८ 

बीस वर्ष बित्यो । यस संसारमा धेरै कुरा बदलिइसक्यो । कैयौं मानिसहरू मरेर गैसके, कैयौले जन्म लिइसके, कैयौं हुर्किसके या बूढा भैसके । मान्छेभन्दा बढी विचारहरू उत्पन्न भएका थिए र मरेर पनि गएका थिए । विगतका कतिपय खराब कुराहरू र कतिपय असल कुराहरूले विकास गरेका छन्‌ भने त्यसभन्दा बढी कैयौं खराबीहरू पनि पैदा भैसकेका छन्‌ ।

ग्राफ फ्योदोर तुर्बीन मारिएका पनि कैयौं वर्ष बितिसक्यो । उनी एक विदेशीसँगको दन्द्वयुद्धमा मारिएका थिए, जसलाई उनले सडकमा चाबुकले बेसरी पिटेका थिए । ग्राफ तुर्बीनको छोरो पनि आफ्नै बाबुको हुबहु तस्वीर हो । ऊ तेइस वर्षको लक्का जवान छ र अश्वारोही सेनामा अफिसर छ । परन्तु तरुण ग्राफ तुर्बीनको स्वभाव चाहिं बाबुको भन्दा एकदमै फरक छ । विगत युगका मानिसहरूको विशेष गुण, उनीहरूको खरो मिजास, उनीहरूको मगनमस्ती र साँच्चै भन्ने हो भने उनीहरूको भ्रष्टताको किञ्चित्‌ मात्र पनि छाप उसमा पाइँदैन्थ्यो । ऊ कुशाग्र बुद्धिको छ, सुशिक्षित र प्रतिभासम्पन्न पनि छ । यी गुणहरूको अतिरिक्त उसमा केही विशिष्ट गुणहरू पनि छन्‌- शिष्टता र ऐशआरामको जिन्गदीप्रति मोह, मान्छेहरू र परिस्थितिहरूको जाँचतौलमा व्यावहारिकता एवं जीवनप्रति एक सतर्क र विवेकशील दृष्टिकोण । जागीरमा तरुण ग्राफले निकै छिटो तरक्की गर्यो । तेइस वर्षको उमेरमै ऊ लप्टन बनिसकेको थियो । फौजी कार्वाही शुरु हुनेबित्तिकै उसले सक्रिय सेनामा सरुवा भएर नै छिटो-छिटो तरक्की गर्न सकिनेछ भन्ने निर्णय लिइहाल्यो । तसर्थ ऊ रिसल्ला पल्टनमा तत्कालै सरिहाल्यो । त्यहाँ उसले कप्तानको पद भेट्टायो र छिट्टै नै एक अश्वारोही दलको कमान पनि उसलाई सुम्पिइयो ।

