एउटा नयाँ नम्बरबाट आएको मिस्कललाई मैले जे अनुमान लगाँए त्यो ठ्याक्क मिल्यो र करिब छ महिनापछि ऊसँग अन्तरङ कुराहरु भए । त्यो संवादमा मैले श्रीमानबारे चाहे भन्दा धेरै नै तारिफ गरेँ ताकी उसलाई इर्ष्याको घामले भत्भती पोलोस् र मेरो प्रेमिल छातामा ओँत लाग्न आवोस्, ऊ आउँदा फेरि झरी परोस् र फेरि म पहिलेझैं स्पर्शित हुन सकुँ ती अनुपम बुँदहरुले र महसुस गर्न सकुँ , व्यक्त गर्न सकौँ आफूभित्र फुटेको स्वच्छ र विशाल मायवी मुहान । अनि उनको बाहुभित्र लुप्त भई आफ्नै यो सादगीपनलाई खिसी गरौँ । र….र.. यो दिग्भ्रमित विपना र नैराश्यतालाई कपडाजस्तो खोलेर मिल्काइदिउँ कतै अनि उसैको आवरणले आफ्ना लाजहरु छोपेर हिडिरहुँ दूर दूर तक । जुग जुगान्तर …

भावुक हुँदै उसले भन्यो … अब भेट्नुको कुनै तुक छैन पवन ।

भाग्यमा भए अवश्य भेट होला नि … आशासरी मैले भनेँ ।

भाग्यमा लेखिएर मात्र हुँदैन पवन, त्यसमा यत्न प्रयत्नहरुको जरुरता निहित हुन्छ ।

‘के तिमी प्रयत्नहरुको आयमको खोजमा छैनौ ?’ उत्साहपूर्वक सोधेँ ।

‘म एकदम छुइँन पवन, म तिनै प्रयत्नहरुले निम्त्याउन सक्ने दुर्घटनादेखि त्रसित छु र एकदम सर्तक हुन चाहन्छु ।’
‘तिमी काँतर हौ जल… डरफोक हौ …पुरुषार्थको कुनै चिज छैन तिमीमा, कम्तिमा त्यसको सानो चिन्ह पनि ।’ मेरा दुवै आँखा रसाउन थाले ।

‘तिमी जे सुकै भन, मैले जे सोँचे जो गरेँ त्यसको कुनै फिक्री छैन र पश्चत्ताप पनि नगरुँला । तिमीलाई यति भन्नु छ । …मेरो बारेमा मनमा कुनै द्वेष नपाल । ….खैर तिमीलाई शुभकामना आजकल दिलसे माया गर्ने मान्छे कमै पाइन्छन् । कुरा सुन्दा तिम्रो बोस त्यस्तै लाग्यो । त्यस्तो छैन भने पनि समयक्रममा त्यस्तै बनोस्, सदबुद्धि पाओस् ताकि तिमीलाई उसको सबैकुरा राम्रो लागोस् । र मेरो याद कहिल्यै नआवोस् । जाबो जिन्दगीमा भेटे जति मान्छेहरुको याद आएर पनि कहीँ हुन्छ ?’ उसले धारा प्रवाह दियो । यी कुराहरुले मेरा आँसुहरुलाई पनि निस्किउँ कि के गरुँ बनायो ।

प्रवीण याम्फु

यसपछि हाम्रो संवाद कहिल्यै भएन । सायद मैले उसलाई फोन गर्ने नैतिकता गुमाइसकेको थिएँ र सायद उसले फेरि सिमकार्ड बदलिसकेको थियो । त्यो भन्दाअघि अर्थात् हाम्रो फोन गफ लगत्तै उसले एउटा टेक्स म्यासेज पठाएको थियो ।

‘तिमी भुलमा पर्यौ कि म पनि झुक्किएँ

यो भेटघाटलाई एक सङ्गम भनी

नलागी कतै चोट अब छुटौँ हामी….अमर गुरुङ ।’

दिन बित्यो, हप्ता बिते …बिते वर्षहरु । अब त यो गिन्तिभित्र केही आशाहरु पनि पाउन छाडिसकेँ । तर हृदयमा गढेको त्यो प्रणय खाका ज्युँका त्युँ छ । म उम्किएको माछा ठुलो भन्ने भावबाट बिल्कुल अभिप्रेरित छैन । हुन त न मैले गुमाएँ, न उसले नै, मलाई लाग्छ यो गुमाउने र प्राप्त गर्ने विषयभन्दा अलग छ एकदम पृथक् । जसले मलाई एउटा दृष्टिकोण प्रदान गर्यो, जहाँबाट मैले संसार चिहाइरहेको छु ।

