रोशिकाको शरीर दुब्लो भए पनि पेट दिनदिनै बढिरहेको थियो । बेलुकाको छाक टार्न काममा निस्कने उनी कहिलेकाहीँ खाली पेट पानी मात्र पिएर बस्न नि बाध्य हुन्थिन् । जब उनको पेट सानो थियो उनलाई खाली पेट सुत्न कुनै गाह्रो थिएन तर उनको पेट बढेसँगै उनलाई भोको पेट सुत्न न पेटले नै दिन्थ्यो न त मनले नै । शरीर जिङ्ग्रिङ्ग, नकोरिएर लटा परेको कपाल, ठाउँ ठाउँमा च्यातिएर टालेको फरिया र चोलो । दिनहरु बितेसँगै शरीर दुब्लो र पेट बढ्दै गइरहेको थियो ।

एकदिन बिहान अलिकति भात खाएर रोशिका टहरोको भित्तामा अडेस लागेर बसेकी थिइन् र आफ्नू बढ्दै गइरहेको पेटलाई सुम्सुमाउँदै ईश्वरसँग भन्दै थिइन, “हे भगवान्, मैले के पाप गरेको थिएँ र मलाई यस्तो सजाय दियौ, न त बाँच्न नै सक्छु न त मर्न नै ।” उनी टहरामा अडेस लागेर आफ्नो कालो अतीत सम्झन्छिन् ।

रोशिका कञ्चनपुर जिल्लाको एउटा सानो गाउँमा बस्थिन् । उनको आमाको मृत्यु उनी ४ वर्षको हुँदा भैसकेको थियो । उनको बुवाले पहिले त विवाह गर्न मानेका थिएनन् तर गाउँका सबैले रोशिकाले नि आमाको माया पाउँछिन् भनेपछि उनकै छिमेकी हरिरामको बहिनीसँग विवाह गरे । पहिले पहिले त रोशिकाले आमाकै माया पाउँदै गइन् तर दिनहरु बितेसँगै आमाको मायामा कमी हुन थाल्यो । रोशिकाको बुबा सौतेनी व्यवहार देखेर नि नदेखेझैँ गर्न लागेका थिए । आमाको माया पाउने आशमा बसेकी रोशिका बुवाको मायाबाट नि बिस्तारै बञ्चित हुँदै गइन् । दिनहरु बित्दै गए । रोशिका नि अब १७ वर्ष पुगिसकेकी थिइन् । छेउकै विद्यालयमा उनी कक्षा दशमा पढ्दै थिइन । कक्षा दशको परीक्षा आउनै लागेको थियो । उनी हरेक साँझ घरबाट ३० मिनटको बाटो ट्युसन पढ्न जाने गर्थिन् । खेतमा मकै छरिएका थिए । उनी ट्युसन मकैबारीकै बाटो भएर जाने गर्थिन् । दशमा पढ्ने रोशिकालाई मकैबारीको बाटो जान र मकैखान आएका सुगाहरु उडाउँदै हिँड्न खुब मज्जा लाग्थ्यो तर कति पटक सुगाका लागि राखिएको बुख्याचादेखि खुब नमज्जाले डराएकी छिन् । त्यसबेला उनी संसारकै सबैभन्दा ठूलो डर यही होला भन्ने ठान्थिन् ।

होमनाथ लम्साल ‘नारायण’

