पार्वतीसँग बिहे नहुँदै महादेवका परिवार भने पनि साथी भने पनि नन्दी, भ्रिङ्गी, भुतप्रेत र गणहरू नै थिए । महादेव सधैंजसो ध्यानमा नै लीन हुन्थे, त्यसैले कैलाशको संचालनको जिम्मा अघोषित रूपमा नन्दीको काँधमा थियो । तर नन्दी पनि अधिकांश समय महादेवले ध्यान गरेको ठाउँको अगाडि गएर महादेवको ध्यान नसकिँदासम्म थपक्क बस्थ्यो । महादेव र नन्दी दुवैले कैलाशका सबै बासिन्दाहरूलाई पुल्पुल्याएर राखेका थिए । उनीहरूले आफूले गर्न चाहेको कुरा गर्न, खान चाहेको कुरा खान, डुल्न चाहेको ठाउँमा डुल्न स्वतन्त्र थिए । केही काम बिराएमा कहिलेकाहीँ नन्दीले अलिअलि हप्काएजस्तो गर्थ्यो ,नत्र त्यहाँ उनीहरूलाई नियन्त्रण गर्ने कुनै कानुन र निकाय थिएन । उनीहरूले कैलाशमा आफ्नो असिमित स्वतन्त्रताको पुरापुर उपयोग गरेका थिए । तर उनीहरू पनि अनुशासनमा बसेका थिए । सबै मिलेर बसेका थिए, मिलेर काम गर्थे, सबैतिर शान्ति थियो । खासमा कैलाशको राजकाज सञ्चालन गर्नुपर्ने आवश्यकता नै थिएन । न त नियमको आवश्यकता थियो, न त कुनै शासकको ।

तर विवाह गरेर माता पार्वतीलाई महादेवले कैलाश भित्र्याएपछि उनीहरूको पहिलेको स्वतन्त्रतामा बिराम लागेको थियो । माता पार्वतीको आदेशअनुसार नन्दीले राज्य सञ्चालन गर्न थालेको थियो । सबैलाई नयाँ विधिको कडा अनुशासनमा बस्नु पर्थ्यो । दिएको मात्र खान पाइन्थ्यो, बिना रोकतोक भन्डारमा पसेर जहाँबाट जे निकालेर पनि खान पाइने दिन सकिएका थिए । जथाभावी फोहर गर्न पाइँदैनथ्यो । हरेक कुराहरू सफा राख्नु पर्थ्यो । समय सीमामा बस्नु पर्थ्यो । त्यसैले माता पार्वतीको आगमनले उनीहरूको स्वतन्त्रतामाथि अभुतपूर्व संकट आएको थियो । उनीहरूलाई आफ्नो स्वतन्त्रतामा माता पार्वतीले अंकुश लगाएपछि रिस उठेको थियो । कति पटक उनीहरूले आफ्ना असन्तुष्टि महादेव सामु पनि राखेका थिए । तर महादेवले उनीहरूका शिकायत हाँसेर टारे । केही उपाय नलागेपछि सहेरै बस्नु बाहेक उनीहरूसँग अर्को विकल्प थिएन ।

