साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कथा : समयको काँचुली

पार्टी शान्ति प्रक्रियामा आएपछि उपचार गर्न त लगियो तर धेरै ढिला भइसकेकाले क्यान्सरले छोइसकेको थियो । पार्टीले उपचारमा चासो देखाएन । उनले आफूसँग भएको खेतबारी बेचेर उपचार गरे । अहिले उनीसँग न सम्पत्ति छ, न त टेक्ने खुट्टा र सुन्ने कान ।

Chovar Blues Mobile Size

धेरै वर्षपछि यसपालि चुनाव हुँदै थियो । चुनावको खबरले जनताहरुमा उत्साहको लहर दौडिएको थियो । कसले टिकट पाउँछ र कसले टिकट पाउँदैन भन्ने छलफल मात्र होइन, कसले पाउँदा जित्छ र कसले नपाउँदा हार्छ भन्ने अनुमानित भविष्यवाणीले चौतारा, बजार, चियापसल, भट्टी तातिन थालेको थियो । पार्टीहरुमा आफूले जित्ने संभावित ठाउँहरुमा टिकट लिने आकांक्षीहरु धेरै हुने गरेको र जित्ने संभावना कम भएका ठाउँहरुमा टिकट लिने उम्मेद्वारहरु नै नपाएको रे भन्ने समाचारहरु पनि फैलिन थालेको थियो । देशको अन्य गाउँपालिकाहरुमा झैं मरिण गाउँपालिकामा पनि यस्तो दृश्य देखियो ।

‘प्रमुख, उपप्रमुखका दावेदार उम्मेद्वारहरुको सूची बनाई पठाउनु ।’ जिल्ला समितिले गाउँपालिका कमिटीलाई निर्देशन जारी गर्यो ।

कांग्रेस, एमाले र यस जिल्लामा भएका अन्य पार्टीहरुले झैं नेकपा (माओवादी)ले पनि यसै गर्यो । निर्देशनअनुसार नेकपा (माओवादी) मरिण गाउँपालिका कमिटीले जिल्लामा यी नामहरु सिफारिस गरी पठायो ।

‘ब्रिप्चिल तामाङ–१’

‘नयन बुढाथोकी–२’

sagarmani mobile size

‘निरोज सिंजाली–३’

‘धत्, यस्तो नि हुन्छ ?’ गाउँपालिका कमिटीले सिफारिस गरी पठाएको लिस्टको नाम पढ्ने बित्तिकै जिल्ला संयोजकको गाला रातो न रातो भयो ।

यकिना अगाध

‘साला …. ।’ नाम देख्ने बित्तिकै उसलाई भाउन्न भएर आयो । रिसको वेगमा उनले भित्तातिर थुक्क थुक्यो । थुकसँगै मुखमा भखरै हालेको खैनी पनि हुर्रिएर भित्ताभरि टाँसियो ।

वि.सं. २०५२ मा नेकपा (माओवादी) पार्टीले जनयुद्धको आरम्भ गर्यो । युद्ध घोषणासँगै पार्टी फुट्यो । युद्धमा नगएकाहरु एकातिर र युद्धमा होमिएकाहरु एकातिर भए । आआफ्नो कित्ता छुट्टियो । बन्दुक बोक्नमा यस भेगका जनता धेरैले सहभागी जनाए । युद्धले तीव्र रुपमा गति पक्ड्यो । पुलिस प्रशासनले पनि अब कडाइ गर्न थाल्यो । प्रशासनले खुकुलो छाडिएको सुरुआति दिनमा रहर, बाध्यता वा हाइहोस्टेमा माओवादी आन्दोलनमा लागेकाहरु फेरि पार्टी छाडेर बिस्तारै लाखापाखा लाग्न थाले । सिद्धान्तबद्ध भनिएकाहरु समेत सरकारले दमनको नीति अवलम्बन गर्नसाथ वारीपारी भए । मरिण भेगतिर पनि अघि स्याउँ स्याउँती देखिएका माओवादीहरु हराउँदै गए ।

‘आज जात्रा लाग्दै छ रे ।’

‘फलानो ठाउँमा हाटबजार रे ।’

पहिला पहिला मनोरन्जन भनेकै यत्ति नै हो यस ठाउँमा । टिभी, मोबाइल, सिनेमा हल भन्ने केही थिएन, यस चिजहरुको नाम सुन्ने मान्छे नै निकै कम थिए । युवायुवती होस् वा बुढापाका या केटाकेटी जात्रा र हाटबजार भनेपछि हुरुक्कै हुन्थे, त उनीहरु ज्यान फ्यालेर कुद्थे । जुहारी खेल्न, तरुनी र तन्नेरी भेटघाट गर्न, कुस्ती र लाठीबाजहरु आफ्नो कौशलता देखाउन, शत्रुता भएकाहरु विरोधीमाथि जितेर धाक देखाउन, जाँड रक्सी र मासु खान, आफूसँग भएका सामाग्री बेच्न र नभएका चिजबिजहरु किनमेल गर्न, तास जुवा खेल्न…. । ब्रिप्चिल परिवारको नाम खुबै चलेको थियो जुवा तास खेल्न र खेलाउनमा । आफू मात्र खेल्ने होइन कि जात्रामात्रमा जुवा तास खेल्नेहरुलाई ऋण समेत दिने गर्दथ्यो । यी परिवारलाई बकफर, झ्याँडी, नक्कली, सहान, छाप, खलंगा, रामपुरको जोसुकैले राम्ररी जान्दथे, चिन्दथे ।

