यो हबेलीकाे बागडोरमा गाभिदै गरेकोे मेरो श्वासले अझै पनि तिम्रै नाम लिइरहेको छ, नाथमिन । नचाहँदा नचाहँदै जाेडिएकाे यो सम्बन्धकाे धरातल मेरालागि यति साँघुरो भैसकेको छ । जहाँ मेरा आँखाबाट खसेको एक थाेपा आँसु पनि त्यो धरतीमा टप्कने ठाँउ छैन । अब केवल मृत्युको लागि जिन्दगीभरकाे आशाको किरणलाई एकैपटक अञ्जुलीमा च्यापेर अन्तिम पटक तिम्रो दिव्यतामा डुब्दै संसार त्याग्न मन छ ।

प्यारी नाथमिन ! एउटा लामो समयका साथ मैले तिम्रो सामिप्यतालाई गुमाउन पुगेकी छु । अब त आफैंसँग प्रायश्चित गर्न लागेकी छु । बल्ल थाहा पाएँ; आफैंसँग प्रायश्चित गर्ने कुरा गर्दा तिमी मसँग हरेक पटक भन्ने गर्थ्याै – “लाग्छ, मैले एउटा गल्तीकाे प्रायश्चित गर्दामा सारा जीवन नै गुमाएँ ।” हो, आज म मेरालागि तिम्रै शब्दमा भन्दै छु – मैले पनि प्रायश्चित गरे आफैंसँग र अब लाग्दैछ मैले तिमीलाई चाँडै नै गुमाउनेमा छु ।’

जब उदास देखिन्छु प्रिय, तब साेच्ने गर्छु; सहजताका साथ मृत्युवरण गर्न कहाँ निवेदन दिनुपर्छ हाेला ? हो मृत्यु ! त्यो मृत्युको खाेजीमा भाैतारिएकी यात्री हुँ म । अरूले झैं देख्नु छैन मलाई यो कुरूप दुनियाँ । अक्सर मानिसहरू देखिसकेकाे दुनियाँलाई केवल शब्दले मात्र पूर्ण गर्न खाेज्छन । अनि जाे दुनियाँ देख्नेवालामा हुन्छन्; तीनमा केवल भाव हुन्छ, मिठास हुन्छ, रस हुन्छ, लाेभीपना हुन्छ तर यथार्थ हुँदैन ।आजको दिनदेखि भन्दैछु मेरी प्रिय मुसाफिर ! यो देहविहीन भैसकेको शरीरले तिम्रो रूहलाई अन्तिम पटक चुम्न चाहन्छ । त्यसरी चुम्न चाहन्छ प्रिय, जसरी बादल र पहाडकाे मिलनमा सारा प्रकृतिकाे स्वरूप नै बर्षाकाे रूपमा फेरिन्छ, त्यसरी नै ।

इलैया पाठक

कति लाेभी र कठाेर हृदयले बनेका हुदाे रहेछन यी पुरूषहरू । मैले जिन्दगीमा कहिल्यै पनि पुरूषकाे चाह राखेकी थिइनँ प्रिय । न नै यी पुरूषहरूकाे निम्ति म सुकेको दाउरा बनेर यिनीहरूको असह्य भेदनकाे तरंगमा आगाे सरि बल्न तयार थिएँ । जब यिनीहरू कुनै स्त्रीकाे नजिक पर्दछन त सर्वप्रथम यी प्राणीहरूकाे नाकमा स्त्रीकाे शरीरको गन्ध पुग्दाे रहेछ । कठाेर हृदयले भरिएका यी सजिव सालिकहरूमा केवल विर्यकाे स्खलनले स्त्रीकाे शरीरमा मडारिनु मात्र स्वप्न देख्दाे रहेछ । शरीरभरि नाङ्गो स्त्रीलाई च्यापेर प्रत्येक हातले स्त्रीलाई कलंकित गर्दै आफ्नोे लिंगलाई तृप्त बनाउने जिउँदो सालिकको रूपमा मैले एउटा पुरूषकाे दुष्टाईलाई सहिरहेकी छु । प्रिय नाथमिन ! यो मेरो पत्रले तिम्रो हातलाई स्पर्श गर्दा म तिम्रोलागि अनन्त यात्राको पर्खाइमा उभिएकी हुनेछु, तिम्री पत्नी बनेर ।

