
“मान्छे कसरी बन्ने थाहा छैन, तँलाई ?”, एक झापड हान्छिन् रूपवतीले कालेलाई । तीन फन्का घुमेर सोफाअगाडि गलैँचामा पछारिन्छ काले । रूपवती भन्दै जान्छिन्, “मान्छे बन्न सिक् कुकुर, मान्छे बन्न सिक् । मान्छेको अनुहार लिएर जन्मिँदैमा, मान्छेको शरीर लिएर जन्मिँदैमा मान्छे भइँदैन, बुझिस् काले, नाम पनि काले काम पनि कालो ।”
सोफामा खेलिरहेको कुकुरको छाउरो पप्पीलाई काखमा लिँदै भन्छिन्, “बिचरा मेरो पप्पीलाई अहिलेसम्म भोकै राखेर हेर ।”
पप्पीलाई रूपवतीले काखमा राखेर दूध र भात खुवाउन थाल्छिन् । रूपवती भन्छिन्, “ओए काले, सुन्, भोलिदेखि बिहानै यो मेरो पप्पीलाई नुहाइदिनू, दूधभात खुवाउनू, बुझिस् काले, मान्छे बन्न सिक् मान्छे ।” काले रूपवतीको कुरा सुनिरहन्छ । पप्पीलाई दुधभात खुवाएको हेरिरहन्छ ।
एक वर्ष भयो कालेलाई रूपवतीले गाउँबाट पप्पी हेर्नलाई ल्याएको, कालेको काम पप्पीलाई नुहाइदिने, दुधभात खुवाउने, दिसापिसाब गराउने हो । कालेका बाबुआमाबाट छुटाएर ल्याउँदा काले आठ वर्षको थियो, अहिले नौँ वर्षको भयो । ऊ पढाइमा पनि राम्रो छ । पप्पीको स्याहारचाकर सकेपछि बेलुकी ऊ पढ्छ पनि ।
बिहानै रूपवतीका श्रीमान् हरिनारायण सोफामा बसेर चिया पिइरहेका छन् । यत्तिकैमा काले दौडिँदै आएर भन्छ , “अङ्कल, एकछिन् मोबाइल दिनुस् न ।”
“किन चाहियो तँलाई मोबाइल ?” हरिनारायणले प्रश्न गर्छन् । अनि कालेले जवाफ दिन्छ “गुगलमा एउटा कुरा खोज्नु छ, अङ्कल ।” खित्का छोडेर हाँस्दै हरिनारायणले भन्छन् “के खोज्नुपर्ने तँलाई गुगलमा ? जा, चुपचाप गएर पप्पीलाई दुधभात खुवाउने काम गर् । जा, गइहाल् ।”
अनि कालेले भन्छ, “अङ्कल दिनुस् न, एउटा कुरा सर्च गर्छु । एकदमै महत्त्वपूर्ण कुरा छ, अङ्कल ।” यत्तिकैमा काखीमा पप्पी च्यापेर रूपवती आइपुग्छिन् अनि भन्छिन्, “ओए तँ यहाँ पो छस्, मेरो प्यारो पप्पीलाई दुधभात खुवाउनु पर्दैन ? तँलाई कति भन्नु, ल.. जा यो पप्पीलाई लगेर दिसापिसाब गराएर ले अनि त्यो स्याम्फु लगाएर राम्ररी नुवाइदे ।”

डम्बर बिकेल
कालेले पप्पीलाई लिएर बाथरूमतिर जान्छ । हरिनारायणले श्रीमतीसित भन्छन्, “हेर न रूपवती, यो कालेलाई पनि मोबाइल चाहिने भो रे । ”
रूपवतीले भन्छिन्, “किन चाहियो रे मोबाइल त्यसलाई फेरि ?”
“खै, गुगलमा के सर्च गर्नु छ भन्दै थियो ।” हरिनारायणले भन्छन् । “मैले मान्छे बन्न सिक् भनेको थिएँ, त्यही भएर मान्छे कसरी बन्ने भन्ने तरिका सर्च गर्नलाई होला ।” रूपवतीले भन्छिन् । “ए हो र ? मान्छे बन्न सिक्ने हो भने त राम्रो भै गो नि ।” हरिनारायणले भन्छन् । श्रीमान् श्रीमती कुराकानी गर्दागर्दै एकछिनपछि कालेले पप्पीलाई नुहाएर ल्याउँछ । रूपवतीले पप्पीलाई काखमा लिन्छिन् । पप्पीलाई चुम्मा गर्छिन् अनि कालेलाई भन्छिन्, “यस्तो हुन्छ नुवाइदिएको छ्या छ्या हेर, मेरो प्यारो पप्पीलाई भिजाएर मात्रै ल्याएछ । हन, ए काले, तँलाई कति भन्नु, मान्छेको शरीर, मान्छेको अनुहार लिएर जन्मेर मात्रै हुन्छ, मान्छे जस्तो काम गर्नुपर्दैन ? ओए, काले कुकुर मान्छे बन्ने कोसिस गर्, मान्छे बन्ने । कति भन्नु तँलाई, मान्छे बन मान्छे ।” रिसाउँदै रूपवतीले कालेलाई कपालमा समातेर झाङ्गलझुङ्गल पारेर लडाइदिन्छिन् । काले पछारिएर लडेपछि हरिनारायणको अनुहारमा हेर्छ । त्यसपछि रूपवतीको अनुहारमा हेर्छ र अन्त्यमा पप्पीलाई नियालेर हेर्दै मनमा केही कुरा खेलाउन थाल्छ ।