वि.सं. २०५३ सालको मंसिर महिना । औंसीको रात । सधैंझैं मरिणको नक्कलीमा रात्रीकालीन बजार लाग्यो । यस जात्रामा ब्रिप्चिल परिवार पनि पुग्यो । आफूलाई सहज लाग्ने ठाउँ खोज्यो र रातभरि मेला भर्नको लागि पाल लायो । मैनटोल बाल्यो । औंसीको अन्धकारलाई चिरेर बलेको मैनटोलको झलमल्ल उज्यालोमा अरु जात्रामा जसरी नै जुवाडेहरुले घेरिन पुग्यो र जुवाको खाल सुरु भयो ।

‘मार्रा…।’ रक्सीले मातेको तालमा ठूलो स्वर निकालेका जुवाडेहरु छाती ठोक्दै जुवा हान्न थाले । वरिपरि हेर्ने रौसेहरुको हुल बढ्न थाल्यो ।

‘झरल… ल मार ।’ हार्नेहरु अघिभन्दा दोब्बर पैसा राखेर दाउ थाप्दै थियो । ब्रिप्चिल चाहिँ रकम चाहिनेहरुलाई रकम दिँदै हरहिसाब मिलाउन व्यस्त भयो ।

‘सुँइयाँ… ।’ कानै फुट्ने गरी कसैले सुइया बजायो । मैनटोल झ्याप्पा निभ्यो । अन्धकार छायो । जुवाडे र हेर्ने रौसेहरु कुरा बुझ्न नसकेर अकमकिए । जुवाखाल वरिपरिका मानिसहरु रानी हराएको मौरीझैं हुनहुनाउन थाले । आज कसले किन यस्तो गर्यो ब्रिप्चिलले केही पनि बुझ्न सकेनन् । जात्रामात्रमा ब्रिप्चिल परिवारमाथि हात हाल्ने दुस्साहस आजसम्म कसैले गर्न सकेको थिएन । यी परिवारले जुवा तास खेलाएको देख्दा पनि नदेखेझैं गर्थ्यो पुलिस प्रशासनले समेत ।

उनलाई नक्कली दमारमाथिको जंगलमा पुर्यायो । उनलाई अपहरण गर्ने मान्छेहरु अनुहार देखाएर उनको वरिपरि भेला भए ।

‘हामी माओवादी योद्धा हौँ ।’ उनीहरुले आफ्नो परिचय दिए, ‘यो देशको नराम्रो संस्कारको विरुद्ध लडिरहेको कुरा त जानकारी नै होला ।’

‘सुनेको त हो हजुर ।’ ब्रिप्चिल डराउँदै बोल्यो, ‘मैले चाहिँ के गल्ती गर्न पुगेछु हजुर ।’ उनले तामाङ लवजमा बोल्यो ।

‘जुवा तास खेल्न हुन्न भन्ने थाहै छ ।’ आफूलाई कमाण्डर ‘मुक्तिनाथ’ भनी परिचय दिने एक युवकले भन्यो, ‘अबदेखि यस्तो काम गर्ने कि नगर्ने ?’

‘यसलाई भौतिक कारबाही गर्नैपर्छ कमरेड ।’ होँचो होँचो कदको एक लडाकु चिच्यायो, ‘यो मान्छे सच्चिनेवाला छैन ।’

‘आवेशमा आएर हतारको निर्णय नगरौँ न कमरेड ।’ मुक्तिनाथले प्रतिवादात्मक आदेश दियो ।

‘ल अरु त माफी गर्छौं रे । भाटे कारबाही त चखाउनै पर्छ ।’ हेर्दा माझीजस्तो देखिने अर्को लडाकुले पनि तातो रिस पोख्यो । तर कमाण्डर मुक्तिनाथले त्यसो गर्न दिइएन । उनले ब्रिप्चिललाई निकै सम्झायो र अब कहिल्यै पनि आफू पनि जुवा तास नखेल्ने र अरुलाई पनि नखेलाउने प्रतिबद्धता जनाउन लगायो । जुवा तास नखेल्ने र नखेलाउने कुराले मात्र उनले मुक्ति पाएन, माओवादीलाई सहयोग गर्नु पर्ने र नगरेमा चाहिँ भौतिक कारबाही बेहोर्नु पर्ने चेतावनी पनि पायो । यत्ति सहमतिपछि उनलाई छाडियो ।

