आज गजाननको घरमा बिहानदेखि नै गाँउलेहरूको लरके ताँत लागेको छ । आउने आउँदो जाने जाँदो । अब उसो कोरोनाले बल्लतल्ल छाडेको समय आलोआलै छ । मान्छेको मनबाट भय शंका पन्छिन सकेको छैन । अनि उहिलेजस्तो जति भनो उति मनलाग्दै मान्छेको घरमा जान आउनदेखि दिनभरि गफगाफ गर्ने परिवेश परिस्थितिको रङ्गरूप र धारणा बदलिइसकेको समय पर्यो । तर आज भने हिजो रातिदेखि थातीमा रहेको सिद्धान्त टुङ्गिएर, बल्ल कोराभित्र किरियापुत्री राखेरै गुरागाईं माष्टर घर फर्केर आएका हुन् ।

भेला भएर चिन्ता चर्चा गरेर आइलागेको समस्याको समाधान नगरी पनि नहुने । यसकारण यो ओहोरदोहोर हो । हाम्रो समाजमा बुढ्यौलीको आहान छ एउटा, मान्छे हेर्न जोसुकै मान्छे तीन पाली जान्छ रे । जन्मेको बेला नानीको मुख हेर्न, बिहेको बेला बेहुला बेहुली हेर्न अनि मरेपछि मृतकको मुख हेर्न । आज कल्पनाको घरमा बिहान मृत्यु भएको उसका पिता गजाननको मुख हेर्ने मान्छेको यसप्रकारको आवतजावत ता स्वाभाविक थियो । तर धेरै उत्सुकता जनजनमा उब्जेको कारण भने अनौठो नै थियो । किनभने कल्पनाले मेरो जन्मदाता पिताको दशकर्म किरिया म आफैँ गर्दछु भनेर समाचार पठाइसकेकी छ । ऊ आफू सरकारी नियमअनुसार बिदा लिएर आउनु पर्ने हुँदा भोलि बिहानसम्ममा काँधीकाठ गर्न भ्याउने गरी आइपुग्नेछु पनि भनेकी छ भन्छन् गुरागाईं माष्टर । हाम्रो समाजमा चलनचल्तीमा रहेको मृतकको काजकिरिया गर्ने क्षेत्रमा धेरै नीतिनियमहरू छन् । छोरा मात्रै हुनु, अथवा अरु दश दिने साइनोले छुने पर्याप्त मान्छे हुनु भिन्नै किसिमको कुरा हुन्छ । तर छोरी छोरी हुनु र दश दिने आफन्त पनि भन्नासाथ नपाइने हुनु अत्यन्त अप्ठेरो परेको अवस्था भएको देखिन्छ । यस खण्डमा आफ्नो छोरीले म बाउआमाको काजकिरिया गर्दछु भन्ने क्षेत्रमा असुविधा नहुनु पर्ने हो तर यहाँ त्यस्तै कुराको सङ्कट उत्पन्न भएको थियो । कसैले फैसला सुनाउने आँट गरिरहेका थिएनन् ।

पूर्णकुमार शर्मा (असम)

किनभने यो एकदमै चलनमा नआएको नयाँ कुरा पर्यो । गुरागाईं माष्टर रिटायर हउञ्जेलसम्म यस्ता कतिखाले अप्ठेरोमा परेको मेल पञ्चायती सिद्धान्त र सामाजिक धरातलमा उभिएर समस्या समाधान गर्ने मान्छे, आज ऊ पनि एकबाजी एक न दुई भएका थिए । अवश्य उनको मनमा एउटा आँटले काम गरेको छ । म बावुको काज क्रिया गर्दछु भन्ने मान्छे पनि उति लरतरो मान्छेको कुरा हैन । आई.पि. एस. अफिसर कल्पना देवीले आफैँले माष्टरलाई फोनमा भनेको रे । अन्ता ऐन कानून, अड्डा अदालत नबुजी नजानी उसले पनि सित्तैमा नबोल्नु पर्ने हो । त्यसैले माष्टर ढुक्क पनि छन् ।