सन्‌ १८४८ को मई महिनामा हुस्सारहरूको “स’ पल्टन “क’ गुबेर्निया हुँदै अगाडि बढिरहेको थियो । तरुण ग्राफ तुर्बीनको अश्वारोही दलले मोरोजोभ्का गाउँमा राति बास बस्नुपर्ने थियो । आन्ना फ्योदोरोभ्ना यसै गाउँकी मालिक्नी थिई । आन्ना फ्योदोरोभ्ना अझै पनि जीवितै थिई तर त्यो बैंस भने बितिसकेको थियो । आफूलाई बैंसालु ठान्नु वा नठान्नु आइमाईहरूको लागि निकै महत्त्वको हुन्छ । अब त आफूलाई उसले तरुनी ठान्न समेत छोडिसकेकी थिई । ऊ निकै मोटाएकी थिई । भन्छन्‌, मोटी आइमाईहरूको उमेर कम देखिने गर्छ । परन्तु उसको गोरो र मोटो जीउमा गहिरो चाउरीका रेखाहरू पर्न थालिसकेका थिए । अब त ऊ गाडीमा सवार भएर शहरतिर पनि कहिल्यै जाने गर्दिनथी । साँच्चै भन्ने हो भने त अब उसलाई गाडीमा चड्न समेत भूभारत पर्न थालिसकेको थियो । किन्तु अहिले पनि ऊ पहिलेकै जस्ती फरासिली र मूर्ख पनि थिई । खास कुरा त के भने अब शारीरिक सौन्दर्यले पनि उसको मूढता लुकाउन सक्तैनथ्यो । छोरी लीजा र दाजु पनि उसैसँग बसेका थिए । उसको दाजुसित त हामी परिचित नै छौं । त्यो त्यही अश्वारोही सेनाको अफिसर हो । छोरी चाहिं तेइस वर्षकी भइसकेकी थिई र झर्रा रुसी सुन्दरी नै थिई ऊ । मनमौजी स्वभावले गर्दा दाजु चाहिंले आफ्नो सारा मौजा उडाइसकेको थियो र बुढेस कालमा अब उसले बहिनीको घरमा ओत लाग्ने ठाउँ पाएको थियो । उसको कपाल सेताम्मै ‘फुलिसकेको थियो, माथिल्लो ओंठ लत्रेर भित्रतर्फ दोब्रिएको थियो, तर जुँगा चाहिं उसले पालिस लगाएर कालै पारेको थियो । खालि उसको निधार र गालामा मात्र नभएर नाक र घाँटीमा समेत चाउरीको माकुरे जालो देखा परिरहेको थियो । अझ ढाड पनि अलि कुप्रो परिसकेको थियो, तैपनि उसका कमजोर र बाङ्गा खुट्टाहरूमा चाहिँ अश्वारोही सेनाको भूतपर्व अफिसरको किञ्चित्‌ छाप अझै पनि बाँकी थियो ।

त्यस दिन आन्ना फ्योदोरोभ्ना सारा जहान-परिवारको साथमा आफ्नो पुरानो घरको बैठकमा बसिरहेकी थिई । घरको बार्दलीका पुरानो बगैंचातर्फ फर्केका ढोका र झ्यालहरू खुलै थिए । बगैंचाको आकार चाहिं ताराको जस्तो थियो र त्यहाँ लाइमका रुखहरू रोपिएका थिए । आन्ना फ्योदोरोभ्नाको कपाल फुलिसकेको थियो । ऊ फिका बैजनी रङ्गको फलाटीनको चोलो लगाएर सोफामा बसिरहेकी थई र महोगनीको काठले बनेको टेबुलमाथि तासका चक्कीहरू फैलाउँदै थिई । बूढो दाजु चाहिंले निलो कोट र सुकिलो सेतो पतलून लगाइराखेको थियो र हातमा सेतो सूती धागो र सुइरो लिएर झ्यालैनिर बसेर केही बुन्दैथियो । यो बसिबियाँलो उसलाई भान्जीले सिकाइदिएकी थिई । अब यस काममा उसको अभिरुचि खूबै बढिसकेको थियो । उसमा अब कुनै उपयोगी काम गर्ने क्षमता पनि त बाँकी रहन गएको थिएन । आँखा कमजोर भैसकेका थिए जसले गर्दा ऊ खबर कागतसम्म पनि पढ्न सक्तैनथ्यो, यद्यपि अखबार पढ्ने सोख उसलाई खुबै थियो । पीमोच्का भन्ने एउटी सानी केटी उसको छेउमै बसेर लीजाको रेखदेखमा आफ्नो पाठ तैयार पार्दै थिई । यस केटीलाई अन्ना फ्योदोरोभ्नाले पालनपोषण गर्ने गरेकी थिई । लीजा चाहिँ काठका सुइराहरूको महतले आफ्ना मामाको लागि बाख्राको ऊनबाट मोजा बुन्दै थिई । दिन ढल्कँदै गइरहेको थियो र डुब्नै आँटेको सूर्यको छड्के किरण लाइमका रुखहरू पछिल्तिरबाट छिरेर आइरहेको थियो । कुनाको अन्तिम झ्यालको ऐना र त्यसैको बगलमा रहेको किताबदान टल्किरहेका देखिन्थे । बगैँचा र कोठा दुवै ठाउँमा कस्तो निस्तब्धता छाएको थियो भने झ्यालबाहिर बगैंचामा गौंथलीले पखेटा फटफट गरेको, कोठामा आन्ना फ्योदोरोभ्नाले लामो सास फेरेको या बूढो दाजुले खुट्टामाथि खुट्टा राख्दै गुनगुनाएको समेत टड्कारै सुनिन्थ्यो ।

