क्या गधाको जुनी पाइएछ । जेठको घाममा मोटरमुनि सुतेर काम गर्नु यो कष्ट यी यस्तै काम गर्नेहरूलाई मात्र थाहा हुन्छ । मोटर चढेर हिँड्नेहरूलाई थाहा हुँदैन । थुक्क पाजी जीवन… आज सिनेमा हेर्न जाने प्रोगाम थियो मालिकले ओभर टाइम थपिदियो मालिकलाई थाहा छैन काम गर्ने कुरा । मालिकलाई फुर्सदै फुर्सद छ, त्यसैले एउटा काम गर्ने मान्छेको फुर्सद कस्तो हुन्छ त्यो पनि उसलाई थाहा छैन दिमागभित्र म रिसले र गर्मीले एक साथ पाकेको हुन्छु । विस्स्तारै घस्रिएर बाहिर निस्कन्छु, डाङरी आगो जस्तो बाफिएछ । पेट्रोल र मोबिलका आफ्ना मौलिक गन्ध बोकेर म एउटा ट्रकको आडमा शीतल ताप्न बस्छु ।
“हो गया दिलका पुर्जा पुर्जा” भन्दै क्लिनर ठिटो एक गिलास चिया बोकेर आउँछ, म गर्जिएर भन्छु, “भोलिदेखि यस वर्कशपमा चिया नपकाउलास्, कुकुरको मुत जस्तो हुन्छ चिया ।”
ऊ जिल्लिएर मलाई हेर्छ त्यसपछि खिसी गरेर भन्छ, “यो मालिकको वर्कशप हो बाबु यहाँ तिम्रो हुकुम .. गाह्रै पर्ला ।”
मालिक कौशीबाट कालो चस्मा लाएर यतै हेर्न लागेको छ सायद मलाई नै हेरेको हुनुपर्छ। म अझ आडमा बस्छु चिया पनि खान नपाउनु ? आखिर मैले नै सिध्याउनुपर्छ त्यो मोटर ! मालिकको वर्कशप हुँ। नाकबाट केही चियाका थोपाहरू निस्कन्छन् । खोस्नपर्ने अवस्था हुन्छ … उफ् !
“क्या हो, आज भाउजूसँग सावन-भादो ” क्लिनर गिलास उठाउन आउँछ । म रिसले आँखा देख्दिनँ जुत्ता खोलेर मुखै मुखमा हिर्काउन मन लाग्छ क्लिनरको । मन बाँधेर गिलास उठाउन लागेको उसको हात च्याप्प समात्छु, “जोरी खोज्छस् भोटे ।”
ऊ मरी-मारी हाँस्छ किनकि ऊ जान्दछ यो मालिकको वर्कशप हो । उसलाई बिस्तारै छोडिदिन्छु। ऊ भाग्दैन पनि ठुटो चुरोट पर्खेर बसिरहन्छ । भर्खर स्वर फुट्न लागेको भोटे केटो, पहेँला आँखाहरू, खपटे अनुहार जति खोजे पनि उसको अनुहारमा एक दिनभरिको कार्यक्रम मात्र हुन्छ । यस्तो लाग्छ पछिको निम्ति ऊ बाँचेको होइन ।
टुक्रुक्क बसेर नाकबाट धुवाँ निकाल्न थालेपछि मलाई उसको कता कता माया लागेर आउँछ । मेरो यत्रै एउटा छोरा छ।
“हिजो कहाँ सुतिस् रे भोटे ?’
“जाँड खा’को ठाउँमै” क मुस्कुराउँछ। ऊ हाँसेको मेरो मुटुमा काँडा जस्तै बिज्छ ।
“यो उमेरमा त किन त्यसरी लागू भएको भोटे ?”
“हजो त उधारो खाएर सुतेको ऊ मेरो कुरा सुनेकै हुँदैन ।
“तँलाई त्यहाँ उधारो पनि दिन्छ ?”