प्रयागराज इलाहावाद विश्वविद्यालयकाे गेटमा देखेकी तिमीलाई आज अन्जान पुरूषकाे सम्पत्ति बनेर ठडिएकाे यही हबेलीकाे गेटमा उहीँ तिमीलाई देख्ने स्वप्न राख्दैछु म । तिम्रा खैरा आँखासँग आफ्ना काला आँखा जुधाउदै तिम्रा चिसा हातहरूलाई छुन आतुर भएका छन मेरा यी हातहरू । लालायित बनेर पग्लदै छन यी वरफरूपि आगाेका काेइलाहरू । धैर्यताकाे जंघार नाघेर समाजमा बच्न नसकेको इज्जतमा बेइज्जतीकाे खेती गर्ने साहस ममा छैन प्रिय ! त्यैपनि त्यो आशलाई अब अवसान गर्ने समय आएको छ ।

अझैसम्म पनि मलाई थाहा छ प्रिय । तिमी त्यहीँ मुसाफिरखानामा उभिएर त्यही मुसाफिरलाई कुरिरहेकी छ्याैं । जाे तिमीलाई प्रयागराजमा छाडेर नेपाल फर्कीएकी थिइँ समाजद्वारा नै तिमीलाई पाउने एक आशामा । आशावादी पनि त चैत र बैशाखकाे सम्बन्ध जस्तै त हुँदाे रहेछ नाथमिन । यी सम्बन्धहरू एकै धागोमा अँडकिएकाे भए पनि अल्लाेछेउ र पल्लोछेउ भए । अनि हामी आशावादीका केवल पात्रहरू भयौं । जहा हजारौं सम्बन्धहरू समाजकाे बदनामी र परिवारकाे गलत्याईमा सदाको लागि झुक्नुपर्ने रहेछ ।

प्रयागराजकाे गल्ली गल्लीलाई थाहा छ । इलाहाबादकाे नामले पुकार्ने अल्लाहलाई थाहा छ – मैले अनिष्ट गरेकी छु यो धरतीमा । जसको सर्वमान्य नीतिमा मैले परिवर्तन गराएर तिमीलाई राेजे । प्रयागराजकाे हरेक मन्दिरमा गएर हामीले वरदान माग्याैं । प्रयागराजकाे हरेक मस्जिदमा गएर नमाज पढदै दुवा माग्याैं । ईलाहाबाद युनिभर्सिटीकाे क्लास रूमदेखि वाथ रूम सम्मका चखेवी भित्ते आँखाले हामीलाई चिहाएका थिए । कहिले अगम्याकाे रूपमा त कहिले कलंककाे रूपमा ।

नेपाल फर्किएपछि मैले मेरो परिवारलाई भनेकी थिएँ – तपाईं जुन डरले मलाई देशको सिमा पार गराएर फर्कनुभएकाे थियो । त्यो दुर्भाग्यलाई मैले पुनः लिएर आएकी छु नाथमिन बनाएर । यति भन्ने आँट ममा कहाँबाट आयो थाहा भएन । तर मलाई थाहा थियो त्यो आँटमा तिमी थियौँ भनेर ।