डा. राजु अधिकारी

केही समयपछि कैलाशमा दुई बालकहरू, कार्तिकेय र विनायकको जन्म भयो । बालकहरूको आगमनपछि त पहिलेका कैलाशवासीहरूको स्वतन्त्रता र महत्त्वमा झन् ठूलो धक्का लाग्यो । महादेव, पार्वती र नन्दीको अधिकांश समय ती दुई बालकहरूमा गएर अड्किएको थियो । भुत पिचाश र भ्रिङ्गीहरूले मन अमिलो बनाएर नयाँ वातावरणमा आफूलाई ढाल्ने प्रयत्न गर्दै थिए । तर गणहरू भने माता पार्वती र नव आगन्तुक दुई बालकहरूप्रति निकै रिसाएका थिए । नन्दी र महादेवले आफूहरूलाई महत्त्व दिन छोडेपछि गणहरूले त्यसलाई आफ्नो आत्मसम्मानमा ठेस लागेको रूपमा लिएका थिए । पहिले गणहरूको खाना, बास, सुविधा सबैमा चासो राख्ने महादेवले उनीहरूको बारेमा सोध्न छोडेका थिए । उनीहरूले खाए खाएनन्, के गरे, कहाँ गए कसैलाई वास्ता हुँदैनथ्यो । आफ्नो त्यो उपेक्षाले गर्दा उनीहरूभित्र क्रोधाग्नीको ज्वाला बल्न थालेको थियो । कार्तिकेय र विनायकलाई उनीहरूले आफ्नो भाग खोस्न आएका प्रतिद्वन्दी देखेका थिए र उनीहरूप्रति निकै क्रुद्ध थिए । दुई बालकहरू अलि ठूला भएपछि नन्दी, भ्रिङ्गी र गणहरूसँग खेल्न थाले । भ्रिङ्गीहरूले दुई बालकहरूलाई कैलाशका नयाँ बासिन्दा भनेर स्वीकार गरिसकेका थिए र उनीहरूप्रति पूर्वाग्रहित हुन छोडेका थिए । तर गणहरूले भने सुरुमा आफूसँग खेल्न आएका बालकहरूलाई वास्ता गरेनन् । तर बालकहरूको बाल चञ्चलता र अबोधपन देखेर उनीहरूलाई पनि माया लागेर आयो । कहिलेकाहीँ विनायकले आफूलाई खान दिएको मोदक ल्याएर गणहरूलाई खान दिन्थे अनि उनीहरू पनि मख्ख पर्थे । कहिलेकाहीँ कार्तिकेयले उनीहरूलाई आफ्नो बाहन मयुरमा चढाएर कैलाशभन्दा पर परसम्म विचरण गराउन लान्थे । कहिले कैलाशभन्दा बाहिर निस्कने मौका नपाएका उनीहरूलाई बाहिरको वातावरण र सुन्दरता देख्न पाउँदा निकै रमाइलो लाग्थ्यो । उनीहरू कार्तिकेयप्रति कृतज्ञ हुन बाध्य भए ।

समय बित्दै गयो । कार्तिकेय र विनायक पनि अलि ठूला भए । उनीहरूको गणहरूसँगको सङ्गत पनि बाक्लिँदै जान थाल्यो । पछि गएर उनीहरू मिल्ने साथी भए । त्यसपछि गणहरूको माता पार्वती र कार्तिकेय र विनायकप्रतिको रिस पनि बिस्तारै सेलाउँदै जान थाल्यो । कैलाशमा भैरहेको त्यो सबै कृयाकलाप पातालमा बस्ने दैत्यका गुरु शुक्राचार्यले नजिकबाट नियालिरहेका थिए । गणहरू कार्तिकेय र विनायकसँग रिसाएको थाहा पाएपछि आफ्नो योजना बनाउन थालेका शुक्राचार्यले गणहरूको सम्बन्ध कार्तिकेय र विनायकसँग सुध्रिएको देखेपछि अत्तालिए । कैलाशमा यदि अस्तव्यस्त वातावरण बनाउन सकियो भने भगवान् शिव आफ्नै पारिवारिक अस्तव्यस्ततामा भुल्नेछन् अनि दैत्यहरूले देवतालाई हमला गरे भने पनि उनी देवताको पक्षमा लड्न आउने छैनन् भन्ने शुक्राचार्यलाई लागेको थियो । महादेवको सहयोग नभए पछि दैत्यहरूले देवतालाई सजिलै जित्न सक्थे ।

आफ्नो योजनाले मुर्तरूप नलिँदै असफल हुने देखेपछि दैत्यगुरु शुक्राचार्य अर्को एउटा योजना बनाएर तुरुन्तै पाताल गएर दैत्यराजसँग भेटी आफ्नो योजना सुनाए । दैत्यराजले आफ्नो गुरुको कुरा नसुन्ने कुरै भएन । गुरुको योजना अनुसार कैलाशमा पुनः अस्तव्यस्त वातावरण सृजना गराउनको लागि दैत्यराजले आफूले सबभन्दा विश्वास गरेको कुटनीतिज्ञलाई बालकको रूपमा भेष बदलेर कैलाश पठायो । गणहरू, कार्तिकेय र विनायक खेलिरहेको ठाउँमा पुगेर उक्त बालकले विनम्र हुँदै “म पनि तिमीहरूसँग खेलूँ ?” भनेर सोध्यो । आफ्नैजस्तै उमेरको सुन्दर बालक देखेपछि विनायकले तुरुन्तै हुन्छ भन्दिए । कार्तिकेयले पनि विरोध गरेनन् । त्यो दिन देखित्यो बालकरुपी दैत्य पनि कार्तिकेय, विनायक र गणहरूसँग खेल्न थाले।

