साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

पार्वती पारोको वास्तविक कथा : नागरिकता बनाइदिनोस् न !

बाआमा मरिगयो, म कसरी भनौँ मेरो उमेर ? छोरा चैँ मेरो ३९ सालको हो । सबैले भत्ता खान्छन्, मेरो उमेरका, मेरो त नागरिक्ता छैन । नागरिकता बनाइदिनोस् न ! यो उमेरमा पनि ज्यालामजदुरी त गरिरहेको छु नि !

Chovar Blues Mobile Size

सानो थिएँ नि ! बुवा आमाले यही जन्मायो , हुर्कायो बिहे दान गरिदियो, बाउ पनि मर्यो, आमा पनि मर्यो, बुढा पनि मर्यो । बाउको नाम सुकल र आमाको नाम रेम्नि ऋषिदेव हो । जन्मन त यहीँ ठाँउमा जन्मेको नि… ! अहिलेसम्म नागरिकता बनाउन सकेन । श्रीमान् पनि मरिसक्यो , अब त यही एउटा छोरा छ । छोरी बिहे गरेर गइसक्यो । के गर्नु हजुर यो छोराको भर छैन मलाई । दुखिया कर्म मेरो … ! जन बुनी गर्छू । त्यति बेला रोजी थियो डेढ टक्का, डेढटक्का गरेर साढे चार टक्का हुन्थ्यो अनि २ टक्काको चामल किन्थ्यो एक किलो, आठानाले तेल , ५ पैसाको नुन किन्थ्यो अनि तरकारी मसला यस्तै गर्दा सकिन्थो, फेरि छोरा छोरीलाई कपडा त चाहियो, फेरि साहुकोमा काम गर्थेँ, ५ टक्का बनाउथ्येँ , डेढ टक्कामा छोरालाई कपडा ल्याउथ्यो, २ टक्काको छोरीलाई घागर, बाँकी पैसाले चामल तरकारी ल्याउथ्यो । पछि २ टक्का ३ ,४,५ हुँदै अहिले ४०० कमाउछु हजुर, अलिकति चामल ल्याउछु , अलिकति तेल , नुन बेसार त्यही त हो पेट पाल्न अरु के गर्न पुग्छ र …। त्यही पनि काम सधैँ कहाँ पाउँछ र …। जग्गा जमिन छैन , यही बाटोको छेउमा बसेको छौँ । बा आमाको पनि थिएन नि नागरिक्ता त ।

बेलबारी नगरपालिका वडा ५, च्याङमारीमा रहेको पारो दिदीको गाँउ । तस्बिरः सञ्जु सुवेदी

 

यो दुइटा झुप्रो कटेपछि अगाडि टाटी लगाएको छ नि, त्यहीँभित्र छ मेरो घर । पहिला त फराकिलो थियो, जम्मा ३ घर त बस्थ्यो, अहिले पछाडिपटि माछा पोखरी खनेको छ, अर्को मान्छेले । मेरो भनेर अकिकति पेलो , अगाडि बाटोले पेलो, दायाबायाँ छिमेकी छन् , उनीहरुको पनि अन्त बस्ने ठाँउ छैन, सबै मिलेर बस्नै पर्यो ।

हरेक दिन सूर्य उदाउँछ अस्ताउँछ , सूर्य उदाएसँगै काममा निस्कनु र सूर्य अस्ताए सँगै घर फर्कनु मेरो दैनिकी हो ।

बेलबारी नगरपालिका वडा ५, च्याङमारीमा रहेको पारो दिदीको घर ज्याला मजदुरीको लागि बिहानै काममा निस्कँदै । तस्बिरः सञ्जु सुवेदी

 

sagarmani mobile size

बाआमा मरिगयो, म कसरी भनौँ मेरो उमेर ? छोरा चैँ मेरो ३९ सालको हो । सबैले भत्ता खान्छन्, मेरो उमेरका, मेरो त नागरिक्ता छैन । नागरिकता बनाइदिनोस् न ! यो उमेरमा पनि ज्यालामजदुरी त गरिरहेको छु नि ! मान्छे पाउँदैन भन्छन्, बोलाउँछन्, आफ्नो गाँउमा मात्रै होइन टाढा टाढाको गाँउमा पनि मोटरसाइकलमै लगेका थियो हिजो त, फेरि बेलुका राती भई गयो, पुर्याउन पनि आयो । म पनि गै दिन्छु, पेट पाल्नु परिगयो, जहिलेसम्म हात खुटा चल्छन् । जति काम गरे पनि नागरिक्ता बनाउन सकेन, नागरिक्ता बनाइदिनुहोस् न । नागरिक्ता भए जसो तसो जमिन किन्थ्ये नि । बरु किस्ता तिर्थेँ, यो बाटोमा कति बस्नु….? अब त मर्ने बेला भयो ।” जग्गाको भाउ बढिसक्यो, नागरिक्ता हुनेले अलि अलि गर्दै किन्दै छन् । म कसरी किन्ने होला, ३००००० चाहिन्छ अब त एक कठाको ।

