आफ्नो छोरो राजकुमारजस्तो लाग्छ । संसारमा यति राम्रो, मायालु, चलाख , ज्ञानी त कसैको बच्चा पनि छैनन् होला ? खुइय! गर्दै लामो सुस्केरा हाल्दै गिट्टी कुट्न थाल्छिन् । छोरोले विद्यालय जाने अरू केटाकेटीलाई तिमीहरूको विद्यालयबाट मलाई पनि किताब मागेर ल्याइदेओ न है साथीहरू, सिर्जन साथीहरूसँग अनुरोध गर्छ तर उसले किताब पाउँदैन । छोरोको पढ्ने रहर देखेर सरिताले माथि गाउँको पसलमा गएर सिसा, कापी, बाह्रखरी, अङ्ग्रेजीको ए, बि, सि, डि किताब किनेर ल्याई राति खाना खाएर सुत्ने बेलामा छोरालाई पढाउँछिन् । गिट्टी कुटेर जीविकोपार्जन गर्ने त्यहाँ धेरै थिए तर उनीहरूको परिवार थियो, सरिता त छोरा र उनी मात्र थिइन् । जब त्यहीँ नदी किनारमा बस्नेका छोराछोरी र गाउँका केटाकेटीहरू तुइन तरेर पारिपट्टि पढ्न जान्थे तब सिर्जन उनीहरूलाई हेरर आमासँग प्रश्न गर्थ्यो, ‘सबैजना विद्यालय जान्छन्, मचाहिँ किन जान नपाएको, तपाईँले पैसा तिर्न नसकेर हो ? म बिहान बेलुका गिट्टी कुट्छु अनि दिउँसो विद्यालय जान्छु नि आमा ।’ उसको कुराले सरिताको आँखा भरिन्छ । अर्कोतिर फर्किएर भक्कानिएको मनलाई सम्हाल्छिन् । उनलाई छोरो पढेर सर्ट, पाइन्ट र कोट लगाएर विद्यालयमा पढाउने शिक्षक भएको हेर्ने रहर छ तर आज उनलाई त्यो आकाशको फल आँखा तरी मरजस्तै भएको छ ।
छोरोको बारम्बार प्रश्न सोधाइले उनको छाती चिरिन्छ, आँखाका डिल सुन्निएका छन् , गलो बसेको छ रुँदारुँदा, के गर्नु कोसँग भन्ने, कसलाई सुनाउने । दुःख बाँड्यो भने मन हलुका हुन्छ रे । ती त सब भन्ने कुरा मात्र हुन् । त्यही कुरालाई फर्काएर प्रहार गर्नेको कमी छैन यहाँ भन्ने उनलाई राम्ररी थाहा छ त्यसैले मनको बह कसैलाई नकह भनेर चुपचाप आँसुलाई घुटुघुटु पिइदिन्छिन् ।
एक दिन छोरो सिर्जनले प्रश्न गर्यो, ‘आमा! राति राति पढाउनुहुन्छ, म यति राम्रा अक्षर लेख्छु । नेपालीका अक्षरहरू सबै पढ्छु भने अङ्ग्रेजी पनि पढ्न जानेको छु तर मलाई विद्यालय किन भर्ना गरिदिनुहुन्न ? भन्नुहोस् न आमा, सधैँ किन चुपचाप बस्नुहुन्छ ? जहिले सोधे पनि तिमी बुझ्दैनौ भनेर टार्नुहुन्छ, भनेपछि पो बुझिन्छ त नभनी मनको कुरा कसरी बुझ्नु ?’ सिर्जनले दिक्क मान्दै भन्यो । छोराको कुराले सरिताको मनमा भूकम्प गयो । उनले आफूलाई सम्हाल्दै भनिन्, ‘तिमी ठुलो भएपछि अवश्य बुझ्ने छौ । सानो मान्छे भएर धेरै कुरा गर्नुहुन्न, सुत रात धेरै बितिसकेको छ । भोलि बिहान दिनभरिलाई पुग्ने ढुङ्गा खोजिसकेर बल्ल गिटी कुट्नुछ ।’ छोरालाई थुमम्याउँदै सुताइन् । छोरो त्यहीँ निदायो । बर्खे झरी झमझम परेको छ । नदी उर्लिएर आएको छ । पालभित्र सबै पानी पस्न थाल्छ । उनी छोरोलाई भिजाउँछ भनेर पाल मिलाउन थालिन् । पाललाई मिलाउन छोडेर छोरोको प्रश्नले टुक्रा टुक्राभएको मन सिलाउन थालिन् तर जति सिलाउँछिन् त्यति च्यातिँदै जान्छ । कहिलेकाहीँ त उर्लिदो भेलमा गएर हामफालु झैँ हुन्छ उनलाई । उनले मनलाई कसै गरे पनि सिलाउन सकिनन् ।