उनीहरू केही दिनमै निकै मिल्ने साथी बने । दैत्यले आफ्नो मायाले सजिलैसँग कार्तिकेय र विनायकको मन जित्यो । उनीहरूलाई पूरै विश्वाशमा लिएपछि उक्त दैत्यले एकदिन गणहरूलाई उक्साएर महादेव सधैं ध्यानमा लीन हुने र नन्दीले राजकाजमा कुनै वास्ता नगर्ने भएको हुनाले कैलाशका बासिन्दाको उपेक्षा भएको तर्क पेश गर्दै कैलाशमा गणहरूले राज्य गर्न पाउनुपर्छ भनेर महादेवसँग माग उठाउन प्रेरित गर्‍यो । तर त्यो साहस गणहरूमा थिएन । त्यसैले आफूले विश्वाश जितेका कार्तिकेय र विनायक मार्फत त्यो माग उठाएर उसले गणहरूलाई कैलाशमा नन्दीको शासन हटाएर उनीहरूले नै राज्य चलाउन पाउनु पर्छ भन्न लगायो ।

दैत्यको योजनाअनुसार कार्तिकेय र बाल विनायक कैलाशमा गणतन्त्र (गणहरूको शासन प्रणाली) हुनपर्छ भन्ने प्रस्ताव लिएर पिताजी कहाँ गए । उनीहरूको कुरा सुनेर महादेवलाई हाँसो उठ्यो ।

महादेवले हाँस्दै सोधे, “नन्दीले गरेको के काममा चित्त बुझेन तिमीलाई ?”

“नन्दीले केही कुरामा पनि वास्ता गर्दैन । नन्दीभन्दा गणहरूले शासन गर्दा कैलाशका बासिन्दाको लागि उत्तम हुन्छ” विनायकले उत्तर दिए ।

“गणहरूले राज्य सञ्चालन गर्नु पर्छ भन्ने कसको सुझाव हो ? तिमीहरूको त हैन होला ?” महादेवले फेरि सोधे ।

“सुझाव हाम्रो नभए पनि त्यसमा हाम्रो पनि समर्थन छ । हजुर सधैँ ध्यानमा बसेर कैलाशको शासन व्यवस्थामा समय दिन सक्नु भएको छैन, पिताजी । माताजीलाई राजकाजमा कुनै आसक्ति छैन, नन्दीलाई शासन गर्न नै आउँदैन। उसले हाम्रो स्वतन्त्रता खोसेको छ, उसले गणहरूलाई अपमान गरेको छ । कैलाश भनेको नन्दीको पेवा होइन । यहाँका वास्तविक जनता त हामी र गणहरू हुन् । नन्दीको शासनमा भेदभाव छ, उसले गणहरूलाई नोकरजस्तो व्यवहार गर्छ, उनीहरू राम्रो काम गर्ने अवसरबाट वन्चित छन् । गणहरूको अपमान हामीलाई स्वीकार्य छैन । नन्दीले गर्दा कैलाश अस्तव्यस्त भैसक्यो तर पनि ऊ केही नगरी खाली हजुर ध्यान गर्न बसेको ठाउँको अगाडि गएर बसिरहन्छ । त्यसैले गणहरूलाई राज्य सञ्चालन गर्न दिएर कैलाशलाई गणतन्त्र बनाउनुपर्छ । उनीहरूले नन्दीले भन्दा धेरै राम्ररी शासन गर्नेछन् । उनीहरूले हाम्रो लागि पनि सोच्नेछन् किनभने उनीहरू हाम्रो सबैभन्दा मिल्ने साथीहरू हुन् । अहिलेको नन्दीको शासनभन्दा गणतन्त्रमा हाम्रो रेखदेख पनि राम्रो हुनेछ । कैलाश अझ सुन्दर हुनेछ । सबैले सम्मानित भएर बाच्न पाउँनेछन् । त्यसैले कैलाशमा हामीलाई जसरी भए पनि गणतन्त्र चाहियो ।”

