साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

यथानाम तथास्तु

जेटीको चारवटा छोराछोरी भएपछि मात्र विवाह भएको थियो | बाबुको विवाह छोराछोरीले देख्न नहुने हुँदा त्यसबेला तिनीहरूलाई लुकाइएको कुरा पण्डितले सम्झे र भने, "तथास्तु !"

Chovar Blues Mobile Size

“सापेक्षको अर्थ कुनै कुराको वास्ता नराख्ने उपेक्षित र असम्बन्धित हुन्छ |” पण्डित धर्मराजले भने | जेटी बलबहादुरले पण्डितका कुरा खण्डन गरिरहेका थिए – “राज्यको कुनै धर्म हुँदैन | संविधानले सबैलाई समान र सम्मान गरेको छ | सबै जातिलाई आ-आफ्नो रीतिथिति, प्रचलन, संस्कारअनुसारको संस्कृति अपनाउन रोक लगाएको छैन | सापेक्षको अर्थ स्वतन्त्र रुपमा रहेको नभई अरुको अपेक्षा वा आशा राख्ने भन्ने हुन्छ |”

अचानक दुबै जनाको बाटोमा भेट भएको थियो | जेटी पशुको नश्ल सुधारसम्बन्धी गोष्ठीमा भाग लिन र पण्डित त्यसै गाउँको एउटा घरमा श्राद्ध गराउन जाँदै थिए | श्राद्ध गराउन जाने घरमा केही दिनअगाडि अन्यत्रबाट बसाइँ सरेर आएको परिवार थियो | पण्डित बिहानै स्याउली भट्टी छिरेर निस्केका थिए | उनी केही तातेका मुडमा थिए | उनले भन्दै गए – “अरुको अपेक्षा गर्न नपरोस् भनेर त सात पुस्तासम्म ढुक्क हुने जोहो गरेका छन् | सुनको तारमा उनेको मोतीका दाना बाहिर थुत्दै फाल्दै गरी तार गुटमुटाउँदै गोजीमा हाल्नु हाम्रो परम्परा नै चलेको छ | अर्को धर्मको कुरै नगरौ | तपाईं र म हिन्दू हौँ | तर तपाईंले त्यही काम गर्दा कानुन लाग्दैन, तर मलाई कानुन र समाज दुबै लाग्दछ |”

“यस्तो कहाँ हुन्छ ?” जेटीले प्रतिकार गरे | ”यसबारे पछि कुनै बेला कुरा गरौँला |” पण्डितले भने | जेटीले व्यंग्यात्मक शैलीमा कुरा बङ्गाए – “ओल्लो दुनाको पानी पल्लो दुनामा हाल, पिण्डको पानी शिरमा फाल |”

शिवप्रसाद पाण्डे

तिनीहरु कुरा गर्दा गर्दै त्यो गाउँको नजिक पुगे | एउटा ठूलो रुख खेतीयोग्य बारीको बिचमा देखियो | त्यसका हागाबिङ्गाले धेरै ठाउँ ओगटेको थियो | जेटीले भने – “यत्रो रुख ! खेती गर्ने ठाउँमा पालेका छन् | यो के को रुख हो ? पात त दुई थरिका देखिन्छन् |” पण्डितले त्यस रुख बारे प्रष्टाए – “यो रुख दश वर्ष पहिले एकजना जजमानले मलाई दान गरेर दिएका हुन् | त्यतिखेर यो रुख लाकुरै थियो | काट्छु काट्छु भन्दाभन्दै रह्यो | यो चिलाउनेको रुख हो | यसमा भर्लोको लहरा बेरिएको छ । अघि बाटोमा कुरा गरेजस्तै हिन्दू धर्म यो मूल रुख हो | विभिन्न काल खण्डमा चलाइएका प्रथाहरु यस रुखमा बेरिएर माथि पुगेका लहराजस्तै हुन् ।” केही मानिसहरु चौरमा जम्मा भएका थिए | पशु पालनसम्बन्धी गीत बजिरहेको थियो | जेटी त्यो माइक बजेतिर र पण्डित नजिकैको जजमानको घरतिर जान छुट्टिए |

sagarmani mobile size

पण्डितको नयाँ जजमानसँग परिचय भयो | पण्डित सजिला थिए | समयको हकमा लचिला थिए | उता जेटीले पनि माइकमा बोल्न सुरु गरे | जेटी बोलेको पण्डितले प्रष्टै सुन्न सक्दथे | जेटी बोलिरहेका थिए – “बेठेका लागि पालेका राँगा बोका एउटै वंशको हुनु हुँदैन | पशुमा नाता लाग्दछ | यो विज्ञानको जिनको सिद्धान्त हो | यस्ताबाट जन्मेका सन्तान रोगी, खोटी तथा मन्द बुद्धि समेत हुन्छन् | मासु र दुध कम पाइन्छ |” यो सुनेपछि पण्डितले मनमनै सोचे – “पशुमा किन बुद्धि चाहियो | बुद्धि नभएका पशु नै गुनी हुन्छन् | भैँसीकै कुरा गर्दा यस्ता भैँसी एकहाते पनि हुदैनन् र अर्काको पाडो पनि स्याहार्ने हुन्छन् | हतुवा बनाउन पनि सकिने हुन्छ |”

पण्डितले जजमानको चाहनाअनुसार छिटो छिटो श्राद्ध गरिरहेका थिए | जजमानलाई श्राद्ध गर्ने अनुभव थिएन | बाबु बाजे मामा माइजूहरुको नाम र गोत्र थाहा थिएन | यस्तोमा यथानाम भन्दै पण्डित अगाडि बढिरहेका थिए | पण्डितले दाँत दुखेको निहुँमा ल्वाँग चापिरहेका थिए | जेटीलाई कसैले कुखुरा र हाँसको हकमा पनि नाताको नियम लागु गर्नु पर्छ भनी सोधेको हुनु पर्दछ | त्यसैले जेटीले माइकबाट भनिरहेको सुनिन्थ्यो – “दुई खुट्टेमा यो सम्भव छैन |”

पण्डितले पिण्डको पूजा सकेपछि दिदीबहिनी, भान्जाभान्जीहरुलाई टिको टालो लगाइदिन जजमानलाई भने | एकजना महिला आई टिका थापिन् | ती जजमानले टिका लगाइदिँदै गर्दा भने, “यी मेरो सहोदर बहिनीकी छोरी, भान्जी हुन् | तर अहिले छोराले भगाएर ल्याएपछि बुहारी भएकी छे | बहिनी यिनीहरूको विवाह नभई यहाँ आउन मिल्दैन | विष्णुको अवतार मानिने खानदानले चलाएकै रीति हो |”

जेटीको चारवटा छोराछोरी भएपछि मात्र विवाह भएको थियो | बाबुको विवाह छोराछोरीले देख्न नहुने हुँदा त्यसबेला तिनीहरूलाई लुकाइएको कुरा पण्डितले सम्झे र भने, “तथास्तु !”

प्रतिक्रिया
Loading...