यो घटनापछि ब्रिप्चिलको घरमा कमाण्डर मुक्तिनाथको जत्थाको आवत जावत बाक्लियो । ब्रिप्चिलको घर माओवादी सेल्टरमा परिणत भयो । ब्रिप्चिलको इमान्दारीताले कमाण्डर मुक्तिनाथको मन जित्यो ।

‘आजदेखि देश र जनताको मुक्तिको लागि लड्ने योद्धा भयौ ।’ एकदिन मुक्तिनाथले गाउँमा गाउँलेहरु भेला गरेर एक कार्यक्रमको बीच ब्रिप्चिल आफ्नो कार्यकर्ता बनेको घोषणा गरी जिम्मेवारी दियो, ‘बसी खानेको पक्षमा होइन, गरी खानेको पक्षमा आफूलाई समर्पण गर्नु ।’

जात्रामात्र, हाटबजार भनेपछि हलुङ्गो हुने उनको खुट्टा मात्र होइन परिवारकै पाइलो यस दिनदेखि यत्तातिर अघि बढेन ।

‘भोका नाङ्गा, धनी गरिब, जात भात भन्ने विभेदको भित्ता निमिट्यान्न हुनेछ ।’ पार्टीको उद्देश्य बुझाउँदै मुक्तिनाथले उनलाई सिकाएको गुरुमन्त्र थियो, ‘सबै बराबरी हुनेछ, हाम्रो सत्ता आएपछि ।’ उनले पनि यिनै मन्त्र जपेर धेरैजना सोझासाझालाई फकाउँदै यो पार्टीमा समावेश गराएका हुन् आजसम्म । ‘कि गुम्यो रित्तो दुई हात, कि जित्यो संसार ।’ उनको जोसिलो कुरा सुनेर गरिब, बेरोजगार युवा युवतीहरु टाउकोमा रातो फेटा बाँधेर यस पार्टीमा लामबद्ध हुन्थे ।

‘हाम्रो सत्ता आएपछि सबैजना बराबरी हुने छ, ।’ भन्ने पार्टीको मूलमन्त्र भएका कारण उनले आफ्नो आसामीहरुको भेला गरेर ऋण तिर्नु नपर्ने घोषणा गर्दै आफूले बनाएको तमसुकहरु च्याते र जलाए । करकापमा पारेर कसैसँग चन्दा र सहयोग लिएनन् । यस भेगको चर्चा चलेकै मान्छे भएका कारण उनको कुरामा धेरैले विश्वास गर्यो । ०५३ सालपछि भत्कदैं गएको माओवादीमाथिको जनविश्वास ब्रिप्चिलको नेतृत्व आगमनसँगै आजभोलि फेरि पुर्नसङ्गठित बन्यो र यो ठाउँ माओवादीको सबैभन्दा राम्रो आधार इलाकामा परिणत भयो ।

उनीमाथि थप हौसला बढाउन पार्टीले उनलाई राम्रो सङ्गठक र नेतृत्व भनेर स्याबासी दियो । यत्ति बेलासम्म पनि उनी माओवादी सङ्गठक भइसकेका थिएनन्, यस पार्टीको मोर्चा राष्ट्रिय जनमोर्चा, नेपालको क्षेत्रीय सङ्गठक मात्र बनेको थियो । पार्टीमा उनी अझै परिक्षणमै थिए । यसकारण भूमिगत थिएनन्, सचेतपूर्वक मात्र काम गर्नु पर्दथ्यो ।

‘ढक् ढक् ढक् ढक् ।’ औंसीको रात थियो । कसैले एकोहोरो ढोका हिर्काएको आवाज आयो । यत्ति राती को होला ? निद्राको बीचमै उठेर ब्रिप्चिलले ढोका उघार्न पुग्यो । गर्मीको समय भएकोले उनको जीउमा एउटा स्यान्डो गन्जीमाथि लुङ्गी मात्र बेरेको थियो ।

‘साप ! घरमै रहेछ ।’

‘साला ! आतङ्ककारी… ।’ कसैले बोल्दै गरेको यो वाक्य नथुरिँदै उनको घुच्चुकमा मुड्कीले झ्याक गर्यो ।

‘को हो ? किन यस्तो गर्दै छौ ?’ पनि भन्न नपाउँदै आँखा छोप्यो । मुख बाँध्यो । एकै ओछ्यानमा सुतेकी श्रीमती, बच्चाहरु कसैले पनि यो कुरोको सुइको पाएनन् । घरबाट ऊ धेरै दिन बेपत्ता भयो ।

‘बुबा खोइ त आमा ?’ बिहान ब्युँझेर छोराछोरीले बाउ खोज्यो ।

‘केही नभनी कता हिँड्यो कुन्नि ?’ छोराछोरीलाई जवाफ दिनको लागि आमा चाहिँले पनि केही कुरा बुझिरहेकी थिइनन् ।