“लौ न लीजा, बता त ! यो चक्की कहाँनेर राख्नुपर्ने हो । म जहिले पनि भुसुक्कै बिर्सन्छु ।”-आन्ना फ्योदोरोभ्नाले आफ्नो खेल एकछिन रोकेर भनी ।

लीजा बुन्ने काम नरोकेरै आमाको छेउमा पुगी र तासका चक्कीहरूमा उसले एक नजर दौडाई ।

“अहो ! तपाईंले त सबै करा गोलमाल गरिदिनुभो, माँ !”- उसले भनी र तासका चक्कीहरू फेरि मिलाउन लागी । -“यो त यस्तो पो हुनु पर्ने थियो । ठीकै छ, केही बिग्रको छैन । जे होस तपाईको सपना पूरा नै हुनेछ ।” अनि आमा चाहिंले नदेख्ने किसिमबाट तास्को एक चक्कि निकालिदिई ।

“अँ त मलाई जहिले पनि ठग्छेस्‌ मात्रै ! सोध्यो कि त मैले ठिकसँग तास मिलाएको कुरा गर्छेस ।”
“हैन, माँ ! ठीकै त भनेकी हुँ ! हेर्नुस न, ठीक ठीक निस्क्यो कि निस्केन ?”

“भैगो, भैगो, नकचरी ! के त अब चिया नखाने ?”

“मैले सामोभारमा पानी उमाल्न अह्वाइसकेकी छु । अहिल्यै हेरेर आउँछु । के त चिया यहीं नै मगाउँ ?… पीमोच्का, झट्टै पढिसिध्या ल ! अनि हामी दुवै घुम्न जऔंला ! यति भनेर लीजा कोठाबाट बाहिर निस्किहाली ।

“लीजा ! लीमोच्का !”- बूढा मामाले बोलायो । उसको आँखा भने बुन्ने साँचोतर्फ नै तल्लीन थिए । “सके एक घर बुन्नै छुट्यो क्यारे ! लौ त छोरी, ठीक मिलाइदेऊ त ।

“अहिल्यै आउँछु, मामा ! सख्खरको डल्लो फोर्न लगाउँछु र आइहाल्छु !” लीजाले ठीकै भनेकी थिई । तीन मिनेट बित्न नपाउँदै ऊ झटपट दगुरेर आइहाली र मामाको छेउमा पुगेर उसको कान समात्न पुगी ।

“घर बुन्न बिर्सनुभो कि त यस्तै सजाय पाउनुहुनेछ ।” उसले हाँस्दै भनी । “तपाईले त आजको भाग समेत बुन्न सक्नुभएनछ है !”

“भो, भो, पुग्यो अब ! त्यसलाई ठीक पारिदेऊ न छिटै ! कतै गाँठो पर्न गएको हुँदो हो !”

लीजाले बुन्ने साँचो हातमा लिई । टाउकोमा बेरिराखेको रुमालबाट हुक झिकी, अनि त्यसले गाँठो फुकाएर दुई-तीनपल्ट तानी र बुन्ने घर ठीक ठाउँमा पुर्याइदिई । त्यसपछि बुन्ने साँचो मामाको हातमा थमाइदिई । झ्यालबाट हावाको भझोक्का भित्र आइरहेको थियो र यसले गर्दा हुक खोल्नासाथै लीजाको शिरको रुमाल भुक्क उठेको थियो ।

“खै, मेरो ज्याला चुक्ता गरिहाल्नोस्‌ !”-रमालमा हुक सिउरेर घुसार्दै लीजाले भनी र आफ्नो गुलाफी गाला: मामाको मुख सामुन्ने तेर्स्याएर च्वाक्क म्वाई खाने संकेत गरी । आज चियाको साथसाथै अलिकति रम पनि खाने हैन त ? आज त शुक्रबार हो नि !”

