साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कथा : लाहुरे

पल्टनेले अस्टकाेटको खल्तीमा भएको चिठी एक हप्तासम्म त पूरै बिर्सियो । एक साँझ पल्टन्नीलाई हल्का ज्वरो आयो । कहिलेकाहीँ यसो औषधिको ट्याब्लेट पनि हाल्ने गरेको खल्तीमा हात लाउँदा पो भेट्टायो चिठी त ।

Chovar Blues Mobile Size

सिकुवाको रातो माटोले पोतिएको डिलमा फ्यात्त बसेर निलो गमबुट खोल्दै पल्टनेले भन्यो, ‘जिउडाल त त्यस्तो पो हुनु त अग्लो पनि गोरो पनि…मुला हाम्रो चाहिँ आमै अग्लो भए पो ।’ यति भनेर खोलिएको गमबुट नाक छेउमै पुर्याएर सुँघ्यो । अलि अनुहार बिगार्दै पर धारातिर हुर्रायो । धारामा पल्टन्नी भर्खरै टिपेर ल्याएको फूल सहितको सिस्नो बाँसको चिम्टाले झ्वाम झ्वाम पखाल्दै थिइन । ‘ होइन झटेरो नै हान्नु थाल्यौ त… तिमारु बाउछोरालाई भर्ती जानु चाहिँ मैले नै छेकबार लाको छु नि । ‘

‘खै अलिकति जाँड छान्दे, देखेनस् गलेर आएको , तेरो छोराको अलिक हाइट पुगेन । तेल्लाई अलिक खान्की विचार गर, तेरै छोरा हो, लाहुरे होस कि चाउरे ।’ यसो खुट्टा हेर्दै पल्टनेले भन्यो , ‘यो मुला गमबुट नलाई पनि नहुने लाउँदा पनि के साह्रो खुट्टा खाको ।’

‘के गर्छौ त बुढा, तिम्रो खुट्टालाई त्यहीँ बुट मात्रै जुरेछ त ।’ …पल्टन्नीले बुढाको खिल्ली उडाई । पखालिएको सिस्नो सिल्भरे छपनीमा हालेर आँगनको दाउराको चाङमाथि राखेर भित्र छिरी पल्टन्नी ।

आफ्नो उमेर छँदा खुबै लाहुर जाने मन गरेको पल्टनेले युके आर्मीमा धेरै पटक भिड्यो । कहिले उचाइ नपुग्ने, कहिले दौड्न नसक्ने ,कहिले भर्ती खुलेको पत्तै नहुने । त्यसपछि इण्डियन आर्मीमा पनि दिलो ज्यान दिएर भिड्यो । एकपल्ट दार्जीलिङ गुमसम्म पुगेको थियो । त्यो बेला पक्का भर्ती भइजान्थ्यो । गल्ति भो कुरा नबुझेर । आर्मीभित्रकै एउटा सर्दारजीले …मुर्गी लेकर आओ कल तुम लोकको पक्का हो जाएगा भनेर त्यो दिनको छनौट सकेको थियो । पहाडी बस्ती हिन्दी भाषाको वर्चश्व फैलिइसकेको थिएन । भोलिपल्ट लाइनमा बस्दै गर्दा ….हाँ तो तोप बहादुर मुर्गी ल्याए हो ? सर्दारजीले सोधेको थियो । हजुर साप…सटिक उत्तर थियो पल्टनेको । लो किधर हे …..यहीँ छ साप भन्दै मुड्की उचाल्यो । सर्दारजी ट्वाँ परे एकछिन ।