सायद उसले भने जस्तो अब हाम्रो कहिल्यै भेट नहुन सक्छ अथवा ऊ नभेटिन सक्न मैले खोजेको संसारमा । ऊ अब शून्य प्रायः भइसक्यो होला एकदम भावना विहीन । मैले नै उसका भावनाहरु किचिमिची पारिदिएकी हुँ , अन्जानवश या जानाजान, म यो बारे केही भन्न सक्दिनँ । कहिले बेस्सरी झरीमा रुझ्न मन लाग्छ । सायद उसकै स्पर्शको आभास हुनसक्छ । मनको बाझो जमिन पुनः सिञ्चित हुन खोज्छ तर अर्थहीन ।

म पानीमा भिज्नुको एउटै कारण ऊ अर्थात् जल राई । म प्रत्येक जलका कणहरुमा उसकै प्रतिछाया देख्ने गर्छु । विशेष गरी झरी पर्दा र बाथरुममा सावर लिइँरहदा । म आफ्नो सिङगो शरीर जलमै निर्लिप्त पार्न चाहन्छु । यो मेरो उप्रतिको अगाध श्रद्धा थियो या सर्मपण अथवा दम्भित इच्छालाई शान्त पार्ने उपाय । जे होस् पानी नपर्ने सिजनमा घरमा एक्लै हुँदा धेरैपटक नुहाएको रेकर्ड छ । पानी परेका बर्खायामका दिनहरुमा भने म सधैँ छाता बिर्सेको बहाना गर्थेँ । यो बहाना गर्न पनि उस (जल/वर्षा) लाई कम्तिमा एकवर्ष कुर्नुपथ्यो तर ती झरी परेका दिनहरु अझ साँझहरु मेरो जीवनका अनुपम हिस्सा बन्थे र थाहा छैन अझै कति यसरी नै रुझ्नुपर्छ । हुन त हामीले त्यस्तै दुईवटा वर्षा ऋतु मात्र पार गर्यौँ, त्यसपछि उसको यहाँबाट सरुवा भयो । उसले तन मात्र सरुवा गरेन मन पनि सरुवा गरेर लग्यो मन सरुवाको चिठी भने मैले नै काटेकी हुनुपर्छ विभागीय प्रमुखको हैसियतमा । आखिर उसले यो ठाउँमात्र छाडेन, लगेर गयो मसँग सधैँ हाजिर हुन आउने त्यो सफा मन अनि मिठो व्यवहार । छाडेर गयो एकहुल याद । तिनै यादमा बेला बेला पगली हुनुभन्दा अरु मसँग कुनै विकल्प छैन ।

त्योबेला गाईघाटमा निकै गर्मी बढेको थियो । यस्तै कुनै साँझतिर हामी टहलिन शिवालय टोलतिर जाँदै थियौँ । मैले नै प्रस्ताव गरेँ …जल हामी ढिम्कितिर जाउँ न ।

कहाँ ?

शिवमन्दिरमा के ।

हुन्छ नि त ।…. तर मैले मन्दिरभन्दा पनि बरुवा खोलाको किनारमा लान चाहेकी थिँए । यदि सिधै त्यसो भनेकी भए पक्का अस्वीकार गर्थ्यो तर शिव मन्दिर भनेपछि नाइँ भन्नै सकेन । ऊ जब्बरको शिवभक्त थियो । म सधैँ उसलाई यसरी फसाउँथे । भर्खरै लोकसेवा लडेर नासु भएको झापाली केटो लाटो त पक्कै थिएन तर मसँग उसले कहिल्यै चलाखी गरेन । ऊ मसँग दिमाग कम औ मन ज्यादा प्रयोग गर्थ्यो । खास के के न के के मिलेको हिरो जस्तो थिएन ऊ । ठिकैको अग्लो, जुँगाको सानो रेखा तर स्पष्ट, कपाल अलि अलि घुम्रिएको, कालो कालो वर्णको नाक चाहिँ जात राईको । तर साँच्चिकै ऊ मेरो रियल लाइफको हिरो थियो । आखिर उसले इण्ट्री पनि हाम्रै घरमा मारेको थियो । सुरुमा त ट्यापे ट्यापे जस्तो ठानेर बुवाले आनाकानी गर्नुभएको थियो ।

