रातभरिको पानीबाट विश्राम पाएको बिहानी । त्यही विश्रामको फाइदा लिँदै छ आकाश, बिना दाग सजिएर । अरुणोदयको झिल्का बिना बाधा धर्तीमा पाइला सार्न अग्रसर छ । अरुणोदयको मुग्धताले मुग्ध भएको साने, बार्दली बसेर चियाको चुस्की सँगै कल्पनामा डुबेको छ।

बार्दलीमा कसैको स्पर्श हुन्छ। स्पर्शको माध्यमले बार्दली प्रवेशद्वार हड्बडायो, निकाल्यो सानो आवाज । साने पुलुक्क पछाडि फर्किन्छ । कसैलाई देख्छ, मुग्ध हुन्छ त्यो देखाइमा पनि । त्यो अरुणोदयको मुग्धतामै जोडिन्छ उसको यो मुग्धताको भावना पनि ।

सानेलाई देख्दा लाग्छ ऊ धेरैपछि त्यति खुसी छ अझ भनौँ ऊ जीवनमा धेरै खुसी भएकै आज हो । आफ्ना जीवनको दु:ख र ब्यथालाई चिर्दै, दु:ख बाड्नको लागि हिजो रातिको त्यो बर्षामै उसले नयाँ जीवन जोडेको छ । आज ऊ दुई भएको छ ।

साने दुई भएको कुरा ऊ बाहेक अरु कोही अर्कोलाई थाहा छ भने त्यो माली हो ।

माली, एक सुन्दर स्त्री । गहुँगोरो मुहारमा गोलो अनुहार, काला आँखीभौँले सजिएका निला देखिने आँखा , हिमालयझैं लहर मिलेका दात, सुन्तलाको केश्राजस्तो ओठ अनि त्यसमा भरिएको लाली, नौनीजस्तो कोमल गाला । उनको मुहार हेरेर मुग्ध नहुने कोही सायदै छैनन् । साने आफ्नो काखमा मालीलाई सजाउँछ । भुल्छ त्यो अघि कल्पिएको कुरा सँगै आरुणोदयलाई । हेर्छ त्यो अर्धाङ्गिनी ठहरिएकी मालीलाई । मुग्धताको बेहोसमा ओठले ओठको स्पर्श गराउँछ । पहिलो स्पर्शमै बिना तृप्तता छुट्टिन्न्छन् ती ओठ । माली आफ्नो लजालुपनाको सिरक ओढ्दै सानेको छातीमा लुकाउँछे आफ्नो मुहार ।

अजित धिताल

यो प्रेमिल जोडी, आफैँमा हराएको छ । बल्ल स्वतन्त्रताको आभासमा रम्न पाएको छ । आ-आफ्नो त्याग छ यो सम्बन्धमा । यही जोडीलाई देखेपछि पूरा प्रमाणित भयो त्यो कुरा, जुन कुरा “प्रेममा पूर्णता त्यागीले मात्र पाउँछन् ।”

साने कान्छो छोरो हैन । उसको उचाइ पनि सरदर अरु केटा मान्छेको जति नै छ । साने कसरी साने भयो, त्यो स्वयं सानेलाई नै थाहा छैन । साने उमेरले एक्काइस कट्यो तर पनि सानै छ । अरु त अरु उसलाई दाइ भन्नेले पनि सान्दाइ भन्छन् । त्यसैले साने नै उसको पहिचान हो ।

परिवार बिनाको एक्लो यात्री साने । आफ्नो दु:ख र सुखको एक्लो भोगी साने । साने एक्लै थियो सानैदेखि । उसले एक्लै रमाउन सिक्यो, जिउन सिक्यो । जीवनका सङ्घर्ष एक्लै गर्न सिक्यो बिना शिक्षा । ऊ आफ्नै शिक्षणको एकल विद्यार्थी । परीक्षाको घडीमा खुसी भए पास, दुखी भए फेलको कल्पना । मात्र एक्लो, नितान्त एक्लो, सदा एक्लो तर सबैको प्यारो साने ।