t
sagarmani mobile size

‘नही नही वो मुर्गी …….तोप बहादुरले दुबै हात मुड्की पारेर देखायो । साला हमको बेकुफ समझते हो । ..फलामको पातलो स्केलले पल्टनेको तिघ्रामा सर्दारजीले बज्जायो । तोप बहादुर अगाडिको हुलमा मिस्सियो । नहीँ तुम उधर जाओ …ए साला हराम जादा बाहर जा न हमको क्युँ तङ कर्ते हो । एइ…इसको बाहर भेज चुतिया साला ।’ त्यस्तैमा एउटा गोर्खालीले नै तोप बहादुरलाई समायो र तानेर त्यो हुलबाट बाहिर निकाल्यो । तोप बहादुरले त्यसको छातीमा पहेँलो पित्तलको टलक्क टल्किने नेमप्लेट देख्यो । राइफल मेन राम बहादुर लिम्बु, पि.एस.नं ११६१४४८ । हरियो आर्मी कलरको सरकारी स्वीटर, त्यस्तै कलरको पाइण्ट र मुनि टलक्क टल्कने छालाको बुट । लगत्तै टाउकोमा हेर्यो कालो भाँडे टोपीमा चाँदीजस्तै टल्कने खुकुरी क्रस माथि लेबेन जि आर अंकित थियो । हाओ….नठेलुङ न हौ गाउँले म पनि तिमीजस्तै भर्ती हुनु आको । त्यतिन्जेल राम बहादुरले तोप बहादुरलाई घचेटेर कम्पाउण्ड बाहिर पुराइसकेको थियो ।

अर्को अर्को साल हुन्छ नि नानी, सानो मन नगर्नु, बास बसेको घरको दिदीले सम्झाइन् र यो पनि भनिन् ‘मुर्गी माने कुखुरा ।’ बल्ल पो बुझ्यो सर्दारजीले घुस मागेको रहेछ । तोप बहादुरको सोझो मन नागबेली लहराजस्तो बट्टारियो । साला घुस खुवाएर त म मरिगए पनि लाहुर जाँन्न । हो त्यहीँ दिन तोप बहादुरले नाम पनि फेर्यो, पल्टन बहादुर राई । नाम फेरिए पनि पल्टन बहादुर पल्टन जान सकेन । उमेर बित्यो, बिहे गर्यो । तब छोरालाई भर्ति गराउने सबैभन्दा ठुलो सपना पालेर बसेको छ ।

भैंसीलाई घाँस काट्नु है बाउ चाहिँ । मेरो त चारो खोज्नु छ नि । ठुलो सिल्बरे बटुकाभरि जाँड दिँदै पल्टन्नीले भनी । थाप्दा नथाप्दै मुखमा पुर्याइहाल्यो पल्टनेले । ‘होइन के साह्रो खानुई नपाको जस्तो गरेको हौ ।’ पल्टननीले हप्काई । ‘आम्ममा…………..लु यो घरको आईमाई बिग्रेछ आबो चाहिँ ।’ पल्टनेले अमिलो जाँडको उछितो काड्यो । ‘खै लु लु नुन ले ….।’ पल्टन्नीले नुन ल्याएर दिइन् । नुन चाट्दै फेरि अर्को खेप स्वाट्ट पार्यो । ऊ अलि हँसिलो देखियो । नुन चाट्दै फेरि उसै स्वाट्ट पार्न थाल्यो । पल्टन्नीलाई थाहा छ यो बुढाको पुरानो बानी हो । जाँड त्यत्रो विधि अमिलो छँदै थिएन ।

जितपुर गल्ला युके आर्मीको एआरओ सेलेक्सनसम्म हुन्थ्यो । त्यहाँ पास भएपछि धरान अनि पोखरा हुँदै युके आर्मी भइन्थ्यो । जिल्लाको पश्चिमी भेग, पाँचथर ताप्लेजुङसम्मका राई लिम्बु लगायतको सबै मतवाली केटाहरु हुरुरु आउँथे । कसै कसैको त हेर्दै लाहुरेजस्तो ज्यान हुन्थ्यो । त्यो देखेर यताको तरुनीहरुको मन कटक्क खान्थ्यो । त्यहीँमाथि कोही कोही त पास पनि भइहाल्थ्यो । अलिक छिटो खालको तरुनीहरुले चाहिँ नाम र गा.वि.स. सम्म सोध्न भ्याउँथे ।