यसबेला कल्पना धेरै कुरा सोचेर किरियापुत्री भएर बसेकी छ । उसलाई थाहा छ, कति दुःखकष्ट झेलेर असक्त रोगी बाउले, उसको छहारी भएर आफ्नो पढाइ लेखाइमा गरेको मद्दत, जसले गर्दा आज ऊ महिला जिल्ला पुलिस अधिकारी भएर काम गर्न सक्षम भएकी छ । त्यो दिनभरि भोकभोकै सुकेको, घरभित्रै बस्दा पनि छानोबाट छिरेको पानीले रूझेको रातहरु सम्झन्छे ऊ । यस्तो दुखको दिनमा केवल गुरागाईं माष्टरले उनीहरूको सुखदुःखमा साथ दिएका हुन् । नत्र तरूनी हुन लागेकी कल्पनालाई सहायताको निहुँमा आएका भलाद्मीहरूले छातीदेखि मुटुसम्म गाडिने गरी चोर आखाँले हेरेर मात्र कुरा गरेको, उसका मनमा काँचो माछा गन्हाएझैं अझै सम्म गन्हाउँछ । त्यस्तो बेला सङ्गत बिग्रेर घरबाट दाजु हराएर नापत्ता भएथ्यो । एकमात्र रोगी बाउ आमाको भरोसा कल्पनाको सङ्ग्राम गर्नु सिवाय अरु उपाय थिएन । पूर्व असमको तिनसुकीया जिल्ला अन्तर्गतको जागुन जयरामपुर सीमान्तञ्चलको नामडफा अरण्यको छेउछेउ डुलेर यस वन जङ्गलको अतुलनीय प्राकृतिक सौन्दर्यमा आँखा मुग्ध भए पनि डि .एस. पि. कल्पनाको मन भने घरतिरै तानिएको हुन्थ्यो । उमेरले भन्दा दुःखकष्ट र तापसन्तापले समय नपुग्दै बुढा भएका बाउ गजाननको अनुहार उसको मनमा खेलाएको हुन्थ्यो दिनोरात । दाजु हराएको पिर र आमा देहान्त भएको सन्ताप खपेका बाबुको साह्रै माया लाग्छ कल्पनालाई । दाजु अलिक ठूलो भएपछि कुसङ्गतले गर्दा दामी दामी नशालु पदार्थ सेवन गर्ने बानी बसेर पैसाको खाँचोले दिन दिनै चोरी डकैती र अनेक प्रकारको असामाजिक काममा लिप्त भएको सुनिन्थ्यो । एकदिन टहलदारी पुलिस दस्तासँग मध्ये रातमा यही जयरामपुर सीमान्तमा म्यानमार बर्माबाट असम पस्ने एकहुल ड्रागस व्यापारी र पुलिसको मुठभेड र गोलाबारीमा मरेका तीनचार अवैध व्यापारी मध्ये एउटा नेपाली केटो थियो । त्यस अभियानमा पुलिस दस्तालाई माफिया विरूद्ध गोली गर्ने निर्देश कल्पना आफैंले गरेकी हो । किनभने यो उसको देशप्रति रहेको दायित्व र कर्तव्य थियो । विधिको विधान कसले जान्छ , त्यस बदमास ड्रागस व्यापारी टोलीको साथमा रहेको उसको दाज्यू यस्तै मुठभेडमा मारिएको रिपोर्ट लिँदा उसलाई थाहा भएको थियो, तर के गर्नु दाजु बहिनी भन्ने सम्पर्क पुलिस र चोरमा टुङ्गिएको थियो । त्यसबेला उसका भाइको काजकिरिया हुने कुरै नहुने स्थिति स्पष्ट थियो ।

गुरागाईं माष्टर ऊ स्कूल माष्टर मात्रै नभएर यस गाँउका सच्चा अभिभावक स्वरूप थिए । गाँउमा आइपरेका कुनै साह्रो गाह्रो पर्ने कुराको निष्कर्ष निकालेर टुङ्गो लगाउने मान्छे ।