भोलिपल्ट साँझतिर ओछ्यानमा आफूसँगै पप्पीलाई सुताएर रूपवती सुतिरहेकी छिन् । पप्पी मस्त निद्रामा छ । रूपवतीले पप्पीलाई अँगालो हालेर अर्धनिद्रामा छिन् । यत्तिकैमा काले आउँछ अनि भन्छ, “आन्टी, आन्टी, मलाई एकछिन् हजुरको मोबाइल दिनुस् न ।” रूपवती रिसाउँदै भन्छिन्, “किन चाहियो तँलाई मोबाइल, भाते उता जा, यहाँ मेरो प्यारो पप्पीसित सुतिरहेको देखिनस, डिस्टर्भ गर्छस् ।”
कालेले भन्छ, “होइन आन्टी, दिनुस् न मोबाइल, गुगलमा एउटा कुरा सर्च गर्नु छ, दिनुस् न आन्टी ।”
“छैन गुगलसुगल मेरो मोबाइलमा, जा.. भाग्, के सर्च गर्नुपर्यो तँलाई गुगलमा ।” रूपवतीले भन्छिन् ।
“आन्टी, दिनुस् न, दिनुस् न, ल ।” कालेले भन्छ ।
“ओए कुकुर भनेको लाग्दैन तँलाई, कति भन्नु । यहाँ मेरो प्यारो पप्पीसँग सुतिरहेको बेला डिस्टर्भ गर्छस् । मान्छेजस्तो व्यवहार गर् न, मान्छे बन् ।” रूपवतीले भन्छिन् । काले रूपवतीले अंगालो हालेर सुतिरहेको पप्पीलाई हेरिरहन्छ, मनमा केके सोचिरहन्छ ।
भोलिपल्ट बिहान कालेले पप्पीलाई नुहाएर ल्याउँछ । सोफामा रूपवती कचौरामा मासु र भात लिएर बसेकी हुन्छिन् । उनले पप्पीलाई काखमा राखेर मासुभात खुवाउन थाल्छिन् । पप्पीलाई चुम्मा गर्दै मासुभात खुवाउँदैछिन् । यता काले पप्पीले मासुभात खाएको देखेर थुक निल्न थाल्छ । कालेले थुक निलेको देखेर रूपवतीले कालेलाई एक झापड हान्छिन् र भन्छिन्, “चोखे लाउँछस् मेरो पप्पीलाई ।”
पर्सिपल्ट साँझतिर रूपवती चिच्याउँदै चिच्याउँदै श्रीमान्को नजिक पुग्छिन् । “बुढा,बुढा मेरो मोबाइल चोरी भयो, कस्ले चोर्यो मेरो मोबाइल, हेरिस्यो न, मैले त्यहीँ सोफामा राखेकी थिएँ । एकछिन किचनबाट फर्केर आउँदा मोबाइल छैन । अब के गर्ने होला ?” रूपवतीले भन्छिन् ।
“अब के गर्नु नि, हराएपछि खोज्नुपर्छ नि तर कहाँ पो खोज्ने होला ? कस्ले लग्यो होला ?” हरिनारायणले भन्छन् । अनि रूपवतीले भन्छिन्, “खै, कस्ले लग्यो..लग्यो, त्यति राम्रो मोबाइल, त्यति महङ्गो मोबाइल ।”
“कस्ले चोरेजस्तो लाग्छ तिमीलाई ?”, हरिनारायणले प्रश्न गर्छन् ।
जवाफमा रूपवतीले भन्छिन्, “अस्तिदेखि त्यही कालेले मोबाइल मागिरहेको थियो, त्यसैले लग्यो होला ।”
हरिनारायण भन्छन्, “हो, मलाई पनि त्यस्तै लाग्दैछ, त्यसैले लगेको हुनुपर्छ ।”
रूपवती भन्छिन्, “मैले त्यसलाई मान्छे बन् मान्छे बन् भनिरहन्थेँ, गुगलमा खै के सर्च गर्नु छ भन्थ्यो, पक्कै पनि मान्छे कसरी बन्ने भनेर जान्नलाई उसले गुगलमा सर्च गर्न मोबाइल लगेको हुनुपर्छ ।”
अनि हरिनारायणले भन्छन्, “हो पक्कै त्यही हुनुपर्छ, खै कहॉ छ त्यो काले ? ल.. हिँड, जौ खोज्न ।” श्रीमान् श्रीमती घरको चारैतिर खोज्न थाल्छन् ।
काले भान्साकोठाको ढोकापछाडि चेपमा लुकेर मोबाइल हेरिरहेको छ । उसले गुगलमा सर्च गरेर एउटा लेख पढिरहेको छ । यत्तिकैमा हरिनारायण र रूपवती आइपुग्छन् र हेर्छन् । श्रीमान् श्रीमती दुबैजनाले मनमनै सोच्छन् कि काले गुगलमा मान्छे बन्ने तरिका पढिरहेको छ । काले उक्त लेख एकाग्र भएर पढिरहेको छ । श्रीमान् श्रीमतीले चियाएर मोबाइलमा हेर्छन् । उनीहरू छक्क पर्छन् । कालेले पढिरहेको लेखको शीर्षक थियो, “कुकुर बन्ने कसरी ?”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

