कहीँ गएर एकान्तमा अघाउँजी रोऊँ जस्तो मन थियो । अघाउँजीको तर सीमा रहेनछ । कति रुने ? मन किन रुन्छ ? थाहा छैन किन यो रोइदिने मनलाई नरोऊ भनेर सम्झाउने पनि नै हुन्छ । कहाँ हुन्छ यो मन ?
उसले पनि भनेकी थिई खाली रोऊ रोऊ लाग्छ । मैले भनेको थिएँ, “त्यसो भए रोइदेऊ, अघाउँजी रोऊ ।’ त्यसपछि उसले अघाउँजी रुन खोजी । तर अघाउँजी भनेको कति ? रुनुको अघाउनु कुन हदसम्म ?
ऊ वाल्ल परेर त्यसपछि मलाई हेरेकी थिई । पानीले हामीलाई निथ्रुक्क भिजाएपछि ओत लाग्न त्यस बेला एउटा नाङ्गो रूखनेर गएका थियौं । सुकिसकेका हाँगाबाट पानी तप्किएर हामीलाई छुँदै बहन थालेको थियो ।
मन शून्यबाट उठेर माथि उक्लन सकेको थिएन ।
“हामी कहाँ जाने ?”
“हामी ?”
“हो ! हामी कहाँ जाने ?”
मैले उसलाई हेरिरहनुको क्षण थियो त्यो । के जबाफ दिने ? कहाँ जाने ? बतास धानका बालालाई छुँदै भागे पनि धानका बालाहरू बतासलाई भेट्न खेदिरहेजस्तो लाग्थ्यो ।
“अब हामी ?”
“कहाँ जाने ?”
“हँ ?”
“कहाँ जाने ?”
“हामी. ..हामी कहाँ जाने ?”
“किन ?”
“यहीं बसिरहने त ?”
“होइन तर अहिले नै कसरी ?”
“मलाई डर लाग्न थालिसक्यो ।”
“डर ?”
अनायास उसले आँखा छोपेकी भए पनि औंलाका काप-कापबाट आँसु बहेर आकाशबाट परेको पानीसँगै मिसिँदै गइरहेथ्यो ।
“कति रून्छौ ? अब त भैगो नरोऊ ।
हत्केलालाई आँखाबाट पन्छाएर मेरो विशेषतः आँखाको नानीमा आाखाको नानीमा एकोहोरो हेरी ।
त्यसपछि कुनै रोकटोकविना नै मेरा आँखाबाट पनि आँसु बग्न सुरू गरेको थियो ।
“जाने होइन ?”
उसको त्यसो भन्नुलाई कुन कोणबाट मैले जबाफ दिनुपर्थ्यो, तत्काल केही भन्न नसक्नुको फलस्वरूप मेरा दुवै आँखाहरू चुपचाप उसलाई हेरिरहेका थिए ।
“जाउँ न ।”
“तर कहाँ ?” भैले भनेको थिएँ ।
“कुन्नि त कहाँ ?”
“भनन त कहाँ जाने ?”
“त्यही त भन्दैछु ।”
“हुन त हामीले जानु छ…. हामी अब यहाँबाट टाढा जाने अर्थात् त्यहाँ जहाँ हामीलाई कसैले नचिनून् । हामी शून्य जस्तो … शून्य मान्छे जस्तो भएर त्यहाँ बाँच्न सकौं ।”
“त्यो कहाँ छ त ?”
“त्यो ?.. त्यो कहीँ टाढा…टाढा ।”
“जाऊँ न त !”
“अहिले नै ?”
साँझ परिसक्यो.. मलाई डर लागिसक्यो । हामी केही नबोलेर त्यसपछिको क्षण आँसु पुछ्दै मौन भएर बिताएका थियौं ।
हाम्रो केही रहर बाँकी रहेन । सोच्दै मैले उसलाई हेरिरहेको थिएँ । ऊ फेरि अनायास रोइदिएपछि म झस्किएको थिएँ ।
“हेर्नोस त कति अध्याँरो जस्तो भइसक्यो ।”
“अध्याँरो हुन्छ नि ! देखिनौ पानी परिरहेछ । साँझ पर्नुसँग किन अचम्म मान्छौ ?”
“नाइँ ! …नाइँ.. यहाँ नबसौं ।”
“के गर्ने त ?”
“जाऊँ न ।”
“कहाँ ?”
“कुन्नि त जाऊँ न ।”
“थाहा छैन हामी कहाँ जाने ? …तर हामी यहाँ बस्नु हुँदैन हगि ? यहाँबाट जानुपर्छ होइन ? मैले भने ति अब टाढा जानुपर्छ । कसैले नचिन्ने र नदेख्ने ठाउँमा जानुपर्छ । …तर ।”
“के तर ? .. हेर्नु न अब पानी पनि थामियो । अब जाऊँ न ।”
“भोलि जाउँला नि !” मैले सहजसाथ भनेको थिएँ ।
“हिजो पनि भोलि जाउँला भनेर बस्यौं …आज पनि भोलि भन्नुहुन्छ ।”
ऊ आँसु पुछ्दै अनायास आगो जस्तो भइसकेकी थिई ।
“यस्तो मान्छेले यो एक्लो-एकान्त ठाउँमा किन ल्याएको ?”
“हँ !”
“के बुझ पचाउँछौ, काँतर ! रोएर कति क्षण ! कति दिन ! कति महिना तड्पाउने विचार छ ?”
ऊ अनायास रूनबाट माथि उक्लेर विद्रोह जस्तो बोल्न थालेकी थिई ।
“निर्णय दिन सक्दैनौ होइन ?”
“हँ ?”
त्यसो भए मलाई त्यो अँध्यारोतिर हराउन देऊ । म जान्छु त्यही अँध्यारोमा त्यही अँध्यारोसँग बिलाउँछु म….।”
ऊ त्यसपछि मबाट च्यातिएर कुनै शून्यतिर गएकी थिई । ऊ त्यति काँतर थिई । यसरी विद्रोही हुन्छे भन्ने कसरी सोच्ने ? म तर यति काँतर भइसकेको रहेछु कि मैले उसलाई त्यो शून्यमा जानबाट रोक्न पनि सकिनँ । ऊ कहीं हराइसकेकी थिई । म केवल त्यो अँध्यारो आकाशसँगै विचारशून्य भइरहेको थिएँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।