Chovar Blues Mobile Size

माघको बेला थियो । जाडो छल्न आजजस्तो हामीसँग न्यानो लुगा हुँदैनथ्यो त्यसबेला । जसका कारण घाम लागेपछि घरभन्दा मास्लो बारीको सिर्कोमा घाम ताप्न उक्लन्थ्यौँ । कुँडुले गाउँ रामपुर खोलाको किनारमा परेका कारण एकातिर डाँडाले छेकेर बिहान नौ बजेपछि मात्र घाम आइपुग्थ्यो भने अर्कोतिर पल्लो घिसिङ खोलाबाट चल्ने चिसो सिरेटोका कारण जाडो खपिनसक्नुको हुन्थ्यो । त्यसदिन पनि सधैँझैं घाम लागेपछि तातिनको लागि हामी माथ्लो बारीको सिर्कोमा उक्ल्यौँ । त्यहाँ गुन्द्री बिछ्याएर अन्तरे बोम्बो, मेरो कान्छा मामा, कान्छी सानीमा र अर्की बेंसीटोलकी ठूलीकान्छी जो मेरो सानीमा नै पर्दथ्यो लस्करै बसे भने म छेवैमा कोदोको नालको मुठो बिछ्याएर बसेँ ।

‘तिरिरि….’

अन्तरे बोम्बोले मोरलीको धुन बजाउन थाले । उनी मोरलीको औधी सौखिन थियो । त्यसको सिको गर्दैथ्यो कान्छा मामा पनि । हामी सबैजना यति ध्यानमग्न भएर उनीतर्फ केन्द्रित थियौँ कि मानौँ कृष्णको बाँसुरी धुनमा गोपिनीहरु मोहित भइरहेछन् ।

‘नमस्ते बोम्बो ज्यू’, हाम्रो एकाग्र त्यहीबेला अपरिचित कसैले भङ्ग गरिदियो ।

लामो सुरिलो नाक, सेतो कुर्ता सुरुवाल र राडीको इष्टकोट लगाएको तिलचामले कपाल बोकेका बाहुन हाम्रो अगाडि उभिएर दुई हात जोडिरहेको थियो ।

‘लासो लासो’, हात जोड्दै प्रतिउत्तर दिए अन्तरे बोम्बोले । अरुले ‘नमस्ते’भन्दा ऊ जहिले पनि ‘लासो’ भन्थ्यो किन हो ? यसको उत्तर कसैलाई थाहा छैन वा बुझ्न चाहँदैनथ्यो ।

आजभन्दा ३९ वर्षअघि सिन्धुलीको शान्तेश्वरी, नेत्रकाली, काभ्रेको जुकेपानी, केराबारी, भिङखुरी र बन्खुसम्म अन्तरे बोम्बोको एकछत्र रजाइँ थियो । अग्लो कद, हृष्टपुष्ट शरीर, सेतो र लम्चिलो अनुहार बोकेको गला अनि त्यो गलामाथि पहिरिएको मालाले साँच्चै उनको झाँक्री व्यक्तित्वलाई बिराट तुल्याउँथ्यो । बन्दीपुर खोंचको तामाङ भए पनि कसैसँग कुरा गर्नु पर्दा आँखामाथि आँखा जुधाएर कुरा गर्ने उनको प्रवृत्तिले जोकोहीलाई धेरै बेरसम्म उनको अगाडि टिकिरहन दिँदैनथ्यो । भूत, प्रेत र धामीप्रति विश्वास गर्नेहरु भन्थे, ‘जहाँ अन्तरे बोम्बोले टेक्छ त्यहाँ बोक्सी त के जस्तोसुकै शक्तिशाली आत्माले पनि नौडाँडा काट्छ ।’ सायद यही कुराको बयान सुनेको हुनुपर्छ त्यो बाहुनले ।

यकिना अगाध

‘हजुर मेरो नाम रामजी मैनाली । गाउँ काभ्रेको केराबारी । खोज्दै हजुरको घरसम्म पुगेँ र यहाँ हुनुहुन्छ भन्ने थाहा पाएर….’

‘आँ आँ…। के काम पार्यो ता ?’ उनको विनम्रतालाई खासै वास्ता नगरी बिचैमा बोल्यो अन्तरे बोम्बो ।

‘सानी छोरी चार वर्षकी भइन् । पेट फुलेर अचम्मै भो । खानामा रुचि राख्दैन । जिउ सुकेर सिट्ठा भइसकिन् । गाउँका धामी झाँक्रीले सकेनन् हजुर । खै कुन दैवको आँखा पर्यो …।’

‘फुर्साद छाइन । भ्याउछा जस्तो लाग्दाइन ।’ तामाङ लवजमा अन्तरे बोम्बोले कुरा राख्यो, ‘पान छा दिन पाछि हेरौला ता हाइ ?’