‘थुक्क पापी ! तैँले गर्दा आज मेरो र यो निर्दोष छोराको यो हालत भयो । मेरो जीवनलाई नरक बनाउने तँलाई त नरकमा पनि बस्ने ठाउँ नमिलोस्’, उनले मनमनै सरापिन् । उनलाई आज छोरोले गरेको प्रश्नले अतीत झलझली आँखामा आउन थाले । सरिता आजभन्दा बाइस वर्ष अघि दैलेखको विकट ठाउँमा जन्मिएकी थिइन् । तीन वर्षकी नाबालिकालाई अरूको काखमा छोडेर उनकी आमा सदाका लागि बिदा भएकी थिइन् । दुई दाजुहरू अलि ठुला भइसकेका कारण गाउँमा काम गर्न जान्थे । तीन सन्तानलाई पालनपोषण गर्ने मान्छे चाहिन्छ भनेर आफन्तले कर गरेपछि सरिताका बुबाले घरगृहस्थी चलाउन दोस्रो विवाह गरेका थिए रे । उनलाई पछि आफन्तले सुनाएका थिए । थोरै जग्गाजमिन भएका कारण उनीहरूलाई मुस्किलले छ महिना खान पुग्थ्यो । पछि अर्को सन्तान पनि थपिए पछि त झन् अभाव बढ्दै गयो ।
एकदिन सरिताको आफन्त घरमा आएर तिम्रो छोरीलाई काठमाडौँमा लगेर पढाइदिन्छु भने । उनका बुबाले खुसी खुसी सरितालाई बिदा गरे । सरिता सात वर्षको उमेरमा अरूको घरमा काम गर्न बसिन् । काम सिक्दै जान थालिन्, घरको सबै काम सकेर विद्यालय जान्थिन् । घर बढार्ने, पुछ्ने, मेसिनमा धोएका लुगा सुकाउने, भाँडा माझ्ने उनको दैनिकी थियो । न उनलाई भेट्न कोही आए न उनलाई घर नै जान दिए । उनी एक्लै बसेर रुन्थिन् । भर्खर गर्भमा रहेको कोपिला फक्रन नपाउँदै घरपट्टि साहुले कोपिलाको रस चुसेर पतेरो लागेर झर्न लागेको कोपिलाझैँ बनाएको थियो । दस वर्षको उमेरदेखि मौका मिल्ने बित्तिकै रस चुस्न पल्किएको बुढो भमरोले चौध वर्षसम्म रस चुसिरह्यो । विद्यालयमा शिक्षकहरू सोधिरहन्थे, ‘यो सरितालाई के भयो ? आजभोलि त बोल्दा पनि बोल्दिन, सधैँ पेट दुख्यो भन्छे । यसको अभिभावक बोलाएर सोध्नुपर्यो ।’
‘पढाइमा राम्रै थिई तर आजकल पढ्न पनि त्यति जाँगर गर्दिनँ’ अर्को शिक्षकले थपे । पेट दुख्दा शिक्षकहरूले आफ्नो भाग खाजा खटाएर उनलाई खान दिन्थे र सिटामोल खान लगाउथे । कहिलेकाहीँ शिक्षकहरूले पढ्न अल्छी नगर् है सरिता पछि दुःख पाउलिस् भनेर सम्झाउथे तर विचरा! सरिता आँखामा आँसु झिक्नबाहेक के नै गर्न सक्थिन् र । वाक् वाक् लाग्ने, टाउको दुख्ने भइरहन्थ्यो । एकदिन एउटी साथीलाई केही कुरा भनिन् । साथीले यस्ता कुरा त शिक्षकलाई