सबैले मलाई राम्री छेस भन्थे । ठूलाघरकाे आँगन मेरो घरसम्म आउछ भन्थे । तर उनीहरूले कहिल्यै पनि जान्न नै चाहेनन् कि मसँग एउटा मायालु मुटु पनि छ भनेर । निर्दाेष विशेषताहरूले भरिएको । र त्यसरी नै मेरा याैवनहरू कुनै स्त्रीकाे अगाडि झुक्छ, लजाउछ, भाग्न खाेज्छ, अँगाल्न खाेल्छ, काेपार्न खाेज्छ आदि इत्यादिले भरिएको छ भनेर । उनीहरूलाई डर छ आफैंसँग । उनीहरूलाई डर छ आफैंले बनाएको समाजसँग । अनि मलाई डर थियो आफ्नै नियतिसँग । डराउनु आवश्यक थियो हाेला आफ्नै नियतिसँग । तर, डराउ पनि कसरी ? नियति कुनै भगवान थिएन जसको म पुजा गरूँ । नियति कुनै पैगम्बर थिएन जसको म इबादत गरूँ । नियति स्वयं म आफै थिएँ । म सबैसँग डराए तर अफसाेच आफैसँग डराउन भुलेछु ।

बाबाले खान लाग्नुभएको खानाको थाल पर सारेर उठाउनु भयो । भाइ मुखभरिको भात मुखैमा लिएर बाहिर गई थुक्याे र चुल्होमा फेरि पसेन । बुढी हजुरआमाकाे अनुहारमा समाजको नियति देखियो । हजुरबुबाले भने मेरी आमा तर्फ हेर्नुभयाे । आमाले आफ्नो काेखमा हात राख्दै मेरो नियति हेर्नुभयाे र मेरो जन्मका साथ नियतिले उहाँको काेखलाइ पनि बदनामीमा पायो ।

बन्द काेठामा आमाको हातकाे पिटाइ, भाइकाे थुकाइ, बाबुको अस्विकाराेक्ति, हजुरआमाले देख्नुभएकाे नियति र हजुरबुबाबाट पाएकाे बदनामी । यी सबै स्विकार्दै गए प्रिय मैले । किनकि, मैले चन्द्रमाकाे प्रकाशलाई छाडेर उसको दागलाई राेजेकी थिएँ । त्यस दिनपछि सम्झिए । दुख त त्यो हो जसको परिभाषा मेरै आँखाको आँसु हो जुन आफ्नै ताैलकाे कारणले आँखाबाट झर्छ र हरेक निर्णयलाई दह्रो बनाउदाे रहेछ ।

परिवारले मेरो विवाहको निर्णय गरिदियाे । मलाई साेधिएन । सायद साेध्न पनि आवश्यक ठानिएन । जसलाई कुनै पुरूष नै मन पर्दैन भने उसँग उसको लागि कुनै पुरूष लाेग्ने छनाेट गर्नु सायद समाजकाे समग्र नियतिले स्वकार्दाे हाेला तर मैले उसलाई स्विकारिन । मेरा बाबुले मेरालागि तीस बर्षकाे विधुर पुरूष ल्याए आँगनमा ज्वाइँ बनाएर । मलाई जबर्जस्ती स्विकार्न लगाईयाे उसलाई । उसको गालामा उम्रिएकाे खस्रो दारीसँग मैले आफ्नोे गाला जाेडनुपर्ने भयो । उसका बलिस्ठ बाहुमा मैले आफ्नोे स्तनलाई दबाउनु पर्ने भयो । उसका काला रंगका खुट्टाले अब प्रत्येक रात मलाई दाेषीलाई झैं अदालतको कठघरामा उभ्याउने भयो ।

आफ्नो नियतिले तानेको बाटोमा निस्कनु पूर्व साैदागिरीकाे बजारमा आफ्नो मूल्य सुन्न पाएँ । त्यस पुरूषले मेरा बाबुलाई पाँच लाख तिरेर मलाई खरिद गरेछ । बदलामा मेरा बाबुले मलाई माइत आउन आवश्यक नरहेको भन्दै मेरालागि कारागारको हबेलीमा चाैकीदार समेतकाे रखवाला नियुक्त गर्न आग्रह गरे ।