कालो हाफपेण्ट र सेतो टिसर्टमा सेतो स्पोर्ट सुज लगाएको केटा लाइनमा बस्दैछ । अगाडि छनौटको पहिलो चरण अर्थात उचाइ नाप्ने काठको तख्ता ठडाइएको छ । त्यो केटा ठ्याक्क तख्तामा ठोकिन्छ । ए ए…..भान्जाबाबु लु जुत्ता खोल । रातो टिसर्ट कालो पेण्ट लगाएको एउटा गल्लावालले अह्राउँछ । केटो अलि अटेर गर्छ । ए भान्जा फटाफट गर्न हौ मुला अहिले यस्तो लोसो छस् । काम लाग्छस् के । भारी मन लिएर केटोले जुत्ता खोल्छ र फेरि तख्तामाथि चढ्छ । यसपल्ट त अघि ठोक्किएको लेभलको मुनि मुनि पो जान्छ । ‘ए लु ..भान्जा आगुङ साल आउनु ।’ त्यो दृष्य पल्टनेलाई जीवनकै तितो क्षण मान्यो । कसैले थाहा नपाई भुइँमा मुड्की बज्जायो, अलिकति झार उखेल्यो र फटाफट घरतिर हिँड्यो । जाउँसम्म भनेन छोरालाई । हाइट नपुगेको केटो निलो कालो हुँदै बाहिर आयो । जुत्ता लगायो । बाउ बसेको ठाउँतिर हेर्यो । अहँ बाउ थिएन त्यहाँ , खाली थियो । ‘ओए गगन के भो तेरो हँ ….?’ देउसुवासले सोध्यो ।

‘… देखेनस् हाइट नपुगेको ।’

‘अनि म कहाँ थिएँ त भर्खर त आको ।’

‘कहाँ थिइस् त ?’

‘फोटो नभएर मंगलबारे गएको थिँए ।’

‘ए लु लु …लाइन बसिहाल ।’ अब गगन एक्लै भएन । देउसुबासलाई कुरेर घर जाने भयो । हुन त आफ्नै गाउँ तर पनि साथी त चाहिन्छ नै ।

‘ए आमा……..ढोका खोल न….आमौ…….होइन मर्यो कि क्या हो । यो घरको मान्छेहरु ।’

‘साले चोर मातेर आएछ ।’ …..ढोका खोल्दे पल्टनेले बुढीलाई अह्रायो । झ्यालबाटै पल्टने करायो ।

‘के भो त केटा ।’

‘ ….के हुनु देखेनौ …भागेर आको होइन तिमी ।’ लड्बडाउँदै गगनले बाबुलाई हप्कायो । अनि देउसुबास त पास भएछ त होइन ?

‘त्यसैले गरेर त रात पर्यो नि। ठेउकेको दोकानमा पार्टी दिएको थियो हामी सप्पैलाई । सँगै जाउँ भन्छ, कसरी एक्लै आउनु ।’

‘ए झोँके भात पस्किदिउँ ? भो खादिँन ।’

‘………नखाए नखा…..तिमारु बाउछोरालाई मेरो टाउको छदैँछ नि खानुलाई ।’ पल्टन्नी खन्द्रयाङग भाँडो बजाएर हिँडिन् ।

‘….देख्यौ बाउ मेरो नाम कसले धेरै बिगार्छ । यो घरमा त मेरो इज्जतै छैन । पख म लाहुर गएँ भने फर्केर पनि आउँदिन ।’

‘….रुन पो थाल्यो बज्या त ।’ पल्टननीले साउती मारी ।

‘अनि तँ किन तेल्लाई नामबाट बोलाउँदैनस त ? होस होस छोड्दे रक्सि रोएको हो त्यो ।’

‘ ………ओए गगन सुत केटा…लु हल्ला नगर ।’ पल्टनेले झ्यालबाट टाउको निकाल्दै भन्यो । तर गगन किचनमा अझ अस्पष्ट अझ के के भन्दै बर्बराउँदै थियो ।