भन्नुपर्छ भनी तर उनले मानिनन् । सबैले थाहा पाएर विद्यालयबाट र घरपट्टिले घरबाट निकाली दिएमा कहाँ गएर बस्ने भन्ने कुराले उनलाई पिरोल्न थाल्यो । त्यसैले उनी चुपचाप सबै कुरा सहन बाध्य थिइन् । उनी बाह्र वर्षमा महिनावारी भएकी थिइन् । उनलाई महिनावारी हुँदा रक्तस्राव धेरै हुने, पेट दुख्ने गर्थ्यो । शिक्षकहरूलाई महिनावारीको विषयमा भन्न पनि लजाउथिन् । सबैले अनेक प्रश्न गर्दा पनि सरिता नाजवाफ हुन्थिन । उनलाई एउटै मात्र डर के थियो भने भोलि कहाँ गएर बस्ने, सबैले बलेको आगो त ताप्छन् नि ।
जुनसुकै समय पनि रस चुस्न पल्किएको भमरो मौका कुरेर बस्थ्यो त्यसकारण सरितालाई विद्यालयबाट घर जान मन लाग्दैनथ्यो । नजाऊँ कहाँ जाने बाध्यताको गह्रुङ्गो गोडाले घर प्रवेश गर्थिन् । ‘सरिता आजभोलि अल्छी भएकी छेस्, म तँलाई घरबाट निकालिदिन्छु है, साहुनी चिच्याउँथिन् ।’ जेजस्तो भए पनि सहनै पर्यो, उनी मनमनै कुरा गर्थिन् । सरिता चौध वर्ष लागेकी थिइन् । महिनावारी नभएको तीन महिना भयो । उनलाई खान मन नलाग्ने, वाक्वाक् लाग्ने, रिँगटा लाग्ने हुन थाल्यो । उनी एकोहोरिएर सोच्न थालिन् । मलाई के भएको होला ? सोधूँ कसलाई, के भनेर सोधूँ ? उनको हंसले ठाउँ छोडेको थियो । यत्तिकैमा एकदिन उनका बुबा उनलाई भेट्न भनेर आइपुगे । आमा भएको भए त मेरो पीडा पोख्न पाउथेँ तर बुबासँग के र कसरी भन्ने ? उनलाई झन् पीडा भयो । भोलिपल्ट बिहानै घरपट्टि साहुनीले सरिता अब तँ ठुली भइस्, तेरो विवाह गरिदिनुपर्यो भनेर तेरो बुबालाई हामीले बोलाएका थियौँ, तँ अब बुबासँग गएर गाउँमै बिहे गर है । छोरीले धेरै पढेर पनि के काम ? धेरै पढिस् भने केटालाई दाइजो पनि धेरै दिनुपर्छ । हामीले तेरो विवाहलाई पैसा दिएका छौँ, ‘अब यहाँ फर्केर नआइज है, बिहे गरेर उतै बस्’ साहुनीले घरको मूल ढोकासम्म आएर भनिन् । यो के भइरहेको छ भन्ने कुरा सरिताले बुझिनन् ।
सरिता गाउँ गएको एक हप्तामा पारि गाउँको केटोसँग नजिकैको राम मन्दिरबाट उनको विवाह भयो । उनको दशा एउटा घरबाट अर्को घरमा सर्यो । मेरी जन्मदिने आमा भएको भए आज मेरो यो गति हुने थिएन । उनले आफ्नी जन्मदिने आमालाई सम्झिन् र मनमनै भनिन्, ‘आमा तपाईँले मलाई किन सँगै लैजानु भएन, म यो नरकमा अब कसरी बाँच्ने ? स्वर्गबाट मलाई देखिरहनुभएको छ भने आमा मलाई लिन यमराज पठाइदिनुहोस् न । हरेक क्षण मरेर बाँच्नुभन्दा यस संसारबाट बिदा हुन पाए राम्रो हुन्थ्यो आमा ।’ आँसु तुरुक्क झारिन् । उनलाई थाहा भयो कि, उनी आमा बन्दै छिन् । अबको नारकीय जीवन सम्झिएर उनको छातीमा आगो दन्किन थाल्यो । दिनप्रतिदिन पेट ठुलो हुन थाल्यो । तल्लाघरे कान्छाले त साउँब्याज एकैपटक ल्याएछ भनेर गाउँले गाइँगुइँ कुरा गर्न थाले ।
