तिनीहरूले आपसमा साउती गरे । कुरा के थियो, सायद कसैले बुझेनन्‌ । तिनीहरू गम्भीर देखिन्थे । दुवै डराएका छन्‌ – सहजै अनुमान गर्ने सकिन्थ्यो ।

मानिसको भीड बढ्दै गयो । निर्णय अझै हुन सकेन ।

“यी त अन्याय भयो ।” चौकीदारले घाउ छोयो ।

“तँ नकरा ।”

तिनीहरू तैपनि चुपचाप थिए ।

“ले ! तपाईँहरू नै भन्नुहोस्‌ खासमा कुरा कुन सत्य हो ?” एउटा बूढो मान्छे तिनीहरूसित नजिक भए ।

“हेर्नुहोस्‌, रक्सी पिएको बेला हामीले यो चौकीदारलाई पिट्यौं होला… रक्सी पिएको बेला जे पनि त हुन सक्छ । तपाईँहरू किन यसलाई गम्भीर रूप लिनुहुन्छ ?” तिनीहरूमध्येका एकले भन्यो ।

अशेष मल्ल

“काजी ! रक्सी खाँदैमा जे मन लाग्यो त्यो गरिहिँड्नु त भएन नि ! फेरि….. रक्सी खाएर होस हराउँछ भन्ने कुरो मेरो अगाडि नगर्नोस्‌, हामीले घैँटोका घैँटो रक्सी पिएका थियौँ जमानामा ।”

बूढो मान्छेप्रति भीड सायद सहमत भएको थियो । भीडमा हल्ला हुन थाल्यो । ‘तिनीहरूलाई कडा सजाय दिनुपर्छ’को गुनगुन आवाज भीडबाट आइरहेथ्यो । तिनीहरू पुन: मौन भए । बूढो जुरुक्क उठ्यो ।

“म अरू कुरा जान्दिनँ । यो महान्‌ गल्ती हो तपाईँहरूको । तपाईंहरू जस्ता पढेलेखेका युवक भएर यो अशिक्षित र गरिब चौकीदारलाई हात हाल्नु कहाँसम्म न्यायोचित हो .. तपाईँहरू आफैँ निर्णय गर्नुहोस्‌ ।”

“चौकीदारको गल्ती फिन देख्नुहुन्न तपाईँहरू ? त्यसको गल्ती पनि त केलाउनुहोस्‌ ।”

“गल्ती अवश्य छ, तर तपाईंहरूले त्यसलाई किन सम्झाउने कोसिस गर्नुभएन ? नियम छ; कानुन छ; खुड्‌किलो छ… त्यसलाई तपाईँहरूले सम्झाउन सक्नुहुन्थ्यो । धम्की दिन सक्नुहुन्थ्यो । निकाल्न सक्नुहुन्थ्यो ।”

बूढोले खोक्यो । भीडले समर्थन जनायो । भीडलाई चिर्दै स-साना केटाकेटीहरू भित्र छिरे र टुक्रुक्क्र बसे । चुपचाप हेर्न थाले ।

“यिनीहरूलाई कडा सजाय दिनुपर्छ ।” भीडबाट एउटा आवाज आयो । तिनीहरूले आवाजतिर आँखा घुमाए । आँखा उदास थिए । निरास थिए । रसिला थिए । सायद ती आँखाहरू आँसु खसाल्न तयार थिए ।

“भन्नोस्‌ के गर्ने ?” बूढाले तिनीहरूलाई सङ्केत गर्दै भन्यो । रुमाल निकालेर पसिना पुछ्यो ।

“हामी के जान्नु ? तपाईँ नै भन्नोस्‌ ।”

“म के भनुँ र ? तपाईँलाई आफ्नो गल्ती महसुस हुन्छ कि हुँदैन ? यत्ति त भन्नुहोस् ।”

“गल्तीकै कुरा गर्नुहुन्छ भने हाम्रो भन्दा यसको ठूलो गल्ती छ ।”

“फेरि त्यही कुरा ।” बूढाको कुरो काट्न सायद तिनीहरूलाई मन परेन । एउटा व्याङ्ग्य हाँसो हाँसे । यतिखेर भीडका आँखाहरू बलेका थिए ।

“लौ भन्नुहोत्‌ तपाईंहरू नै, के गर्दा ठीक पर्ला ?” बूढाको सङ्केत त भीडतिर थियो । भीडका विभिन्न विचारहरूले गर्दा निर्णयमा समय लम्बियो ।

“निर्णय त गर्नैपर्छ ।”

“गर्नोस्‌ ।” तिनीहरू एकैसाथ बोले ।

”बढी बोल्छौ ?” भीडबाट एउटा तन्नेरी आवाज जोसियो ।

“यिनीहरूलाई बाँधेर राख्नुपर्छ ।” अर्कै आवाज जोसियो । हल्ला आवाज । गुनगुन । भीड बडो जोसियो । तिनीहरूका रुन्चे अनुहार केही बोल्न नसकेका भीडका सबैले सम्भवतः सहजै अनुमान लगाए ।

“तपाईंहरू जे भन्नुहुन्छ हामी स्वीकार्न तयार छौँ ।” तिनीहरू एकैसाथ बोले ।

“पिट्नुपर्छ ।” भीडबाट आवाज आयो ।

“होइन, पैसा तिराउनु पर्छ ।”

“होइन, औषधि-उपचार गरिदिनुपर्छ ।”

“माफ मगाउनुपर्छ ।”

“माफ मगाएर चौकीदारको घाउ निको हुन्छ ?” भीडका आवाजहरू आपसमा मिसिएर नबुझिने हुन थाल्यो ।

“यिनीहरूलाई नपिटी हुँदैन ।” एउटा चर्को आवाज चर्कियो । बूढाले चस्मा फुकालेर कमिजको गोजीमा राख्यो । घाम अघि नै डुबिसकेको थियो र यतिखेर साँझ तन्नेरी बनिसकेको थियो । भीड क्रमशः पातलिँदै गयो । निर्णय अझै हुन सकेन ।

बूढो चुपचाप उठ्यो । लौरो समायो र चुपचाप हिँड्न थाल्यो । भीड एकाएक गरेर बिलाउन थाले । तिनीहरू पनि उठे । हिँडे ।

अब केवल एउटा मान्छे बाँकी थियो । चौकीदार जो आफ्नो टाउकाको घाउ समाएर अघिदेखि चुपचाप त्यहीँ टुक्रुक्क बसिरहेको थियो ।