गल्ला भिँड्ने सिजनमा गाउँमा पुरै रमिता हुन्थ्यो । तिन दिनसम्म त मेला नै लाग्थ्यो । क्षेत्री बाहुन केटाहरु खुरुखुरु पढ्थे उनीहरुको त्यहाँ नाकमुख नै देखिँदैनथ्यो । उनीहरुलाई लाहुर जानु पनि थिएन । कोही कोही गयो भने पनि गल्लावालाले परैबाट खेद्थ्यो, ढाँडमा गोली थाप्नेहरु भन्दै ।

मतवालीहरु भने उम्रेदेखि खुम्रेसम्मका ओइरिन्थे । तर द्वन्दकालमा पारी इभाङतिरका दुईजना गल्लापास भएका केटाहरुलाई बाँस बसेकै घरबाट निकालेर सेनाले गोली ठोकेपछि जितपुरमा गल्लावालहरु आउन छोडे । अब लाहुर भिड्न धरान नै जानुपर्ने भो । गगनले एस. एल .सी. पास गरेकै थियो । दिनभर ठेउकेको पसलमा क्यारम बोर्ड खेल्थ्यो । कहिलेकाहीँ तास पनि खेल्थ्यो । तर बिहान बेलुका सधैँ दौडिन्थ्यो । कहिले डोको बोकेर कहिले त्यतिकै । अलि ज्यान लागेको थियो । पल्टनेले घरको काम छिरिक्क लगाएन । एकदिन पल्टने नभएको बेलामा पल्टन्नीले पुछार बारी जोत्न लगाइन् । आमाको बचन गगनले काटेन, जोत्न थाल्यो । ‘….होइन यो घरको मान्छेहरुको दिमाग बिग्रियो कि क्या हो । हलि नै बनाउने भइस् तैँले छोरालाई ।’ कहाँबाट बतासजस्तै बत्तिदै आएको पल्टनेले बुढीको सातो लियो । त्यसपछि झन् गगनले घरको काम पटक्कै छोएन । त्यस्तै लाहुरले पनि उसलाई पटक्क छोइरहेको थिएन ।

भदौको महिना थियो । अब एक महिनापछि धरान जानु थियो गगनलाई, उमेरको हिसाबमा यो अन्तिम पटक थियो तर उसले मामाको छोरासँग सर्टिफिकेट मिलाइसकेको थियो अर्को सालको लागि । सम्झौता चाहिँ लाहुर छिरेपछि एउटा निलो रंगको पल्सर मोटरसाइकलमा भएको थियो रे । यस्तैमा असोज लाग्यो ,उमेर पुगेका एस. एल. सी. पास सबै केटाहरु धरान झर्न थाले । तेज, योगेश, मन कुमार र गगन चार जना सँगै जाने भए । यी चार जना मध्ये गगनले चामलको सेतो टिका निधारभरि लगाएको थियो । बाबु आमा दुबैलाई ढोगेर मन गह्रौ बनाउँदै बाटो लागेको थियो । पल्टने र पल्टन्नीले माथ्लोबारी नकाटुन्जेलसम्म गगनलाई हेरिरहेका थिए । झण्डै आँसु खसाउँदै गगनले हात हल्लायो । पल्टन्नी भित्र पसेर सुक्सुकाउन थालिन् । पल्टनेले हप्कायो ‘……खोई हौ यो आईमाइको झोल । साइत नबिगार है जाँठा ।’ त्यसपछि पल्टनेले खैनी माड्दै आँगनमा उभिएर केटाहरु गएको माथि माथि नागीको पिपलसम्म आँखा टटाउन्जेल हेरी पठायो ।