‘हैन महाराज बिन्ती छ ।’ रामजी बाहुनले अन्तरेको बोम्बोको झण्डै खुट्टा समाएर ढोकेन, ‘त्यसो नभनी बक्स्योस्….बरु हजुरलाई जे ट्क्र्याउनु पर्छ टक्र्याउँला ।’

अप्ठेरो मानेर अन्तरे बोम्बोले बाहुनको हातले छुन खोजेको आफ्नो खुट्टा हत्तपत्त फुत्त परतिर सार्यो । आश्चर्यचकित हुँदै बाहुनको अनुहारमा आँखा गडेर हेर्यो । बाहुनले उनको गोडा छोएको यो पहिलोपटक थियो ।

‘यसको छोरी साँच्चैको बिरामी छे जस्तो छ कान्छा । आपतमा परेकालाई मद्दत गर्नु हाम्रो कर्तव्य हो ।’ मेरो कान्छा मामातिर हेर्दै तामाङ भाषामा भन्यो, ‘बरु यहाँको हाम्रो बिरामी त्यति चिन्ताजनक छ जस्तो लाग्दैन । झारफुक गरिहाल्यौँ । भोलि पर्सितिर खट्कु काटे भइहाल्छ । त्यो बेलासम्ममा त निको पनि त हुन्छ होला ।’

ऊ यहाँ पनि बिरामी उपचारको लागि आएको थियो । मेरो काइला मामाको सानी छोरी बिरामी थिइन् । एकहप्ता भयो, तिनको मुन्टो धनुष्टङ्गारजस्तो पछाडि पट्टि फर्किन्थ्यो । समय समयमा फेरि सामान्य हुन्थ्यो र केही खाने कुरा माग्थिन् । अन्तरे बोम्बोको अनुसार मानेखोलाको ‘जागित्रा’ले भेटेको थियो । त्यो ‘जागित्रा’ हिजो राती पन्छाइएको थियो । आज बिहानदेखि बिरामी सामान्य अवस्थाको लाग्थ्यो । रामजी बाहुनको कुरा टार्न नसकी अन्ततः अन्तरे बोम्बो केराबारी हिड्यो । म एघार वर्षको थिए । बोम्बोलाई साथी भनेर ङ्हा बोकाएर पठाए मलाई पनि ।

‘त्यहाँको बिरामी हेरिसकेपछि अन्तकतै नगई यही आउनुपर्छ है ।’ हामी हिँडेको देखेर घाँस काट्न पारीपाखा पुगेका मेरा बाजेले तामाङ भाषामा आदेशशैलीमा उतैबाट कराए ।

‘हुन्छ मितबा, हुन्छ ।’ उनले पनि वचनबद्धता गरे ।

कुँडुलेबाट कामीटार, गोपेफेदी हुँदै रामभेंडी डाँडाको उकालो चढ्यौँ । झण्डै दुईघन्टाको उकालो चढाइपछि बल्ल बल्ल जुकेपानीको काकलिङ पुगियो । काकलिङबाट दाहिनी मोडिएर तेर्सियौँ , महाभारतको उत्तरीभेगतर्फ । पौनेघन्टामा पुगियो बिरामीको घर ।

‘लौ लौ गुन्द्री बिछ्या धामीहरुलाई ।’ बाहिरैबाट उर्दी गर्यो मैनालीले ।

‘तैयार भइसक्यो ।’ भित्रबाट आएको महिला आवाजसँगै हामी छिर्यौं ।

मेरो गाउँ र मावल वरपर क्षेत्री बाहुन थिएन । क्षेत्रीबाहुनको घरप्रवेश अनुभव यो मेरो पहिलो थियो । पछि थाहा पाएँ अन्तरे बोम्बोको पनि पहिलो नै रहेछ । पूर्वपश्चिम मोहडामा बनाएको त्यो घरको चुल्हो पूर्वतर्फ थियो । त्यसको छेवैमा पानीगाग्री राख्ने आँटी थियो । चुल्हो रहेको खण्ड अग्लो थियो र हामीलाई ओछ्यान लगाइएको अगेना खण्ड त्योभन्दा होचो थियो । हामी बसेको खण्डमा पनि पानीगाग्री राख्ने आँटी बनाएको थियो । त्यहाँ पनि चुल्हो देखेँ । सायद कुँडो पकाउनको लागि थियो कि ? त्यहाँ आगो बालेको थिएन ।