“म जिल्ला वन कार्यालयको नायब सुब्बा हुँ । मेरो पहिलो पोस्टिङ ” भने पछि बुवा बरफजस्तो पग्लिनु भएको थियो । सरकारी जागिर भनेपछि बुवाको अति नै लगाव र झुकाव । झण्डै नमस्कार ठोकेका बाबैले । तर उसैले नमस्कार ठोकेपछि बुढाको हालत काबुमा आएको थियो । बुवा पनि भर्खर रिटायर्ड हुनुभएको थियो, श्रेणीविहीन पद । पिउन भनिन चाहिँ अलि हिच्किचाउनु हुन्थ्यो । यस्तै बैशाख महिना हुनुपर्छ । गर्मी चढिसकेको थियो ।

‘ए ए… पवन, लु त छोरी यहाँ हाम्रो सरलाई यसो जुससुस के छ, ल्याइदे त ।’ म त्यहीँ थिएँ हेरिरहेथेँ उसलाई, खम्बाको कारण बुवाले देख्नु भएनछ । पानइनापल फ्लेबरको जुस सिसाको लामो गिलासभरि ल्याएर आएँ । बुवा पनि लिनु न भन्छ … मरिगए लिन खोज्ने होइन ।

हैन प्लिज सर तपाईँ लिनुस् न मैले भर्खरै लिँए …. त्यसपछि बल्ल गिलास समायो । हेर्दै नहेरी धन्यवाद भन्यो । कस्तो लजालु रहेछ मोरो । एक्कासी मेरो मनले यसो भन्यो ।

यसरी त्यो दिनपछि जल हाम्रै परिवारको एउटा हिस्सा बन्यो । उसले आफ्नो घर परिवारको बारेमा एकदम कम कुरा गर्थ्यो । कहिँलेकाहीँ आमासँग फोनमा बोलेको सुन्थेँ । बाँकी समय आफ्नै दैनिकीमा व्यस्त रहन्थ्यो । म स्वयं आफ्नै तालिकाअनुसार दगुरहेको हुन्थेँ । मेरो दैनिकी भने रौता सहकारी संस्थामा सहायक प्रबन्धकको रुपमा हुन्थ्यो । सहकारी भु.पू. कर्मचारीहरु मिलेर खोलिएको थियो । संस्थापक अध्यक्ष हाम्रै बुवा अर्थात् मोतिराम सिग्देल । परिवारमा हामी चार जना म, आमा, बुवा र सिमरन । सिमरन मेरो पाँच वर्षकी छोरी । म सानो छँदा आमा भन्नुहुन्थ्यो …..नानी छोरीमान्छे हुनु त साह्रै ठुलो कुरा हो । जति पनि पिर खप्न सकिन्छ । यी पुरुषहरु त बाहिर कडा देखिने मात्र हुन् । म कति कडा थिएँ या नरम तिनै आमाले जानुन् । तर एक चौथाइ उमेर नपुग्दै जीवनको ठुलै भूकम्प झेलिसकेको थिएँ । पवन पीर नगर छोरी हामी छौँ … के मलाई साँच्चै पीर लागेको थियो त ? यसै भन्न सक्दिनँ । कस्तो नरमाइलो चाहिँ भएको थियो, खास्सै गहिरो गरी दुखेको भने थिइनँ । मभन्दा बेसी पीर बुवालाई परेको थियो । “सिमा झ्याक्नेहरु,…. गाडी साडी सब आगो लाउँछु म, अर्काको ज्यानमाथि खेल्ने कुलङ्घार बज्जियाको किरिया गर्नु पर्ने । ” बुवा पागलजस्तो देखिनुभएको थियो ।

भैगो अब रोएर के गर्नु, छोटो आयु लिएर आउनुभएको रहेछ ज्वाँइसाप । ..पवन तँ छोरा होस् । अब घर पनि तैँले नै थाम्नुपर्छ । आमाको यो वचन मलाई फेरि भनिदिए नि हुन्थ्यो जस्तो लागिरह्यो ।
“यो कस्तो अचम्मको केटी यसलाई केही सुर्तै छैन । ” बुवाले भन्नुभयो । के अब मैले सुर्ता पनि तपाईँलाई देखाउनलाई गर्नु पर्ने ? गुमाएँ त गुमाएँ श्रीमान गुमाएँ, बाबु आमा संसार नै त गुमाएकी छुइँन नि । बुवा झन् ट्वाँ पर्नु भो । यसो भनिरहँदा मेरो जर्बजस्ती बिहे गरिदिने बुवाप्रति पालो फेरेँ भनेर कस्तो गज्जब पो लाग्यो । बिहे भएको दश महिनामा नाटकीय रुपमा मैले पति गुमाएकी थिएँ ।