पन्ध्र सोह्रको भँमरे उमेरमा कुनै योगीको प्रवचनले लठ्ठिएको साने स्त्री जातीदेखि कोशै टाढा बस्थ्यो । सानेको स्त्रीप्रतिको बितृष्णा देख्दा लाग्थ्यो ऊ कुमारत्व नगुमाई धर्तीबाट अवकास हुन्छ ।

विद्यालयको वार्षिक भव्य कार्यक्रम । सभाहलमा खचाखच भरिएका मान्छे । सबैको दृष्टि त्यही आगाडि मञ्चमा । अनेकन नामका पुरस्कार वितरण पछिको त्यो पुरस्कार । जसले घोषणा गर्दै थियो, वर्षको उत्कृष्ट विद्यार्थी । घोषणा भयो त्यो उत्कृष्ट विद्यार्थीको । सबैको हातले ताली ठोक्यो, मालीको ताली रोकियो ।उनी आफ्नो आसनमाबाट उठिन् कतै नहेरी सरासर आफ्ना पाइला अगाडि चालिन्, निस्किइन् त्यो सभाहलबाट । कक्षा तीनदेखि आफ्नो नाममा लेखाउँदै आएको पुरस्कारमा आज अरु कसैको नाम लेखिएको थियो । त्यो कसरी खप्न सक्नु सानीले । उनी कतै नहेरी सरासर घोसे मुन्टोमै घर पुगिन् ।

एउटा पुरस्कारको कारण ऊ आज चुपचाप छे । परिवारका सदस्य त्यही एउटा पुरस्कारको विषयलाई बारम्बार कोट्याएर दुख दिइरहेका छन् । मालीलाई आफूले जितेका अघिल्लो वर्षका उत्कृष्ट विद्यार्थी पुरस्कारदेखि एकाएक रिस उठ्यो । त्यही एउटा पुरस्कारले दिएको पीडा र त्यही पीडामा बारम्बार परिवारका अरु सदस्यले थपिदिएको नुन खुर्सानीजस्तो लाग्ने विषयले उनको पढाइप्रतिको लगाव हरायो । बारम्बार लिइने त्यो पुरस्कारको नाम सङ्गैका केही रुखा वचनले उनी आफैंमा कमजोर भइन् । मालीलाई अहिलेका ती वचनले गर्दा उनमा परिवारको सदस्यले देखेको भविष्य त्यही पुरस्कारमा अडेको भान हुन थाल्यो ।

त्यही कारण बन्यो, पहिला किताब र कापीमा हुने उनको लगाव अब कम्प्युटरको स्क्रीन र किबोर्डमा हुन थाल्नुमा ।

बिस्तारै उनी पढाइमा कम, प्रविधिको प्रयोगमा बढी ध्यान दिन थालिन् । सामाजिक सञ्जालको दुरुपयोग गर्न उनी यति पोख्त भइन् कि विभिन्न गिरोहका नकारात्मक मान्छेको काममा उनी सङ्लग्न हुन थालिन् । जुन कुरा उनको परिवारका सदस्यलाई केही पत्तो नै थिएन ।

साने र मालीको भेट गर्मीको मध्य रात । बन्दै गरेको सुनसान भवन । त्यही भवनको कुनै तल्लामा दिनभरको थकान मेट्न मस्त निदाएको साने । ग्वार्कोभन्दा अलिभित्र जसो तसो गरेर उसले एउटा बार्दली सहितको घर जोडेको थियो । त्यो सानेको सानो घर सदैव एक्लै नै हुन्थ्यो । साहुको प्रिय थियो साने । त्यसैले कन्ट्रक्सनको काममा रातमा कुर्नु पर्दा साने जहाँ काम गर्ने हो त्यही सुथ्यो ।