ऊ फर्केर चिया-पकाउने कोठामा पुगी ।

“मामा, आउनोस्‌ ! हेर्नोस्‌ त हुस्सारहरू आउँदैछन्‌ !”- त्यहाँबाट उसले चर्को स्वरमा कराएर भनी ।

आन्ना फ्योदोशेभ्ना आफ्नो दाजुसँगै चिया पकाउने कोठामा पुगिहाली । त्यस कोठाका झ्यालहरू गाउँतर्फ फर्केका थिए । हुन त झ्यालबाट कति नै देख्न सकिन्थ्यो र ! धूलोको बादल उडिरहेको थियो र त्यसको बीचबाट एउटा हुल अगाडि जाँदै थियो ।

“अपसोच ! हाम्रो घर ज्यादै सानो छ र बङ्गला चाहिँ अझै बनिसकेको छैन । नत्र भने केही अफिसरहरूलाई हामीकहाँ बास बस्न दिनुहुन्थ्यो !”- लीजाको मामाले आन्ना फ्योदोरोभ्नालाई भन्यो।-“रिसल्ला अफिसरहरू ज्यादै हँसिला र मिजासिला पो हुन्छन्‌ त ! उनीहरूसित भेटघाट गर्न पाए क्या मजा हुँदो हो !”

“हो, दाजु ! आफूकहाँ उनीहरूलाई बास दिन पाउँदा मलाई पनि असाध्यै खुशी लाग्ने थियो । तर गर्ने नै के र ? हामीकहाँ ठाउँ नै पुग्दैन । मसँग एउटा सुत्ने कोठा छ, एउटा सानो कोठामा लीजा सुत्छे, एउटा बैठक नै भैहाल्यो, अनि एउटा कोठामा तपाईं हुनुहुन्छ ! बस्‌, यत्ति नै न हो ! उनीहरूलाई हामी कहाँ बास दिन सक्छौं ? तपाईं आफै विचार गर्नोस्‌ ल ! मिखाइल ‘मात्मेयेभले उनीहरूको निम्ति गाउँका मुखियाको बङ्गला ठीकठाक पारिसकेको छ । त्यहाँ पनि सफासुग्घर नै छ रे !”

“लीजोच्का ! तिनै हुस्सारहरूमध्येबाट एकजना वर तिम्रो लागि पनि रोज्दा हौं ! कुनै एक रातोपीरो सुन्दर हुस्सार !”-मामा चाहिंले थप्यो ।

“अहँ । मलाई हुस्सार मन पर्दैन ! मलाई त उल्हन पो बढी मन पर्छन्‌ त । तपाईं पनि उल्हन फौजमा नै हुनुहुन्थ्यो, हैन र मामा ?.. मत हुस्सारहरूलाई फुटेको आँखाले पनि हेर्न चाहन्न ! हुस्सारहरू बडो अल्लारे हुन्छन्‌ रे ! यसै भन्छन्‌ त !”

अनि लज्जाले गर्दा लीजाको गालामा हलुका लाली चढ्यो । तर फेरि उसको तिख्खर हाँसो गुञ्जियो ।

लौ, हेर्नोस्‌ ! ऊ उस्त्युश्का दगुर्दै आइरहेकी छे ! के देखेर आएकी रहेछन बुझ्नुपस्यो !”-उसले भनी ।

आन्ना फ्योदोरोभ्नाले उस्त्युशकालाई बोलाउन पठाई ।

“घरमा काम गर्ने केही नपाएर सिपाहीहरूलाई हेर्न दगुरादगुर गरेकी कि कसो ?”-आन्ना फ्योदोरोभ्नाले भनी ।-“लौ, भन्‌ त ! अफिसरहरूको बस्ने ठाउँको बन्दोबस्त कहाँ मिल्यो ?”