पवन तिमी बडो दामी लाग्छौ । अन्त के त । म तिमीलाई बहुत प्यार गर्छु । गर्नु परिहाल्यो नि आफ्नो श्रीमतीलाई । त्यसपछी उसले रातभर गिजोल्थ्यो । ठ्वास्स रजनीगन्ध र पराग गन्हाएको मुख जोतिरहन्थ्यो गालामा । कति पटक वान्ता होलाजस्तो भएको हो । बिराटनगरको गर्मी गाईघाटभन्दा ज्यादा नै हुन्छ । पङ्खा सधैँ चालु रहन्थ्यो । गर्मीकै बहानामा उसले मलाई कहिल्यै लुगा लगाएर सुत्न दिएन । कहिलेकाहीँ मध्य रातमा ब्युँझदा तिघ्रातिर मुख दलिरहेको हुन्थ्यो । एउटा कालो वर्णको अग्लो शरीर, खबटे अनुहार, हाँस्दा चाहिँ निक्कै खुल्ने । पतिको बारेमा म यति मात्र सम्झन सक्छु । बुवालाई चाहिँ के सम्झना होला भने बिराटनगरको एकजना सरकारी इन्जिनियर ज्वाँइ हुनुहुन्थ्यो । बिचरा दुर्घटनामा बित्नुभो । परिमाणतः सिमरन गर्भे टुहुरो केटी हो । हामी सबैले तिम्रो बुवा विदेश हुनुहुन्छ भन्ने गर्थ्यौँ । कहिलेकाहीँ सोध्थी .. मामु बाबा कहिले आउनु हुन्छ ?

म भन्ने गर्थे … तिमी ठुली भएपछि ।

फेरि सोद्थी, ‘म कहिले ठुली हुन्छु मामु ?’

‘भोलि पर्सी …..नै ।’

अझ कहिले त के भन्थी भने, ‘…मामु मलाई चिजबल्स किन नल्याईदिनु भएको ? म भोलि पर्सी बाबालाई भन्दिन्छु ।’ म निरुत्तर भई घरको दलिनतिर हेर्थे जहाँ गौथलीको एउटा कलात्मक गुँड थियो ।

एवम् प्रकारेण दिनहरु बित्दा छन् । पहिला पनि त्यति नलगाएको सिन्दुर पोते अब त झन् लाउनै नपर्ने भएको थियो । म बास्तवमा दाम्पत्य जीवनमा त्यति रमाएको थिएनछु । अफिसमा यदाकदा पुरुष नजरहरु मेरा अङ्गप्रत्यङ्ग सल्बलाउँदै भाग्छन् । मलाई कसो कसो लागेर आउँछ ।

‘के हेरेको होला मुलाङहरु । आँखा फोडिदिनु जस्तो ।’

‘अनि यति राम्री हुनुहुन्छ त म्याडम ।’ रीता दिदी चिया राखिदिँदै मलाई धाप मार्छिन् ।

‘बिहे गर्नुस् हौ पवन म्याम। म खोजिदिउँ मान्छे ?’ …उनी झन् उल्लाउथिइन् । अझ उनले कानमा के के साउती मार्थिन् र हामी हाँस्थ्यौँ कोठा थर्कने गरी । वर्षायामका झरीहरु मलाई विशेष लाग्थे । अझ साउन महिनाले ममा धेरै नै अर्थ राख्छ । झरी परेका ती रातहरुमा अक्सर म गाउन मात्र लगाएर सुत्थेँ । भित्री बस्त्रहरु खोलेर हुर्याइदिन्थेँ, आ…. जहाँसुकै पुगोस् । यहीँ साउन महिनामा म विधवा भएकी थिँए, जलले पनि यहीँ महिनामै गाईघाट छाडेको थियो । तर म साउन महिनाको ती क्षणहरु मात्र सम्झिन चाहन्छु जुन प्रत्येक सोमबार जल र म रथका दुई पाङ्ग्राझैं ठाँटिएर शिव मन्दिरतिर जान्थ्यौँ र घण्टौ लाइन बस्थ्यौँ मलाई त्यो लाइन कहिले नसरोस् नसकिहालोस् भन्ने लागिरहन्थ्यो ।