हातमा रहेको द कलर पर्पल पुस्तककाे बिचमा रहेको तिम्रो तस्बिरलाई अन्तिम पटक चिहाएर हेरे । अनि कसैले थाहा नपाउने गरि च्यातेर फ्याक्नु बाहेक ममा अरू कुनै सक्षमता थिएन । जिन्दगीको हरेक गतिमा हृदयको गीतमा भेटेकी थिएँ तिमीलाई । जसलाई अर्को मनले नगाएसम्म ताल नआउदाे रहेछ । अन्तिम तालको अरण्यले जितेको पितृवात्सल्यले जन्मेकी उनकी पुत्री भएर अन्तिम पटक उनैको आँगनीमा धन र इज्जत सुप्पिई मैले आफू उनको सन्तान हुनुको दायित्व पूरा गरे प्रिय तिमीलाई गुमाएर । आफूलाई जलाएर । लैङ्गिकताकाे ज्वालामा याेनीलाई जलाएर भावले हवन गरेकी छु जिन्दगीभरकाे सुखलाई त्याग गरि दुखलाई राेजेकी छु ।

***

इलाहाबाद विश्वविद्यालयले मेरो हातमा सर्टिफकेट त थमाईदियाे । तर आधारहीन अस्तित्वले बुनिएका ती सर्टिफिकेटहरू जसमा माकुराका जालले बतासलाई राेक्ने सामर्थ्य नभएको जस्तो । प्रतिवादकाे लागि शब्दहीन । अस्तित्वको लागि आधारहीन । बन्द काेठामा उसले मसँग प्रश्न गर्याे कि इलाहाबाद विश्वविद्यालयमा मेरो सम्बन्ध काेसँग थियो भनेर । समाजसँगकाे पृथकतालाई वर्णन गर्याे । उसको वर्णनमा उसलाई पत्नी हाेइन उपवस्त्रकाे आवश्यकता पाएँ । समाजकाे कठाेरतालाई बन्द काेठामा भाेग्न थाले । विवाहको पहिलो रात मैले आफैंलाई बेचिदिए उसको सामु । उसकाे नङ्ग्राकाे सामु आफूलाई विछ्याए । उसमा करूणा थिएन मात्र करूण राेदनकाे चीत्कार सुन्ने जागृति थियो । उसमा मानवता थिएन, मानव भित्रकाे पुरूषकाे लालसा थियो । अपमान थियो । बचावटकाे लागि तानेको साडी उसको अगाडि कमजोर भयो । मेरा हात बाँधिए । मेरा मुख थुनिए । साेच्छु यी पुरूष बनेका पुरूष नामधारीहरूले नारीको इज्जत लुटन कत्तिसम्म सामर्थ्य जुटाउन सक्दाे रहेछ है । पानीबाट जाल उतारेकाे झै नारीका शरीरबाट उसका वस्त्र उजाड गर्न यिनलाई कठिन हुँदैन । म भन्छु प्रत्येक पुरूष एक प्रकारकाे असभ्य बलात्कारी हाे । मात्र ऊ परिस्थिति नआएसम्म विवाह बन्धनमा बाँधिएपछि सभ्य बलात्कारी बन्ने प्रयास गर्दछ ।

प्रिय नाथमिन ! के सृष्टि महिला र पुरूषकाे याैन क्रिडाले मात्र चल्ने हो ? के यहाँ भावनालाई स्विकारिदैन । म अझै पनि भन्छु ‘म स्त्री हुँ र स्त्री नै रहनेछु । मात्र स्त्री कि स्त्री बनेर ।’ मेरो निर्णय सुने मेरा परिवारले । मलाई अस्विकार गरे मेरै परिवारले । नगदकाे मुठाेमा मलाई अर्कैकाे सम्पत्ति बनाइदिए मेरा परिवारले । अनि म । के म मानव हाेइन र ? के म स्त्री हाेइन र ? के मलाई जन्माउने स्त्री हाेइनन र ? यदि हुन भने उनले मलाई किन त्याग गरिन । यदि उनले मलाई जन्माएकी हाेईनन भने ममाथि उनको आफ्नोे जबर्जस्ती प्रभुत्व किन ? म उत्तरहीन प्रश्नहरूका प्रश्नपत्रकाे पाना हुँ । जहाँ म आफैंले स्विकारेकी आफ्नोे लैङ्गिकता थियो । म थिएँ । मेरो सपना थियो । अनि म एक पवित्र थिएँ ।