‘हातहतियार कहाँ छ ? देखा साला !’ घङ्गारुको लाठीले उनको तिघ्रामा हिर्काउँदै सोध्यो, ‘तिम्रो बन्दोबस्तीको सामान हामीले जफत गरेर यहाँ ल्याइसकेका छौँ । कुरा ढाँट्नु पर्दैन ।’

‘हतियार ? बन्दोबस्तको सामान ? खोइ हजुर मलाई त केही थाहा छैन ।’

‘मुख फर्काउँछस्, साला आतङ्ककारी !’ त्यो मान्छेले उनको मुखभरि छ्यापिने गरी थुक मात्र थुकी दिएन, बंगारा नै हल्लिने गरी मुखमा मुड्की पनि बजार्यो ।

राति आफूलाई अपहरण गरेर ल्याउने मान्छेहरु त सशस्त्र पुलिस पो रहेछ भन्ने कुरा बल्ल पो उनले बुझ्यो । कपिलाकोटको चौकीमा राखेर यातना दिन सुरु गर्यो ।

यहाँको प्रशासनसँग उनको राम्रो सम्बन्ध थियो । ऊ माओवादी हो भन्ने कुरा पनि कसैलाई थाहा थिएन । कसले जासुसी गर्यो होला उनलाई यो कुरा जान्नको लागि छटपटी चल्यो । उनले त्यहाँको इन्चार्ज इन्सपेक्टर नारायण श्रेष्ठलाई भेट्न खोज्यो । तर ती अफिसरले भने उनलाई भेट्न चाहेनन् ।

‘आज को को छ ?’ साँझ भट्टीबाट मातेर आएका असइले गार्डलाई सोध्यो ।

‘अस्ति ल्याएको आतङ्ककारी मात्र साप ।’ असइको अगाडि जवान तिनिक्क तन्कियो ।

‘त्यो मुलाले अझै कुरा फुत्काएको छैन ?’ असइले रक्सीसँग मिसिएको बहादुरी देखायो, ‘गेट खोल ।’ गार्डले हतार हतार गेट खोल्यो ।

‘हेर भाइ साँचो साँचो बताऊ ।’ उनले फकाउन थाल्यो, ‘किन बेकारको दुःखको भारी बोकी बस्छौ । तिम्रो साथीहरु कहाँ कहाँ छन्, देखाइदेऊ । तिमीलाई छाडिदिन्छु ।’ उनले केही पनि बताएनन् । असइको रिसको पारो टुप्पोमा पुग्यो ।

‘भन्दिनस् ? ला खा ।’ ओंठमा च्यापी राखेको चुरोट निकालेर असइले ब्रिप्चिलको नाकको टुप्पोमा झोस्यो । एस्ट्रेमा झैं ब्रिप्चिलको ओंठमा बेस्सरी धस्यो ।

‘त्यो मुक्तिनाथ भन्नेलाई देखाऊ, तिमीलाई केही पनि गर्दिनँ ।’ फेरि फकायो । उनी चुप्पो नै लागेर बसे । फेरि यातनाको मेलो सुरु भयो ।

जिल्ला अदालतको आदेशका कारण एक महिनापछि उनी थुनामुक्त हुन सफल भए । वर्गहीन राज्य निर्माणको सङ्कल्प बोकेर ब्रिप्चिल यसपछि भने सधैंको लागि तत्कालीन राज्यसत्ताको अगाडि भूमिगत भयो ।

सिन्धुलीको मरिण भेगमा वि.सं. २०४६ साल अर्थात् बहुदलीय व्यवस्थाको स्थापना नभएसम्म टीकाजंग थापाले एकछत्र रजाईं गर्यो । बहुदलीय व्यवस्थाको स्थापनापछि भने उनको राजनीतिले त्यति राम्रो मलजल पाएन ।

महेश्वताको मैनाली परिवार उनको विश्वासको मान्छेहरु थिए । राजनीतिलाई सामाजिक सेवा होइन कि अवसर लिने ठाऊँ हो भन्ने बुझेका चतुर मैनालीहरु बहुदलपछि टीकाजंगले अवलम्बन गरेका राप्रपा पार्टीलाई छाडेर कांग्रेसतिर पस्यो । मरिण भेगमा कांग्रेसको बिऊ छर्ने यिनीहरु नै हुन् । देशको अन्य भूभागमा कांग्रेस, एमाले र अन्य पार्टीहरु मौलाए पनि मरिण खोलाभरि भने जनमोर्चा, नेपालले एकछत्र जरो गाडेको थियो । यहाँका आम मानिसहरुमा पार्टी भनेकै जनमोर्चा हो भन्ने भ्रम थियो । बहुदलपछिको पहिलो चुनावको रिजल्ट नआएसम्म यहाँका धेरैजसोले त कांग्रेस, एमाले भन्ने पार्टीको नामसमेत सुनेका थिएनन् । वि.सं. २०५२ मा एकताकेन्द्रबाट छुटेर माओवादी बन्यो र यो पार्टी सशस्त्र युद्धमा पस्यो । श्रमजीवि वर्गीय राज्यसत्ता निर्माणको उद्देश्यले युद्ध सुरु भएको भए पनि यस अभियानमा आफ्नो स्वार्थपूर्तिको लागि पसेका लोभीपापीहरुको हुल पनि थियो ।

