जीवनदेखि आजीत म । न बाँच्न मन छ, न मर्न नै आँट । सबैको नजरमा तल परेको काम गर्न नसक्ने लाक्षी भएको छु । जुन दिन बस दुर्घटनामा परेर हात काट्नुपर्यो, ढाड भाँचियो सबैको नजरमा कसिङ्गर भएँ ।
कमाउन्जेल स्वास्नीले राम्रो गर्थी, छरछिमेकमा राम्रो थियो, काम सघाइदिन्थे तर आज छरछिमेक त पर स्वास्नीको लागि नि बोझ छु म । कुनै बेला त घर छाडेर जाउँ कतै एकान्तमा र एक्लै बसौँझैँ हुन्छ तर ढाडले गर्दा हिँड्न सक्दिनँ । दिनरात स्वास्नीको मनमा भाला घोप्ने वचनको कारण आफ्नो कायरता फाली आँट गरेर मैले मर्ने निर्णय गरेँ । ठुलो निर्णय, ज्यादै ठुलो ।

होमनाथ लम्साल ‘नारायण’

खाना खाने बेला भयो ।

“आउ घिच्न, कमाइ छैन घिच्न त सक्छौ नि । हाड रगडी रगडी दिनमा काम गर्यो रातमा …। ” स्वास्नी बर्बराइरही । यसरी नै जहिलै खाना खाने बेलामा स्वास्नीले नाना थरी भन्थी, गाली गर्थी, मसँग बिहे गरेकोमा आँफैलाई कोच्थी, कहिले सन्तान नभएको राम्रो भो भन्थी त कहिले मेरो कारणले सन्तान नभएको भनी नपुंसकको संज्ञा दिन्थी ।

‘योसँग विवाह हुनुभन्दा पहिले मेरो कलेजकै एउटीसँग लभ थियो, पछि गर्भ रहेको थाहा पाएर गिराउनु परेको थियो । म कसरी नपुंसक भएँ ।’

स्वास्नीका यस्ता वचनका कारण खाना पनि मजाले खान सक्दिन थिएँ तर आज उसका कुराको कुनै पर्वाह नगरी गमागम थपीथपी खाइदिएँ । किनकि मैले ठुलो निर्णय लिएको थिएँ, ‘आत्महत्या’ ।

गाउँ सुनसान थियो । बुडी सुतिसकेकी थिई । उठेर झुन्डिन जाउँ त उठ्न सक्दिनँ, साँच्चै म लाचार रहेछु । मर्न पनि नसक्ने तर म मेरो निर्णय कुनै हालतमा फेर्दिनँ । आफैले आफ्नो घाँटी थिचेँ । बिस्तारै शरीर चिसो भो । हातहरु खुकुलिए, स्वास्नी बिउँझिने डरले छटपटाउन पनि पाइनँ । तर हात खुकुलिना साथ हराएको सास एक्कासी आयो । स्वा स्वा भएर सास आफैं फेरियो । लौ यसरी त मर्न नसकिने रहेछ । कहिलेकाहीँ रातमा दिसा आउँदा बुढीलाइ उठाउँथे तर हिजोमात्रै उठाउँदा बुडीले रिसाएर भनेकी थिई , “अबदेखि मलाई उठाउने हैन, आफैं जाने बाहिर । यहा छ टेक्ने लौरो ।”

हिजो यही कुरा मन परेको थिएन तर आज मन पर्यो । लौरो टेकी बल्ल बल्ल बाहिर निस्किएँ, अन्धकार, किराहरु कराइरहेका थिए । सायद मेरै स्वास्नीले झैं झ्याउकिरीहरु आफ्ना लाचार र अशक्त श्रीमानलाई गाली गरिरहेका होलान् ।

डोरी हातमा थियो, छेउबाट कुर्सी ल्याएर चड्न खोजेँ तर असफल प्रयास म लडेँ । १० , १२ पल्टको प्रयासपछि कुर्सीमा चडेर छेउको आपको हाँगामा डोरी बाधेँ र मेरो घाँटीमा नि बाधेँ । कुर्सी लडाइदिएँ, मलाई असह्य हुन थाल्यो, मेरा खुट्टाहरु काटिएर उछिट्टिएका औलाझैँ छट्पटाइरहेका थिए । बिस्तारै मेरो हात चिसो हुन थाल्यो, सुरुमा हात र बिस्तारै पुरै शरीर फ्रिजमा परिवर्तन भयो । मेरो शरीर शून्यमा, बिना प्रतिक्रिया झुलिरहे । लिंगेपिंग माफिक ।

म मेरो शरीर हल्लिएको हेरिरहेँ । म तल भुइँमा पछारिसकेको थिएँ । माथि मेरो शरीर झुलिरहेको थियो । लडेको कुर्सी उठाउन हात बडाएँ तर मेरा हातहरु हावासँग मात्र स्पर्श गरिरहे, मैले आफैंलाई स्पर्श गर्ने कोसिस गरेँ तर मेरो असफल प्रयास, म पनि खोक्रो भैसकेछु । म सायद अदृश्य ब्लाकहोलमा रुपान्तरण भैसकेछु । सायद म भुत भैसकेछु । म घरभित्र पसेँ, न मलाई घरका पर्खालले रोके, न त कुनै कुरा मसँग स्पर्श भए । रातभर छट्पटिरहेँ । सायद म भुतलाई नि निन्द्रा लागेछ म भुसुक्क निदाएँ, सायद मेरा आँखा बन्द भए ।