हरिरामको घर उनको घरसँगै जोडिएको थियो । रोशिका हरिरामलाई काका भन्ने गर्थिन् । पहिले गाउँका मुखिया परिवारका हरिरामलाई गाउँका सबैले मान्ने गर्थे । हरिरामको एउटा छोरो थियो, चन्दन । एक्लो छोरो भएकाले उसको हरेक इच्छा र चाहना पुरा गर्दिने गर्थे हरिराम । चन्दन सानैदेखि उपद्रो थियो । मुखियाको धनाड्य परिवारको त्यो पनि एक्लो छोरो भएर होला उ धेरै नै रिसाहा र मात्तिएको थियो । हरिराम पनि पहिले केटाकेटी नै हो भनेर होस गरेनन् तर चन्दनको उमेर बढेसँगै उसको बानीहरु अझ नराम्रा बन्दै गए । गाउँमा झगडा गर्ने, अर्काको बारीबाट फलफूलहरु चोर्ने, जाँड, रक्सी र चुटोट खाने भैसकेको थियो । ३ कक्षा पढ्दादेखि नै चुरोट र गाँजाको नसामा परेको चन्दन ५ कक्षा पुग्नासाथ स्कुल जान मानेन । उसले ५ कक्षाबाट नै आफ्नो पढाईलाइ पूर्णविराम लाउने सोँच बनाइसकेको थियो । चन्दन अब हरिरामको हातबाट निस्किसकेको थियो । ऊ भन्ने गर्थो उसकी आमा ऊ सानै हुँदा मरेकी हुन् भनेर तर गाउँमा भने ऊ ३ वर्षको हुँदा उसकी आमा अर्कैसँग गएकी भन्ने गर्थे । उसका साथीहरुले नि उसलाई ‘तेरी आमा त पोइला गएकी’ भनेर गिज्जाउने गर्थे । एकपटक उसकै कक्षामा पढ्ने प्रवेशले ‘तेरी आमा त पोइला गएकी’ भनेको मात्र के थियो रिसाहा चन्दनले छेउमै लडिरहेको इँटा उठाएर टाउकोमा नमज्जाले बजारेको थियो । ५ कक्षा पढ्दा पढ्दै छाडेको छोरोलाई हरिरामले कति स्कुल जान सम्झाए पनि एक्लो छोरोको जितको अगाडि उनको केही लागेन । ‘बरु पढ्नभन्दा विदेश जान्छु’ भन्यो । पढाइ छाडेपछि उसले हरिरामलाई गाडी कुदाउने कुरा राखेको थियो । हरिरामले पनि छोराले राम्रै गर्ला भनी गाडी किनिदिए तर उसको बानी र व्यवहारको कारणले हरदिन यात्रुहरुसँग झगडा हुने र ४÷५ पटक त छोरालाई जेलबाट नि छुटाउनु पर्ने भएपछि हरिरामले गाडी बेचिदिए । त्यसपछि उसलाई विदेश जाने भुत चड्यो । आखिरमा एक्लो छोरोको चाहना अनुरुप चन्दनलाई दुई वर्षको लागि विदेश पठाइदिए । दुई वर्षका लागि विदेश गएको चन्दन एक वर्ष नि नहुँदै फर्किएर गाउँघरतिर हल्लिरहने गर्थ्यो । रोशिका चन्दनलाई दादा भन्ने गर्थिन् ।

एकदिन सदाझैँ रोशिका मकैबारीका सुगाहरु खेदाउँदै ट्युसनबाट घर फर्कँदै थिइन् । एक्कासि कसैले उनको हातमा समातेर मकैबारीतिर तान्यो । रोशिकाको मुटु एक्कासि झसङ्ग भयो । उनले फर्केर हेरिन् र डराउँदै प्रश्न गरिन्, “के भो चन्दन दादा ?” तर चन्दन रोशिकाको प्रश्नको जवाफ नै नदिईकन उनको हरेक अङ्गमा हातहरु लग्न थाल्यो । रोशिकाले चन्दनलाई धकेल्दै रिस र डरका साथ भनिन्, “ के गर्नुभएको यो ? छाड्नुस् मलाई ।” यति भनेर उनी घर जान फर्किएकी मात्र के थिइन्, कुनै सिकारीले सिकार भेटेझैँ रोशिकामाथि जाइलाग्यो चन्दन । रोशिका रुँदै छाड्न भनिन् तर निर्दय चन्दनले रोशिकाका तनहरु लुछिरह्यो । रोशिकाका पीडा मिश्रित रुवाइ केवल ती मकैका बोटहरु, सुगाहरु र निर्जीव बुख्याचाहरुले मात्र सुनिरहे । रोशिकाको आँसुले भरिएका आँखा र सुँक्क सुँक्क आवाजको पर्वाह नै नगरी चन्दनले रोशिकाको घाँटी निमोठ्दै भन्यो, “यो कुरा कसैलाई भनिस् भने मैले जानेको छु ।”