“तिमीहरू अझै बच्चा नै छौ । बच्चाले यस्तो राजनैतिक कुरा गरेको सुहाउँदैन । तिमीहरूलाई अहिले खानपिन, रेखदेख, स्वतन्त्रता, सम्मान के पुगेको छैन र ?” महादेवले कार्तिकेय र विनायकलाई सम्झाउन खोज्दै सोधे ।

“हाम्रो मात्र कुरा होइन पिताजी । हामी त माता पार्वती र हजुरका पुत्रहरू हौँ । हामीलाई कमी छैन भन्दैमा अरूलाई पनि यहाँ केही कमी छैन भन्ने हैन । कैलाशमा बस्ने सबैले समान अधिकार पाउनुपर्छ । हजुर नै हेर्नुहोस्, नन्दी र गणहरूको बीचमा असमानता । न समान स्वतन्त्रता छ, न समान सम्मान छ, न समान अधिकार छ, न समान अवसर छ । हामीलाई यो कुरा स्वीकार्य छैन ” विनायकले बालकरूपी दैत्य र गणहरूले सिकाएको कुरा महादेवसँग जाहेर गरे ।

“तिमीले मात्र भनेर भएन नि । अरूहरूले के सोचेका छन्, सोधेका छौ ?” महादेवले उनलाई अझैं सम्झाउन खोज्दै थिए ।

“मलाई अरू कुरा मलाई थाहा छैन, हामीलाई जसरी पनि गणतन्त्र चाहिन्छ ” विनायकले जिद्दी गरे ।

“ल म यसमा विचार गरौँला, तिमी अहिले खेल्न जाऊ ” भनेर महादेवले बच्चालाई फकाउने हेतुले कार्तिकेय र विनायकलाई पठाए ।

उनीहरू पनि खुसी हुँदै गएर दैत्य बालक र गणहरूलाई त्यो कुरा सुनाए । गणहरू अब गणतन्त्र आउने भयो भनेर मख्ख पर्दै पर्खेर बसे ।

तर धेरै दिन बितिसक्दा पनि महादेवले गणतन्त्र दिने कुरा गरेनन् । कार्तिकेय र विनायकले पनि त्यो मागलाई बिर्से । गणतन्त्रको कुरा सेलाउन थालेको देखेपछि दैत्य बालकले गणहरू र पार्वतीपुत्रहरूलाई पुन: उक्साएर आन्दोलन गर्न लगायो । आफ्नो मागमा आश्वासन मात्र दिएर त्यसलाई त्यत्तिकै टार्न खोजेको भन्दै कार्तिकेय र विनायकले आफ्नो माग पूरा नहुँदासम्म नबिसाउने भनेर भोक हड्ताल सुरु गरे । दुई दिनसम्म पनि शिवले वास्ता नगरेपछि उनीहरू विध्वंशमा पनि उत्रिए । दैत्य बालकको उक्साहटमा विनायकले आफ्नो सुडले कैलाशका संरचनाहरू भत्काउन थाले । कार्तिकेयले नारा घन्काए । गणहरूले पनि आन्दोलनमा भाग लिए । दैत्य बालकले भने आफ्नो संलग्नता नदेखिने गरी आन्दोलनमा सहयोग गरिरह्यो । पार्वतीपुत्रहरूको त्यो मूर्खता र जिद्दीपन देखेर महादेवले उनीहरूको माग बमोजिम नै गणतन्त्रको लागि स्वीकृति दिए । महादेवले भनेपछि नन्दीले पनि कुनै आनाकानी गरेन सजिलै सत्ता छोडिदियो । त्यसपछि कैलाशको राज्य संचालन नन्दीको हातबाट गणहरूको हातमा गयो । कैलाशमा गणतन्त्र सुरु भयो ।

गणतन्त्र आएपछि गणहरू, कार्तिकेय, विनायक, बालकरूपधारी दैत्य अनि भुत प्रेतहरू सँगै मिलेर भोज गरे । कैलाश पहिले भन्दा राम्रो हुने भयो भनेर सबै खुसी मनाए ।