मालीको घरमा आज कोही छैनन्, ऊ एक्लै छे । धेरै पछि एउटा ठूलो मौका मिलेको जस्तो भएको छ मालीलाई । हरेक औंसि र पूर्णिमाजस्ता विशेष दिन टीका लगाएर पैसा दिने हजुरामा बितेको तिथि पारेर मालीका बुबा आमा पशुपतिमा बत्ती बाल्न गएका छन् ।

घरमा कोही नभएको मौका । ती स-सानाजस्ता लाग्ने प्रविधिको दुरुपयोगबाट मिलेको केही पैसा । तिनै पैसाको सहायताले घर परिवारलाई थाहा नदिई किनेका केही प्राविधिक सामान । जुन समानले अन्य प्रविधिको डाटा उपलब्ध गराउन ठूलो मद्दत गर्ने गरी तयार गरेकी थिइन्र । तर ती समान देख्दा सामान्य र सरल लाग्थे ।

जस्तो: पुरानो जमानाको लाग्ने किबोर्ड वाला मोबाइल तर त्यही मोबाइलको सहायता माली भने आफ्नो नजिकै रहेको मान्छेको मोबाइल डाटा पत्ता लगाउन प्रयोग गर्थिन्।

उनको यो काम उनैलाई थाहा छ अनि केही स-सना अपराधी समूहलाऐ। तर ती समूहलाई पनि मालीको बारेमा थाहा छैन यति सम्म कि ऊ केटा हो कि केटी हो त्यो पनि । अनलाइनबाटै गरिने डिलमा उनले काम गर्थिन्, त्यो पनि आफ्नो पायक पर्ने क्षेत्रमा मात्र ।

चारैतर्फ जस्ताले बारिए जस्तो गरी बनाइएको सानो कोठा । न बत्ति, न कुनै लाइट । रातमा प्रकाश खोज्नै गारो पर्ने त्यो कोठा । कपासभन्दा धेरै माटोले बाक्लिएको डस्ना,सानो सिरानी, बिचको कपासले छेउ भरिएको सिरक । यसो थकान बिसाउने त्यो भाडो(ओछ्यान) । त्यही पल्टिएको साने । थकानले मस्त सानेले सोमरसको सहायताले शरीर लठ्ठ बनाएको थियो । हल्का रम रमाएको शरीर भए तापनि बाहिरको चिसो हावाले उसलाई निदाउन दिएको थिएन । उसको लागि त्यो चिसो, चिसो हैन । निन्द्रा नपरेको हैरानीले होला उसको मन अन्तै विचरित थियो ।

एक्कासी कोही सानेको त्यो प्रकाश विहीन दरबारमा पस्यो । यता उति हेर्यो, केही भेटेन । यता निन्द्राले साथ नदिएको सानेले थाहा पायो ।

“को हो, ओइ को हो ? यति राति अर्काको मा छिर्ने ? ” साने डराएको स्वरमा नडराएझैं गरी बोल्यो।

कसैले उसको मुख आफ्नो हातले च्याप्प समायो अनि सानेकै थकान बिराम स्थलमा छिर्दै भन्यो।

“नकरा एक्छिन ।”

साने बोल्ने कोसिस गर्दै थियो, यत्तिकैमा फेरि उहीँ बोल्यो ” सक्ने भए बचाइ दे, सक्दैनस् नबोल, फेरि….”

सानेले प्रतिवाद गर्ने प्रयास नै गरेन किनकि…।

मालीलाई एउटा काम आएको थियो ।

“घरमा कोही नभएको मौका । अहिलेसम्म गरेका केही कामभन्दा धेरै पैसाको काम । अघिल्ला काममा भन्दा थोरै काम तर पैसा धेरै । नकारात्मक काममा लागेकालाई के ठिक के बेठीक । पैसाको मात्र कुरा । दुरुपयोग पनि सत्कर्म लाग्ने मानसिकता । घरको सदस्य बिनाको एक्लो शरीर , कोसँग डराउनु त्यसपछि ।”