बिचरी ! रोशिका भन्नु त कसरी र कसलाई भन्नु, उनी चुप रहिन् । घरमा रोशिकाको आँसुले भरिएका आँखा र अनुहार देखेर के भो भन्दा मात्र टाउको दुख्यो भन्दै कोठामा गएर ओछ्यानमा पल्टिएर रोइरहिन् । भोलिपल्ट उनको शरीर कसैले बेस्सरी कुटेझैँ भएर दुखिरहेथ्यो । उनी ४,५ दिन विद्यालय जाँदा पनि गइनन् । ट्युसन त झन् त्यही मकैबारी सम्झदा नि उनको मुटु नै डरले सिरिङ्ग हुने गर्यो । उनलाई अब बुख्याँचा भन्दा नि हरेक पुरुष जातिसँग डर लाग्न थालेको थियो ।

दिनहरु बिस्तारै बित्दै गए । उनी विद्यालय जान त थालिन् तर ट्युसन छाडिसकेकी थिइन् । उनको १० कक्षाको सेन्टअपमा पनि राम्रो अङ्क आउन सकेन । घरकाले ट्युसन पढ्न जाभन्दा कहिले टाउको दुखेको त कहिले पेट दुखेको बहाना बनाइरहिन् । अब उनलाई हरबखत निर्जीव बुख्याँचा भन्दा नि सजीव बुख्याँचाहरुसँग डर लाग्न थालेको थियो । कतिपटक त सपनामा बुख्याँचाहरु आएर उनको घाँटी च्यापेको देखेर कराउँदै बिउँझिएकी थिन् । एकदिन भाँडा माझिरहेकी रोशिका एक्कासि रिङ्गटा लागेर लडिन् । उनलाई छेउकै हेल्थपोस्टमा लगियो । उनी गर्भवती भएको कुरा डाक्टरले भनिन् । उनका बुबा आमाले रोशिकालाई खुब गाली गरे । अन्ततः रोशिकाले सबै कुरा बुवा आमालाई भनिन् । तर उनका कुरा कसैले पत्याएन । उल्टै उनका चरित्रलाई नै गाउँका सबैले किसिम किसिमका नराम्रा दागहरुले रङ्गाइदिए । रोशिकाकी सौतेनी आमाले आफ्नोभन्दा (चन्दन) माथि आरोप लाएको भन्दै बेस्सरी कुटिन् र घरबाट निकालिदिइन । उनका बुवा यो सबै हेरेर नि चुप बसे । उनले एक शब्द नि केही बोलेनन् ।

रोशिकाले आत्महत्या गर्ने सोचिन् । आफूलाई जन्म दिने बुवा पनि चुप बसेके देखेर उनलाई बाँच्नु व्यर्थ लाग्न थालेको थियो । उनी आफूले लगाइराखेको सल रुखको हाँगामा बाँधेर आफ्नु घाँटीमा कस्नै लागेकी थिइन्, उनले सोचिन् गल्ती गर्ने चन्दन खुलेआम गाँउघरमा घुमिरहेको छ । जन्मिँदै नजन्मिएको यो बालकको के गल्ती, मेरो नै के गल्ती र आत्महत्या गर्नु । उनमा एक्कासि हिम्मत आएको थियो । उनले अब यस बच्चालाई जन्म दिने अठोट गरिन् र बजार छेउमा रहेको सुकुम्बासी टोलमा बस्न थालिन् ।

बाहिर ठूलो हल्ला भैरहेको थियो । रोशिका झल्यास्य भइन् । उनको आँखाबाट आँसु बगिरहेका थियो । उनको कालो अतीत कुनै बुख्याँचाभन्दा कम थिएन । ढोकाबाट एक अलि उमेर खाएकी मोटी महिला भित्र पसिन् । रोशिकाले आँसु पुछ्दै भनिन्, “बस्नुस् न चाची ! बाहिर के को हल्ला हुँदै छ ?” महिलाले निराश हुँदै भनिन्, “के को हल्ला हुनु निर्मला हत्याको अझै केही भाछैन, त्यसैको लागि रे, हिजो नि फेरि पोखराकी ५ मा पढ्ने बच्चीको बलात्कार भयो रे, खै के हुन लाग्या यो नेपालाँ बच्चीहरुलाई नि छाड्दैनन्, यी बलात्कारीहरुलाई त फाँसी दिनुपर्ने ।”