गणतन्त्र दिएपछि महादेव पार्वतीपुत्रहरू गणतन्त्रमा गणहरूसँग रमाएर बसिरहेका थिए । त्यसैले महादेवले गणका नेताहरूलाई “म आजदेखि केही दिनको लागि ध्यानमा बस्न जान्छु । कार्तिकेय त आफ्नो स्याहार गर्नै भैसकेको छ , विनायक अझै बच्चै छ, उसलाई राम्ररी स्याहार्नू । उसलाई अरूभन्दा बढी आहार चाहिन्छ, अलि जिद्दी पनि छ। त्यसैले उसलाई अलि विशेष ध्यान दिनू । ऊ बिरामी भयो भने राम्ररी उपचार गर्नू, उसलाई हरेक दिन पढाउनू । कैलाशका अन्य बासिन्दाहरूलाई खानपिन, सुरक्षा, मनोरञ्जन आदिमा केही कमी हुन नदिनू । सबै मिलेर बस्नू, एक आपसमा झगडा नगर्नू । अनि कैलाशलाई पनि राम्रो र व्यवस्थित गरेर चलाउनू । म पनि ध्यान खुल्यो भने आइहाल्छु ” भनेर उनीहरूलाई राम्ररी अह्राएर ध्यान गर्न कैलाशमा एउटा शान्त र सुरम्य स्थान खोजेर ध्यान गर्न बसे । नन्दी पनि महादेवकै पछि लागेर उनी ध्यान गर्न बसेको स्थान अगाडि बसेर उनी नउठ्दासम्म उनकै अगाडि जाडो गर्मी, पानी, हुरी केही नभनी थुपुक्क त्यहीँ बसेर उनको आराधनामा लाग्यो ।

माता पार्वती पनि आफ्ना पिता हिमालयलाई भेट्न हिमालय पर्वतको घरतिर लागिन् ।

उता कैलाशमा महादेव र पार्वती दुवै नभएको मौका पारी शासन सत्ता आफ्नो हातमा आएपछि दैत्य बालकको उक्साहटमा गणहरूले सबभन्दा पहिले कैलाशको ढुकुटीमा के छ भनेर हेरे । तर महादेवको ढुकुटीमा के नै हुन्थ्यो र ? तै पनि अलि अलि भएको गाजा, भांग र धतुरो जे थियो सबै खाए । त्यतिले नपुगेर भन्डारमा गएर बाल विनायकका लागि माता पार्वतीले बनाएर राखिदिएका खाने कुराहरू मोदक, लड्डुहरू खाएर केही दिनमै गणहरू विनायको भन्दा पनि ठूलो भुँडी बनाएर हिँड्न थाले । केही दिनमै कैलाशको वातावण लथालिङ्ग हुन थाल्यो ।

कार्तिकेयलाई गणहरूको काम मन परेन । त्यो लथालिङ्ग वातावरणमा बस्नु भन्दा एक पटक ब्रम्हाण्ड विचरण गर्न जाने विचार गरेर उनी आफ्नो बाहनमा चढेर कैलाशबाट निस्किए । विनायकलाई पनि केही दिन मै कैलाशमा उकुसमुकुस हुन थालेको थियो । तर न त उनी आफै त्यहाँबाट बाहिर जान सक्थे न त उनको बाहनले आफू भन्दा हजारौं गुणा अधिक वजनको गणेशलाई बोकेर लान सक्थ्यो । त्यसैले निरीह विनायक भने कैलाशमै गणहरूको ज्यादती सहेर बस्न बाध्य भए ।

गणतन्त्र आएपछि पातालमा बसेका राक्षसहरूलाई पनि कैलाशमा आवागमन गर्न सजिलो भएको थियो । डरलाग्दा अनुहारका, भिमकाय आकारका , लामा जुँगा पालेका, राता राता आँखा गरेका राक्षसहरू कैलाशमा आएर आफू मर्जी खाने, सुत्ने, मोज मस्ती गर्ने, जताततै फोहोर गर्ने, महादेवले ध्यान गर्नको लागि बनाएको ठाउँ र पार्वतीले बनाएको सुन्दर बगैंचा भत्काउने गर्न थाले । ती वस्तुहरू कैलाशको सुन्दरताको लागि कति महत्त्वपूर्ण छन् भन्ने उनीहरूलाई थाहा थिएन । उनीहरूलाई त खाली खाने, सुत्ने मस्ती गर्ने बाहेक अरू सुर्ता थिएन । त्यसै पनि उनीहरूको ध्येय भनेकै कैलाशलाई बिगार्ने र अस्तव्यस्त पार्ने नै थियो । गणहरूले राज्य सञ्चालन गर्ने भने पनि सबै निर्णय दैत्यहरूबाट नै हुन्थ्यो । कैलाशका हरेक काम कार्वाही र योजनामा गणहरूले दैत्यहरूको सुझाव र आदेश अनुसार काम गर्थे ।