विक्रम मैनाली पनि माओवादी बन्यो । २०५२ मै उनी भूमिगत भए । गाउँ कमिटीको कमाण्डर बन्यो । गाउँदेखि जिल्ला र अन्य जिल्लासम्मको माओवादी को को छन् भन्ने कुरामा उनले गहिरो चासो राख्ने गर्दथ्यो । कुन चाहिँ नेता कहाँ कहाँ जान्छ, कसकोमा खाने र बस्ने गर्छ भन्नेमा उसले ध्यान केन्द्रित गर्ने गर्दथ्यो ।

भूमिगतपछि ब्रिप्चिल मरिण इलाकाको इन्चार्ज बन्यो । क्यानेश्वर, कल्पवृक्ष, कपिलाकोट, महेश्वता, शान्तेश्वरी, नेत्रकाली, तामाजोर गाविसतिर उनको नेतृत्वमा पार्टी निर्माण हुँदै गयो । जात्रामात्रमा जुवा तास खेलाउँदा खेलाउँदा मानिसहरुलाई कसरी आफ्नो पक्षमा ल्याउनु पर्छ भन्ने कलामा उनी निकै पोख्त थिए र त्यो अनुभवको कौशलता उनलाई संगठन विस्तार कार्यमा पनि निकै लाभदायी देखियो । निकै रौसे व्यवहारका उनीजस्तै गम्भीर विषयलाई पनि मानिसहरुको आफ्नै जीवन पद्दतीसँग जोडेर हाँसेर ठट्टापूर्वक सुरुवात गर्दथ्यो । बुढाबुढी, गृहिणी, युवा युवती र केटाकेटीको उमेर र स्वभावजन्य कमजोरीलाई पक्डेर उनीहरुलाई हाँसाएरै वा भावुक बनाएरै ख्यालमजाकजस्तै गरी सङ्गठनमा सङ्गठित गर्दथ्यो । उनको प्रशिक्षणमा शास्त्रीय सिद्धान्तका कठिनतम वाक्यहरुले कहिल्यै प्रवेश पाउँदैनथ्यो । बुढाबुढीहरु गरिब हुनु नै कम्युनिष्ट बन्नु हो भन्ने बुझ्दथ्यो, युवा युवतीहरु बेरोजगार हुनु नै कम्युनिष्ट बन्नु हो भन्ने बुझ्दथ्यो, केटाकेटीहरु ब्रिप्चिलले जस्तै केटाकेटीलाई मन पर्ने कुरा गर्नु नै कम्युनिष्ट हुनु हो भन्ने बुझ्दथ्यो । सङ्गठन विस्तारमा उनको यस्तै कलाकौशल चलिरहेकै बेला फागुन १, २०५४ मा माओवादीले जनयुद्ध दिवश मनाउने तयारी गर्यो ।

‘हाम्रो जिल्ला कमिटीको बैठक कहाँ हुँदैछ कमरेड ?’ विक्रमले ब्रिप्चिलसँग सोध्यो ।

‘मलाई यो कुराको पूर्ण जानकारी छैन त कमरेड ।’ ब्रिप्चिलले युद्धको नियमअनुसार सङ्गठनको योजना असम्बन्धित व्यक्तिलाई गोप्य राख्नु पर्ने भएकोले कुरा लुकायो ।

‘को को हुन्छ होला हगि त्यो बैठकमा ?’ फेरि उनले जिज्ञाशा राख्यो ।

‘सायद जिल्ला इन्चार्ज, सहइन्चार्जहरु…. ।’

‘क्षेत्रीय इन्चार्जहरु त ?’

‘कुन तहको कमरेडहरुसम्मलाई थाहा हुन्छ होला त्यो बैठक बस्ने ठाउँ ?’ विक्रम आफै गनगनाइरह्यो, ‘उच्च तहको सङ्गठनात्मक बैठक बस्ने ठाउँसमेत गोप्य राखेर गाउँ कमिटी इन्चार्जहरुलाई के विधि हेपेको हौ गाँठे… ।’

भोलिपल्ट राति जिल्ला हेडक्वाटरको बैठक महेश्वता पारी घाटामा बसिरहेको थियो । सेल्टर बस्ने सेन्ट्रीले अशुभ संकेत दियो । बैठकमा उपस्थित भएका सबैजनाले सतर्कता अपनायो । जिल्ला इन्चार्ज मुक्तिनाथसँगै सबैजना सुरक्षित ठाउँमा सेल्टर लिन पुगे । कोही पनि तलमाथि परेन । पुलिसलाई सूचना दिने जासुसले आफै झुक्किकेर गलत घर इङ्गित गर्दा उनीहरु जोगिन पुगेका थिए ।