तिम्रो श्रीमान् हुँदाहुदै मसँग यसरी नजिकिनु राम्रो होइन पवन …..। जललाई मैले श्रीमान् विदेशमा छ र फर्के लगत्तै म डिभोर्स गर्छु भनेको थिएँ । पछि मैले ‘वहाँ त बितिसक्नु भयो’ भन्दा पनि पत्ताएन । अचम्म ! उसले त्यो नपत्याउँदा म कति खुसी भएकी थिएँ । त्यसपछि त्यो बारेमा कहिले कुरा उठेन, खासमा जल व्यक्तिगत कुराहरु एकदम नीजि नै हुनुपर्छ भन्ने मान्यताको थियो र त्यसैले उसले योबारे सायद कसैलाई पनि सोधेको थिएन । तर ऊ के राम्ररी बुझ्थ्यो भने मेरो जीवनमा श्रीमानको कुनै भूमिका छैन । त्यसैले सम्झाउन खोज्थ्यो “तिमीले त्यसो नगर्नु पर्ने हो । बिचरा, घरपरिवार भनेर दुख गर्ने मान्छेलाई त्यसरी धोका दिनु राम्रो होइन । ”

‘ह्याँ फर्केनेबित्तिकै म डिभोर्स दिने हो । म श्रीमानलाई मन पराउँदिनँ’ भनेको थिएँ । सिमरन नहुदीँ हो त मैले यो सब बहानाबाजी पनि गर्न नपर्ने । मलाई अचम्म लाग्छ, जलमात्र त्यस्तो मान्छे हो जसको अगाडि मलाई सधैँ इत्रिन मन लाग्छ , किन हो किन ? उसको अघि नाचुँ नाचुँ लाग्छ । उसको सोझोपन, स्त्रीलाई हेर्ने दृष्टिकोण, जीवन जगतका अथाह ज्ञान सागर । मैले लगाउनु पर्ने एउटै खोट ऊ कम बोल्थ्यो र जे कुराको पनि ढिलो प्रतिक्रया दिन्थ्यो । प्रायः हामी मात्र भएको बेलामा घण्टौ कुरा गथ्यौँ । यसमा उसको बाल्यकाल, सङ्घर्ष र जीवन दर्शनका कुराहरु हुन्थे । म चाहिँ मलाई के मन पर्छ के मन पर्दैन भन्ने कुराहरु गर्थे ।

‘केटी मान्छेले सधै पैँतिस वर्षभन्दा पछाडिको बारेमा सोच्नुपर्छ ।’

‘किन र ?’

‘त्यो बेलासम्म त सुन्दरता र जवानीले रामैसँग काम गर्छ । तीस काटेपछि जो सक्षम छ उही अघि बढ्छ ।’

‘होइन तिम्रो कति पुस्ताचाहिँ पछि परेको छ हँ ? खाली अगाडि बढ्ने कुरा मात्र गर्छौ त । अघि नबढ्दा के हुन्छ सर ‘… म जिस्काउँथे । अनि भन्थे यत्तिकै यसरी नै बितिरह्यो भने भइगो नि ।

संसार परिवर्तनशील छ , पवन तिमीले यसरी नै भन्ने गरेको समय भोलि उसरी भइसक्छ । तिमी बाध्य हुनेछौ । ऊ…….हुन । ….हा हा हा…..हाँस्थ्यो अनि बेस्सरी । बिरलै हाँस्ने जल जब हाँस्थ्यो । अनटण्कार डाडाँमा फुलेको एक मात्र सुन्दर फूलजस्तो प्रतीत हुन्थ्यो । एकदिन कुरै कुरामा मैले भनेँ।

‘जल तिमी मलाई कहिले लान्छौ ? ‘

‘तिमीलाई लगिरहनु किन पर्यो र तिमी त सधैँ यहीँ हुन्छौ ।’ छाती देखाउँदै उसले भनेको थियो । त्यसपछि मैले बिस्तारै उसको गालामा चुमेकी थिएँ । होसै भएन छ, बुवा पो टुप्लुक्क छिर्नुभएछ किचनमा । ग्लानि र लज्जाले एकसाथ मेरो गला अठ्याएका थिए ।