‘खाना तैयार भइसकेको छ । लौ खाऊँ ।’ हात धुन हाम्रो छेऊमा पितलको आम्खोरा राखिदियो ।

‘घर चोख्याउन पनि त पर्छ’, मैनालीको कुरा सुनेर अन्तरे बोम्बो तामाङ लवजमा बोल्यो, ‘पर्दैन माछा मासु नपकाएको घरलाई जुठो मानिँदैन ।’

हामी सबै खाना खान बस्यौँ । हामीलाई त्यही अगेनामा राख्यो भने मैनाली चाहिँ चुल्हो छेऊमा धोती फेरेर बसे ।

‘हेर त यस्तो जाडोमा हामीलाई चाहिँ तल राखेर ऊ चाहिँ चुल्होमा बसेर खाएको ।’ अन्तरे बोम्बोले तामाङमा मलाई साउती गर्दै भन्यो, ‘कस्तो स्वार्थी ? पानी पनि हामीलाई यहाँको आँटीको दिदोँरहेछ । उनीहरु चाहिँ माथिको आँटीको खाँदो रहेछ ।’

‘किन यसो गरेको होला ?’ मैले बोम्बोलाई सोधेँ ।

‘त्यही त ।’ उनले पनि अनभिज्ञता जाहेर गर्यो ।

मैले नाइलनको सर्ट र पोलिस्टरको कट्टु लगाएको थिएँ । माघको त्यो जाडोमा यो लुगाले थाम्ने कुरै भएन । म थरथर काम्दै खाना खान भ्याएँ । बोम्बोले पनि खाइसिध्याए । हामीभन्दा अघि नै घरमुली मैनाली त्यही थालमा हात चुठेर उठिसकेको थियो । बोम्बो र म चाहिँ त्यही थालमा हात चुट्न अप्ठेरो मानेर बाहिरै हात चुट्ने सल्लाह गर्दै आम्खोरा समातेर उठेँ ।

‘अहो झाँक्री ज्यू ! थाल त माझ्नु पर्यो नि ।’ हामीले थाल नटिपेको देखेर आँतिदै मैनाली बोल्यो, ‘मतवलीको जुठो हाम्रो परम्पराअनुसार हामीले माझ्न मिल्दैन । तपाईंहरु आफैंले सफा गर्ने हो ।’

अघि खुट्टै समातेर ढोक्न तैयार त्यो मैनालीको व्यवहार देखेर बोम्बो र म तिनछक पर्यौं । यो भोगाइ हामी दुईको पहिलो थियो । अन्तरे बोम्बोले अहिलेसम्म यस्तो व्यवहार भोग्न परेको रहेनछ । ऊ जहाँ जान्थ्यो सम्मान हुन्थ्यो । कति ठाउँमा त त्यही हात धुने भाडा ल्याएर जबरजस्त हातै धोइ दिन्थे । यहाँ त थालै माझ्नु पर्ने भो ।

‘ठिकै छ त ।’ अन्तरे बोम्बो अमिलो बोलीमा बोल्यो, ‘भतिज यो भााडो तिमीले माझ है ।’

मैले भाडाँ माझे । नचोख्याएसम्म भित्र लान नपाउने रहेछ । बाहिर घोप्ट्याएर राख्न लगायो ।

‘बाबु उ: त्याँ लोहोटो छ । लिएर आऊ ।’ मैनालीले मलाई अह्रायो । लोहोटोको अर्थ मैले बुझिन ।

‘यिनले के भनेको हो काका ।’ तामाङमै मैले बोम्बोसँग अनभिज्ञ जारी गरेँ ।

‘कुरा बुझेन भतिजले ।’ बोम्बोले मैनालीलाई सुनायो ।

‘ल यहाँ आऊ ।’ मलाई मैनालीले अलिपर आँगनको भाडा माझ्ने डिलमा पुर्यायो, ‘यो लगेर अघि खाएको ठाउँमा पोत्नु पर्छ । जुठो नपोती हुँदैन ।’
हामीलाई भाडा माझ्न त लगायो लगायो त्यो माथि खाएको ठाउँमा पोत्न पनि लगाएपछि बोम्बोको कन्सेरीमा नराम्ररी पारो चढेको दृष्य देखेँ मैले । तर यस कुराप्रति मैनालीमा कुनै हिनभाव थिएन ।

‘आउ भतिज ।’ बोम्बोले मलाई बोलाउदै मैनालीलाई भन्यो, ‘हामी एकछिन बाहिर गएर आउँछौँ है ।’