एकदिन उनको श्रीमान्ले सरितालाई भने, ‘हेर सरिता, तिमी डराउनुपर्दैन, तिमीलाई के भएको थियो सहरमा, मलाई सबै यथार्थ कुरा बताऊ । यसमा तिम्रो केही दोष छैन । म तिमीलाई केही पनि गर्दिनँ र घरबाट पनि निकाल्दिनँ ।’, सरिताले आफूले बिताएको नरकीय जीवनको वृत्तान्त सुनाइन् । यतिसम्म कि भनेको नमाने मारेर घरको बगैँचामा गाडिदिने धम्की पनि दिने गरेको थियो । सबैकुरा सुनेपछि उनका श्रीमान्ले एउटै कोठामा छुट्टै ओछ्यान गलाइदिए तर कुनै दिन पनि गाली गरेनन् । धेरै काम गर्न पनि दिएनन्, हेरविचार राम्ररी नै गरे । सरितालाई कसैले घरमा केही पनि भनेनन् ।
एकदिन उनी बेसरी पेट दुखेर रुन थालिन् । उनका श्रीमानले थाहा पाएर भने तिमीलाई म तलको स्वास्थ्य चौकीमा लैजान्छु आत्तिन पर्दैन । बेलुका साँझ स्वास्थ्य चौकीमा सरिताले छोरो जन्माइन् । छोरोको अनुहार देखेपछि उनले सारा कष्ट बिर्सिइन् । भोलिपल्ट बिहान उनका श्रीमान्ले यो बच्चालाई लिएर म घर गएँ भने मलाई समाजले बहिष्कार गर्छ, तिमीलाई जीवनभर लाञ्छना लगाएर थुक्छन् त्यसैले मलाई माफ गर । यदि तिमी यो बच्चा कसैलाई दिन्छ्यौ भने मात्र म तिमीलाई घर लैजान्छु नत्र लैजान्नँ भने । सरिताले त्यो सर्त मानिनन् । उनका श्रीमान् यति पैसाले आफ्नो र बच्चाको हेरविचार गर्नु भनेर आमालाई लिएर स्वास्थ्य चौकीबाट बिदा भए ।
हातमा थमाइदिएको दस हजार पैसा लिएर श्रीमान् गएपछि उनी छोरो लिएर कहाँ जाने बिलखबन्धमा परिन् । उनले स्वास्थ्य चौकीको अहेवले भनेको सम्झिइन् । हेर बहिनी तिमी यो बालकको घरमा जाऊ र जन्मदर्ता गराइदेऊ भन । अब जन्मदर्ता भएन भने पछि नागरिकता पनि बनाउन पाउँदैन । तिम्रो छोरो अनागरिक हुन्छ । दुई दिनको बालक बोकेर उनी त्यही घरमा पुगिन् जहाँ उनले नारकीय बाल्यकाल बिताउनु परेको थियो । यो बच्चाको जन्मदर्ता गराइदिनुहोस्, मलाई केही चाहिँदैन र म झुक्किएर पनि यस आउने छैन भनी साहुसाहुनीसँग अनुनय, विनय गरिन् तर उनीहरूले जगल्ट्याउँदै घरको मूल ढोकाबाट निकाल्दै अब आइन्दा घर वा घरको वरिपरि देखा परेमा प्रहरी बोलाएर पठाइदिने धम्की दिए । वरिपरि देखे भने छिमेकीहरू सरिता तँ त्यसलाई नछोड है भन्थे तर जगल्ट्याएर ढोकाबाट निकाल्दा भने रमिते बन्थे, बोल्नचाहिँ चाइँचुइँ गर्थे ।