बजारको एउटा होटल, जहाँ नेताको भेटघाट कार्यक्रम र भित्री अनैतिक काम हुन्थे । विपक्षी नेताले दिएको समान्य काम । “त्यो कार्यक्रम अवधिमा फोन गरिएको फोन नम्बर पत्ता लगाउनु पर्ने, तीन पेटिको डिल ।” माली आफ्नो तयारी सहित होटल तर्फ बढिन् । पर्खालको छेको पर्दै माली रोकिइन् । चिहाएर हेरिन्, कार्यक्रम चल्ने सुरसारमा थियो । केही समयपछि ती नेताका कार्यकर्ता बाहिर पिउँदै नाच्न थाले तर ती नेता भने सिसाभित्रको सानो कोठामा बसेर विदेशीजस्तो लाग्ने कोही सँग कुरा गर्दै थियो । मालीले आफ्नो खुवीले ती नेताको मोबाइलसँग आफ्नो प्रविधिलाई जोडी । आफूले पाएको पैसाको जिम्मा निभाउन नेताले गरेका प्रत्येक कलको रेकर्ड कसैले थाहा नपाई जम्मा गरिन् । काम फत्ते गरेर निस्कनै लागेकी थिइन् उनी होटलको एक छेउको ढोकानिर पुग्दा उनलाई कसैले देख्यो ।

“ऊ चोर चोर…” देख्नेले करायो ।

माली भने कुद्दै नजिकै बन्दै गरेको नया भवनको काल कोठरीमा छिरिन् ।

किनकि… त्यो कुनै स्त्रीको अनुरोधात्मक आवाज थियो । धेरै समय बित्यो, कोही आएन । निकै समयको अन्तरालपछि साने बोल्ने प्रयास गर्न थाल्यो तर मुख च्याप्प समाएको कारण ऊ बोल्न सकेन । आफ्नो बल लगायो, हात आफ्नो मुखबाट थुत्यो अनि भन्यो – तिमी को हो ?

– म मान्छे ! (सानो आवाजमा उत्तर आयो।)

सानेले छामछुम पारेर लाइटर खोज्यो, त्यसपछाडि हुने बत्ती बाल्यो । बत्ती बाल्न नपाउँदै ती स्त्रीले जबर्जस्ती अगालोमा बाँध्दै भनिन्, “म पार्वती !”

साने विचलित भयो, बोल्न सकेन । कुनै स्त्रीले उसलाई बाधेकी थिइन् । बिचरो आमाको काख समेत थाहा नपाएको साने ! अब त त्यो स्त्रीको स्पर्शमा पो हराउन थाल्यो । शरीर तातेर आयो । उक्त तातोले चिसोपनामा साथै त्यो डरको त्रासमा महलम लगायो । उसलाई त्यो रुप समेत राम्ररी हेर्न नपाएको स्त्री औधी मन पर्यो । खै किन हो ?

अगालोमै साने लुपुक्क निदायो ।

सूर्य नारायणले धर्तीको स्पर्श गरिसकेका थिए ।

साने बिउझियो, देख्यो कसैलाई आफ्नो नजिकै, देख्दै मुग्ध भयो ।

“अहो पार्वती !” सानो स्वरमा भन्यो । मुग्ध भयो त्यो मुहारमा, हेर्यो टोलायो । केही समय पश्चात् आफ्नो मुग्धतालाई लुकायो । स्त्रीप्रतिको वितृष्णालाई निकाल्यो ।

“ओइ उठ, ओइ उठ…।”

पार्वती सानेको अगाडि आँखा मिच्दै जिउ उठाई । केही बोलिन,जुरुक्क उठी, सानेतर्फ फर्किई ।

धन्यवादको इसारा गरी ,निस्किन त्यो कोठरीबाट।

केही दिनपछि साने सहुको लागि सब्जी किन्न सब्जिमन्डी गयो । त्यहाँ उसको भेट रात्रीकालीन मन चोर सुन्दरी पार्वतीसँग भयो । केही बोल्ने प्रयास गर्दै थियो । पार्वती यत्तिकैमा हराइन् । त्यसपछि साने हरेक दिन जसो सब्जीमन्डी धाउने गर्न थाल्यो । दुई तीन दिनको फरक जस्तोमा उसले पार्वती देख्थ्यो तर पार्वती भने नदेखेको झैं गर्थिन् । यस्तै क्रम चलिरहेको केहीपछि पार्वतीले एक दिन सानेलाई भनी, “फेरि पनि हजुरलाई धन्यवाद तर यसरी मेरो पछिपछि नलाग्नु होला ।”