बेलबारी नगरपालिका वडा ५ च्याङमारीमा बाटोको छेउमा रहेको मुसहर बस्ती, पारो दिदी ज्याला मजदुरीको लागि बिहानै काममा निस्कँदै । तस्बिरः सञ्जु सुवेदी

 

म यही जन्मेको, अरुको काम धेरै गरेँ । मेरो नाम के हो ? भन्ने त सरकारी कागजात छैन । न त जन्मदर्ता, न बिहे दर्ता, न नागरिक्ता नै , नागरिकता नभए पनि एउटा लगुवित्तमा बचत गराउँछु । बचत पास बुकमा नाम पार्वती ऋषिदेव छ । आमा बाले पारो भनेर बोलाउथ्यो । श्रीमान् हुँदै बचत गर्न थाले पनि श्रीमानको मृत्यु पश्चात् श्रीमती नै हो भन्ने प्रमाण भएन रे, बचत फिर्ता भएन । बचत गर्नै छोडेको थिएँ , फेरि अहिले ६ महिना बचत गर, अनि निस्कन्छ भनेर बचत गर्न थालेको नि , फिर्ता दिन्छ दिँदैन थाहा छैन , सर नै फेरिहाल्छ ।

बेलबारी नगरपालिका वडा ५ च्याङमारीमा सञ्चालन भई रहेको प्रौढ कक्षामा शिक्षिकाको सहयोगमा पारो लेख्ने प्रयास गर्दै पारो दिदी वरिपरिका साथीहरु पारोलाई निहाल्दै । । तस्बिरः सञ्जु सुवेदी

 

सानोमा पढ्न पाएन, आजकाल गाँउमा प्रौढ शिक्षा पढाइ हुँदै छ । प्रौढ शिक्षामा जान थालेकी छु । पारो मात्रै भए पनि लेख्न सिक्छु, पास बुकमा सबै नाम लेख्छन्, म भने औँलाको छाप लगाउनु पर्छ । बिहानै ज्याला मजदुरीमा जानै पर्छ दिउसो १२ बजेतिर दगुर्दै पढ्न आउँछु, पारो लेख्छु । ३ बजे काममा फर्कन्छु ।

सबै काम गर्छु वरिपरिका छिमेकीको खेतबारी खन्ने , झार उखाल्ने, पाकेको बाली उखाल्ने, पराल बोक्ने दाउरा बोक्ने, कपडा धुने ,भाडामाझ्ने , सुत्केरीलाई तेल लगाउने , आफ्नै समुदायमा पनि कामले थाकेका छोरानातीलाई तेल लगाएर मालिस गरिदिने , जे भेटिन्छ सबै काम गर्छु । र वर्षौंदेखि गरिरहेको छु । अब त काम गर्दा कुम दुख्छ , हात गल्छ पहिलाजस्तो गर्न अलि सक्दिनँ । डेढ टक्का ज्याला पाउँदादेखि ज्याला मजदुर गर्न थालेँ, त्यो बेला पनि त्यही दाल चामल किन्थ्येँ, अहिले ४०० ज्याला पाउँदा पनि पेटभरि खान धौ धौ छ ।

एक पैसा छैन घरमा , कहिलै बच्दैन त के गर्ने , अस्ति भाउजु मरेको थियो । त्यो ३ घरमा गए कात्रो किन्ने पैसा माग्नको लागि काम गरिदिन्छु भनेर, दिएन कसैले । हाम्रो जातमा त आफन्त नाता गोता मर्दा सबैले एउटा एउटा सेतो कपडा ओढाइ दिनु पर्छ । पछि ऊ… पर को साहुनीले दियो नि २०० । फेरि भोज पनि सबैको घरमा पालो गरी गरी ख्वाउन पर्छ । पाउनाहरु आउँदा पनि मासु ख्वाउनु पर्छ, मासु नख्वाए इज्जत नै जान्छ ।

बेलबारी नगरपालिका वडा ५, मुसहर समुदायकी पारो दिदी कामबाट फर्केपछि आगनको चुल्लोमा आगो बालेर खाना पकाउँदै, हावा चलिगए आगो निभाउन छेउमै आरीमा पानी राखेर आगो लागि गए बस्ती नै ध्वस्त हुन्छ । तस्बिरः सञ्जु सुवेदी

 