‘त्यता होइन, यता पट्टि जानोस् है ।’ मैनालीले घर परतिरको झाडीतिर चोर औंलो तेस्र्याएर देखाइपठाए । त्यो बेला आजजस्तो ट्वाइलेटको चलन नभएकोले बाहिर जाने भन्ने बित्तिकै ट्वाइलेटको जनाउ हुन्थ्यो ।

उनले देखाएकैतिर अघि बढ्दा अलिपर खुल्ला ठाउँ भेटायौँ । त्यहाँ पुगेपछि बोम्बोले वरपर कोही छ कि भनेर नियालेर हेर्यो । कुरा सुन्ने कोही छैन भन्नेमा ढुक्क भएपछि कानेखुसी शैलीमा मेरो छेवैमा आएर फुसफुसाए ।

‘तिमी मेरो कुरा त बुझ्छौ ।’

‘भन्नुस् न सायद बुझ्ने कोसिस गरुँला ।’ उमेर अनुसार बढ्न नसकेको मेरो बन्ठे शरीरको शीर अन्तरे बोम्बोतिर आकाशमा हेरेझैं पूरै उतानिए ।

‘बिर्सने त होइनौ नि ?’ बोम्बोले मेरो क्षमतामाथि आशंका जनायो ।

‘नाइ त्यसो हुन दिन्न । भगवान कसम ।’ आत्म विश्वाससाथ मैले टाउकोमा हात राखेँ ।

‘हेर भतिज ! यसले हाम्रो बेइज्जत गर्यो । अघि खुट्टै ढोक्ने जाबोले हामीलाई भाडा माझ्न र लोट्न लगाउने ?’ बोम्बोको आँखा राराता भए, ‘अहिले भूत लखेट्ने बेला म यसलाई, यसको स्वास्नी छोरा छोरीलाई कुचै कुच्चोले झाँट्दै लात हान्छु । यिनीहरुको शीर नाग्छु । तिमी चाहिँ ढ्याङ्ग्रो बजाउँदै यिनीहरुको जिउमा थु थु गरी थुक बुझ्यौ । अनि यसको अघि आगो पनि ताप्न नदिने चुल्होमा थुकिदे । कोठा चोटा देवीकोठा जताततै सेलयुङबा (दल्छिन ढुङ्गा र कोदोको पीठो मिसाएर बनाएको आगोको झिल्को बल्ने एक सामग्री) हान्दै त्यसो गर है ।’

‘मैले के भने रे ?’ फेरि बोम्बोले मलाई शिक्षकले पढाइसकेपछि प्रश्न सोधेझैं सोध्यो ।

‘हुन्छ हुन्छ । म त्यसै गर्छु ।’ यो कुरा कसै गरी बिर्सन्न भनी विश्वस्त तुल्याउन फेरि टाउकोमा हात राखेर कसम खाएँ ।

हामी मैनालीको आँगन पुग्यौँ । पुग्नेबित्तिकै अन्तरे बोम्बोले अघि माछा मासु नपकाएको घर लिप्नु पर्दैन भन्ने वचन फेरेर पूरै घर पोत्न लगाए । घर चोखिसकेपछि धामी बस्ने थलो बनायो । आवश्यक सरसामान तैयार पारियो । बिरामीलाई बोम्बोले आफ्नो अघि बोलाएर बसाउन लगायो । मैनालीको परिवार नानीलाई च्यापेर अगाडिपट्टि टुसुक्क बसिन् । धत्तेरीका ! बिरामी देख्दा म तर्सिएँ । कति दिनदेखि नकोरेर लठ्ठा परेको कपाल !

धेरै दिनसम्म थला परेर होला सायद कपाल ठाउँ ठाउँबाट झरेर खुइलिदै गरेको चिण्डो टाउको । सुकेर मुठीभरीको भइसकेको घाँटी त्यसमाथि मयलले झ्यापक्क पाप्रा हालेको । सिठ्ठो जिउमा भकुण्डोझैं पिल्टिक्क झुण्डिएको भुँडी ।

‘खै खै बिरामीको नाडी ?’ बोम्बोले नानीको हात तान्दै भन्यो, ‘आँ गरेर जिब्रो निकाल त नानी ।’ बिरामीले डराउँदै त्यसै गरिन् ।