त्यसको तीन दिनसम्म हाम्रो बोलचाल भएन । उसैले बोल्न मन गरेनजस्तो लाग्छ । उसले अनावश्यक रुपमा आफूलाई निकै व्यस्त पनि राख्यो । ज्यादात्तर अफिस र फिल्ड मात्र गर्न थाल्यो । हुन त बुवाले केही प्रतिक्रिया दिनुभएन ।

बोलचाल हराएको चौथो रात मैले उसको कोठामा जर्बजस्ती छिरेर .. तिमी किन नबोलेको ? मैले के गरेँ ?…. लगायतका धेरै प्रश्न गरेँ । यद्यपि मलाई उसको जवाफ भन्दा आलिङ्गनको बढी खाँचो परेको थियो ।

म तिम्रो जिन्दगी बिर्गान सक्दिनँ पवन, तिम्रो छोरी, श्रीमान , यति राम्रो आमाबुवा…… भुइँतिर हेर्दै एउटा एउटा शब्द गरेर मुखबाट बोली निकालिहरेको थियो । तातो आँसु भने मेरो खुट्टामाथि खसिरहेका थिए ।

‘हाम्रो हरेक कुरा बेमेल छ पवन ।’, उसले ढोकातिर हेर्दै भन्यो, ‘तिमी जाउ पवन, छोरीले तिमीलाई खोज्दै होला ।’ अझ उसको आँखा ओभाएको थिएन । म उसको काँधमा टाउको राखेर बसिरहेकी थिएँ । कस्तो गज्जबको राहत हगि …. कास त्यो दिन जिन्दगीमा फेरि आइदिए ।

मैले उसको कानछेउमै मुख राखेर रोएकी थिएँ । जल …. यति मात्र भन्न सकेथेँ । मेरा ओठहरु काँपेथे न ऊ नै बोल्न सकेथ्यो । एकाध घण्टा हामी त्यसरी बसेका थियौँ । बिल्कुल संवादहीन तर भावनात्मक उथलपुथलको महाप्रलय र महाप्रलयले निम्त्याइरहेको महाभेल । रुन पाउँदाको असिम आनन्द, हाम्रा आँसुहरु एक हुँदाको क्षण, साँच्चै त्यो बोली हराएको समय थियो । त्यो साउनको महिना थियो, साँझबाटै पानी छिटाइहरेको थियो । मौसम पनि हाम्रो पीडामा दर्दानक रोइरहेको थियो । त्यो रात म केही नखाई डङग्रङग पल्टिरहेकी थिएँ । मलाई गाउन लाउने बिल्कुल मन भएन । जलले इण्ट्रि मारेको दिनदेखि एक एक घटनाक्रमहरु मनभरि खेलिरहेका थिए । आखिर मैले श्रीमानको वास्तविकता बारे किन भन्न नसकेको होला, किन मैले यसरी ढाँट्नु परिरहेको होला । फेरि सिमरनलाई एक्लै छाडी कसरी म जललाई अँगाल्न सकुँला । हुन त सिमरन आमासँग नै बढी सुत्छे, त्यसो भन्दैमा म उसलाई नचाहिने त होइन । फेरि जललाई म विधवा भएको थाहा हुँदा कस्तो नराम्रो लाग्ला ! अथवा उसको रङ्गिन जीवनमा मेरो विधवाको यो सादापन किन मिस्साइदिनु । उफ् …. के विधवाको कुनै इच्छा हुँदैन ? के अब सम्पूर्ण जीवन त्यहीँ पतिको नाममा व्यतित गर्नुपर्ने हो ? मेरो जीवनको यत्रो हिस्सा र त्यो केवल दश महिना तौलिहेरेँ, त्यहीँ दश महिना नै गह्रौ भएर आयो । कहिँलेकाहीँ जीवनको हिस्साले जित्थ्यो । तर दश महिनापट्टि थपक्क सिमरन आएर बस्थी । बस पला उता भारी हुन्थ्यो ।

जल र मेरो सम्बन्धमा अन्जानमै यति झाङ्गिसकेको थिएछ कि त्यो त एउटा सुन्दर पेन्टिङ जस्तो भएर मनको भित्तोमा झुण्डिसकेको रहेछ । त्यो पेन्टिङमा मैले नै धेरै रङ्गहरु पोत्न पुगेकी हुँदी हुँ । ती गाढा प्रेमिल रङ्गहरु सात समुन्द्रमा लगेर धोए पनि बिल्कुल नजाने प्रकृतिका थिए । म त्यो बेला के भएकी थिएँ कुन्नि । धेरै गफ आफैँसँग मात्र गरिबस्थेँ । सिमरनको लागि भए पनि मैले त्यसो गर्नहुन्न । अनि जल ……? मसँग त्यसको उत्तर थिएन । के म स्वार्थी हुँ ? अहँ …. त्यसको पनि जवाफ थिएन ।