गजाननका दुवै सन्तानले पाठशाला कखरा सिकेर पाँचौ कक्षासम्म गुरागाईं माष्टरले पढाएको स्कुलमा नै हो । समय चक्रले त्यसै पाठशाला पढ्ने कोही ठुला बढा गुणीमानी भए, कोही त्यस्तै उस्तै रहे कोही दागी आसामी भएर जेलको भात खाएर बसेका छन् र कोही एनकाउ्न्टरमा परेर स्वाहा पनि भए । यो व्यक्ति विशेषको आफ्नो आफ्नो सोचविचार कर्मको फलाफलमाथि निर्भर गर्ने कुरा रहेछ । माष्टर चित्त बुझाउनुपर्ने ठान्छन् । किन भने एउटै स्कुल उनै किताप एउटै खरीपाटी एउटै कालो फलेक उनै लेख्ने पढ्न सिकाउने माष्टर एउटै विद्या सबैलाई समानरूपमा घोकाएको । गजाननको छोरो एन्काउन्टारमा मर्नु पर्ने थिएन । सँगै दुई कक्षा पढ्ने उसकी बहिनी कल्पनालाई भिन्नै किसिमको व्यवस्था हुने कुरै भएन । बरू छोरोलाई गजाननले सकेसम्म राम्रो देखरेख गरेको थियो । राम्रा लत्ताकपडा, राम्रो स्कुल ब्याग र अरू पनि सर सामानहरूको कुनै खाँचो हुन नदिएको बुझिन्थ्यो । कल्पना बिचराले बिरामी आमाको सँह्यारसुसार समेत घरको सबै कामधन्दा सकेर मात्र लेखाइ पढाइ पूरा गर्न परेको कुरा गुरागाईं माष्टर छर्लङ्ग जान्दछन् । तर के गर्ने छोराको र छोरीको पछिको जीवनमा देखिएको चालामाला सम्पूर्ण विपरीत भए पनि आफ्नो कर्मको फल भन्दै चित्त थामेर यत्तिका दिनसम्म रहेका गजानन अघि साँझ दैवका प्यारा भए । भोलि बिहान काँधीकाठ गरेर कोरामा बस्ने मान्छे को हो, यसबेलासम्म निधो भएको छैन । कल्पना जागिरबाट घर आइपुग्दा भोलि बिहान होला । कल्पना नै पछिल्लो समयमा बाबुको बाँच्ने आधार, मनको सुख दुखको आड भएकी थिई । विवाह गर्ने तर्खरमा गजाननको घरमा घरज्वाँइ बस्न राजी थियो सँगैको पुलिस अफिसर रमाकान्त पनि ।

तर आकस्मिक उच्च रक्तचाप जनित व्याधिको चपेटमा गजानन स्वर्गे भए । गजाननको घरबाट रात निकै नै बितेपछि आफ्नो घर फर्केर आएका माष्टर यस्तै उस्तै चिन्ताले ग्रस्त थिए । कल्पनाको फुनले उनको टाउको चर्किएको छ । यो बढो अनौठो र अपत्यारिलो लाग्नसक्छ सर्वसाधारणको लागि । हुन ता त्यति पर सोच्नु पर्ने केही अवैज्ञानिक अनैतिक र हुँदै नहुने कुरा होइन । मात्रै चलनचल्तीमा आएको छैन । कल्पनाले त्यसको सुरूवात गरेकी भन्दा पनि हुन्छ। समाजका केही रक्षणशील मानिस निम्ति अनौठो देखिएको मात्रै हो । तर यो नयाँ व्यवस्था धेरै विद्वान बुद्धिजीवी भन्दा धेरैजसो अशिक्षित मानिसहरू बसोबास रहेको गाँउ ठाउँ । बाबुको मृत्यु र कामकिरिया सम्बन्धित कुरा गर्दा कल्पनाको कुरा सुनेर एकबाजी छक्क परे पनि पछि गुरागाईं माष्टर कल्पनाको प्रस्तावप्रति घोत्लिन बाध्य भए, भोलि त्यसै गर्नु पर्छ भन्ने सिद्धान्त गर्नुपर्ला भन्दै ढल्केको माष्टर आफ्नो खाटमा पुर्लुक्क निदाए ।