विनायक बिचरा सानै थिए । उनी दैत्यहरूको वास्तविकता र उनीहरूको उद्देश्यको जानकार थिएनन् । कैलाशको राजकाजमा पूर्ण कब्जा जमाइसकेपछि दैत्यहरूले गणहरू र पार्वती पुत्र बिचमा विभाजन ल्याएर कैलाशलाई अशान्त, अस्थिर र झन् लथालिङ्ग पार्नको लागि दुवैतर्फबाट उनीहरूलाई उकास्न थाले ।

उनीहरू विनायककहाँ गएर गणहरूको चुक्ली लगाउने अनि गणहरूकहाँ गएर विनायकको चुक्ली लगाउने गर्न थाले। केही समयमै गणहरू र विनायकको बिचमा दुरी र वैमनस्यता बढ्यो । त्यो देखेर ती दैत्यहरू मख्ख परे अनि त्यहाँ आफ्नो इच्छा नुसार दुवैलाई प्रयोग गर्न थाले । राक्षसहरूसँग मिलेर गणहरूले विनायकलाई र भुत प्रेतहरूलाई एक्लाए । अनि उनीहरूलाई खान नदिने, गाली गर्ने, दु:ख दिने कामहरू गर्न थाले । भुत प्रेतहरू त्यहाँ बाँच्न नसकेर भागेर स्मशानमा गएर बस्न थाले । भयानक भुँडी भएका विनायक खान नपाई सुकेर सुइखुट्टे भए । त्यसको साटो गणहरू मोटा भए, विलासी भए । दैत्यहरू पनि कैलाशको सम्पति आफ्नै जस्तो गरेर उपयोग गर्न थाले ।

कैलाश अशान्त त अस्तव्यस्त बनाउन सफल भएपछि दैत्यहरू स्वर्गमा धावा बोलेर त्यहाँ आफ्नो राज्य स्थापित गर्ने तयारीमा जुटे ।

उता कैलाशमा विनायकको स्थिति झन् पछि झन् दर्दनाक भैरहेको थियो । उनले सहन सक्ने जति सहे । तर एकदिन उनलाई खप्नै नसक्ने गरी भोक लाग्यो । उनी गणहरू र राक्षसहरू बसेर भोजन गरिरहेको ठाउँमा गएर अलिकति खाने कुराको लागि याचना गरे । तर खान दिनु त कता हो कता गणहरूले उनलाई हप्काए । तर भोकले मरणासन्न भएका विनायक गाली सहेर पनि खानाको आशामा पर्खे । गाली गर्दा, हप्काउँदा पनि विनायक नगएको देखेपछि गणहरूले आफूले खाएर बाँकी रहेको जुठो दिएर त्यहाँबाट लखेटे ।

आफ्नो त्यो अवस्था देखेर बाल विनायकलाई साह्रै पीर लाग्यो । आफ्नै ठाउँमा, आफ्नै माता पिताको अनुग्रहमा बाँचेका गणहरूले आफूलाई त्यति तिरस्कार गरेको देखेर उनलाई निकै पीर लाग्यो । मनले त तिरस्कार सहकै थियो तर उनको भोको पेटले उनलाई सराप्न थाल्यो । आफूले गणतन्त्र ल्याउनको लागि गणहरूको लहलहैमा लागेर आफ्नै पिताजीसँग लडाँइ गरेर गणहरूले त्यो अवस्थामा पुर्‍याएको देख्दा उनलाई रुन मन लाग्यो । विनायकले जति जति आफूले गणहरूलाई लगाइको गुन र गणहरूले आफूलाई गरेको व्यवहार सम्झन्थे उति उति उनलाई असह्य पीडा हुन्थ्यो । उनले आफ्नो डाँको रोक्न सकेनन् र भक्कानो छोडेर महादेवलाई ‘पिताजी’ भनेर पुकार्दै रुन थाले ।