भोलिपल्ट मैले जललाई फोन गरेर भनेँ, ‘जल तिमीले ठिक भन्यौ । अब हामी अघि नबढौ ….ल ? तिमीले सोचे जस्तै गरौ हुन्छ …?’ मैले उसैको कुरो समाएँ ।

‘तिमी कहाँ छौ ?’ जलले सोध्यो ।

‘म बरुवा किनारमा छु ।’ सुस्तरी भनेँ ।

‘ठिकै छ ……….. गुड गर्ल ।’ तर कस्तो थर्थराउँदै बोल्यो ।

फोन आफैँ काटियो । के गरुँ कसो गरुँ भइरह्यो । बगिरहेको बरुवातिर हेरेँ …. जल तिमी यहाँ पनि बग्दैछौ । छाती छाम्दै फेरि भनेछु … यहाँ पनि बग्दैछौ र आकाश हेर्दै भनेछु … तिमी कहाँ कहाँ बग्छौ जल ? आफैं बर्बराइरहेको रहेछु । वरपर हेरेँ कोही देखिनँ । बगिरहेको बरुवामा झ्वाम्म पस्न मन लाग्यो । जलमै समाहित हुन मन लाग्यो तर पटक्क सकिनँ । मुख धोएँ, धमिलो भेल आइरहेको थियो । त्यस्तै भए पनि पिएँ । खुट्टा चिप्लिएर लड्न पाए पनि हुन्थ्यो जस्तो लाग्यो तर लड्न पनि सकिनँ । दुइटै हात ढुङ्गामा बजारेँ । पटक्क दुखेन फेरि बजारिरहेँ बजारिरहेँ अहँ दुख्दैन । अनि लगातार बजारी नै रहेँ ….. कसैले काँधमा झक्झकायो । पवन .. ए पवन… के गरेको मुर्ख केटी ?

मलाई लागेको थियो अब जलले मलाई अँगालोमा बाँध्छ र म रोइदिन्छु निरन्तर । मलाई उसले बिस्तारै सुम्सुमाउँछ र म फेरि रोइदिन्छु । तर अहँ उसले पटक्कै त्यसो गरेन । मेरो अनुहार हेर्दै नहेरी उसले आँसु पुछिदियो र भन्यो, ‘पवन ! तिमी सहासी केटी हो । तिमीसँग कत्रो जिम्मेवारी छ । अब जाउँ ।’ …. मोराले रुन पनि दिएन । हिँड्ने बेलामा भन्यो ..’जब तिमीलाई मेरो धेरै याद आउँछ नि, तिमी ठ्याक्क यहीँनेर आउनु र ढुङ्गाले त्यहीँ खोलाको पानीमा हिर्काउनु, हिर्काइरहनु जबसम्म याद शान्त हुदैँन । म त्यही जल त हो नि पवन बगिरहन्छु निरन्तर ।’

त्यसको सात दिन सम्म हाम्रो बोलचाल भएन । बस आँखाहरु बात मार्थे । उसको आँखामा केही लुप्त पीडाजस्तो दिग्दारीजस्तो देखिदैँ थियो । मैले भर्खरै स्कुटी लिएको थिँए । त्यसैमा सिमरनलाई राखेर बजारतिर निस्कन्थेँ । ढिम्की मन्दिर, बरुवा किनारतिर जाने बिल्कुल मन भएन । एकपल्ट त्रियुगा पुलतिर गएको थिँए । जब बगिरहेको त्रियुगा देखेँ , सफा पानी देखेँ र त्यहाँ बस्नै सकिनँ । सुक्सुकाउँदै फर्केथे । आठौँ दिन बिहान बनावटी हाँसो भरेर जलले भन्यो, ‘पवन आज तिमीलाई म सरप्राइज दिदैँछु, माइण्ड नगर ल ?’