यसबेला मकहाँ आतेसमा गजानन आउनु पर्ने थिएन, आवेगमा आए । छोरोले मेट्रिकमा धेरै राम्रो फलाफल ल्यायो र कृतज्ञता स्वीकार्नु उनको ध्येय होला । गजाननले नभनीकन नै मास्टरले कलेजमा भर्ना गर्ने खर्च दिने भए । छोरी कल्पना भने छोरो भन्दा पढाइमा निम्सरै हो तर पनि दुई वर्षपछि उसले पनि प्रथम विभागकै उतीर्ण भएको रिजल्ट ल्याएकी हो । बिचरा कसो कसो कलेजमा भर्ना भएर घरको व्यवस्था मिलाएर पढाइ गर्दागर्दै हायारसेकेण्डरी अन्तिम जाँच दिने अघिल्लो साता रोगी आमाको चोला उठ्यो । संसार राम्ररी चलेको देखिए पनि, पढाइको माध्यमबाट नै यसघरमा विशेषता ल्याउनु छ भन्ने कल्पनाको दृड ठहर थियो मुटुभित्र । वर्षेनी कुरा उल्टो हुँदै गयो । उति राम्रो रिजल्ट ल्याएको छोरो घिस्रिदै चिप्लदै तल झन् तल झर्दै आयो, त्यतिमात्रै हो र साथी सङ्गीसँग लागेर नशालु पदार्थ सेवन गर्नु, घरमा झोक्राएर बस्नु । एक-दुई दिनसम्म खुट खबर नहुनुजस्तो हुन लाग्यो । गजाननको मनमा दुखको सागर ओइरियो नारानशिव । ड्रागसको लतमा परेको कुरा कसैले थाहै पाएनन् । कसैगर्दा छुटाउन पनि नसकिने,उच्चचिकित्सा गर्ने ह्वाउ पुगेन । त्यतिकै अनन्त सम्भावना रहेको गजाननको छोरो बिग्रियो । छोरीको बढ्दो सफलताले र स्याहारसुसारले मात्र गजानन बाँचेका छन् । बि.ए. को परीक्षा राम्रो भन्दा राम्रो पास गरेकी कल्पना झन् भनौँ झन् राति बाह्र एक बजेसम्म किताप र खाता कलममा जीवन्त भएको गजाननले देखेको कुरा हो । भो न छोरी अब कति दुख कष्ट गरेर यो ज्यान खियाउँछेस् नानी, अब ता एकखाले राम्रो सरकारी जागिर पाउलिस्, गजानन छोरीको दुःखकष्ट देखेर आतिन्छन् । होइन नि बुआ अब एकै वर्ष हो, भगवानले कृपादृष्टि राखून् हाम्रो पनि दिन फर्कनु पर्छ, हाम्रा समाजको देशको सम्मान एवं समृद्धि निम्ति काम गर्न चाहन्छु म । बिचरा अल्पशिक्षित गाउँले गजाननले हो हो भन्ने बाहेक अरु उपाय पनि थिएन । घरसामु कल्पनाले थापेको पान सुपारी पसलको आयबाट उनीहरुले गुजारा गरेकै छन् । पढाइको खर्च पनि निकालेकी छ, कता के भन्नु र ।

सम्वर्धना सभामा गुरागाईं माष्टरको बोल्ने पालो आयो । कुराहरुभन्दा पनि भक्कानिन्छन् मास्टर । यस्तो पछाडिएको गाउँठाउँ र अत्यन्त दुःखकष्ट दारिद्य्र झेलेर कल्पनाले भारतीय प्रशासनिक सेवाको जाँचमा उतीर्ण भएर पुलिसको उच्च ओहदामा नियुक्ति पाएको खुसीमा आज ग्रामीण पुस्तकालयमा कल्पनालाई सम्वर्धना र आशीर्वाद दिने अनुष्ठानमा माष्टर बोल्नु परेको छ । उनले त्यस दिन कल्पनाको सफलतामा नारी पुरुष उत्तिकै हुन्, बदलिँदो विश्वायनको परिपाटीमा नारीले चाहे, गर्न नसक्ने गर्न नहुने कुरा केही छैन । पिता माता निम्ति छोराछोरी बराबरी हुन्, भनेको हो । अब छोरो पहिले दिवङ्गत भएको खण्डमा छोरीले छोराको जस्तो कोरामा पसेर काजकिरिया गर्ने इच्छा गर्दा कुन युक्तिले यो हाम्रो चलन र परम्परा होइन भन्नु, भन्ने मास्टरको अडानलाई अन्त्यमा सबैले मान्न करै लाग्यो । किनकि अब हामीले पुरानो सोचविचारमा मात्रै हिँडेर हुँदैन । पहिले रातिको बिहे गर्थ्यौँ हामी । यसबेला त्यही बिहे धेरै जसो दिँउसो गर्ने चलन रहेको छ । यसकारण पनि गजाननको घरमा मान्छेको लहनतहन बढेको हो । यो लहनतहन गजानन मरेकाले मात्रै बढेको हैन, ‘एउटी केटीले बाउआमाको क्रिया गर्न हुन्छ ? हुँदैन होला हउ !’ भन्ने आडमा चलिआएको रूढिवादी चिन्तनको मृत्यु भएको हेर्न पनि उत्तिकै बढेको हो । आखाँले हेर्छ मात्र हल्ला गर्न सक्दैन, हल्ला गर्ने मुख बाँउने टुङ्गोमा कल्पना जस्ती सुयोग्या पुत्रीले क्रियापुत्र भएर साख्खै झलझली देखाइहाली । अब नयाँ बाटो खनिएपछि हिँड्ने मान्छेको खाँचो उति पर्दैन ।