“येरेम्किनको बङ्गलामा बस्ने रे, हजूर ! दुई जना अफिसर रहेछन्‌ ! एक-से- एक राम्रा छन्‌ ! भन्छन्‌, एक जना त ग्राफ रे !”

“नाम के होनि?”

“कुन्नि ? काजारोम हो कि तुर्बीनोभ हो ? यस्तै केही हो ! खै, बिर्सिहालें । मलाई त सम्झना नै रहेन । माफ पाउँ !”

“कस्ती बुद्दु रहिछ हँ ? केही पनि बताउन सक्तिनस्‌ ! नाम त कण्ठ हुनुपर्छ नि कम-से-कम !”

“म छिटै बुझेर आइहाल्छु नि !”

“हो, थाहा छ मलाई ! यस्तो काममा त पास छेस्‌ । थाहा नभएको होर ! भो, पर्दैन ! घरमै बसिराख्‌ ! यसपटक दानिलो जाओस्‌ [दाजु ! उसलाई पठाइदिनोस्‌ ल । अफिसरहरूलाई कुनै चीजको खाँचो त छैन कतै ? बुझेर पनि आओस्‌ त्यल्ले ! हामीले उनीहरूको मानमनितो राख्नैपर्छ ! त्यहाँ गएर मालिक्नीले सोधिपठाइबक्स्या छ भनेर पनि जरुर भनोस्‌ !”

बूढा र उसकी बहिनी दुवै जना फेरि चियापान कक्षमा गएर बसे । लीजा चाहिँ नोकर्नीहरूको कोठामा सख्खर राख्न गई । त्यहाँ पनि उस्त्युश्का हुस्सारहरूकै चर्चा गर्दै थिई ।

“अहो ! मालिक्नी ! के भनूँ खै ? ग्राफ चाहिं बहुतै सुन्दर छन्‌ !”- ऊ भन्न लागी । -“दुरुस्त कामदेवकै अवतार हुन्‌ ! आँखिभौं पनि काला काला ! तपाईंलाई त्यस्तो वर जुर्यो भने निकै राम्रो जोडी मिल्ने थियो ।”

अरु नोकर्नीहरूले पनि मुसुमुसु हाँस्दै हो मा हो मिलाए । एउटी बूढी सुसारे झ्यालनेर बसेर मोजा बुनिरहेकी थिई । उसले लामो सास तानी र सुस्केर हाल्दै प्रार्थनाको स्तोत्र गुनगुनाउन लागी ।

“हुस्सारहरू त तिमीलाई सापै मन परेको छाँट छ नि, कसो !”- लीजा बोली ।- “चिप्लो घसेर कुरा गर्न त तिमी बिछट्टै पो सिपालु छ्यौं ! हा जाऊ त, अलिकति फलको रस लिएर आऊ ! त्यो केही अमिलो होस्‌ ! हुस्सारलाई मन पर्ने खालको होस्‌ !

त्यसपछि लीजा सख्खरको भाँडो उठाएर हाँस्दै फुत्त बाहिर निस्किहाली ।

“त्यो हुस्सार कस्तो रैछ ? एकफेरा हेर्न पाए त हुन्थ्यो नाइँ !’- उसले सोची । “स्वर्णकेशी होला कि कृष्णकेशी ? मलाई लाग्छ, ऊ पनि त हामीसँग भेटघाट गर्न पाउँदा खुशी नै होला ! हुन सक्छ, ऊ यहाँबाट गइहाल्ने छ र यहाँ एउटी ठिटी पनि छ जो उसको बारेमा सोच्नेगर्छे भन्ने समेत उसलाई थाहापत्तो नहुन सक्छ । आजसम्म कैयन्‌ युवक यहाँ आए र गए पनि ! मामा र उस्त्युश्का बाहेक अरु कसले मलाई देखेको छ र ! मेरो केशश्रृङ्गारको ढङ्ग र मेरो ब्लाउजको रङ्ग जे जस्तो भए पनि के नै फरक पर्छ र ? मेरो प्रशंसा गर्ने नै यहाँ कोही छैन त !- आफ्ना सुडौल गोरा हातहरूतर्फ हेर्दै लामो सास तानेर उसले सोची ।- “त्यो: अग्लो कदको होला, आँखा पनि ठूल्ठूला नै होलान्‌ र सके जुँगा चाहिं पातलो र कालो हुँदो होला ! मेरो उमेर बाइस वर्ष नाघिसक्यो, तर लज्जालु इभान इपातिचबाहेक अरु कसैको प्रेम पनि मैले पाउन सकेकी छैन । चार वर्षअघि त म अहिलेभन्दा पनि राम्री थिएँ । अब त म कन्याकेटी भन्न नै नसुहाउने पो भैसके । सारा किसोरावस्था बितिहाल्यो, तर मैले अझै कसैको मन प्रसन्न पार्न सकेकी छैन । उफ्‌ ! कर्म नै फुटेको पाइयो । म त एक अभागिनी गाउँले ठिटी न ठहरिएँ ।’