बोम्बोले चरेसको थाललाई ततातो खरानीले सफा गर्यो । वल्टाई पल्टाई हेर्यो । चोखो भइसकेको जस्तो उनलाई लागेपछि त्यस थालमा एकमुठी चामल राख्यो । सग्लो चामल छानेर कनिका परेको जतिलाई निकाल्यो र जोखाना हेर्न सुरु गर्यो । बोम्बोले चरेसको थालले बिरामीको शीर छुवायो । चामललाई विभिन्न भाग लगायो । केस्रा केस्रा मिलाएर जोर बिजोर छुटायो । केही बेरसम्म यसो गरेपछि एकछिन गमेर बोम्बो बोल्यो ।

‘मैनाली भाइ नानीलाई….भूतले भेटेको रहेछ । धन्न समयमा उपचार पाउने भो ।’ बोम्बोले मैनालीलाई अह्रायो, ‘बिमिराको बोट यहाँ कहाँ छ हँ ? त्यो पनि चाहियो । त्यसको जरा निकालेर सफा धोएर तीन चम्चा कुटेर ल्याउनुस् ।’

साङ सेरग्याम सुरु भयो । डेङ्गो डेङ्गो डेङ्गो म ढ्याङग्रो ठोक्न थाले । बोम्बोले जे जे अह्राउथ्यो बिरामीका परिवारहरु आज्ञाकारी बालककझैं खुरुखुरु त्यसैत्यसै गर्थ्यो । बोम्बोलाई देउता चढ्यो । जोडजोडले काम्न थाल्यो । बोम्बोको गलाको घाङह्राङ कमाइको बेगसँगै छिन्द्रिङ र छुन्द्रिङ गरेर वातावरण नै कोलाहलमय बनायो । ढ्याङ्गोको आवाज पनि बढ्दै झन् झन् छिछिटो बज्न थाल्यो । केही समयपछि घाङ्ह्राङ र ढ्याङ्ग्रो आवाज बिस्तारै कम हुँदै गयो ।

‘हेर हेर बाला हो ।’ बोम्बोले काइसल राख्यो, ‘तिम्रो ……भूतको छायाँ परेको छ । त्यसलाई…।’

त्यसपछि ……भूतलाई लखेट्न ….सेलयुङबा हान्दै चोटा कोठा, बुइगल, चुल्होचौको, कुना काप्चा कुद्ने र कुचोले हान्ने, थुक्ने र नाग्ने क्रम चल्यो ।

‘भगवान् कसम म त्यो कुरा बिर्सन्न ।’ मैले अघि बोम्बोसँग टाउकोमा हात राखेर खाएको कसम झण्डै बिर्सिएको । झट्ट सम्झनासाथ हतार हतार मैले थु थु गर्दै ढ्याङ्ग्रो बजाउँदै बोम्बोको पछिपछि छिछिटो कुद्न थालेँ । भूत लखेट्दै घरको परिवार भेला भएको ठाउँमा आइपुग्यौँ । बोम्बोले ‘छोड् छोड्’ भन्दै बिरामी र परिवारजनलाई कुचोले हिर्काउँदै उनीहरुको शीर फुत्तफुत्त नाग्न थाल्यो । म थु थु गर्दै उनीहरुलाई थुक्दै र मन्छाउँदै भूत पन्छाउन हामी दुई बाहिर कुद्यौँ ।

जब चौडीमा भूतलाई विसर्जन गर्यौं । मेरो सातो उड्यो ।

‘बोम्बो काका ! थुके वापत मलाई बाहुनको देवताले …’ कामेको स्वरमा मैले आशंका व्यक्त गर्न नपाउँदै बोम्बो बोल्यो , ‘केही हुँदैन । ढुक्कले बस ।’

‘अनि बिमारी चाहिँ निको हुन्छिन् त ?’ यो विधिले बिमार निको हुने कुरामा मलाई शंका लाग्यो ।

‘हुन्छ किन नहुनु नि ! जुका परेको रहेछ । अघि नै मैले बिमिराको जराको औषधि बनाएर ख्वाएको देखिनस् र ?’ उल्टै मसँग पो अन्तरे बोम्बोले प्रतिप्रश्न गर्यो ।

‘ए ए । धामी, झाँक्रीको उपचार विधि त यस्तो पो रहेछ ।’ मैले त्यस दिनदेखि झाँक्रीकला बुझेँ ।

धामीको काम सकिसकेपछि फेरि अघि थुकेर उफ्रेको चुल्होमा जान पाइएन । हामी दुईको लागि अगेनामा ओछ्यान लगाइयो । उज्यालोको संकेतमा भाले बासेपछि हामी घरतिर फर्कियौँ । थाहा छैन यसपछि त्यो मैनालीको कुलदेवता हामी दुई भोटेको थुक र लात खाएर बौरियो कि बौरिएन ।