‘अच्चा…किन माइण्ड गर्नु नि । बरु खुसी पो हुन्छु ।’ मैले भनेको थिएँ ।

त्यो दिन बिहानै गजबको मुड भएको थियो । गुनगुनाउँदै म किचन गएँ । सबै काम निप्टाएर र टाइममै अफिस पुगेँ । के सरप्राइज होला ? दिनभर यहीँ कुरा खेलिरह्यो । फोन गरौँ कि…..? होइन सरप्राइजको कुरा छ । सायद म आफैँमा निमग्न थिएँ । हुन त मोबाइल नम्बर साटेको भर्खर मात्र भएको थियो । जब हामीबिच घरमा बातचितको मात्रा अलि घटेको थियो । उसले पूरापुर दुई वर्षजस्तो नै घर छोडेन र हामी अफिस टाइम बाहेक जहाँ जतिखेर पनि सँगै हुन्थ्यौँ । बुवा आमाको यो गज्जबको छुटले मलाई विधवा भएको लेस मात्र पनि अनुभव दिलाएको थिएन । त्यो दिन मलाई कतिखेर पाँच बज्छजस्तो भएको थियो । ममा अफिसको नियम त्यति लागु हुदैँन थियो। यद्यपि नियम नै नभएको सहकारी भनेर चिनाउनु थिएन । जेनतेन म ४ बजेतिर घर फर्के सरासर जलको कोठातिर गएँ …. हरे …उसको कोठा त खुल्लै छ । भित्र कुनै सामान पनि छैन । टेबलमा एउटा सानो चिर्कटो देखा पर्यो ।

‘पवन थेङक यु फर एभ्रिथिङ ।’, लेखिएको थियो । बाहिर आएँ कोही थिएन …. त्यस्तो रिक्तता जीवनको मेरो पहिलो र घातक अनुभव थियो । बुवा टुप्लुक्क आइपुग्नु भयो ।

‘अरे नानी तँ आइस् … ।’

‘ जल खोई….?’ मैले ठाडै सोधे।

‘अरे तँलाई थाह छैन र जल सरको त सरुवा भयो नि ।’

‘कहाँ ?’

‘काठमाण्डौ विभागमै रे ।’

यत्तिन्जेलको जलको आँखाको रहस्य बल्ल पो उद्घाटित भयो । उफ…. कस्तो घोसे साले । अनि खोई त अहिले ? … ल मैले भर्खर त बसपार्क छाडेर आएको । भगवान् … म निमेष भरमा स्कुटी चढेर हुइँकिएँ । बुवाको मधुरो आवाज सुनिदै थियो, पवन….ए छोरी… बिस्तारो दौडा है … कस्तो पागल केटी ।

म यसै बसपार्क पुगेँ । अहँ जल छैन । काठमाडौं जाने सबै बस चाहारेँ … उदयपुर सफारी, गङ्गासागर, रोयल उदयपुर ….अहँ कतै छैन । टिकट काउण्टरमय सोधेँ, बुकिङ नाम हेरेँ कहीँ छैन जल राई भन्ने नाम त । चार बजेको मितेरीको बुकिङ काउण्टरमा पो लेखिएको थियो । पवन सिग्देल, सङ्गमटोल गाईघाट । मलाई पक्का भयो यो जलको काम हो । मैले स्कुटी त्रियुगा पुलतिर सोझाइसकेकी थिएँ । जलजलेतिर भेटिने झिनो आशमा । स्कुटीको गति देखेर वरपरका सबै साइकलहरु सबै साइट लागे । गाडीभित्रका मान्छेहरु मलाई तन्की तन्की हेर्दै थिए । मलाई केही पर्वाह थिएन । कहाँ के गर्दैछु भन्ने पनि होस भएन। चिच्याउँदै थिएँ कि जस्तो चाहिँ लाग्छ ।

‘…..जल… ए घोसे… ए जल … यस्तो पनि सरप्राइज हुन्छ । कहाँ गएको तिमी, किन भागेको तिमी ……? म धेरै भएँ हो ? म बोल्दिनँ अब कहिल्यै … हुन्छ ?’… म त जोड जोडले चिच्याउन थालेछु । जसै चिच्याहट बढ्दै जान्छ, झरीको मात्रा पनि बढ्दै जान थाल्यो । म निथ्रुक्कै भिजेँ । स्कुटी आफैँ कुदेको जस्तो लाग्यो । म, स्कुटी र झरी बाहेक अरुले केही सुने जस्तो लागेन। आखिर साउन महिना थियो । जाबो आँसुले कति भिजाएको थियो र…. त्यो भन्दा बढ्ता पानीले भिजाएको थियो । हो, साँच्चिकै जलले भिजाएको थियो ।