धरान पुगेपछि तिनीहरु फुस्रे क्याम्प बसे । सुतेको नलाग्ने खाएको मात्र लाग्ने । भोजपुर घोरेटारतिरको गोरी मोटी आण्टीको बेनामे होटलमा । तिनी मोटी आण्टी समेत इण्डिया लाहुरेनी रहेछिन् । झिलिमिली लाहुरेहरुको सहर धरानमा ती केटाहरु विल्कुल पहाडिया देखिन्थे । लाहुरेका घर, तिनका छोरा छोरीको चमकधमक, लाहुरेनीहरुको बियर र सेकुवा खुवाइ गाँठे, केटाहरुले पुरै जिब्रो टोके । हेर्दै दाग लाग्नेजस्तो लाहुरेको तरुनी छोरी त्यहीँ माथि सेतो तिघ्रा देखिने हाफपेण्ट र स्कर्टमा देख्दा त केटाहरुले र्याल नै चुहाए । फेरि पल्सर मोटरसाइकलमा मान्छे अत्याउने स्पिडमा लाहुरेका छोरा, लाहुरेका भाइहरु देखेर त झन् तिनीहरुको इर्ष्याको डिग्री नब्बेमै उग्लियो । तिनीहरुले अझ छ्याङ्गै के बुझे भने लाहुरे हुनु भनेको पैसा कमाउन मात्र होइन रहेछ, माथिको स्वर्ग खर्लप्पै यहीँ खसाउनु रहेछ । बाँस बसेको घरमा अलि होची तर साह्रै राम्री एकजना बहिनी थिइन् । तेज बहादुरले कुरा बुझ्यो । तिनी त्यो घरकी भतिजी रहेछिन् । गगनले ठोकुवा गर्यो । ‘हेर्लास् केटा हो म लाहुर लागेँ भने यो बहिनी पक्का मेरो हो ।’

योगेशले रेला गर्यो ‘…बहिनी त तेरो होला गगन तर बुढी चाहिँ मेरै हुन्छ । चिन्ता नगर तँ यसो भाइ टिकातिर आउनु नि ….हा हा हा…।’

भोलिपल्ट छनौटमा चारजना बिहानै लाइन बसे । यताउता भएर ती चारजना छुट्टाछुट्टै हुलमा मिसिए । गगनको पालो पहिले आयो । अरुहरु सँगै हलभित्र छिरे । तीनजनाले ध्यानपुर्वक हेरी पठाए । हाइट, वेट र सामान्य स्वास्थ्य परिक्षणपछि तेज बहादर, मनकुमार र योगेश लिखित परीक्षाको एउटै हलभित्र सँगै परे । गगन त अघि छिरिसकेको थियो । केटाहरुले शंका गरे गगनको पक्का राम्रो भयो । बेलुका होटलमा पनि गगन थिएन । तिनै राम्री बहिनीले भनिन् ‘वहाँ दाजु त जानुभयो त ।’

‘ ..लु यल्ले पनि दाजु नै मानेपछि मेरो भाग्य चम्किएन त ।’ मनकुमारले योगेशलाई हाँस्न सघायो । तेज बहादुरले चिन्ता गर्यो । ‘यत्रो बाटो सँगै आएको साथी केही पर्यो कि ।’ योगेशले भन्यो ‘…आम्ममा त्यो…. कागको फुल चोर्छ त्यसले हामी जस्तो हो । धरान त पानी पधेँरो बनाइसकेको छ ।’ ‘हो त अनि …आइहाल्छ नि कहाँ जान्छ र ….बरु भेडेटार जाउँ हौ साथी हो कता पो पर्छ अरे ।’ कुराको मेसो सक्ने बिचारमा मन कुमार बोल्यो । चिन्तित तेजबहादुरै गनगनायो ‘… मुला पास भएँ भन्दैमा हामीलाई समेत नभनी घर जाने ।’

‘ …अनि अहिले कसरी थाह हुन्छ, रिजल्ट त मंसिरमा हुन्छ ।’ मनकुमारले होसको कुरा गर्यो ।

‘ए साँची हो त…’ तेज बहादुरको पनि होस खुल्यो र भोलिपल्ट धरानबाट तीनजना मात्रै सँगै फर्के ।