‘कमरेड विक्रमलाई आज राति घाटाबाट पुलिसले लग्यो रे ।’ गाउँभरि हल्ला फिँजियो । विक्रम किन घाटामा आइपुग्यो, पुलिसले उनलाई कसरी पक्ड्यो र कसले देखेर यो हल्ला बाहिरियो प्रश्नको उत्तर अनुत्तरित नै रह्यो ।

यो बीचमा ब्रिप्चिल जिल्लाको जनसरकार प्रमुख बन्यो ।

वि.सं. २०६२–६३ सालको संयुक्त जनआन्दोलनले राजालाई गद्दीबाट च्युत पारेपछि माओवादी पार्टी सशस्त्र युद्ध छाडेर भूमिगतबाट खुल्ला राजनीतिमा प्रवेश गर्यो । ‘घाटामा पक्ड्यो रे’ भन्ने खबरसँगै माओवादी सम्पर्कबाट बेपत्ता भएका विक्रम मैनाली एक्कासी वाइसियलको केन्द्रीय नेता मात्र होइन कि ठूलै ठेकेदार बनेर मरिण खोलामा देखा पर्यो । यहाँको रोड, पूल, सडक र बाटो निर्माण टेण्डरको सबै ठेक्का उनको हातमा पुग्यो ।

सामुदायिक वन उपभोक्ता समितिहरु उनकै कार्यकर्ताको कब्जामा पुग्यो र काठको व्यापारले ऊ रातारात करोडपति बन्यो । सिन्धुलीमाडीमा उनको आलिशान महल ठडियो । महङ्गो गाडी चढ्न थाल्यो । उनले गरेको यो आकस्मिक आर्थिकस्तर उन्नतिसँगै माओवादी पार्टीको उच्च नेताहरु र प्रशासनका प्रमुखहरु तँछाड मछाड गर्दै उनको पाहुना बन्न थालेको दृश्य देखियो । माओवादी पार्टीका जिल्ला नेताहरुले आफ्नो केन्द्रका उच्च नेताहरुलाई विक्रमको पाहुना नबन्न चेतावानी दिँदा पनि कुनै सुनुवाइ भएको देखिएन ।

‘गद्दार… जासुस ।’ घाटा घट्नापछि विक्रममाथि पार्टीले मूल्याङ्कन गर्दै आफ्नो कार्यकर्तालाई निर्देश गरेको थियो, ‘अनिवार्य भौतिक सफाय ।’

‘यो भेगमा हाम्रो गौरवमय पार्टी निर्माण गर्ने मियो ।’ कार्यकर्ताको माझमा ब्रिप्चिललाई धाप मार्दै त्यस समयको युद्धको भिषण आँधीबेहरी बीचमा मुक्तिनाथले उद्घोष गर्ने गर्दथ्यो, ‘तपाईंजस्तो मान्छे हाम्रो सङ्गठनले नभेटाएको भए यो ठाउँमा आज हाम्रो पार्टीको अस्तित्व नै हुने थिएन । सलाम छ ! कमरेड ब्रिप्चिल तपाईंको महान् देनको लागि ।’ ब्रिप्चिलको सङ्गठन बनाउने कला र युद्ध कौशलता देखेर मुक्तिनाथ मात्र होइन पार्टीको केन्द्रिय नेताहरु र जनसेना कमाण्डरहरुसमेत निकै खुसी देखिन्थे ।

‘कमरेडले गर्नुभएको योगदानको सही मूल्याङ्कन हुनेछ ।’ हेडक्वाटरको आश्वसन थियो । आफ्नो नेताहरुको यो तारिफपूर्ण मूल्याङ्कनले उनको छाती केराको पात जत्रो भएर पूरै जीउभरि फैलिन्थ्यो ।

‘हेलो बहिनी ! तिमी कसकी छोरी ?’ भिमान हाटमा यी युवतीलाई देख्ने बित्तिकै एकजना जवान आर्मीले जिस्क्याउने मनसायले बोलायो । तिनले जवान आर्मीतिर पुलुक्क हेरिन् र आफ्नो गालालाई लाजले रातो पारिन्, तर केही पनि जवाफ फर्काइनन् । मझ्यौला कद । गुलाफी छालाको गोलो अनुहार । भखरै नुहाएर बाबियोजस्तो कपाललाई नबाँधी सर्लक्क पछाडितिर छाड्दा देखिने सौन्दर्यको मोहनी लोभलाग्दो थियो । छोटो टिसर्ट, टाइट जिन्सपाइन्टमा देखिने तिनको कोकाकोला फिगरमा फुलेको यौवन लालीगुराँसझैं खुलेको थियो । चिम्सो आँखालाई कामुक बनाउन सघाउने कालो गाँजल, ओंठको कलेजी लिपिष्टिकबाट फुत्कने मादक मुस्कान !