एघार दिनसम्म उनी त्यही पैसाले खाँदै, बच्चालाई पनि खुवाउँदै त्यही घर वरिपरि न्वारन गरी नामाकरण र जन्मदर्ता गराइदेऊ भनी घुमिरहिन् । त्यसदिन भने प्रहरी बोलाएर पठाइदिए । दुईदिन पछि त्यो घर वरिपरि देखा नपर्ने सर्तमा प्रहरीले छोडिदियो । उनी प्रहरी चौकीबाट निस्कँदै गर्दा एउटी महिला प्रहरीले भनी, तिमी त्यो घर वरिपरि नजाऊ है, तिनीहरू पहुँचवाला रहेछन् । तिम्रो छोरोलाई मारिदिन सक्छन् । त्यसपछिका दिन घरी रञ्जना गल्ली, घरी नयाँ सडक (न्युरोड), घरी पशुपतिमा माग्न थालिन् । कोही सानो बच्चा देखेर बच्चालाई खान देऊ भन्दै पैसा दिन्थे भने कोही लुगा किनेर दिन्थे त कोही जवानीको खेल भनेर खिसीटियुरी गर्दै बच्चा भोकाएर रुँदा रमिते बनिदिन्थे र भन्थे मसँग पनि हिँड न दुईचार दिन रमाइलो गरौँ भनी हाहा गरेर हाँस्थे । आफ्नो पीडा आफैँले मात्र सहने हो अरू त केवल दर्शक न हुन् । त्यसैले यस्ता कुराले सरिताको मन रुन छोडेको थियो । एक दिन उनको शिक्षक आइन् र बच्चालाई पैसा दिँदै भनिन्, हेर यति सानै उमेरमा बच्चा जन्माएकी । कुन पापीले यस्तो गर्यो होला ? त्यसको जिन्दगी त भर्सेलीमा परोस् भनी सराप्दै उनी गइन् । सरिताले टाउकोबाट ओड्ने हटाउँदै मनमनले भनिन्, ‘गुरुआमा म त्यही सरिता हुँ, जसलाई आफ्नो भाग खाजा खटाएर खुवाइ सिटामोल खुवाएर दुखाइ कम बनाइदिनुहुन्थ्यो । आज आफ्नो अनुहार देखाउन सकिनँ । मलाई चिन्नुभयो भने पक्कै पनि हजुरलाई दुःख लाग्ने छ भनेर अनुहार छोप्न बाध्य भएँ ।’ त्यसदिनदेखि सरिता प्रायः गुरुआमा हिँड्ने बाटोमा बस्न छोडिन् ।
तीन वर्षसम्म छोरोको जन्मदर्ता गराइदेऊ भनी त्यही घरवरिपरि डिल्लीबजारतिरै घुमिरहिन् । घरअगाडि सडकमा बसेर आफ्नो बच्चालाई स्वीकार गर भन्दै नानाभाँतीले गाली गरिरहेकी थिइन् । घरपट्टि वा बच्चाको बाबुले फेरि प्रहरी बोलाएर पठाइदियो । फेरि प्रहरी चौकी पुगिन्। प्रहरीले बेसरी गाली गर्यो र भन्यो, त्यति सज्जन मानिसलाई त्यस्तो आरोप लगाउने तँ ? के प्रमाण छ तँसँग ? त्यो बच्चा उसकै हो भन्ने हँ ? उनले पनि रिसाएर भनिन्, ‘बच्चाको बुबा को हो भन्ने त आमालाई मात्र थाहा हुन्छ ।’ अब कहिल्यै त्यो घर वरिपरि देखा नपर्ने सर्तमा फेरि प्रहरीले छोडिदियो । उनले सानालाई ऐन र ठुलालाई चैन भन्ने बुझिन् र छोरो च्यापेर त्रिशूलीको किनारमा झरिन् । जन्म दर्ताविना पढ्न नपाउने नियमले छोरोको पढाइ सुरु नहुँदै पूर्णविराम लाग्यो । उनले आमाको नामबाट नागरिकता बन्छ रे भन्ने सुनिन् तर आमाले मात्र जन्म दर्ता गराउन मिल्छ रे भन्ने कतै सुनिनन् । उनी अब एकदिन आमाको मात्र नाम राखेर जन्मदर्ता गर्न मिल्छ रे भन्ने समाचारको प्रतीक्षामा छिन् । केवल आफूजस्तै कुमारी आमाको नाम मात्र उल्लिखित जन्मदर्ताको प्रतीक्षामा…. केवल प्रतीक्षामा … ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।