“बाबु साक्षी राखेर” ऊ घमण्ड गरेर उठ्छ र गिलास बोकेर जान्छ।
पछिबाट हेर्छु ऊ मोटरको बल्टु जस्तै खिइँदै गइरहेको छ । यो यहाँ आएको पनि तीन वर्ष भइसक्यो । यो तीन वर्षभित्र मालिकले एउटा भक्स्ब्यागन अरू किन्यो । दुवैको तीन-तीन वर्ष अनौठो छ बा यहाँ। खिइनु, बढ्नु, जम्मा हुनु मेरो दिमागमा हिसाब उत्रन थाल्छ । निधारबाट पसिना बगेर नाकको डँडाल्तीमा आइपुग्छ, ओठमा पस्छ नुनिलो हुन्छ। म निधारमा धैरै ओटा रेखाहरू फिँजाएर घोरिइरहन्छु । यो कति अनौठो छ, मान्छै खिइनु, पैसा बढ्नु, बढ्दै जानु ।
“कति बज्यो ?” वर्कशपको म्यानेजर चालै नपाई आइपुगेछ । खालिकको सालो हो यो हल्लेर पाँच सय खान्छ । काम त जम्मै एकाउन्टेन्टले गर्छ । यसको काम हो पोल लगाउनु । यसले पाँच पोल लागाउँछ । कति घिनलाग्दो काम । आफू त बी.कम. पास रे, पढेको गुनेको रे यस्तो कामदेखि ऊ कसरी आफूलाई सन्तुष्ट पार्न सक्छ ! छिः हुतिहारा ।
“दुई त बजिसकेछ नि !” र निकै काँतर छ। त्यसैले कसैलाई सचेत गराउने तरिका यही हो तर पनि ऊ लिसो जस्तै छ। यो वर्कशप हो त्यसैले अँ त्यसैले म बिस्तारै बन्दै गरेको मोटरतिर जान्छु । मेरो पछि म्यानेजर उभिएको छ, काम नगरी पाँच सय खाने म्यानेजर । मलाई डाहा हुन्छ ऊदेखि ।
डाङरीमा बाफिएर म फेरि मोटरमुन्तिर सुत्छु । स्कु ड्राइभर, बल्टु भोटे क्लिनर । म खिइँदै गएको बल्टुलाई राम्रोसँग हेर्छु र सोच्छु भोटे क्लिनर यो बल्टुसितै खिइँदै छ। ऊ खिइसक्दा मालिकले अर्को टोयोटा थप्छ । त्यसभित्र मालिकका पुतली जस्ता रङ्गीचङ्गी छोरीहरू घुम्नेछन् । सोच्दा-सोच्दै मेरो नौ नारी गलेर आउँछ । हातका औँलाहरूले काम दिन छोड्छन् । स्क्रु घुम्दैन । यो ओभर टाइम हो। यसको बढी पैसा पाउँछु तर थाहा छैन। कति बढी जति होस् । मालिकलाई बिल्डिङ बनाउनेअपैसा त्यसबाट केही कहीँ भइसकेको हुन्छ । साढे तीन भइसक्यो कान्छीलाईआज साह्रै नरमाइलो लाग्यो होला । म काम गर्न सक्दिनँ बिस्तारै घस्रेर बाहिर आउँछु ।
टाउको दुखेको बहाना गरेर ओझेलमा एकनास बसिरहन्छु । ओभर टाइम भएर: के भौ त आफ्नो सिनेमा जाने प्रोगाम पनि त काटियो । म्यानेजर गर्धन फुलाएर जान्छ । केही बेरपछि देख्छु, एउटा दौंतरी मेकानिक मोटरमुनि सुतेर बसिरहेको छ । थाङ्ना जस्तो मासु भएको ठिट्यौलीमा नै भुँडी लागेको म्यानेजर डिजेलको छेउमा ओहोर-दोहोर गरिरहन्छ। ऊ सोच्दो हो, आज मैले वर्कशपलाई गजब ठगिरहेछु । तर होइन… ठगेर कसरी पेट पाल्नु बाबै । आज मन: कस्तो भइरहेछ । चुरोट सल्काएर अन्धाधुन्ध तान्न थाल्छु । वर्कशपभन्दा केही परको भव्य बिल्डिङको झ्यालमा मालिककी स्वास्ती यतातिर हेरिरहेकी छे गुलावी साडी, यस्तो लाग्छ झ्यालमा एउटा बेलुन ‘झुन्ड्याइएको छ । यो वर्कशप खुल्दा मालिक राँडो थियो । यिनी पछिबाट आएकी यसो भनौँ पैसाले ल्याएको । छोराछोरीहरू कुनै पनि उसको आफ्नो होइन । म मालिकको बोर्डिङ पढ्ने छोरा-छोरीहरू सम्झन्छु, भोटे क्लिनर सम्झन्छु, आफ्नो छोरा सम्झन्छु, यसो मालिकको बिल्डिङ हेर्छु, वर्कशप हेर्छु, मालिकको छोराको होण्डा हेर्छु । एउटा विरक्तिको सुइरो जस्तो मुटुमा गाडिन्छ ।
यस वर्कशपमा जति वर्षहरू बिते, सम्झँदा एउटा सपनाजस्तो लाग्छ । र, मन पिरोलिरहने सपना । हेर्दाहेर्दै यो बिल्डिङ उठ्यो मालिक बस्नलाई । कार आयो मालिक चढ्नलाई । यो वर्कशप खुल्दा मालिकसँग थियो नै के र ? एउटा सानो लागतबाहेक । मिहिनेत उसले गरेन, परिश्रम उसले गरेन, उसले त यतिका वर्षहरूमा एउटा सिन्को पनि भाँचेन । फेरि पनि बिल्डिङ, कार, ब्याङकको नगद सबै उसलाई भयो । यस्तो गल्ती हिसाब पनि कही सम्भव छ र ! अनौठो त यो बिल्डिङ उसको स्वास्नीको नाउँमा भन्छ, वर्कशप छोराको नाममा भन्छ झन उनीहरू त यो वर्कशपसँग कतैबाट पनि सम्बन्धित छैनन् । खोइ मैले त रातो दिन डाङरीमा बाफिएर दिएको शारीरिक मेहनतको भाग, खोइ भोटे क्लिनरका हाड घोटाइको भाग, खोइ झाँक्रीको पसिनाको भाग, खोइ फिटर बूढाको पसिनाको भाग ? उसको स्वास्ती, छोरा र सालोहरूले पाहुना जस्तो आएर यतिका पैसा कसरी गाँजे ? यतिका सुख कसरी लुटे ? एउटा लामो समय सस्तोभन्दा सस्तो परिश्रम बेचेकोमा अचानक आत्मग्लानि हुन्छ । कुहेको सागपातको भाउमा हाड पसिना, मेहनत किन्न पाएपछि को बनाउँदैन बिल्डिङ ? को चढ्दैन मर्सेडिज कार ? घाम ओह्वालो लाग्न थालिसकेको छ । डिजेल ट्रकको छाया राक्षस जस्तै आकारमा मेरो अघि पस्रिएको छ । सोच्दा-सोच्दा जीवनमा पहिलोपल्ट मलाई डाङरी, पेट्रोल र मीबिलसँग घृणा भएर आउँछ । वर्कशप, चुनौती दिइरहेको कुखुराको भाले जस्तै लाग्छ ।
“कमर पे चोटि लट्की” भोटे क्लिनर ठुटो चुरोटको आसले नजिक आएर बस्छ ।
“ह्रेर भोटे क्लिनर यस्तै भइरहे त म यो वर्कशपमा एक दिन आगो लगाइदिन्छु ।”
ऊ जिल्लिएर मलाई हेर्छ । नजिल्लियोस् पनि कसरी ? दिनभरिको कार्यक्रम त उसँग भइरहेकै छ, बबुरो अतिरिक्त हाड खिइएको उसले कसरी थाहा पाउनु ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।