आहा… जवान आर्मीको मनलाई चुलबुले बनाई छाड्यो । ‘कहाँकी होलिन् यी युवती ?’ यी जवान आर्मीको लोभी मनले ती तरुनीलाई बिर्सन मानेन । आउने हप्ताको हाट कुर्न थाल्यो । आजभोलि गर्दा गर्दै हप्तादिनपछि हाटबजार आइपुग्यो । यो दिन भने ती युवतीले अर्की युवतीलाई साथ लिएर आएकी थिइन् । ती दुईटी युवती आफ्नै धुनमा तरकारीमा भुजिया र चिउरा मिसाएर खाँदै थिए । ती युवतीको साथी तिनीभन्दा अलि अग्ली र ठूलठूला आँखा भएकी थिइन् । ‘गाँजलु ती ठूला ठूला आँखा’ भन्दा ती चिम्सा चिम्सा आँखा भएकी तरुनीले जवान आर्मीको शान्त मनमा पिरतीको तरंग उछालेकी थिइन् ।

‘होइन, यत्ति राम्री तरुनीहरु आजभोलि कहाँबाट आउन थाले ?’ ती जवान आर्मीले आफ्नो साथी अर्को आर्मीसँग सोध्यो ।

‘साँच्चै, हगि त ।’ साथी चाहिँले पनि उनको कुरालाई स्वीकार्यो । आफ्नै धुनमा खाजा खाइरहेकी दुईटी युवती भएको ठाउँमा गएर दुईभाइ आर्मीले मौका छोपेर परिचय लिने मेसो झिके ।

‘कहाँकी नानी हो भनेर सोध्दा बोल्दा नि बोल्दिनौ ।’ चिम्से चिम्से गाँजलु आँखामा ताकेर हेर्दै सोध्यो, ‘हाँसेरै टाछ्र्यौ र भाग्छ्यौ ।’

‘म रीता ढकाल, ऊ चाहिँ म्हारसाङ लामा ।’ ठूला ठूला आँखा भएकी युवतीले परिचय खोलिन् । परिचयको क्रममा थाहा भयो– राजु श्रेष्ठ र सागर कार्की, आर्मीको हवल्दार रहेछन् । गएको हाटदेखि सामान्य परिचयमा बाँधिएका तिनीहरु अबदेखि भने दिनहुँ भेटघाट गर्न थाले । राजु म्हारसाङ र सागर रीताको प्रेमपासोमा पर्न थाल्यो । एकोहो माया होइन, दोहोरो माया बस्न थाल्यो । ती दुई जवान आर्मीहरुलाई अब म्हारसाङ र रीता आफ्नो आँखाबाट ओझेल पर्यो कि के हराएजस्तो, के बिर्सिएजस्तो हुन थाल्यो । बुढापाकाले यसै भनेका होइन रहेछन्, ‘ख्याल ख्यालको मायाले, लान्छ ज्यान ।’

पहिला त म्हारसाङ, रीता र बिमलीले यो कुरा मानेकी थिइनन् । ‘यो कसैको व्यक्तिगत लाभको लागि गरिएको नीजि कुरा हुने छैन, देश र जनताको मुक्तिको खातिर गरिएको सहासिक त्याग हुनेछ ।’ लामो सम्झाइबुझाइपछि अन्तिममा ब्रिप्चिलले यो वाक्यलाई जोड दिएर भन्यो र यसपछि ती तीनजनाले पनि स्वीकार गरे । म्हारसाङ उनको ठूलीमाकी छोरी थिइन् । दाजुको प्रस्ताव सुनेर अघि एकपटक त म्हारसाङ रिसले हान्ने भैंसीमाउ झैं भएकी थिइन् ।

‘आज पश्चिमतिरको सेन्ट्री हुँदैन । रातको ठीक ११ बजे ती सेन्ट्री बस्नेलाई विमलीले बोलाएकी छे ।’
म्हारसाङले ब्रिप्चिललाई खबर पठाइन्, ‘राति दुईजना प्रहरी इन्सपेक्टर ठानामा होइन होटलमा हुने छ । जो यहाँको ठाना प्रमुख हो । उनीहरुलाई पनि तरुनीको बन्दोबस्त गरियो । आर्मीको हतियार भण्डारणको मान्छे राजु र सागर पनि हामीसँगै कोठामा हुनेछ । ती चाहिँ हामीले प्रेमी बनाएका छौं ।’ आफ्नो वातावरण अनुकूलको आवश्यक सूचना लिई वस्तुस्थिति सबै मिलाई सकेपछि माओवादीले आज राति भिमान चौकी र आर्मी ब्यारेकमाथि आक्रमण गर्ने योजनालाई कार्यान्वयन गर्यो । कुनै टोलीलाई बर्दिबासबाट आउने सडक, कुनै टोलीलाई सिन्धुलीमाडीबाट आउने सडक छेक्ने जिम्मेवारी दिइयो । ती टोलीहरुले पूर्व योजनाअनुसार आफ्नो समय तालिकामा रुखहरु ढालेर बाटो छेक्यो र भिमानमा कही कतैबाट गाडी नआउने स्थिति सिर्जना गर्यो ।