आमाको स्वर सुनियो । लीजाका विचारहरूको श्रृङ्खला टुटिहाल्यो । आमा चाहिँ उसलाई चिया बनाएर ल्याउन अह्वाउँदै थिई । लीजा टाउको झड्कारेर चियापानकक्षमा पसी ।

असल घटनाहरू अक्सर अकस्मात नै घट्ने गर्छन्‌ । जति बढी प्रयास गरिन्छ त्यत्तिकै नराम्रो परिणाम निस्कन्छ । गाउँघरतिर बालबालिकाहरूको शिक्षादीक्षामा कुनै ध्यान दिइँदैन, तसर्थ उनीहरूले जो शिक्षा पाउँछन्‌ त्यो अधिकांश स्थितिहरूमा अद्भुत नै हुन्छ । लीजाको सन्दर्भमा पनि यस्तै भयो । आन्ना फ्योदोरोभ्नाको बुद्धि थोरै थियो र स्वभाव चाहिँ असाध्य नै अल्छी खालको थियो । लीजालाई कुनै किसिमको शिक्षा दिइएन । न संगीत सिकाइयो, न त फ्रान्सेली भाषा नै जुन सिकाउनु ज्यादै उपयोगी ठानिन्थ्यो । यस्ती स्वस्थ र सुन्दर बालिका हुर्कने त आमाबाबुले कल्पनै समेत गरेका थिएनन्‌ । आन्ना फ्योदोरोभ्नाले बुबुधाई र सुसारेको बन्दोबस्त गरिदिएकी थिई । आन्ना फ्योदोरोभ्ना नै उसलाई खाना खुवाउँथी, छीटको कपडाको जम्फर र बाख्राको छालाको जुत्ता लगाउन दिन्थी, बाहिरतिर घुम्न पठाउँथी, च्याउ र फलफूल बटुल्न लगाउँथी । एक युवा विद्यार्थी उसलाई लेखपढ र हिसाब सिकाउन आउँथ्यो । एवं प्रकारले सोह्र वर्ष बितिहाल्यो । अचानक आन्ना फ्योदोरोभ्नाले लीजालाई एक फरासिली, मिलनसार र मेहनती युवतीको रुपमा पाई । उसले एक संगिनीको मात्र नभएर एक चल्तापूर्जा घरपट्टिनीको स्थान ग्रहण गरिसकेकी थिई । आन्ना फ्योदोरोभ्ना स्वयं पनि बडो दयालु स्वभावकी थिई । ऊ जहिले पनि कुनै भूदासका छोराछोरी अथवा कुनै टुहुरा केटाकेटीको लालन पालन गर्ने गर्थी । लीजाले दश वर्षको उमेरदेखि नै यसरी पालिएका केटाकेटीहरूको हेरचाह गर्न थालिसकेकी थिई । उनीहरूलाई ऊ कखहरा सिकाउँथी, लुगा लगाइदिन्थी, गिर्जाघरमा लिएर जान्थी, उपद्रव गर्न लाग्दा हप्काउँथी र दप्काउँथी । त्यसपछि लीजाका बृद्ध मामा पनि आएर घरमा बस्न थाले । दुब्लोपातलो भए पनि उ दयालु मान्छे थियो ।