उनले यति भनिरहँदा रोशिकालाई आफ्नो अतीतले नमज्जाले अठ्याएझैँ भयो । उनका आँखाअगाडि सयौँ बुख्याँचाहरुले उनलाई गिज्याइरहेझैं भयो । बिचरी ती बालिकाहरु जसलाई आफ्नो शरीरमा भैरहेको परिवर्तनका बारेमा नि थाहा हुँदैन, ती बच्चीहरुको बलात्कारका घटनाहरु भैरहँदा रोशिकाको मन सिरिङ्ग भयो ।

चाचीले भनिन्, “अब त तिम्रो नि दिन आउँदै छ, कुन दिन हो कुन्नि ?” रोशिकाले आफ्नो आँसु पुछ्दै भनिन्, “चाची ! बरु मेरो मरेको बच्चा जन्मियोस् तर छोरी चाहिँ नहोस् ।”

चाची आँखा ठूला पार्दै भनिन्, “आम्मै ! के भनेको त्यस्तो, त्यस्तो कुरा नि गर्नु हुन्छ ? ”

रोशिका सुँक्क सुँक्क गर्दै भनिन्, “ के गर्नु त चाची, अब नेपालमा हामी केटीमान्छेलाई बस्ने वातावरण नै छैन । यहाँ बुख्याँचाहरु यसरी डुलिरहन्छन् कि बिचरी साना साना बच्चीदेखि लिएर हजुरआमाहरुलाई नि छाड्दैनन् । फेरि उसको नि बलात्कार भयो भने ।” उनले यति भनिरहँदा चाचीको अनुहार नि मलिन भैसकेको थियो । रोशिकाले बुख्याँचा शब्द प्रयोग गरिरहँदा चाची अचम्ममा परिरहेकी थिइन् । तर रोशिका सबैभन्दा बढी डराउने मकैबारीका बुख्याँचाहरु थिए तर अब त उनलाई मकै बारीका निर्जीव बुख्याँचाभन्दा नि गाउँघरतिर शिकारको खोजीमा हिँडिरहेका सजीव बुख्याचाहरुसँग डर लाग्न थालेको थियो । चाची नि अब भने केही बोलिनन् । उनीहरु दुईबिच धेरै कुराहरु भए र चाचीले रोशिकालाई आफ्नो शरीरको ख्याल राख्नु भन्दै गइन् ।

माघको महिना थियो । चिसो बडेसँगै तीन दिनदेखि लगातार पानी परिरहेको थियो । एक रात ठूलो मुसलधारे पानीसँगै रोशिकाको व्यथा सुरु भयो । उनका पीडा मिश्रित रुवाइ कसैले सुनेन । केही समयपश्चात् उनको रुवाइसँगै एउटा बालकको रुवाइ नि सुनियो । बिजुली ठूलो गर्जनका साथ चम्कियो र अझ ठूलो पानी पर्न थाल्यो । रोशिकाले त्यस बालकलाई आफ्नो हातमा लिइन । उनका आँखा ठूला भए र हातहरु काप्न थाले । उनले जे नहोस् भनी ईश्वरसँग प्रार्थना गरेकी थिइन् आखिर त्यही भयो । उनकी छोरी भइन् । ईश्वरले नि उनको कुराहरु सुन्न सायद छाडिसकेका थिए उनका बुबाजस्तै । उनले आफ्नो विगत, निर्मला र ती मानवरुपी दानवका सिकार भएका नाबालिकाहरु सम्झन लागिन् । उनका आँखा अगाडि ती दृश्यहरु नाँच्न थाले । उनी अझ ठूलो स्वरमा रुन लागिन् । आफ्नी बच्चीतर्फ एकपटक हेरिन् र रुँदै भनिन्, “मलाइ माफ गर छोरी, म तिमीलाई यो दानवहरुको सिकारबाट बचाउन सक्दिनँ ।” र बिस्तारै आफ्नो हत्केलाले आफ्नो बच्चीको घाँटीमा कस्दै गइन् । उनका हात काँपिरहेका थिए र आँखाबाट आँसु बगिरहेको थियो । बिस्तारै कटेरोमा बच्चीको रुवाइ बन्द भयो ।