‘गुडुमडुम’ ‘ठ्याङ ठ्याङ’ ‘ढ्वाङ ढ्वाङ’ एक्कासी बम र बारुदको कोलाहलमय आवाजले धर्ती नै हल्लियो । ‘ऐया र अत्था’ मान्छेको चित्कार गोलीको आवाजको अगाडि सुस्तरी सुसेलिएको बतासको आवाज जत्ति पनि सुनिएन । अन्धकार रातलाई चिर्दै बाक्लो सालको रुखघारीले घेरिराखेको भिमान चौकी र आर्मी ब्यारेक आगोमय भयो । आगोको रापमा भिमान चुरेको ढुङ्गाहरु चम्केर जंगल नै उज्यालोमय भयो ।

‘माओवादी जिन्दावाद । कठपुतली सरकार मुर्दावाद ।’ माओवादीले आफ्नो जीतको आतिसबाजीमा नाराबाजी गर्यो । आर्मी र पुलिस अफिसरहरुलाई माओवादीले आफ्नो कब्जामा लिएर युद्धबन्दी बनायो । भिमान आक्रमणले राज्यसत्ताको मुटु हल्लायो ।

‘यो विजयको लागि ब्रिप्चिल कमरेडलाई विशेष धन्यवाद ।’ केन्द्र र जिल्ला इन्चार्जहरुले स्याबासी दिए । यो युद्धमा ब्रिप्चिलले आफ्नो दाहिने खुट्टा गुमायो । एउटा कानले सधैंको लागि श्रवणशक्ति गुमायो । हिजो शरीर सद्दे हुँदाझैं अब उनी यताउता कुद्नलाई असमर्थ भयो । युद्धमा सहभागी हुने त झन् कुरै आएन । युद्धमा सहभागी हुन नसकेपछि उनलाई विभिन्न सेल्टरमा मुस्किलले पुर्याइन्थ्यो र त्यहाँ उनको काम जनतालाई प्रशिक्षण दिएर संगठनबद्ध गर्नुमा हुन्थ्यो । पार्टीले जिम्मा दिएको काम उनले बिना गुनासो निरन्तर गरिरहे । तर पार्टीका कमरेडहरु भने उनको सम्पर्कबाट टाढिँदै जान थाले । ‘सायद साथीहरु युद्धमा व्यस्त हुनुभयो होला ।’ उनले आफूले आफैंलाई सान्त्वना दिने गर्थे ।

युद्धको बेला सुरक्षाको दृष्टिले राम्रो अस्पतालमा गएर उपचार गर्न पाएनन् । पार्टी शान्ति प्रक्रियामा आएपछि उपचार गर्न त लगियो तर धेरै ढिला भइसकेकाले क्यान्सरले छोइसकेको थियो । पार्टीले उपचारमा चासो देखाएन । उनले आफूसँग भएको खेतबारी बेचेर उपचार गरे । अहिले उनीसँग न सम्पत्ति छ, न त टेक्ने खुट्टा र सुन्ने कान ।

‘हाम्रो पार्टीको जीउँदो शहीद ।’ आफ्नो पार्टीमा जनताको सहानुभूति बटुल्न कहिलेकाहीँ मञ्चमा बसालेर कार्यक्रम प्रस्तोताले सम्मान जनाइटोपल्छन् ।

मरिण गाउँपालिका कमिटीले ब्रिप्चिलको नाम एक नम्बरमा राखेर सिफारिस गर्यो । उनको विकल्पमा अरुको नाम सिफारिस नगरी पठाउन भने सकेन ।

‘साला भोटे ! तँलाई के को टिकट ।’ मुक्तिनाथ बौलायो, ‘न पढे लेख्या छस्, न सद्दे जिउ । पैसा नभई यो जमानामा केही हुनेवाला छैन । कार्यकर्तालाई चिउरा ख्वाउने पैसा छैन खुब टिकट चाहिने ।’

जिल्ला कमिटीले विक्रम मैनालीलाई टिकट दिने निर्णय गर्यो । जिल्लाको निर्णयमा केन्द्रले स्वीकृति जनायो ।

‘पार्टीमा जात, धन सम्पत्ति र नातावाद… ।’ ब्रिप्चिल र माओवादीका सोझासीधा कार्यकर्ताले अझै पनि यो कुरालाई बुझ्न नसकी रणभुलमा छन् ।

‘जात भात छुवाछुतको अन्त्य, वर्गविहीन समाज ।’ हिजो युद्धमा हिँड्ने बेला मुक्तिनाथ भनिने अहिलेको इन्चार्ज राघनले देखाएको सपनाको वास्तविक स्वरुप देखेर ब्रिप्चिल जिल्लियो । वर्गीय मुक्तिको त्यति राम्रो ज्ञान बाँड्ने मुक्तिनाथ हेर्दा हेर्दै विक्रमको सबैभन्दा मन पर्ने मान्छे बन्यो ।

प्रतिक्रिया
Loading...