गगन पुरै गायब भयो । पल्टनेले चोया केलाउँदै लख काट्यो ‘… त्यो पक्कै गुम गयो । त्यहाँ छ छ महिनामा इण्डिया आर्मीको भर्ती खुल्छ । कान्छा पाटीमा पो लाग्यो क्यारे । कुन पार्टी हौ त्यस्तो ? पार्टी सार्टी होइन बुढी त्यो, आर्मीकै मेसभित्र भाँडा वर्तन साफ गर्ने, भान्सेलाई सघाउने, झटारेजस्तो काम हो । पछि भर्तीमा अफसोर सापको आँखा लाग्यो भने त त्यसै भइजान्छ । कुदिरहनु पनि पर्दैन । त्यसवर्षको लटमा तेज बहादुरको मात्र नाम निस्कियो, सिङगापुर पुलिसमा । गाउँमा उसको वर्षदिन सम्म चर्चा चल्यो । चर्चित गगन अब चर्चाको विषय रहेन । समयले हल्का कोल्टे फेर्यो ।

योगेश र मनकुमार मलेसिया गए । देश अझ द्वन्द्वमा फस्यो । गाउँका केटाहरु सबै सदरमुकाम बस्न थाले । धेरै जसो विदेश गए । हुर्के बढेको केटाहरुले कि माओवादीमा कि आर्मी–पुलिसमा लागिहाल्नु पर्ने जस्तो भयो । त्यहीँ भएर सबैले तेश्रो विकल्प रोज्न बाध्य भए । यसबिचमा देउसुवास दोश्रो छुट्टी आइसकेको थियो । तेज बहादुर पनि पहिलो छुट्टी आयो तर सदरमुकाम सम्म मात्र । उतै माईमझुवातिरको लाहुरेकै छोरीसँग कुरा छिनेर आएको रहेछ । सदरमुकाममै सर्टकटमा बिहे गर्यो । साह्रै सिमित आफन्तहरु मात्रै बोलायो । तर पल्टन बहादुर छुटेन । दङ्ग पर्दै दौरा सुरुवालमा पल्टन बहादुर इलामको चोक बजारमा देखिएको थियो । ‘कता हौ दाजु …’ चन्द्रलालले बोलायो ।

‘होइन …बिहे खाएर नि हौ कान्छा ।’

‘ कस्को पो ?’

‘ होइन हाम्रो तेजे भतिजको नि ।’

‘ …ए ए…’ चन्द्रलालले सही थप्यो । चन्द्रलाल अहिले गा.वि.स. सचिव भएको छ । गाउँकै दुलाल साइँलाको माइला चाहिँ छोरा हो ।

‘ए दाजु चिठी पो थियो ।’ पल्टनेलाई एउटा खाम दिँदै चन्द्रलाल जि.वि.स.तिर लम्क्यो । त्यसको भोलिपल्ट तेज बहादुर चन्द्रलालको डेरामा गयो ।

‘होइन बिहे दर्ता गर्नुपर्ने हौ काका …कति लाग्छ ?’

‘ दस्तुर त त्यति लाग्दैन तेजु सर यस्सो… ।’ चन्द्रलालले ङिच्च दाँत देखायो । तेज बहादुरले हजार हजारको तीनवटा नोट थमाइदियो र बिहेदर्ताको कागज लियो । ‘कति बस्नुहुन्छ तेजु सर ?’

‘ खासै टाइम छैन काका म फर्कीहाल्छु । अचानक छुट्टी मिलेर मात्रै नत्र म अर्को साल मात्र आउन पाउँथे ।’

‘ ए….कस्तो राम्री हौ म्याडम त ।’ चन्द्रलालले धाप मार्दै कानेखुसी गर्यो । तेज बहादुर हाँस्यो मात्र ।

पल्टनेले अस्टकाेटको खल्तीमा भएको चिठी एक हप्तासम्म त पूरै बिर्सियो । एक साँझ पल्टन्नीलाई हल्का ज्वरो आयो । कहिलेकाहीँ यसो औषधिको ट्याब्लेट पनि हाल्ने गरेको खल्तीमा हात लाउँदा पो भेट्टायो चिठी त ।