बेलुकी कामबाट फर्कँदा झमक्कै साँझ पर्छ । दिनभरिको कामको थकान हुन्छ , भोक पनि त लागेको हुन्छ । भित्र आगो बाल्ने ठाँउ नै छैन । आगो हावाले उडाउला कि भनेर पानी राखेको नि छेउमा । यही आगनमा चुलो बनाएको छु । यो तपेसमा चामल पानी राखेर भुलुक्क उमाल्छु । कुपुकुपु खान्छु, भुसुक्क निदाउछु । पैसा हुँदा त , माछा मासु ल्याउँछु, सधैं हुँदैन पैसा , नुनसँग भए पनि कुपुकुपु खान्छु , भोकै बस्नु भन्दा त । बिजुली छैन आगो बाल्छु , मटितेलले कुपी बाल्छु । छोरा पनि छ नि , छोरी पनि छ , छोरी बिहे गरेर आफ्नै घरमा छ । छोरो बेकामे छ । ४० वर्षको भयो । अहिले मातेर आउँछ । झगडा गर्छ ।

बेलबारी नगरपालिका वडा ५, मुसहर समुदायकी पारो दिदीले पारो लेख्न सिकिसकिन् । शिक्षिकाको निगरानीमा क ख पढ्ने प्रयास गदै । तस्बिरः सञ्जु सुवेदी

 

पारो लेख्न सिकिसकेँ नि मैले । सानोमा पढ्न नपाए पनि अहिले नाम त लेख्न सक्ने भएँ । निक्कै खुसी लागेको छ । मिसले मलाई निक्कै राम्रोसँग सिकायो अनि त लेख्न सजिलो भई गयो नि । अब नागरिक्ता पनि बनाइदिनोस् न …।

मैले त अहिलेसम्म ब्याग नै बोकेको थिए न नि , प्रौढ शिक्षामा जाँदा त ब्याग पाएँ, खुसी लागेको छ । पुस्तक बोक्न दिएको रे ।

बेलबारी नगरपालिका वडा ५, मुसहर समुदायकी पारो दिदीले २५ दिनसम्म प्रौढ शिक्षामा सहभागी भएबापत पुरस्कार स्वरुप पाएको पुस्तक, ब्याग कुममा झुण्ड्याएर मुस्कुराउँदै । तस्बिरः सञ्जु सुवेदी

 

बुढो शरीर खुटा लरबराउँछ नि , पेट पाल्नको लागि ज्याला मजदुर गर्ने पारो जीवनमा भोकै काटेका धेरै रातहरु छन् । श्रीमान् हुँदा पनि दुख थियो मलाई । कुट्थ्यो । मर्यो भनेर छोडेको पनि छ । संस्थाले बाख्रा दिएको छ , बाख्राबाट केही आम्दानी हुन्छ कि भनेर लिन गए कि नि । आजकाल बाख्रालाई घाँस , पानी खुवाउनु पर्छ । साहुकोमा काममा गएर फर्कँदा एक बिटो घाँस पनि सँगै लिएर आउछु । बरा बाख्रा पनि कहिले दिनभरि घाममा त कहिले पानीमा भिजिरहन्छन् । के गर्नु काममा त जानै पर्यो । उता गएको बेला पानी पर्छ, भिजि त हाल्छ । घरको हालत यस्तो छ ।” बाख्रा राख्ने खोर छैन । यो खाली भुइँ छ नि ढोकाको छेउमा कम्मल ओछ्याएर निदाउँछु । सिरानपटी बाख्रा राख्छु ढोका छैन ।

बेलबारी नगरपालिका वडा ५, मुसहर समुदायमा बसोबास गर्ने पारो दिदी आफ्नो झुपडीको छानो नियाल्दै । तस्बिरः सञ्जु सुवेदी

 

सधैं बिहान काममा निस्कनु अगाडि यसो हेर्छु । छानोभरि भ्वाङ देख्छु मन पोल्छ । कसरी छानो टाल्नु होला । बर्खा लाग्यो छानोमा भएको पराल मक्किएर फुसफुस भुइँमा झर्छ ।

बरै…! सबैतिर भ्वाङ्ग परेछ । अब यसलाई खर र बास खोज्नु पर्यो । उमेरले डाडो काटे पनि बाचुन्जेल त बास बस्ने ठाँउ चाहिन्छ नि । हिँड्दा हिँडदै कुन दिन फुस्स सास जाने हो । नागरिक्ता बनाइदिनोस् न , म पनि जमिन किन्छु मलाई पनि सरकारले घर बनाइदिन्छ कि ..? जमिन हुनेलाई त बनाइदिएको छ ।

नोटः यो कथा बेलबारी नगरपालिका ५, मटियारीमा बसोबास गर्ने मुसहर बृद्धा (पार्वती ऋषिदेव पारो) सँगको कुराकानीको आधारमा तयार पारिएको हो । जुन कथा उनको वास्तविक जीवनमा आधारित छ ।

प्रतिक्रिया
Loading...