बिहान मात्र मेरा आँखा खोलिए । म भुइँमा पछारिरहेको थिएँ र छेउमै मेरो स्थिर शरीर लडेको थियो । नाकभित्र रुवा, घाँटीदेखि तल सेतो कपडा र छेउमा एउटा दियो ।

मेरी स्वास्नी मेरो मुढो लाशको अगाडि बसेर छाती पिटीपिटी रोइरहेकी थिई, कराउँदै थिई र भकभकाउँदै भनिरहेकी थिई – “ हे भगवान्, मलाई लानुपर्थ्यो, किन वहाँलाई लग्नुभएको । म अब कसरी बाँच्नु, के गर्नुभयो हजुरले अब म कसको आशमा बाँच्ने ?”

मेरी स्वास्नीले मलाई यति धेरै माया गर्छे थाहा थिएन । अहिलै गएर शरीरभित्र पसौँ झैँ भयो तर गाउँलेको नि व्यवहार हेर्न मन लाग्यो, जहाँ थुप्रा थुप्रा बनी मेरो लाशको छेउछाउमा गफिरहेका थिए । म बिस्तारै गाउँका मास्टरहरुको झुन्डमा पुगेँ, त्यहाँ अस्थायी शिक्षक र स्थायी शिक्षकको कुराहरु भैरहेका थिए । मैले निकै बेर सुन्दा नि मेरो कुरा भेटिनँ । अर्को हुल गाउँका नेताको थियो तर त्यहाँ पार्टीको कुरा । यसरी म ४, ५ हुल चहारेँ तर उनीहरुका आफ्नै कुरा । मर्ने म तर उनीहरु आफ्नै कुरा गरिरेका थिए जहाँ मेरो कुरा थिएन ।

पछाडिबाट कसैले मेरो नाम उच्चारण गरे झैँ लाग्यो, फनक्क फर्की हेरेँ । त्यो हुल ११,१२ वर्षका ठिटाहरुको थियो । जे होस् कसैले त मेरो कुरा गर्दैछ भनी मुसुक्क हाँसे, उनीहरुको छेउमा मेरो कुरा सुन्न गएँ तर उनीहरु मलाई जोक्समा सेरेको संज्ञामा राखेर जोक्स भन्दै हाँस्दै रहेछन् । त्यहाँबाट नि म निराश फर्किएँ र अर्को २१, २२ वर्षका युवाहरुको हुलमा गएँ । त्यहाँ उनीहरु आजबाट १३ दिनसम्म तास खेल्ने योजना बनाउँदै रहेछन् । अस्ति हारेका पैसाहरु उठाउने दाउ रैछ म मरेकोमा ।

यत्रा जमातमा मैले मेरो बारेमा सोँच्नै एउटै मात्र देखेँ ‘मेरी स्वास्नी’ ।

एकछिनमा गाउँको टाउके भनाउँदा नेता हातमा पार्टीको झन्डा लिएर आए र मेरो लडिरहेको लाशमाथि ओडाए र चिच्याएर भने – “उहाँ हाम्रो पार्टीको सक्रिय कार्यकर्ता हुनुहुन्थ्यो । उहाँको असामायिक निधनप्रति हामी र हाम्रो पार्टी स्तब्ध छौँ । उहाँको आत्माको चिरशान्तिका लागि १ मिनटको मौनधारण गरौँ ।”

सबै स्तब्ध रहे तर मेरो मन चञ्चल भयो । मेरो बारेमा कुरा गर्ने मेरी स्वास्नीबाहेक सायद यी नेतामात्र होलान् तर म उनको पार्टीमा नलागेको कसरी सक्रिय भएँ । मलाई लाग्यो मेरी स्वास्नीदेखि बाहेक मेरो मृत्युको पीडा कसैलाई छैन । म मेरो शरीरभित्र प्रस्थान गर्न दौडिएँ । बल्लबल्ल भित्र पसेँ । स्वा स्वा गर्दै जुरुक्क उठेँ । मलाई लानुपर्थ्यो भनी कराउने मेरी स्वास्नी म उठ्नासाथ ६ कोस टाढा पुगी । सबै आत्तिएर पछाडि सरे । म जुरुक्क उठेँ र लौरो टेकी हिडेँ तर आज हिजोको जस्तो ममा अशक्तपना ज्यादा थिएन । मेरो मुहारमा छुट्टै मुस्कान थियो । म मरेकोमा अरुलाई हुनसक्ने फाइदाहरु मैले काँच फुटाएझैँ सबैको मुहारबाट फुटाइदिसकेको थिएँ । एकछिन मरिहेर्दा मैले समाज, परिवार बुझिसकेको थिएँ ।