लीजाले एक बालकको जस्तै उसको पनि हेरचाह गर्नुपर्यो । यस बाहेक घरका नोकर-चाकर र गाउँका भूदासहरू नाना थरीका अनुरोधहरू लिएर उसकहाँ आउने गर्थे । कोही बिरामी परेको छ भने उनीहरूलाई लीजा एल्डर फूलको रस, बाबरी र कपूरको अरक दिएर पठाउँदी । यसको साथै घरको सारा जिम्मेवारी नै अचानक उसैको काँधमा पर्न गएको थियो । अनि प्रेमको लालसा पनि भित्रभित्रै दबिरहेको थियो र त्यो प्रकृतिप्रेम र धर्मकर्ममा व्यस्त हुनेगर्थ्यो । यसरी लीजा अचानक नै एक व्यस्त, हँसमुख, स्वाबलम्बी, मिलनसार, फरासिली र धर्मानुरक्त युवतीको रुपमा देखा परी । हो, कहिलेकाही गिर्जाघरमा आफ्नै बगलामा ‘क’ शहरबाट किनेर ल्याइएको नयाँ घाँटको टोपी लगाइराख्ने कुनै छरछिमेकीलाई देख्दा भने लीजाको मनमा पनि डाहको भावना उत्पन्न हुन्थ्यो । आमा बूढी र फतफते हुँदैगइरहेकी थिई र उसको नाटीकुटीले लीजालाई रूवाएर छोड्ने गर्थे । प्रेमबारे उसका कल्पनाहरू उटपटाङ र कहिलेकाहीं त ज्यादै भद्दा खालका हुनेगर्थे । तर घरको कामधन्धाले गर्दा ती कल्पनाहरू त्यसै बिलाएर जान्थे । उसको निम्ति घरधन्दा अत्यावश्यक नै बनिसकेको थियो । यसरी बाइस वसन्त काटेकी र शारीरिक तथा नैतिक सौन्दर्यले भरिपूर्ण यस हुर्कदी युवतीको आत्मामा एउटा पनि दाग थिएन, न त पश्चात्तापको नै कुनै यस्तो चिन्ह थियो जसले त्यसको दीप्ति र शान्ति कम गर्थ्यो । लीजा मझौला कदकी थिई र दुब्ली नभएर मोटीघाटी नै देखिन्थी । उसका आँखा बदामी रङ्गका तर अति ठूलो भने थिएनन्‌ तल्ला पलकमुन्तिर केही कालो आभा देखिन्थ्यो । चुल्ठो चाहिँ लामो र सुनौला थियो । हिंड्न लाग्दा हाँस झै ढल्कीढल्की पाइला सार्ने गर्थी र हिँडाइ नभन्दै लच्किलो थियो । जुन बेला उ कुनै काममा व्यस्त हुन्थी र मनमा कुनै किसिमको पीर हुँदैनथ्यो, त्यतिखेर जोकोहीले पनि उसको अनुहारमा हेर्दा भाव पढ्न सक्थ्यो: जसको अन्तरात्मा स्वच्छ छ र जसको हृदयमा कसैप्रति प्रेमभाव व्याप्त छ उसको निम्ति जीवन एक सुखमय वरदान नै हो । अनि जब कुनै किसिमको क्लेश या क्रोध, व्याकुलता या व्यथाले गर्दा उसको मन विक्षुप्त हुन्थ्यो, गहभरि आँसु भरिएर आउँथ्यो, बायाँ आँखामाथिको आँखिभौं खुम्चिने गर्थ्यो र ओंठ कठोर बन्थ्यो, त्यस्तो घडीमा पनि अनायासै कुनै पनि प्रकारको विकार र कृत्रिमताबाट मुक्त रहेको उसको दयालु र निष्कपट हृदयको ज्योति उसका गालामा पर्ने खोपिल्टा उसका ओठको कुनामा देखिने रेखा र उसका टल्किरहेका आँखाहरूमा झल्कँदै रहन्थ्यो ।