ध्यानमा बसेका महादेवले बाल विनायकले आफूलाई पुकारेको अनुभव गरे । विनायकलाई के भएछ त भनेर ध्यान दृष्टिले हेर्दा विनायक र कैलाशको लथालिङ्ग स्थिति देखेर निकै क्रुद्ध भई जुरुक्क ध्यानबाट उठी महादेव वायुको गतिमा कैलाशतिर लागे ।

महादेव क्रुद्ध भएर कैलाश जान लागेको थाहा पाएर दैत्य गुरु शुक्राचार्यले तुरुन्तै दैत्यहरूलाई कैलाशबाट भाग्न लगाए । कैलाशमा मस्ती गरिरहेका दैत्यहरू तुरुन्तै त्यहाँबाट भागेर महादेव नपुग्दै पातालतर्फ सुइकुच्चा ठोके ।

महादेव कैलाश पुग्दा गणहरू मातेर त्यहाँ पल्टिरहेका थिए भने विनायक चाहिँ अझै पनि बिलौना गर्दै रुँदै थिए ।

महादेव आएको देखेर विनायक रुँदै उनको पाउ परे, “पिता जी …..।”

आफ्नै घरमा आफ्नो प्रिय पुत्रको त्यो दयनीय स्थिति देखेर महादेवको क्रोधले सिमा नाघ्यो । एक शब्द पनि नबोली उनी गणहरू भएको ठाउँमा गए ।

महादेवको पदचाप सुनेर गणहरूहरू जुरुक्क उठे । नशामा लठ्ठिएका उनीहरू महादेवको क्रोधित रूप देखेपछि डरले थुरथुर काँप्न थाले । उनीहरूको सबै नशा एकैछिनमा उत्रियो । यताउता हेरे, दैत्यहरू भागिसकेका रहेछन् । कहाँ भाग्नु, के गर्नु, कसलाई दोष दिनु भनेर उनीहरूलाई ठूलो फसाद पर्‍यो ।

महादेव क्रुद्ध हुँदै सोधे, “के गरेको तिमीहरूले ? मैले तिमीहरूलाई गणतन्त्र दिएको यही गर्न हो ? हेर त यो कैलाशको हाल ? तिमीहरूलाई अलिकति पनि लाज लाग्दैन ? हेर त विनायक दुब्लाएर कस्तो भएको छ ? जसले गणतन्त्र ल्याउन तिमीहरूलाई त्यत्रो सहयोग गर्‍यो आज त्यही विनायकलाई तिमीहरू भोकै मार्दैछौ ? यही हो तिमीहरूको गणतन्त्र ? पातालका राक्षससँग मिलेर कैलाशलाई भताभुङ्ग बनाउदा तिमीहरूलाई अलिकति पनि बुद्धि पलाएन ? कैलाश हाम्रो मातृभूमि हो, हामीले यसको रक्षा गर्नुपर्छ, विकास गर्नुपर्छ, कैलाशका बासिन्दाहरू मिलेर बस्नु पर्छ भन्ने तिमीहरूलाई याद आएन ? तिमीहरू त उल्टै पातालबाट आएका राक्षसहरूसँग मिलेर विनायकलाई भोकै बनायौ, थिचोमिचो गर्‍यौ । आफू आफू बिचमा दुस्मनी बढायौ । यहाँ तिमीहरूको शासनमा बस्न नसकेर भुत प्रेतहरू कैलाश छोडेर स्मसानमा गएर बसेका छन्, कार्तिकेय मन बहलाउन बाहिर विचरण गर्न निस्केको छ । अब भन तिमीहरू के भन्छौ ? तिमीहरूले गरेको यो गल्तीको के सजाय दिनु पर्‍यो तिमीहरूलाई ? ”

