निद्रा अझै लागेन, महेश्वर उठ्यो र सबैलाई हेर्यो । सबै अर्थात्‌ उसकी स्वास्नी, दुइटा छोरा, एउटी छोरी कसैको आँखामा पनि निद्रा छैन । सबै आँखाहरू खुला देख्यो उसले । दलिन हेर्यो पुरानो भइसकेछ । भित्ताका ठूल्ठूला तस्बिरहरू पनि पुरानो हो । उसलाई लाग्यो यी तस्बिरहरू, दलिनहरू र अझै यो कोठा… घरको इतिहास उसको पुर्खासँगै लम्बिएको छ । कति पुरानो छ यो । अब यसको इतिहास मेटिनेछ- सम्झेर झस्कियो । विश्वास लगिन तर विश्वास गर्नैपर्छ । विश्वास- ऊ शिथिल भयो । भोलि यो घरलाई छाडेर जानुपर्छ । जानुपर्ने कुरा सम्झनै मन लागेन उसलाई । तर भोलि यो घर छाड्नुपर्छ ? बिर्सनै नसकिने यथार्थ । कसरी छोड्ने ? तर छोड्नै पर्ने बाध्यता । अधिग्रहण भइसकेको छ । ऊ फेरि अर्को पटक पनि झस्कियो । यो घरमा अब उसको केही अधिकार पनि रहेन । झन्‌ बढी झस्कियो। यही घरको लागि उसले आफ्नो भाइसँग चार वर्षे लगातार मुद्दा लडेको थियो। यही घरको लागि भाइ गुमाउनु परेको थियो । भाइ आखिर भाइ-हो । यो घर उसको पनि त हो।… अहँ, होइन यो घर भाइको होइन । भाइलाई मुद्दाले हराइसकेको छ । उसको केही अधिकार छैन । अहिले उसले भाइलाई सम्झियो । दुब्लो, पातलो, ख्याउटे र माया लाग्दो । कुन्नि कहाँ छ अहिले ! बुबाको मृत्युपछि घर आफ्नो हुनुपर्छ भन्ने दाबी थियो उसको । दुवैको दाबी । भाइले पनि दाबी गरेकै हो । महेश्वरले यत्तिखेर अनायास आँसु झार्यो । आफ्नै भाइलाई बेघर बनाउने दोषी आफैलाई ठान्यो अहिले । अब यो घरलाई पनि छाड्नुपर्छ । उसले आँसु पुछ्यो र सुत्ने प्रयास गर्यो । सकेन अनि उठ्यो र छोराछोरीतिर हेर्यो- उनीहरू सुतिसकेछन्‌। स्वास्नी त सुतेकै छैन ।

“भोलि चाँडै उठ्नुपर्छ सुत्नू नि…! ” स्वास्नीको आदेश उसलाई मन परेन । तर पनि केही बोलेन ।

“त्यो घरलाई कहिले भत्काउने रे !”

“जहिलेसुकै भत्काओस्‌ तँलाई के चासो छ ?”

“हैन बरु ढिलै भत्काए अरू आठ-दस दिन बसे हुन्न ?”

“चिठी पठाएको देखिनछ ? भोलिसम्म यो घर छाडेनौं भने कानुन लगाउने रे । अधिग्रहण भएपछि हाम्रो अधिकार हुँदैन बुझिनस्‌ ?” स्वास्नी कोल्टे फेरी । महेश्वर तर सुतेन । भित्तामा अडेसिएर दलिन हेर्न लाग्यो । केही बिर्सेको सम्झे जस्तो ऊ हडबडायो ।

“एई !”

“हँ ?”

अशेष मल्ल

“त्यो हिजोको कागजपत्र सबै बाकसमा राखिस्‌ होइन ? त्यो हराउनु हुन्न है विचार गर्नू ।”

“हजुरले नै राख्या हैन ?”

“ए !”

महेश्वरले सुत्ने कोसिस गर्यो । कोसिस गर्नुको निरर्थकताको बोधसित ऊ परिचित भएर पनि आँखा चिम्लियो ।

भाइलाई सम्झ्यो- दुब्लो, ख्याउटे, पातलो मायालाग्दो । यो घर उसको पनि त थियो । “ऊ अर्थात्‌ आफ्नै भाइ । आफ्नै । तेह्रदिने । एउटै आमाको सन्तान । उसको पनि त हक लाग्नुपर्दथ्यो । हक उसको पनि त थियो ।

होइन… यो घर रामेश्वरको हो । थियो, उसको सिवाय कसैको होइन । मुद्दाको फैसला छ । खोलिसकेको आँखा फेरि बन्द गर्यो । ख्याउटे, दुब्लो, पातलो, मायालाग्दो मान्छे । उसको भाइ । उसले आँखा खोल्यो, भाइ छैन । कुन्नि कहाँ छ त्यो ! मुद्दाको फैसला पछि बेपत्ता छ। महेश्वरले स्वास्नीलाई हेर्यो ।

“सुन त !”

“के ?”

“भोलि बिहानै उठ्नुपर्छ, चाँडै उठा है ! भरिया पनि खोज्नै छ। भरिया खोज्दा, भारी मिलाउँदा दस बजिहाल्ला, भात खाएरै हिँड्नुपर्ला ।”

“यसै गर्नुपर्छ ।”

“सुन त, तँलाई यो घरको माया लाग्दैन ?”
“कस्तो कुरा गर्या ! कसलाई लाग्दैन आफ्नो घरको माया ! माया लागेर के गर्नु । माया लागेर फेरि आफ्नो हुने हो र ?”

“त्यही त ! अब हामीलाई हटाएर यहाँ उद्योग खोल्ने रे । सुनिनस्‌ अस्ति साहबले भनेको… यो घरलाई भत्काएर अब उद्योग खोल्ने रे । उद्योग खोलेर सबै गाउँलेलाई काममा लगाउने रे ।”

“अनि हाम्रै घर भत्काउनुपर्ने तिनीहरूलाई पनि ।”

“अब यही ठाउँ उद्योगको लागि सुहाउँदो छ रे ।”

“जेसुकै होस्‌ । हामीलाई यो घर नछाडी भएन क्यारे ।”

“के गर्छेस्‌ त ।” …अहिले महेश्वर रून खोज्यो ।

“सुत्नु अब अबेर भइसक्यो ।”

“निद्रा आए पो सुत्नु ।”

“निद्रा ?”

“हुन त निद्रा आएर ढुक्क सुतेको कहिले छौं र हामी । ठीकै भनिस्‌ अबेर भइसक्यो । अब सुत्नुपर्छ । भोलि सबेरै उठ्नु पनि त छ… भरिया खोज्नु छ र भोलि यो घरलाई छाडेर जानु छ… ।”

महेश्वरजे लामो सास फेर्यो । स्वास्नीले कोल्टे फेरी । महेश्वरले सुत्ने प्रयास गर्यो । आँखा चिम्लियो । उही ख्याउटे, दुब्लो, पातलो मान्छे ।

आँखा फेरि खोल्यो र तत्कालै चिम्लियो । खोल्यो… चिम्लियो । फेरि खोल्यो र चारै भित्तालाई हेर्यो । उसलाई लाग्यो – अब यो घर भत्किएर उद्योग खोलिनेछ । उद्योगका धूवाँहरू अनि यहाँबाट उड्नेछ । अनायासै उसलाई लाग्यो – भित्ताहरू क्रमशः चर्कदै गइरहेछन्‌ र प्रत्येक चर्काइमा दूषित उद्योगका धुवाँहरू कोठाभित्न जबरजस्ती पसिरहेछ ।