‘कसले लेखेछ …..? पक्कै गगनको होला हौ बाउचाहीँ ।’ पल्टननीले हल्का उत्साहित हुँदै भनिन् । पल्टनेले मज्जाले खाम हेर्यो । पाउनेको मात्र नाम थियो । पल्टन बहादुर राई, जितपुर १, इलाम । ध्यार्र खाम च्यातेर चिठी खोल्यो ।

पल्टननी सकी नसकी उठ्न खोजी । पल्टनेले सिरानी अलि सोझो बनाइदियो । र चिठी पढ्न थाल्यो । पल्टननी सास नफेरी सुन्न थालिन् ।

पुजनीय बाबा आमा
सेवा ढोग ।

म आरम छु । तपाईंहरु पनि आराम नै हुनुहुन्छ भन्ने मङसुकसँग प्राथना गर्छु । म हराएको कुराले आमालाई अलि बढी चित्त दुख्यो होला । पिर नलिनु आमा म सकुशल आफ्नो ड्युटी गरिरहेको छु । त्यो साल मेरो अन्तिम उमेर थियो, मामाको छोराले सर्टीफिकेट दिए पनि उचाइ दिन सक्दैन थियो । फेल भएर आउनु मन लागेन त्यसैले मैले नेपाल आर्मीमै भए पनि फौजकै जागिर खाने बिचार गरेँ । अहिले हेटौडा ब्यारेकमा छु । बेसिक ट्रेनिङ खत्तम भो । अब गण जानुपर्छ । सायद त्रिशुलीतिर हुन्छ होला । जे भए पनि मैले आर्मी नै हुनु थियो । म भएँ बाबा, अलि तलबको कुरा मात्र तलमाथि हो तर गर्वको कुरा आफ्नै देशको सेवा गर्न पाउनु अझ ठुलो कुरा रहेछ । यहाँ आएर बुझेँ । अलिकति हाईट पुगेन नत्र तपाईंहरुको सपना अवश्य पूरा गर्थेँ । हाईट कम हुनु मेरो दोष होइन भन्ने कुरा बाबाले राम्रोसँग बुझ्नुहुन्छ । म आर्मीमा लागेको कुरा कसैलाई नभन्नुहोला । त्यहाँ केही अप्ठ्यारो पर्दैन । लडाँइमा परेर मरिहालिएन भने पक्कै पनि तपाईंहरुको सानोतिनो सपना पूरा गर्ने वाचा गर्दै आजलाई यति । म अर्को चिठीमा मेरो पुरा ठेगाना र फोन नं. पठाइदिन्छु तर कसैलाई नदिनुहोला ।

तपाईंहरुको प्यारो
लाहुरे हुन नसकेको छोरा
गगन–झोँके

झोँके पनि लेखेछ । पल्टन्नी मुसुमुसु हाँसिन् । पल्टनेले गएर जाँड बनाएर ल्यायो । गिलासमा बुढी चाहिँलाई दियो र उसले भने साविककै सिल्भरे बटुकामा एकै सासमा आधा सक्यो । ‘अच्चा…अस्ति इलाम जाँदा गमबुट किनुङ भन्दै थिएँ, भुसुक्कै पो भएछु ।’

‘अनि अस्तिको के भयो त ?’ पल्टननीले सोधिन् ।

‘मुनिबाट पानी छिर्ने भा छ ..त्यस्तो त के लाउनु । ..आरे हौ नेपालकै भा पनि लाहुरेकै बाबु पो हुँ त ।’ पल्टन्नीले मुख लेपार्छे र फु गर्दै बत्ती निभाउँछे । आज बेलुका तिनीहरुले खाना खाने कुरासम्म नि गरेनन् । बिर्से भुसुक्कै । पल्टने त घुर्नै थाल्यो ।

प्रतिक्रिया
Loading...