त्यस पछिका केही भेटमा पार्वतीले सानेलाई आँखा तर्थिन्।

“आफूलाई मन परेको मान्छेले आफूलाई देख्दा नरमाइलो मान्छ भने मेरो लागि त्यो रमाइलो पल कसरी होला ?” यो विचार आएको दिनदेखि साने सब्जिमन्डी जानै छोड्यो तर उसको मनमा कसैले मायाको फूल भने रोपिदियो । त्यसैले होला ऊ कहिले कहिले लुकी लुकी सब्जीमन्डी जाने गर्थ्यो ।
सानेलाई एक दिन पर्खाल लगाउने काम आयो । सानेकै भाग्यले होला त्यो घर पार्वतीको थियो । आफ्नो काम सक्यो । पार्वती पनि उसलाई बेला बेलामा आफ्नो कोठाको झ्यालबाट हेर्थिन् । साने नदेखे झैं गर्थ्यो । बेलुका ज्याला लिने बेलामा सानेलाई ज्याला दिन पार्वती आई । मुस्कुराएर पैसा दिँदै गर्दा सानेलाई पार्वतीले भनी, “मेरो नाम माली हो है, सरी।”

सानेले ज्याला लियो । आफ्नो बाटो लाग्यो, मुसुक्क हाँसेको मन लिएर ।

त्यसपछिका दिनमा सब्जीमन्डीमा उनीहरुको भेट दिनानुदिन बाक्लिन थाल्यो । बिस्तारै मालीलाई साने मन पर्न थाल्यो । मन नपरोस् पनि किन हसिलो अनुहार,चम्किला दाँत, गालामा हाँस्दा पर्ने सानो खाल्टो, मिलेको ज्यानमा काम गर्दा गर्दै बनेको सिक्स प्याक कस्तो राम्रो साने ।

बाक्लिँदै गएको भेटघाटकै क्रममा उनीहरू आ-आफ्नो कुरा एकअर्कालाई भन्थे । सानेले मालीसँगको भेट बाक्लिएसँगै सोमरस छोडेको थियो, कसमै खाएर । मालीले पनि बिस्तारै प्रविधिको दुरूपयोग छोड्न थालेकी थिइन, सानेलाई मन नपर्ने भएर । मालीलाई लाग्न थालेको थियो नकारात्मक काम गरेर पैसा कमाउनु भन्दा आफ्नो पौरखले पैसा कमाउनु ठिक हो ।

एकदिन सानेले मालीलाई आफ्नो ग्वार्कोभित्र रहेको सानो दरबारमा लग्यो । मालीले दु:ख सुख त्यही दरबारमा काट्ने निधो गरी । आफैंले प्रस्ताव राखी आफूलाई भगाउन । साने किन हुन्न भन्न सक्थ्यो र…।

पशुपति गएर ज्योतिषलाई देखाए । ज्योतिषले आउँदो पूर्णिमामा बिहेको लगन राम्रो हुन्छ भनी तोक लगाइदिए । पूर्णिमाको रात भए पनि बादलले ढाकेको थियो, त्यो पूर्ण देखिने चन्द्रमालाई । निस्पट्ट अँध्यारो थियो, पानी पर्ने सुरसारमा थियो । माली तयार थिई । घरबाट निस्किई , घरका ती सबै बत्ती निभेपछि । सानेले गारो लगाएको पर्खाल नाघेर झर्दा माली सानेको बाहुमा च्यापिई । दुबैका आँखा खुसीले रसाए । उनीहरुलाई पानीले साथ दियो, चट्याङ्गले बाजा घन्कायो ।