गणहरूसँग केही उत्तर थिएन। टाउको निहुराएर महादेवको अगाडि उभिइरहे ।

एकछिन्‌पछि गणहरू मध्येको एकजनाले आँट गरेर भन्यो, “प्रभु हामीले गल्ती गर्‍यौँ । हामीलाई माफ गर्नुहोस् । गणतन्त्र पाएको उन्मादमा हामीले आफूलाई मात्र सर्वेसर्वा देख्यौँ । पातालका राक्षसहरूको इच्छाअनुसार काम गर्‍यौँ । मातृभूमिप्रति गद्दारी गर्‍यौँ । कैलाश अनि यहाँका बासिन्दाको इच्छा र आकांक्षाहरू लत्याउँदै विलासी भयौ। हामी सजायको भागिदारी छौँ । हजुरले हामीलाई जे सजाय दिनुहुन्छ हामी स्वीकार्ने छौँ ।”

जति क्रोधित बनेपनि सबैलाई क्षमादान दिने कमलो मनका धनी महादेवले आफ्नै गणहरूलाई किन पो क्षमा दिन्न थे र ? गणहरूले माफी मागेपछि उनको मन तुरुन्तै पग्लियो र उनले भने, “ल जे हुने भै गयो । तिमीहरूले आफ्नो गल्ती पनि स्वीकार गरिसक्यौ । गणतन्त्र भनेको मनपरीतन्त्र होइन । विनायकले त्यत्रो आन्दोलन गरेर ल्याएको गणतन्त्रमा तिमीहरूले राज गर्‍यौ तर विनायक चाहिँ भोक र थिचोमिचोमा परेर रुनु पर्‍यो । विनायक यहाँको बासिन्दा हो, यहाँको जनता हो । शासन तिमीहरूको हातमा भए पनि विनायक र यहाँका अन्य बासिन्दाको हितमा सोचेर तिमीहरूले काम गर्नु पर्थ्यो । विनायकलाई नै प्रयोग गरेर, उसको हितमा काम गर्छौं भनेर तिमीहरू कैलाशको सत्तामा पुग्यौ तर सत्तामा पुग्नासाथ यहाँका जनताहरूलाई उपेक्षा गर्दै आफ्नै मात्रै हित सोचेर काम गर्न थाल्यौ। अब त्यस्तो नहोस्।”

“अब त्यस्तो कदापि हुँदैन प्रभु, हामीलाई माफ गर्दिनुस्” गणहरूले फेरि हात जोड्दै टाउको निहुराएर भने।

त्यो देखेर महादेवले “ल ठिकै छ, मैले तिमीहरूलाई एक पटक माफ गरिदिएँ । तर राज्य सञ्चालन त्यति सहज छैन । राक्षसहरू अनेक बहानामा, अनेक रूपमा फेरि पनि तिमीहरूलाई दिग्भ्रमित गर्न, पथभ्रष्ट गराउन यहाँ आउने प्रयास गर्नेछन् । तिमीहरू निकै चनाखो भएर काम गर्नुपर्नेछ । पातालका राक्षसहरूले तिमीहरूलाई अनेक प्रलोभन देखाएर फेरि पनि कैलाश अस्तव्यस्त र अशान्त बनाउने प्रयास गर्नेछन् । तिमीहरू ती सबै प्रलोभनबाट दूर रहेर कैलाश र कैलाशबासीको हित सोचेर काम गर्नुपर्नेछ । तिमीहरूले गरेको गल्तीको सजाय स्वरूप आजदेखि मैले विनायकलाई तिमीहरूको मालिक र ईश्वर बनाइदिएको छु । तिमीहरूले उसलाई मान्नुपर्नेछ र उसको पूजा गर्नुपर्नेछ । जब जब विनायकलाई तिमीहरूले दु:ख दिन सोच्छौ, विनायकको ईश्वरको रूप तिमीहरूको सामु आउनेछ अनि तिमीहरू पुन: गल्ती गर्नबाट हच्किनेछौ । त्यसैले आजदेखि विनायकको नाम मैले गणपति (अर्थात ईश्वर ) पनि राखिदिएको छु । यदि अझैं पनि विनायक र कैलाशका अन्य बासिन्दाहरूलाई ईश्वरजस्तो नसम्झेर पहिलेकै पारामा शासन चलाउन थाल्यौ भने मैले तिमीहरूको यो गणतन्त्र खोस्न बाध्य हुनु पर्नेछ ” भन्दै आफ्नो ध्यान जारी राख्न त्यहाँबाट अलप हुँदा भए।

राजु अधिकारीको कथासङ्ग्रह ‘स्वर्गका शासक यमराज’बाट