ऊ उपेक्षा र बन्धनको मान्छे । मान्छे मात्रै नभएर सम्भवतः मान्छेभन्दा केही भिन्दै मान्छे । कसैको आँखामा बहुला । कसैको आँखामा क्रान्तिकारी । कसैको आँखामा लेखक । कसैको आँखामा एउटा सामान्य मान्छे । धेरैको आँखामा वास्ता नगरिएको मान्छे । सबैभन्दा अनौठो र अचम्मको जीव मानिने मान्छेको सन्तान मान्छे ऊ ।

तिमीहरूले भेट्यो भने तिमीहरूलाई थाहा छैन जस्तो लाग्छ ऊ ।

“मलाई आकार भन्छन्‌ ।”

ऊ परिचयको सन्दर्भमा भन्ने गर्छ अर्थात्‌ तिमीहरूलाई त्यसो भन्ने गर्छ या भन्नेछ । तिमीहरूले उसलाई आ-आफ्नो परिचय दिँदा उसले त्यसमा ख्याल राख्तैन । तिमीहरू सोच्छौ- त्यो ठूलो हुन चाहने मान्छे वा घमन्डी मान्छे ।

“म साधरण र तुच्छ जीव हुँ ।”

उसले त्यसो भन्नेछ जब तिमीहरू उससँग बोल्न खोज्छौ । अनि तिमीहरू उसप्रति अरू नै धारणा लिन तरखर गर्दा ऊ हाँसेजस्तो हुन्छ । तर हाँसेको वा गम्भीर भएको हो, तिमीहरू माल होइनौ सम्भवतः कसैले पनि छुट्याउन सक्तैनन्‌ । तिमीहरूलाई ऊ बस पनि भन्दैन । तिमीहरू बस्यौ भने उसलै नबस पनि भन्दैन । कुरा सुन्छौं तिमीहरू भने ऊ भट्याउन थाल्छ । तिमीहरू उसको बयान, उसको व्याख्या के हो सुन्न बाध्य हुनुपर्छ या तिमीहरू अर्थात्‌ कोही पनि ।

“मलाई बन्धनमा बाँच्न मन लाग्दैन ।”

उसको यो भनाइ तिमीहरू बुझ्दछौ बा बुझ्दैनौ त्यौ उसले वास्ता राख्दैन जुन तिमीहरू सायद अचम्म मान्नुपर्ने विषय ठान्छौ ।

अशेष मल्ल

“म सडक हुँ जसमाथि यो वर्तमानले पाइला हालेर भत्काउन आँटि सकेको छ र तपाईंहरू पनि सायद यसैले आउनुभएको … आउनुहोस्‌ , टेक्नुहोस्‌ म सडक हुँ, मलाई टेक्नुहोस्‌…”

ऊ यसरी फतफताएपछि तिमीहरू त्यसको अर्थ बुझ्नेतिर जान्छौ सायद । यो पनि सम्भव छ कि तिमीहरूमध्ये कसैले मनमनै उसलाई बहुला सोच्ने गर्छौं ।

“यी औंलाहर अब बर्सातपछिका सुक्खा धर्ती जस्तै फुट्न लागेका छन्‌ । यहाँबाट अब कोही पनि जन्मन सक्तैनन्‌ । यो कलम समाउन योग्य छैन अब । यी औंलाहरू जङ्गलका रूखका हाँगा हुन्‌ जसलाई बन्चराले हानेर दाउरा बाल्न प्रयोग गर्ने गरिन्छ । म बन्धनमा बाँचेको छु, म आकार हुँ आकार । मलाई बन्धन मन पर्दैन ।”

ऊ भन्दै जान्छ जब तिमीहरू उसलाई सुन्न थाल्नेछौ । तिमीहरू अचम्म मान्नुलाई ऊ विशेष केही ठान्दैन ।

“के तपाईहरूलाई बन्धन मन पर्छ ?”

उसले प्रश्न गर्नेछ तिमीहरू पक्कै पनि एकछिन अकमकिनेछौ । तर जबाफको लागि ऊ पर्खने छैन । उसलाई सायद जबाफ वा तिमीहरूको भनाइसँग सरोकार छैन ।

“मलाई थाहा छ तपाईहरूलाई बन्धन मन पर्दैन ।” ऊ त्यसपछि गम्भीर बन्दै जान्छ । तिमीहरू शून्य-शून्य बन्दै जानेछौ । कसैले केही बोलिहाल्यो भने ऊ नसुने वा नदेखेझैँ गर्नेछ । जसलाई तिमीहरू पागलपन ठान्न सक्छौ वा ठान्ने गर्छौ ।

“मेरो जिब्रो वर्तमानले सापटी मागेर लगेको छ । म स्वाद थाहा नपाउने भएको छु । म उधारोमा बाँचेको मान्छे ।”

“म…म सडक हुँ ।”

ऊ हाँस्नेछ तिमीहरू चुप लाग्यौ भने मात्रै ।

“तपाईंहरू किन आउनुभएको ? मलाई प्रयोग गर्न ? हो ! म प्रयोग हुँ । मात्रै प्रयोग । मलाई वर्तमानले प्रयोग गरेको छ। म आफैंमा अपूर्ण मान्छे । यो वर्तमानले मेरो पूर्णतालाई चुडेर लगेको छ ।”

ऊ बोल्दै जाँदा तिमीहरूमध्ये कोही अचम्म मान्छौ उसको त्यो अप्रासङ्गिक कुरा सुनेर ।

“म बहुला हुँ । बहुला । मान्छेले मान्छै भएर बाँच्न पाएन भने ऊ बहुला हुन्छ । त्यो मात्रै बहुला हुन्छ जसले आफूलाई मान्छे हुन नपाएको अनुभव गर्छ । जसले मान्छै हुन नपाएको कुरा आफैं अनुभव गर्छ । हो ! त्यो म हुँ जसले यी सब महसुस गरिसकेको छु । त्यसैले म बहुला…।”

भन्दाभन्दै उसले पानीको गिलास हातमा लिएर एक चक्की झोषधि खानेछ ।

“…यो औषधिले म बाँच्नुपर्ने दिनहरू सापटी माग्दैछु । म…म उधारोमा बाँचेको मान्छे ।”

तिमीहरू उसको कुरा सुन्दासुन्दै रून खोज्नेछौ । ऊ अनि त्यहाँबाट उठ्दै जानेछ ।

“तपाई हरू बन्धनमा बाँच्न सक्नुहुन्न । नत्र…नत्र म जस्तै बहुला भएर बाँच्नुपर्छ । म जस्तै….।”

ऊ अनि उठेर जानेछ । त्यस बेला तिमीहरू अचम्म मानेर हेरिरहनेछौ ।