समय धेरै बदलिसकेकाे छ नाथमिन । त्यो इलाहाबादकाे चाेककाे इमलीकाे वृक्ष बनिसकेकी छे तिम्री प्रिया । उसले केवल धरतीलाई मात्र प्रेम गर्छे तर उसकाे भाेग आज पनि सबैले गरिरहेका छन् ।

ऊ आउँछ मेरो नजिक प्रत्येक रातमा । मलाई उसको शरीर कुनै भद्दा ट्रककाे भार जस्तो लाग्छ । उसको शरीरबाट आएको गन्धले मलाई आफैंबाट खाेस्दैछ प्रिय । असह्य पीडाले थिचिएकी छे तिम्री अभागिनी । साैभाग्य लुटिएको शिरमा अझै पनि तिम्रै छायाकाे आशमा बाँचेकी छे तिम्री अभागिनी । तिम्री ती प्रिय अभागिनी म नै हुँ प्रिय ! जसका आँखामा तिम्रो तस्बिर छ र त्यो तस्वीर छुन आँखाबाट समुन्द्रकाे भेल बनी आँसु बगिरहन्छ ।

रक्सीले मातेकाे उसको कठाेर हातले प्रत्येक रात मलाई पिटिरहन्छ काेर्राले । उसका कामुक याैवनका अगाडि म मरिसकेकी छु । ऊ इदम प्राणी हो । उसको व्यवहार पशुवत् छ । पसिनाले भिजेकाे उसको शरीरले मलाई हरपल च्यापिरहन्छ ।

कहिलेकाही त उसको व्यवहार यति लज्जास्पद हुन्छ कि ऊ मेरो शरीरभरि पिसाब पेर्न समेत डर मान्दैन । मुखभरिकाे थुकले मलाई पुरिदिन्छ । अनिदा रातमा बस्न मेरा आँखाहरू अभ्यस्त भैसकेका छन । चिसा भुँइहरूसँग मेरा शरीरले मित्रता गासेकाे छ । ऊ प्रत्येक रात नयाँ नयाँ युवती ल्याउछ र सबैसँग त्यही व्यवहार गर्छ जस्तो व्यवहार ऊ मसँग गरिरहन्छ । जब उसलाई सन्तुष्टि प्राप्त हुँदैन तब ऊ मेरा समक्ष प्रकट हुन्छ र अलच्छिनाकाे संज्ञा दिँदै ऊ मलाई नथाकेसम्म कुटिरहन्छ । तर मलाई उमाथि दया पनि लाग्छ । म जति नै स्त्रीकाे स्त्री बनिसकेकी भए पनि उसको याैवनले यो स्वीकार गर्दैन कि म कुनै वर्ग भित्रकी समलिङ्गी स्त्री हुँ भनेर ।

मृत्युको लागि मेरालागि एक हातकाे साडीकाे टुक्रा नै पर्याप्त छ प्रिय । तर डर लाग्छ त्यो साडीकाे टुक्रासँग कतै म सदाको लाग मुसाफिर न बनुँ । मेरालागि यो मृत्यु यति सहज हाेस कि: प्रिय मुसाफिर ! द कलर पर्पलका प्रत्येक पन्नाहरूमा लेखिएको अ लेस्बियन एक्सप्रेस झैं मृत्यु पछि पनि समाजकाे नियतिसँग पर हटेर तिम्रै अभागिनी बनिरहन पाउँ ।